विकासन्युज

अरुण फाइनान्सको साउन ९ गते बुक क्लोज

काठमाडौं । अरुण फाइनान्सको आगामी साउन ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । उक्त निर्णय कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । कम्पनीले सेयर धनीहरुलाई शतप्रतिशत हकप्रद निष्काशन गर्न लागेको छ । सो प्रयोजनको लागि साउन ९ गते कम्पनीको बुक क्लोज हुन लागेको हो ।

असार सकियो, चालीस प्रतिशत खेत अझै बाँझै

भक्तपुर । मनसुन कमजोर भई पर्याप्त वर्षा नभएपछि असार सकिए पनि भक्तपुरमा अझै ४० प्रतिशत जमिनमा रोपाइँ गर्न बाँकी छ । अघिल्ला वर्षमा असारको अन्तिम साता नै रोपाइँ सकिने भक्तपुरमा यस वर्ष मनसुन कमजोर भई पर्याप्त वर्षा नहुँदा असार सकिए पनि जिल्लामा ४० प्रतिशत खेत अझै बाँझो रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लाको दुई मुख्य खोला मनोहरा र हनुमन्तेका साथै खस्याङ, खुसुङखोला किनारको फाँटमा सिँचाइको सहज सुविधा भएपनि सिरुटार, दधिकोट, गुण्डु, सिपाडोल, ताँथली, सुडाल, नंखेललगायत गाउँमा आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता छ । मनसुन कमजोर भई आवश्यकमात्रामा वर्षा नभएपछि कृषक सुक्खा जमिनमा भए पनि रोपाइँ गर्न बाध्य छन् । बीउ छिपिएर खेर जान लागेपछि सुक्खा जमिनमा भए पनि धान रोप्नु परेको उनीहरु बताउँछन् । परम्परागत राजकुलो मासिएका कारण रोपाइँमा असर गरेको कृषकको गुनासो छ । असार सके पनि रोपाइँ गर्न नपाएका चाँगुनारायण नगरपालिका–९, ताथलीका कृषक हरि छुकाले यसपाली मनसुन एकदमै कमजोर भएका कारण ताथली क्षेत्रमा अझै रोपाइँ गर्ने जग्गा बाँझै रहेको जानकारी दिए । “बीउ छिप्पीसक्यो, अहिलेसम्म रोपाइँ शुरु गर्न पाएको छैन । वर्ष दिन खानका लागि रोप्ने धान समयमा रोप्न नपाएपछि कृषक चिन्तित भएका छन्”– उनले भने । सूर्यविनायक नगरपालिका–६, कटुञ्जेका अर्का कृषक सञ्जय खड्काले अघिल्ला वर्षमा असारको दोस्रो सातासम्म रोपाइँ सकिसक्ने खेतमा यसपाली मनसुन साह्रै कमजोर भएका कारण असारको अन्तिमसम्म रोपाइँ शुरु गर्न नसकेको बताए । उनले बढ्दो शहरीकरणसँगै जग्गा प्लटिङ गर्नेले पुख्र्यौली राजकुलो बन्द गरेका कारण रोपाइँमा समस्या आएकाले आकाशे पानीको भर पर्नुपरेको गुनासो गरे। सिँचाइका लागि खोलानाला, पोखरी नजिक भएका स्थानमा पम्पसेट मार्फत सिँचाइ गरेर रोपाइँ गरिएको तर आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने ताथली, सुकाल, सिरुटार, गुण्डु, नंखेल, कटुञ्जे, दधिकोट, दुवाकोट, चाँगु, सिपाडोल र चित्तापोल क्षेत्रमा अझै रोपाइँ बाँकी भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख पूर्ण ढुंगानाले जानकारी दिए । उनले यस वर्ष भक्तपुरमा पानी नभएका कारण सुक्खा धान रोप्नुपर्ने अवस्था सिर्जना भएको बताउँदै रोपाइँकै लागि कृषि कार्यालयबाट जिल्लाका चारैवटा नगरपालिकामा समेट्ने गरी कृषकको समूहमा २० वटा पानी तान्ने पम्प वितरण गरेको जानकारी दिए। जिल्लाकोे ११ हजार १०६ हेक्टर खेतीयोग्य जमिनमध्ये चार हजार ३४८ हेक्टरमा धानखेती गरिन्छ । भक्तपुरमा वार्षिक २७ हजार मेट्रिक टन धान उत्पादन हुने गरेको छ । भक्तपुरमा प्रतिहेक्टर छ दशमलव दुई टन धान उत्पादन हुने गरेको छ जुन नेपालको समग्र उत्पादन प्रतिशतभन्दा दोब्बर हो । रासस

भृकुटी स्टक कम्पनीले तीन दिन सेयर कारोबार गर्न नपाउने

काठमाडौं । भृकुटी स्टक कम्पनीले अाजदेखि तीन दिन सेयर कारोबार गर्न नपाउने भएको छ । उक्त कम्पनीले कारोबार राफसाफमा लापर्वाही गरेकाले आइतबारदेखि तीन दिनसम्म कारोबार गर्न नपाउने भएको हाे । धितोपत्र दलालले लगानीकर्ताको रकम समयमा भुक्तानी गर्न नसकेकोले नेप्सेले आगामी मंगलबार(साउन ३ गते)सम्म कम्पनीको कारोबारमा रोक लगाएको हो ।

तीन गाउँपालिका र एक नगरपालिकाको आय-व्यय विवरण पारित

धादिङ । दुई नगरपालिका र ११ वटा गाउँपालिका भएको धादिङमा आर्थिक वर्षको अन्तिम दिनमा आइपुग्दा तीन गाउँपालिका र एक नगरपालिकाले शनिबार चालु आर्थिक वर्षको आय-व्यय विवरण पारित गरेका छन् । अन्य गाउँपालिका र नगरपालिकाले आव शुरु हुनुपूर्व नै आय-व्यय विवरण प्रस्तुत गरी गाउँ र नगरसभाले पारित गरेर लागू गर्नुपर्नेमा निर्वाचित जनप्रतिनिधि अलमलमा परेकाले समयमै सभा सम्पन्न हुन नसकेको हो । थाक्रे गाउँपालिकाले ३३ करोड ७१ लाख ६० हजार रुपैयाँको आय-व्यय विवरण पारित गरेको छ । सिद्धलेक गाउँपालिकाले ३० करोड ५० लाख रुपैयाँ र गल्छी गाउँपालिकाले २७ करोड १६ लाख रुपैयाँको आय-व्यय विवरण पारित गरेको छ । नीलकण्ठ नगरपालिकाले रु ६९ करोड १४ लाख २८ हजारको आय-व्यय विवरण प्रस्तुत गरेको छ । आय-व्यय विवरण पारित गर्न सरकारले असार १५ गतेसम्म समय उपलब्ध गराएकामा केही गाउँपालिकाले कर्मचारी अभावमा समयमै काम सम्पन्न गर्न नसकेको जनाएको छ । आवको सुरुको दिनदेखि नै नियमित कामकाज गर्नुपर्ने भएकाले समयमै बजेट ल्याउन लागिपरेको गल्छी गाउँपालिकाका उपाध्यक्ष राधा तिमल्सिनाले बताए । धुनीबेँशी नगरपालिकाले कार्यकारी अधिकृत र लेखाअधिकृत नभएकाले बजेट निर्माण गर्न नसकेको जनाएको छ । सरकारले वर्षको अन्तिम दिनमा मात्र कर्मचारी पठाएकाले अब एक सातामै आय-व्यय विवरण प्रस्तुत गरिने त्यहाँका नगरप्रमुख बालकृष्ण आचार्यले जानकारी दिए ।

सगरमाथा फाइनान्स प्राप्ति पश्चात सेञ्चुरी बैंकद्धारा एकीकृत कारोबार शुरु

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले “ग” वर्गको सगरमाथा फाइनान्सलाई प्राप्ती (एक्विजिशन) गरी एकीकृत कारोबार शुरु गरेको छ । काठमाडौंमा सम्पन्न एक समारोहका बीच उक्त एकीकृत कारोबारको शुभारम्भ अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले गरेका हुन् । सेञ्चुरी कमर्सियल बैंकले ८ अर्ब पूँजी पुर्याउने शिलसिलामा उक्त फाइनान्सलाई एक्वाएर गरेको हो । एकीकृत कारोबार पश्चात् बैंकको जारी पुँजी ५ अर्ब ४६ करोड रुपैयाँ तथा ६६ वटा शाखाहरु हुनेछन् । निकट भविष्यमा नै बैंकले अल्पाईन डेभलपमेन्ट बैंक तथा सेती फाईनान्ससंग एकीकृत कारोबार गदैछ भने ४० प्रतिशत हकप्रद शेयरका लागि आव्हान पत्र प्रकाशित गरिसकेको छ । सम्पूर्ण प्राप्तीहरु, हकप्रद तथा चालु आ.व.को मुनाफाबाट यसरी सेञ्चुरी बैंकले तोकिएको ८ अर्ब पुँजी पुर्याउदै छ । एकीकृत कारोबार पश्चात् देशभर सेञ्चुरी बैंकको शाखाहरु ९० वटा हुनेछन् ।

तीन आयोजनाबाट ३० मेगावाट विद्युत् थप हुँदै

चौतारा । वि.सं २०७४ मा निजी क्षेत्रबाट सञ्चालित सिन्धुपाल्चोक जिल्लाका तीन जलविद्युत् आयोजनाबाट थप २९.६ मेगावाट विद्युत् उत्पादन भई राट्रिय प्रशारण लाइनमा जोडिने भएको छ । वैशाख १२ गतेको भूकम्प, भारतीय नाकाबन्दी र बाढीपहिरोले क्षति पुर्याइ बन्द भएको ४२ मेगावाटको बराम्ची जलविद्युत् आयोजना, लक्ष्यभित्र सम्पन्न हुन नसकेका २२ मेगावाटको चाकु ए र ३२ मेगावाटको गेलुङ खोला आयोजना चाँडै नै सम्पन्न भएपछि थप विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोडिने भएको हो । वि.सं २०७२ वैशाखमा सम्पन्न गरिने लक्ष्य रहेको भोटेकोशी करिडोरअन्तर्गत शिवश्री हाइड्रो पावरद्वारा निर्माण भइरहेको २२ दशमलव २ मेगावाटको चाकु ए आयोजना आगामी माघ महिनामा सम्पन्न गरिने कार्यकारी निर्देशक उमेश कसजुले बताए। सो आयोजना सम्पन्न हुने बेलामा भूकम्पले ठूलो क्षति पुर्याएपछि दुई वर्ष ढिलाइ भएको हो । पुनःनिर्माणको काम अगाडि बढाइरहेकै अवस्थामा नाकाबन्दी र गत वर्ष असार तेस्रो साता तिब्बतबाट भोटेकोशीमा आएको बाढीले बाह्रबिसे–तातोपानी २६ किमी सडकखण्ड ध्वस्त भई लामो समयसम्म यातायात बन्द भएको थियो । हाल सो आयोजनाको काम तीव्ररुपमा भइरहेकाले आगामी माघसम्म सम्पन्न भई विद्युत् उत्पादन हुने बताइएको छ । जुगल गाउँपालिकाअन्तर्गत हगामस्थित ३१ मेवाको गेलुङ खोला आयोजनाबाट आउँदो असोज महिनाभित्र विद्युत् उत्पादन हुनेछ । त्यसलाई भूकम्प र बाढीपहिरोको असरले गर्दा निर्धारित समयभन्दा दुई वर्षपछि सम्पन्न भएको हो । निजी क्षेत्रबाट सञ्चालित ४२ मेगावाटको बरम्ची खोला आयोजना भूकम्पबाट क्षति पुगेपछि विगत दुई वर्षदेखि बन्द छ । सो आयोजनालाई आगामी कात्तिकसम्म पूर्ण रुपमा सञ्चालनमा ल्याइने भएको छ । विनाशकारी भूकम्प र बाढीका कारण सञ्चालनमा आइरहेको ४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजना विगत दुई वर्षदेखि बन्द छ । रासस

पुँजीगत खर्च ५७ प्रतिशत मात्र, करिब ६ खर्ब राजस्व संकलन

आर्थिक वर्ष २०७३/७४ समाप्त हुँदा सरकारको पूँजीगत खर्च ५६ दशमलव ८३ प्रतिशतमा सीमित भएकोे छ । सो अवधिमा सरकारको कुल खर्च भने ७३ दशमलव ७४ प्रतिशत रहेको छ । सरकारले चालु आवको लागि १० खर्ब ४८ अर्ब ९२ करोड बजेट विनियोजन गरेपनि सरकारले आव सकिदा सात खर्ब ७३ अर्ब ४४ अर्ब रुपैयाँ मात्र खर्च गरेको छ । सरकारले यस वर्षका लागि ३ खर्ब ११ अर्ब ९४ करोड पूँजीगत खर्च गर्ने भनेको भए पनि १ खर्ब ७७ अर्ब मात्र खर्च गरेको छ । कर्मचारीहरू जिम्मेवार पनि नहुने र जोखिम मोल्न पनि तयार नहुने परिपाटीले गर्दा हरेक वर्ष बजेट खर्च प्रभावित हुने गरेको छ । सरकारको खर्च गर्ने क्षमता कमजोर बन्दै गएको टिप्पणी विश्लेषकहरूले गरेका छन् । खर्च गर्न नसकेर जेठसम्म सरकारी ढुकुटीमा २ खर्ब ६५ अर्ब थन्किएको छ । पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले सरकारको खर्च गर्ने क्षमता कमजोर बन्दै गएको बताए । निर्माण व्यवसायी एवम् कन्ट्रयाक्टरलाई राष्ट्रिय नीति, समसामयिक कानुन, आर्थिक प्राविधिक पक्ष, निर्धारित समय, लागत, गुणस्तरीयताप्रति जवाफदेहीलगायतका विषयमा ध्यान दिन सके पुँजीगत खर्च बढ्न सक्छ । आयोजनाहरूको अनुगमन तथा प्रशिक्षण प्रदान गरी आयोजनामा सूचक पूरा गर्ने उत्कृष्ट निर्माण व्यवसायी तथा आयोजना प्रमुखलाई राज्य र सरकारले सम्मान एवम् पुरस्कृत गर्ने सक्नु पर्ने पर्छ । कार्यसम्पादन तोकिएको समयमा सम्पन्न नगर्ने, सम्झौतापश्चात सम्पर्कमा नरहने, गुणस्तरीयता कायम नगर्ने, जिम्मेवारी पन्छाउनेलाई कालो सूचीमा राख्ने, दण्ड र सजाय व्यवस्था गरिनु पर्दछ । नेपालमा पछिल्ला वर्ष पुँजीगत बजेट खर्च हुन सकिरहेको छैन । बजेट मध्यावधि समीक्षामा यो वर्ष सरकारले पुँजीगत बजेट ८४ प्रतिशत खर्च गर्ने लक्ष्य संशोधन गरिएको थियो । अहिलेसम्मको खर्च गराइ हेर्दा लक्ष्यभन्दा धेरै पछडि रहने देखिन्छ । ‘पुनर्निर्माणको निहुँमा ठूलो आकारको बजेट ल्याइयो’, राष्ट्रिय योजना आयोगका सदस्य स्वर्णिम वाग्लेले भने ‘तयारीबिना बजेट ल्याउने अध्यासको प्रतिफल हो यो, खर्च गर्न खोज्दा खोज्दै पनि हुन सकिरहेको छैन ।’ सरकारले बजेटको आकार बढाउनु भन्दा खर्च गर्न सकिनेगरी वास्तविक आयोजनामा आधारित बजेट आउन नसकेको गुनासो उनले गरे । दुई चरणमा भएको स्थानीय तहको निर्वाचन आचारसंहिताले पनि बजेट खर्च केही प्रभावित भएको हो । महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकले पनि चालु आवमा पूँजीगत खर्च लक्ष्य आधाभदा केहीमात्र बढी खर्च भएको देखाएको छ । त्यसबाहेक सरकारले यस अवधिमा ८७ अर्ब ५३ करोड वित्तीय व्यवस्थामा खर्च गरेको छ । सरकारले सोही अवधिसम्म कुल राजस्व संकलन भने ५ खर्ब ९० अर्ब ८३ करोड गरेको छ । चालू आवमा ५ खर्ब ६५ अर्ब ८९ करोडको लक्ष्य निर्धारण गरेको सरकारले यस वर्ष४ प्रतिशत बढी राजस्व संकलन गरेको महालेखाको तथ्यांक छ ।  

रत्ननगर उद्योग वाणिज्य संघको अध्यक्षमा राजाराम रेग्मी निविरोध निर्वाचित

रत्ननगर  । रत्ननगर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा राजाराम रेग्मी निविरोध निर्वाचित भएका छन् । सुरुमा अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी दर्ता भएकोमा अन्तिम समयमा आएर अर्का उम्मेद्वार यदुनाथ भट्टले उम्मेद्वारी फिर्ता लिएपछि रेग्मीको प्यानल नै बिजयी भएका हुन् । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा अनिलकृष्ण श्रेष्ठ , उपाध्यक्षहरु वाणिज्यतर्फ विनोद पोखरेल,उद्योगतर्फको उपाध्यक्षमा रघुनाथ भट्ट, वस्तुगत तर्फ भीमनारायण श्रेष्ठ र एशोसियटतर्फ शंकर गिरी महासचिवमा निराजन खनाल र कोषाध्यक्षमा देवीप्रसाद डल्लाकोटी पनि सर्वसम्मत बिजयी भएका छन् । त्यस्तै , वाणिज्यतर्फको सदस्यमा उपेन्द्र शर्मा आचार्य, माधवप्रसाद पौडेल, सोहेन्द्र राज खरेल, कविन घिमिरे, सीताराम भट्टराई, रामशरण नेपाल, ईश्वरीप्रसाद अर्याल र सुन्दरमणि सुवेदी निर्विरोध निर्वाचित हुनुभएको छ भने, उद्योगतर्फ निरज श्रेष्ठ, पुरु खनाल, राममणि थपलिया, निरञ्जन थापा, हरिप्रसाद अधिकारी र शिवलाल श्रेष्ठ तथा महिला सदस्यमा मीना उप्रेती एशोसियट सदस्यमा लोजिककृष्ण सागर र दिनेश कट्टेल तथा वस्तुगत संगठनतर्फ जोगेन्द्र महतो सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक गोपीलाल देवकोटाले जानकारी दिए । अधिवेशनले २६ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ । यसअघि वाणिज्य र उद्योगतर्फ मात्रै उपाध्यक्ष थिए । संशोधित विधानअनुसार आगामी अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुनेछ भने एशोसिएट र वस्तुगत उपाध्यक्ष थप गरिएको छ भने,अहिले वरिष्ठ उपाध्यक्षमा निर्वाचित अनिलकृष्ण श्रेष्ठ आगामी अधिवेशनबाट संघको अध्यक्ष बन्ने पक्का भएका छन् ।