‘स्मार्ट सिटी’का जनप्रतिनिधिलाई स्मार्ट फोन, मेयर र उपभेयरलाई रोजेअनुसारकाे सेट
काठमाडौं महानगरलाई ‘स्मार्ट सिटी’ बनाउने घोषणा गरेका महानगरपालिकाका नवनिर्वाचित प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिकाको बजेटबाट आफ्नै सुविधा र फाइदाका लागि लाखौं रुपैयाँसम्मको मोबाइल फोन खरिद गर्ने निर्णय गरेको खुलेको छ । महानगरपालिकाको गत ६ असारमा बसेको नगर कार्यपालिकाको दोस्रो बैठकले नगर कार्यपालिकाका प्रमुख, उपप्रमुख र सदस्यहरूका लागि कम्तीमा ३० हजार रुपैयाँदेखि लाखौं रुपैयासम्म पर्ने मोबाइल फोन खरिद गर्ने निर्णय गरेका छन् । गत १७ जेठदेखि मात्रै पदभार ग्रहण गरेका नवनिर्वाचित जनप्रतिनिधिहरूले निर्वाचनताका आपूmले जनाएका प्रतिबद्धता र घोषणापत्रविपरीत व्यक्तिगत सुविधाका लागि करोडौं रुपैयाँसम्म खर्च गर्ने निर्णय गरेका छन् । नगर कार्यपालिका बैठकको निर्णय नम्बर ३ (ख) मा प्रमुख र उपप्रमुखका लागि मोबाइल फोन खरिद गर्ने र मोबाइल रिजार्च खर्च बिलअनुसार भुक्तानी दिइने निर्णय उल्लेख छ । यस निर्णयअनुसार प्रमुख र उपप्रमुखले जति महँगो परे पनि आफूले रोजेअनुसारको ‘स्मार्ट मोबाइल फोन’ खरिद गर्न सक्नेछन् । नगर कार्यपालिकाका सदस्यहरूका लागि भने ३० हजार रुपैयाँबराबरको मोबाइल सेट खरिद गर्ने निर्णय गरिएको छ भने उनीहरूका लागि मासिक २ हजार ५ सय रुपैयाँ मोबाइल रिचार्ज खर्च दिइनेछ । प्रमुख र उपप्रमुखका लागि मोबाइल खरिद शीर्षकमा बजेटको सिलिङ तोकिएको छैन । प्रमुख र उपप्रमुखले आफैंले आप्mना लागि मोबाइल खरिद गरी बिल पेस गर्नुपर्ने निर्णयमा उल्लेख गरिएको छ । नगर कार्यपालिकाका सदस्यमा महानगरपालिकाका ३२ वटा वडाका अध्यक्ष र आठ जना सदस्य गरी ४० जना छन् । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूले पाउने सुविधाबारे संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले कानुनको मस्यौदा तयार पारिरहेका बेला महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले हतारो गर्दै आफ्नो सुविधाका लागि ‘अलोकप्रिय र विवादित’ निर्णय गरेका छन्। नगर कार्यपालिकाको दोस्रो बैठकलगत्तै सोही दिन आयोजित पत्रकार सम्मेलनमा महानगरपालिका प्रमुख शाक्यले ८ बुँदे निर्णय गरिएको भन्दै निर्णयपत्र बाँडेका थिए । सो निर्णयपत्रमा चालू आर्थिक वर्ष ९आगामी असार मसान्त० सम्मका लागि जनप्रतिनिधिहरूको तलब र भत्ताबापत ३५ लाख रुपैयाँ खर्च गरिने उल्लेख थियो ।तर हाल नगर कार्यपालिकाको दोस्रो बैठकले जनप्रतिनिधिहरूका लागि ३५ लाख रुपैयाँबाहेक अन्य शीर्षकमा लाखौं रुपैयाँसम्म खर्च गर्ने निर्णय गरेको खुलेको हो । बैठकले प्रमुख र उपप्रमुखका लागि १ हजार ५ सय रुपैयाँ बैठक भत्तासमेत दिने निर्णय गरेको छ । नगर कार्यपालिका सदस्य, वडा सदस्य र आमन्त्रित सहभागीहरूलाई भने जनही १ हजार रुपैयाँ बैठक भत्ता दिइने निर्णय गरिएको छ । मन्त्रालयले तयार पारेको मस्यौदामा भने निर्वाचित पदाधिकारीहरूका लागि तलबको मात्रै व्यवस्था गरिएको छ भने सदस्यहरूका लागि बैठक भत्ता दिने प्रस्ताव गरिएको छ । मन्त्रालयले कानुन बनाएर मात्रै सोहीअनुसार जनप्रतिनिधिहरूलाई सुविधा दिने प्रस्ताव गरेको छ भने महानगरपालिकाका जनप्रतिनिधिहरूले बिनाकानुन, बिनाकार्यविधि जथाभावी रूपमा तलब, भत्ता, मोबाइल फोन, सिम कार्ड र रिचार्ज खर्च दिने निर्णय गरेको छ । काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जनप्रतिनिधिलाई मोबाइल सेटसहितको सुविधा दिने कार्यको बचाउ गरे । ‘यो स्वभाविक काम हो, जनताका काम गर्नलाई नै यस्तो सुविधा दिइएको हो, यसलाई नकारात्मक रुपमा लिन मिल्दैन,’ उनले भने । राजधानी दैनिकबाट ।
गोकर्णेश्वर महादेव मन्दिरको पूजा खर्च एक रुपियाँ, जग्गाका मोहीले दिन्छन वार्षिक २६ रुपियाँ कुत
काठमाडौं । कुनै मन्दिरमा दैनिक पूजा खर्च एक रुपियाँ रहेको छ भन्दा विश्वास नलाग्ला तर गोकर्णेश्वर महादेव मन्दिरको पूजा खर्च एक रुपियाँ नै रहेको छ। यो एक रुपियाँले मन्दिरमा खटिएका पाँच जनाले दामासाही लिएर पूजा गर्दै आएका छन्। काठमाडौँ उपत्यकामा ३९६ रोपनी जग्गा आयस्ताका रूपमा रहेको गोकर्णेश्वर मन्दिरको पूजा खर्च यति लाजमर्दो मात्र छैन, महादेवको जग्गा आफ्नो नाममा कायम गरिपाऊँ भनी महादेवलाई चारवटा मुद्दा पनि परेको छ। स्थानीय समाजसेवी एवं गोकर्णेश्वर पुजारी खलक सुरेशचन्द्र भट्टका अनुसार मुद्दा नहालेका महादेवका जग्गाका मोहीले वार्षिक २६ रुपियाँ कुत बुझाउँछन् तर माकलबारीमा छ करोड रुपियाँभन्दा बढी मूल्य आँकलन हुने महादेवको जग्गामा भने मुद्दा छ। समाजसेवी एवं पुजारी खलकका सुरेशचन्द्र भट्टले राजगुठी अन्तर्गत सञ्चालनमा रहेको यो मन्दिरको सुधारमा गुठी संस्थानले खासै चासो नदिएको गुनासो गर्दै उल्टै गोकर्णेश्वरको जग्गालाई केही भूमाफियाले कब्जामा लिन खोजेको बताए। पैसा, बल, हुलमुल, धम्की यी सबैको प्रयोग जग्गा हडप्ने सिलसिलामा मन्दिरले खेपिरहेको भट्टले बताए। महादेव र मन्दिर परिसरसमेत नाजुक रहँदै आएको यो अवस्थामा नेपाली सेनाको बर्दबहादुर गण र इन्द्रध्वज गणले यहाँ सरसफाइ गरी मन्दिर हेर्नलायकको बनाएको छ। २०६१ सालमा सरकारी गुरुयोजनासहित सुधार थालिएको गोकर्णेश्वर मन्दिर र परिसरमा अहिले स्थानीय केही स्वयंसेवीले मात्र स्वेच्छाले काम गरिरहेका छन्। सो मन्दिर र क्षेत्र संरक्षण एवं प्रबन्ध समितिका सदस्य सचिव पुजन गौतमका अनुसार समितिले माली र एक सुपरभाइजर राखेको छ तर मन्दिरको आय एकदमै न्यून भएकाले जसोतसो काम भइरहेको छ। २०५८ मा मन्दिर संरक्षण स्थानीय समिति, २०६१ मा सरकारी गुरुयोजना र २०६३ मा प्रबन्ध समिति खडा भए पुरातत्व विभागले मर्मत गर्छ। विशेष भौतिक तथा पूर्वाधार क्षेत्र विकास आयोजनाले दिने वार्षिक सामान्य रकमले यहाँ केही सुधारका काम भइरहेको सदस्य सचिव गौतमले बताए। गोकर्णेश्वर महादेव क्षेत्र उत्तरगयाका रूपमा पनि पवित्र र महत्वको मानिन्छ। हिमवत् खण्ड नेपाल महात्म्यको १४० अध्यायमा यहाँ श्राद्ध गर्दा २१ कुलको उद्धार हुन्छ भनिएको छ। कुशे औँसी र अन्य दिनका श्राद्ध कार्यमा यहाँ दिनहुँजसो भीड हुन्छ। कान्तिपुर दैनिकबाट ।
मतपत्र च्यात्नेलाई पाँच बर्ष जेल, धाँधदीलाई रोक्न सहयाेग पुग्ने
इलाम । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले मतपत्र च्यात्नेलाई कारावास सजाय हुनुपर्ने बताएका छन् । उनले मतगणनामा हुने धाँधदीलाई रोक्न मतपत्र च्यात्नेलाई कम्तीमा पाँच बर्षको कारावास सजाय हुनुपर्ने धारणा राखे । भरतपुरमा मतपत्र च्यातिएपनि निर्वाचन आयोगले दलका प्रतिनिधिले मतपत्र छुन नपाउने, टाढैबाट सदर र बदर देखाउने व्यवस्था गरेको छ । यो घटनाको अहिलेसम्म निराकणर नभएकै कारण मतपत्र च्यात्नेलाई जेल सजयाँसम्मको व्यवस्था भएको हो । कान्तिपुर दैनिकबाट ।
हरेक क्षेत्रमा दुई डिआइजी, चेन अफ कमान्डमा समस्या
काठमाडाै । निर्वाचनको सुरक्षाका लागि भन्दै गृह मन्त्रालयले नेपाल प्रहरीका तीनवटा क्षेत्रमा थप डिआइजी खटाएको छ। एकै क्षेत्रमा दुई डिआइजी खटाउँदा चेन अफ कमान्डमा समस्या देखिएको छ। गृह मन्त्रालयले एक साताअघिदेखि पूर्वमा केदारमानसिंह भण्डारी, मध्यपश्चिममा देवेन्द्र सुवेदी र सुदूरपश्चिममा माधव नेपाललाई खटाएको छ। अनुगमन तथा अप्रेसनसहितको जिम्मेवारी दिएर उनीहरूलाई खटाइएको छ। ती क्षेत्रमा एकै पदका दुई कमान्डर हुँदा समस्या भएको हो। पूर्व क्षेत्रको प्रहरी प्रमुखमा रमेश भट्टराई, मध्यपश्चिममा विजयलाल कायस्थ र सुदूरपश्चिममा रोमेन्द्रसिंह देउजा कार्यरत छन्। गृहले आफ्नै ब्याचका अन्य डिआइजीलाई खटाएपछि उनीहरू असन्तुष्ट रहेको स्रोत बताउँछ। अर्कोतर्फ दुई डिआइजीको निर्देशन फरक हुने भएकाले कसको निर्देशन मान्नेसमेतको समस्या देखिएको छ। मध्य क्षेत्रमा भने हाल चुनाव नभएकाले डिआइजी खटाइएको छैन। पश्चिम क्षेत्रमा भने एसएसपीलाई मात्र खटाइएको छ। पश्चिमाञ्चल क्षेत्रका नवलपरासीमा एसएसपी सुरेशविक्रम शाह र कपिलवस्तुमा दीपक थापा खटिएका छन्। जिल्लामा एसपी इन्चार्ज हुनेमा एसएसपीलाई खटाइएकाले यी जिल्लामा भने समस्या छैन। नयाँ पत्रिका दैनिकबाट ।
बाहिरी चक्रपथ बनाउन चीन तयार, ७० प्रतिशत अनुदान र ३० प्रतिशत सहुलियत ऋणकाे प्रस्ताव
काठमाडौं । काठमाडौं उपत्यकाको बाहि री चक्रपथ बनाउन चिनियाँ कम्पनी रुचि देखाएको छ । चिनियाँ कम्पनी चाइना ह्युम्यानिटिज डिप्लोमेटिक प्रमोसन एसोसिएसन र चाइना न्युक्लियर इन्जिनियरिङ एन्ड कन्ट्रक्सन ग्रुप कर्पोरेसनको संयुक्त लगानीको कम्पनीले बाहिरी चक्रपथ निर्माण गर्ने इच्छा देखाएको छ । एसोसिएसनले सहरी विकास मन्त्रालय र उपत्यका विकास प्राधिकरणमा बाहिरी चक्रपथ निर्माण योजनाको आशयपत्र पेस गरेको छ । आशपत्रमा कम्पनीले ७० प्रतिशत अनुदान र ३० प्रतिशत ऋणमा बाहिरी चक्रपथ निर्माण गर्ने उल्लेख गरिएको काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले जानकारी दिए । उनका अनुसार यो चिनियाँ टोलीले भेटेरै आशयपत्र दिएको छ । चिनियाँ सरकारकै रुचिअनुसार यो आयोजना निर्माण गर्न आशयपत्र पेस भएको छ । सिधै चिनियाँ कम्पनीलाई प्राधिकरणले निर्माणको जिम्मा दिन नमिल्ने भएकाले सहरी विकास मन्त्रालयमार्फत आवश्यक प्रक्रिया अगाडि बढाउन आग्रह गरिएको तिवारीले बताए । अन्नपूर्ण पोस्टबाट ।
एनसेलले ल्यायो ‘इन्टरनेशनल कल प्याक’ रु २.५० प्रतिमिनेटमा २० मुलुकमा कल गर्न सकिने
काठमाडौंं। एनसेलका ग्राहकले नेपाल बाहिर रहेका आफ्ना परिवार तथा साथिभाईसँग अब अझ सुलभ दरमा कुरा गर्न सक्ने भएका छन् । एनसेल प्राइभेट लिमिटेडले आफ्ना ग्राहकका लागि आकर्षक ‘इन्टरनेशनल कल प्याक’ल्याएको छ, जसअन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले विश्वका २० मुलुकमा कर सहितमात्र रु २.५० प्रतिमिनेटमा कुरा गर्न सक्नेछन् । यहि शुक्रबार (असार ९) गतेदेखि लागु हुने यस कलप्याक योजनाअन्तर्गत एनसेलका सबै ग्राहकले कर सहित रु २५ मा १० मिनेट अन्र्तराष्ट्रिय टक टाइमबाट फाइदालिन सक्नेछन् । यो टक टाइम ग्राहकले भारत, चीन, अमेरिका, युके, क्यानडा, हङकङ, अस्ट्रेलिया, जापान, जर्मनी, सिङ्गापुर, दक्षिण कोरिया, बङ्गलादेश, साइप्रस, भुटान, फ्रान्स, स्पेन, डेनमार्क, इजराइल, बेल्जियम र इटालीमा सुलभ दरमा कुरा गर्न प्रयोग गर्न सक्नेछन् । यो योजनाअन्तर्गत सुलभ दरमा अन्तर्राष्ट्रिय कलको लाभ लिन एनसेलका ग्राहकले १७१०७ डायल गरी निर्देशनअनुसार प्याक सुचारु गर्न सक्नेछन् । त्यसैगरी ग्राहकले एस्ट्रिक्स १७१०७ ह्यास डायल गरी निर्देशनअनुसार वा अंगे्रजी अंक १० टाइप गरी १७१०७ मा एसएमएस पठाएर पनि यो प्याक सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ । “विदेशमा रहेका आफ्ना परिवार तथा साथीभाईसँग सुलभ दरमा सजिलै सम्पर्कमा रहनयोगदान पुर्याउने यो इन्टरनेशनल कल प्याक ल्याउन पाउँदा हामी हर्षित छौ । लोकल कलको दरमा विदेशमा कुरा गर्न सकिने यो प्याकले ग्राहकलाई थप लाभ प्रदान गर्नेमा हामी विश्वस्त छौ, ”एनसेलका संवाद विज्ञ मिलन शर्माले भने । प्याकअन्तर्गत अन्तर्राष्ट्रिय कलको लागिप्राप्त टक टाइम सकिएपछि सम्बन्धित देशको लागि नेपालबाट कलगर्दा लाग्ने विद्यमानशुल्कलाग्नेछ । ग्राहकले एनसेलको आधिकारीक वेबसाइटमा गएर विभिन्न देशकालागिलाग्ने कलको शुल्क हेर्न सक्छन् । यस इन्टरनेशनलकलप्याकमाउपलब्ध टक टाइम २४ घण्टाको लागिमान्य हुनेछ । यस प्याकको लागिपल्स रेट ३० सेकेण्डको रहनेछ र ग्राहकले आफ्नो बाँकी रहेको टक टाइमकोे जानकारी लिनकालागि एस्ट्रिक्स१०१ह्यास डायल गर्न सक्नेछन् ।
एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा कमल गौतम नियुक्त
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा कमल गौतम नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिले गौतमलाई आगामी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । गौतमले असार ११ गतेदेखि कम्पनीको जिम्मेवारी समाल्ने बताएका छन् । १७ वटा निर्जीवन बीमा कम्पनी मध्ये सबैभन्दा पछाडि रहेको र अरु कम्पनीसँग प्रतिस्पर्धामा नरहेको यस कम्पनीलाई प्रतिस्पर्धी बनाउने गौतमले बताए । २६ वर्षसम्म बैकिङ पेशामा क्रियाशिल गौतमको लागि बीमा नितान्त नयाँ पेशा हो । ‘अनुभवको दृष्टिले बीमा मेरो लागि नितान्त नयाँ क्षेत्र हो । मनमा नयाँ कामप्रति उत्सुकता हुनुका साथै सफलता पूर्वक जिम्मेवारी निर्वाह गर्ने चुनौति पनि उत्तिकै छ’ गौतमले विकासन्युजसँग भने-समस्यामा परेको इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंक सुधारमा पाएको सफलताले एभेरेष्ट इन्स्योरेन्स कम्पनी पनि सुधार गर्ने आँट र अठौत मसँग छ ।’ नेपाल ग्रिनलेज बैंकबाट बैकिङ पेशामा प्रवेश गरेका गौतमले हिमालयन बैंक, नेपाल बंगलादेश बैंक, सनराईज बैंक, एनसीसी बैंक, एनआईसी एशिया हुुँदै इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए । इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक एनसीसी बैंकमा विलय भएपछि उनी एनसीसी बैंकमा डीजीएम थिए ।
एभरेष्ट बैंकको ८९औँ एटिएम सेवा किर्तिपुरमा
काठमाडौं । एभरेष्ट बैंकले किर्तिपुरमा आफ्नो ८९औँ एटिएम सेवा उद्घाटन गरेको छ । उक्त सेवाको उद्घाटन किर्तिपुर नगरपालिकाका मेयर रमेश श्रेष्ठ र एभरेष्ट बैंकको प्रमुखकार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा गरेका हुन् । उक्त कार्यक्रममा स्थानिय विशिष्ट व्यक्ति लगायत बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति थियो । बैंकका नायव महाप्रबन्धक राजीब जैनले बैंकको सेवा बिस्तार गर्ने रणनीति अन्तर्गत, आगामी दिनहरुमा बैंकले देशका विभिन्न स्थानमा नयाँ आउटलेटहरु खोल्ने योजना लिएको जानकारी दिए । हाल बैंकले नेपाल भरी आफ्ना ८९ एटिएम, ६०वटा शाखाहरु, ६ एक्सटेन्सन काउन्टर र २५ राजश्व संकलन काउन्टरका साथै भारतमा पन्जाब नेशनल बैंकको ७००० भन्दा बढि एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।