विकासन्युज

लुम्बिनी बिकास बैंकको ५६ औं शाखा कार्यलय चितवनको पर्साढापमा

काठमाडौं । लुम्बिनी बिकास बैंकले ५६औं शाखा कार्यालय चितवनको पर्साढापमा विस्तार गरेको छ । बैंकले स–साना निक्षेप परिचालन तथा कृषि एवं साना व्यवसायमा कर्जा लगानी गरि त्यस भेगका बासिन्दाहरुमा बैंकिङ्ग सेवाको पहुँच अभिबृद्धि गर्ने उद्देश्यले उक्त शाखालाई सञ्चालनमा ल्याएको हो । बैंकले उक्त शाखा कार्यालयबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै एबीबीएस, मोबाइल बैंकिङ, रेमिटेन्स, लकर्सलगायतका सेवाहरु उपलब्ध गराउँदै आएको र निरन्तर रुपमा आफ्नो सेवालाई आधुनिकीकरण रपरिमार्जन गर्दै लगेको छ । यस बैंकको केन्द्रीय कार्यालय डिल्लीबजार, काठमाडौंमा रही देशका ५ प्रदेशका विभिन्न भागमा कुल ५६ वटा शाखा सञ्जालहरु र १२ वटा एटीएमबाट आफ्नो बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । प्रदेश नं. ६ र ७ मा समेत शाखा सञ्जाल विस्तार गर्ने योजना रहेको बैंकले जनाएको छ ।  

इलाम र झापामा एनआईसी एशियाको तीन स्थानमा शाखारहित बैकिङ सेवा सञ्चालन

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले ग्रामीण तथा दुर्गम जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्ने सँगसँगै गाउँ गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको जनाएको छ । यसै क्रममा बैंकले ३ स्थानमा शाखारहित बैकिङ सेवा शुरु गरेको छ । बैंकले भदौ २३ गते इलामको सन्दकपुर गाउँपालिकास्थित देउराली बजार, २४ गते झापा जिल्लाको बुद्घशान्ति गाउँपालिकास्थित शान्तिनगर गडी गाउँ बजार र इलाम जिल्लाको रोङ्ग गाउँपालिकास्थित कुटी डाडाँ बजार शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । देउराली बजार शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन सन्दकपुर गाउँपालिका उपाध्यक्ष शोभा पराजुलीले, शान्तिनगर गडी गाउँ बजार शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन बुद्घशान्ति गाउँपालिका अध्यक्ष रमेश कुमार भुजेलले र कुटीडाडाँ बजार शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन रोङ्ग गाउँपालिका उपाध्यक्ष चन्द्रकला राई (बुढाथोकि)ले गरेको बैंकले जनाएको छ । बैंकले उपरोक्त शाखारहित बैंकिङ्ग सेवा संचालनको लागि बैंक प्रतिनिधिको रुपमा देउराली बजारमा शाखारहित बैंकिङ्ग कार्यालयको लागि सोमति सुनचिउरी, शान्तिनगर गडी गाउँ बजारमा शाखारहित बैंकिङ्ग कार्यालयको लागि कमल भट्टराई र कुटीडाडाँ बजारमा शाखारहित बैंकिङ्ग कार्यालयको लागि यादब बराललाई नियुक्त गरेको छ । यस सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानिय प्रतिनिधिको मार्फतबाट बैंकिङ सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानीय बासिन्दा लामो दुरीसम्म हिड्नु पर्ने बाध्यताको अन्त्य हुने विश्वास बैंकले लिएको छ । यस्तो सेवाबाट स्थानीय बासिन्दाले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा तथा रकम झिक्ने र पठाउने, मोवाईल रिचार्ज गर्न, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) महशुल भुक्तानी गर्ने, स्वीकृत सिमाभित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिनेछ । यी ३ वटा शाखारहित बैंकिङ्ग सेवाहरु सहित हाल यस एन आई सी एशिया बैंकले आफ्ना १२० शाखाहरु, ४ एक्टेन्सन काउन्टरहरु र ९० ए टि एम सञ्जालहरु मार्फत देशभर सेवा प्रदान गरिरहेको छ ।

ग्याँस ढुवानी नरोक्ने भारतीय कम्पनीको प्रतिवद्धता, उद्याेगी भन्छन्, ‘भारतीय बुलेटमा ग्याँस ल्याउँदैनौं’

काठमाडौं । भारतीय ग्याँस ढुवानी कम्पनी इण्डो नेपाल बल्क ट्रान्सपोर्ट एशोसिएसनले नेपालमा एलपी ग्यास ढुवानी नरोकिने स्पष्ट पारेको छ । आगामी नोभेम्बरदेखि नेपालमा ग्याँस ढुवानी सेवा बन्द गर्ने भन्ने नेपाल एलपी ग्यास उद्योग संघको भनाईको इण्डो नेपाल बल्क ट्रान्सपोर्ट एशोसिएसनले औपचारिक रुपमा खण्डन गरेको छ । कम्पनीले गत असार १५ मा आपूर्ति मन्त्रालयलाई पत्राचार गरी ग्याँस बुलेट ढुवानीमा कुनै अवरोध नपुर्याउने र निरन्तर सेवा सुरु गर्ने जनाएको छ । नेपाल एलपी ग्याँस उद्योगीले नोभेम्बरपछि भारतीय ग्याँस ढुवानी कम्पनीसँग ग्याँस ढुवानी नगर्ने सहमती भइसकेको बताँउदै ग्याँस आपूर्तिमा अवरोध पुग्ने निश्चीत रहेको बताएका थिए । भारतीय ग्याँस ढुवानी कम्पनीले पठाएको सो पत्रमा भारतीय ढुवानीकर्ताले ग्याँस ढुवानी बन्द गर्ने भन्ने समाचार यथार्थपरक नभएको बताइएको छ । ’पत्रपत्रिकामा आए अनुसार भारतीय ढुवानीकर्ताले आगामी नोभेम्बरदेखि ग्याँस बुलेट ढुवानी नगर्ने सहमती भएको भन्ने कुरा झुटो र बदनियतपूण छ,’ पत्रमा उल्लेख छ, ’नेपाल आयल निगम लिमिटेड तथा नेपाली ग्याँस उद्योगीले नचाँहेसम्म भारतीय ढुवानीकर्ताबाट कुनै अवरोध नपुग्ने विश्वास व्यक्त गर्न चाहन्छौं ।’ ‘भारतीय बुलेटमा ग्याँस ल्याउँदैनौं’ नेपाली ग्याँस उद्योगीले भने भारतीय ग्याँस ढुवानी कम्पनीसँग सम्झौता भएको र नोभेम्बरदेखि ग्याँस आपूर्तिमा अवरोध पुग्ने दाबी गरिरहेका छन् । भारतीय ग्याँस कम्पनीले स्वार्थमा निहित रहेको सो पत्र पठाएको संघका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेले बताए । उनले भने,’ नेपालमा भारतीय ग्याँस ढुवानीकर्ताको ’मोनोपोली’ छ । उनिहरुले स्वाभाविक रुपमा आफ्नो एकाधिकार कायम राख्न चाहन्छन् ।’ नेपाली उद्योगी र भारतका ग्याँस ढुवानीकर्ताबीच भएको सहमती कार्यान्वयन गराएर छाड्ने पक्षमा ग्यास उद्योगी रहेको घिमिरेले प्रस्ट पारे । ’नेपाली ग्याँस उद्योग र भारतीय ग्याँस ढुवानीकर्ताबीच सहमती भएको हो,’उनले भने, ’भारतीय ग्याँस ढुवानी कम्पनीले सरकारलाई पत्राचार गर्ने विषय होइन । हामीले सरकारले दिएको अनुमतिका आधारमा नेपाली नम्बर प्लेटका ग्याँस सञ्चालन गर्न खोजेका हौं ।’ गत वर्ष असार मसान्तमा नेपाल आयल निगमले ७७५ थान नेपाली ग्याँस बुलेट राख्न स्वीकृती दिएको थियो । भारतले एक्सप्लोसिभ प्रमाणपत्र नदिएपछि ४ सय वटा बुलेट भारतमा नै अड्किएको र ५ अर्ब रुपैयाँ लगानी अलपत्र परेको उद्योगीको दाबी छ । आगामी नोभेम्बरबाट ग्याँस आपूर्तिमा अवरोध पुग्ने निश्चित रहेको उनले बताए । उनका अनुसार उद्योगीले नेपाली ग्याँस बुलेटमा अर्बौं रुपैयाँ लगानी गरिसकेका छन् । उनले भने, ’ग्याँस आपूर्ति सहज गराउने वा नगराउने सरकारको टाउको दुखाईंको कुरा हो । हामीले हाम्रो लगानीमा बनेको बुलेटमा ग्याँस ढुवानी गर्न पाउनुपर्छ ।’  

किंग्स कलेजले १६औ‌ अाइएफ सम्मेलनको आयोजना गर्ने

काठमाडौं । किंग्स कलेजले भदौ २९ देखि ३१ गतेसम्म राजधानीमा १६औ‌ इन्टरनेशनल आन्टरप्रेनरसिप फोरम (आइएफ) सम्मेलनकोे आयोजना गर्ने भएको छ । तिनदिनसम्म संचालनहुने सो कार्यक्रम आयोजनाका लागि कलेजले बेलायत स्थित इसेक्स विजनेश स्कुलसँग सहकार्य गरेको जानकारी  दिएको छ । हरेक वर्ष विश्वका विभिन्न राष्ट्रमा आयोजना हुने यस आइएफ सम्मेलनको यस वर्षको थिम दिगो उद्यमशिलता तथा आर्थिक विकास रहेको छ । सम्मेलन अन्तर्गत प्लिनरी तथाप्यानल सेसन, शैक्षिक, नीतिगत तथा अभ्यासजन्य प्रस्तुती तथा छलफलहरु, नेटवर्किङ्ग, समाजिक अन्तरक्रिया तथा उत्कृष्ट प्रस्तुतीहरुलाई पुरष्कार लगायतको कार्यक्रमहरु समावेश गरिने जानकारी दिएको छ । सो सम्मेलनमा १३ वटा स्टलहरु राखिनेछ जसमा मेडेप परियोजना अन्तर्गत छानिएका १० उत्कृष्ट वस्तुहरुको प्रदर्शन गर्नेछ । साथै, ५ वटा सफल उद्यमशिलताको यात्रा सम्बन्धि भिडियो पनि देखाइनेछ जसमा उत्कृष्ट हुनेले एक भिडियोलाई ५० हजार रुपैँया राशि बराबरको पुरष्कारले सम्मान गर्ने किंग्स कलेजले जानकारी िदएकाे छ । कार्यक्रममा शिक्षक तथा विधार्थी, उधमी, विज्ञ, अनुसन्धानकर्ता, ब्यापारी तथा व्यवसायिक तथा विकास संस्थाहरुको प्रतिनीधिहरु गरी ६ सय भन्दा बढी व्यक्ति सहभागीहुने अपेक्षा कलेजले गरेको छ । “आइएफ सम्मेलनको आयोजनागर्ने अवसरलाई हामीले नेपालमा उद्यमशिलताको विकास तथा प्रबद्र्धनमा निरन्तर रुपमा खटिएबापतको सम्मानको रुपमा लिएका छांै‌।” कलेजका प्रधानाध्यापक नरोत्तम अर्यालले भने । कलेजले एमबिए अन्टरप्रेनरशिपको विशेष कक्षा संचालन गरिरहेको छ जसमा सामाजिक उद्यमशिलता केन्द्रको स्थापना, सामाजिक उद्यमशिलतामा वार्षिक अन्तराष्ट्रिय सम्मेलनको आयोजना, विजनेश इन्कुवेटरको संचालन लगायतका देशको उद्यमशिलताको क्षेत्र लगायतका क्षेत्रमा योगदान पुर्याइरहेको जानकारी दिएको छ । सम्मेलनमा सहभागीहुन नेपाली नागरीकका लागि ६ हजार ६ सय ५० रुपैँया तथा न्यून आय भएका मुलुकहरुको नागरीकका लागि १३ हजार ४०० रुपैँया दर्ता शूल्क तोकिएको छ भने नेपाली तथा विदेशी पूर्णकालीन विद्यार्थीहकालागि सो शूल्क ५ हजार ३०० रुपैयाँ तथा बेलायतीनागरिका लागि २६ हजार ८००रुपैयाँ तोकिएको छ ।  

ला ट्रोब स्कुलले नेपाली विद्यार्थीहरुलाई नाेभेम्बरमा भर्ना लिने

काठमाडौं । अस्ट्रेलीयन ला ट्रोब बिजनेश स्कुलले नेपाली विद्यार्थीहरूका लागि नयाँ भर्ना नोभेम्बरमा लिने भएको छ । नेपालका विद्यार्थीहरूको मागलाई ध्यानमा राखेर यस बिजनेश स्कुलले नोभेम्बर महिनामा अन्डरग्राज्युएट बिजनेश कोर्शहरूमा नयाँ भर्ना लिने घोषणा गरेको हो । केही वर्ष अघि नै ला ट्रोब बिजनेश स्कुलले आफ्ना स्नातकोत्तर कार्यक्रमहरूका लागि तेस्रो सेमेस्टर पनि थप गरेको थियो । यी कार्यक्रमहरू अहिले नेपाल, भारत र श्रीलंकाका विद्यार्थीहरूमा ज्यादै लोकप्रिय बनेकाे छ। यसका अलावा सम्बन्धित उद्योगहरूको आवश्यकता पूर्ति गर्नको लागि र रोजगार बजारमा देखिएका पछिल्ला प्रवृत्तिहरूलाई ध्यानमा राखी नयाँ कार्यक्रमहरू पनि आरम्भ गरेकाे छ । “ला ट्रोब विश्वविद्यालयको हाम्रो क्षेत्रका मुख्य देशहरूसँग सम्पर्क गर्ने र विद्यार्थीहरूका लागि उत्कृष्ट तर अवसरहरू सिर्जना गर्ने निरन्तरको प्रयासले ला ट्रोब बिजनेश स्कुल फेरि नेपालमा आएको छ ।” प्रोफेसर पल माथरले भने । पछिल्लो अकेडेमिक र्याङ्किङ अफ वल्र्ड युनिभर्सिटीजका एआरडब्लुयु नतिजाहरूले ला ट्रोबलाई आफ्नो उपलब्धिमा सबैभन्दा बढी सुधार गर्न सफल अष्ट्रेलिया विश्वविद्यालयको रूपमा स्थापित गरेको छ । एआरडब्लुयु र्याङ्किङहरूमा यसको आजसम्मको सर्वाेत्कृष्ट नतिजा भएको विद्यालयले जनाएको छ । एकपटक फेरि ला ट्रोब बिजनेश स्कुल, अष्ट्रेलियाले छात्रवृत्तिहरू प्रदान गर्दैछ, जसको मूल्य कूल शैक्षिक शुल्कको १५ देखी २५ प्रतिशतसम्म छ । सन् २०१७ देखि प्रदान गरिएका यी छात्रवृत्तिहरू अन्डरग्राज्युएट र पोष्टग्राज्युएट तहमा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि हो । यी छात्रवृत्तिहरू प्राप्तांकको उत्कृष्टतामा आधारित छन् र विद्यार्थीको पछिल्लोे शैक्षिक उपलब्धिका आधारमा प्रदान गरिनेछ । छात्रवृत्तिहरू प्रदान गर्दा पहिला भर्ना हुने विद्यार्थीहरूलाई ग्राह्यता दिइने जानकारी दिएको छ । उक्त विश्वविद्यालयले स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारहरूलाई लक्षित गरी मास्टर अफ प्रोफेस्नल अकाउन्टीङ (सीपीए अस्ट्रेलीया एक्सटेन्सन्), बिज्नेस एनालाइटीक, इन्फरमेसन सीस्टम म्यानेजमेन्ट, स्नातक व्यवसाय तथा कमर्सलगायतका कार्यक्रमहरु शुरु गरेको जानकारी दिएको छ ।  

सेयर कर्जाले पनि सुधार ल्याउन सकेन, बजार ३५ अंकले अाेरालाे

काठमाडौं । सेयर बजारमा आइतबार झण्डै २५ अंकले गिरावट आएको छ ।  विभिन्न बैंक तथा वित्तीय संस्थाले सेयर कर्जा लिनलाई सार्वजनिक रुपमा आब्हान गर्दा समेत बजार बढ्न सकेको छैन् । बजार घटेर १ हजार ५१९ अंकमा सीमित भएको छ । बजारमा सेयरको आपूर्ति अत्याधिक हुदा बिक्रीको चाँप बढ्दा बजार घट्न गएको हो । बजारमा तरलता बढेसंगै सेयर कर्जा पनि घट्न थालेको छ । गत बिहीबार १२ अंक घटेको बजारमा आइतबार पनि लगानीकर्तामा मनोवैज्ञानिक त्राश बढेर २ प्रतिशत भन्दा बढीले कमी आएको छ । आइतबार सबै परिसूचक घटेर राताम्मै भएका छन् । होटल, बैंकिङ, बीमा, जलविद्युत, उत्पादन र वित्त सबै समूहको सेयर मूल्य घटेको छ । आइतबार सबैभन्दा बढी गुमाउनेमा इन्स्योरेन्स समूह भएको छ । इन्स्योरेन्स समूह २९७ अंक घटेको छ । आइतबार सबैभन्दा बढी निर्धन उत्थान बैंकका लगानीकताले १०७ रुपैयाँ कमाएका छन् । निर्धनले ८० प्रतिशत बढी लाभांश घोषणा गरेपछि उसको सेयर मूल्य बढेको हो । राष्ट्रिय बीमा कम्पनी लिमिटेड र छिमेक लघुवित्त विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । राष्ट्रिय बीमाका लगानीकर्ताले एकैदिन प्रतिकित्ता १ हजार २० र छिमेकका लगानीकर्ताले १६९ रुपैयाँ गुमाएका छन् । आइतबार ९४ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सबैभन्दा बढी निर्धन उत्थान बैंकको सेयर किनबेच भएको छ । निर्धन उत्थानको प्रतिकित्ता २ हजार ४९५ रुपैयाँमा १० करोड ६७ लाख ९९ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । पछिल्लो समयमा बजारमा प्राथमिक सेयर (आईपीओ), थप निष्कासन (एफपीओ), हकप्रद सेयर आपूर्ति बढेपछि बजार बढ्न नसकेको नेपाल स्टक ब्रोकर्स एसोसियसनका पुर्वअध्यक्ष नरेन्द्र सिजापति बताउछन् । ठुला कम्पनीले बल्कमा सेयर बिक्री गर्न थालेपछि बजारमा सेयर किन्नेको भन्दा बेच्नेको संख्या बढी रहेको उनको भनाई छ । कम्पनीहरुको वित्तीय विवरण सार्वजनिक हुने समयमा सेयर बजार खस्किएको छ । गत वर्ष बजार बढेर १ हजार ८८१ अंकसम्म पुगेको थियो ।    

जिएसटी प्रणालीले नेपालमा अवैध व्यापार नियन्त्रण हुँदै

वीरगञ्ज । एक महिनाअधि वीरगञ्ज भन्सार कार्यालयमा लागू भएको जिएसटी(बस्तु तथा सेवा कर) प्रणालीका कारण अवैध व्यापार नियन्त्रण हुनाका साथै झोले व्यापारी निरुत्साहित हुन थालेका छन् । सरकारले आयात निर्यातलाई नियमित गर्न साउन १ गतेदेखि वीरगञ्ज भन्सार कार्यालयमा जिएसटी प्रणाली लागू गरेको हो । वास्तविक व्यापारीले मात्र कारोबार गरुन भनी प्रोत्साहन गर्न यस माध्यबाट व्यापारीले आयात निर्यात अनुमति लिएर व्यापार गर्न थालेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी संतोष यादवले राससलाई बताए। शुरुमा व्यापारीले जिएसटी प्रणाली अन्तर्गत आयात निर्यात संकेत नम्बर लिन झन्झटिलो मान्दै आए पनि अहिले संकेत नम्बर लिन थालेपछि आयात निर्यात नियमित हुन थालेको सूचना अधिकारी यादवको भनाइ छ । छिमेकीमूलक भारतलगायत अन्य देशबाट (एक पटकमा रू ५० हजार भन्दामाथिको सामान ल्याउनुपर्ने) समान आयत गर्दा व्यापारीले अनिवार्य आयात निर्यात संकेत नम्बर लिनुपर्ने कानूनी व्यवस्था रहेकाले व्यापारी यसतर्फ आकर्षित हुने थालेका हुन् । यो प्रणाली लागू हुनुभन्दा पहिले आयात निर्यात गर्दा राजश्व चुहावट भइरहेकोमा अहिले १० हजार भन्दा बढी व्यापारीले आयात निर्यात संकेत नम्बर लिएपछि राजश्व चुहावटमा अंकुश लाग्न लागेको भन्सार कार्यालय जनाएको छ । यसैबीच साउनको अन्तिमसाता आएको बाढीपहिरोका कारण भारतको रमगढवा इलाकामा रेलवे लिक बगाएकाले मालबाहक रेल नआउदा वीरगञ्ज भन्सार कार्यालयले ७ प्रतिशत राजश्व गुमाउनुपरेको छ । भन्सार कार्यालयले भदौ महिनामा १० अर्ब ७५ करोड राजश्व उठाउने लक्ष्य राखेकामा रेलमार्गबाट आउने सिमेन्टको कच्चा पदार्थ किंकर , पेट्रोलियम पदार्थ आउन नसक्दा भदौ महिनादेखि हालसम्म ७ प्रतिशत अर्थात  १ अर्ब घाटा बेहोर्नु परेको छ । सत्तरी प्रतिशत राजश्व उठनुपर्नेमा ६३.५६ प्रतिशत मात्र अर्थात ६ अर्ब ८३ करोड रूपैयाँ  मात्र राजस्व भदौ महिनामा उठेको बताइएको छ । रासस

२० प्रतिशत नाफाले मात्र व्यवसाय चलाउन सकिने अवस्था छैन-पण्डित

नयनबहादुर पण्डित क्षेत्री-पुर्वअध्यक्ष, राष्ट्रिय व्यापार संघ दशैंको मुखमा प्रशासनले दरबार मार्गमा छापा मारेर केही पसलमा शिलबन्दी गरेको छ, त्यही विषयलाई लिएर व्यवसायी आन्दोलनमा छन्, चाडबाडका मुखमा सधै किन यस्तो हुन्छ ? समय समयमा सरकारले व्यवसायीमाथी अनुगमन नगर्ने हो भने उनीहरु पनि सीमा भन्दा बाहिर जान सक्छन् । कानुतः दर्ता भएका र व्यवसाय सञ्चालन गर्नेले पनि कानुनका दायरामा बस्नु पर्छ । तर राज्यले पनि अनुगमनका नाममा दुःख चाँही दिनु हुन्न भन्ने मेरो मान्यता हो । प्रशासनले अनुगमनका क्रममा केही कमजोरी फेला पारेको भन्दै कागजपत्र मागेको छ । व्यवसायीले बिना सर्त कागजात बुझाउनु पर्छ । दशै, तिहार, छठ लगायतका चाडबाडका समयमा ठुलो मात्रामा आर्थिक कारोबार हुन्छ । यस्तो बेलामा उपभोक्ता ठगिने सम्भावना पनि धेरै हुने भएकाले राज्य संयन्त्रले पनि चनाखो भएर अनुगमन गरेको हुनुपर्छ । व्यवसायी आफैं अनुशासित हुने र प्रशासन संयन्त्रले अनुगमन नै गर्नु नपर्ने अवस्थाको निर्माणका लागि हामी लागिपर्नु आवश्यक छ भन्ने ठान्दछु । उपभोक्ताले ठगिएको महशुस गर्नै नपर्ने, राज्यले छापा मार्नै नपर्ने अनि व्यवसायीले आन्दोलन गर्नै नपर्ने अवस्था ल्याउन चाँही सकिन्न ? कि त्यतातिर प्रयासै नभएको हो ? एक दमै सहि कुरा गर्नु भयो । सबैले नियम कानुनको पालना गर्ने हो भने अहिलेको जस्तो अवस्था आउने नै थिएन् । तर हामीले प्रत्येक बर्ष यस्तै नियति भोगीरहेका छौं । उपभोक्ताले ठगिएको महशुस गर्न छाडेका छैनन् र राज्यले पनि अनुगमन गरेर शिलबन्दी गर्न छाडेको छैन । व्यवसायीले आन्दोलन गर्न पनि छाडेका छैनन् । यस्तो अवस्था आउनु भनेको दुःखद कुरा हो । राज्य संयन्त्र, व्यवसायी र उपभोक्ताको साझा हित हुने गरी काम गरिनु आवश्यक थियो । व्यवसायीले नाफा पाउनु पर्छ, नाफा नभै व्यवसाय सञ्चालन सम्भव हुन्न । राज्यलाई राजश्व चाहिन्छ र उपभोक्ताको हित हेर्नुपर्छ । उपभोक्ताले आफ्नो आम्दानी अनुसार उपयुक्त गुणस्तर र मूल्यका समान प्राप्त गर्नु पर्यो । त्यसो त अहिलेको अवस्थामा हरेक मान्छे उपभोक्ता हो । एउटा व्यापारीले एउटा समान बेचिरहेको हुन्छ तर उसले समान खरिद गरेर उपभोग गरिरहेको हुन्छ । तर अहिलेसम्म सबैले एकले अर्काे माथी आरोप लगाईरहेका छन् । मेरो कुरा यत्ति हो की अहिले २० प्रतिशतको मार्जिनमा व्यापार व्यवसाय सञ्चालन गर्न चाँही सम्भव हुन्न । दरबार मार्ग, न्युरोड जस्ता ठाउँमा पसल भाडा यति धेरै महंगी छ की व्यापारीको लागतलाई २० प्रतिशतको नाफाले धान्दैन् । बजार अनुगमनप्रति व्यवसायीको आपक्ति वा गुनासो चाँही के मा हो ? हामीले आपत्ति जनाईरहेका छैनौं । बजार अनुगमन गर्नु हुन्न भनिरहेका छैनौं । हामीले भनेको यति मात्रै हो की दोषीले मुक्त नपाउन र निर्दाेष व्यवसायीले दुःख नपाउनु भन्ने मात्रै हो । ऐनले २० प्रतिशत भन्दा बढि नाफा लिन पाइँदैन भनेको छ । त्यति नाफाले व्यवसाय धान्न मुस्किल छ । तर जथाभावी नाफा लिन पनि पाइँदैन् । नाफाको पनि निश्चित सीमा हुनुपर्छ । कालो बजार ऐन धेरै पुरानो भैसक्यो । त्यति पुरानो ऐन संसोधनको प्रयास अहिलेसम्म किन भएन ? उतिबेलाको बजारलाई हेरेर बनेको ऐन अहिलेका सन्दर्भमा हुबहु कार्यान्वयन गर्दा समस्या हुन्छ । यसको मतलब हामीले कानुन मान्दैनौं भनेका चाँही होइन तर हामीले कार्यान्वयन गरिरहेको कानुनले अहिलेको वस्तुस्थितीको प्रतिनिधित्व गर्छ की गर्दैन भन्ने नै हो । २०३४ सालको ऐनले अहिलेको बजारलाई सम्बोधन गर्न सक्दैन् । कानुनी रुपमै यस्ता समस्या देखिनुको अर्थ नेपालमा व्यापार व्यवसाय गर्ने वातावरण नै छैन भन्नु खोज्नु भएको हो ? त्यस्तो बिलकुलै होइन् । व्यापार व्यवसाय गर्न नेपाल जस्तो सहज मुलुक संसारमा कहिँ पनि छैन् । यहाँ सानो पुँजीमा आफ्नो योग्यता र क्षमता अनुसार व्यवसाय सञ्चालन गर्न सकिन्छ । विश्वका अन्य मुलुकमा साना पुँजीका व्यवसायीलाई गरिखानै मुस्किल छ, तर हामी कहाँ नाङले पसलदेखि ठुला व्यवसायीले सँगै आफ्नो व्यवसाय सञ्चालन गर्न सक्छन् । राज्यले त्यस्तो ठुलो दुःख दिँदैन् । इच्छाशक्ति भएका मानिसका लागि नेपाल लगानी गर्ने उर्वर भूमि हो । यहाँ जतिको उद्योग व्यवसाय चलाउन संसारका कुनै पनि मुलुकमा सहजता छैन् । करका दर र दायराहरु पनि व्यवसाय मैत्री नै छन् । यद्यपी हाम्रा ऐनहरु धेरै पुराना भैसकेका छन् । हामीले पहिले पनि भनिसक्यौं २० प्रतिशतको नाफा तोक्ने ऐन कहिले आएको हो ? त्यो आजभन्दा करिब ३५ बर्ष पहिले आएको हो । नेपालको अर्थतन्त्रको आकार र बिशेषतामा धेरै परिवर्तन भएको छ । त्यसलाई सम्बोधन गरेर अघि बढ्न सक्नु पर्छ । आजको समयमा व्यवसाय सञ्चालनका लागि नाफाको सीमा तोकिनु त्यति राम्रो होइन् । निश्चित समानमा नाफाको सिमा तोकिँदा खासै समस्या हुन्न तर खुल्ला बजार नीतिलाई अंगिकार गरेको राज्यले मूल्य निधारणमा हस्तक्षेप गर्नु हुन्न । मूल्य भनेको बजारले निर्धारण गर्ने कुरा हो । राज्यले भनेको राम्रोसँग नियमन गर्ने हो । मैले २७ बर्षदेखि न्युरोड क्षेत्रमा व्यापार गर्दै आएको छु । उतिबेला र यतिबेलाको परिस्थितीमा धेरै परिवर्तन आईसकेको छ । त्यसलाई हाम्रा ऐन कानुन र सरकारी योजना र व्यवहारहरुले समेट्नु पर्छ । २७ बर्ष पहिले व्यवसाय सुरु गर्दा र अहिलेको अवस्थाम कतिको फरक पाउनु भयो ? हामी उतिबेला म्यानुअल लाइफमा थियौं अहिले डिजिटल लाइफ आईसकेको छ । बजार, प्रबिधी, पुँजी सबै सिमित थिए त्यतिबेला । अहिले बजार, प्रबिधी, पुँजी र प्रतिष्पर्धा सबै बढेको छ । प्रतिष्पर्धा त त्यतिबेला पनि थियो तर अहिले समाज पुरै खुल्ला भैसकेको छ । सबैलाई सबै कुरा राम्रोसँग थाहा छ । त्यतिबेला र अहिले नाफाको अवस्थामा चाँही कतिको अन्तर छ ? बजार जहिले पनि शतप्रतिशत हुन्छ । नयाँ आउनेहरुले आफ्ना लागि आफैं स्थान बनाउने हो । अर्थात सबै समयमा बजारमा तिब्र प्रतिष्पर्धा थियो र हुन्छ । प्रतिस्पर्धा नहुने भनिएको मोनोपोली बजारमा पनि अहिले प्रतिस्पर्धा बढेको देखिन्छ । एउटा कम्पनीको डिलरशिप लिएको कम्पनीले त्यो मुलुकमा एकाधिकार जमाउन सक्छ तर त्यस्तै प्रकारको अर्काे कम्पनीका उत्पादन पनि बजारमा हुन्छन् । अर्थात अहिले त डिलरशिप बजारमा पनि तिब्र प्रतिस्पर्धा छ र कमाई सिमित हुँदै गएको छ । त्यसकारण उतिबेला र यतिबेलाको व्यापारमा पनि नाफाको अवस्थामा भने खासै फरक छैन् । त्यसैले पनि मैले भनेको हो २० प्रतिशतको नाफाले आजको दिनमा व्यवसाय सञ्चालन गर्न सम्भव छैन् । कबल भाडा, कर्मचारी खर्च, ढुवानी खर्च सबै बढेको छ । २०३६ सालमा ६ रुपैंयाँमा पेट्रोल किनेर मोटरसाइकल चढ्ने मान्छे मैँ हुँ तर अहिले हेरौं मूल्य कहाँ पुग्यो ? हामीले एउटा आँखाले मात्रै हेरेर हुन्न । बजार बढेको छ, प्रतिस्पर्धा बढेको छ, मूल्य बढेको छ यसको अर्थ भनेको लागत पनि बढेको छ भन्ने नै हो । यसलाई स्वीकार गरेपछि मात्रै व्यवसायबारे राम्रोसँग बुझ्न सकिन्छ । रसुवागढी नाका पुर्णरुपले सञ्चालनमा आएपछि नेपाली बजारमा आयातित समानको मूल्यमा कस्तो प्रभाव पर्ला ? हामीले चीनमै उत्पादन भएका समान कोलकत्ता बन्दरगाहबाट ल्याउने गरेका छौं । रसुवागढी नाकामा डबल लेनको सडक पुगेर चीनबाट समान ल्याउन सकियो भने नेपाली बजारमा त्यसले ठुलै हलचल ल्याउने छ । कोलकत्ताबाट ल्याउन भन्दा रसुवगढीबाट ल्याउँदा निकै सस्तो पर्नेछ । समय र ढुवानी लागतमा ठुलो कटौती हुनेछ । ठ्याक्कै यति प्रतिशत लागत घट्छ भनेर भन्न त सकिने अवस्था छैन तर त्यसले ठुलै सकारात्मक प्रभाव पार्छ ।