आइफोन ८ प्लसको ब्याट्रीमा देखियो गम्भिर समस्या
बेइजिङ । एप्पल इंकको नयाँ आइफोन ८ प्लस सार्वजनिक भएको महिना दिन नबित्दै ब्याट्री फुलेको समाचार आएको छ । चीनको प्रान्तिय सञ्चारमाध्यम द पेपरले नयाँ आइफोनको ब्याट्री फुलेको जानकारी दिएको छ । यस्तै केस ताइवान र जापानमा भएपछि एप्पलले अनुसन्धान थालेको छ । बीहिबार द पेपरको अनलाइनमा लेखिएअनुसार एक लिउ थर गरेका आइफोनका ग्राहकले आफुले खरिद गरेको नयाँ आइफोन ८ प्लस फुलेको बताएपछि यो केसको खुलासा भएको हो । त्यहाँ कुनैपनि पड्किएको वा दाग लागेको निशान भने थिएन । लिउले द पेपरलाई बताए अनुसार उनले अनलाइन मार्केट जेडी डट कमबाट सो आइफान किनेका थिए । उनले सो नयाँ आइफोन चार्ज पनि नगरी फिर्ता गरेका थिए । iPhoneが昨日より膨らんでる。Apple、早く回収しにきて! pic.twitter.com/sRx6orgxi6 — まごころ (@Magokoro0511) September 25, 2017 लिउले खिचेको तस्विरमा आईफोन ८ प्लसको पछाडी खुल्ला छ जसमा सिमकार्ड राख्ने ठाँउ लगायत आन्तरिक भाग पनि देखिन्छ । 届いたiPhone8plus、開けたら既に膨らんでた pic.twitter.com/eX3XprSzqv — まごころ (@Magokoro0511) September 24, 2017 एप्पलका प्रवक्ताका अनुसार कम्पनीले वस्तुस्थितीमाथी अनुसन्धान गरिरहेको छ अरु टिप्पणीहरु पनि लिइरहेको छ । एप्पलको दसौं वार्षिकोत्सवको अवसरमा सार्वजनिक गरिएको आइफोन ८ को बजारमा त्यती राम्रो फिडब्याक पाइएको छैन । यो फोन सार्वजिनक भए लगत्तै सेयरमा कम्पनीले थुप्रो नोक्सान बेहोर्नु परेको रोयटर्सले जानकारी दिएको छ । एप्पलका पछिल्ला फोनहरुको तुलनामा नयाँ आइफोनको प्री-अर्डर पनि कम रहेकोमा लगानीकर्ताहरु चिन्तित छन् । यद्दपी केही पारखीहरु भने आगामी नोभेम्बरतिर एप्पलको नयाँ प्रिमियम आइफोनको प्रतिक्षा गरिरहेका छन् । चीन स्मार्टफोनको विश्वकै ठुलो बजार हो जहाँ एप्पलले आफ्नो व्यापारमा बढाउन खोजिरहेको छ । चीनमा एप्पलले स्थानीय स्मार्टफोन कम्पनिहरु हुवावे टेक्नोलोजी कम्पनी लिमिटेड तथा ओप्पो जस्ता सस्ता र धेरै फिचर भएका फोनसँग प्रतिश्पर्दा गरिरहेको छ ।
कांग्रेसमा समानुपतिकका सभासद्, हरुवा उम्मेदवार, वागी उम्मेदवार र तीनका समर्थक अबको उम्मेदवार बन्न नपाउने
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबार सम्पन्न बैठकले आसन्न निर्वाचनमा पार्टी उम्मेदवार छनौटको मापदण्ड बनाउँदै उम्मेदवारको अन्तिम छनौट गर्ने अधिकार पाटी सभापति शेरबहादुर देउवालाई दिएको छ । कांग्रेसले हाल व्यवस्थापिका संसदको समानुपातिक निर्वाचन प्रणालीबाट सभासद्/सांसद बनेका व्यक्तिहरुलाई आसन्न प्रतिनिधिसभाको निर्वाचनमा अपबाद वाहेक समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवार पुनः नबनाउने निर्णय गरेको छ । त्यस्तै, स्थानीय तहको निर्वाचनमा महानगर÷उपमहानगर, नगरपालिका तथा गाउँपालिकाको प्रमुख र उपप्रमुख पद र अन्य पदमा पार्टीका तर्फबाट उम्मेदवार वनेका व्यक्तिहरुलाई प्रदेश सभा तथा प्रतिनिधि सभाको सदस्य पदको उम्मेदवार नबनाउने निर्णय गरेको छ । कांग्रेसले २०७० को आम निर्वाचन र स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारको विरुद्ध उम्मेदवारी दिएका तथा त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थक वनेकाहरुलाई प्रदेश सभा र प्रतिनिधि सभाको सदस्य पदको उम्मेदवार नवनाउने निर्णय गरेको छ । पुनसंरचित ठूलो भूगोल सहितका निर्वाचन क्षेत्र तथा अत्यन्त कम समयावधि भएका कारण यही असोज २७ गतेभित्र प्रदेशसभा र प्रतिनिधिसभाका प्रत्यक्ष तथा समानुपातिक तर्फका सबै उम्मेदवारहरुको नाम टुंगो लगाई सक्ने निर्णय गरेको छ । उम्मेदवार चयन गर्न बरिष्ठ नेता लगायत साथीहरुसँग आवश्यक परामर्श गरि संसदीय समिति गठन गर्न पार्टी सभापतिलाई अधिकार दिने निर्णय गरेको छ । गठबन्धनको आलोचना संविधान कार्यान्वयन, रािष्ट्रय एकता र विभिन्न जाति तथा समुदायबीचको सद्भाव र विश्वासका आधारमा देशलाई संमृद्धि र विकासको मार्गमा अगाडि बढाउने भन्दापनि विभाजनको मानसिकतालाई प्रोत्साहन गर्दै लोकतन्त्र, राष्ट्रिय एकता र सामाजिक सद्भाव समेतलाई कमजोर पार्ने तर्फ उन्मुख हुँदै आएको नेकपा एमालेसँग माओवादी केन्द्रले गरेको सहकार्यले देशलाई अनावश्यक रुपमा धु्रवीकरण तर्फ धकेलेको कांग्रेसको ठहर छ । लोकतान्त्रिक मूल्य र मान्यतालाई कमजोर पार्दै निरकुंशता र अधिनायकवादलाई प्रोत्साहित गर्ने, सामाजिक सद्भाव र एकतालाई कमजोर गर्दै राष्ट्रिय एकतालाई कमजोर पार्ने, विधिको शासनमा आधारित लोकतान्त्रिक पद्धतिमार्फत देशमा समृद्धि सृजनागर्दै आम जनताको पहुँचमा पु¥याउने सोचलाई सहित एमाले माओवादीले निर्वाचनमा तालमेल गरेको कांग्रेसको आरोप छ ।
दसैंमा आयल निगमको नाफा ६३ प्रतिशतले खुम्चियो, ग्याँस र डिजेलमा घाटा
काठमाडौं । नेपाल आयल निगमको पाक्षिक नाफा अघिल्लो १५ दिनको तुलनामा ६३ प्रतिशतले घटेको छ । प्रत्येक अंग्रेजी महिनाको १ र १६ तारिखमा मूल्य समायोजन गर्दै आएको निगमको सेप्टेम्बर १६ को तुलनामा अक्टोबर १ तारिखसम्मको नाफामा गिरावट आएको हो । ईन्धन खरिद बापत भारतलाई तिर्ने मूल्य बढेका कारण नाफा घट्न गएको निगमले जानकारी दिएको छ । भारतीय आयल निगम (आईओसी) ले सेप्टेम्बर १६ ( भदौ ३२ ) मा पठाएको मूल्यसूची अनुसार निगमको पाक्षिक नाफा २२ करोड ५९ लाख रुपैयाँ थियो । निगमले अक्टोबर १ (असोज १५) प्राप्त गरेको मूल्य सूची अनुसार ८ करोड २९ लाख रुपैयाँ मात्र कमाएको छ । सरकारले गत २०७१ असोजदेखि पेट्रोल, डिजेल, मट्टीतेल र हवाई ईन्धनमा स्वचालित मूल्य लागू गरेपछि अन्तराष्ट्रिय बजारका आधारमा ईन्धनको मूल्य समायोजन गर्नुपर्छ । दसैंमा अन्तराष्ट्रिय बजारमा तेलको मूल्य बढेपनि निगमले मूल्य समायोजन गरेको छैन । अन्तराष्ट्रिय बजारमा भाउ बढेपनि दसैंमा ईन्धनको मूल्य नबढाइएकाले त्यसको असर नाफामा परेको निगमका कार्यकारी निर्देशक प्रेम प्रसाद आचार्यले जानकारी दिए । ‘आइओसीबाट मूल्य बढेर आयो,’ उनले भने, ‘तर चाडपर्वको बेलामा उपभोक्तालाई राहत दिन हामीले बिक्री गर्ने ईन्धनको मूल्य समायोजन नहुँदा नाफा घटेको हो ।’ यसपाली निगमलाई डिजेलमा १.३८ रुपैयाँ प्रति लिटर घाटा लागेको छ । एलपिजी ग्याँसमा घाटा बढेर ८२.३३ रुपैयाँ प्रति सिलिण्डर पुगेको छ । गत सेप्टेम्बर १६ मा एलपिजी ग्याँसमा घाटा प्रति सिलिण्डर ३.७५ रुपैयाँ पुगेको निगमले जानकारी दिएको छ ।
बजाज आरइ स्वरोजगार र्याली आयोजना
काठमाडौं । बजाज थ्री ह्विलर्स बजाज आरइको एक मात्र आधिकारिक बितरक, हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले बजाज आरइ स्वरोजगार र्याली आयोजना गरेको छ । यो र्यालीको मुख्य नारा स्वरोजगारी मै समझदारी रहेको छ । यो र्यालीमा २० वटा बजाज आरइको सहभागीता रहेको थियो । यो अभियानले पूर्व पश्चिम राजमार्गमा २५ दिनसम्म यात्रा गर्नेछन्, करिब १०२७ किलोमिटरको यात्रा बिर्तामोडबाट शुरु भएको छ जून महेन्द्रनगरमा सम्पन्न हुनेछ । स्थानीय डिलरहरु पनि यो कार्यक्रममा समावेश रहेका थिए । अभियानमा नेपाली लोकप्रिय कलाकारहरु प्रश्ना शाक्य र विश्व नेपालीले विभिन्न नेपाली गीतहरु गाएर स्थानीय बासिन्दाहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । यसका साथमा प्रसिद्ध हास्य कलाकार राजा राजेन्द्रले मानिसहरुलाई हास्य प्रस्तुतीका साथ मनोरन्जन गराए । स्थानीय कलाकारहरुको पनि भव्य प्रस्तुति गरेका थिए । स्थानीय बासीले कार्यक्रममा उत्साहका साथ मनोरञ्जन गरेका थिए । यो र्यालीको उद्धेश्य बजाज आरइको बारेमा जनचेतना अभिवृद्धि गराउनु हो र यसमार्फत स्वरोजगारका लागि हुने उत्कृष्ट लाभहरुको बारेमा जानकारी दिनु हो । यो र्यालीले मुख्य गरी नेपाली युवाहरुलाई रोजगारीको अवसरको बारेमा तथ्यगत जानकारी दिँदै नेपालमा नै राम्रो रोजगारीको अवसरहरु भएको बारेमा उनीहरुलाई सुनिश्चित तुल्याउनु हो । विदेशी मुलुकहरुमा काम गर्नुभन्दा स्वदेशमा नै काम गर्नु उपयुक्त हो । बजाज आरइ स्वरोजगारका साथमा आबद्ध भएर परिवर्तन स्वीकार गर्दै उत्पादकत्व अभिवृद्धि र आय सिर्जना गतिबिधिमा लाग्न सकिन्छ । बजाज आरइमा गरेको लगानीले पहिलो दिनदेखि नै वित्तिय लाभ दिन्छ, जसले यसको मूल नारा ‘एउटा यस्तो लगानी जसले गर्छ शुरुको दिन देखिनै आम्दानी’ लाई सार्थक पार्दछ । नेपालमा स्वरोजगारी सिर्जना गराउने उद्धेश्यका साथ, विश्वको नम्बर १ थ्री ह्विलर्स ब्राण्ड बजाज आरइ नेपालभर बिक्री भईरहेको छ, जसले वैदेशिक रोजगारीबाट फर्किएका र यहाँ संघर्ष गरिरहेका कामदाहरुलाई रोजागारी सिर्जनाको अवसर प्रदान गर्दछ । बजाज आरइ संभावनाहरुमा केन्द्रित रहेको छ, जो वैदेशिक रोजगारीमा जाने योजनामा छन् वा यो विदेशबाट फर्किएका छन् ।
तिहार अगावै कारोबार सुरु गर्ने तीन वटा जीवन बीमा कम्पनीको तयारी
काठमाडौं । तिहार अगावै तीन वटा जीवन बीमा कम्पनीले कारोबार आरम्भ गर्ने भएका छन् । बीमा समितिबाट लाइसेन्स लिएका स्टार लाइफ( नाम परिवर्तन गरि प्रभु इन्स्योरेन्स), सिटिजन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले तिहार अगावै कारोबार आरम्भ गर्न लागेका हुन् । यस अघि नै युनियन लाइफ इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सले कारोबार आरम्भ गरिसकेका छन् । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका नामबाट स्टार लाइफले धन्तेरासका दिन देखि कारोबार आरम्भ गर्ने अनुमति मागेको छ । त्यस्तै, सिटिजन लाइफले लक्ष्मी पुजाका दिनदेखि कारोबार आरम्भ गर्ने अनुमति मागेको छ भने सानिमा लाइफले पनि तिहार अगावै कारोबार आरम्भ गर्ने भनेको छ । ‘तीन वटा कम्पनीले तिहार अगावै कारोबार आरम्भ गर्ने भनेर अनुमति मागेका छन, हामी ती कम्पनीहरुको पुर्वाधार, जनशक्ति, प्रबिधी र बीमा पोलिसीको अध्ययन गरिरहेका छौं’, बीमा समितिका एक उच्च अधिकारीले भने । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा प्रदिपजंग पाण्डे, बिरेन्द्र बहादुर बस्नेत, कैलाश प्रसाद सिरोहिया, विकास जबरा, सुधिरबाबु खत्री, आङ छिरिङ शेर्पा, पृथ्वीराज पाण्डे, ताराचन्द खेतान, पशुपति मुरारका र रामेश्वर थापाको लगानी छ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा भवानी भक्त जोशी, भाइकाजी श्रेष्ठ, सुदर्शनराज पाण्डे, शेरबहादुर पाण्डे, नरेश बहादुर मल्ल, नेपाल सेयर मार्केट्स र देवी प्रकाश भट्टचनको लगानी रहेको छ । सानिमा लाइफमा भने बद्रि प्रसाद ओझा, अरुण कुमार ओझा, डा. गोपाल प्रसाद श्रेष्ठ, जीवनाथ लामिछाने, घनश्याम थापा र बिरेन्द्र प्रसाद महतोको लगानी रहेको छ ।
शेयर कर्जा लिन लगानीकर्ता उत्साहित
बनेपा । काठमाडौं बाहिरका जिल्लामा पनि शेयर कर्जा लिन लगानीकर्ता उत्साहित देखिएका छन् । काठमाडौँमा मात्रै केही बैंकले शेयर कर्जा दिने घोषणा गरेपछि त्यसको प्रभाव काभ्रेपलाञ्चोकको बनेपा र धुलिखेलमा रहेका विभिन्न बैंकका शाखामा पनि परेको हो । मोफसलमा रहेका बैंकले काठमाडौंमा जस्तै शेयर कर्जा लिनेको भीड नभए पनि स्थानीय तहमा बनेपा, धुलिखेल र आसपासका लगानीकर्ताले शेयर कर्जा लिन आइरहेको सम्बन्धित बैंकले जनाएको छ । एनआइसी एशिया बनेपा शाखाका प्रबन्धक कृष्णराज बराकोटीले गत साउनदेखि नै शेयर कर्जा लिन आउने लगानीकर्ता देखिएको उल्लेख गर्दै कम्पनी हेरेर बजार मूल्यको ४० देखि ५० प्रतिशत शेयर कर्जा दिएको बताए । उनले भने, “थोरै रकम भए शाखाबाट पनि दिन्छौँ बढी नै रकम भए मुख्य कार्यालयमा पठाउँछौँ ।” सेञ्चुरी कमर्सियल बैंक, धुलिखेल शाखाका प्रबन्धक नवीन मकाजुले सानो रकमको रूपमा पाँच लाख रूपैयाँदेखि ठूलो रकमका रुपमा दुई करोड रुपैयाँसम्म शेयर कर्जा दिएको उल्लेख गर्दै शेयर बजार सुस्ताएका बेला शेयर कर्जा लिने पनि कम हुने बताए । उनले मार्जिन कल आउँदा समस्या देखिएको जानकारी दिँदै धुलिखेल आसपासबाट शेयर कर्जा लिने बढ्दै गएको बताए । कार्यालय खुलेपछि यस क्षेत्रमा शेयर लगानीकर्ताको पनि चाप बढिरहेको ब्रोकर सञ्चालकले जनाएका छन् ।वित्तीय करोबार बढी हुने बनेपामा बैंकसँगै सहकारीबाट ऋण लिएर पनि लगानीकर्ताले शेयरमा लगानी गर्दै आएका छन् । शेयर बजार घटिरहेका बेला शेयर खरिदकर्ताको चाप बढिरहेकाले शेयर कर्जा लिनेको संख्या पनि बढ्दै गएको हो । रासस
नेपाली राजदूत दिपकुमार उपाध्यायले दिए राजीनामा, कपिलवस्तुबाट चुनाव लड्ने
काठमाडौं। भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले राजदूत पदबाट राजीनामा दिएका छन् । आगामी मंसिर १० गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधि सभा चुनावमा उम्मेदवारी दिन उनले राजीनामा दिएका हुन् । उपाध्यायले कपिलवस्तुमा प्रत्यक्षतर्फ नेपाली कांग्रेसको उम्मेद्वार दिने भएका छन् । तत्कालिन कांग्रेस सभापति स्व.सुशील कोइरालाको प्रधानमन्त्री हुँदा भारतका लागि नेपाली राजदूत नियुक्त भएका थिए । भारतीय नाकाबन्दी फुकाउन असहयोग गरेको आरोपमा केपी ओली नेतृत्वको सरकारले उनलाई फिर्ता बोलाएको थियो। प्रधानमन्त्री प्रचण्डको पालामा कांग्रेस-माओवादी गठबन्धनको सरकारले उपाध्यायलाई पुनः भारतकै लागि नेपाली राजदूतमा नियुक्त गरेको थियो।
ई-पेमेन्टले सहज बन्दै बिजुलीको महशुल, उपभोक्ताले फेर्दैछन् राहतको सास
काठमाडौं । ‘ग्राहकले १ सय रुपैयाँ बिल तिर्नको लागि २ सय रुपैयाँ खर्च गरेर प्राधिकरण धाउन नपर्ने भएको छ, घण्टौं लाइन बस्नुपर्ने बाध्यता पनि हटेको छ ।’, यो भनाई हो नेपाल विद्युत प्राधिकरणका उपप्रबन्धक सजन कुमार श्रेष्ठको । प्राधिकरणले गत भदौं ५ गतेदेखि विद्युत महशुल संकलनका लागि ईसेवा, प्रभु बैंक, सिएफएस रेमिट, पे पोइन्ट नेपाल, नेपाल इन्भेष्टमेन्ट बैंक, महालक्ष्मी विकास बैंक र सिटी मनि ट्रान्सफरसँग सम्झौता गरेको थियो । प्राधिकरणले पाइलट प्रोजेक्टका रुपमा सुरु गरेको इपेमेन्ट सेवाबाट उपभोक्ताले घण्टौं लाइन बस्नुपर्ने बाध्यताबाट मुक्ति पाएको दावी प्राधिकरणले गरेको हो । उपभोक्ताको लामो लाइन तथा समयको बचतलाई ध्यानमा राखी नेपाल विद्युत प्राधिकरणले यो सेवा ल्याएको थियो ।‘प्राधिकरणको सेवालाई छिटो, छरिटो र प्रबिधी मैत्री बनाउन ईपेमेन्ट सुरु गरेका हौं, अब यसलाई व्यापक मात्रामा विस्तार गरिनेछ’, उप प्रबन्धक श्रेष्ठले भने । सेवा आरम्भ भएको डेढ महिनामै उपभोक्ताको ध्यान खिच्न सफल भएको छ । उनका अनुसार दैनिक प्रति दिन ४ सय देखि ५ सयको हारारीमा इपेमेन्टका ग्राहकको संख्या बढिरहेको छ । प्राधिकरणले पाइलट प्रोजेक्टका रुपमा इपेमेन्ट सेवालाई निःशुल्क बनाईदिएको छ । इपेमेन्ट सेवा दिने कम्पनीमध्ये हिमालयन बैंक, सीएफएस रेमीट, सीटी एक्सप्रेस मनी ट्रान्सफर, नेपाल इन्भेष्ट र महालक्ष्मि बैंकले भने खासै प्रभावकारी ढंगले कार्य गर्न नसकेको उपप्रवन्धक श्रेष्ठले जानकारी दिए । हाल यो सेवा उपत्यकाको १७ ठाउँमा र अन्य पोखरा र भरतपुरमा विस्तार भइसकेको छ । यो उपत्यकाको रत्नपार्क, नक्साल, कृतिपुर, साँखु चावहिल, चक्रपथ भक्तपुरलगायतका स्थानमा सेवा सुचारु भएको छ । साथै, नेपालगञ्जमा पनि यो सेवा विस्तार गर्ने तयारी भईरहेको प्राधिकरणले जनाएको छ । यो सेवाबाट बिजुलीको महशुल भुक्तानी गर्न ग्रामीण तथा शहरी क्षेत्रका उपभोक्तालाई नजीकैको सहकारी संस्थाबाट भुक्तानी गर्दा प्रभावकारी हुने प्राधिकरणको भनाइ छ । उपभोक्ताले यसको प्रयोग गर्न सिक्दै गरेको हुनाले इपेमेन्ट डीजीटल बिलीङ्ग सीस्टमले प्राधिकरणको महशुल बुझाउने शाखामा १० प्रतिशतको हाराहारीमा ग्राहकको लाइन घट्दै गएको छ । ग्राहकले सेवा उपभोग गर्न सिक्दै गरेको हुनाले विस्तारै प्रविधि तर्फ अघि बढ्दै गरेको देखिएको छ । उपभोक्ताले अधिक्तम ३ महिना र न्युनतम १ महिनामा बिल भुक्तानी गर्न पर्ने नियम छ । यो सेवा उपभोग गर्दा मोबाइलमा एप डाउनलोड गरेर घरमै बसेर पनि भुक्तानी गर्न सकिन्छ । भुक्तानी गर्दा एक पटकमा १ लाख सम्मको मात्र गर्न सकीने नियम प्राधिकरणले लागु गरेको छ । यसको लागि ग्राहकको बैंक वा अन्य सेवा प्रदायक संघसस्था सँग लिङ्क हुनपर्नेछ । ग्राहकले आफ्नो आइडी कन्ज्युमर नम्बर तथा आफुले भुक्तानी गर्ने अफिस शाखा भने थाहा पाउन जरुरी हुने प्रधिकरणका उपप्रवन्धक श्रेष्ठले बताए ।