छठसम्म पेट्रोलियमको भाउ नबढ्ने
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपनि पेट्रोलियम पदार्थको भाउ नबढ्ने भएको छ । नेपाल आयल निगमले दसैं, तिहार र छठ अवधीभर अन्तराष्ट्रिय बजारमा भाउ बढेपनि नेपालमा नबढाउने जानकारी दिएको छ । चाडपर्वमा उपभोक्तालाई राहत होस् भन्ने उद्येश्यले पेट्रोलियमको भाउ नबढाएको नेपाल आयल निगमले जानकारी दिएको छ । अघिल्लो महिनाको बिलमा भारतीय आयल निगमले पेट्रोलियमको भाउ बढाएको जानकारी दिएको छ । आगामी छठसम्म तेलको भाउ नबढाउने निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए । ‘आन्तराष्ट्रिय बजारमा पेट्रोलियमको भाउ बढ्दा निगमलाई प्रभाव पर्छ’,उनले भने, ‘तर अहिले दसैं, तिहारमा भाउ बढाउँदा उपभोक्ता मारमा पर्छन् । अब छठपछि मूल्य समायोजन गर्छौं ।’
सिटिजन बैंकको १६ प्रतिशत बोनस सेयर स्वीकृत
काठमाडौं । सिटिजन्स बैंकको बोनस १६ प्रतिशत बोनस स्वीकृत भएको छ । नेपाल राष्ट्र बैंकले बैंकको १६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव स्वीकृत गरेको हो । वार्षिक साधारणसभाबाट पारित हुन बाँकी छ । बैंकले चुक्तापुँजी बढाउन सेयरधनीलाई बोनस सेयर दिन लागेको हो ।
९०० मेगावाटको अरुण तेस्रो आयोजनाकाे टेन्डर सकियो, निर्माण सुरु हुदै
काठमाडौं । अरुण तेस्रो जलविद्युत आयोजनाको प्रवद्र्धक भारतको एसजेवीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीले सबै लटको बोलपत्र आब्हान (टेन्डर) को काम सम्पन्न गरेको छ । प्याकेज ४ अन्र्तगतको इलेक्ट्रोमेकानिकल उपकरण निर्माण तथा जडानका लागि बिहीबार ग्लोबल टेण्डरको आब्हान गरेपछि उसको सबै प्याकेजको बोलपत्रको काम सकिएको हो । उसले ५५ महिनामा इलेक्ट्रोमेकानिकल निर्माण तथा जडानको काम सम्पन्न गर्ने लक्ष्य लिएको छ । २२५ मेगावाट क्षमताका ४ वटा युनिट रहने छन् । आयोजना भारतको सतलज जलविद्युत निगम लिमिटेडको लगानीमा लगानीमा निर्माण हुन लागेको हो । एक साताअघि एसजेविएनले तेस्रो प्याकेज अन्र्तगत हाइड्रोमेकानिकल उपकरण आपूर्तिका लागि बोलपत्र आब्हन गरेको थियो । भारतको एकल वा नेपाल र भारतीय कम्पनीको संयुक्त उपक्रम (जेभी) ले बोलपत्रमा भाग लिन पाउने एसजेवीएनले जनाएको छ । पहिलो प्याकेजअन्र्तगत आयोजनाको बाँध र डाइभर्सन सुरुङ संरचना निर्माणको ठेक्का भारतको जेपी कन्ट्रक्सन लिमिटेडले पाएको छ । प्याकेज १ अन्र्तगत आयोजनाको बाँध र ३ किलोमिटर लामो डाइभर्सन सुरुङ निर्माणलगायत संरचना बनाउने जेपीले ठेक्का पाएको हो । ठेक्का सम्झौताका लागि जेपीलाई आशयपत्र (एलओआई) समेत दिएको छ । जेपीको केही समस्या देखिएपछि एसजेवीएनले अहिले म्याद थपको काम मात्र गरेको छ । प्याकेज २ अन्र्तगत विद्युत्गृह निर्माणका लागि पनि बोलपत्र आब्हान गरिएको छ । ठेक्का सम्झौताको अन्तिम चरणमा पुगेको छ । दोस्रो प्याकेजमा विद्युतगृह र ८ किलोमिटर लामो सुरुङ निर्माण, तेस्रो प्याकेजमा इलेक्ट्रोमेकानिकल र चौथो प्याकेजमा हाइड्रोमेकानिकल र प्रसारणलाइनको अन्र्तगत काम हुनेछ । आयोजना निर्माणका लागि भारत सरकारले ९१ अर्ब रुपैयाँ बजेट उपलब्ध गराएको छ । आयोजनाको कुल लागत १ खर्ब १६ अर्ब अनुमान गरिएको छ । आयोजनाले हालै वनको जग्गा प्राप्त गरेको छ । वन विभाग, राष्ट्रिय वन्यजन्तु तथा निकुन्ज विभाग र आयोजनाको प्रवद्र्धक एसजेवीएनबीच त्रिपक्षिय सम्झौता भएको छ । सम्झौताअनुसार अरुण तेस्रो आयोजनाले ९६ रोपनी वनको जग्गा उपयोग गर्न पाएको छ । वनको जग्गा पाउन ढिलाइ भएका कारण आयोजनाको काम अघि बढेको थिएन् । भारत निकासीका लागि ९ सय मेगावाटको अरुण तेस्रो आयोजना बन्न लागेको हो । नेपालले आयोजनाबाट २२ प्रतिशत अर्थात १९८ मेगावाट बिजुली सित्तैमा पाउने छ । आगामी २५ वर्षका लागि एसजेभीएनले अरुणको विद्युत् उत्पादन अनुमतिपत्र (लाइसेन्स) पाउनेछ । यो आयोजना बनेपछि नेपालले निःशुल्क बिजुली, करलगायतबाट २५ वर्षमा ३ खर्ब ४८ अर्ब रुपैयाँ लाभ पाउनेछ । आयोजना प्रभावित स्थानीयले ६ प्रतिशत (८० लाख कित्ता) सेयर पाउँदैछन् । प्रभावित ६ गाविसमा एसजेभीएनले निःशुल्क विद्युतीकरण गर्नेछ । अरुण तेस्रोबाट नेपालले वार्षिक ८६ करोड युनिट बिजुली सित्तैमा पाउनेछ । आयोजनाबाट वार्षिक ४ अर्ब १ करोड ९० लाख युनिट बिजुली उत्पादन हुने सतलजले तयार गरेको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर)ले देखाएको छ । प्रतिस्पर्धाबाट सबैभन्दा बढी बिजुली दिने प्रस्ताव गरेपछि सतलजले सन् २००८ मा यो आयोजना पाएको हो । आयोजना संखुवासभा र भोजपुर जिल्लाको सिमाना भएर बग्ने अरुण नदीमा पर्छ । बाँध नुम र पाथिभरा तथा विद्युत्गृह दिर्दिङ गाविसमा पर्छ । बाँधबाट विद्युत्गृहसम्म ११ किलोमिटर लामो सुरुङ खन्नु पर्नेछ । आयोजनाले जग्गा अधिग्रहण गरिसकेको छ भने हालसालै वनको जग्गा पनि उपयोग गर्न सरकारले स्वीकृति दिएको छ । नेपाललाई निःशुल्क बाहेक आवश्यक परेमा थप बिजुली नेपालमा बेच्ने प्रस्ताव गरेको छ । यस विषयमा नेपाल विद्युत् प्राधिकरणले प्रतिक्रिया दिएको छैन् ।
लुम्बिनी जनरल इन्स्योरेन्सले बोलकबोलबाट हकप्रद बिक्री गर्दे
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर प्रतिस्पर्धाबाट बिक्री गर्ने भएको छ । बिक्री नभएर बाँकी रहेको ४२ हजार ८१५ कित्ता हकप्रद सेयर बिक्रीका लागि कम्पनीले बिहीबार बोलपत्र आब्हान गरेको छ । बोलपत्र पेश गर्ने अन्तिम मिति असोज ६ गते तोकेको कम्पनीले जनाएको छ । कम्पनीले असार ३० देखि भदौ १ गतेसम्म हकप्रद बिक्री खुला गर्दा बिक्री नभएपछि बोलकबोलबाट बाँकी हकप्रद सेयर बिक्री गर्न लागेको हो । कम्पनीले चुक्तापूँजी बढाउन हकप्रद निश्कासन गरेको हो । चालु आर्थिक वर्षभित्र कम्पनीले चुक्तापुँजी बढाएर १ अर्ब रुपैयाँ पुर्याउनु पर्ने छ ।
नेपाल क्लियरिङको असोज ६ गते साधारणसभा हुने, २० प्रतिशत नगद लाभाँश २० प्रतिशत बोनस सेयर दिने
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडको छैठौ वार्षिक साधारणसभा असोज ६ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २० प्रतिशत नगद लाभाँश दिने प्रस्ताव पेश गर्ने भएको छ । यस्तै कम्पनीले २० प्रतिशत बोनस सेयर दिने भएको छ ।
अरुणभ्याली हाइड्रोपावरको साधारणसभा भदौ ३० गते, १० प्रतिशत बोनस सेयर दिने
काठमाडौं । अरुणभ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको २० औ वार्षिक साधारणसभा भदौ ३० गते हुने भएको छ । साधारणसभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद लाभाँश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । सभाले नयाँ सञ्चालकको पनि चयन गर्ने छ ।
एनएलजी इन्स्योरेन्सको सीईओमा कृष्णप्रसाद शर्मा नियुक्त
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णप्रसाद शर्मा नियुत्त भएका छन् । कम्पनी सञ्चालक समितिले शर्मालाई ४ वर्षका लागि नियुत्त गरी सहमतिका लागि बीमा समिति पठाएको छ । राष्टिय वाणिज्य बैंकमा पूर्व सीईओ शर्मासँग नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा १२ वर्ष र एनएजीमा ४ वर्ष सञ्चालक समितिमा अध्यक्षा तथा सञ्चालक रहेर काम गरेकाे अनुभव छ । शर्मालार्इ सीर्इअाेमा नियुक्त गर्ने प्रक्रिया अगाडि बढेकाे र बीमा समितिकाे सहमति अाउन बाँकी रहेकाे कम्पनीकाे अध्ययक्ष विमलप्रसाद वाग्लेले बताए । बीमा कम्पनीकाे सीर्इअाे बन्नकाे लागि शर्माकाे याेग्यता पुगेकाे तर कम्पनीकाे तर्फबाट बुझाउनु पर्ने केही कागजपत्र नपुगेकाेले सहमति दिन केही ढिला भएकाे बीमा समिति स्राेतले बतायाे ।
पिके हाइड्रोपावरमा रुसको पाँच अर्ब लगानी स्वीकृति
काठमाडौ । ३० मेगावाट क्षमताको पिके हाइड्रोपावर प्रालिमा रुसले ५ अर्ब १० करोड रूपैयाँ लगानी गर्ने भएको छ । उद्योग मन्त्रालयअन्तर्गतको उद्योग लगानी तथा प्रवद्र्धन बोर्डको बुधबार बसेको बैठकले उक्त आयोजनामा रुसको लगानीलाई स्वीकृति दिएको उद्योग विभागका महानिर्देशक शंकर अर्यालले जानकारी दिए । पिके हाइड्रोपावर रामेछाप, ओखलढुंगा र दोलखाको सिमानामा पर्ने लिखु खोलामा अवस्थित छ । उद्योग मन्त्रालयको समेत जिम्मेवारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बोर्ड बैठकमा विदेशी लगानी प्रोत्साहन गर्ने, स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्ने तथा उद्योग क्षेत्रमा सुधार गर्ने जस्ता नीतिका बारेमा समेत छलफल भएको थियो । उद्योगमन्त्रीको अध्यक्षतामा रहने बोर्डमा सम्बन्धित मन्त्रालयका सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, राष्ट्रिय योजना आयोगका सदस्य, निजी क्षेत्रको व्यावसायिक संगठनका प्रतिनिधिलगायत करिब दुई दर्जन सदस्य छन्र । बोर्डले २ अर्ब रुपैयाँभन्दा बढीको विदेशी लगानीलाई स्वीकृति दिने गर्दछ । नेपालमा आर्थिक वर्ष २०७३/७४ सम्म जम्मा चार हजार ७५ उद्योगमा २ खर्ब १२ अर्ब ८३ करोड ८५ लाख विदेश लगानी भएको छ । विसं २०७३ असार मसान्तसम्म मुलुकभर ७ हजार ७३ उद्योग दर्ता भएका छन् । रासस