जेटटिइ ब्लेड ए २ प्लस स्मार्टफोन नेपाली बजारमा, मुल्य २३ हजार ९ सय रुपैयाँ मात्र
काठमाडौं । नेपालका लागि जेटिइ मोबाइल ब्रान्डको अधिकृत विक्रेता इभोलुशन इन्टरप्राइजेज प्रा.लि.ले जेडटिइ ब्लेड ए२ प्लस स्मार्टफोन बजारमा उपलब्ध गराएको छ । उच्चतम मेमोरी र उत्कृष्ट ब्याट्री ब्याकअप चाहनेको लागि जेडटिइ ब्लेड ए २ प्लस लक्षित गरिएको छ । यसमा ४ जिबी र्यामको प्रयोग गरिएकाले फोन द्रुत गतिमा चल्नुका साथै ठूलो गेम खेल्न, वेब ब्राउजिङ गर्न तथा मल्टि टास्किङ स्मार्टफोन उपयुक्त छ । ३२ जिबीको इन्र्टनल स्टोरेजलाई १२८ जिबीसम्मको एसडीकार्ड प्रयोग गरेर बढाउन सकिने सुविधा रहेको छ । स्मार्टफोनमा १.५ गिगाहर्जको अक्टा-कोर मिडियाटेक एमटि ६७५० टि प्रोसेसर प्रयोग गरिएको छ । यसैगरी, ब्लेड ए२ प्लसको अर्को शक्तिशाली फिचर भनेको यसमा प्रयोग भएको ५००० एमएएचको नन रिमुभेबल ब्याट्री हो । यति ठूलो क्षमताको ब्याट्री ब्याकअप चाहनेका लागि यो स्मार्टफोन उत्कृष्ट रोजाइ हो । यसले ओटिजी रिभर्स चार्जिङ प्रविधि पनि प्रयोग गरिएको छ, जसले चाडै व्याट्री चार्ज हुनेछ । ब्लेड ए२ प्लसमा ५.५ इन्चको एचडी डिस्प्ले (१०८०×१९२० पिक्सेल रेजोेलुशन) र ४०१ पिक्सेल डेन्सिटी रहेको छ । यसले गर्दा सफा पिक्चर डिस्प्ले हुन्छ । ठूलो स्क्रिन भए पनि कम पावर खपत गर्दछ । जेडटिइ ब्लेड ए२ प्लसको एउटा आकर्षक पक्ष क्यामेरा हो । फोनमा १३ मेगापिक्सलको रियर पिडिएपएफ क्यामेरा र सेल्फीका लागि ८ मेगाफिक्सलको क्यामेरा प्रयोग गरिएको छ । क्यामेरामा ०.३ फेज-डिटेक्सन अटो-फ्लास, ०.३ सेकेन्डमा एकुरेट फोकसिङ, दौडिरहेका वस्तु वा मानिसको तस्विर सटिक तस्विर लिन, तथा पानोरोमा सेल्फीजस्ता फिचरहरु रहेका छन भने फ्रन्टमा स्क्रिन फ्लास पनि प्रयोग गरिएको कम्पनीले जनाएको छ । स्क्रिन फ्लासबाट रातिको समयमा नेचुरल फोटो खिच्नको लागि स्मार्टफोनको पूरै स्क्रिनबाट फ्लास आउदछ । पानोरोमा सेल्फी फिचर भएकाले वाइड-एङ्गल तस्विरहरु लिन सकिने छ । स्मार्टफोनका अन्य फिचरहरु डुअल सिम सपोर्ट (थ्रिजी/फोरजी), एक्सेलेरोमिटर सेन्सर, प्रोक्सिमिटी सेन्सर, कम्पास, हल सेन्सर, एफएम रेडियोलगायतका फिचरहरु रहेका छन् । नेपाली बजारमा यसको मुल्य २३ हजार ९ सय रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
भार्गव विकास बैंकको बिक्री प्रवन्धकमा एनएमबि क्यापिटल नियुक्त
काठमाडौं । भार्गव विकास बैंक लिमिटेडले हकप्रद सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बिहीबार बैंकले २१ लाख १२ हजार कित्ता हकप्रद सेयर जारी गर्नको लागि काठमाडौंको नागपोखरीमा रहेको उक्त क्यापिटलाई बिक्री प्रवन्धकमा नियुक्त गर्ने सम्झौता गरेको हो । उक्त कार्यका लागि भार्गव विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्कर राज जोशी तथा एनएमबि क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । साथै, एनएमबि क्यापिटलले निकट भविष्यमा बैंकको उक्त हकप्रद शेयर निष्काशन गर्ने बताएको छ ।
भूकम्प पीडितलाई त्रिपाल अभाव, ३० करोडको जस्तापाता गोदाम मै
काठमाडौं । भूकम्प पीडित जनताले दोश्रो बर्षातः पनि त्रिपाल मुनी बिताउनुपर्ने अवस्था श्रृजना भैरहँदा तीनै भूकम्प पीडितका लागि भनेर खरिद गरिएको करोडौं मुल्यको जस्तापाता भने गोदाममै थन्किएर बसेको छ । यति मात्रै होइन, त्यहि जस्तापाताका बिषयमा अर्थ मन्त्रालय र आपुर्ति मन्त्रालयबिच वाक युद्ध नै चलिरहेको छ । तत्कालिन प्रधानमन्त्री सुशिल कोइरालाको अध्यक्षतामा बसेको दैवी प्रकोप उद्धार समिति बैठकले साल्ट ट्रेडिङलाई जस्तापाता खरिद गरेर भूकम्पले भत्काएका सरकारी संरचना निर्माणमा उपलब्ध गराउन निर्देशन दिएको थियो । सोही निर्णयका आधारमा साल्ट ट्रेडिङले ३० करोड मूल्यमा ५० हजार बण्डल जस्तापाता खरिद गरेको थियो । सरकारी विद्यालय, स्वास्थ्य चौकी र सरकारी भवनहरु निर्माणका लागि जस्तापाता बेच्ने जिम्मेवारी पाएको ट्रेडिङले सो जस्तापाता अझै बेच्न सकेको छैन् । सो अवधीमा ट्रेडिङले ब्याज मात्रै ४ करोड ६७ लाख तिरिसकेको छ । त्यस्तै भण्डारण लगायतका लागि पनि ट्रेडिङले ६ करोड ६८ लाख तिरेको छ । ट्रेडिङले जस्तापाता आफुखुसी बेच्न नदिएर अर्थ मन्त्रालयले आफुलाई ठुलो नोक्सानी पुर्याएकाले ११ करोड ६७ लाख क्षतिपुर्ति मागिरहेको छ । तर अर्थ मन्त्रालयले भने त्यसमा आफ्नो कुनै दायित्व नरहेको दावी गर्दै आएको छ ।‘साल्ट ट्रेडिङ व्यापारका लागि स्वतन्त्र निकाय हो, उसको नाफा वा घाटासँग हामीलाई मतलब छैन’, अर्थ मन्त्रालयका सह सचिव गणेशप्रसाद पाण्डेले भने । तर साल्ट ट्रेडिङकी प्रबन्ध निर्देशक उर्मिला श्रेष्ठले भने अर्थ मन्त्रालयकै कारण आफुहरुले जस्तापाता बेच्न नपाएकाले त्यसको नोक्सानी वापतको क्षतिपुर्ति पाउनुपर्ने बताइन् ।
प्रभु बैंकको १४ करोडको प्रमोटर सेयर बिक्री, बिहीबार ६७ करोडको सेयर कारोबार
काठमाडौं । बिहीबार सबैभन्दा बढी प्रभु बैंकको १४ करोड १२ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर कारोबार भएको छ । सो दिन यस बैंकको प्रमोटर सेयर प्रतिकित्ता २०१ रुपैयाँमा कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा स्थिर रहेको छ । त्यस्तै, यस बैंकको पब्लिक सेयर पब्लिक सेयर प्रतिकित्ता ३३९ देखि ४०३ रुपैयाँसम्ममा किनबेच भएको छ । बजार बन्द हुँदा बैंकको पब्लिक सेयर प्रतिकित्ता ४०० रुपैयाँ रहेको छ । जुन रकम अघिल्लो दिनको तुलनामा २ अंकले बढी हो । बिहीबारको सेयर बजारमा ६७ करोड १८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस दिन करिब १३९ कम्पनीको १५ लाख ७७ हजार कित्ता सेयर किनबेच भएको छ । सो दिन नेप्से परिसूचक ४ दशमलब ८० अंकले बढेर १५५९ दशमलब ४९ अंकमा पुगेको छ । बजारमा बीमा बाहेक बाँकी समूहको परिसूचक सामान्य अंकले उकालो लागेका छन् । बीमा समूहको परिसूचक भने ३३ अंकले ओरालो लागेको छ ।
कतार एयरवेजलाई चौथौँ पटक एयरलाइन अफ द इयरको उपाधी, विश्वको छनोटमा पर्न सफल
पेरिस । पेरिस एयर शोमा आयोजित बहुप्रतिष्ठित २०१७ स्काइट्र्याक्स वल्र्ड एयरलाइन एवार्डमा कतार एयरवेजलाई एयरलाइन अफ द इयर उपाधीद्वारा सम्मानित गरिएको छ । वैश्विक स्तरमा विश्वकै उत्कृष्ट एयरलाइनको उपाधी कतार एयरवेजलाई प्रदान गरिएको यो चौथौँ पल्ट हो । विश्व भरका यात्रीद्वारा प्रदान गरिएको भोटका आधारमा उत्कृष्ट एयरलाइनको उपाधीका साथै कतार एयरवेजले बेष्ट एयरलाइन इन द मिडल इष्ट, वल्र्ड्स बेष्ट बिजनेश क्लास र बेष्ट फस्र्ट क्लास एयरलाइन लाउन्ज लगायत प्रमुख उपाधीपनि हात पार्न सफल भएको छ । कतार एयरवेजको ‘होम एण्ड हब’ हमाद ईन्टरनेशनल एयरपोर्टलाई यस बर्षपनि स्काइट्र्याक्सद्वारा पाँच तारेको उपाधी प्रदान गरिएको छ । यो उपाधी हमाद ईन्टरनेशनल एयरपोर्ट लगायत विश्वका अन्य ४ विमान स्थललाई मात्र प्रदान गरिएको छ । कतार एयरवेजलाई प्रदान गरिएको विश्वकै उत्कृष्ट विमान स्थलको यो उपाधी आफ्ना यात्रीहरुको अटुट विश्वासको प्रमाण भएको कतार एयरवेजका गु्रप चिफ एक्जेक्यूटिभ महामहिम अकबर अल बाकरले बताए । ‘यात्रीलाई पूर्ण सन्तुष्टि प्रदान गर्ने हाम्रो निरन्तर प्रयासको सम्मानका रुपमा हामीले यसलाई लिएका छौँ’, उनले भने ‘यात्रीहरुको प्रत्यक्ष भोटका आधारमा प्रदान गरिएको यो उपाधीले हाम्रा लागि अहम महत्व राख्छ । यसका लागि हामी तिनलाई धन्यवाद ज्ञापन गर्दै थप सेवा गर्ने मौका प्रदान गर्नेमा आशावादी छु ।’ अवार्डका बारेमा बोल्दै अनधिकृत रुपमा लगाइएको फ्लाइट बन्देजको समयमा प्राप्त यो अवार्ड आफू वा एयरलाइनको लागि नभइ समग्र देशका लागि भएको बताए । गत बर्ष वल्र्ड्स बेष्ट बिजनेश क्लास, बेष्ट बिजनेश क्लास लाउन्ज र बेष्ट एयरलाइन स्टाफ सर्भिस ईन द मिडल इष्ट उपाधी हात पार्न सफल कतार एयरलाइन्सले वैश्विक विस्तार योजना, प्रडक्ट डेभलपमेण्टका क्षेत्रमा थप आशातित नतिजा हात पार्दै आइरहेको छ । साथै, यही हप्ता सेवा सञ्चालन गर्नु पूर्व कम्पनीको पूर्णरुपमा तयार विमानलाई पेरिस एयर शोमा समेत प्रदर्शित गरिने विज्ञप्ति मार्फत जानकारी दिइएको छ ।
चिसो मंसिरमा सरकारी उपहारः खाना पकाउने ग्यासको हाहाकार
काठमाडौं । नेपाल सरकारको लापरवाहीका कारण आगामी जाडो महिनामा खाना पकाउने एलपी ग्यासको अभाव हुने भएको छ । सरकारले नेपाली नम्बर प्लेटका बुलेटलाई ग्यास ढुवानी गर्ने अनुमति दिलाउन नसक्दा मध्य मंसिरदेखि एलपी ग्यासको ढुवानी ठप्प हुन लागेको हो । ‘नोभेम्बर महिना(मंसिर १५) देखि भारतीय नम्बर प्लेटका बुलेटले नेपालका लागि ग्यास ढुवानी गर्दैनन्, त्यतिञ्जेलसम्म नेपाली नम्बर प्लेटका बुलेटले ढुवानी गर्ने व्यवस्था मिलाउन नसके चिसोमा जनताको भात भान्छा बन्द हुनेछ’, नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले भने । व्यवस्थापिका संसदको उद्योग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको आपुर्ति तथा उपभोक्ता हित उप समिति बैठकमा बोल्दै घिमिरेले भने–‘हामीले ३ अर्बको लगानीमा ४०० वटा ग्यास बुलेट तयार पारेका छौं तर सरकारले भारतीय आयल निगमसँग ढुवानी अनुमति दिलाउन नसक्दा आगामी जाडोमा जनताले ग्यास नपाउने सम्भावना बढिरहेको छ ।’ हाल इण्डो नेपाल बल्क ट्रान्स संघका ६०० वटा बुलेटले नेपालमा एलपी ग्यास ढुवानी गर्दै आएका छन् । संघले नेपाल ग्यास उद्योग संघसँगको सम्झौता अनुसार ग्यास बोक्दै आएको थियो । तर नेपाली व्यवसायी आफैंले ग्यास बुलेट खरिद गर्ने प्रक्रिया अघि बढाएपछि नेपाल ग्यास उद्योग संघ र इण्डो नेपाल बल्क ट्रान्सपोर्ट संघबिच २०७४ असोज २ गते आगामी नोभेम्बरसम्म मात्रै ग्यास ढुवानी सम्झौता कायम राख्ने सहमति भएको थियो । हाल नेपाली नम्बर प्लेटका २ वटा ग्यास बुलेट नेपाल भित्रि सकेको छ । त्यस्तै, ६३७ वटा ग्यास बुलेट भारतीय कम्पनी टाटाले धमाधम निर्माण गरिरहेको छ । त्यसमा नेपाली व्यवसायीको ३ अर्बको लगानी परेको छ । नेपाली व्यवसायीहरुले ७७५ वटा ग्यास बुलेट खरिद गर्ने अनुमति पाएका छन् । त्यसरी खरिद गरिएका बुलेटमा २ तिहाई भन्सार छुटको व्यवस्था गरिएको छ । बैठकमा आपुर्ति मन्त्रालयका सचिव प्रेम कुमार राईले भारतीय पक्षसँग नेपाली नम्बर प्लेटका ग्यास बुटेटलाई ढुवानी अनुमति दिनका लागि पटक आग्रह गरेको बताएका थिए । तर भारतीय पक्षले भने बिभिन्न बहाना बनाएर आनाकानी गरिरहेको पनि उनले समिति बैठकमा जानकारी दिएका थिए । बैठकले नेपाली नम्बर प्लेटका ग्यास बुलेटहरु मार्फत ग्यास ढुवानीको व्यवस्था मिलाउन आपुर्ति मन्त्रालय, परराष्ट्र मन्त्रालय र नेपाल आयल निगमलाई निर्देशन दिएको छ ।
नेप्सेमा तीन करोड ६१ लाख कित्ता सेयर सूचिकृत, हकप्रद मात्रै करिब तीन करोड
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक बाहेक बिहीबार मात्रै नेपाल स्टक एक्सचेञ्जमा तीन करोड ६१ लाख कित्ता सेयर सूचिकृत भएको छ । सो दिन ६९ लाख ५ हजार कित्ता बोनस र २ करोड ९२ लाख २ हजार कित्ता हकप्रद सेयर गरी सो मात्राको सेयर सूचिकृत भएको हो । बजारमा दुई कम्पनीको बोनस र दुई कम्पनीको हकप्रद सेयर सूचिकृत भएको छ । प्रुडेन्सियल लाइफ इन्स्योरेन्स कम्पनीको ७ लाख १२ हजार ८०० कित्ता र ६१ लाख ९२ हजार ८५७ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । त्यस्तै, सानिमा बैंक र कुमारी बैंकको गरि २ करोड ९२ लाख २ हजार कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । सानिमा बैंकको एक करोड ५७ लाख र कुमारी बैंकको एक करोड ३४ लाख कित्ता हकप्रद सूचिकृत भएको हो ।
एनआइसी एसिया बैंकले शुरु गर्यो कर्जा ट्रयाकिङ प्रणाली, आवेदनको अपडेट हेर्न सकिने
काठमाडौं । एनआइसी एसिया बैंकले कर्जा ट्रयाकिङ प्रणाली (रिटेल ट्रयाकिङ सिष्टम)को शुरुवात गरेको छ । बैंकले ग्राहकले कर्जा स्वीकृतका हरेक चरणको अपडेट स्ट्याटस हेर्न सक्ने गरि‘कस्टुमर रिटेल लोन ट्रयाकिङ सिष्टम (सिआरएलटिएस)’को शुरु गरेको हो । सिआरएलटिएसद्धारा उच्चतम प्रविधिको प्रयोग गर्दै, बैंकले एसएमएस मार्फत सम्पूर्ण रिटेल कर्जाका आवेदकहरुलाई आफ्नो कर्जा निवेदनको स्ट्याटसबारे जानकारी दिन्छ । जसमा बैंकको कर्जा निवेदन प्राप्त गर्ने देखि कर्जा रकम ग्राहकको खातामा भुक्तानी गर्ने सम्मको चरणहरु पर्ने बैंकले जनाएको छ । ग्राहकले बैंकको आधिकारिक वेबसाइट मार्फत निवेदन नम्बर र मोबाईल नम्बरका आधारमा कर्जा निवेदनको प्रगति हेर्न सक्नेछन् । यो सेवा बैंकको हालको सम्पूर्ण ११७ शाखाहरुबाट उपयोग गर्न सकिने छ ।