विकासन्युज

आन्तरिक राजश्व बिभाग प्रमुखलाई जिम्मेबार बनाउन करारा सम्झौता

काठमाडौ । आन्तरिक राजस्व बिभाग र राजस्व कार्यालयहरुबीच कार्य सम्पादन करार सम्झौता भएको छ ।सम्झौतामा बिभागका महानिर्देशक तथा कार्यलय प्रमुखहरुले हस्ताक्षर गरेका छन् । यसअघि अर्थ मन्त्रालयका सचिव र आन्तरिक राजस्व विभागका महानिर्देशकबीच तथा विभागको महानिर्देशक र उपमहानिर्देशक तथा निर्देशकबीच कार्यसम्पादन करार सम्झौतामा हस्ताक्षर भैसकेको छ । निजामती सेवा ऐन, २०४९ को दफा १५ (२) बमोजिम आन्तरिक राजस्व विभाग र सो अन्तर्गतका कार्यालयहरुबाट सम्पादन हुने काम कारवाहीलाई प्रभावकारी बनाउन सम्झौता गरिएको विभागका महानिर्देशक किशोरजंग कार्कीले बताए । सम्झौतामा हस्ताक्षर गर्ने कार्यालय प्रमुखले यस वर्ष विभागले तोकेको राजस्व संकलन लक्ष्य, कार्यगत लक्ष्य, काठमाडौं घोषणापत्र, मन्त्रालय तथा विभागको कार्ययोजना, निर्देशन तथा परिपत्रलाई आधार मानी कार्ययोजना बनाई कार्य सम्पादन गर्नुपर्ने उल्लेख छ । सम्झौताको अवधि पूरा नहु“दै कार्यालय प्रमुखको काज तथा सरुवा भएमा विभागको मासिक विभाजनलाई आधार मानी निजको कार्यासम्पादन मूल्यांकन गरिने पनि सम्झौता पत्रमा उल्लेख छ । तोकिएका सूचकहरुको औसत भारमा ८० प्रतिशत भन्दा बढी अंक प्राप्त गरेमा अति उत्तम, ७५ देखि ८० प्रतिशत अंक प्राप्त गरेमा उत्तम र ७५ प्रतिशत भन्दा कम अंक प्राप्त गरेमा न्यून कार्यसम्पादन भएको मानिने गरी मूल्यांकनको आधार मानिएको छ । कार्यालयको कार्य सम्पादनको मूल्यांकन गर्दा विभागको आन्तरिक अनुगमन प्रणालीमा अभिलेखांकन भएका लक्ष्य तथा प्रगतिलाई आधार मानी कार्य सम्पादन स्तर निर्धारण हुने कुरा उल्लेख गरिएको छ ।  

पुवाखोला–१ बाट विद्युत् उत्पादन शुरु

इलाम, २४ असोज । इलामको पुवाखोलामा निर्मित पुवाखोला–१ जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भई विद्युत् उत्पादन शुरु भएको छ । इलाम नगरपालिका र देउमाई नगरपालिका बीचमा पर्ने पुवाखोलाबाट चार मेगावाट क्षमताको सो आयोजनाले निर्माण सम्पन्न गरेर २.८ मेगावाट विद्युत् उत्पादन थालेको हो । उक्त आयोजनाले असोज पहिलो सातादेखि परीक्षण उत्पादनसमेत शुरु गरिसकेको आयोजनाका प्लान्ट मेनेजर रमाकान्त देवले जानकारी दिए । उक्त आयोजना रु ७२ करोडको लगानीमा निर्माण सम्पन्न भएको आयोजनाका परियोजना प्रबन्धक उत्तम थापाले बताए। पुवाखोलाको पानीलाई सदुपयोग गरी विद्युत् उत्पादनका लागि आयोजनाले शान्तिडाँडाबेंसीमा इन्टेक निर्माण गरी लामो पाइपलाइनबाट विद्युत् गृहसम्म पानी पु¥याएको छ । १०८ मिटर हेड रहेको पेनस्टक पाइपबाट विद्युत् गृहमा विद्युत् उत्पादन गरिएको हो । विद्युत् गृहदेखि उत्पादित विद्युत्लाई गोदकको सबस्टेसनसम्म ल्याएर राष्ट्रिय प्रसारणमा जोड्नका लागि ६.५ किलोमिटर प्रसारण लाइन निर्माण भइसकेको जनाइएको छ । पुवाखोला–१ हाइड्रोपावर कम्पनीको प्रवद्र्धनमा सम्पन्न आयोजनाका लागि सिद्धार्थ बैंक र सिटिजन बैंकले लगानी गरेका छन् । पुवाखोला–१ हाइड्रोपावर निर्माण भएसँगै इलाममा जलविद्युत् आयोजनाको सङ्ख्या आठ पुगेको छ । ती आयोजनाबाट हाल जिल्लामा ७५ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।

जनरल फाइनान्सको नाम परिर्वतन, वेष्ट फाइनान्स कम्पनीको नामबाट कारोबार शुरु

काठमाडौं । जनरल फाइनान्सको नाम तथा लोगो परिर्वतन भएको छ । फाइनान्सले असोज २४ गते कम्पनीको नाम परिर्वतन गरि वेष्ट फाइनान्स कम्पनी लिमिटेडको नामबाट कारोबार शुरु गरेको छ । मंगलबार कम्पनीका अध्यक्ष पदमराज न्यौपानेले परिवर्तित नाम वेष्ट फाइनान्स कम्पनीबाट कारोबार शुरु गरेका हुन् । यस संस्थाको साधारणसभाले गरेको निर्णय बमोजिम नेपाल राष्ट्र बैंकको स्वीकृती र कम्पनी रजिष्ट्रार कार्यालयको अनुमति पश्चात कम्पनीको नाम परिर्वतन गरिएको हो । हाल संस्थाको चुक्ता पूँजी २९ करोड ७५ लाख रुपैयाँ रहेको छ । १७५ प्रतिशत हकप्रद सेयर जारी पश्चात कम्पनीको पूँजी ८१ करोड ८१ लाख रुपैयाँ पुग्ने संस्थाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । यसका साथै, आवश्यक परे अन्य बैंक वित्तीय संस्थासँग मर्जर/अक्विजिसनद्धारा पूँजी वृद्धि गर्ने संस्थाले जनाएको छ । वेष्ट फाइनान्सको शाखा कार्यालय हाल काठमाडौंको चावहील र न्यूरोडमा छन् ।

सिमिट एयरले ल्यायो १८ सिटे जाहाज, छिटटै उडान सुरू गर्ने

काठमाडौं । निजी क्षेत्रको समिट एयरले नयाँ विमान ल्याएको छ । १८ यात्रु क्षमता भएको एल ४१० युभीपीइ २० नामक विमान मंगलबार दिउसो सवा १ वजे नयाँ दिल्लीबाट काठमाडौस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको समिटले जनाएको छ । अल्जेरियाका क्याप्टेन स्टेफिन जोलीले उडाएर ल्याएका हुन् । विमानमा नयाँ प्रविधि एभोनिक्स प्रविधि रहेको छ । यस्तो प्रविधि भएको नेपालमा यो पहिलो विमान भएको कम्पनीले जनाएको छ । नागरिक उडड्यनको प्रक्रिया पुर्यारपछि सञ्चालनमा ल्याउने भएको छ । समिटस्रग ४ जाहाज पुगेको छ । जहाजले पुर्व, मध्य र पश्चिम नेपालका विभिन्न सहरमा उडान भर्ने छ ।  

एनबीआई र लक्ष्मी बैंकबीच विभिन्न तालिम संचालन गर्ने सम्बन्धि सम्झौता

काठमाडौं । नेशनल बैंकिङ्ग इन्ष्टिच्युट(एनबीआई) र लक्ष्मी बैंक बीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । जस अनुसार एनबीआईले लक्ष्मी बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । यस सम्झौता अनुसार लक्ष्मी बैंकले नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट ५० लाख रुपैयाँ बराबर रकमको आफ्नो कर्मचारीहरुका लागि वार्षिक तालिम संचालन गराउने भएको छ । उक्त सम्झौतापत्रमा लक्ष्मी बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिंग तथा नेशनल बैंकिङ्ग इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर भएको छ ।

गौचनको हत्याप्रति यातायात व्यवसायी महासंघद्धारा घोर भत्सर्ना

काठमाडौ । नेपाल निर्माण व्यबसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याप्रति नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले घोर भत्सर्ना सहित दुःख व्यक्त गरेको छ । महासंघले मंगलवार एक विज्ञप्ति जारी गर्दै निमार्ण व्यवसायीहरुको छात संगठन नेपाल निर्माण व्यबसायी महासंघका अध्यक्ष गौचन निर्दोष रहेको जनाउदै हत्यारालाई छिटो भन्दा छिटो पत्ता लगाई कडा भन्दा कडा कारवाही गर्न समेत माग गरेको छ । महासंघका अध्यक्ष डोलनाथ खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “गौचनमाथिको आक्रमण सिंगो निजी व्यवसायी माथिको आक्रमण हो ।” महासंघले दिनदहाडै राजधानी जस्तो सम्वेदनशिल स्थानमा महासंघको अध्यक्षको हत्या हुनु शान्ति सुुरक्षाको चुनौती भएको जनाएको छ । जघन्य घटना हुन नदिन र आफ्नो पेशा एवं व्यवसायी निर्वाद रुपमा गर्न दिन शान्ति सुरक्षाको प्रत्याभुती दिलाउन सरकारसंग माग गरेको छ । महासंघले विज्ञप्ति मार्फत गौचनको दिवंगत आत्माको चीरशान्तिको कामना सहित भावपूर्ण समवेदना प्रकट गरेको छ । नेपाल निर्माण व्यबसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको सोमवार दिउँसोे वानेश्वर शान्तिनगरमा अज्ञात समुहले गोली हानी हत्या भएको थियो ।

विकास खर्च बढाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विकास खर्च बढाउन निर्देशन दिएका छन् । चालु आर्थिक वर्षको वजेट कार्यान्वयन द्वैमासिक समीक्षा बैठकमा बोल्दै अर्थमन्त्री कार्कीले वजेट कार्यान्वयनमा दृढताका साथ लाग्न निर्देशन दिएका छन् । विकास खर्च हालसम्म ३ प्रतिशत मात्र भएको छ । मन्त्रालयका सचिवहरुको उपस्थिति रहेको बैठकमा बोल्दै मन्त्री कार्कीले पुँजिगत खर्च हुन नसक्ने ठुलो समस्या रहेको भन्दै आजैदेखि कार्ययोजना मुताविक विकास निर्माणका कार्यक्रम प्रभावकारी रुपले सञ्चालन गर्न निर्देशन दिएका हुन् । सोधभर्ना लिनुपर्ने रकम फरफारक गरी वित्तीय कुशलता देखाउने दिशामा अग्रसरता लिन साथै पुँजिगत खर्च बढाउन, वित्तीय अनुशासन कायम गर्न, आफ्ना आयोजना कार्यक्रमको नियमित नियमन अनुगमन गरी आर्थिक तथा वित्तीय प्रभावकारीता बढाउन निर्देशन दिएको अर्थले जनाएको छ । सो अवसरमा अर्थसचिव शान्तराज सुवेदीले वजेट कार्यान्वयन कार्यतालिका वमोजिम कार्य सम्पन्न गर्न र लक्षित कार्यक्रमभन्दा बाहिरबाट गैरवजेटरी खर्च माग गर्ने प्रवृति वढिरहेकोले आफ्ना स्वीकृत कार्यक्रम कार्यान्वयनमा ध्यान दिनु सुझाए । राजस्वसचिव शिशीरकुमार ढुङ्गानाले वजेटमा उल्लेखित कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न र आयोजनाहरु समयमै सम्पन्न गर्न कार्यान्वयनमा समस्या देखिएमा समस्या समाधानका लागि मन्त्रालय सधै सकारात्मक रहने प्रतिवद्धता व्यक्त गरेका थिए । छलफलमा विभिन्न मन्त्रालयका सचिवहरुले वजेट कार्यान्वयनको सिलसिलामा स्थानीय स्तरमा जनशक्तिको न्यूनताले समस्या सृजना भएको जानकारी गराएका थिए ।  

नेपाल सेवा लघुवित्तले १ लाख ८० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने, बिक्री प्रवन्धकमा एनएमबि क्यापिटल

काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणको लागि १ लाख ८० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त सेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ । मंगलबार सम्पन्न यस नियुक्ति सम्बन्धी सम्झौतामा नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवकुमार मल्ल तथा निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरेका छन् । संस्थाले चालु आर्थिक वर्षको चैत्र मसान्तभित्रमा नै सेयर जारी गरी सक्ने कम्पनीले जनाएको छ । हाल यस कम्पनीको अधिकृत पूँजी १० करोड रुपैयाँ र जारी पूँजी ६ करोड रुपैयाँ रहेको छ । साथै, संस्थापकबाट ४ करोड २० लाख रुपैयाँ चुक्ता हुने तयारीमा रहेको छ भने सर्वसाधारणलाई १ करोड ८० लाख रुपैयाँको सेयर निष्काशन पश्चात चुक्ता पूँजी ६ करोड पुग्ने कम्पनीले जनाएको छ । सिन्धुपाल्चोक, रसुवा र नुवाकोट गरी ३ जिल्लामा कार्यक्षेत्र रहेको यस संस्थाको हालसम्म ८ वटा शाखा कार्यालय रहेको छ ।