बजारमा एक अर्ब १८ करोडको सेयर कारोबार, सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको
काठमाडौं । बुधबारको सेयर बजारमा एक अर्ब १८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा ३ करोड रुपैयाँ घटि हो । अघिल्लो दिन मंगलबार बजारमा एक अर्ब २१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । बुधबार १५५ कम्पनीको १६ लाख ८४ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी रुपैयाँको सेयर किनबेच भएका छन् । कम्पनीको ७ करोड २१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने कम्पनीको सेयर मूल्य प्रतिकित्ता २ हजार २७२ रुपैयाँ रहेको छ । त्यस्तै, नेको इन्स्योरेन्सको ७ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बुधबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार १४७ रुपैयाँ रहेको छ । सो दिन अपी पावरको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । यस दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९.९६ प्रतिशतले बढेर ६१८ रुपैयाँ पुगेको छ । त्यसैगरी, बीमा र होटल समूहको परिसूचक हरिया भएका छन् भने बाँकी समूहको परिसूचक राताम्मे भएका छन् । बीमा र होटल समूहको परिसूचक क्रमशः ५१ र १० अंकले बढेका छन् । अन्य बाँकी समूहको परिसूचक भने एकल(सामान्य) अंकले झरेका छन् । समग्रमा नेप्से परिसूचक सामान्य अंकले ओरालो लागेको छ । परिसूचक अघिल्लो दिनको तुलनामा १ दशमलब १४ अंकले ओरालो लागेर १६३७ दशमलब २७ अंकमा झरेको छ ।
वीरगञ्ज भन्सारमा १०१ प्रतिशत राजश्व असुली, डिजेल र पेट्रोलमा मात्रै १० अर्ब
वीरगञ्ज। वीरगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७३/७४ मा १०१ प्रतिशत राजश्व असुली गरेको छ । गत आवमा एक खर्ब सात अर्ब ११ करोड ३१ लाख ६३ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य राखेकामा एक खर्ब आठ अर्ब १० करोड ७७ लाख ८७ हजार रुपैयाँ राजश्व उठाउन सफल भएको छ । कार्यालयले मुख्य रुपमा भन्सार महसुल, मूल्य अभिवृद्धि कर, अन्तः शुल्कतर्फ बढी राजश्व उठाएको कार्यालयका सूचना अधिकारी सन्तोष यादवले बताए। डिजेल र पेट्रोलमा कार्यालयले १० अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ । सिमेन्टको कच्चापदार्थ क्लिङ्करमा तीन अर्ब ३८ करोड रुपैयाँ र एलपी ग्यासमा दुई अर्ब नौ करोड रुपैयाँ संकलन भएको छ । कार्यालयलाई करिब ४० प्रतिशत राजश्व भारतीय गाडीको निकासीबाट आउने गरेको छ । गत आवमा एक लाख १४ हजार थान मोटरसाइकल, आठ हजार थान कार, १७ हजार थान बस र ट्रक र एक हजार ६३३ थान ठूला ट्रक नेपाल भित्रिएका थिए । भन्सारले आव २०७१/७२ मा ९१ अर्ब रुपैयाँ राजश्व उठाउने लक्ष्य राखेकामा ९८ अर्ब रुपैयाँ संकलन गरेको थियो । आव २०७२/७३ मा ७१ अर्ब रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य लिएकामा ५५ अर्ब रुपैयाँ मात्र संकलन भएको थियो । रासस
१५ करोड उठाउन यसरी च्यात्दैछ काठमाडौं महानगरपालिकाले होर्डिङ बोर्ड(फोटोसहित)
काठमाडौं । काठमाडौं महानगरपालिकाले बिभिन्न क्षेत्रका होर्डिङ बोर्डहरु धमाधम हटाउन थालेको छ । महानगरपालिकाले बिशेष टोली नै खटाएर नियम विपरिद राखिएका र कर नतिर्ने होर्डिङ बोर्डहरु हटाउन थालेको हो । ‘अनधिकृत रुपमा राखिएका र कर समेत नतिरेका होर्डिङ बोर्डहरु हटाउन बिशेष टोली नै परिचालन गरेका छौंं’, काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने । महानगरपालिकाले यस्तो अभियान चलाएर विज्ञापन करको दायरा फराकिलो पार्ने र संकलन लक्ष्य पुरा गर्ने सोँच बनाएको हो । महानगरले गत आर्थिक बर्षमा विज्ञापन कर वापत ७ करोड ३२ लाख रुपैंयाँ संकलन गरेको थियो । चालु आवमा भने त्यसलाई बढाएर १५ करोड संकलन गर्ने लक्ष्य राखेका छ । महानगरपालिकाले विज्ञापन करमा व्यापक वृद्धि गरेको छ । महानगरको राजश्व महाशाखाका अधिकृत ध्रुब काफ्लेले भने विज्ञापन करको दर औषतमा २० देखि २५ प्रतिशतसम्म वृद्धि गरेको बताए । हालसम्म महानगरमा विज्ञापन करदाताका रुपमा १८३ वटा कम्पनी रहेका छन् । यसलाई बढाएर ३ सय पुर्याउने योजना रहेको काफ्लेले जानकारी दिए ।
नयाँ नियम अनुसार हिमालयन पावरको आइपीओ बाँडफाँड, कसले कति कित्ता पाए ?
काठमाडौं । हिमालयन पावर पार्टनरले असार १ गतेदेखि ५ गतेसम्म निष्काशन गरेको साधारण सेयर अर्थात आइपीओको बुधबार बाँडफाँड भएको छ । नयाँ नियम अनुसार न्यूनतम १० कित्ता सेयर सबै आवेदकलाई परेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । ग्लोबल आइएमई क्यापिटलका अनुसार १० कित्ता सेयर बाँडफाँड पश्चात बाँकी रहेको ३ लाख ४४ हजार ३०५ कित्ता सेयर चिठ्ठा(गोला) प्रथाबाट बाँडफाँड गरिएको छ । गोलाप्रथाबाट जम्मा ३४ हजार ४ सय ३० जना आवेदकलाई फेरी १० कित्ताको दरले सेयर परेको छ । सो मात्राको आवेदकलाई पहिलाको १० र गोलाप्रथाबाट १० कित्ता गरी जम्मा २० कित्ता सेयर परेको छ । त्यस्तै, गोलाप्रथाबाट बाँकी रहेको ५ कित्ता सेयर १/१ कित्ताका दरले ५ जनालाई बाँडिएको छ । आवेदकमध्ये पाँच जनालाई पहिलाको १० कित्ता र पछिको एक कित्ता गरी ११ कित्ताका दरले सेयर परेको छ । कम्पनीले जारी गरेको २१ लाख ३० हजार ८३४ कित्ता सेयरको लागि जम्मा एक लाख ६३ हजार ७३७ जनाले आवेदन दिएका थिए । कुल आवेदन परेको मध्ये १२६४ जनाको आवेदन रद्द भएको बिक्री प्रवन्धकले जनाएको छ । नेपाल धितोपत्र बोर्डले साउनदेखि सबै आवेदकलाई सेयर दिनुपर्ने व्यवस्था लागू गरेपछि सबैले न्यूनतम १० कित्ता सेयर पाएका हुन् । आज बाँडफाँड गरिएको उक्त सेयरमा आवेदकलाई अधिकतम २० कित्ता सेयर परेको छ ।
ज्योति विकास बैंकको थप दुई एटिएम सेवा सञ्चालनमा
काठमाडौं । ज्योति विकास बैंक लि.ले आफ्ना दुई शाखाहरु जोरपाटी तथा भक्तपुरको च्याम्हासिंहबाट एटिएम सेवा सञ्चालनमा ल्याएको छ । यस सेवाबाट बैंकका ग्राहक लगायत एससिटी सदस्य बैंकका एटिएम कार्डबाट नगद झिक्न सकिने छ । यी दुई एटिएम सहित बैंकले जम्मा १४ वटा एटिएमबाट देशका विभिन्न स्थानहरुमा सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले निकट भविष्यमा अन्तराष्ट्रिय कम्पनी भिसा (भिआईएसए) संग आवद्घ भई थप सेवा विस्तार गर्दैछ । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कुँवरका अनुसार बैंकले आगामी बर्ष पनि अन्य शाखाहरुमा एटिएम सेवा विस्तार गरी बैंकिङ्ग सेवालाई सहज र सरलिकृत गर्दै लाने योजना रहेको बताए । राष्ट्रिय स्तरको यस विकास बैंकले देशभर ३२ वटा शाखा संजाल र १ एक्स्टेन्सन काउण्टर मार्फत बैङ्किग सेवा प्रदान गरिरहेको छ र निकट भविष्यमा थप ९ शाखा विस्तार गर्ने योजना रहेको छ ।
दुुई संस्था प्राप्ति पछि सिभिल बैंकको ६० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत
काठमाडौं । सिभिल बैंकले दुई संस्था प्राप्ति(एक्वाएर) पछि ६० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत गराएको छ । बैंकले हामा मर्चेन्ट र यूनिक फाइनान्स प्राप्ति पछि बोनस र साधारण सेयर गरी सो मात्राको सेयर सूचिकृत गराएको हो । बुधबार बैंकको १३ लाख २० हजार १३६ कित्ता बोनस र ४६ लाख ९४ हजार ०१६ कित्ता साधारण सेयर सूचिकृत भएको हो ।
चितवनमा साढे १६ अर्ब राजश्व संकलन, लक्ष्यभन्दा १३ प्रतिशत बढी
चितवन। आर्थिक वर्ष २०७३/७४ मा आन्तरिक राजस्व कार्यालय चितवनले कूल १६ अर्ब ५७ करोड ५१ लाख ३७ हजार रूपैयाँ राजर्श्व संकलन गर्न सफल भएको छ । कार्यालय प्रमुख थानप्रसाद पंज्ञानीका अनुसार अघिल्लो आर्थिक वर्षमा लक्ष्य लिएको भन्दा १३ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भएको हो । अघिल्लो आर्थिक बर्षमा १२ अर्ब १६ करोड ५६ लाख ६० हजार रूपैयाँ राजस्व संकलन भएकोमा झण्डै चार अर्ब ४० करोड बढी राजस्व संकलन भएको हो । गत वर्ष कूल १४ अर्ब ६३ करोड ७७ लाख ८५ हजार रूपैयाँ राजस्व संकलन लक्ष्य लिइएको थियो । आयकरतर्फ १ अर्ब १३ करोड ५७ लाख १६ हजार रूपैयाँ संकलन भएको छ । अन्तः शुल्क करमा १४ अर्ब २३ करोड रूपैयाँ राजस्व संकलन भएको छ । घरबहाल करतर्फ लक्ष्य भन्दा १५ प्रतिशत बढी अर्थात ९ करोड ११ लाख २५ हजार रूपैयाँ संकलन भएको छ । मूल्य अभिवृद्धि करतर्फ ९० करोड ९ लाख २३ हजार राजस्व लक्ष्य लिइएकोमा ९६ करोड ८९ लाख १५ हजार रूपैयाँ राजस्व संकलन भएको छ । स्वास्थ्य सेवा करतर्फ १२ करोड ४९ लाख १८ हजार रूपैयाँ राजस्व संकलन लक्ष्य लिइएकोमा पाँच करोड ९३ लाख ५७ हजार रूपैयाँ राजस्व संकलन भएको छ । शिक्षा करतर्फ दुई करोड १५ लाख रूपैयाँ संकलन भएको छ । दुई करोड १३ लाख ९८ हजार रूपैयाँ राजस्व संकलन लक्ष्य रहेको थियो ।
अस्पतालमा बिरामी बढे, सफा पानी पिउन आग्रह
नुवाकोट । वर्षायाम लागेसँगै पछिल्ला केही दिन यतादेखि नुवाकोटका अस्पतालमा ज्वरो र टाइफाइडका बिरामी बढेका छन् । ज्वरो, भाइरल फिवर, रुघाखोकीको ज्वरो, दम, टाइफाइडजस्ता रोगका बिरामीको संख्या बढेको त्रिशूली जिल्ला अस्पतालका डा राजेन्द्र लामाले बताए । बर्खाको समयमा विशेषगरी पिउने पानीमा हुने प्रदूषणका कारण बिरामीको संख्यामा वृद्धि भएको अस्पतालले जनाएको छ । अस्पतालमा १०५ डिग्री सेल्सियससम्म उच्च ज्वरोका बिरामीसमेत उपचारका लागि आउने गरेको उहाँले बताउनुभयो । अस्पतालमा दैनिक १०० जनासम्म बिरामी उपचारका लागि आउने गरेकोमा अधिकांश बिरामी ज्वरोको हुने गरेको डा लामाले बताए । झोलिलो खानेकुरा खान, कडा परिश्रम नगर्न, खानपान र व्यायाममा ध्यान दिन बिरामीलाई सल्लाह दिँदै आएको उनले बताए । विशेषगरी नुवाकोट सदरमुकामसँग जोडिएका गाउँपालिका तथा नगरपालिकाबाट ज्वरोका बिरामी आउने गरेका छन् । डा लामाले जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लाको केही ठाउँमा गरेको नमूना परीक्षणमा पानीमा दिसामा पाइने जीवाणु कोलिफर्म भेटिएकाले पानी शुद्धीकरण गरेर पिउन आग्रह गरे । रातमाटे, विदुर, कोलनी, तुप्चे, गेर्खु र काउलेको खानेपानीको परीक्षणमा कोलिफर्मको मात्रा ३० देखि ६० सम्म रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । रासस –––––––––