विकासन्युज

बाढीपिडितका लागी महालक्ष्मी विकास बैंकको सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले तराई क्षेत्रमा आएको बाढी पीडितकालागि ५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले डेभलपमेन्ट बैँकर्स एसोसिएसन मार्फत प्रधानमन्त्री राहत कोषमार्फत सहयोग गरेको हो । उक्त रकम प्राकृतिक विपदले पुगेको क्षतीलाई केही हदसम्म न्युनीकरण गर्न र बाढी प्रभावित क्षेत्रको जनजीवनलाई सहजीकरण गर्ने उद्येश्यका साथ बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो कार्य गरेको बैंकले जनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्वसंग सम्बन्धित बिभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको महालक्ष्मी विकास बैंक लिमिटेडले यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिदैं जाने प्रतिबद्धता जनाएको छ ।

प्रधानमन्त्री देउवा असोज ३ गते न्यूयोर्क प्रस्थान गर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२औँ महासभामा भाग लिन यही असोज ३ गते २० सदस्यीय उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गर्ने भएका छन् । प्रधानमन्त्री देउवाले यही सेप्टेम्बर २३ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवाले सोही दिन राष्ट्र संघका महासचिव एन्टिोनियो गुटेरससँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । ‘ जनतामा केन्द्रितःदिगो पृथ्वीमा शान्ति र प्रतिष्ठित जीवननिम्ति प्रयास’ भन्ने मूल विषयका साथ महासभाको उच्चस्तरीय छलफल यही १९ सेप्टेम्बरदेखि शुरु हुँदैछ । महासभाको दौरान न्यूयोर्कमा रहँदा प्रधानमन्त्री देउवाले सेप्टेम्बर २१ मा अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी, श्रीलंकाका राष्ट्रिपति मैत्रीपाला सिरिसेना, बंगलादेशका राष्ट्रपति सेख हसिना र पाकिस्तानका प्रधानमन्त्री सहिद खान अब्बासीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । सोही दिन प्रधानमन्त्री देउवाले कोलम्बिया विश्वविद्यालयको विश्व नेतृत्व मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए । प्रधानमन्त्री देउवाले सेप्टेम्बर २२ मा इस्टोनियाका राष्ट्रपति केस्र्टी काल्जुलेइडसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । प्रधानमन्त्री देउवाले त्यहाँका नेपाली कूटनीतिक नियोगका प्रमुखलाई निर्देशनसमेत दिनाका साथै २२ सेप्टेम्बरमा न्यूयोर्कस्थित राष्ट्र संघ स्थायी नेपाली नियोगले संविधान दिवसका अवसरमा आयोजना गर्ने स्वागत समारोहमा प्रमुख आतिथ्यता ग्रहण गर्नेछन् । त्यसैगरी उनी न्यूयोर्कका नेपालका महावाणिज्यदूतले २३ सेप्टेम्बरमा नेपालको संविधान दिवसका अवसरमा आयोजना गर्ने कार्यक्रममा समेत सहभागी हुने मन्त्रालयले जनाएको छ । प्रधामन्त्री देउवा महासभामा भाग लिइसकेपछि २४ सेम्टेम्बरमा ओमनको मस्कटका लागि प्रस्थान गर्नेछन्, त्यहाँ उनले खाडी क्षेत्रका नेपाली कूटनीतिक नियोगका प्रमुखलाई नेपाल र नेपाली आप्रवासी कामदारको हित र उनीहरुको संरक्षणका बारेमा निर्देशन दिनुहुने कार्यक्रम छ । श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुर मस्कटबाट नेपाली प्रतिनिधिमण्डलमा सहभागी हुनेछन् । महासभामा भाग लिन तथा आवश्यक तयारीका लागि उपप्रधानमन्त्री कृष्णबहादुर महरा भने आजै न्यूयोर्क प्रस्थान गर्दै छन् । परराष्ट्रमन्त्री महराले सेप्टेम्बर २१ मा त्यहाँ आयोजना हुने सार्क मन्त्रिस्तरीय बैठकको अध्यक्षता गर्नेछन् । उनले त्यहाँ रहँदा असंलग्न आन्दोलन, जि ७७ र चीन, अतिकम विकसित मुलुक र भूपरिवेष्टित मुलकको मन्त्रिस्तरीय बैठकमा सहभागी हुनाका साथै सम्बोधनसमेत गर्नेछन् । उनले एसियाली सहयोग संवादको मन्त्रिस्तरीय बैठकमा नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने प्रवक्ता पौडेलले जानकारी दिए । न्युयोर्कमा रहँदा उपप्रधानमन्त्री महरा १९ सेप्टेम्बरमा अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् भने सोही दिन अपराह्न राष्ट्र संघका महासचिव गुटेरसद्वारा आयोजित दिवाभोजमा सहभागी हुने कार्यक्रम छ । उपप्रधानमन्त्री महरा राष्ट्रसंघको सुरक्षा परिषद्धारा आयोजित राष्ट्रसंघको शान्ति स्थापनामा सुधारसम्बन्धी उच्चस्तरीय खुला छलफल, राष्ट्र संघका महासचिवले आयोजना गर्र्ने यौन शोषण र दुव्र्यवहारबाट संरक्षण, दिगो विकासका लागि खानेपानी, मानव बेचबिखन, बालश्रम र बँधुवा मजदुरको अन्त्य विषयका उच्चस्तरीय बैठक तथा छलफलमा सहभागीहुनेछन् । सो सिलसिलामा उपप्रधानमन्त्री महराले बहराइन, भुटान, नर्वे, ओमन र कतारका विदेशमन्त्री तथा राष्ट्र संघका उच्च अधिकारीसँग पनि द्विपक्षीय भेटवार्ता गर्नेछन् । उपप्रधानमन्त्री महराले यस वर्ष जुलाइमा राष्ट «संघ सम्मेलनले स्वीकारेको परमाणु हतियार निषेधित सन्धिमा हस्ताक्षर गर्नेछन् । प्रधानमन्त्री देउवासँग नेपाली प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री महरा, महिला, बालबाललिका तथा समाज कल्याणमन्त्री आशा कोइराला, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, न्यूयोर्कस्थित राष्ट्र संघको स्थायी नियोगका लागि नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलगायत उच्च सरकारी अधिकारी सहभागी हुनेछन् । प्रधानमन्त्री देउवा नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सेप्टेम्बर २८ मा स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।  रासस ––––

एन आई सी एसिया बैंकको वित्तिय सचेतना र्याली

काठमाडौं । एनआईसी एसिया बैंकको वित्तिय सचेतना र्याली सम्पन्न भएको छ । शनिबार वित्तिय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बैंकले र्याली आयोजना गरेको हो । कमलादी शाखाबाट सुरु भएको र्याली काठमाण्डौंका विभिन्न मुख्य स्थानहरुको परिक्रमा गर्दै पुन : कमलादी शाखामा पुगी समापन भएको थियो । र्यालीमा बैंकको ६ सय भन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको थियो । बैंकले हाल ६ लाख भन्दा बढी निक्षेप ग्राहक, २८ हजारभन्दा बढी कर्जा ग्राहक ३ लाख ३० हजार भन्दा बढी डिजिटल बैंकिङ्ग ग्राहकहरुलाई देशभर रहेका आफ्ना १ सय २८ शाखा एवं विस्तारित काउन्टर मार्फत् उच्चस्तरिय र ग्राहक केन्द्रित सेवा प्रदान गर्दै आइरहेको जानकारी दिएको छ । बैंकले आकर्षक, लाभदायी तथा ग्राहक केन्द्रित बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई बचत खातामा वार्षिक ९ प्रतिशतसम्मको आकर्षक ब्याजदर प्रदान गर्दै आएको छ , जुन नेपाली वाणिज्य बैंकहरुले प्रदान गरेको ब्याजदर मध्येकै उच्च ब्याजदर रहेको बैंकले जानकारी दिएको छ ।

हिउँदमा रासायनिक मलको अभाव नहुने, साल्ट ट्रेडिङले साढे ५२ हजार टन मल ल्याउँदै

काठमाडौं । यसपाली हिउँदमा खेति लगाउनका लागि रासायनिक मलको अभाव नहुने भएको छ । आउदो हिउँदलाई लक्षित गरेर साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रासायनिक मल आयातको तयारी थालेको छ । हिउँदे बालीलाई लक्षित गरेर साल्ट ट्रेडिङलेले साढे ५२ हजार टन मल ल्याउनेका लागि आइतबार विश्वव्यापी बोलपत्र (ग्लोबल टेण्डर) गरेको छ । आगामी कात्तिकसम्ममा मलको अभाव हुन नदिन कर्पोरेशनले मलको लागि टेन्डर आह्वान गरेको हो । कर्पोरेशनले २० हजार टन डिएम्मोनियम फोस्फेट र साढे ३२ हजार टन युरिया मलका लागि छुट्टा छुट्टै टेण्डर आह्वान गरेको छ । मलको अभाव नहोस् भन्दै प्रत्येक चार महिनाको फरकमा कृषि समाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङले आलोपालो गरेर मल आयात गरिरहेको कर्पोरेशनका प्रवक्ता कुमारराज भण्डारीले जानकारी दिए । उनले भने, ’यो नियमित प्रक्रिया हो । आलोपालो गरेर मल आपूर्ति भइरहेको छ ।’ आयात गर्न चाहने कम्पनीले असोज ३० गतसेम्ममा बोलपत्र (आफ्नो विवरण सहितको कागजात) पेश गर्नुपर्ने छ । एलसी (लेट अफ क्रेडिट) खोलेको एक महिनाभित्र मल आयात गरिसक्नु पर्ने बोलपत्रमा उल्लेख छ । भण्डारीका अनुसार २७ हजार ५ सय टन युरिया मल भारतको बिसाखापटनम बन्दरगाहमा आइपुगेको छ । आयातित मल मध्ये वीरगञ्ज, विराटनगर र भैरहवा लगायतका जिल्लामा परिचालन गरिने उनले जानकारी दिए । ‘कर्पोरेशनले झिकाएको मल कलकत्ता बन्दरगाहबाट नेपाल आउने क्रम सुरु भएको छ,’ उनले थपे । वाली लगाउने सिजनमा जहिले पनि किसानले मलको चरम अभाव खेप्दै आएका छन् । यो वर्ष समयमा बोलपत्र आब्हान गरिएकाले मलको अभाव नहुने देखिएको छ । नेपालमा वार्षिक ७ लाख टन मलको आवश्यकता हुने गरेको छ । आपूर्ति ५ लाख टन मात्र हुदा बजारमा मलको अभाव हुने गरेको छ ।

सिमेन्ट अभावमा चार जलविद्युत् आयोजना प्रभावित

काठमाडौं । नेपालको जलविद्युत् आयोजनामा प्रयोग भइरहेको भारतीय सिमेन्टको गुणस्तर मापन गर्नुपर्ने नयाँ नियम लागू भएपछि नेपाल विद्युत् प्राधिकरण र उसका सहायक कम्पनीले निर्माण गरिरहेका परियोजना समस्यामा परेका छन् । दैनिक काम नै रोकिएको भन्दै आयोजना प्रमुखले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई तत्काल समस्या समाधान गरिदिन आग्रहसमेत गरेका छन् । गत भदौ ३० गते आयोजनाको स्थलगत अनुगमनमा पुगेका प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई चिलिमेको सहायक कम्पनी रसुवागढी हाइड्रोपाओर लिमिटेडका प्रबन्ध सञ्चालक माधव कोइरालाले सिमेन्ट अभावमा निर्माण कार्य प्रभावित भएको बताएका थिए । प्रबन्ध निर्देशक कोइरालाका अनुसार सो आयोजनामा दैनिक १ सय टन सिमेन्ट आवश्यक पर्दछ । नापतौल तथा गुणस्तर विभागले भारतीय सिमेन्टको गुणस्तर मापन गर्नुपर्ने भन्दै निर्देशनात्मक परिपत्र गरेको थियो । सो आयोजनमा भारतीय जेपी र जेपी गोल्ड सिमेन्ट प्रयोग भइरहेको छ । नेपाली सिमेन्ट प्रयोग गर्न सकिने भए पनि त्यसको पनि गुणस्तर परीक्षण गरिएको छैन । भूकम्प र भारतको अघोषित नाकाबन्दीका कारण प्रभावित भएको रसुवागढी मात्रै नभई माथिल्लो सान्जेन र सान्जेन जलविद्युत् आयोजना विगत पाँच महिनादेखि सिमेन्टको अभावमा प्रभावित हुन पुगेको छ । भारतीय पक्षले भने सिमेन्टको मात्रा थोरै हुने भएकाले आफूले एनएस चिह्न राखेर पठाउन नसक्ने जवाफ पठाएको रसुवागढीका प्रबन्ध निर्देशक कोइरालाको भनाइ छ । कूल १ सय ११ मेगावाट क्षमताको सो आयोजनाको भूकम्प र नाकाबन्दीपछि निर्माणसक्ने नयाँ कार्यतालिका सन् २०१९ तोकिएको छ । सान्जेनका दुवै जलविद्युत् आयोजनामा पनि दैनिक १ सय टनभन्दा बढी सिमेन्ट खपत हुन्छ । सिमेन्ट अभावमा आयोजना ढलान तथा कङ्क्रिटको काम प्रभावित भएको छ । चौध मेगावाट क्षमताको माथिल्लो सान्जेनको निर्माण कार्य ६० प्रतिशतको हाराहारीमा सम्पन्न भएको छ । यस्तै गत वैशाखदेखि मात्रै पुनःनिर्माणको काम शुरु गरेको माथिल्लो त्रिशूली थ्री ए मा पनि सिमेन्टको समस्या देखिएको छ । आयोजनाका प्रमुख फणीन्द्रराज जोशीले पनि कोइरालाकै शैलीमा सिमेन्टको समस्या समाधान गरिदिन प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसँग आग्रह गरे । भूकम्पका कारण प्रभावित भएको माथिल्लो त्रिशूली थ्री मा चिनियाँ ठेकेदार गेजुवाले काम गर्न अनिच्छा व्यक्त गर्दै आएको थियो । ऊर्जा मन्त्रालयको दबाबपछि चिनियाँ ठेकेदार काम गर्न आए पनि सिमेन्ट उपलब्ध नहुँदा थप समस्या आउनसक्ने देखिएको छ । ठेकेदारले काम शुरु गरेपछि सो आयोजनाको सुरुङ निर्माणमा उल्लेख्य प्रगति भएको छ । कूल चार हजार १ सय मिटर लामो सुरुङमध्ये अब २४ मिटर मात्रै खन्न बाँकी रहेको जानकारी दिँदै आयोजना प्रमुख जोशीले दशैँसम्म सुरुङ ‘ब्रेक थ्रु’ हुने बताए । माथिल्लो थ्री ए आयोजना नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको आयोजना हो । कहिले आयोजनाको क्षमता वृद्धि गर्ने विवाद त कहिले ठेकेदारसँग काम गर्ने सवालमा देखिएको असमझदारीका कारण परियोजना डेढ वर्ष पर धकेलिएको छ । माथिल्लो त्रिशूली थ्री ए, माथिल्लो सान्जेन, सान्जेन र रसुवागढीमा एकै प्रकारको समस्या देखिएपछि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले उच्च राजनीतिक एवं कूटनीतिक तहमा छलफल गरेर समाधान गर्ने बताएका छन् । घिसिङले भने, “सिमेन्टका कारण आयोजना रोकिने अवस्था आउँदैन । म समस्या समाधान गर्ने प्रयास गर्नेछु ।” नापतौल तथा गुणस्तर विभागले भने निर्माण कार्यलाई गुणस्तरीय बनाउन स्वदेशी तथा विदेशी सबै खालका सिमेन्टको गुणस्तर मापन जरुरी रहेको जनाएको छ । निर्माण कार्यमा संलग्न निर्माण व्यवसायीले भने भारतीय सिमेन्टमा समस्या भए नेपाली सिमेन्टको गुणस्तर परीक्षण गरेर तत्काल काम गर्ने वातावरण बनाइदिन आग्रह गर्दै आएका छन् । रासस –––

सेञ्चुरी बैंकका सीईओ तिमल्सिनाको राजीनामा स्वीकृत, कामु सीईओमा जीवन भट्टराई

काठमाडौं । सेञ्चुरी बैंकको कामु प्रमुख कार्यकारी अधिकृत (कामुसीईओ) मा जीवन भट्टराई नियुक्त भएका छन् । बैंकको आइतबार बसेको सञ्चालक समितिको २४२ औं बैठकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुजमणि तिमिल्सिनाले दिएको राजिनामा स्वीकृत गरेको छ । अर्को व्यवस्था नभएसम्मका लागि नायव प्रमुख कार्यकारी अधिकृत भट्टराईलाई कामुको जिम्मेबारी दिएको बैंकले जनाएको छ । भट्टराई ८ वर्षदेखि सेञ्चुरी बैंकमा कार्यरत छन् । हिमालयन बैंकमा ५ वर्ष, सिद्धार्थ बैंकमा ८ वर्ष काम गरी सेञ्चुरीमा ८ वर्ष गरी २१ वर्षको बैंकिङ्ग क्षेत्रमा बिताएका छन् ।    

केएल टावरमा दशैंतिहार उपहार योजना शुरु, बम्पर उपहारमा मोटरसाइकल

काठमाडौं । चाबहिलकोे केएल टावरले चाडपर्वलार्ई लक्षित गर्दै उपहार योजना सुरु गरेको छ । दशैंमा केही नयाँ वस्तु तथा सेवा खरिद गर्ने आम उपभोक्ताको मनसायलाई प्रोत्साहित गर्दै टावरको व्यवसाय प्रवद्र्धनका लागि यो योजना ल्याएको हो । रमाइलो दसैँ–तिहार उपहार योजना नदिइएको योजनामा ग्राहकले प्रत्येक दिनकुनै न कुनै किसिमको उपहार पाउने छन् । त्यसै गरी उपहार योजनामा सहभागि ग्राहकले साप्ताहिक तथा बम्पर उपहारमा टेलिभिजन, वासिंग मेशिन, रेफ्रिजिरेटर देखि बम्पर उपहारमा मोटरसाइकल तथा स्कुटर पाउने छन् । उपहार कार्यक्रमका संयोजक हिरामणी तिमल्सिनाका अनुसार उपभोक्ताले केएल टावरमा सामान खरिद गर्नेले कुपन मार्फत उपहार प्राप्त गर्नेछन् । दैनिक उपहारमा सिनेमा टिकट, सपिङ भौचर, जेडटिईका स्मार्टफोन, टीसीएलको विद्युतीय जग बितरण गरिने टावरले जनाएको छ । साप्ताहिक रूपमा टावरले टिसिएल र गोदरेज ब्राण्डका वासिङ मेसिन, टेलिभिजन, रेफ्रिजिरेटर, माइक्रोवेभ ओभनलगायतका घरायसी सामान उपलब्ध गराउने उनले बताए । साथै, साप्ताहिक उपहार कार्यक्रममा ग्रिनविच कम्पनीको टाइमेक्स घडी तथा ५ हजार रुपैयाँ बराबरको गिफ्ट भौचर पनि ग्राहले पाउने सपीङ मलले जनाएको छ। उपहार योजनाको बम्पर उपहारमा सुजुकीको जिक्स्चर मोटरसाइकल, सुजुकीकै लेट्स स्कुटर तथा चार रात पाँच दिनको बैंकक भ्रमणको अवसर ग्राहले पाउने छन् । ५० वटा पसल, ग्रोसरी, फुडकोर्ट, तीनवटा सिनेमा हल, बालबालिका र युवाका लागि छुट्टाछुट्टै गेमजोन, सामसुङ प्लाजा, फर्निचर सोरुम लगायतका दैनिक प्रयोगमा आउने सामान टावरमा खरिद गर्न सकिने छ । उपहार योजना अवधिमा १ हजार रुपैयाँ बराबरको सामानको खरिदमा ग्राहले एउटा उपहार कुपन प्राप्त गर्नेछन् । सोही कुपनका आधारमा गोलाप्रथाद्वारा उपहार विजेता छानीनेछन् । योयोजना असोज १ गतेबाट कात्तिक २५ गतेसम्म चल्ने मलले जानकारी दिएको छ ।

२ महिनामा सरकारले १२४ अर्बको चेक काट्यो, पुँजीगत खर्च ज्यादै कम

काठमाडौं । चालु आर्थिक वर्ष सुरु भएको २ महिनामा सरकारले १ खर्ब २४ अर्ब २७ करोड रुपैयाँको चेक काटेको छ । यो रकम कुल बजेटको ९.७ प्रतिशत हो । चालु आवका लागि सरकारले १२ खर्ब ७९ अर्ब रुपैयाँको बजेट विनियोजन गरेको छ । यसमध्ये चालुतर्फ १४.८३ प्रतिशत अर्थात १ खर्ब १९ अर्ब १८ करोड रुपैयाँ खर्च भएको छ । हो । चालु आवमा सरकारले ८ खर्ब ३ अर्ब ५३ करोड रुपैयाँ चालु खर्चका लागि विनियोजन गरेको छ । पुँजीगत खर्चको अवस्था निराशाजनक देखिएको छ । आव सुरु भएको २ महिनामा १.२७ प्रतिशत मात्र खर्च भएको छ । भदौसम्म ४ अर्ब २७ करोड १६ लाख रुपैयाँ मात्र खर्च भएको महालेखा नियन्त्रकको कार्यलयले जनाएको छ । चालु आवमा ३ खर्ब ३५ अर्ब १७ करोड रुपैयाँ पुँजीगत शिर्षकमा बजेट विनियोजन भएको छ । वित्तीय व्यवस्थापनतर्फ ८२ करोड ३२ लाख रुपैयाँ खर्च भएको छ । चालु आउदो कात्तिक मसान्तसम्म कुल विनियोजन बजेटको झण्डै ३० प्रतिशत खर्च गर्नुपर्ने छ । आउदो कार्तिकसम्म कुल विनियोजन रकम मध्ये २९.४४ प्रतिशत अर्थात ३ खर्ब ७६ अर्ब ४९ करोड ३७ लाख ५३ हजार रुपैयाँ खर्च हुने गरी बजेटको चौमासिक लक्ष्य विभाजन गरिएको छ । यो लक्ष्य पुरा गर्न आउँदो कात्तिकसम्म २ अर्ब ५२ अर्ब २१ करोड रुपैयाँ खर्च गर्नुपर्ने छ । मंसिरदेखि फागुनसम्म दोस्रो चौमासमा कुल बजेटको ३७.८० प्रतिशत अर्थात ४ खर्ब ८३ अर्ब ४९ करोड ६३ लाख र तेस्रो चौमासमा कुल बजेटको ३२.७६ प्रतिशत ४ खर्ब १९ अर्ब ४७ लाख ९५ हजार रुपैयाँ खर्च गर्नुपर्ने व्यवस्था छ । पहिलो चौमासका लागि साउन १ गते, दोस्रो चौमासमा मंसिर १ र तेस्रो चौमासमा चैत १ गते कोष तथा लेखा नियन्त्रकको कार्यलयले सिधै बजेट निकासा गर्ने व्यवस्था गरिएको छ । ९० अर्ब राजश्व संकलन दुई महिनामा सरकारले ९० अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ । यो कुल लक्ष्यको १२.३ प्रतिशत हो । चालु आवमा सरकारले ७ खर्ब ३० अर्ब ५ करोड रुपैयाँ राजश्व संकलन लक्ष्य राखेको छ । गत आवमा लक्ष्य भन्दा ८ प्रतिशत बढी राजश्व संकलन भएको थियो ।