विकासन्युज

२० प्रतिशत नाफाले मात्र व्यवसाय चलाउन सकिने अवस्था छैन-पण्डित

नयनबहादुर पण्डित क्षेत्री-पुर्वअध्यक्ष, राष्ट्रिय व्यापार संघ दशैंको मुखमा प्रशासनले दरबार मार्गमा छापा मारेर केही पसलमा शिलबन्दी गरेको छ, त्यही विषयलाई लिएर व्यवसायी आन्दोलनमा छन्, चाडबाडका मुखमा सधै किन यस्तो हुन्छ ? समय समयमा सरकारले व्यवसायीमाथी अनुगमन नगर्ने हो भने उनीहरु पनि सीमा भन्दा बाहिर जान सक्छन् । कानुतः दर्ता भएका र व्यवसाय सञ्चालन गर्नेले पनि कानुनका दायरामा बस्नु पर्छ । तर राज्यले पनि अनुगमनका नाममा दुःख चाँही दिनु हुन्न भन्ने मेरो मान्यता हो । प्रशासनले अनुगमनका क्रममा केही कमजोरी फेला पारेको भन्दै कागजपत्र मागेको छ । व्यवसायीले बिना सर्त कागजात बुझाउनु पर्छ । दशै, तिहार, छठ लगायतका चाडबाडका समयमा ठुलो मात्रामा आर्थिक कारोबार हुन्छ । यस्तो बेलामा उपभोक्ता ठगिने सम्भावना पनि धेरै हुने भएकाले राज्य संयन्त्रले पनि चनाखो भएर अनुगमन गरेको हुनुपर्छ । व्यवसायी आफैं अनुशासित हुने र प्रशासन संयन्त्रले अनुगमन नै गर्नु नपर्ने अवस्थाको निर्माणका लागि हामी लागिपर्नु आवश्यक छ भन्ने ठान्दछु । उपभोक्ताले ठगिएको महशुस गर्नै नपर्ने, राज्यले छापा मार्नै नपर्ने अनि व्यवसायीले आन्दोलन गर्नै नपर्ने अवस्था ल्याउन चाँही सकिन्न ? कि त्यतातिर प्रयासै नभएको हो ? एक दमै सहि कुरा गर्नु भयो । सबैले नियम कानुनको पालना गर्ने हो भने अहिलेको जस्तो अवस्था आउने नै थिएन् । तर हामीले प्रत्येक बर्ष यस्तै नियति भोगीरहेका छौं । उपभोक्ताले ठगिएको महशुस गर्न छाडेका छैनन् र राज्यले पनि अनुगमन गरेर शिलबन्दी गर्न छाडेको छैन । व्यवसायीले आन्दोलन गर्न पनि छाडेका छैनन् । यस्तो अवस्था आउनु भनेको दुःखद कुरा हो । राज्य संयन्त्र, व्यवसायी र उपभोक्ताको साझा हित हुने गरी काम गरिनु आवश्यक थियो । व्यवसायीले नाफा पाउनु पर्छ, नाफा नभै व्यवसाय सञ्चालन सम्भव हुन्न । राज्यलाई राजश्व चाहिन्छ र उपभोक्ताको हित हेर्नुपर्छ । उपभोक्ताले आफ्नो आम्दानी अनुसार उपयुक्त गुणस्तर र मूल्यका समान प्राप्त गर्नु पर्यो । त्यसो त अहिलेको अवस्थामा हरेक मान्छे उपभोक्ता हो । एउटा व्यापारीले एउटा समान बेचिरहेको हुन्छ तर उसले समान खरिद गरेर उपभोग गरिरहेको हुन्छ । तर अहिलेसम्म सबैले एकले अर्काे माथी आरोप लगाईरहेका छन् । मेरो कुरा यत्ति हो की अहिले २० प्रतिशतको मार्जिनमा व्यापार व्यवसाय सञ्चालन गर्न चाँही सम्भव हुन्न । दरबार मार्ग, न्युरोड जस्ता ठाउँमा पसल भाडा यति धेरै महंगी छ की व्यापारीको लागतलाई २० प्रतिशतको नाफाले धान्दैन् । बजार अनुगमनप्रति व्यवसायीको आपक्ति वा गुनासो चाँही के मा हो ? हामीले आपत्ति जनाईरहेका छैनौं । बजार अनुगमन गर्नु हुन्न भनिरहेका छैनौं । हामीले भनेको यति मात्रै हो की दोषीले मुक्त नपाउन र निर्दाेष व्यवसायीले दुःख नपाउनु भन्ने मात्रै हो । ऐनले २० प्रतिशत भन्दा बढि नाफा लिन पाइँदैन भनेको छ । त्यति नाफाले व्यवसाय धान्न मुस्किल छ । तर जथाभावी नाफा लिन पनि पाइँदैन् । नाफाको पनि निश्चित सीमा हुनुपर्छ । कालो बजार ऐन धेरै पुरानो भैसक्यो । त्यति पुरानो ऐन संसोधनको प्रयास अहिलेसम्म किन भएन ? उतिबेलाको बजारलाई हेरेर बनेको ऐन अहिलेका सन्दर्भमा हुबहु कार्यान्वयन गर्दा समस्या हुन्छ । यसको मतलब हामीले कानुन मान्दैनौं भनेका चाँही होइन तर हामीले कार्यान्वयन गरिरहेको कानुनले अहिलेको वस्तुस्थितीको प्रतिनिधित्व गर्छ की गर्दैन भन्ने नै हो । २०३४ सालको ऐनले अहिलेको बजारलाई सम्बोधन गर्न सक्दैन् । कानुनी रुपमै यस्ता समस्या देखिनुको अर्थ नेपालमा व्यापार व्यवसाय गर्ने वातावरण नै छैन भन्नु खोज्नु भएको हो ? त्यस्तो बिलकुलै होइन् । व्यापार व्यवसाय गर्न नेपाल जस्तो सहज मुलुक संसारमा कहिँ पनि छैन् । यहाँ सानो पुँजीमा आफ्नो योग्यता र क्षमता अनुसार व्यवसाय सञ्चालन गर्न सकिन्छ । विश्वका अन्य मुलुकमा साना पुँजीका व्यवसायीलाई गरिखानै मुस्किल छ, तर हामी कहाँ नाङले पसलदेखि ठुला व्यवसायीले सँगै आफ्नो व्यवसाय सञ्चालन गर्न सक्छन् । राज्यले त्यस्तो ठुलो दुःख दिँदैन् । इच्छाशक्ति भएका मानिसका लागि नेपाल लगानी गर्ने उर्वर भूमि हो । यहाँ जतिको उद्योग व्यवसाय चलाउन संसारका कुनै पनि मुलुकमा सहजता छैन् । करका दर र दायराहरु पनि व्यवसाय मैत्री नै छन् । यद्यपी हाम्रा ऐनहरु धेरै पुराना भैसकेका छन् । हामीले पहिले पनि भनिसक्यौं २० प्रतिशतको नाफा तोक्ने ऐन कहिले आएको हो ? त्यो आजभन्दा करिब ३५ बर्ष पहिले आएको हो । नेपालको अर्थतन्त्रको आकार र बिशेषतामा धेरै परिवर्तन भएको छ । त्यसलाई सम्बोधन गरेर अघि बढ्न सक्नु पर्छ । आजको समयमा व्यवसाय सञ्चालनका लागि नाफाको सीमा तोकिनु त्यति राम्रो होइन् । निश्चित समानमा नाफाको सिमा तोकिँदा खासै समस्या हुन्न तर खुल्ला बजार नीतिलाई अंगिकार गरेको राज्यले मूल्य निधारणमा हस्तक्षेप गर्नु हुन्न । मूल्य भनेको बजारले निर्धारण गर्ने कुरा हो । राज्यले भनेको राम्रोसँग नियमन गर्ने हो । मैले २७ बर्षदेखि न्युरोड क्षेत्रमा व्यापार गर्दै आएको छु । उतिबेला र यतिबेलाको परिस्थितीमा धेरै परिवर्तन आईसकेको छ । त्यसलाई हाम्रा ऐन कानुन र सरकारी योजना र व्यवहारहरुले समेट्नु पर्छ । २७ बर्ष पहिले व्यवसाय सुरु गर्दा र अहिलेको अवस्थाम कतिको फरक पाउनु भयो ? हामी उतिबेला म्यानुअल लाइफमा थियौं अहिले डिजिटल लाइफ आईसकेको छ । बजार, प्रबिधी, पुँजी सबै सिमित थिए त्यतिबेला । अहिले बजार, प्रबिधी, पुँजी र प्रतिष्पर्धा सबै बढेको छ । प्रतिष्पर्धा त त्यतिबेला पनि थियो तर अहिले समाज पुरै खुल्ला भैसकेको छ । सबैलाई सबै कुरा राम्रोसँग थाहा छ । त्यतिबेला र अहिले नाफाको अवस्थामा चाँही कतिको अन्तर छ ? बजार जहिले पनि शतप्रतिशत हुन्छ । नयाँ आउनेहरुले आफ्ना लागि आफैं स्थान बनाउने हो । अर्थात सबै समयमा बजारमा तिब्र प्रतिष्पर्धा थियो र हुन्छ । प्रतिस्पर्धा नहुने भनिएको मोनोपोली बजारमा पनि अहिले प्रतिस्पर्धा बढेको देखिन्छ । एउटा कम्पनीको डिलरशिप लिएको कम्पनीले त्यो मुलुकमा एकाधिकार जमाउन सक्छ तर त्यस्तै प्रकारको अर्काे कम्पनीका उत्पादन पनि बजारमा हुन्छन् । अर्थात अहिले त डिलरशिप बजारमा पनि तिब्र प्रतिस्पर्धा छ र कमाई सिमित हुँदै गएको छ । त्यसकारण उतिबेला र यतिबेलाको व्यापारमा पनि नाफाको अवस्थामा भने खासै फरक छैन् । त्यसैले पनि मैले भनेको हो २० प्रतिशतको नाफाले आजको दिनमा व्यवसाय सञ्चालन गर्न सम्भव छैन् । कबल भाडा, कर्मचारी खर्च, ढुवानी खर्च सबै बढेको छ । २०३६ सालमा ६ रुपैंयाँमा पेट्रोल किनेर मोटरसाइकल चढ्ने मान्छे मैँ हुँ तर अहिले हेरौं मूल्य कहाँ पुग्यो ? हामीले एउटा आँखाले मात्रै हेरेर हुन्न । बजार बढेको छ, प्रतिस्पर्धा बढेको छ, मूल्य बढेको छ यसको अर्थ भनेको लागत पनि बढेको छ भन्ने नै हो । यसलाई स्वीकार गरेपछि मात्रै व्यवसायबारे राम्रोसँग बुझ्न सकिन्छ । रसुवागढी नाका पुर्णरुपले सञ्चालनमा आएपछि नेपाली बजारमा आयातित समानको मूल्यमा कस्तो प्रभाव पर्ला ? हामीले चीनमै उत्पादन भएका समान कोलकत्ता बन्दरगाहबाट ल्याउने गरेका छौं । रसुवागढी नाकामा डबल लेनको सडक पुगेर चीनबाट समान ल्याउन सकियो भने नेपाली बजारमा त्यसले ठुलै हलचल ल्याउने छ । कोलकत्ताबाट ल्याउन भन्दा रसुवगढीबाट ल्याउँदा निकै सस्तो पर्नेछ । समय र ढुवानी लागतमा ठुलो कटौती हुनेछ । ठ्याक्कै यति प्रतिशत लागत घट्छ भनेर भन्न त सकिने अवस्था छैन तर त्यसले ठुलै सकारात्मक प्रभाव पार्छ ।

नेपाल विज्ञापन संघले नेपाल आईस नवौं कृति अवार्डको आयोजना गर्ने

काठमाडौं । नेपाल विज्ञापन संघले भदौ २६ गते नेपाल आईस नवौं कृति अवार्डको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा एएफएएका अध्यक्ष रेमण्ड सो तथा प्रमुख अधिकृत भरत अभलानिले कार्यक्रममा प्रमुख अतिथिको रुपमा भाग लिन राजधानी आइपुगेका छन् । नेपाल विज्ञापन संघका अध्यक्ष तथा पदाधिकारिहरुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरे । नेपाल विज्ञापन संघले २०५८ देखि एएफएएको सदस्यको रुपमा एएफएएका बिभिन्न गतिबिधिमा सकृय रुपमा सहभागिता गर्दे आएको छ । नेपाल आईस नवौं कृति अवार्डमा २७ एजेन्सिले २४ वटा बिभिन्न बिधामा भाग लिंदैछन जस्को घोषणा भदौ २६ गते होटेल सोल्टिमा गरिदैेछ कार्यक्रमको प्रत्यक्ष प्रशारण टेलिभिजनबाट हुने जानकारी दिएको छ । साझ ४ बजे बाट सुरु हुने यो कार्यक्रम तिनघण्टा सम्म चल्नेछ । कार्यक्रमको प्रमुख आतिथ्यता संचार मन्त्रिबाट हुने संघले जानकारी दिएको छ ।

स्थानीय तहका ६ हजार अस्थायी/करारका कर्मचारीलाई खाली हात घर फर्काइँदै, लोकसेवा पास नगरे स्वतः पदमुक्त

काठमाडौं । स्थानीय तहमा कार्यरत अस्थायी तथा ज्यालादारी कर्मचारीहरु खाली हाल घर फर्कनुपर्ने भएको छ । व्यवस्थापिका संसदको विकास समितिले स्थानीय तहका अस्थायी तथा करारका कर्मचारीलाई खाली हात घर फर्काउने गरि पास गरेको स्थानीय शासन ऐन २०७३ बिधेयक पास गरेको हो । पास गरिएको बिधेयकमा स्थानीय तहमा हाल कार्यरत अस्थायी तथा करारका कर्मचारीहरुले ऐन लागु भएर पहिलो पटक आव्हान गरिएको विज्ञापनमा आवेदन दिएर लोकसेवाको परिक्षा पास गर्नुपर्नेछ । त्यस्ता कर्मचारीले उमेर हद नलाग्ने बाहेकका कुनै पनि सुबिधा पाउने छैनन् । लोक सेवा आयोगले लिने परिक्षामा उतिर्ण हुन नसके उनीहरु स्वतः पदमुक्त हुनेछन् । बिधेयकमा प्रस्ताव गरिएको यस्तो व्यवस्थाले स्थानीय तहमा बर्षाैदेखि काम गरिररहेका अस्थायी तथा ज्यालादारी कर्मचारीलाई खाली हात घर फर्कन बाध्य पार्ने देखिन्छ । संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका प्रवक्ता रुद्र सिंह तामाङका अनुसार हाल स्थानीय तहमा ६ हजार भन्दा धेरै अस्थायी तथा करारका कर्मचारी कार्यरत रहेका छन् । यस्तै प्रकृतिका अस्थायी शिक्षकहरुले भने आन्दोलन गरेर शिक्षा आयोग आयोगको परिक्षामा प्रतिष्पर्धा गर्न पाउने र अनुतिर्ण भएमा अनिवार्य अवकास लिँदै सरकारबाट निश्चित उपदान पाउने व्यवस्था गराएका थिए ।  

नेपालमा लगानीको राम्रो अवसर छः परराष्ट्रमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री कृष्णबहादुर महराले नेपालमा लगानीका लागि उपयुक्त वातावरण तयार भएकाले पूर्वाधारका क्षेत्रमा लगानी गर्न चिनियाँ व्यापारी तथा लगानीकर्तासँग आग्रह गरेका छन् । ग्वाङन्दोङ प्रान्तस्थित नेपाली महावाणिज्यदूतावासले आज आयोजना गरेको व्यापारी तथा लगानीकर्तासँगको अन्तक्र्रियामा परराष्ट्रमन्त्रीले भने, “दुई देशबीचको कनेक्टिभिटी बढाउन नेपालले पूर्वाधार विकास र अन्तरदेशीय आर्थिक क्षेत्रमा लगानी केन्द्रित गरेको छ । अन्तरदेशीय रेल मार्ग, सडक मार्ग, ट्रान्समिसन लाइन र हवाई मार्गमा लगानीका लागि उयुक्त अवसर छ ।” नेपाल र चीनबीच ‘एक क्षेत्र एक मार्ग’मा सम्झौता भइसकेको उल्लेख गर्दै उनले त्यसलाई दुवै देशले सही तवरले प्रयोग गर्नुपर्ने बताएका उनका प्रेस संयोजक हरि लामिछाने जानकारी दिए । परराष्ट्रमन्त्री महराले उपुक्त प्रविधिसहित नेपालले विकासका क्षेत्रमा दूरगामी रुपमा सहकार्य गरेर जान चाहेको स्पष्ट पारे । जलविद्युत्, पर्यटन, पूर्वाधार, कृषि, उत्पादन उद्योग, दूरसञ्चार, सूचना प्रविधि तथा सेवा क्षेत्रमा पनि लगानीका लागि उपयुक्त अवसर रहेकाले यस क्षेत्रमा गरिएको लगानीबाट राम्रो फाइदा लिन सकिने जानकारी उनले दिए । चिनियाँ पर्यटनका लागि नेपालले राम्रो अवसर प्रदान गरेको उल्लेख गर्दै उपप्रधानमन्त्री महराले गौतमबुद्धको जन्मस्थल लुम्बिनीलगायत विश्व चर्चित नेपालका विभिन्नस्थलको अवलोकन गर्न आग्रहसमेत गरे । नेपालमा वैदेशिक लगानी भित्र्याएर आफ्नो चीनसँग रहेको व्यापार घाटा कम गर्न नेपालले चाहेको उल्लेख गर्दै उहाँले यस अवसरलाई सदुपयोग गर्न आग्रहसमेत गरे । चिनियाँ व्यापारीका लागि नेपालमा लगानी गर्न नेपाली महावाणिज्यदूतावास माध्यम भएको बताउँदै उनले एक हजारभन्दा बढी नेपाली रहेको ग्वाङन्दोङ प्रान्तमा नेपाली वाणिज्य दूतावासको स्थापनासँगै नेपाली व्यापारी, विद्यार्थी तथा अन्य नेपालीलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे । चीनसँगको कूल व्यापारमध्ये ६० प्रतिशत ग्वाङन्दोङ प्रान्तबीच रहेको बताइएको छ । परराष्ट्रमन्त्री महराले व्यापार, यातायात र शिक्षाका लागि विश्वकै केन्द्र बन्दै गएको ग्वाङन्दोङ प्रान्तसँगको व्यापार विस्तारमा यहाँस्थित जनताको आर्थिक तथा व्यापारमा सहभागिताले निर्धारण गर्ने उल्लेख गरे । अन्तरक्रियामा सहभागी व्यापारी तथा लगानीकर्ताका प्रश्नको जवाफमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले नेपालमा चिनियाँ पर्यटकको संख्या वृद्धि हुँदै गएकाले पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह गरे । अन्तक्र्रियामा चिनिँया तथा नेपाली गरी १०० जना व्यापारी तथा लगानीकर्ता सहभागी भएको यहाँस्थित महावाणिज्यदूत रवि भट्टराईले जानकारी दिए । रासस

दरबारमार्गका व्यापारीलाई कार्वाही गर्न राजश्वसचिवको असहयोग

  काठमाडौं । बढी नाफा लिएर उपभोक्ता ठगी गर्ने दरबारमार्गका व्यवसायीलाई कारवाही गर्न अर्थ मन्त्रालयले असहयोग गरेको छ । आपूर्ति मन्त्रालयले  ठगी मुद्दाको लागि प्रमाण जुटाउन अर्थसँग सहयोग माग्दा अस्विकार गरेको स्रोतले जानकारी दिएको छ । थप छानबिनका लागि सहयोग माग्न शनिबार आपूर्ति मन्त्री शिवकुमार मण्डल राजस्व सचिवकहाँ पुगे । मण्डललाई राजस्व सचिव शिशीरकुमार ढुङानाले अस्विकार गरेको आपुर्ति मन्त्रालय एक उच्च अधिकारीले बताए । ती अधिकारीले भने, ‘मन्त्रीज्यु आफै राजश्व सचिवकहाँ गएर सिलबन्दी गरिएका पसलमा छानबिनका लागि सहयोग माग्न जानुभएको थियो । तर सचिवले आपूर्तिले आफ्नो अधिकारभन्दा बाहिर गएर सिलबन्दी गरेको भन्दै सहयोग नगर्ने बताएका थिए ।’ राजश्व सचिवको भनाई उदृत गर्दै उनले भने, ‘राजश्वको कार्यक्षत्रमा पर्ने स्थानमा तपाईंहरुले अनुगमन गर्नुहुन्छ । अब आफैं सुल्झाउनुहोस् ।’ कालोबजारी ऐन अनुसार कालोबजारी सम्बन्धी मुद्दाको कारबाही जिल्ला प्रशासन कार्यालयलाई अधिकार छ । यता आपूर्ति व्यवस्थापन विभागले दरबारमार्गका व्यापारीसंग बयान लिइरहेको बताएको छ । विभागले सिलबन्दीमा परेका दरबारमार्गका व्यवसायीविरुद्ध प्रमाण जुटाउन थालेको छ । जिल्ला अदालतमा मुद्दा दायर गर्नका लागि विभागले आवश्यक प्रमाण जुटाइरहेको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले बताए । विभाग नेतृत्वको निरिक्षण टोलीले अनुगमनमा असिमित मुनाफा लिएर सामान बिक्री वितरण गरिरहेको अवस्थामा सिलबन्दी गरेको थियो । टोली तीन दिनभित्र आवश्यक कागजात सहित पेश गर्नका लागि दिएको निर्देशनका आधारमा दरबारमार्गका नौ वटा ब्राण्डेड शपका सञ्चालकहरुसँग बयान थालिएको विभागका महानिर्देशक कुमारप्रसाद दहालले बताए ।

जगदम्बा स्टिल्सले ल्यायो राइनो ५००डीको उत्पादन नेपाली बजारमा

काठमाडौं । शंकर ग्रुप अन्तगर्तको जगदम्बा स्टिल्सले नेपाली बजारमा ग्यारेन्टिड डक्टिलिटी सहित एफई ५००डी ग्रेडमा राइनो ५००डी उत्पादन बजारमा ल्याएको छ । उत्पादन सम्बन्धि प्राविधिक जानकारी उपलब्ध गराउने सोचका साथ कम्पनीले विभिन्न स्थानमा टेक्निकल मिटको सञ्चालन गरिरहेको प्रेस विज्ञप्ति मार्फत जनाएको छ । ‘राइनो ५००डी नयाँ पुस्ताको उच्च शक्ति र डक्टाइल रीब्ड रिइन्फोर्समेन्ट बार हो । उत्पादन प्रक्रिया र यसमा मिसाइने भौतिक तथा रसायनिक गुणका कारण राइनो अन्य रिबारका तुलनामा फरक छ ।’ कम्पनीद्वारा आयोजित टेक्निकल मिटमा बोल्दै जगदम्बाका प्रमुख कार्यकारी अधिकृत आनन्द नेपालले भने ‘एफई ५००डी ग्रेडको राइनो स्टिल रिबारमा सल्फर र फोसफरसको मात्रा अधिकतम ०.०७५ प्रतिशतमा सिमित गरेकाे छ । यसले गर्दा रिबारलाई उच्च शक्ति र डक्टिलिटी प्राप्त हुन्छ ।’ यसमा रहेको डक्टिलिटी र शक्तिका कारण राइनो ५००डी रिबार उच्च सिसमिक जोखिम सहितको नेपालमा प्रयोगका लागि उपयुक्त भएको कम्पनीेले जनाएको छ । यसले भुकम्पीय जोखिम न्यूनिकरण गर्नुका साथै भुकम्प प्रतिरोधी सुरक्षित निर्माणको सुनिश्चितता समेत प्रदान गर्ने कम्पनीको दावी छ । कम्पनीका अनुसार राइनो ५००डी रिबार नेपाल भरका एक्स्क्लुजिव विक्रि केन्द्र मार्फत ८ एमएम देखि ३२ एमएममा उपलब्ध छ । साथै, उपभोक्ताको माग तथा तिनका योजना अनुसार कम्पनीले ३६ एमएम तथा ४० एमएम आकारमा पनि रिबार उपलब्ध गराउने गरेको छ । फेब्रिकेशनका क्रममा रिबार खेर नजाओस् भन्ने सोचका साथ कम्पनीले यसलाई १२ मिटरको स्थिर लम्बाइमा उपलब्ध गराउने गरेको छ । उपभोक्ताले आफ्नो आवश्यता अनुसार ८एमएम देखि ४० एमएम आकारमा राइनो ५००डी खरिद गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।  

गौतमश्री मार्टको दोस्रो शाखा कुलेश्वरमा,५ देखि २० प्रतिशतसम्म छुट

काठमाडौं । गौतमश्री बिजनेश ग्रुपले संचालनमा ल्याएको गौतमश्री मार्टको दोस्रो आउटलेटले शनिबार देखि औपचारिक कारोबार शुरु गरेको छ । मार्टको समुद्घाटन पूर्वमन्त्री अग्नि सापकोटा र गृह राज्य मन्त्री श्याम कुमार श्रेष्ठले संयुक्तरुपमा गरेका थिए । मार्ट उद्घाटनमा पूर्व सचिब कृष्णहरि बास्कोटा, राष्ट्रिय ब्यापार संगठनका बरिष्ठ उपाध्यक्ष डम्बर देब अर्याल र एफएनसिसिआई सदस्य दिल सुन्दर श्रेष्ठको उपस्थिती रहेको थियो । मार्टको अबलोकनका लागि भुमिसुधार मन्त्री गोपाल दहित पनि कुलेश्वर पुगेका थिए । दोस्रो आउटलेटको रुपमा शनिबारबाट संचालनमा आएको उक्त कम्पनीले श्री अर्गानिक एण्ड काउ फार्मबाट उत्पादित दुध, दहि, पनिर र घिउ लगायत ग्रोसरी सामानको कारोबार गर्ने कम्पनीले जानकारी  िदएकाे छ । मार्ट ओपनिङको अबसर पार्दै गौतम मार्टले सामान खरिद गर्दा ५ देखि २० प्रतिशत छुट पाउने जनाएको छ । मार्टमा नाइक, एडिडास र गौतम ग्रुपकै स्वामित्व रहेको एस एण्ड एस गार्मेन्टबाट उत्पादित ५३ भन्दा बढी भेराइटीका गार्मेन्ट उत्पादनहरु बिक्रीका लागि राखिएका छन् । काभ्रेको पात्लेखेतमा गाई फार्म संचालनबाट चर्चा बटुलेका राम बहादुर गौतमको एकल लगानीमा शनिबारबाट गौतमश्री मार्टको दोस्रो शाखा संचालनमा आएको हो ।अर्गानिक तरकारी, मुस्ताङको स्याउ लगायतका फलफुल,आफ्नै फार्मबाट उत्पादित बिभिन्न तरकारी र शुद्ध दुध, घिउ, दहि र पनिरको को कारोबार शुरु गरेको छ । साथै, शुद्ध दुधका लागि यस स्थानमा संचालनमा आएको गौतमश्री डेरीबाट दुध तथा दुधजन्य बस्तुहरु खरिद गरि लावान्भित हुन गौतमश्री ग्रुपले ग्राहकलाई आग्रह गरेको छ । पात्लेखेतमा उत्पादित अर्गानिक तरकारीका कारण चर्चामा आएको यस मार्टमा ग्रोसरी,देशी तथा बिदेशी मदिराको पनि कारोबार भइरहेको बताउँदै प्रबन्ध निर्देशक राम बहादुर गौतमले यसको दायरालाई अझ फराकिलो बनाउने कार्यमा मार्ट अगाडी बढ्ने बताए ।  

दुइ वाणिज्य बैंकले ६ जना डेपुटी सीईओ पाए, एउटा बैंकले कति जनासम्म राख्न पाउने ?

काठमाडौं । कुमारी बैंकले अनुजमणि तिमल्सिनालाई डेपुटी सीईओमा नियुक्त गरेको छ । तिमल्सिना सेन्चुरी बैंकमा सीईओ पद छाडेर कुमारी बैंकमा डेपुटी सीईओ बनेका हुन् । कुमारी बैंकमा तिमल्सिना तेस्रो डेपुटी सीईओ हुन् । यसअघि सो बैंकमा लामो समय कामु सीईओ भएर काम गरेको राजीव गिरी र कुमारीमा मर्जहुनु पूर्व काष्ठमाण्डप डेभलपमेन्ट बैंकमा सीईओ रहेका उमेशसिहं भण्डारी पनि कुमारी बैंकमा डेपुटी सीईओको भूमिकामा छन् । एउटा बैंकमा तीन जना डेपुटी सीईओ भएको यो पहिलो घट्ना होइन । जनता बैंकमा पनि तीन जना डेपुटी सीईओ छन् । पृथ्वी श्रेष्ठ सोही बैंकबाट प्रोमशन खाएर डेपुटी सीईओ बनेका हुन् भने सागर कुमार घिमिरे र अजय मिश्र पछि थपिएका डेपुटी सीईओ हुन् । उनीहरु मर्ज तथा एक्विशिन पूर्वको संस्थाहरु क्रमशः त्रिवेणी विकास र सिद्धार्थ डेभलपमेन्ट बैंकका सीईओ थिए । निजी क्षेत्रको सबैभन्दा ठूलो र राम्रोमा गनिने नविल बैंकमा सीईओ पछि विभागीय प्रमुखहरु मात्र छन् । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालमा पनि सीईओ पछि विभागीय प्रमुख पदहरु मात्र छन् । नेपाल इन्भेष्टमेन्ट बैंकमा पनि प्रमुख कार्यकारी अधिकृत पछि विभागीय प्रमुखहरु रहेको छन् । यी तीन वटै बैंकमा डेपुटी सीईओ वा जीएम पद छैनन् । धेरै बैंकहरुले एक जना डेपुटी सीईओ राख्ने अभ्यास गरेका छन् । नेपाल बैंकमा दुर्गाराज रेग्मी डेपुटी सीईओ छन् । ग्लोवल आईएमई बैंकमा जनक शर्मा पौड्याल डेपुटी सीईओ छन् । प्रभु बैंकमा तारा मानन्धर डेपुटी सीईओ छन् । माछापुच्छ्रे बैंकमा डेपुटी सीईओ सुमन शर्मा छन् । ‘नियमावलीमा उल्लेख भन्दा बढी पद सिर्जना गरेर आफ्ना मान्छे नियुक्त गरेको गुनासो, उजुरी राष्ट्र बैंकमा आएको छैन, बरु कर्मचारी नियमावलीमा उल्लेख भएको पदपूर्ति नगरेकाले हामीले बेला बेलामा बैंकहरुलाई खाली पदपूर्ति किन नगरेको भनेर सोध्नु परेको छ ।’ -नारायाण प्रसाद पौडेल केही बैंकहरुले प्रमुख कार्यकारी अधिकृत पछि प्रमुख सञ्चालन अधिकृत पद सिर्जना गरेर सोही अनुसार नियुक्ती दिएका छन् । संस्थाको व्यवसायको आधार, शाखा सञ्जाल, सेवाको विभिधताका आधारमा डेपुटी सीईओ नियुक्त हुन थालेको बैंकर्सहरु बताउँछन् । तर कति जना डेपुटी सीईओहरु राख्नु उचित भन्नेमा एउटै मापदण्ड छैन । सम्बन्धित बैंक सञ्चालक समितिको निर्णय, राष्ट्र बैंकको समर्थन र साधारणसभाको अनुमोदनबाट बनेको कर्मचारी नियमावलीमा उल्लेख भएअनुसार पदमा कर्मचारी राख्न सबै बैंक स्वतन्त्र भएको नेपाल राष्ट्र बैंकमा प्रवक्ता नारायण प्रसाद पौडेल बताउँछन् । ‘नियमावलीमा उल्लेख भन्दा बढी पद सिर्जना गरेर आफ्ना मान्छे नियुक्त गरेको गुनासो, उजुरी राष्ट्र बैंकमा आएको छैन’ विकासन्युजसँग कुरा गर्दै पौडेलले भने–‘बरु कर्मचारी नियमावलीमा उल्लेख भएको पदपूर्ति नगरेकाले हामीले बेला बेलामा बैंकहरुलाई खाली पदपूर्ति किन नगरेको भनेर सोध्नु परेको छ ।’ कारोबारमा आएको वृद्धि, शाखा र सेवा विस्तार, भौगोलिक कमरेजमा भएको विस्तारका आधारमा संस्थाको संठगानिक ढाँचामा परिवर्तन स्वभाविक भएको उनले बताए ।