अरुण फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा विष्णु पाण्डे नियुक्त
काठमाडौं । अरुण फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा विष्णु पाण्डे नियुक्त भएका छन् । गत जेठ ३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले पाण्डेलाई आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त पाण्डेले जेठ २२ गतेदेखि नै फाइनान्सको कार्यभार सम्हालि सकेका छन् ।
ग्लोबल आईएमई बैंक मार्फत युएई एक्सचेन्जबाट पैसा पठाउन सजिलो
काठमाडौं । ग्लोबल आइएमई बैंकले युएई एक्सचेन्जसँगको सहकार्यमा युएई एक्सचेन्जबाट नेपालमा पैसा पठाउन सहज व्यवस्था मिलाएको छ । युएई एक्सचेन्ज खाडी (गल्फ) मुलुकको सबैभन्दा ठुलो एक्सचेन्ज कम्पनी हो । खाडी मुलुकमा कार्यरत नेपालीहरुले उक्त एक्सचेन्ज कम्पनी मार्फत नेपालमा रहेका आफ्ना आफन्तहरुलाई ग्लोबल रेमिट मार्फत पठाएको पैसा छिटोछरितो र सहजरुपमा नेपालमा रहेका ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखा तथा आइएमई रेमिटेन्स, बेष्ट रेमिट एण्ड एस रेमिटका ७ हजार भन्दा बढि एजेन्टबाट तत्काल भुक्तानी लिन सकिने बैंकले जनाएको छ । ग्लोबल आइएमई बैंकले स्थापनाकाल देखि नै युएई, कतार, बहराईन, इण्डिया, अष्ट्रेलिया, जापान, मलेसिया, दक्षिण कोरीया लगायतका मुलुकहरुका बैंक तथा एक्स्चेन्ज हाउसहरु संगको सहकार्यमा रेमिट्यान्स कारोबारलाई विशेष प्राथमिकतामा राखी सेवा प्रदान गर्दै आईरहेको छ ।
केरुङ-काठमाडौं-बिरगञ्ज रेलले भारतलाई अधिक लाभ, सुरक्षा चासोले शसंकित
काठमाडौं । यतिबेला नेपालमा केरुङ–काठमाडौं रेल मार्ग निर्माणको बहस उत्कर्षमा छ । रसुवागढीबाट काठमाडौं हुँदै बिरगञ्ज पुग्ने रेलबाट नेपालले भन्दा पनि अधिक लाभ भारतलाई हुने देखिएको छ । स्वंय विज्ञहरुले नै केरुङ-काठमाडौं-बिरगञ्ज रेल मार्गले भारतलाई चीन हुँदै विश्व बजारमा प्रवेश गराउने बताइरहेका छन् । ‘केरुङबाट रसुवागढी हुँदै काठमाडौं देखि बिरगञ्ज पुग्ने रेलले नेपाललाई त फाइदा गर्छ नै त्यो भन्दा धेरै भारतलाई फाइदा पुग्छ’, पुर्वाधार विज्ञ डा. सूर्यराज आचार्यले विकासन्युजसँग भने । उनले भारतको बिहार, युपी र आसाम लगायतका प्रदेशहरुको चीन हुँदै युरोपसम्म सिधा सम्बन्ध स्थापित हुने र लगानी भित्र्याउन पनि सहज हुने बताए । उता, रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाश उपाध्यायले पनि केरुङ–काठमाडौं–बिरगञ्ज रेल मार्गको सबै भन्दा धेरै लाभ भारतले उठाउने बताए । ‘अहिले भारतले चीनको कोर शहरसम्म पुग्न ६ हजार किलोमिटर दुरी पार गर्नु पर्छ तर केरुङ–काठमाडौं–बिरगञ्ज रेलले त्यो दुरीलाई २ हजार किलोमिटरमा झारिदिन्छ’, उपाध्यायले भने । उनले भारतलाई युरोपसँग जोड्ने छोटो मार्ग बन्नुका साथै आयात निर्यात लागत घटाउन पनि यो रेलमार्ग उपयुक्त हुने बताए । आर्थिक रुपले केरुङ–काठमाडौं–बिरगञ्ज रेलमार्ग भारतका लागि अधिक लाभ दायक भएपनि सुरक्षाका दृष्टिकोणले भने भारत शसंकित बनेको डा. आचार्यले बताए । ‘भारत र चिनले एक पटक युद्ध समेत लडिसकेका छन्, केरुङबाट काठमाडौं हुँदै बिरगञ्ज रेल पुग्दा भारतले आफ्नो सुरक्षामा खतरा उत्पन्न हुने सम्भावना देखेको छ’, डा. आचार्यले भने । सरकारले चालु आर्थिक बर्षको बजेटमै रसुवागढी–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि भन्दै १० करोड बजेट विनियोजन गरिएको थियो । रेल विभागले सम्भाव्यता अध्ययनका लागि भन्दै ग्लोबल टेण्डर आव्हानको अन्तिम तयारी गरिसकेको थियो । तर एकाएक चीन सरकारले केरुङ–काठमाडौं रेलमार्ग निर्माणमा सघाउने प्रतिवद्धता व्यक्त गरेपछि विभाग पछि हटेको छ । ‘हामीले सम्भाव्यता अध्ययनको सूचना निकाल्ने तयारी गरेका थियौं तर चीन सरकारले आफैंले बनाउन तत्परता देखाएपछि हामी रोकिएका हौं’, रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर उपाध्यायले भने । विभागले काठमाडौंदेखि बिरगञ्जसम्म विद्युतिय रेल मार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्ने कम्पनी छनौटका लागि भने ग्लोबल टेण्डर निकालेर पनि कम्पनी छनौटको चरणमा पुगिसकेको छ ।
दुई कम्पनी प्राप्ति पश्चात सेन्चुरीले शुरु गर्यो एकीकृत कारोबार, पूँजी ४ अर्ब ७१ करोड नाघ्ने
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले इन्नोभेटिभ डेभलपमेन्ट बैंक लिमिटेड र अरनिको डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ती (एक्विजिशन) गरी एकीकृत कारोबार शुरु गरेको छ । बैंकले ८ अर्ब पूंजी पुर्याउने लक्ष्यमा “ख” वर्गको दुई डेभलपमेन्ट बैंकलाई प्राप्ति गरि आइतबारदेखि एकीकृत कारोबार शुरु गरेको हो । काठमाण्डौंबाट एक समारोहका बीच एकीकृत कारोबारको शुभारम्भ नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जीवि नेपालले पानसमा बति बालेर गरेका छन् । एकीकृत कारोबार पश्चात् बैंकको चुक्ता पूँजी ४ अर्ब ७१ करोड रुपैयाँ नाघ्ने छ । साथै, कम्पनीको निक्षेप ३८ अर्ब ५० करोड, कर्जा ३५ अर्ब रुपैयाँ रहेको छ । निकट भविष्यमा नै बैंकले एकीकृत पूंजीमा ४० प्रतिशत का दरले हकप्रद शेयर जारी गर्दैछ र सो पश्चात् सगरमाथा फाइनान्स, अल्पाईन डेभलपमेन्ट बैंक तथा सेती फाईनान्स संग आषाढ महिना भित्रै एकीकृत कारोबार गदैछ । सम्पूर्ण प्राप्तीहरु हकप्रद तथा चालु आ.व.को मुनाफाबाट बैंकले तोकिएको ८ अर्ब पूंजी सजिलै पुर्याउने छ । सम्पूर्ण एकीकृत कारोबार पश्चात् बैंकको पहुंज बढी करिब ९० शाखाहरु हुनेछन् ।
सिद्धार्थ बैंकको असार ५ गते बुक क्लोज
काठमाडौं । सिद्धार्थ बैंकले आगामी असार ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । उक्त निर्णय कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । यस बैंक आगामी असार १८ गते विशेष साधारणसभामा जाने भएको छ । सो प्रयोजनको लागि बैंकले ५ गते कम्पनीको बुक क्लोज गर्न लागेको हो । कम्पनीले आफ्ना सेयरधनीलाई १० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ । उक्त निर्णय पारित गर्नको लागि कम्पनीको बैठकले १८ गते विशेष सधारणसभा बोलाएको हो ।
एनएमबी बैंकले एक करोड १४ लाख कित्ता एफपीओको लागि माग्यो बोर्डको अनुमति
काठमाडौं । एनएमबी बैंक लिमिटेडले एक करोड १४ लाख १५ हजार कित्ता थप साधारण सेयर (फरदर पब्लिक इस्यु(एफपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले सो मात्राको एफपीओ जारी गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले गत जेठ २२ गते धितोपत्र बोर्डमा निवेदन दिएर सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट मार्फत सो मात्राको एफपीओ जारी गर्न अनुमति मागेको हो । हाल कम्पनीको चुक्ता पूँजी ६ अर्ब ४६ करोड १७ लाख ७४ हजार रुपैयाँ रहको छ । सो मात्राको एफपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ६ अर्ब ४७ करोड ३१ लाख रुपैयाँ नाघ्ने छ । आइतबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५७४ रुपैयाँमा कारोबार भइरहेको छ ।
सहारा विकास बैंकको कारोबार रोक्का
काठमाडौं । आइतबार सहारा विकास बैंक लिमिटेडको कारोबार रोक्का भएको छ । सो कम्पनीलाई देवःविकास बैंक लिमिटेडले प्राप्ति गर्ने भएकाले यस बैंकको कारोबार रोक्का गरिएको हो ।
सिप्रदी ट्रेडिङ्ग विश्वकै सर्वोकृष्ट डिष्ट्रिव्युटर अर्वाडबाट सम्मानित
काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रा.लि. टाटा मोटर्सको विश्वकै सर्वोकृष्ट डिष्ट्रिव्युटर अवार्ड २०१६ बाट सम्मानित भएको छ । नेपालको लागी टाटा मोटर्सको एक मात्र आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. हालै भारतको मुम्बईमा सम्पन्न भएको टाटा मोटर्स ग्लोबल एचिभमेन्ट अवार्ड २०१६ कार्यक्रममा सर्वोकृष्ट डिष्ट्रिव्युटर घोषित भएको हो । युरोप, अफ्रिका र एसियाका गरि विश्वका ४५ देश बाट प्रतिनिधित्व गर्ने टाटा मोटर्सको बितरकहरु मध्ये बाट उत्कृष्ट सम्मान पाएको सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले थप अन्य आठ वटा विधाहरुमा पनि उत्कृष्ट अवार्ड हात पार्न सफल भएको छ । बस र एम एण्ड एच सि भि ट्रक विधा बाट ‘सर्वाधिक विक्री २०१६’ को साथै ‘सर्वाधिक मार्केट शेयर २०१६’, त्यस्तै अल्ट्रा बसको लागी ‘सर्वाधिक विक्री २०१६’ को उत्कृष्ट अवार्डहरु हात पार्नुको साथै ‘उत्कृष्ट कस्टुमर इन्गेजमेन्ट २०१६’, ‘सर्वाधिक मार्केट शेयर २०१६’ र ‘उत्कृष्ट ग्लोबल सर्भिस क्याम्प २०१६’ अवार्डहरु बाट पनि सम्मानित भएको छ । उक्त कार्यक्रममा विश्व भरिका टाटा मोटर्सका आधिकारिक वितरकको तर्फ बाट बरिष्ठ ब्यक्तिहरुको सहभागीता रहेको थियो । उक्त अवार्डहरु बाट सम्मानित भए पछि सिप्रदी ट्रेडिङ्ग प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत राजबाबु श्रेष्ठले आगामी दिनहरुमा पनि राम्रो काम र उत्कृष्ठ सेवाहरु प्रदान गर्दै यस्तो अवार्डहरु बाट निरन्तर सम्मानित हुने र देशकै नाम उच्च राख्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सन् १९८२ मा स्थापीत सिप्रदी ट्रेडीङ्ग प्रा.ली. ले टाटा मोटर्सका विभीन्न गाडीहरु नेपालमा विक्री वितरण गर्दै आईरहेको छ । नेपाल भरी २४ वटा विक्री पश्चात सेवा दिने केन्द्रहरु रहेको यस कम्पनीले ग्राहकहरुको सन्तुष्टीको लागी पूर्णरुपमा सेवाहरु प्रदान गर्दै आईरहेको छ । नेपाल सरकारले पनि धेरै पटक सवै भन्दा बढी कर तिर्ने सस्थांको रुपमा सिप्रदी ट्रेडिङ्गलाई सम्मान गरिसकेको छ ।