विकासन्युज

प्रदेश प्रमुखको सुविधा र भाषा आयोगसम्बन्धी विधेयक पारित

काठमाडौं । व्यवस्थापिका-संसद्को शुक्रबारको बैठकले ‘प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक, २०७४’ सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्रीका तर्फबाट ‘कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले सो विधेयक पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका हुन्। विधेयकमा सांसद डिल्लीप्रसाद काफ्ले र मीना पुनले राखेका संशोधन प्रस्ताव बैठकको बहुमतले अस्वीकृत गरेको छ । बैठकले ‘भाषा आयोग विधेयक, २०७४’लाई पनि सर्वसम्मतिले पारित गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देवले पेस गर्नुभएको सो विधेयकमाथि काफ्ले, धनीराम पौडेल, लक्ष्मण राजवंशी, प्रेम सुवाल, हितराज पाण्डे र श्यामकुमार श्रेष्ठ (काभ्रेपलाञ्चोक)ले १४ वटा संशोधन प्रस्ताव राख्दै राष्ट्रभाषाको स्पष्ट व्याख्या गर्नुपर्ने, आयोगलाई तीन महिला सदस्यसहित ११ सदस्यीय बनाउनुपर्ने र कावा अध्यक्ष तोक्दा अध्यक्षले तोक्ने व्यवस्था हुनुपर्ने बताए । सभामुखले संसद्को चालू अधिवेशनमा विभिन्न बैठकमा विविध कारण लगातार १० दिनभन्दा बढीका बैठकमा अनुपस्थित रहेका सांसदको नामावली पढेर सुनाए । अनुपस्थित रहने सांसदमा रामकुमार सुब्बा (३१पटक), दुर्गा पौडेल(२८पटक), डा बाबुराम पोखरेल (२७ पटक) र सूर्यकुमार शिवाकोटी (१९पटक) लगायत हुनुहुन्छ । संसद्को अर्को (अन्तिम) बैठक यही असोज २८ गते अपराह्न ३ बजे बस्नेछ । रासस

टेलिकमको नयाँ सोधपुछ तथा ग्राहक सेवा केन्द्र सञ्चालनमा

काठमाडौं । नेपाल टेलिकमले उपत्यकामा नयाँ सोधपुछ तथा ग्राहक सेवा केन्द्र शुरु गरेको छ । उक्त केन्द्रको शुभारम्भ शुक्रबार एक कार्यक्रमका बीच सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टले गरेका हुन् सो अवसरमा राज्यमन्त्री बिष्टले नेपाल टेलिकमको ग्राहकसँग निरन्तर नजिक भइरहनका लागि सोधपुछ तथा ग्राहक सेवा केन्द्रले थप सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् । उनले समय सापेक्ष नयाँ प्रविधि भित्र्याएर सेवा उपलब्ध गराए मात्र ग्राहकलाई सन्तुष्ट बनाउन सकिने र राजश्व पनि वृद्धि हुने बताएका छन् । सूचना तथा सञ्चार मन्त्रालयका सचिव तथा नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङले नेपाल टेलिकमका सामू विविध किसिमका चुनौतीहरु पनि भएकाले त्यसलाई अवसरमा परिवर्तन गर्न तथा ग्राहकको गुनासोलाई सम्बोधन गर्नका लागि सेवा केन्द्रले सहयोग पुर्याउने बताएका छन् । त्यस्तै, टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले ग्राहकका जिज्ञासा तथा गुनासालाई समयमै सम्बोधन गर्न र कम्पनीलाई ग्राहकप्रति उत्तरदायी बनाइरहनका लागि सेवा केन्द्रको महत्वपूर्ण भूमिका हुने बताइन् । वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक देवनारायण यादवले यस प्रकारको सेवा पहिले देखि नै सञ्चालन गरिएको भए तापनि हाल नयाँ व्यवस्थापनमा सञ्चालन गर्न लागिएको बताए । १९७ मार्फत हुने सोधपुछ सेवा शुक्रबारदेखि नयाँ संरचनाबाट सञ्चालनमा आइसकेको छ । वायरलाइन ग्राहक सेवाका लागि १९८ र जिएसएम तथा सीडीएमए मोबाइल ग्राहक सेवाका लागि १४९८ नम्बरमा डायल गरेर ग्राहकहरुले उक्त सेवा सम्बन्धी गुनासा तथा जिज्ञासा राख्ने तथा आवश्यक जानकारी लिन सकिन्छ । यी सबै सेवा निःशुल्क रुपमा उपलब्ध छन् । कम्पनीले टेलिफोनबाट मात्र सेवाहरु दिइरहेकोमा सो सेवा केन्द्रबाट छिट्टै नै एसएमएस, इमेल तथा वेब च्याट सेवाको माध्यमबाट समेत सोधपुछ तथा ग्राहक सेवा उपलब्ध गराउने बताएको छ । सोधपुछ तथा ग्राहक सम्बन्धी सेवा बाह्य संस्था मार्फत गर्ने कम्पनीको नीति अनुसार हाल नयाँ व्यवस्थापन सहित हाइवे लिंक प्रालिसँग सम्झौता गरी सेवा उपलब्ध गराउन लागेको कम्पनीले बताएको छ ।  

गोरखा दरबारको पुननिर्माण गर्न ठेकेदार छनौट

काठमाडौं । भुकम्प गएको ३ वर्षपछि एतिहासिक गोरखा दरबारको पुनः निर्माण कार्य शुरु हुन लागेको छ । पुरातत्व विभागले दरवारको पुनः निमार्णको जिम्मा पचलि भैरव–शिभको जेभी कम्पनीलाई दिएको छ । निर्माण व्यवसायी छनौट भएकाले दरबार निर्माणले गति पाउने भएको हो । पचली भैरवले ३ करोड ८२ लाख ५६ हजार रुपैयाँमा दरवारको जिम्मेबारी पाएको हो ।

एनबीआईको अध्यक्षमा लक्ष्मीप्रपन्न निरौला

काठमाडौं । नेसनल बैंकिङ्ग ईन्ष्टिच्युट (एनबीआई) को अध्यक्षमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलालाई मनोनित गरिएको छ । संचालक समितिको सदस्यमा एभरेष्ट बैंकका नायव महाप्रबन्धक राजीव जैन, लक्ष्मी बैंकका नायव महाप्रबन्धक सुमेद भट्टराई र रुरल माक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर लिमिटेडका नायवप्रमुख कार्यकारी अधिकृत रामदयाल राजवंशी नियुक्त भएका छन् । पूर्वबैंकर उपेन्द्र पौडेलको सदस्यता भने संचालक समितिमा यथावत नै रहेको एनबीआईले जनाएको छ ।  

हत्या गरिएका निर्माण व्यवसायी गौचन सहीद घोषित

काठमाडौं । सरकारले निर्माण व्यवसायी सरदकुमार गौचनलाई सहिद घोषणा गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले सरकारले राजधानीको बानेश्वरमा गोली हानी हत्या गरिएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनलाई सहिद घोषणा गरेको हो । मन्त्रिपरिषदको बैठकले गौचनलाई शहीद घोषणा गरेको वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्माले जानकारी दिए । गत सोमबार अज्ञात समुहले काठमाडौंको बानेश्वरमा गौचनको गोली हानी हत्या गरेको थियो । नेपाल निर्माण व्यवसायी महासंघले गौचनलाई सहिद घोषणा गर्न माग गरेको थियो । हत्यारा पत्ता नलागेसम्म निर्माण व्यवसायीले सरकारी बोलपत्रमा भाग नलिने निर्णय समेत गरेको छ ।  

नबिल बैंकद्धारा महानगरीय प्रहरीलाई ईलेक्ट्रोनिक सामाग्री सहयोग

काठमाडौं । नबिल बैंकले महानगरीय प्रहरी बृत्त दरबारमार्गलाई सहयोग स्वरुप ईलेक्ट्रोनिक डिजिटल डिस्प्ले बोर्ड र एलइडी टेलिभिजन हस्तान्तरण गरेको छ । उक्त सामाग्रीहरु प्रभावकारी सीसीभी मनिटरिङ र सामाजिक जागरुकता बढाउने सन्देशहरु प्रसारण गर्नका लागि प्रदान गरेको बैंकले जनाएको छ । असोज २६ गते बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालले उक्त सहयोग बृत्तका प्रहरी नायब उपरिक्षक तिलक भारतीलाई हस्तान्तरण गरेका हुन् । नबिल बैंकले आर्थिक वर्ष २०७३/७४ मा बैंकिङ उद्योगमै ३ अर्ब ६१ करोड उच्चतम मुनाफा गर्न सफल भएको र शेयरमा आम्दानी २६.६५ प्रतिशत र प्रति सेयर आम्दानी ५८ रुपैयाँ ४१ पैसाका साथ आफ्नो वासलात विस्तार गर्दै १ खर्ब ४० अर्ब रुपैयाँ पु¥याएको छ । गत आर्थिक वर्षको मुनाफाबाट ३० प्रतिशत बोनश शेयर र १८ प्रतिशत नगद लाभांश गरी जम्मा ४८ प्रतिशत लाभांशको घोषणा गरेको छ ।  

पाँच बर्षभित्रै ४७ अर्ब खर्चेर तराई/मधेशमा १७९२ किलोमिटर पक्की सडक

काठमाडौं । आगामी पाँच बर्षमा तराई मधेशमा १७९२ किलोमिटर पक्की सडक निर्माण हुने भएको छ । हुलाकी राजमार्ग आयोजनाले पाँच बर्षमा ४७ अर्ब २४ करोड लागतमा १७ सय ९२ किलोमिटर सडक निर्माण गर्न लागेको हो । सो सडकको ९७५ किलोमिटर पुर्व पश्चिम मुल राजमार्गका रुपमा रहनेछ भने ८१७ किलोमिटर सडक महेन्द्र राजमार्गबाट हुलाकी राजमार्ग हुँदै भारतीय सिमासम्म जोडिनेछ र यी सडक सबै दुई लेनका हुनेछन् । सुरुमा सिंगल लेनमा निर्माण गर्ने भनिएका यी सडक संसदको विकास समितिको निर्देशनपछि दुई लेनमा निर्माण सुरु गरिएको थियो । हुलाकी राजमार्ग आयोजनाका प्रमुख श्याम खरेलका अनुसार हुलाकी राजमार्गमा आर्थिक बर्ष २०७३।७४ सम्ममा १० अर्ब ८७ करोड रुपैंयाँ खर्च भैसकेको छ । हुलाकी राजमार्गमा निर्माण हुने १४९ पुलमध्ये ६० वटा निर्माण भैसकेका छन भने ५१ वटा निर्माणाधिन अवस्थामा छन् । त्यस्तै, १८ वटा पुलको चालु आर्थिक बर्षभित्रै ठेक्का लगाउने प्रक्रिया अघि बढेको छ । सडक अन्तर्गत अब ६६२ किलोमिटरको मात्रै ठेक्का लगाउन बाँकी छ । सन २०१० मा ६०५ किलोमिटर सडक भारत सरकारले निर्माण गरिदिने भन्दै ठेक्का समेत लागेको थियो तर ६७ किलोमिटर सडक मात्रै बनेपछि सो ठेक्का तोडिएको थियो । हुलाकी राजमार्ग निर्माणका लागि भारत सरकारले ८ अर्ब रकम दिएको छ । सो रकम वापत २९९.३ किलोमिटर सडक निर्माणका लागि ठेक्का लागिसकेको छ । हुलाकी सडक आयोजनाका पुर्व प्रमुख बलराम मिश्रले पाँच बर्षभित्र हुलाकी सडकको निर्माण सम्पन्न गर्ने कार्ययोजना बनाएका थिए । तराई मधेशको लाइफ लाइनका रुपमा हेरिएको आयोजनाले सो क्षेत्रमा विकास र समृद्धिको मार्ग प्रशस्त गर्नेछ ।

नागबेली लघुवित्तले ४५ प्रतिशत बोनस दिने

काठमाडौं । नागबेली लघुवित्त विकास बैंकले सेयरधनीलाई ४५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई ४५.४७ प्रतिशत बोनस र कर प्रयोजनको लागि २.५६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त निर्णय असोज २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । सञ्चालक समितिको निणर्यलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी ५ करोड २५ लाख रुपैयाँ रहेको छ । ४५.४७ प्रतिशत बोनस पश्चात कम्पनीको पुँजी ७ करोड ६३ लाख रुपैयाँ पुग्ने छ ।