पहिलो त्रैमाशमा सरकारले १ खर्ब ७८ अर्बको चेक काट्यो, पुँजीगत खर्च साढे १५ अर्ब मात्र
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशसम्म सरकारले कुल बजेटको १४ प्रतिशत मात्र खर्च गरेको छ । असोज ३१ गतेसम्म सरकारले १ खर्ब ७८ अर्ब ४४ करोड २४ लाख रुपैयाँको चेक काटेको छ । चालु आवमा सरकारले १२ खर्ब ७९ करोड रुपैयाँ बजेट खर्च गर्ने लक्ष्य लिएको छ । कुल खर्च मध्ये १९.९१ प्रतिशत अर्थात १ खर्ब ५९ अर्ब ९६ करोड रुपैयाँ चालु खर्च भएको छ । ८ खर्ब ३ अर्ब ५३ करोड रुपैयाँ चालु खर्चका लागि बजेट विनियोजन भएको छ । यस्तै पुँजीगत खर्च धेरै कम भएको छ । असोजसम्म ४.६४ प्रतिशत अर्थात १५ अर्ब ५६ करोड ६८ लाख रुपैयाँ मात्र पुँजीगत खर्च भएको छ । सरकारले चालु आवमा ३ खर्ब ३५ अर्ब १७ करोड रुपैयाँ पुँजीगत खर्चका लागि बजेट विनियोजन गरेको छ । यस्तै सापटी फिर्ता र लगानीतर्फ २ प्रतिशत अर्थात २ अर्ब ९१ करोड २४ लाख रुपैयाँ खर्च भएको छ । चालु आवमा १ अर्ब ४० करोड २८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । आउदो कात्तिक मसान्तसम्म कुल विनियोजन बजेटको झण्डै ३० प्रतिशत खर्च गर्नुपर्ने भएको छ । आउदो कार्तिकसम्म कुल विनियोजन गरेको १२ खर्ब ७९ करोड रुपैयाँ मध्ये २९.४४ प्रतिशत अर्थात ३ खर्ब ७६ अर्ब ४९ करोड ३७ लाख ५३ हजार रुपैयाँ खर्च गर्नुपर्ने भएको छ । यो लक्ष्य पुरा गर्न सरकारले कात्तिकमा मात्र ९८ अर्ब रुपैयाँ बढी खर्च गर्नुपर्ने छ । एक महिनामा यो रकम खर्च हुने संभावना कम छ । मंसिरदेखि फागुनसम्म दोस्रो चौमासमा कुल बजेटको ३७.८० प्रतिशत अर्थात ४ खर्ब ८३ अर्ब ४९ करोड ६३ लाख रुपैयाँ खर्च गर्नुपर्ने छ । दोस्रो चौमासमा सबैभन्दा बढी बजेट खर्च गर्नुपर्ने छ । तेस्रो चौमासमा कुल बजेटको ३२.७६ प्रतिशत ४ खर्ब १९ अर्ब ४७ लाख ९५ हजार रुपैयाँ खर्च गर्नुपर्ने छ । सरकारले साउन १ गतेदेखि बजेट खर्चको अख्तियारी दिए पनि पुँजीगत खर्चको अवस्थामा सुधार नभएको महालेखाको तथ्याँकले देखाउछ ।
सनराइज बैंकले १५ प्रतिशत बोनस सेयर दिने, कहिले हुँदै छ बुक क्लोज ?
काठमाडौं । सनराइज बैंकले आफ्ना सेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकले आफ्नो चुक्ता पुँजी वृद्धि गर्नको लागि सो मात्राको बोनस सेयर वितरण गर्न लागेको हो । गत असोज ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो मात्राको बोनस दिने प्रस्ताव राखेको हो । सञ्चालक समितिको प्रस्तावलाई कम्पनीको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । कम्पनीको आगामी १०औँ वार्षिक साधारणसभा कात्तिक ३० गते हुने भएको छ । साभामा कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशतका दरले एक अर्ब ६ करोड ३३ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ । बैंकले साधारणसभा प्रयोजनको लागि आगामी कात्तिक १३ गतेदेखि ३० गतेसम्म कम्पनीको बुक क्लोज गर्न लागेको छ । त्यसैगरी, कात्तिक १२ गतेसम्म कारोबार गरेका सेयरधनीले सो मात्राको बोनस सेयर पाउने छन् । त्यस्तै, सभामा संस्थागत सेयरधनी समूह ‘क’ को तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने कुल तीन जना सञ्चालकहरुको निर्वाचन गर्ने कम्पनीले जनाएको छ । हाल कम्पनीको चुक्ता पुँजी ७ अर्ब ८ करोड रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस पश्चात कम्पनीको पुँजी ८ अर्ब १५ करोड रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ । मंगबलार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३३१ रुपैयाँमा करोबार भएको थियो ।
वोमी माइक्रोफाइनान्सको कात्तिक १६ गतेदेखि बुक क्लोज
काठमाडौं । वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको आगामी कात्तिक १६ गतेदेखि कात्तिक ३० गतेसम्म बुक क्लोज हुने भएको छ । कम्पनी आगामी कात्तिक ३० गते आफ्नो छैटौँ वार्षिक साधारणसभामा जाँदै छ । सो प्रयोजनको लागि कम्पनीको कात्तिक १६ गतेदेखि १५ दिनसम्म बुक क्लोज हुन लागेको हो । सभामा कम्पनीले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने सञ्चालक समितिको बैठकलाई पारित गर्ने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि १.१०८ प्रतिशत नगद लभांश दिने भएको छ । त्यस्तै, कम्पनीले सो मात्राको बोनस पश्चात कायम भएको पुँजीमा ३० प्रतिशतका दरले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पुँजी ६ करोड ४८ लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस पश्चात कम्पनीको पुँजी ७ करोड ७७ लाख रुपैयाँ पुग्ने छ । त्यस्तै, ३० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी करिब १० करोड रुपैयाँ नाघ्ने छ । मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १९२५ रुपैयाँ रहेको थियो ।
दुग्ध प्रसोधन मेसिन किन्न ५० प्रतिशत अनुदान लिन बोलायो सरकारले, ठुला किसानलाई राहत
काठमाडौं । के तपाईको गाई वा भैसीको फार्म छ ? यदि त्यस्तो हो भने दुग्ध प्रसोधन मेसिन किन्न सरकारले तपाईलाई ५० प्रतिशत अनुदान लिन बोलाएको छ । तर तपाईको फार्ममा २० वटा भन्दा बढि गाई वा भैसी भने हुनुपर्नेछ । २० भन्दा बढि गाई भैसी पालेका व्यवसायीक किसानले अब दुग्ध प्रसोधन मेसिन किन्न ५० प्रतिशतसम्म अनुदान पाउनेछन् । सरकारी निकायमा दर्ता भएका व्यवसायीक गाईभैसी फार्म, कृषि सहकारी, दुग्ध उत्पादक सहकारीलाई मिल्किङ मेशिन खरिदमा ५० प्रतिशत अनुदान लिन बोलाएको हो । पशु उत्पादन निर्देशनालयले ७५ ओटै जिल्लामा रहेका दुग्ध उत्पादन गरिरहेका किसान समूह र संस्थाबाट अनुदान प्रस्ताव मागेको छ । निर्देशनालयले १ महिनाभित्र अनुदान प्रस्ताव पेश गर्न भनेको छ । चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रमअनुसार व्यवसायीक रुपमा दुध उत्पादन गर्ने किसान र संस्थालाई अनुदान दिने नीतिगत व्यवस्था गरेको छ । प्रस्तावमा कृषि सहकारी, कमपनी र समितिको अनुमानित लागत सहितको कार्यक्रम सञ्चालनका लागि स्वीकृत अनुसुची २ बमोजिम जिल्ला पशुसेवा कार्यलयमा पेश गर्न भनेको छ । ५० प्रतिशत अनुदान लिने संस्थाले पशुबीमा गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको निर्देशनालयले जनाएको छ । प्रतिस्पर्धी दरमा तोकिएको गुणस्तर भएको उपकरण खरिदमा मात्र सरकारले अनुदान दिने भएको छ । दुध प्रशोधन गर्न मेशिन खरिद गर्न पुँजी नभएको गुनासको कृषि फार्मबाट आएपछि सरकारले यसमा अनुदान दिएको हो । यस्तै निर्देशनालयले नमुनाको रुपमा ५ स्थानमा मिल्किङ पार्लरको स्थापना र सञ्चालन गर्ने भएको छ । यसका लागि किसान फार्मबाट प्रस्ताव आब्हान समेत गरेको छ । ३५ दिनभित्र प्रस्तावे पेश गर्न निर्देशनालयले फार्महरुलाई भनेको छ । यसका लागि न्युनतम ५० उन्नतजातका दुहुना गाईभैंसी पालेको प्रमाणपत्र, पशुबीमाको प्रमाण पार्लर स्थापनाका लागि उचित स्थानको पुर्वाधारको डिजाइन ५० प्रतिशत लागत साझेदारी गर्ने प्रतिवद्धता जनाएको स्वघोषणापत्र र फार्ममा जैविक सुरक्षा सम्बन्धित नियम लागु भएको हुनुपर्ने कार्यलयले जनाएको छ ।
कर्जा सुचना केन्द्रको साधारणसभा कात्तिक २३ मा, ५० प्रतिशत बोनस र २५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश हुदै
काठमाडौं । कर्जा सूचना केन्द्र लिमिटेडले सेयरधनीलाई ५० प्रतिशत बोनस सेयर दिने भएको छ । बोनस दिने प्रस्ताव आउदो कात्तिक २४ गते वस्ने १३ औं वार्षिक साधारणसभामा पेश हुने छ । चुक्तापुँजी बढाउन केन्द्रले सेयरधनीलाई बोनस सेयर दिन लागेको हो । बोनस सेयर वितरणपछि कम्पनीको जारी र चुक्तापुँजीमा वृद्धि हुने भएपछि कम्पनीको प्रवन्धपत्र नियमावली परिमार्जन हुने भएको छ । सञ्चालक समितिले प्रस्ताव गरेअनुसार गत आर्थिक वर्षमा गरेको नाफाबाट २५ प्रतिशत नगद लाभांश पनि दिने प्रस्ताव सभामा पेश हुने छ । यस्तै बैंक, विकास बैंक र वित्त कम्पनीबाट प्रतिनिधित्व हुने गरी ४ जना सञ्चालक चयन हुने कार्यक्रम छ । केन्द्रमा बैंक तथा वित्तीय संस्थाको मात्र लगानी रहेको छ ।
ज्योति विकास बैंकले राप्तिलाई प्राप्ति, कात्तिक ८ गते एकिकृत कारोबार हुदै
काठमाडौं । ज्योति विकास बैंकले राप्तिभेरी विकास बैंकलाई प्राप्ति गरेको छ । चुक्तापुँजी बढाउन ज्योतिले नेपालगन्जमा केन्द्रीय कार्यलय रहेको राप्तिलाई प्राप्ति गरेको हो । राष्ट्रिय स्तरको विकास बैंक बन्न ज्योतिले साढे २ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउनु पर्छ । आउदो कात्तिक ८ गतेदेखि दुबै बैंकले ज्योति विकास बैंकको नाममा एकिकृत बैंकिङ करोबार गर्ने भएका छन् ।
उत्पादन बढाउन थप पुँजी नभएपछि हिमालयन ब्रुअरी र त्रिशक्ति डिस्टीलरीको ४९ प्रतिशत स्वामित्व बिक्री हुदै
काठमाडौं । उत्पादन विस्तार गर्न थप पुँजी चाहिएको भन्दै सञ्चालकले सञ्चालनमा रहेका दुई मदिरा उद्योगकाे ४९ प्रतिशत स्वामित्व बिक्री गर्न लागेका छन् । निजी क्षेत्रबाट सञ्चालित हिमालय ब्रुअरी लिमिटेड र त्रिशक्ति डिस्टीलरीज प्रालिले आफनो आधा स्वामित्व बिक्री गरेर नयाँ लगानीकर्ता भित्राई दुबै उद्योगको क्षमता बढाउन लागेको हो । दुबै कम्पनीलाई पुनसंरचना गरेर क्षमता विस्तार गर्न ४९ प्रतिशत स्वामित्व बिक्री गर्न लागेको हिमालयन र त्रिशत्तिका अध्यक्ष अरविन जोशीले बताए । हिमालयनले आइसवर्ग, काठमाण्डु र कमाण्डो ब्राण्ड गरी ३ प्रकारको वियर उत्पादन तथा बिक्रीवितरण गर्दे आएको छ । यस्तै त्रिशत्तिले ३० युपीको एक्सिलेन्ट भोड्का, ४० युपीको मार्सल ह्विस्की र जिनलगायत ५० युपीका विभिन्न ब्राण्डका मदिरा उत्पादन गर्दे आएको छ । त्रिशक्तिले एक्सिलेन्ट भोड्का गत वर्ष बजारमा ल्याइएको हो । गत वर्ष दुई उद्योगले वीयर र ह्विस्कीलगायत अन्य ब्राण्डका १ अर्ब रुपैयाँ बढीको मदिरा कारोबार गरेको जोशीले जानकारी दिए । उनका अनुसार ललितपुरको गोदावरीमा उद्योगको नाममा ६२ रोपनी जग्गा छ । जग्गा र दुबै उद्योगको सम्पत्ति र मदिराको ब्राण्ड मूल्य २ अर्ब रुपैयाँ निर्धारण गरिएको जोशीले जानकारी दिए । वीयर र ह्विस्की दुबैको बजारमा हिस्सा राम्रो रहेको बताउदै उनले भने “हामी अब आक्रमक रुपमा बजारमा उपस्थिति देखाउन चाहान्छौ । त्यसका लागि थप लगानी आवश्यक परेकाले ४९ प्रतिशतसम्म स्वामित्व बेच्न खोजेका हौं ।” जोशीकाअनुसार गत वर्ष कमाण्डो वीयर ६ लाख केस बढी बिक्री भएको थियो । यो वर्ष पनि कम्पनीको वीयर र ह्विस्की र अन्य ब्राण्डका मदिराको बिक्रीवितरण राम्रो भएको उनको दावी छ । थप पुँजी भएपछि कम्पनीले क्षमता विस्तार गरेर उत्पादन बढाउने रणनीति लिएको छ । साझेदारमा चासो देखाउने पार्टीसंग छलफलपछि मात्र कम्पनीको स्वामित्व र लगानीका बारेमा निश्चित हुने जोशी बताउछन् । उद्योगको नाममा रहेको कुल ६२ रोपनी जग्गा मध्ये आधा जग्गा रिसोर्ट सञ्चालनमा प्रयोगमा ल्याउन सकिने उनले जानकारी दिए । रिसोर्ट सञ्चालनलगायत अन्य विभिन्न विषयमा खुला छलफल हुने उनको भनाई छ । हाल कम्पनीमा ६ जना लगानीकर्ता छन् । उनले आद्या जग्गा रिसोर्ट बनाउने तयार समेत भइरहेको जोशीले जानकारी दिए । बन्द भएको दुई उद्योग ७ वर्षअघि २५ करोड रुपैयाँ थप लगानी गरेर सञ्चालनमा ल्याइएको उनले बताए । नयाँ व्यवस्थापनले उद्योगको स्वामत्विको खरिदका अतिरित्त वियर र ह्विस्की उत्पादनका लागि नयाँ उपकरण जडानमा लगानी गरेको थियो । ७ वर्षअघि बन्द अवस्थामा रहेको उद्योग सञ्चालनमा ल्याएर राम्रो बजार हिस्सा बढाउदै लगेको उनको दावी छ । दुबै मदिरा उद्योग राजपरिवारका सदस्यको स्वामित्वमा रहेको थियो । तत्कालिन कुमार मोहनबहादुर शाहीको स्वामित्वमा रहेको थियो । हिमालयन सन् १९८० मा स्थापना भएको हो । एक समयमा आइवर्ग ब्राण्डको वियर बजारमा लोकप्रिय थियो । सन् १९८३ देखि वियर उत्पादन थालेको हिमालयनलले भारतको मोहन मेकन लिमिटेडको साझेदारी र प्राविधिक सुपरिवेक्षणमा वियर उत्पादन हुदै आएको थियो । सन २०१० देखि उद्योगको स्वामित्व जोशी समूहले खरिद गरेको हो । सुरुवातीमा उद्योगले आइसवर्गका अतिरित्त आइवर्ग प्रिमियर गोल्डेन इगल लागर वियर र आइसवर्ग लागर वियर गरी हिमालयले सन् १९८९ सम्म वार्षिक ४० हजार हिक्टोलिटर वियर उत्पादन गरेको थियो । त्यसबेला नेपालमा वियरको माग वार्षिक ८० हजार हिक्टोलिटर थियो । उत्पादन थालेको वर्ष उद्योगले वार्षिक १५ हजार हिक्टोलिटर वियर उत्पादन गरेको थियो । हाल उद्योगले १० वर्षे योजना ल्याई पुनरसंरचना गरेर मदिरा उत्पादन विस्तार गरी बजारमा सशक्त उपस्थिती देखाउने तयारी थालेको छ ।
४२ वटा कम्पनी नेप्सेमा नविकरण भएनन्, २३ वटा कम्पनीको सेयर कारोबार अाजदेखि बन्द
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत कम्पनीहरु मध्ये ४२ वटा कम्पनीको सेयर कारोबार भोलि (कात्तिक १ गते)देखि बन्द हुने भएको छ । त्यसमा १९ वटा कम्पनीको सेयर कारोबार यसअघि नै बन्द भएको थियो भने १ गतेदेखि थप २३ वटा कम्पनीहरुको सेयर कारोबार बन्द हुने भएको छ । धितोपत्र कारोबार नियमावली अनुसार चालु आर्थिक वर्ष २०७४/७५का लागि वार्षिक सूचिकरण नविकरण शुल्क नेप्सेलाई नबुझाएको कारणले उनीहरुको सेयर कारोबार रोकिने भएको हो । धितोपत्र कारोबार नियमावलीको अनुसूचि ९ अनुसार नेप्सेमा सूचिकृत सबै कम्पनीहरुले प्रत्येक वर्ष असोज मसान्तसम्ममा सूचिकरण नविकरण शुल्क बुझाउनु पर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार नेप्सेले गत भदौ १२ गते सूचिकृत सबै कम्पनीलाई सूचिकरण नविकरण शुल्क बुझाउन पत्राचार गरेको थियो । तोकिएको बुझाएर सूचिकरण नविकरण गर्ने म्याद असोज ३१ गते साँझ सकिएको र ४२ वटा कम्पनीहरु नेप्सेमा सूचिकरण नविकरण गर्न नआएको नेप्सेले जनाएको छ । ‘आज साँझसम्म सूचिकरण नविकरण नगर्ने कम्पनीको सेयर कारोबार भोलिदेखि रोक्का गर्न सम्बन्धि विभागलाई निर्देशन दिएका छौं, ती कम्पनीको सेयर कोरोबार सूचिकरण नविकरण नभएसम्म रोकिन्छ’ नेप्सेका उच्च अधिकारीले मंगलबार साँझ भने । नेपाल स्टक एक्सचेञ्जबाट मंगलबार साँझ प्राप्त विवरण अनुसार शुल्क नतिर्नेमा ४२ वटा नयाँ कम्पनी छन् । यस वर्ष बोटलर्स नेपाल बलाजु, बोटलर्स नेपाल तराई, यूनिलिभर नेपाल जस्तो बजारमा राम्रो ख्याती कमाएका कम्पनीहरु पनि नेप्सेलाई नविकरण शुल्क बुझाएका छैनन् । त्यस्तै, दिव्यशोरी हाइड्रोपावर, सेती फाइनान्स, यूनियन फाइनान्स, कुबेर मचेन्ट फाइनान्स, ललितपुर फाइनान्स, सिभिल लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक, हाम्रो विकास बैंक, कावेली विकास बैंक, कञ्चन डेभलपमेन्ट बैंक, कन्काई विकास बैंक, कर्णली विकास बैंक, महिला सहयात्रा माइक्रोफाइनान्स, नागबेली लघुवित्त विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, नेशनल फाइक्रो फाइनान्स वित्तीय संस्था, राप्तीभेरी विकास बैंक, साझा विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, साहारा विकास बैंक, समता फाइक्रो फाइनान्स रहेका छन् । उल्लेखित विकास बैंक, फाइनान्स तथा लघुवित्त मध्ये ५ वटा बैंक तथा वित्तीइ मर्जर तथा एक्विजिशन प्रक्रियामा रहेकाले यसअघि नै सेयर कारोबार रोकिएको छ । १९ वटा कम्पनीहरुले भने अघिल्ला वर्षदेखि नै सूचिकरण नविकरण गरेका छैनन् । उनीहरुको सेयर कारोबार पनि लामो समयदेखि बन्द छ । लामो समयदेखि सूचिकरण नविकरण नगरेका र सेयर कारोबार बन्द भएको कम्पनीहरुमा क्यापिट मर्चेन्ट बैंक एण्ड फाइनान्स, हिमालयन फाइनान्स, अरुण बनस्पती उद्योग, विराट शुज, बुटवाल धागो कारखाना, फ्यूर हिमालयन, गोरखकाली रवर उद्योग, हरिसिद्धि ईटा तथा टायल कारखाना, ज्योति स्पीनिङ मिल्स, नेपाल विटुमिन तथा व्यारेल उद्योग, भृकुटी कागज उद्योग, नेपाल ट्रेडिङ लिमिटेड, नेपाल वायर हाउस कम्पनी रहेका छन् । ‘हामीले सबै कम्पनीलाई पत्र लेखेका छौ, फोन र इमेलबाट पटक पटक सम्झाएका छौं, सार्वजनिक सूचना प्रकाशित पनि गरेका छौं’ नेप्सेका ती अधिकारीले भने–‘बोटलर्स नेपालले भूलबस छुट्यो, भोलि नै शुल्क तिरेर नविकरण गर्छौ भनेर फोन गरेको छ । कारोबार शुरु हुनुभन्दा अघि नै शुल्क बुझाए भने बोटलर्सको सेयर कारोबार बन्द नहुन पनि सक्छ ।’