उर्जा विज्ञहरुको निष्कर्षः जनार्दन शर्माले बुढीगण्डकीमा भ्रष्टाचार गरे
काठमाडौं । उर्जा क्षेत्रका विज्ञहरुले बुढीगण्डकी जलविद्युत आयोजनामा तत्कालिन उर्जा मन्त्री जनार्दन शर्माले भ्रष्टाचार गरेको आरोप लगाएका छन् । बुधबार व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिमा उपस्थित भएका पुर्व उर्जा सचिवहरु, स्वतन्त्र उर्जा उत्पादकहरुले विवादास्पद चिनियाँ कम्पनी गेजुवालाई बुढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्न दिँदा अरबौं भ्रष्टाचार भएको आरोप लगाएका हुन् । उनीहरुले नेपालमै राम्रो काम नगरेर बदनामी कमाएको कम्पनीलाई कानुनी प्रक्रिया मिचेर तत्कालिन उर्जा मन्त्री शर्माले आर्थिक चलखेलका आधारमा आयोजना दिने सम्झौता गरेको आरोप लगाएका हुन् । पुर्व उर्जा सचिवहरु द्धारिकानाथ ढुंगेल, शितलबाबु रेग्मी, हरिराम कोइराला, बुढीगण्डकी जलविद्युत आयोजना विकास समितिका तत्कालिन अध्यक्ष लक्ष्मी देवकोटा लगायतले राजीनामा गरिसकेको सरकारका मन्त्रीले बालुवाटारमा लगेर कम्पनीसँग हस्ताक्षर गरेको बताए । ‘एउटा कम्पनीको कर्मचारीसँग मन्त्रीले आफ्नो पदिय हैसियत बिर्सेर हस्ताक्षर गरे, त्यो पनि आफ्नो पद चाँही लेखेनन् किन ? कुरा गम्भिर छ, यहाँ ठुलो चलखेल भएको छ’, पुर्व उर्जा सचिव द्धारिकानाथ ढुंगेलले भने । अर्का पुर्व उर्जा सचिव शितलबाबु रेग्मीले पनि विवादास्पद कम्पनीलाई हतारमा आयोजना निर्माणको जिम्मा दिँदा ठुलै आर्थिक चलखेल भएको आरोप लगाए । चिनियाँ कम्पनीले निर्माण गर्ने ड्यामले भारतीय सुरक्षामा आँच आउन सक्ने तर्फ पनि सचेत हुनुपर्नेे धारणा राखे । त्यस्तै, अर्का पुर्व उर्जा सचिव हरिराम कोइरालाले बर्षेनी ३० अर्ब बजेट विनियोजन गरेर निर्माण गर्न सकिने आयोजनालाई बिना प्रतिष्पर्धा दिँदा ठुलै आर्थिक चलखेल भएको दावी गरे । उनले १२ सय मेगावाट क्षमताको आयोजना गेजुवालाई दिँदा तत्कालिन उर्जा मन्त्रीले खाली चेक(ब्ल्यांक चेक)मा हस्ताक्षर गरेरको आरोप पनि लगाए । बुढीगण्डकी जलविद्युत आयोजना विकास समितिका तत्कालिन अध्यक्ष लक्ष्मी देवकोटाले पनि ठुलै आर्थिक चलखेलका आधारमा चिनियाँ कम्पनीलाई दिइएको आरोप लगाए । उनले नेपाली प्रबिधी र पुँजीमै आयोजना निर्माण गर्न सकिने दावी पनि गरे । त्यस्तै, स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इपानका अध्यक्ष शैलेन्द्र गुरागाईले पनि आयोजना नेपाली लगानीमै निर्माण गर्न सकिने बताए ।
सडक विस्तारमा अवरोध बन्यो भूमिगत बिजुलीको तार
काठमाडौं । बिजुलीको तार भूमिगतरुपमा बिच्छ्याइएको अभिलेख कोसँग होला ? सहजरुपमा अनुमान गर्न सकिन्छ नेपाल विद्युत् प्राधिकरणसँग । तर, अब यस्तो अनुमान गलत हुने भएको छ । त्रिपुरेश्वर-कलंकी-नागढुङ्गा सडक विस्तार गर्ने क्रममा ढुङ्गेअड्डामा ४०० मिटर क्षेत्रमा बिजुलीको तार जमिनमुनि बिच्छ्याइएको भेटियो । तार कताबाट कतिमुनि बिच्छ्याइएको छ भन्ने अभिलेख नभएको यो क्षेत्र हेर्ने नेपाल विद्युत् प्राधिकरण कुलेश्वरका कार्यालय प्रमुख थिरकुमार खत्रीले बताए । “तार कताबाट लगेको छ भनी कार्यालयका पुराना कर्मचारीलाई ल्याएर पनि देखायौँ, उनीहरुले यहीँबाट लगेको भनी ठम्याउन सक्नुभएन, कार्यालयमा कतै यससम्बन्धी अभिलेख पनि पाइएन, विसं २०४२ अघि जापानी आयोजनाले बनाएकाले केन्द्रीय कार्यालयमा पनि यससम्बन्धी कुनै अभिलेख पाउन सकिएन”- उनले भने । ढुङ्गेअड्डाको मात्र नभई अन्यत्र पनि भूमिगतरुपमा बिच्छ्याइएका तारको अभिलेख पाउन नसकिएको कार्यालय प्रमुख खत्रीले सुनाए । काठमाडौँ उपत्यका विकास प्राधिकरण र काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले त्रिपुरेश्वर-कलंकी-नागढुङ्गा सडक विस्तार गर्ने क्रममा ढुङ्गेअड्डा क्षेत्रमा भूमिगत बिजुलीको तार कहाँ छ भन्ने ठम्याउन नसक्दा काम अघि बढ्न सकेको छैन । यो सडक विस्तारमा अन्य ठाउँमा अरु समस्या भए पनि ढुङ्गेअड्डामा भूमिगत तारको समस्याले सताएको उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले बताए । “रत्नपार्क र नयाँबानेश्वरमा भूमिगतरुपमा बिच्छ्याइएको बिजुलीको तार मेलम्चीको पानी वितरणका लागि पाइप बिच्छ्याउने क्रममा काटियो, यहाँ पनि प्राधिकरणसँग तार कहाँबाट बिच्छ्याइएको छ भन्ने अभिलेख रहेनछ, धन्न दुर्घटना भएन, ढुङ्गेअड्डामा तार बिच्छ्याइएको अभिलेख नहुँदा सडक विस्तारमै समस्या भएको छ”– उनले भने । प्राधिकरणको केन्द्रीय कार्यालय र सम्बन्धित वितरण केन्द्रमा पनि भूमिगतरुपमा बिच्छ्याइएको बिजुलीको तारको अभिलेख नहुँदा मेलम्चीको पानी वितरणका लागि पाइप बिच्छ्याउँदा तार काटिएर उपत्यकाका धेरै स्थानमा विद्युत् आपूर्तिमा अवरोध आएको थियो । मेलम्चीको पानी वितरणका लागि पाइप बिच्छ्याइरहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकाल विद्युत् प्राधिकरणका कर्मचारी पनि सँगै काममा खटिएका बेला रत्नपार्क र नयाँ बानेश्वरमा बिजुलीको तार काटिएको बताउछन् । “प्राधिकरणका कर्मचारीलाई पनि भूमिगतरुपमा बिच्छ्याइएको बिजुलीको तार कताबाट कति गहिरोरुपमा लगिएको छ भन्ने थाहा रहेनछ”-उनले भने । भूमिगतरुपमा बिच्छ्याइएको संवेदनशील बिजुलीको तार कहाँबाट लगिएको छ भन्ने अभिलेख सम्बन्धित कार्यालयसँग नहुँदा खानेपानीको पाइप बिच्छ्याउने, सडक विस्तार गर्ने र भूमिगतरुपमा नेपाल टेलिकमको तार बिच्छ्याउने क्रममा दुर्घटना हुनसक्ने खतरा देखिएको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी भूमिगतरुपमा बिच्छ्याइएको बिजुलीको तारको अभिलेख भए सम्बन्धित वितरण केन्द्रमै हुने बताउँछन् । विसं २०४२ भदौ १ गते विद्युत् विकास विभाग, नेपाल विद्युत् निगम र विद्युत्सँग सम्बन्धित बोर्ड गाभेर प्राधिकरण गठन गरिएको थियो । रासस
जापानी राजदूतद्वारा अटोमेटिक बिडेट शोरुम उद्घाटन, विभिन्न समस्याको समाधान हुने
काठमाडौं । नेपालका लागि जापानका राजदूत मासाशी ओगावाले “आर्का ब्यु लेट” नामक स्वचालित बिडेटको विशेष शोरुमको उद्घाटन गरेका छन् । नेपालमा हाल विद्यमान शौचको स्वच्छता सम्वन्धी विभिन्न समस्याहरुको समाधानका लागि नेपाली बजारमा यो स्वचालित साधन ल्याइएको हो । आर्का ब्यु लेट जापानी कम्पनी “आर्का कम्पनी लिमिटेड”को उत्पादन हो । नेपालमा यसको आयात तथा विक्री वितरण एकल वितरण कर्ता हिमालयन ओभरसीज ट्रेडिङ्गले गर्नेछ । राजधानीको बबरमहल स्थित हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको परिसरमा आयोजितभव्य समारोह बिच उक्त शोरुमको उद्घाटन सम्पन्न भएको हो । समारोहलाई राजदूत ओगावा, आर्का कम्पनी लिमिटेडका प्रेसिडेन्ट किटाजिमा तोशिनोरी तथा हिमालयन ओभरसीज ट्रेडिङ्गका प्रोप्राइटर झनक खनालले सम्बोधन गरेका थिए । आर्का ब्यु लेट एक स्वचालित विडेट हो जसले शौचक्रिया पछि हातले सफाई गर्नुपर्ने वा ट्वाइलेट पेपर प्रयोग गर्नुपर्ने झञ्झटबाट मुक्ति दिन्छ । यसमा सीट न्यानो पार्ने, स्वचालित ड्रायर, पानी मनतातो पार्ने, गन्ध हटाउने जस्ता सुविधाहरु समावेश छन् । २२० भोल्टको बिद्युतशक्तिले चल्ने यस बिलेटमा दुई वर्षको वारन्टी उपलव्ध छ । प्रायःअर्धचन्द्राकार भएका कमोडहरुमा यसलाई रे ट्रोफिट गरी प्रयोगमा ल्याउन सकिन्छ । पानीलाई स्वच्छ राख्न एन्टिब्याक्टेरियल फिल्टर सहितको विडेट पनि उपलव्ध छ । सामान्य पानीको प्रयोग भएको अवस्थामा यो फिल्टरले छ महीना सम्म काम गर्छ । नेपालमा आर्का ब्यु लेटको विक्री वितरण हिमालयन ओभरसीज ट्रेडिङ्गको एकल स्वामित्वमा हुनेछ । हिमालयन ओभरसीज ट्रेडिङ्ग ’क’ श्रेणीको निर्माण कम्पनी हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको भगिनी संस्था हो ।
मन्त्रिपरिषद् विस्तार, १९ मन्त्रीद्धारा शपथ
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज विस्तारित मन्त्रिपरिषद्मा नेपाली काँग्रेसबाट यज्ञबहादुर थापा (कानुन, न्याय तथा संसदीय मामिला), सञ्जय गौतम (सिँचाइ), रामकृष्ण यादव (कृषि), राजेन्द्रकुमार केसी (युवा तथा खेलकुद), भीमसेनदास प्रधान (रक्षा), अम्बिका बस्नेत (सहकारी तथा गरिबी), मोहनबहादुर बस्नेत (सूचना तथा सञ्चार), वीरबहादुर बलायर (भौतिक पूर्वाधार तथा यातायात), मीनबहादुर विश्वकर्मा (वाणिज्य) र महेन्द्र यादव (खानेपानी तथा सरसफाइ) रहेका छन् । त्यस्तै, नेकपा (माओवादी केन्द्र) बाट गिरिराजमणि पोखरेल (स्वास्थ्य), टेकबहादुर बस्नेत (सामान्य), शिवकुमार मण्डल (आपूर्ति), महेन्द्रबहादुर शाही (ऊर्जा) र आशा कोइराला (महिला, बालबालिका तथा समाज कल्याण), सन्तकुमार थारु (पशुपक्षी विकास), नेपाल लोकतान्त्रिक फोरमबाट जितेन्द्र देव (संस्कृति, पर्यटन तथा नागरिक उडड्यन), गोपाल दहित (भूमि सुधार तथा व्यवस्था) र नेकपा (संयुक्त) बाट मिथिला चौधरी (जनसंख्या तथा वातावरण) छन् । उद्योग, वन, विज्ञान र शान्ति तथा पुनःनिर्माण मन्त्रालय प्रधानमन्त्री स्वयंले राखेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवाको उपस्थितिमा आजै राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएकी छन् । समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, पूर्व प्रधानमन्त्रीहरु, उपप्रधानमन्त्रीहरु, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, सांसद, उच्च सरकारी अधिकारीलगायत उपस्थित थियो । विस्तारित मन्त्रिपरिषद्का सदस्यमा नेपाली काँग्रेसबाट १०, नेकपा (माओवादी केन्द्र) बाट ६, नेपाल लोकतान्त्रिक फोरम बाट २ र नेकपा (संयुक्त) बाट १ जना छन् । गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका काँग्रेस सभापति देउवाले प्रधानमन्त्रीको शपथसँगै जेठ २४ गते आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । यसअघि नै लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार उपप्रधान र सङ्घीय मामिला तथा स्थानीय विकास, माओवादी केन्द्रका कृष्णबहादुर महरा उपप्रधान र परराष्ट्र, काँग्रेसका गोपालमान श्रेष्ठ उपप्रधान र शिक्षा मन्त्रालयको जिम्मेवारीमा छन् । त्यसैगरी, काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले अर्थ र फर्मुल्लाह मन्सुरले श्रम तथा रोजगार तथा माओवादी केन्द्रका जनार्दन शर्माले गृह र प्रभु साहले सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालि सकेका छन् । रासस
क्वालालम्पुर उडेको मलेसिया एयरको टायर टुक्रिएर विमानस्थलमै झर्यो, यात्रुलाई जोखिम छैन-विमानस्थल प्रमुख
धावन मार्गमै झरेको मलेसिया एयरलाइन्सको टायरको टुक्रा काठमाडौं । मलेसियाको क्वालालम्पुर उडेको मलेसिया एयरलाइन्सको टायरको एउटा टुक्रा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै झरेको छ । विमानले धावन मार्ग छोड्ने वित्तिकै एउटा टायरको रिसोलिङ गरेको भाग झरेको हो । मलेसियको क्वालालम्पुर उडेको एमए १७१ जहाजमा १२७ जना यात्रु रहेका छन् । उनीहरु अधिकांश अष्ट्रेलियाको सिड्नीका लागि उडेका नेपाली विद्यार्थी हुन । जहाजको टायर टुक्रिएर झरे लगत्तै विमानस्थल एयर कन्ट्रोलले पाइलटसँग सम्पर्क गरेको थियो । पाइलटले क्वालालम्पुरमै आपतकालिन अवतरण गराउने जानकारी दिएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख देवानन्द उपाध्यायले विकासन्युजलाई जानकारी दिए । ‘टायरको रिसोलिङ गरेको भाग धावन मार्गमै झरेको हो, पाइलटले मलेसियामै अवतरण गराउँछु भनेका छन’, उपाध्यायले भने । उनले यात्रुलाई कुनै जोखिम नभएको दावी पनि गरे ।‘धेरै वटा चक्कामध्ये एउटा चक्काको रिसोलिङ गरेको भाग मात्रै झरेको हो, क्वालालम्पुरको अत्याधुनिक विमानस्थलमा अवतरण गराउन कुनै समस्या हुन्न, यात्रुहरु सुरक्षित छन हुन कुनै जोखिम पनि हुन्न’, उपाध्यायले भने । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता बिरेन्द्र श्रेष्ठले पनि मलेसियन एयरलाइन्सको टायरको रिसोलिङ गरेको भाग विमानस्थलमै खसेको पुष्ठि गरे । ‘ रिसोलिङ गरेको भाग खसेको हो, मलेसियामै अवतरण गराउने भनेर पाइलटले नै भनेका रहेछन’, श्रेष्ठले भने । एमए १७१ जहाज साँझ ६ बजे मलेसियाको क्वालालम्पुर विमानस्थलमा अवतरण गर्ने उडान तालिका रहेको छ ।
महालक्ष्मी विकास बैंकको संचालन नाफा १ अर्ब १० करोड
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब १० करोड रुपैयाँ संचालन मुनाफा हासिल गरेको छ । साविकको यति डेभलपमेन्ट बैंक लिमिटेड र महालक्ष्मी विकास बैंक लिमिटेड एक आपसमा गाभिएर एकिकृत कारोबार शुरु गरेको यस बैंकले २०७४ साल असार मसान्त सम्ममा २५ अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । साथै, बैंकले सो अवधिमा २० अर्ब ७२ करोड रुपैयाँ कर्जा प्रवाह गरि सकेको छ । यस बैंकको नेपालभरी जम्मा ६५ शाखा रहेको छ भने ग्राहक संख्या ३ लाख ६५ हजार पुग्न गएको छ । हाल बैंकको चुक्ता पूँजी २ अर्ब ६३ करोड रुपैयाँ रहेको छ ।
छ्याङ्दी हाइड्रोपावरको २७ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत
काठमाडौं । छ्याङ्दी हाइड्रोपावरको २७ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत भएको छ । बुधबार मात्रै हाइड्रोको सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत भएको हो ।
प्रभु बैंकले ल्यायो शैक्षिक संस्थाहरुलाई उपयोगी ई शिक्षा पोटल
प्रभु बैंकले ल्यायो शैक्षिक संस्थाहरुलाई उपयोगी ई शिक्षा पोटल प्रभु बैंकले शैक्षिक संस्थाहरुलाई अत्यन्तै उपयोगी ई शिक्षा पोटल ल्याएको छ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकुत अशोक शेरचनूले समुद्भाटन गरेका छन् । शैक्षिक संस्थाहरुलाई प्रसाशनिक, आर्थिक, शैक्षिक तथा अन्य ब्यवस्थापकिय कार्यहरुलाई ई शिक्षा पोर्टल फलदायी हुने विस्वास प्रभु बैंकले लिइएको छ । यो पोर्टल भारत स्थित ई शिक्षा कम्पनीले निर्माण गरी ५०० भन्दा बढी भारतीय शैक्षिक संस्थाहरुले प्रयोग गर्दै आईरहेको उक्त ई शिक्षा प्रणाली एवं कागज रहित संरचनाको विकास गरी सम्पुर्ण स्कुल तथा कलेजलाई आधुनीकिकरण गर्नु रहेको बताइएको छ । साथै, अभिभावक तथा विद्यार्थीहरुलाई सम्पुर्ण कार्य अनुगमन गर्न ई शिक्षा लाभदायिक हुने विश्वासका साथ प्रभु ग्रुपले सामाजीक उत्तरदायित्व अन्तरगत रहेर यो कार्य नेपालमा अघि बढाएको जनाएको छ । विद्यार्थी, यातायात, पुस्तकालय, होमवर्क, वित्तिय विवरण, हाजीरी, परिक्षा, परामर्श, बिज्ञापन, अनलाइन जाँच, लगायतका सुविधा एवं चौविसै घण्टा तथा सातैदिन प्रभुको संजालबाट शुल्क संकलन गरिने बताइएको छ । ई बैकिङ एवं रुपैया कार्ड बाट तिर्न मिल्ने तथा अभिभावकले यसबारे घरैबाट अनुगमन गर्नुका साथै चाहिए अनुसारको सुचना सम्पे्रष गर्न सक्ने जानकारी दिइएको छ ।