विकासन्युज

सेयर बजारमा १ अर्ब २९ करोडको सेयर कारोबार, बीमा समूह ३०९ अंकले उक्लियो

काठमाडौं । बुधबारको सेयर बजारमा एक अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा सबैभन्दा बढी प्रभु इन्स्योरेन्स कम्पनीको ९ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सो दिन १५६ कम्पनीको २५ लाख ३५ हजार कित्ता सेयर किनबेच भएको छ । बुधबार नेप्से परिसूचक ८ दशमलब ८४ अंकले बढेर १६४५ दशमलब ०३ अंकमा पुगेको छ । बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक ३०९ अंकले उकालो लागेको छ । त्यस्तै, सो दिन कारोबार भएका बैंकिङ र हाइड्रो समूहको परिसूचक सामान्य अंकले ओरालो लागेका छन् भने बाँकी समूहको परिसूचक उकालो लागेका छन् ।

मुक्तिनाथ विकास बैंकको साउन २० गते बुक क्लोज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आगामी साउन २० गते कम्पनीको बुक क्लोज गर्ने भएको छ । उक्त दिन बैंकले आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । उक्त निर्णय साउन १० गते बसेको कम्पनीको १७६औँ संचालक समितिको बैठकले गरेको हो । बैंकले सेयरधनीहरुलाई ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

लक्ष्मी भ्यालु फण्ड-१ ले २५ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं । लक्ष्मी भ्यालु फण्ड-१ ले आफ्ना इकाई धनीहरुलाई २५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त निर्णय साउन १० गते बसेको कम्पनीको ४१औँ संचालक समितिको बैठकले गरेको हो ।

कृषि विकास बैंकका अध्यक्ष क्षेत्रबहादुर सेंजुवालद्धारा सपथ ग्रहण

काठमाडौं । कृषि बिकास बैंक लिमिटेड बैंकका नवनियुक्त अध्यक्ष क्षेत्रबहादुर सेंजुवालले नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरिञ्जीवी नेपालसमक्ष आफ्नो पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । संचालक समितिबाट बैंक संचालक समितिको अध्यक्ष पदमा नियुक्ति भएका सेंजुवालले मंगलबार सपथ ग्रहण गरेका हुन् । उक्त अवसरमा नेपाल राष्ट्र बैंकका डिपुटी गर्भनर चिन्तामणी शर्मा, बैंक नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल र कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौला, कम्पनी सचिव प्रताप सुवेदी तथा कृषि विकास बैंक लि.का प्रबक्ता हिमलाल पौडेलको समेत उपस्थिती थियो ।

चार कम्पनीको ९८ लाख ७९ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत, हेरौँ क-कसको भयो ?

काठमाडौं । बुधबार विभिन्न चारवटा कम्पनीको ९८ लाख ७९ हजार ४५१ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । नेप्सेमा ९५ लाख एक हजार ७८९ कित्ता साधारण सेयर र ३ लाख ७७ हजार ६६१ कित्ता बोनस सेयर गरी सो मात्राको सेयर सूचिकृत भएको हो । नेप्सेमा सांग्रिला डेभलपमेन्ट बैंकको र ग्लोबल आइएमई बैंकको साधारण सेयर सूचिकृत भएको हो । कसमस डेभलपमेन्ट बैंक एक्वाएर पछि सांग्रिलाको ११ लाख २४ हजार ९८७ कित्ता सेयर नेप्सेमा थपिएको हो । त्यस्तै, रिलायवल डेभलपमेन्ट बैंक प्राप्ति पश्चात ग्लोबल आइएमईको ८३ लाख ७६ हजार ८०२ कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, भार्गव विकास बैंकको २ लाख ४० हजार कित्ता र महाकाली विकास बैंकको १ लाख ३७ हजार ६६२ कित्ता बोनस सेयर आज नेप्सेमा थपिएको छ ।

काबेली विकास बैंकले ५० प्रतिशत हकप्रद निष्काशन गर्दै, कहिले हुँदै छ बुक क्लोज?

काठमाडौं । काबेली विकास बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । सो प्रयोजनको लागि बैंकले आगामी साउन १९ गते कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको छ । उक्त निर्णय कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई बैंकको साधारणसभाले पारित गर्नु पर्ने छ ।

सामाजिक सुरक्षा कोषमा रकम नबुझाउने रोजगार दातालाई बैंक खातादेखि अचल सम्पत्ति समेत रोक्का हुने

काठमाडौं । सामाजिक सुरक्षा कोषमा स्थापना भएको ७ वर्ष बितिसक्दा पनि काम सुरु गर्न सकेको छैन् । कोषका लागि भन्दै सरकारले २०६६/६७ बाट राजस्व संकलन गरे पनि कोष सञ्चालका लागि वैधानिक दिने सामाजिक सुरक्षा ऐन नआउँदा समस्या भएको हो । सोमबार संसदले योगदानमा आधारित सामाजिक सुरक्षा विधेयक पारित गरेपछि अब भने कोषको काम अघि बढाउन बाटो खुलेकोे छ । सरकारले उक्त अवधिबाट प्रत्येक रोजगारदाताबाट एक प्रतिशत कर लिँदै आएपनि ऐन अभावका कारण कोषको रकम परिचाल हुन सकेको थिएन । अब प्रत्येक रोजगारदाता कम्पनीले अनिवार्य कोषमा सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्नु पर्नेछ । विधेयकले कोषमा रकम जम्मा गर्ने दायित्व रोजगारदाताका लागि २० र मजदुरका लागि ११ प्रतिशत तोकेको छ । समयमा रकम नबुझाउने रोजगार दाताको बैंक खातादेखि अचल सम्पत्ति रोक्का सम्मको कारबाही सिफारिस गर्न सकिने व्यवस्था ऐनले गरेको छ । पारित विधेयकले कोष सञ्चालका लागि श्रम तथा रोजगार मन्त्रालयको सचिवको अध्यक्षतामा कोष सञ्चालन समिति बनाउने छ । समितिलाई बैंक खाता रोक्का, चल, अचल सम्पत्ति रोक्का, कानुन बमोजिम पाउने छुट सहुलियत निलम्बनको सिफारिस गर्न सक्नेसम्मको अधिकार हुनेछ । व्यक्ति वा संस्थाको नाममा रहेको अनुमतिपत्र निलम्बन र व्यक्तिको हकमा राहदानी रोक्कासम्मको कारबाही सिफारिस कोष सञ्चालक समितिले गर्न सक्नेछ । कोषले आफ्नो रकमको जोखिम व्यवस्थापनका लागि बीमा गर्न सक्ने छ । सामाजिक सुरक्षा योजनामा सहभागी कर्मचारी, पदाधिकारी, श्रमिक, स्वरोजगारमा रहेका व्यक्ति वा श्रमिकलाई सामाजिक सुरक्षा योजना बमोजिमको सुविधा उपलब्ध गराउन कोषको रकम अपुग भएका त्यसको दायित्व सरकारले वहन गर्नुपर्ने छ । विधेयकमा रहेको सामाजिक सुरक्षाभत्ताका रुपमा वृद्ध, अपाङ्गता भएका र एकल महिलालगायतलाई सामाजिक सुरक्षा दिने प्रावधानलाई हटाएर विधेयक विशुद्ध योगदानमा आधारित बनाइएको छ । कर्मचारी र श्रमिकबाट रकम उठाएर कोषबाट रकम जम्मा नगरेका अन्य व्यक्तिलाई सामाजिक सुरक्षा प्रदान गर्नु न्यायोचित नहुने भन्दै ऐन विशुद्ध योगदानमा आधारित बनाएको छ । नेपाल सरकारले सञ्चालन गरेका वृद्ध भत्ता, अपाङ्गता भएका र एकल महिलालाई दिइने भत्ताजस्ता सामाजिक सुरक्षाका कार्यक्रमलाई व्यवस्थित गर्न एकीकृत सामाजिक सुरक्षा विधेयक तर्जुमा गरी अविलम्ब व्यवस्थापिका–संसद् पेस गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई बैठकले निर्देशन दिएको छ । यसअघि मूल विधेयकले प्रस्ताव गरेको बेरोजगार भत्ता, एकल महिला भत्तालगायतका सुरक्षा योजना भने हटाइएको छ । चारवटा स्कीम तयार कोषले लक्षित वर्गका लागि परिचयपत्र निर्माण, योगदानको दर निर्धारण लगायत तथ्यांकीय आधार निर्माण गरिरहेको छ । ‘४ वटा समाजिक सुरक्षाका स्किमहरुको कार्र्यिबधि तयार भईसकेको छ । कार्यस्थलमा हुने दुर्घटना, सुत्केरी, औषधोपचार र बेरोजगारी क्षेत्रका लागि समाजिक सुरक्षासम्बन्धी स्किमहरु तयार भईसकेका छन् । अन्य स्किमहरु बनाउने तयारीमा कोष रहेको छ ।

रोल्पामा ४८ किलोमिटर मात्र पक्की सडक

रोल्पा । विकासमा पछाडि परेको रोल्पामा शान्ति प्रक्रियासँगै विकास गतिविधिले तीव्रता पाएको भनिए पनि जिल्लामा अझै आधा दर्जन साविक गाविससम्म यातायातका साधन चल्दैनन् भने दुईवटा गाविस अझै सडक सञ्जालमा जोडिएका छैनन् । जिल्लामा ४८ किलोमिटर सडक मात्रै पक्की रहेको छ । जिल्ला सदरमुकाम लिवाङ–चकचके सडकखण्डको लिवाङ–खुग्री ३९ किलोमिटर, लिवाङ–सिमलवाङ सात किलोमिटर र होलेरी–स्वर्गद्धारी दुई किलोमिटरसमेत गरी ४८ किलोमिटर सडक मात्र पक्की रहेको छ । जिल्लामा निर्माण भएका सडक सञ्जालमध्ये करिब ५० प्रतिशत सडकमा मात्र यातायातका साधन चल्ने गरेका छन् । जिल्लामा अघिल्लो आर्थिक वर्षसम्म निर्माण भएका ५७३ किलोमिटर सडकमध्ये ३२७ किलोमिटर सडकमा मात्रै यातायातका साधन आवतजावत हुने गरेको जिल्ला समन्वय समिति रोल्पाले जानकारी दिएको छ । सडक सञ्जाललाई विकासको प्राथमिकतामा राखी काम गरिएको भएपनि निर्माण गरिएका सडकमध्ये करिब ५० प्रतिशत सडकमा मात्रै यातायातका साधन चल्ने गरेका छन । तीमध्ये वर्षात्को मौसममा समेत नियमित यातायातका साधन चल्ने सडक निकै कम रहेको बताइएको छ । निर्माण गरिएका अधिकांश सडकमा पुल नभएका कारण पनि यातायातका साधन नियमित चल्न नसकेको बताइएको छ । कतिपय सडकमा जनताको आवतजावत कम हुने भएका कारण पनि यातायात व्यवसायीले गाडी नचलाउँदा सडक प्रयोगमा आउन सकेका छैनन् । यसैगरी, वर्षात्को मौसममा झर्ने ठूलठूला पहिरोले समेत सडक सञ्चालनमा अवरोध पुर्याउने भएका कारण नियमित सञ्चालनमा आउने सडकको संख्या कम भएको हो । साविकमा ५१ गाविस रहेको रोल्पामा उवा र सेरमको गाविस भवनबाहेक अन्य सबै गाविस भवनसम्म सडक सञ्जाल जोडिएको भएपनि अझै करिब दुई दर्जनभन्दा बढी गाविस भवनसम्म यातायातका साधन चल्न नसकेको जिल्ला समन्वय समिति रोल्पाका सूचना अधिकृत रामकुमार न्यौपानेले जानकारी दिए । रासस –––––––––