विकासन्युज

नेपाल लाइफ इन्स्योरेन्सले कमायो ४१ करोड ६५ लाख

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले गत आवमा ४१ करोड ६५ लाख रुपैयाँ मुनाफा कमाएको छ । यो बीमा कम्पनीले यस वर्षको बीमांकीय मूल्यांकन भने गर्ने बाँकी रहेको र सो पश्चात हुने नाफा पनि यसमा जोडिने भएको जानकारी दिएको छ । यो बीमा कम्पनीले अघिल्लो वर्ष भने ९० करोड ६६ लाख नाफा गरेको थियो । यो नाफा विमांकिय मूल्यांकन पश्चात प्राप्त भएको ५७ करोड ८९ लाख रुपैयाँको नाफासमेत जोडेर राखिएको अन्तिम तथ्यांक भएको पनि यो बीमा कम्पनीले जानकारी दिएको छ । यो बीमा कम्पनीको गत आवसम्ममा ३ अर्ब ९ करोड रुपैयाँ रहेको छ । यसले जगेडा कोषमा ४ अर्ब ७४ करोड रुपैयाँ छ । यो बीमा कम्पनीले बीमाशुल्क मार्फत १२ अर्ब रुपैयाँ संकलन गरेको छ । यसले अभिकर्ता कमिशनमा १ अर्ब २२ करोड खर्च गरेको छ । यो बीमा कम्पनीको बीमालेख संख्या १० लाख रहेको छ । यसले बीमाशुल्क मार्फत गत आवसम्ममा ५२ अर्ब ३७ करोड रुपैयाँ संकलन गरेको छ भने गत आवमा मात्रै १२ अर्ब २१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यो बीमा कम्पनीको प्रति सेयर आम्दानी १३ रुपैयाँ ४५ पैसा रहेको छ । यसको प्रतिसेयर नेटवर्थ २६० रुपैयाँ ३६ पैसा रहेको छ ।  

स्याण्डर्ड चार्टर्ड बैंकको नाफा ६ प्रतिशतले मात्रै बढ्यो, बैंकको नाफा १ अर्ब ३८ करोड रुपैयाँ

काठमाडौं । स्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षमा जम्मा ८ करोड ९४ लाखले मात्रै नाफा बढाएको छ । यो बैंकको यस्तो नाफा अघिल्लो वर्षको तुलनामा ६ दशमलव ९२ प्रतिशत हो । यो बैंकले गत वर्ष १ अर्ब ३८ करोड रुपैयाँ खुँद मुनाफा कमाएको छ । यसले बैंकले अघिल्लो वर्ष १ अर्ब २९ करोड रुपैयाँ नाफा कमाएको थियो । यो बैंकले गत असारमसान्तसम्ममा ६३ अर्ब ८७ करोड रुपैयाँ निक्षेप संकलन गरेर ३९ अर्ब २० करोड रुपैयाँ कर्जा सापटी दिएको छ । यो बैंकले गत आवसम्ममा गरेको लगानी  १५ अर्ब ७६ करोड रुपैयाँ छ । बैंकको सीसीडी रेसियो ७२ दशमलव ३४ प्रतिशत छ । यो बैंकको चुक्ता पुँजी ४ अर्ब ५७ लाख रुपैयाँ छ । बैंकको जगेडा कोषमा ८ अर्ब १५ करोड रुपैयाँ रहेको छ । यो बैंकको व्याज आम्दानी ३ अर्ब ५ करोड रुपैयाँ छ भने व्याजमार्फतको खर्च ८६ करोड ३४ लाख रुपैयाँ रहेको पनि उल्लेख छ । यसको खराव कर्जा शून्य दशमलव १९ प्रतिशत रहेको छ । यो बैंकको प्रति सेयर आम्दानी ३४ रुपैयाा ५० पैसा रहेको छ । यसको प्रति सेयर नेटवर्थ ३०३ रुपैयाँ ७ पैसा रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा २३ प्रतिशतले बढ्यो, बैंकले कमायो ३ अर्ब १६ करोड

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षमा २३ दशमलव ८८ प्रतिशतले नाफा बढाउन सफल भएको छ । यो बैंकले गत वर्ष ३ अर्ब १६ करोड रुपैयाँ खुँद मुनाफा कमाएको छ । यो बैकको नाफा अघिल्लो वर्षको तुलनामा ६० करोड ९१ लाख रुपैयाँले बढी हो । यो बैंकले अघिल्लो वर्ष २ अर्ब ५५ करोड रुपैयाँ नाफा कमाएको थियो । यो बैंकले गत असारमसान्तसम्ममा १ खर्ब २५ अर्ब ६६ करोड रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ६ अर्ब ६८ करोड रुपैयाँ कर्जा सापटी दिएको छ । यो बैंकले गत आवसम्ममा गरेको लगानी २५ अर्ब ६१ करोड रुपैयाँ छ । बैंकको सीसीडी रेसियो ७७ दशमलव ६३ प्रतिशत छ । यो बैंकको चुक्ता पुँजी ९ अर्ब २४ करोड रुपैयाँ छ । बैंकको जगेडा कोषमा ११ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । यो बैंकको व्याज आम्दानी ९ अर्ब २४ करोड रुपैयाँ छ भने व्याजमार्फतको खर्च ४ अर्ब ४६ करोड रुपैयाँ रहेको पनि उल्लेख छ । यसको खराव कर्जा शून्य दशमलव ८३ प्रतिशत रहेको छ । यो बैंकको प्रति सेयर आम्दानी ३४ रुपैयाा २० पैसा रहेको छ । यसको प्रति सेयर नेटवर्थ २२७ रुपैयाँ ४९ पैसा रहेको छ ।

नेपाल बैंकले कमायो ३ अर्ब २१ करोड, बैंकको नाफा ११ प्रतिशले बढ्यो

काठमाडौं । नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षमाा ३ अर्ब २१ करोड ९५ लाख रुपैयाँ खुँद मुनाफा कमाएको छ । यो बैकको नाफा अघिल्लो वर्षको तुलनामा ११ दशमलव ६७ प्रतिशतले बढी हो । यो बैंकले गत वर्षभन्दा ३३ करोड ६५ लाख रुपैयाँल नाफा बढाएको छ । अघिल्लो वर्ष यो बैंकको नाफा २ अर्ब ८८ करोड २९ लाख रुपैयाँ थियो । यो बैंकले गत असारमसान्तसम्ममा ९३ अर्ब ९४ करोड रुपैयाँ निक्षेप संकलन गरेर ७४ अर्ब ३७ करोड रुपैयाँ कर्जा सापटी दिएको छ । यो बैंकले गरेको लगानी १२ अर्ब १६ करोड छ । बैंकको सीसीडी रेसियो ७० दशमलव ७९ प्रतिशत छ । यो बैंकको चुक्ता पुँजी ८ अर्ब ४ करोड रुपैयाँ छ । बैंकको जगेडा कोषमा ३ अर्ब ५१ करोड रुपैयाँ रहेको छ । यो बैंकको व्याज आम्दानी मात्रै ७ अर्ब ५६ करोड छ भने व्याजमार्फतको खर्च १ अर्ब ७२ करोड रुपैयाँ रहेको पनि उल्लेख छ । यसको खराव कर्जा ३ दशमलव १७ प्रतिशत रहेको छ । यो बैंकको प्रति सेयर आम्दानी ४० रुपैयाा ३ पैसा रहेको छ । यसको प्रति सेयर नेटवर्थ १४३ रुपैयाँ ६५ पैसा रहेको छ ।

उपत्यकामा १ लाख ६८ हजार घरजग्गा किनबेच, कारोबार ३१ प्रतिशतले बढ्यो

काठमाडौं । काठमाडौं उपत्यकामा १ वर्षमा १ लाख ६८ हजार ५५ ओटा घरजग्गा किनबेच भएका छन् । काठमाडौं उपत्यकाका आठओटा मालपोत कालार्यालयको तथ्यांकअनुसार गत आवमा उक्त संख्यामा घरजग्गा कारोबार भएको हो । ती मध्ये अधिकांश घरजग्गाको मालपोत मूल्यांकन २ लाख ५० हजार देखि ९ लाख प्रतिआना कायम गरिएको छ । तर, यथार्थ कारोबारमा भने रु ५ लाखदेखि १५ लाख रुपैयाँ प्रतिआनासम्ममा किनबेच हुने गरेको घरजग्गा व्यवसायीले बाएका छन् । जग्गा गरिएको लगानीले आकर्षक प्रतिफल दिने भएकोे पनि यसमा लगानी बढ्ने गरेको पनि उल्लेख छ । यो कारोबार अघिल्ले वर्षको तुलनामा गत वर्ष ३१ प्रतिशतले बृद्धि भएको उल्लेख छ । आर्थिक अभियान दैनिकबाट ।

धरहरा निर्माणमा पन्छिँदै टेलिकम, पुरातात्विक स्थानलाई व्यापारिक बनाइदैँ

काठमाडौं । पुरातत्व विभागसँग कुरा नमिल्दा नेपाल टेलिकमले धरहरा निर्माणबाट हात झिक्ने संकेत गरेको छ। पुरातात्विक महत्वलाई बेवास्ता गरेर व्यापारिक धरहरा बनाउन खोजेको भन्दै विभागले नक्सा स्वीकृत गर्न नमानेपछि टेलिकमले धरहरा निर्माणबाट हात झिक्ने संकेत गरेको हो । ‘हाम्रो नक्सा अनुसार टेलिकम राजी भएन,’ पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले भने,‘टेलिकमले मौखिक रूपमा धरहरा निर्माणबाट हात झिक्ने काम गरे पनि लिखित जानकारी आएको छैन।’ टेलिकमले बनाएर ल्याएको नक्सा पुरातात्विक मापदण्ड अनुसार नभएको उनले बताए। दाहालका अनुसार टेलिकमले लिखित रूपमा निर्माण नगर्ने भनेपछि धरहराको निर्माण प्राधिकरणमार्फत हुन्छ। एक साताअघि प्राधिकरणको बैठकमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामीनी राजभण्डारीले धरहरा निर्माणबाट हात झिक्ने बताएको दाहालले जानकारी दिए। ‘उहाँले धरहरा निर्माण गर्दैनौ, सम्पदा पुनर्निर्माणमा भने एक अर्ब दिन्छौ भन्नुभयो,’ दाहालले भने,‘तर लिखित रूपमा हामीले अहिलेसम्म कुनै जानकारी पाएका छैनौ।’ यता नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्य भने धरहरा निर्माणबाट टेलिकमले हात झिक्ने कुरा निश्चित नभएको बताउँछिन्। ‘अहिले हामी छलफलकै चरणमा छौ। पुननिर्माण थाल्ने कि हात झिक्ने भन्ने छलफल पछि मात्र थाहा हुन्छ,’ उनले भनिन्। टेलिकमले अहिलेनै हात झिक्न नलागेको बताइन्।

तराईका ८० प्रतिशत धानबाली डुबानमा, पूर्वमा मात्रै २९ करोडको क्षति

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीले गर्दा तराईमधेसका २० जिल्लाको ८० प्रतिशत धानबाली डुबानमा परेको छ । खडेरीका कारण ढिलो गरी सुरु भएको रोपाइँ सम्पन्न नहुँदै आएको भेलले धानबाली डुबाएको कृषि विकास मन्त्रालयले आइतबार जनाएको छ । कृषि विकासमन्त्री रामकृष्ण यादवको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले बाढीका कारण तराई/मधेसमा धान, तरकारी, फलफूलबाली र माछातर्फ ठूलो क्षति भएको निष्कर्ष निकालेको छ । बैठकमा मन्त्री यादवले अन्नभण्डार मानिने तराई(मधेसमा पछिल्लो समय भएको धान रोपाइँ पनि डुबानमा परेको बताए । खानाका लागि घरमा जोहो गरी राखिएको चामल, दाल र तरकारी पनि बाढीले बगाउँदा तराई(मधेसका सर्वसाधारण खाद्य असुरक्षामा परेका छन् । ‘बाढीका कारण तराई(मधेसको धान रोपाइँ सम्पन्न नहुँदै २० जिल्लाको ८० प्रतिशत क्षेत्रफल डुबानमा परेको छ । रोपाइँ भएको बाँकी २० प्रतिशत क्षेत्रफल पनि थप डुबानमा पर्न सक्ने सम्भावना देखिएको छ’, उनले भने ।बाढी आउनुअघि तराई/मधेसको झापामा ८२, मोरङमा ६५, सुनसरीमा ७८, सप्तरीमा ७५, सिराहा, धनुषा र सर्लाहीमा ५०/५०, महोत्तरीमा ४५, बारा र पर्सामा ९९/९९, रौतहट र चितवनमा ९०/९०, कपिलवस्तु र बाँकेमा ८५/८५, बर्दियामा ९१ र दाङमा ७५ प्रतिशतहाराहारी रोपाइँ भएको थियो । प्रारम्भिक तथ्यांकअनुसार पूर्वाञ्चलका झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहामा बाढीले सबैभन्दा बढी क्षति पुर्‍याएको छ । पूर्वका उक्त जिल्लामा मात्र १४ करोडको तरकारी नष्ट भएको छ भने घरमा सञ्चित गरी राखिएको १२ करोड मूल्यबराबरको खाद्यान्न नष्ट भएको छ । धानबाली डुबानका कारण यो वर्ष खाद्य सुरक्षामा गम्भीर असर पुर्‍याउन सक्ने चिन्ता व्यक्त गर्दै मन्त्री यादवले बाढीका कारण किसानले पनि दीर्घकालीन रूपमा घाटा व्यहोर्नुपर्ने बताए । मन्त्रालयका सचिव डा। सुरोज पोखरेलका अनुसार बाढीका कारण धानबाली, तरकारीबाली र माछासम्बन्धी फैलिन सक्ने विभिन्न प्रकारका रोगको प्रकोपलाई नियन्त्रण गर्न प्राविधिक टोली परिचालन गरिएको छ । कहाँ कति क्षति ? मन्त्रालयका अनुसार पर्सामा २० हजार हेक्टरको धानबाली डुबानमा परेको छ । २० हजार हेक्टरको तरकारी नष्ट भएको छ । बारामा ५५ हजार हेक्टरको धानबाली डुबानमा पर्नुका साथै १० हजार हेक्टरको तरकारी नष्ट भएको छ । त्यस्तै, धनुषामा २१ हजार हेक्टरको धानबाली डुबेको छ । सोही जिल्लामा एक हजार चार सय हेक्टरको तरकारी, एक सय ५० हेक्टरको मकैबाली, एक हजार सात सय हेक्टरको रहर दाल र दुई सय हेक्टरको मासको दाल नष्ट भएको छ । सर्लाहीमा दुई हजार सात सय हेक्टरको धानबाली डुबानमा परेको छ । पाँच सय हेक्टरको तरकारी, सात सय हेक्टरको मकै, तीन सय हेक्टरको बेसार, एक सय एक हेक्टरको तरुल नष्ट भएको छ । रौतहटमा २८ हजार पाँच सय हेक्टरको धानबाली डुबेको छ । यहाँ एक सय ६० हेक्टरको तरकारी नष्ट भएको छ । महोत्तरीमा २० हजार हेक्टरको धानबाली डुबानमा परेको छ । पाँच हजार हेक्टरको तरकारीबाली नष्ट भएको छ । रूपन्देही र नवलपरासीमा एक हजार पाँच सय हेक्टरको धानबाली डुबानमा परेको छ । चितवनमा पनि तीन हेक्टरमा लगाइएको केरा डुबानमा परेको छ । रसुवामा तीन सय ५० हेक्टरको धानबाली डुबानमा परेको छ । रामेछाप, ललितपुर, म्याग्दी, बझाङ, बैतडीलगायत क्षेत्रमा पनि धानबाली डुबानमा पर्नुका साथै मकै र तरकारीबाली नष्ट भएका छन् । १३ अर्बको माछा नष्ट पूर्वका झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहामा तीन करोड मूल्यबराबरको माछा नष्ट भएको छ । मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाका अनुसार पर्सामा एक करोड मूल्यबराबरको १० हेक्टरको माछा, बारामा ५० करोडको पाँच सय हेक्टर, धनुषामा ८० करोडको ८ सय हेक्टर, सर्लाहीमा ८० करोडको ८ सय हेक्टर, चितवनमा ६ करोडको ६० हेक्टर, महोत्तरीमा ११ अर्बको एक हजार एक सय हेक्टर र रौतहटको १५ करोडको १५० हेक्टरमा उत्पादन भएको माछा बगेर नष्ट भएको छ। पशुसेवा विभागका महानिर्देशक डा। विमल निर्मलका अनुसार तराई/मधेसमा बाढीका कारण दुई करोड मूल्यबराबरको पशुपन्छीतर्फ क्षति भएको छ । अन्नपूर्ण पोस्टबाट ।

बेरोजगार भएपछि पाइलटले खोले पेट्रोलपम्प, पाइलट पढ्न गरेको आधा अर्ब खेर

नेपालगन्ज । अहिले मुलुकमा धेरै विमान कम्पनी सञ्चालनमा छन् । ती कम्पनीले पाइलट नपाएर विदेशबाट ल्याउनुपर्ने अवस्था छ । तर यहाँ भएका पाइलटले जागिर नपाएर अन्य व्यवसाय गर्न बाध्य छन् । नेपालगन्ज-१३ का अभयकुमार टण्डन पाइलट हुन् तर अहिले उनी पेट्रोल पम्प सञ्चालन गरिरहेका छन् । पाइलट अध्ययन गर्न ३० वर्षीय अभयले ६० लाख रुपयाँ खर्च गरे । अस्ट्रेलियामा पाइलट पढ्दै गर्दाका अभय । फोटो अन्नपूर्ण पोस्टबाट सानैबाट पाइलट बन्ने लक्ष्य राखेका अभयले अस्ट्रेलियाको बासियर एभिएसन कलेजबाट पाइलट कोर्स अध्ययन गरे । सम्पन्न परिवारका अभयले डेढ वर्ष लगाएर अस्ट्रेलियाबाट पाइलट कोर्स अध्ययन गरी नागरिक उड्ययन प्राधिकरणले लिएको लाइसेन्स परीक्षा पनि पास गरे तर उनले जहाज उडाउन भने पाएनन् । प्रारम्भिक शिक्षा नेपालगन्जमा पढेका अभयले सेन्ट जोसेफ कलेज नैनितालबाट कक्षा १० र टेगोर इन्टरनेसनल स्कुल न्यू दिल्लीबाट १२ कक्षा पास गरे । न्यू दिल्लीमै केही समय काम गरेर पाइलट अध्ययनका लागि अस्ट्रेलिया गए । उनले पाइलट कोर्स सकेर नेपाल आउँदा निजीक्षेत्रका यती र बुद्ध मात्रै सञ्चालनमा थिए । अभयले सन् २००८ मा पाइलट कोर्स पढेर फर्कंदा नेपाली ध्वजावाहक नेपाल एयरलायन्स बन्द प्राय थियो । नेपाल एयरलायन्सका जहाज बिग्रेर थन्किएका थिए । बुद्ध र यतीमा जागिर खाने प्रयास गरे पनि अभयले सकेनन् । ‘जागिरको खोजीमा लागें, तर पाइनँ’, अभय भन्छन्, ‘नेपाल एयरलायन्स बन्द थियो । बुद्ध र यतीमा जागिर पाइएन ।’ मागभन्दा धेरै पाइलट उत्पादन भएकाले जागिर नपाएको टण्डनको भनाइ छ । अहिलेजस्तो धेरै कम्पनी सञ्चालन भएको भए जागिरको समस्या नहुने उनको दाबी छ । आफूले हासिल गरेको सीप व्यवहारमा उतार्न नपाएपछि अभयलाई फ्रस्ट्रेसन भयो । मन बुझाउन उनले व्यवसायमा हात हाले । ‘मागभन्दा आपूर्ति धेरै भयो’, उनले भने, ‘अहिलेजस्तो धेरै एयरलायन्स कम्पनी भएको भए जागिरको समस्या हुँदैनथ्यो होला ।’ पढाइको सिलसिलामा उनले २५२.४ घन्टा जहाज उडाउन अभ्यास गरेका थिए । तर, नेपाल आएपछि उनले जहाज उडाउने अवसर पाएनन् । पाइलटको लाइसेन्स अवधि ६ महिना मात्रै हुने गरेको छ । जागिर खोज्दाखोज्दै उनको ६ महिना अवधि सकिहाल्यो । आफूले हासिल गरेको सीप व्यवहारमा उतार्न नपाएपछि उनलाई ‘फ्रस्ट्रेसन’ समेत भयो । मन बुझाउन उनले व्यवसायमा हात हाले । व्यवसायी घरानाको व्यक्ति भएकाले उनलाई व्यवसाय सम्हाल्न गाह्रो भएन । ६ वर्षदेखि उनले नेपालगन्जको बीपी चोकनजिक भेरी प्राविधिक शिक्षालयको प्रवेशद्वारमै कुसुम फिलिङ सेन्टर नामको पेट्रोल पप्प सञ्चालन गरेका छन् । अहिले उनी विमान उडाउनेभन्दा पेट्रोलियम पदार्थको हिसाबकिताबमा पोख्त भएका छन् । सन २००९ देखि पेट्रोलियम व्यवसायमा रहेका अभय भन्छन्, ‘अहिले सन्तुष्ट छु, तैपनि पढेको गर्न नपाउँदा खिन्न हुन्छ, यसैभित्र सन्तुष्टि खोज्नुपर्छ ।’ नेपालजस्तो विकासोन्मुख मुलुकमा ‘ब्रेन ड्रेन’को समस्या बढी नै हुने गरेको उनको भनाइ छ । ‘पाइलट पढ्ने मात्र होइन, धेरै इन्जिनियर पनि यहाँ बेरोजगार छन्’, अभय भन्छन् । सीप भएका व्यक्तिलाई राज्यले जागिर दिन नसक्नु मुलुकका लागि दुर्भाग्य भएको उनी बताउँछन् । ‘हाम्रो जस्तो देशमा यस्तो समस्या धेरै छ, एकातिर दक्ष जनशक्ति छैनन्, भएकाले पनि काम पाएका छैनन्’, अभय भन्छन् । अभयका बुबा अजयकुमार नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव हुन् । ‘हाम्रो परिवार व्यावसायिक हो । अभयले पाइलट पढ्छु भन्यो, उसको इच्छाअनुसार पाइलट पनि पढायौं तर जागिर पाउन सकेन । त्यसपछि व्यवसायमा लगायौं अजयले भने । प्राविधिक शिक्षालयको प्रवेशद्वारमै कुसुम फिलिङ सेन्टर नामको पेट्रोल पम्प सञ्चालन गरेका छन् । अन्नपूर्ण पोस्टबाट ।