विकासन्युज

लक्ष्मी बैंकको १६औँ वार्षिक साधारणसभा असार २३ गते, कहिले हुँदै छ बुक क्लोज?

काठमाडौं । लक्ष्मी बैंकको १६औँ वार्षिक साधारणसभा असार २३ गते हुने भएको छ । सो प्रयोजनको लागि बैंकले असार २ गते कम्पनीको बुक क्लोज गर्ने भएको छ । उक्त सभामा असार १३ गते बोलाएको बैंकको उक्त सभाले कम्पनीको गत वर्षको मुनाफाबाट सेयरधनीलाई १८.२९ प्रतिशत बोनस दिने निर्णयलाई पारित गर्ने भएको छ । बैंकले प्रोफेशनल दियालो विकास बैंक प्राप्ति र १०० प्रतिशत हकप्रद निष्काशन पछिको चुक्ता पूँजीमा सो मात्राको बोनस सेयर दिने भएको छ । हाल कम्पनीको चुक्ता पूँजी ६ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । आइतबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४७८ रुपैयाँ रहेको छ ।

स्वास्थ्यसम्बन्धी २० नीतिनियम र निर्देशिका निर्माण- संशोधन

काठमाडौं। स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्नो कार्यकालमा औषधि र जनशक्ति व्यवस्थापन, स्वास्थ्य संस्था नियमन, सेवा विस्तार, सेवाको आधारमा स्वास्थ्य संस्था वर्गिकरणलगायत क्षेत्रमा सुधारका काम भएको बताएका छन् । करिब नौमहिने कार्यकालको अन्तिम दिन आइतबार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री थापाले भने, ‘‘स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेर मन्त्रालय आउँदै गर्दा संविधान जारी भइसकेको तर सोअनुरुपको नीतिगत, कानुनी र संरचनागत व्यवस्था बनेको अवस्था थिएन । औषधि निःशुल्क वितरण गरिने घोषणा गरिएको थियो तर दुई वर्षदेखि औषधि खरिद हुन सकेको थिएन । थुप्रै नीतिको अभाव थियो भने बनेका नीति, निर्देशिकाको पनि प्रभावकारी कार्यान्वयनमा चुनौती थियो । यसबीचमा मन्त्रालयका सम्पूर्ण समूह र सहयोगी समूहको सहयोगमा सबै अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रसम्म अनिवार्य फार्मेसी राख्ने व्यवस्था गरिएको बताउँदै उनले यद्यपि सबै अस्पतालमा पर्याप्त औषधि उपलब्ध गराउने विषय अझै चुनौतीपूर्ण देखिएको र अस्पताल परिसरभित्र अस्पतालको फार्मेसीबाहेक कुनै पनि फार्मेसी राख्न नपाइने व्यवस्था गरिएको छ बताए । “प्रविधिजन्य स्वास्थ्य सामग्री निर्देशिका स्वीकृत भई कार्यान्वयनको चरणमा रहेको छ भने औषधिको विशेष दर्ता प्रक्रिया सुरु भइसकेको छ,’’ मन्त्री थापाले भने, “स्वास्थ्य सेवालाई नयाँ उचाइमा पु¥याउन सातवर्षीय ‘एकीकृत स्वास्थ्य पूर्वाधार मापदण्ड’ बनाई काम गर्ने घोषणा भइसकेको छ ।” उनका अनुसार मन्त्रालयले नौ महिनाका अवधिमा पहिले अड्किएका र नयाँ पुराना गरी झन्डै २० नीति नियम, नियमावली, ऐन, नियम संशोधन र नयाँ निर्माण गरिएको छ । मदिरा नीति, मदिरा ऐन, अपाङ्गता नीति, राष्ट्रिय स्वास्थ्य विधेयक, स्वास्थ्य बिमा विधेयक, प्रजनन् स्वास्थ्य विधेयक, स्वास्थ्य संस्था गुणस्तर प्राधिकरण ऐन, औषधि ऐन संशोधन, स्वास्थ्य सेवा ऐनको संशोधन, खोप ऐन पारित भई नियमावली बन्दै गरेको मन्त्रालयले जनाएको छ । त्यसैगरी मानव अङ्ग प्रत्यारोपण नियमावली, प्रविधिजन्य स्वास्थ्य सामग्री निर्देशिका, राष्ट्रिय आयुर्वेद नीति, चिकित्सक परिचालन निर्देशिका संशोधन, आँखा स्वास्थ्य नीति नीति, एम्बुलेन्स निर्देशिका, प्रयोगशाला निर्देशिका, नेपाल मेडिकल काउन्सिल ऐन संशोधन, मानसिक स्वास्थ्य नीति र अस्पताल फार्मेसी निर्देशिका पनि मन्त्रिपरिषद्बाट पारित भई कार्यान्वयनका चरणमा छन् । नयाँ आउने नेतृत्वलाई थालिएका राम्रा कामको निरन्तरता दिन आग्रह गर्दै उनले इमान्दारीपूर्वक काम गरेमा परिर्वतन हुन समय नलाग्ने अनुभव आफूले सिकेको बताए । रासस

यूनाईटेड फाइनान्सलाई २० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले यूनाईटेड फाइनान्स लिमिटेडलाई हकप्रद निष्कासनको लागि अनुमति दिएको छ । धितोपत्र बोर्डमा निवेदन बुझाएपछि कम्पनीले ५ः१ अर्थात् २० प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति पाएको हो । बोर्डको अनुमति अनुसार कम्पनीले १३ लाख ४५ हजार ४१० कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँका दरले १३ करोड ४५ लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्ने भएको छ । कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ क्यापिटल लिमिटेड रहेको छ ।

आइतबार नेप्से परिसूचक दाहोरो अंकले ओरालो, ५५ करोड माथिको सेयर कारोबार

काठमाडौं । आइतबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । परिसूचक १० दशमलब ५० अंकले झरेर १५९३ दशमलब ८१ अंकमा पुगेको छ । सो दिनको बजारमा ५५ करोड ६७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा १४१ कम्पनीको ९ लाख ५० हजार कित्ता सेयर किनबेच भएको छ । त्यस्तै, आइतबार कारोबार भएका प्राय सबै समूहको परिसूचकहरु ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ९५ अंकले ओरालो लागेको छ । त्यस्तै, हाइड्रोपावर र होटल समूहको परिसूचक क्रमशः ३० र १५ अंकले घटेका छन् भने बाँकी समूहको परिसूचक सामान्य अंकले झरेका छन् । अन्य समूहको परिसूचक भने सामान्य अंक ०.८६ अंकले उकालो लागेको छ । बजारमा सबैभन्दा बढी कर्नाली डेभलपमेन्ट बैंकको सेयर मूल्यमा ५ प्रतिशत गिरावट आएको छ । स्वरोजगार लघुवित्त विकास बैंकको पनि ४.४९ प्रतिशतले सेयर मूल्यमा गिरावट आएको छ । दोहोरो अंकले घटेको बजारमा पनि आरएसडिसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य करिब १०(९.९७) प्रतिशतले बढेको छ । सो दिन सबैभन्दा बढी स्ट्याण्डार्ड चार्टर्ड बैंकको ४ करोड १५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आइतबार बैंकको सेयर मूल्य प्रतिकित्ता २१९३ रुपैयाँ रहेको छ ।

बूढीगण्डकी अगाडि बढाउन ऊर्जामन्त्री र सिजिजिसीबीच सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं । बूढीगण्डकी जलविद्युत् आयोजना अगाडि बढाउने विषयमा ऊर्जा मन्त्रालय र चिनियाँ कम्पनी चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप एन्ड कम्पनी (सिजिजिसी)बीच प्रारम्भिक सम्झौतापत्रमा (एमओयू)मा हस्ताक्षर भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजनालाई अगाडि बढाउन सरकारका तर्फबाट भएको यो पहिलो सम्झौतामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा ऊर्जामन्त्री जनार्दन शर्मा र सिजिजिसीका प्रतिनिधिबीच दुईपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो । कुल एक हजार २०० मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्वीकृत भइसकेको छ । करिब रु तीन खर्ब लाग्ने सो आयोजनाको सम्पूर्ण लगानी चिनियाँ कम्पनीले गर्ने र निर्माण सम्पन्न भएपछि आयोजना सरकारलाई हस्तान्तरण गरिनेछ । ऊर्जामन्त्री शर्माले नेपालको इतिहासमा नै पहिलो पटक ठूलो आयोजना अगाडि बढाउने विषयमा हस्ताक्षर भएको राससलाई जानकारी दिए । आयोजनाले चालु आवमा रु १५ अर्ब मुआब्जा वितरण गर्नेछ । नेपाल आयल निगमले भन्सार बिन्दुमा नै प्रतिलिटर रु पाँच पूर्वाधार करमार्फत उठाएको रकम रु नौ अर्ब बढी पुगिसकेको छ । यस्तै सरकारले रु पाँच अर्ब मुआब्जा वितरणका लागि छुट्याइएको छ ।

सांग्रिलाले कसमसलाई मात्र प्राप्ति गर्ने, कम्युनिटीलाई किन्ने प्रस्ताव अस्वीकार

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले कसमस डेभलपमेन्ट बैंक लिमिटेडलाई मात्र प्राप्ति गर्ने भएको छ । कम्पनीले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक तथा कसमस डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गर्ने विशेष प्रस्ताव गरेको थियो । तर सांग्रिलाको १२औँ वार्षिक साधारणसभाले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने प्रस्ताव अस्वीकृत गरेको छ । अर्थात सांग्रिलाले दुई कम्पनीमध्ये कसमस डेभलपमेन्ट बैंकलाई मात्र प्राप्ति गर्ने निणर्य गरेको छ । साथै, सभाले सांग्रिलाले कसमसलाई प्राप्ति पश्चात कायम हुने पूँजीको ८० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले कसमस डेभलपमेन्ट बैंकलाई एक बराबर एक कित्ता सेयर अनुपातमा प्राप्ती गर्ने भएको छ । कसमसलाई प्राप्ति गरेपश्चात सांग्रिलाको चुक्तापूँजी एक अर्ब ३५ करोड रुपैयाँ पुग्नेछ । जसमा ८० प्रतिशत हकप्रद जारी पश्चात बैंकको पूँजी २ अर्ब ४४ करोड रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ ।

समता माइक्रोफाइनान्सको सेयर रजिष्ट्रारमा एनआईबिएल क्यापिटल नियुक्त

काठमाडौं । समता माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रारमा एनआईबिएल क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । अब यस कम्पनीको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरु एनआईबिएल क्यापिटलबाट हुने कम्पनीले जनाएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौंको लाजिम्पाटमा रहेको एनआईबिएल क्यापिटललाई सेयर रजिष्टारमा नियुक्त गरेको हो ।

प्रभु क्यापिटलले २०० प्रतिशत हकप्रद निष्कासन गर्ने, पूँजी २१ करोड पुर्याउने लक्ष्य

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले आफ्ना सेयरधनीहरुलाई एक बराबर दुई अर्थात २०० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । शनिबार बसेको कम्पनीको विशेष साधारणसभाले संस्थाको पुंजी वृद्धि गरि २१ करोड रुपैयाँ पुर्याउनका लागि सो मात्राको हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो । उक्त सभा संचालक समितिका अध्यक्ष बिनोद थकालीको अध्यक्षतामा आफ्नो विशेष साधारण सभा सम्पन्न भएको थियो । सभामा संस्थाका शेयरधनी, संचालक, लेखापरीक्षक, विभिन्न सरकारी निकायका प्रतिनिधि, कर्मचारी, पत्रकार एवं अन्य अतिथिहरुको उपस्थिती थियो । साथै, सभाले कम्पनीको ५१ प्रतिशत शेयर प्रभु बैंक लिमिटेडले खरिद गरि प्रभु क्यापिटल लिमिटेडलाई विधिवत सहायक बनाएको घोषणा गरेको छ ।