गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणलाई तीव्रता दिन निर्देशन
काठमाडौं । व्यवस्थापिका-संसद्को सार्वजनिक लेखा समितिले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यलाई तीव्रता दिने व्यवस्था मिलाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आज सम्पन्न बैठकले विमानस्थल निर्माण आयोजना चालु आवभित्र सम्पन्न गर्ने कार्ययोजना र प्रतिबद्धता चिनियाँ ठेकेदार कम्पनीसँग लिई सोही बमोजिम कार्य सम्पन्न गर्न आवश्यक जनशक्ति, उपकरण र अन्य साधनस्रोत परिचालन गर्ने व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकले आयोजना तोकिएको समयमा सम्पन्न गर्न आवश्यक पर्ने गिट्टी, ढुङ्गा, माटो र विद्युत्को नियमित आपूर्ति हुने व्यवस्था सुनिश्चित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आपूर्ति मन्त्रालय र पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ । गौतमबुद्ध विमानस्थल निर्माणमा ढिलाइ भएको सन्दर्भमा समितिले गम्भीर चासो लिई सरोकार भएका निकाय पर्यटन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान), विमानस्थल आयोजना प्रमुख लगायतसँग दुई दिन छलफल गरेको थियो । उक्त आयोजनाको भौतिक एवम् वित्तीय प्रगति सन्तोषजनक नरहेको बताइन्छ । समितिले आयोजना सम्पन्न हुने समय सकिन अब केही महिना मात्र बाँकी रहँदा २६÷२७ प्रतिशत भौतिक र २३ प्रतिशत मात्र वित्तीय प्रगति हुनुले आयोजना समयमा सम्पन्न हुन नसक्ने र शुरुको अनुमानित लागतभन्दा बढी लाग्ने अवस्था आएको निष्कर्ष निकालेको छ । समितिका सभापति डोरप्रसाद उपाध्यायले ठेकेदार, आयोजना प्रमुख, क्यान र मन्त्रालयले समेत आ–आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह नगर्दा आयोजनाको अहिलेसम्मको कार्यप्रगति सन्तोषजनक नभएको पाइएको बताए। उनले आयोजना समयमै सम्पन्न नभएमा सम्बन्धित पक्ष नै जवाफदेही हुनुपर्ने व्यवस्था मिलाउन प्रधानमन्त्री कार्यालयलाई निर्देशन दिने निर्णय भएको बताए । बैठकले जग्गा अधिग्रहण र मुआब्जा वितरणको कार्यलाई प्राथमिकताका साथ सम्पन्न गर्न आग्रह गरेको छ । त्यसैगरी, जग्गाको मुआब्जा वितरण गर्दा लाग्ने पुँजीगत लाभकरसम्बन्धी विवादका कारण मुआब्जा वितरण र आयोजना प्रभावित भएको सन्दर्भमा सो समस्यालाई सम्बन्धित मन्त्रालयको समन्वयमा नीतिगत रुपमा समाधान गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले स्थानीय आपूर्तिकर्ताबाट नियमित निर्माण सामग्री आपूर्ति हुने वातावरण बनाउन तथा ठेकेदार कम्पनीले प्राप्त गरेको भुक्तानी र सम्पन्न कामबीचको अनुपात यकिन गरी सोही बमोजिम काम गराउन र कार्य सम्पन्न भएको प्रतिवेदन हरेक महिना समितिलाई उपलब्ध गराउन पर्यटन मन्त्रालयलाई निर्देशन दिएकोे छ । बैठकमा धनराज गुरुङ, चुडामणि जंगली, रामहरि खतिवडा लगायतका सांसदले आयोजना निर्माणका जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनी ‘नर्थवेस्ट सिभिल एभिएशन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुप’ ले पूर्ण रुपमा जिम्मेवारी लिई फिल्डमा काम नगरेकै कारण निर्माण कार्यमा ढिलाइ भएको र यसमा सम्बन्धित निकायको ध्यान पुग्न नसकेको बताएका थिए । रासस
हुलाकी राजमार्ग निर्माणमा ढिलाइ
धनगढी । सडक निर्माण गर्न रेखाङ्कन गरिएको क्षेत्रमा रूख कटानीका लागि अनुमति नदिँदा कैलाली जिल्लामा निमार्णाधीन हुलाकी राजमार्गको वसन्ता खण्डमा लामो समयदेखि अघि बढ्न सकेको छैन । वसन्ता वन क्षेत्रको करिब दुई किलोमिटर लामो भागमा रूख काटेर सडक निर्माण गर्नुपर्नेमा समयमै रूख कटानीको अनुमति नआएका कारण उक्त खण्डको हुलाकी राजमार्गको निर्माण कार्य रोकिएको हुलाकी राजमार्ग आयोजना प्रमुख तुरन्त मण्डलले बताए । सो क्षेत्रमा करिब एक हजारवटा रूख काट्नुपर्ने देखिएको छ । रूख कटानसम्बन्धी फाइल वन विभागवाट मन्त्रालयमा पुगेको बताइए पनि अहिलेसम्म कटान आदेश नआएकाले काम रोकिएको उनको गुनासो थियो । यता धनगढी बजार क्षेत्रको क्याम्पस चोकबाट ८ र २ नं वडा हुँदै मोहना नदीको पुलसम्म छ किलोमिटर लामो हुलाकी राजमार्ग निर्माण हुने भएको छ । धनगढीको कुन क्षेत्र भएर राजमार्ग निर्माण गर्ने भन्ने विषयलाई लिएर लामो समयदेखि सहमति हुन नसक्दा निर्माणमा ढिलाइ भएको थियो । प्रविधिक टोलीले ८ र २ नं वडा हुँदै राजमार्ग निर्माण गर्न उपयुक्त हुने प्रतिवेदन दिएपछि यो खण्डमा अब निर्माण कार्य शुरु हुन लागेको हो । उता कञ्चनपुर जिल्लाको बेलडांडी-दैजी खण्डको करिब १० किलोमिटर लामो भागमा पनि राजमार्ग निर्माणको काम अवरुद्ध भएको छ । शुक्लाफाँटा आरक्ष क्षेत्रभित्र पर्ने यो भागमा सर्भेक्षणको काम समेत हुन नदिइएपछि काम रोकिएको मण्डलले बताए । कञ्चनपुर जिल्लामा डोके बजारदेखि बेलौरी, बेलौरीदेखि बेलडाँडी र बेलडाँडीदेखि दैजीसम्म गरी तीन चरणमा हुलाकी राजमार्ग निर्माण गर्न लागिएको छ । डोके बजारदेखि बेलौरी हुँदै बेलडाँडीसम्मको काम भने सञ्चालन छ । कञ्चनपुरको डोके बजारदेखि हुलाकी राजमार्गको अन्तिम बिन्दु दैजीसम्म ६२ किमी लामो हुलाकी राजमार्ग निर्माण गर्ने लक्ष्य छ । कैलाली जिल्लाको हुलाकी राजमार्ग खण्ड भारत सरकारको करिब रु एक अर्ब २६ करोडको अनुदान सहयोगमा निर्माण शुरु गरिएको हो । कैलाली जिल्लाको लम्कीदेखि खक्रौलासम्मको (उत्तर दक्षिण) झण्डै २७ किलोमिटर र धनगढीको क्याम्पस चोकदेखि भजनी हुँदै सत्तीसम्मको (पूर्वपश्चिम) ६२ किलोमिटर सडकमध्ये वसन्ता जंगल क्षेत्रमा निर्माण हुने सडकबाहेक बाँकी भागमा हुलाकी सडक निर्माण पूरा भएको छ । निर्माण हुन बाँकी हुलाकी सडक निर्माणको काम नेपाल सरकार आफैँले गर्न लागेको छ । रासस
नयाँ फुटवेयर ब्राण्ड मिलानो नेपाली बजारमा, इटालियन प्रविधिबाट निर्मित स्लिपर र स्याण्डल
काठमाडौं । इटालियन प्रविधीबाट बनेको मिलानो ब्राण्डका फुटवेयर नेपाली बजारमा सार्वजनीक भएकाे छ । जुत्ता उत्पादक कम्पनी एक्सन पोलिमर प्रालिले नेपाली बजारमा मिलानो ब्राण्डका फुटवेयर सार्वजनिक गरेको हो ।साे कम्पनी ३० कराेड्काे लगानीमा भैरहवामा स्थापना भएकाे हाे । नेपालमा इटालियन प्रविधिबाट फुटवेयर उत्पादन गर्ने एक्सन पोलिमर पहिलो कम्पनी हो । स्लीपर तथा स्याण्डलहरुका लागि परिचित मिलानो ब्राण्डका फुटवेयरहरु बच्चादेखि बुढासम्मलाई आकर्षित गर्नेछ । एक्सन पोलिमरका अध्यक्ष राजेश अग्रवालले भने, ‘नेपाली खुट्टामा उपयुक्त हुने किसीमका अन्तराष्ट्रिय स्तरका फुटवेयरहरु आधुनिक फेशन सहित बजारमा प्रवद्र्धन गर्ने हाम्रो लक्ष्य रहेको छ । मिलानो ब्राण्डका फटवेयर हरेक उमेरको समुहका ग्राहकका लागि उपयुक्त छ ।’ फुटवेयर उद्योगहरु रोजगार सिर्जना गर्ने प्रमुख औद्योगिक क्षेत्र मध्ये एक भएको कम्पनीका प्रबन्ध निर्देशक प्रदिप अग्रवालले दाबी गरेका छन् । फुटवेयरको आयातलाई बिस्थापन गर्दै निर्यातलाई प्राेत्साहन गर्नु मुख्य उद्येश्य रहेको उनले बताए । मिलानोका फुटवेयरहरु ३ सय ५० देखि ६ सय रुपैयाँसम्मका मूल्यहरुमा उपलब्ध छन् । यो ब्राण्डको फुटवेयर हलुका, स्वास्थ्यलाई लाभदायक, प्रतिस्पर्धात्मक मुल्य आरमदायक, फेशनेबल, टिकाउपना, वाटरप्रुफ र कठिन मौसममा पनि प्रयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ । उक्त ब्रण्डको कम्पनीले ३ सय जना मानिसलाई प्रत्यक्ष रोजगारी दिदै आएको छ । साथै, आगामी दिनमा १ हजार जना मानिसलाई रोजगारी दिने लक्ष कम्पनीको रहेको छ ।
सगुनमा दोस्रो चरणको लगानी गर्ने समय नोभेम्वर ३० सम्म
काठमाडाै । सोसल कमर्स सञ्जाल सगुनले हालै खुल्ला गरेको लगानी अवसरलाई अागामी नोभेम्वर ३० सम्म कायम राख्ने भएको छ । लगानीको दोस्रो चरणको समाप्तीसँगै सगुनले डिसेम्वरको दोस्रो हप्तासम्म बहुप्रतीक्षित मोबाइल एप सार्वजनिक गर्ने भएको छ । प्रतिशेयर २३ अमेरिकी डलरमा सर्वसाधारणले खरिद गर्न सक्ने ग श्रेणीको सामान्य शेयरका लागि यस चरणमा न्युनतम १ हजार अमेरिकी डलरको शेयर खरिद गर्नुपर्ने सगुनले जनाएको छ । यस चरणमा सगुनले लगानी गरिने रकम क्रेडिट र डेविट कार्ड, एसीएच्, बैंक तथा चेकमार्फत् हुने भुक्तानीबाट स्वीकार गरेको छ। सगुनले आफ्नै वेबसाइटबाट शेयर जारी गरेको छ जहाँ लगानीको बारेमा आवश्यक पर्ने जानकारी पढ्न तथा डाउनलोड गर्ने व्यवस्था उपलब्ध छ । सगुनमा संसारभरबाट लगानीकर्ताले लगानी गरेका छन्। तीमध्ये अधिकांश अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, दक्षिण कोरिया, भारत तथा मध्यपूर्वका रहेका छन् । यसमा रहेका शेयरधनीहरुमध्ये अधिकांश यसका प्रयोगकर्ता र समर्थक रहेका छन् । थप व्यक्तिहरु दैनिक रुपमा यससँग जोडिने क्रम जारी रहेको छ। पहिलो चरणमा ३ हजार भन्दा बढीले लगानी गर्न चाहे पनि फर्म भरेर बैकसम्म पुगेर बैक मार्फत वायर टान्फर गर्नु पर्ने झन्झटका कारण लगानी गर्न छुटेका थिए । यस चरणमा क्रेडिटर डेविट कार्ड मार्फत समेत लगानी गर्न सकिने भएपछि लगानीकर्तालाई सहज हुने अनुमान सगुनले गरेको छ । पहिलो चरणमा लगानि गर्न छुटेकाहरुले पनि पनि यस चरणमा लगानी गर्न सक्ने बताइएको छ। यसबीचमा सगुनले कर्मचारी संख्यालाई १२ बाट ४२ पुर्याएको छ र आफ्नो मोबाइल एप बनाउनको लागि १० लाख अमेरिकी डलर खर्च गरिरसकेको छ । यो एप सबैले एकदमै रुचाउने एप हुने सगुनले विश्वास गरेको छ । सगुनले इन्डिएन इन्स्टिच्युट अफ टेक्नोलोजी, दिल्लीसँग ब्याट्री रिचार्ज गर्ने प्रविधि, आर्टिफिसिएल इन्टेलिजेन्स, सेमान्टिक वेब, प्राकृतिक भाषा प्रसोधन क्षमतामा सहकार्य गर्ने निर्णय समेत गरेको छ । सगुनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत गोविन्द गिरीले भने, ‘बिश्वभर रहेका सामाजिक सञ्जाल प्रयोगकर्ताका कतिपय समस्याहरुको समाधान गर्न र प्रयोगकर्ताका आवश्यकतालाई ध्यान दिने कम्पनीको रुपमा आफूलाई विकास गर्न लागिपरेका छौँ ।’ गिरीले थपे, ‘हाम्रा शेयरधनीहरुको मूल्यलाई दीर्घकालीन रुपमा बढाउन लागिपरेका छौं। यसका लागि अझै केहि समय लिन्छ । गत आठ महिना हाम्रो उत्साहका महिनाहरु भए । हामीले भारतमा यस क्षेत्रका एकदमै प्रतिभावान कर्मचारीहरुलाई नियुक्त गरेका छौं । हामीले पृष्ठभूमिमा काम गर्ने प्राविधिक पूर्वाधार तयार गरेका छौं जसले लाखौं प्रयोगकर्ताहरुको वेब ट्राफिक, किनबेच तथा अन्य सेवालाई सहजै धान्न सक्छ ।’
अनुदानबाट गोरखामा २,६६४ घर बन्यो
गोरखा । सरकारले दिएको अनुदान लिएर गोरखामा दुई हजार ६६४ वटा भूकम्प प्रतिरोधी घरको निर्माण सम्पन्न भएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय गोरखाका प्रमुख शिव पौडेलका अनुसार ६१ हजार लाभग्राहीमध्ये ५४ हजार ६२७ जनाले पहिलो किस्ता अनुदान बुझिसकेका छन् । यस्तै, नौ हजार ६९३ जनाले दोस्रो किस्ता रकम तथा दुई हजार ६६४ जनाले तेस्रो किस्ता रकम बुझेका छन् । अनुदान बैंकमार्फत वितरण गरिएको हो । पौडेलका अनुसार भूकम्पले क्षति पुगेका घर मर्मत गर्न दुई हजार १९ जनाको नाम आएको छ । प्रबलीकरणका लागि एक लाख रुपैयाँका दरले भूकम्पपीडितले अनुदान रकम पाउँछन् । यस्तै, दश हजार जनालाई दोस्रो किस्ता रकम उपलब्ध गराउने तयारी भएको छ भने दुई हजार ३३८ जनालाई तेस्रो किस्ता दिन सिफारिश गरिसकिएको छ । गैरसरकारी संस्थाले पनि गोरखाका जौवारी, पन्द्रुङलगायत गाउँमा घर बनाउन अनुदान दिएका छन् । पुनःनिर्माण प्राधिकरणले आज गोरखामा आयोजना गरेको गुनासो व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै पौडेलले छ हजार ४१० जना डकर्मी उत्पादन गर्ने लक्ष्य लिइएकामा अहिलेसम्म पाँच हजार १०३ जना दक्ष डकर्मी उत्पादन भएको जानकारी दिए । यिनीहरुलाई सात दिनको तालीम दिइएको थियो । पचास दिने तालीम दिएर चार हजार ५५१ जना कामदार उत्पादन गर्ने भनिए पनि अहिलेसम्म दुई हजार ९४ जनालाई मात्रै तालीम दिइएको छ । साथै एघार वटा स्थानीय तहमा ३९५ वटा नमूना भूकम्प प्रतिरोधी घर बनाउने भनिएकामा अहिलेसम्म जम्मा ९४ वटा मात्रै घर बनेका छन् । गोरखा जिल्लाभर एघार हजार ४२४ जनाले आफ्नो घर भत्किए पनि अनुदान नपाएको गुनासो गरेका थिए । उनीहरुको घर भत्किएको हो वा होइन यकिन गर्न इञ्जिनियरको टोली गाउँमा परिचालन गरिएको छ । सात हजार ४२४ जनाको घर पुनः सर्वेक्षण गरिसकिएको प्राधिकरणले जनाएको छ । जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा स्थानीय तहका प्रमुख, उपप्रमुख तथा कार्यकारी अधिकृतहरु सहभागी छन् । रासस
तिहारका लागि भित्रियो साढे ४८ करोड बढी मूल्य बराबरको ‘भाइ मसला’, कुनको मूल्य कति ?
काठमाडौं । यो वर्षको तिहारका लागि साढे ४८ करोड रुपैयाँ भन्दा बढी मूल्य बराबरको सुख्खा फलफुल (ड्राइ फ्रुट) नेपाल भित्रिएका छन् । तिहारमा भाइ मसलाको रूपमा प्रयोग हुने सुक्खा फलफूल अर्थात् ड्राइ फुड सबैभन्दा बढी उपभोग हुने गर्छ । भन्सार विभागको दुई महिने तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिना साउनदेखि भदौसम्म ४८ करोड ६६ लाख ४० हजार रुपैयाँ बराबरको ड्राई फुड आयात भएको छ । तिहारको भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई सगुनस्वरुप दिने विशेष मसला परिकारको निकै खपत हुन्छ । वर्षभर आयात हुने ड्राई फुडको सबैभन्दा धेरै परिणाम तिहारअघि हुने गर्छ । तिहारमा प्रयोग हुने ड्राइ फुडमा विशेषगरी ओखर, काजु, पेस्ता, नरिवल, सुपारी, बदाम, खजुर, छोकडा लगायत पर्दछन् । तिहारमा सबैभन्दा बढी खपत भए पनि नेपालमा उत्पादन नहुने ड्राई फुड पूर्णतः आयातमा निर्भर रहने गरेको छ । यी मसला भारत, चीन, बेलायत, भियतनाम, इन्डोनेसिया, इटाली, संयुक्त अरब इमिरेट्स, पाकिस्तान, कतार, थाइल्यान्ड, अमेरिकालगायतका मुलुकबाट आयात हुने गरेका छन् । नेपालमा चीन र भारतबाट नरिवल, बेलायत, इटाली, भारत र इटालीबाट काजु, भारत, अमेरिका, यूएई, चीनबाट हाडे बदाम, भारतबाट कटुस, अमेरिका, बेलायत र भारतबाट ओखर, भारत र चीनबाट पेस्ता, इन्डोनेसिया, थाइल्यान्ड र भारतबाट सुपारी, मलेसिया, भियतनाम र भारतबाट बदाम, पाकिस्तान, कतार र भारतबाट खजुर, भारतबाटै किसमिस र सुकेको खुर्पाने, थाइल्यान्ड र बेलायतबाट सुकेको आरुबखडा नेपाल भित्रिएको भन्सारको तथ्यांकमा उल्लेख छ । भाई मसलाको मूल्य खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यका अनुसार बजारमा अहिले सुख्खा नरिवलको मूल्य खुद्रामा पाउको ६५ रुपैयाँ देखि ७५ रुपैयाँसम्म पर्छ । मिश्रीका गुणस्तर अनुसार फरक-फरक मूल्य छन् । काजु पाउकै तीन सय ४० रुपैयाँ पर्छ । किसमिसको मूल्य गुणस्तर अनुसार पाउको १०० रुपैयाँ छ । यस्तै, देशी बदामको मूल्य खुद्रामा पाउको २७० रुपैयाँसम्म रहेको छ । तिहारमा बढी बिक्ने पेस्ताको मूल्य ३ सय १० रुपैयाँ रहेको छ । छोकडापनि गुणस्तर अनुसार पाउको ६० देखि ८० रुपैयाँ सम्म रहेको छ ।
माटोरहित पट फ्लावरको कारोबार शुरु, ५ सयदेखि ५ हजार रुपैयाँसम्म पर्ने
काठमाडौं । ललितपुरको जावलाखेल मैदानमा जारी पुष्प मेलामा माटोरहित पट फ्लावरको कारोबार शुरु गरिएको छ । अबलोकनकर्ताको मुख्य आकर्षण बनेको बागमती फ्लोराको स्टलमा रोज, कार्नेशन, हाइबिसकस, भर्बेना, पिटुनिया, इम्पपेसन्स लगायतका फूलहरु पट फ्लावरमा उपलब्ध छन् । बागमती फ्लोराले बजारमा ल्याएको पट फ्लावरमा माटोको सट्टा नरिवलको जट्टा प्रयोग गरिएको छ । गिफ्टको रुपमा हेरिने माटोरहित पट फ्लावर इन्डोर र सदाबहार प्लान्टको रुपमा प्रयोगमा आउने गरेको छ । अफिस, बैंक, लिभिङ रुम, बाथरुम लगायत घरको जुनसुकै सानो स्थानमा पनि राख्न मिल्ने यो पट फ्लावर नेदरल्याण्डबाट आयातित प्रबिधी भएको ग्लोबल फ्लोरा प्रालिका प्रबन्ध निर्देशक संजिब कार्कीले बताए । हल्याण्डको पम भन्ने संस्थासँगको प्रबिधिक सहयोग सहित आयातित गरिएका बिरुवाहरु बजारमा ल्याएको कार्कीले बताए । उपहार दिने परिपाटीलाई आत्मसाथ गर्दै बजारमा ल्याइएको यो पट फ्लावर साइज र बिरुवा हेरी ५ सय देखि ५ हजार रुपैयाँ सम्म पर्ने बागमती फ्लोराले जनाएको छ । उपत्यकाका मुख्य फ्लावर सप र गिफ्ट पसलहरुमा उपलब्ध रहेको पट फ्लावर जावलाखेलमा जारी पुष्प मेलामा समेत राखिएको छ । जारी मेलामा मुख्य आकर्षण बनेको पट फ्लावरको स्टलमा सर्बसाधारण अबलोकनकर्ताको बाक्लो उपस्थिती रहेको छ । हलुका र माटो रहित भएका कारण यसमा रोग लाग्ने संभाबना कम भएको दाबी बागमती फ्लोराको छ ।
सुजुकीद्धारा अरुण ईन्टरकण्टिनेन्टल उत्कृष्ट वितरक घोषित, आठ विधामा सर्वोत्कृष्ट
काठमाडौं । सीजी होल्डिङ्स अन्तर्गको अटोमोटिभ डिभिजन अरुण ईन्टरकण्टिनेन्टल ट्रेडर्सलाई उत्कृष्ट वितरक (एक्सिलेन्ट डिस्ट्रिब्यूटर) उपाधीद्धारा सम्मानित गरिएको छ । अरुण ईन्टरकण्टिनेन्टल ट्रेडर्सलाई दिल्लीमा आयोजित एनुअल सुजुकी रिजनल डिस्ट्रिब्यूट कन्फरेन्स- अफ्रिका, मिडल ईष्ट एण्ड साउथ एसियामा उक्त उपाधीद्धारा सम्मानित गरिएको हो । सेप्टेम्बर २५ देखि २७ सम्म आयोजित उक्त सम्मेलन मार्फत गत आर्थिक बर्षमा कम्पनीद्धारा गरिएको उत्कृष्ट कार्य प्रदर्शनीका लागि सो सम्मान प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ । विक्रि, सेवा तथा पार्ट्स पर्फरमेन्सका लागि सम्मेलनकै सर्वाधिक उपाधी हातपार्न सफल कम्पनीका रुपमा अरुण ईन्टरकण्टिनेन्टलले ८ भिन्न विद्यामा उपाधी हात पारेको थियो । कम्पनीले ‘एक्सिलेन्ट डिस्ट्रिब्यूटर अवार्ड’, ‘हाइयस्ट सेल्स ईन २०१६’,‘हाइयस्ट रिपेयर अर्डर ग्रोथ २०१६’, ‘हाइयस्ट पार्ट सेल्स पर यूआईओ ईन २०१६’, ‘हाइयस्ट सेल्स ग्रोथ ईन २०१६’, ‘हाइयस्ट एक्सेसरिज सेल्स पर भेहिकल ईन २०१६’, ‘हाइयस्ट सर्भिस मार्केट सेयर ईन २०१६’ र ‘च्याम्पियन्स अफ च्याम्पियन्स एवार्ड’ हात पारेको हो । वैश्विक मञ्च मैयी उपाधी पाउँदा निकै गौरवको महशुस भएको बताउँदै समग्र समुह तथा वितरकले गरेको निरन्तर मिहेनतको पहिचान तथा सम्मानका रुपमा यसलाई लिएको सिजी मोटोक्रोप र सिजी एनएक्सटिजिइएनका कार्यकारी निर्देशक करण चौधरीले बताए । ‘यो सफलताका लागि हामी हाम्रा आदर्णीय उपभोक्ता तथा समस्त सरोकारवालाप्रति कृतज्ञ छौँ’ साथै ‘यसले आफू लगायत कम्पनीलाई नै नेपाली अटो उद्योगमा सुजुकीका सवारी साधनलाई थप उचाईमा लाने हौसला समेत प्राप्त भएको छ’ उनले भने । अल्टो, अल्टो के१०, वेगनआर, सिलेरो, स्विफ्ट, ईग्निस, बलेनो, डिजायर, ब्रेजा, एसक्रस, सियाज, ओम्नी भ्यान, ओम्नी कार्गो, र्ईको र सुपर क्यारी लगायत मोडलका साथ नेपाली बजारमै सर्वाधिक फराकिलो पोर्टफोलियो भएको कम्पनीका रुपमा नेपालकै अग्रणी कार विक्रेता भएको कम्पनीको दावी छ ।