अवरोधले दुई जिल्ला जोड्ने सडक विस्तार अलपत्र
भक्तपुर । सडक विस्तारका क्रममा ‘रिटेनिङ वाल’ अर्थात टेवा पर्खाल भत्किएर तरकारी तथा अन्नबाली नष्ट भएको भन्दै एक वर्षदेखि स्थानीयवासीले अवरोध गरेपछि भक्तपुर र काठमाडौँ जोड्ने सडक निर्माण अलपत्र बनेको छ । भक्तपुरको बोडेबाट काठमाडौँंको मूलपानी जोड्ने बोडे–मूलपानी सडक विस्तारका क्रममा नीलबाराही चेकपोस्ट नजिकै निर्माण भइरहेको ‘रिटेनिङ बाल’ अर्थात टेवा पर्खाल गतवर्ष भत्किएको थियो । सडक निर्माण ठेकेदार कम्पनी ‘सन्तोषी पिआर जेभी ललितपुर’ ले बाली क्षति भएका कृषकलाई नष्ट भएको तरकारी, अन्नबालीको क्षतिपूर्ति स्वरूप ६ लाख रुपैयाँ दिए पनि कृषकले भने ३७ लाख रुपैयाँ माग गरेर सडक निर्माण कार्यमा अवरोध गरेपछि समस्या आएको डिभिजन सडक कार्यालय भक्तपुर प्रमुख इञ्जिनियर गुरुप्रसाद अधिकारीले जानकारी दिए । आर्थिक वर्ष २०७२/७३ मा थिमिको बाहाखाबजार, पुरानो बाटो हुलाक मार्ग र नगरपालिका भवन हुँदै मिलरोड, बोडै हुँदै मनोहरासम्म जोड्ने २ दशमलव ८ किलोमिटर सडक निर्माण सम्पन्न गर्न समस्या आएको छ । सात मिटर फराकिलो कालोपत्रे एवं फुटपाथसहित निर्माण हुने उक्त सडकको मापदण्डभित्र परेका घरटहरा, बिजुली, टेलिफोनको पोल नहटाउँदासमेत सडक विस्तारमा समस्या आएको अधिकारीले बताए । उक्त सडकमा मापदण्डभित्र ३८ घरटहरा, ३५ बिजुलीको पोल, ३२ टेलिफोनको पोल, दुईवटा मन्दिर र ढुंगेधारा, दुईवटा कम्पाउन्ड पर्खाल परे पनि त्यसलाई नहटाइदिँदा सडक विस्तारमा समस्या परेको छ । रासस
बन्जी जम्पको सम्भाव्यता अध्ययन शुरु
काठमाडौ । कीर्तिपुर नगरपालिकाले पर्यटनको प्रवद्र्धनका लागि स्थानीय बल्खु खोलामा नजिकै सहासिक खेल बन्जी जम्पको सम्भाव्यता अध्ययन शुरु गरेको छ । कीर्तिपुर र तीनथानाको सिमानास्थलमा पर्ने त्यस क्षेत्रमा रहेको डाँडामा बन्जी जम्प संरचनाका लागि विस्तृत परियोजना प्रतिवेदन निर्माणको कार्य शुरु भएको छ । कीर्तिपुर नगरपालिका–२ स्थित उक्त क्षेत्रमा गरिएको भौगोलिक सर्भेक्षणबाट बन्जी जम्पका लागि उपयुक्त देखिएपछि नगरपालिकाले पर्यटकीय गन्तव्यका रुपमा विकास गरी आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने लक्ष्य राखेको छ । काठमाडौँ उपत्यकाबाट नजिक पर्ने त्यस क्षेत्रमा सो खेलको विकासका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माणका लागि नगरपालिकाले चालु आवमा १ करोड विनियोजन गरेको नगर प्रमुख रमेश महर्जनले जानकारी दिए । विस्तृत परियोजना प्रतिवेदनपछि उक्त पूर्वाधार सम्पन्न गर्न के कति खर्च लाग्ने र कसरी निर्माण पूरा गर्ने भन्ने विषयमा टुंगो लाग्ने छ । नगरपालिकाले त्यहाँ गर्ने लगानीबाट त्यस क्षेत्र आसपासका स्थानीय लाभान्वित हुने र रोजगारीको अवसर बढ्ने विश्वास गरिएको छ । रासस
कुमारी बैंकको १ करोड ३५ लाख कित्ता सेयर सुचिकृत
काठमाडौं । कुमारी बैंकको सेयर नेपाल स्टक एक्सचेन्ज लिमितटेडमा कारोबारका लागि सूचिकृत भएको छ । काष्ठमण्डप डेभलपमेन्ट बैंक, काँक्रेबिहार विकास बैंक, महाकाली विकास बैंक र पश्चिमाञ्चल फाइनान्स लिमिटेडलाई प्राप्ति गरेपछिको १ करोड ३५ लाख ३९ लाख २१० कित्ता सेयर सुचिकृत भएको हो ।
बैंकले सेयर धितोमा कर्जा दिन थाले, बढ्ला त बजार ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ निर्देशन जारी गरेपछि बैंकहरु धमाधम सेयरमा लगानी गर्न थालेका छन् । हालसम्म झण्डै आधा दर्जन बैंक तथा वित्तीय संस्थाले सेयर धितो राखेर कर्जा लगानी गर्ने योजना सार्वजनिक गरेका छन् । बैंकले सेयरमा लगानी गर्ने भएपछि हाल घटिरहेको बजार बढ्ने अनुमान गरिएको छ । नबिल बैंकले सजिलो कर्जा नै नबिल सेयर कर्जा भनेर सेयर कर्जा दिने योजना ल्याएको छ । मुक्तिनाथ विकास बैंकले पनि सेयर कर्जा योजना ल्याएको छ । यी दुई बैंकले सेयर कर्जाको ब्याज दर भने खुलाएका छैनन् । कैलाश विकास बैंकले सस्तोमा सेयर कर्जा दिने योजना सार्वजनिक गरेको छ । उसले १२ प्रतिशतमा सेयर कर्जा दिने कैलाश सेयर लोन योजना ल्याएको जानकारी दिएको छ । हाल बजारमा सेयर कर्जा १५ प्रतिशत भन्दा कममा पाइन्न । प्रक्रिया थालेको २ दिनमा सेयर कर्जा पाइने बैंकले जानकारी दिएको छ । एनआइसी एशिया बैंकले शेयर धितो कर्जा योजना फेरि सुरु गरेको छ । ग्राहकले अत्याधिक रुचाएकाले यो योजना पुन सुरु गरेको बैंकले जानकारी दिएको छ । उसले पनि २ दिनमा सेयर कर्जा दिने बताएको छ । यसैगरी बुधबार सिद्धार्थ बैंकले पनि आइतबार विज्ञापन गरेर सेयर कर्जा खुला भएको जानकारी दएको छ । अन्य बैंक तथा वित्तीय संस्थाले धमाधम सेयर कर्जा खुला गर्न थालेका छन् । गत शुक्रबार मात्रै सेयर बजार २५ अंक घटेर १ हजार ५५४ अंकमा सीमित भएको छ । पछिल्लो समयमा बजार घट्दै गएको छ । गत वर्ष बजार बढेर १ हजार ८८१ अंकसम्म पुगेको थियो । कम्पनीहरुको वित्तीय विवरण सार्वजनिक हुने समयमा यो वर्ष सेयर बजार खस्किएको छ । बैंकको ब्याज दर नघटेको र बजारमा सेयर आपूर्ति धेरै बढेपछि मूल्य घटेको सेयर ब्रोकर नरेन्द्र सिजापति बताउछन् । केही दिनअघि विकास न्युजले गरेको कुराकानीमा बजार घट्नुमा आपूर्ति बढी भएको उनको भनाई थियो । बैंकले सेयर कर्जा खुला गरे पनि महंगो ब्याजले बजार बढ्ने संभावना न्युन रहेको धितोपत्र व्यसायी नन्दकिशोर मुन्दडा बताउछन् । “ब्याज दर अझै घटेको छैन भने बजारमा बोनस र हकप्रदको सेयरको आपुर्ति ह्वातै बढेका कारण सुधार हुने संभावना कम देखिन्छ”उनी भन्छन । पर्याप्त तरलता भएपनि बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याज दर नघटाएको उनको भनाई छ । हकप्रद बिक्री नभएर धमाधम लिलामीमा आएको छ । पुँजीवृद्धिको योजनाअन्र्तगत बैंक तथा वित्तीय संस्थाको बोनस र हकप्रद सेयर सकिएको र बीमाको मात्र बाँकी रहेकाले लगानीकर्ताको आकर्षण घटेको उनको भनाई छ । बजारमा १० देखि १५ प्रतिशत तलमाथि हुने संभावना रहेको उनले जानकारी दिए । पुँजी वृद्धिको योजनापछि बजार बढ्ने र सकिएपछि घट्ने प्रवृति रहेको उनको भनाई छ । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जामा थप अंकुश लगाउदै बैंक तथा वित्तीय संस्थाले प्राथमिक पुँजी (काेर क्यापिटल) को ४० प्रतिशत मात्र लगानी गर्न पाउने व्यवस्था गरेको छ । गत वर्ष मार्जिन प्रकृतिको कर्जा लगानी साढे ७ प्रतिशत बढेर ४० अर्ब ४७ करोड ५७ लाख रुपैयाँ पुगेको थियो । यस्तो कर्जा गत वर्ष मात्रै २ अर्ब ८१ करोड ८८ लाख रुपैयाँ बढेको थियो । वित्तीय घर्षण बढेपछि गत माघदेखि नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जालाई अनुत्पादक भन्दै लगानीमा अंकुश लगाएको थियो । हाल बजारमा ७०अर्ब रुपैयाँ बढी तरलता रहेको राष्ट्र बैंकले जनाएको छ ।
इम्बोस्ड नम्बर प्लेटमा अञ्चल खारेज, अब प्रदेशको नम्बर लेखिने
काठमाडौं । सरकारले सवारी साधनमा जोड्न लागेको इम्बोस्ड नम्बर अब अञ्चलको नभई प्रदेशको नामबाट हुने भएको छ । यसअघि अञ्चलको नामबाट गर्ने व्यवस्थालाई खारेज गरी प्रदेशको नाम वा नम्बरबाट हुन लागेको हो । मुलुक संघीय संरचनमा गई अञ्चल खारेज भइ प्रदेश कार्यान्वयनमा आएपछि सरकारले यस्तो व्यवस्था गर्न लागेको हो । यसका लागि भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले अञ्चलको अनुसुचि परिर्वतन गर्न मन्त्रिपरिषदमा प्रस्ताव लैजाने भएको छ । यसअघि १३ प्रकारका सवारी नम्बर प्लेट भएकोमा इम्बोस्ड लागु भएपछि घटाएर ५ वटामा झारिएको छ । २ पाङग्रे, ३ पाङग्रे र ४ पाँग्रेलाइ समेत गरी ५ वर्षभित्र २५ लाख नयाँ इम्बोस्ड नम्बर प्लेट जडान गरिने योजना रहेको भौतिक पुर्वाधारमन्त्री वीरबहादुर बलायरले बताए । व्यवस्थापिका संसदको विकास समितिको बुधबार बसेको बैठकमा बोल्दै मन्त्री बलायरले ५ वर्षभित्र सबै प्रकारका सवारीसाधनमा इम्बोस्ड नम्बर जडान गरिसक्ने जानकारी दिए । उनका अनुसार २ पांग्रेलाई २ हजार ५ सय, ३ पांग्रेलाई २ हजार ९ सय, ४ पांग्रेलाई ३ हजार २ सय र हेभी सवारीसधानलाई ३ हजार ६ सय रुपैयाँ मुल्य तोकिएको छ । ठेकेदारले प्रति इम्बोस्ड नम्बर न्युनतम १६ देखि बढीमा १९ डलरसम्म पाउने छ । ५ वर्षमा सरकारले झण्डै ४ अर्ब अर्थात ३ करोड ३३ लाख ५० हजार रुपैयाँ लाग्ने मन्त्री बलायरले जानकारी दिए । उनकाअनुसार यसबाट आउदो ५ वर्षमा २ अर्ब ८४ करोड रुपैयाँ राजश्व संकलन हुने उनले जानकारी दिए । पहिला अर्डर भएको इम्बोस्ड प्लेट सानो भएको र अन्य प्राविधिक कारणले नेपाली भाषमा इम्बोस्ड नम्बर लेख्न नमिल्ने र नेपालको झण्डा रहने उनले बताए । नेपाल अन्तराष्ट्रिय सडक सञ्जालमा जोडिएको र वान बेल्ट वान रोड (ओबीओआर) मा गइसकेकाले नेपालीको सट्टा अंग्रेजीमा नम्बर प्लेट हुने उनले स्पष्टपारे । नेपालले इम्बोस्ड नम्बर प्लेट लागु गरिसकेको छ
एनआइसी एशियाले ल्यायो शेयर धितो कर्जा, दुई दिनमै कर्जा प्रवाह गर्ने व्यवस्था
काठमाडौं । एनआइसी एशिया बैंकले शेयर धितो कर्जा योजना फेरि सुरु गरेको छ । ग्राहकले अत्याधिक रुचाएकाले यो योजना पुन सुरु गरेको बैंकले जानकारी दिएको छ । सरल कर्जा प्रक्रिया, न्यूनतम कागजी आवश्यकता तथा २ दिनमा नै कर्जा प्रवाह गर्ने व्यवस्था सहित बैंकले शेयर धितो कर्जा सुरु गरेको हो । बैंकको सम्पूर्ण १२० शाखाहरुबाट यो कर्जा उपलब्ध हुनेछ । यो कर्जा अन्तर्गत गाहकहरुले न्यूनतम २५ लाख रुपैयाँदेखि अधिकतम १० करोड रुपैयाँसम्म आफूसगं रहेको शेयर धितोमा राखी कर्जा उपभोग गर्न सक्ने बैंकले जानकारी दिएको छ । नेपाल स्टक एक्सचेन्जमा सूचिकृत साधारण तथा संस्थापक शेयर धितो राखी शेयर धितो कर्जा उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ ।
एनसेलले ल्यायो नयाँ डेटा प्याक सुविधा, यस्ता छन् अफरहरु
काठमाडौं । एनसेलले ग्राहकका लागि नयाँ डेटा प्याक सुविधा ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकले कुनै पनि डेटा प्याक सुचारु गर्दा जति भोल्युमको प्याक खरिद गरेको हो त्यति नै भोल्युम बराबरको फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार यसमा कर सहित न्युनतम २ पैसा प्रति एमबि सम्ममा डेटा सेवा लिन सकिनेछ । नयाँ डेटा प्याक कुनै पनि बेलाप्रयोग गर्न मिल्ने ‘अल टाइम’ प्याक र राति ११ बजे देखि बिहान ५ बजे सम्मको समयमाप्रयोग गर्न मिल्ने ‘नाइट टाइम’ प्याकमा उपलब्ध छन् । यो योजना बुधबार देखि ९० दिनको लागिलागु हुनेछ र फोरजी बोनस ३० दिनकालागि मान्य हुने कम्पनीले जानकारी दिएको छ । अब १ देखि ३० दिन भ्यालिडिटी भएका ३० एमबि देखि १०,००० एमबि सम्मका डेटा प्याकहरु १० रुपैयाँ देखि १५०० रुपैयाँसम्मको प्याक शुल्कमा खरिद गर्न सकिनेछ । आवश्यकताअनुसार कुनै पनि डेटा प्याक सुचारु गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । कुनै पनि डेटा प्याक सुचारु गर्ने ग्राहकले आफुले खरिद गरेको प्याक बराबरकै फोरजी डेटा पाउने यो योजनाको प्रमुख विषेशता रहेको कम्पनीले जानकारी दिएको छ । यस योजना अन्तर्गतका प्याकहरु ग्राहकले टुजि, थ्रिजी र फोरजी कुनैपनि नेटवर्कमा प्रयोग गर्न सक्छन् भने बोनस स्वरुपप्राप्त थप फोरजी डेटा फोरजी नेटवर्कमा मात्र मान्य हुनेछ । अल टाइम डेटा प्याक अन्तर्गत ग्राहकले १० रुपैयाँमा ३० एमबि डेटा प्राप्तगर्नेछन् र यो प्याक सुचारु गर्नुहुने ग्राहकले ३० एमबि फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । त्यस्तै अरु अल टाइम डेटा प्याक अन्तर्गत ग्राहकले ३० रुपैयाँमा १०० एमबि, ५० रुपैयाँमा २०० एमबि र ७० रुपैयाँमा २५० एमबि लिन सक्नेछन् र सोहि भोल्युम बराबरको फोरजी डेटाको प्रयोग गर्न मिल्ने कम्पनीले जानकारी दिएको छ । साथै ठूलो भोल्युमको अल टाइम डेटा प्याक अन्तर्गत, ग्राहकले १०० रुपैयाँमा ५०० एमबि, ३०० रुपैयाँमा १२५० एमबि, ५०० रुपैयाँमा २५०० एमबि र १५०० रुपैयाँमा १०००० एमबि डेटा प्राप्तगर्नेछन् र यसका साथै खरिद गरिएको भोल्युम बराबरकै फोरजी डेटा बोनस प्राप्त गर्नेछन् । नाइट भोल्युम प्याक सुचारु गर्ने ग्राहकले सोहि मूल्यमा अल टाइम डेटा प्याक भन्दा चार गुणा बढी डेटा भोल्युमको सेवा लिन सक्नेछन् । यसका साथै नाइट प्याक सुचारु गर्ने ग्राहकले सोही डेटा भोल्युम बाहेक त्यति नै भोल्युमको फोरजी डेटा बोनस पाउनेछन् । जस्तै १५०० रुपैयाँमा ४०००० एमबि नाइट प्याक सुचारु गर्ने ग्राहकले थप ४०००० एमबि फोरजी डेटा बोनस प्राप्तगर्नेछन् र न्युनतम २ पैसा प्रतिएमबिमा डेटा सेवा लिन सक्नेछन् । पहिलो पटक जेठ १८ मा काठमाडौं उपत्यका (नगरकोट सहित), बनेपा र धुलिखेलमा फोरजी सेवा संचालनमा ल्याएपछि एनसेलले तदारुकताका साथ यो सेवा विस्तार गरेको बताएको छ ।
बाढीले चितवनका ४९९ घर क्षति, २१ करोड रुपैयाँ बराबरको नोक्सानी
रत्ननगर । बाढीका कारण चितवन जिल्लामा ४९९ घर पूर्ण क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । समितिका स्रोत व्यक्ति हरिबाबु ढकालले आजसम्मको प्राप्त विवरणबारे जानकारी दिँदै ४९९ घर क्षति भएकामध्ये रत्ननगर, राप्ती र माडी नगरपालिका बढी प्रभावित भएका छन् । साउन अन्तिम साताको बाढीले जिल्लाको सात स्थानीय निकायमध्ये रत्ननगर नगरपालिकामा १११, राप्ती नगरपालिकामा १३१ र माडी नगरपालिकामा १२३ घर पूर्ण क्षतिको विवरण संकलन भएको ढकालले बताए । उनले स्थानीय निकायका प्रमुखलाई व्यक्तिगत भेटेर तथा पटकपटक पत्राचार गर्दासमेत सम्पूर्ण क्षतिको विवरण नपठाइदिँदा समस्या भएको दुखेसो गरे। ‘भौतिक तथा आर्थिक क्षतिको विवरण माग गरेको कुनै पनि स्थानीय निकायले पठाएकै छैनन्,’ ढकालले भने, “अलिअलि कृषि, पशु कार्यालयको तथा तटबन्धको क्षतिको तथ्यांक आएको छ, अरु विवरण आउन सकेको छैन ।’ जसका कारण सरकारले दिनुपर्ने प्रतिव्यक्ति ७० रुपैयाँको राहत वितरणसमेत राम्ररी हुन नपाएको र आंशिक मात्रै वितरण भएको उनले बताए । जिल्ला विपद् व्यवस्थापन समितिबाट प्राप्त तथ्यांकमा जिल्लाको कालिका नगरपालिकामा आठ घर, भरतपुर महानगरपालिकामा ८२ घर, माडी नगरपालिकामा १२३ घर, खैरहनी नगरपालिकामा ३६, रत्ननगर नगरपालिकामा १११, राप्तीमा १३१ र इच्छाकामना गाउँपालिकामा आठ घर पूर्ण क्षति भएको विवरण छ । यसपटक स्थानीय निकायमार्फत राहत वितरण भएकाले व्यवस्थापनमा सहज भएको चितवनका प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समिति चितवनका संयोजक नारायणप्रसाद भट्टले बताए । उहाँका अनुसार शुरुमा स्थानीय निकाय आफैँले खरिद गरेरसमेत राहत वितरण गरेका थिए । थोत्रा कपडा र जंक फुड वितरणमा रोकेको प्रजिअ भट्टले बताए । कति ठाउँबाट फिर्तासमेत पठाएको उनले बताए । कृषि पशु र तटबन्धको गरी कूल २१ करोड रुपैयाँ नोक्सान चितवनमा साउन २८ गते आएको वर्षा र बाढीका कारण कृषि पशु र नारायणी तटबन्धनमा झण्डै २१ करोड रुपैयाँको क्षति भएको छ । कृषिमा १५ करोड ६० लाख रुपैयाँ, पशुमा तीन करोड ८७ लाख रुपैयाँ तथा नारायणी तटबन्धनको एक करोड ५० लाख रुपैयाँ क्षति भएको पाइएको छ । अन्य केही सरकारी निकायले क्षतिको क्षेत्रफल मात्रैको विवरण पेश गरेका छन् भने स्थानीय निकायबाट भने क्षतिको विवरण आइनसकेको समितिका स्रोत व्यक्ति तथा जिल्ला प्रशासन कार्यालय चितवनका नायब सुब्बा हरिबाबु ढकालले बताए । जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख सुधीर श्रेष्ठ जिल्लामा एक हजार ७९५ बिगाहा १४ कट्ठामा बाढीले क्षति पु¥याएको र यसबाट किसानलाई रु १५ करोड ६० लाख बढी क्षति भएको बताए । अझै पनि विवरण आउने क्रम रहेको जनाइएको छ । पशु सेवा कार्यालय चितवनका अनुसार सबैभन्दा बढी कुखुरामा क्षति भएको छ । प्राप्त विवरणमा लेयर्स कुखुरा १४ हजार ७५२ वटा र ब्रोइलर कुखुरा ४६ हजार ६३२ वटा मरेको र १४ हजार ७२८ किलो दाना नष्ट भएको जनाइएको छ । कार्यालय प्रमुख डा डिल्लीराम सेढाईंले जिल्ला विपद् व्यवस्थापनमा पेश गर्नुभएको विवरणअनुसार गाई २१, बाख्रा १०७, बंगुर ७९ वटा मरेको र १५ वटा खोर नष्ट भएको जनाइएको छ । स्थानीय निकायबाट विवरण नआउँदा समस्या हुँदै आएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । रासस