विकासन्युज

महिन्द्राको नयाँ सर्भिस सेन्टर टेकुमा

काठमाडौं । महिन्द्रा टु व्हीलर्स् लि को आधिकारिक वितरकको रुपमा महिन्द्रा बाइक तथा स्कुटरहरुको विक्री वितरण गर्दै आइरहेको अग्निमोटो इन्क प्रा. लि. ले सोमबार टेकु स्थित पचली भैरब मार्गमा महिन्द्राको नयाँ सर्भिस सेन्टरको उद्घाटन गरेको छ । सोमबार आयोजना भएको समारोहमा कम्पनीका तर्फबाट निर्देशक अर्जुन शर्माले रिबन काटी उक्त सर्भिस सेन्टरको उद्घाटन गरेका थिए । महिन्द्राका उत्कृष्ट सेवा लिई ग्राहकहरुको धेरै भन्दा धेरै नजिक पुग्ने कम्पनीको लक्ष्य अनुरुप यस नयाँ सर्भिस सेन्टरको सुरुवात गरेको बैंकले जनाएको छ । टेकु, सानेपा लगायत उक्त क्षेत्रमा महिन्द्राको पहुँच झनै विस्तारित गर्न पाएको र आफ्ना ग्राहकहरुलाई थप सुलभ तथा सहज सेवा पुर्याउन पाएकोमा कम्पनी निकै उत्साहित भएको छ । यस मार्फत ग्राहकहरुलाई महिन्द्रासँग जुड्ने थप उत्साह प्रदान हुने कम्पनीको विश्वास रहेको छ ।

‘हिमालयन ट्राभल मार्ट-२०१७’ सम्पन्न

काठमाडौं । हिमालय क्षेत्रको पर्यटन प्रवद्र्धनका साथै नेपाललाई यस क्षेत्रको प्रवेशद्वारका रुपमा स्थापित गराउने उद्देश्यले काठमाडौंमा आयोजना गरिएको हिमालयन ट्राभल मार्ट- २०१७ सोमबार सम्पन्न भएको छ । यही जुन १ देखि ४ तारिखसम्म ९ जेठ १८-२१० चलेको मार्टमा क्रेता, बिक्रेता, ब्लगर, मिडिया तथा अतिथि गरी ५३ देशका २२० भन्दा बढी प्रतिनिधिको सहभागिता थियो । पर्यटन क्षेत्रकै सबैभन्दा ठूलो कार्यक्रमका रुपमा नेपालमा पहिलो पटक आयोजित मार्टले सम्पूर्ण हिमाली क्षेत्रका पर्यटकीय सामग्री नेपाली नेतृत्वमा अन्तर्राष्ट्रिय बजारमा पस्कनु र नेपाललाई अझै पर्यटनमैत्री गन्तव्यका रुपमा स्थापित गर्न सहयोग पुगेको आयोजकको भनाइ छ । यस मार्टमा विभिन्न अन्तर्राष्ट्रिय बजारबाट ७२ जना क्रेता तथा नेपाललगायत हिमालय क्षेत्रका ४५ बिक्रेताको सहभागिता थियो । मार्टको अर्को महत्वपूर्ण कार्यक्रमका रुपमा जुन १ मा पार्क भिलेजमा भएको ब्लगर्स एण्ड मेडिया सम्मेलन आयोजना गरिएको थियो । उक्त सम्मेलनमा नौजना विश्वका ख्यातिप्राप्त वक्ताको रोचक प्रस्तुति तथा १०७ देशका ब्लगर र पत्रकारको सहभागिताले हिमालय ट्राभल मार्टको सफलतामा उचाइ थपेको थियो । कार्यक्रमको दोस्रो दिन, जुन २ तारिखका दिन सोल्टी होटलमा सञ्चालित हिमालयन ट्राभल सम्मेलनमा हिमालय क्षेत्रको पर्यटन तथा अन्वेषण र बजार व्यवस्थापन सम्बन्धित स्वदेशी तथा विदेशी विज्ञले कार्यपत्र प्रस्तुत र प्रवचन दिएका थिए ।

यति बैंकले उपत्यकाका नौ स्थानमा जेब्रा क्रसिङ मर्मत गरिदिने

काठमाडौं । यति डेभलपमेन्ट बैंक लिमिटेडले उपत्यकाका नौ स्थानमा जेब्रा क्रसिङ मर्मत गरिदिने भएको छ । ट्राफिक प्रहरी कार्यालय, दरबारमार्गको विशेष समन्वयमा यति डेभलपमेन्ट बैंकले दरबारमार्ग र त्यस वरपरका नौ स्थानमा जेब्रा क्रसिङ मर्मत गर्न लागेको हो । ट्राफिक प्रहरी कार्यालय, दरबारमार्गमा आज भएको कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत दिपेश लम्साल र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सेञ्चुरी बैंकको नयाँ शाखा वदिर्याको बाँसगढीमा, मुलपानीमा एटिएम सेवा शुरु

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो ३२ औं शाखा कार्यालय वदिर्याको बाँसगढीमा सञ्चालनमा ल्याएको छ । बैंकले देशको पश्चिमी भागका ग्राहकहरुमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्यका साथ उक्त स्थानमा सो शाखा कार्यालयको सञ्चालन गरेको हो । साथै, बैंकले काठमाण्डौको मुलपानीमा रहेको ग्रिनहल सिटी हाउजिङ्गमा शनिबारदेखि ए.टि.एम. सेवा शुरु गरेको छ । सेञ्चुरी बैंकले जेठ २८ गतेबाट भैरहवामा केन्द्रिय कार्यालय रहेको इन्नोभेटिभ डेभलपमेन्ट बैंक र बनेपामा केन्द्रिय कार्यालय रहेको अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती (एक्विजिसन) गरी एकीकृत कारोबार गर्दैछ । त्यस पश्चात बैंकको ५३ वटा शाखाहरु हुनेछन् ।

शान्तिपूर्ण, न्यायपूर्ण र सशक्त समाज निर्माणमा २९ प्रतिशत बजेट

काठमाडौं । सरकारले दीगो विकास लक्ष्य संकेतको आधारमा सबैभन्दा बढी बजेट शान्तिपूर्ण, न्यायपूर्ण र सशक्त समाज निर्माणमा विनियोजन भएको छ । सरकारले देश संघीयतामा जाँदै गर्दा समाजवाद उन्मुख समाज निर्माणका लागि उक्त क्षेत्रमा सबैभन्दा बढी बजेट विनियोजन गरेको हो । आगामी आर्थिक वर्ष २०७४/७५ को कुल बजेट १२ खर्ब ७८ अर्ब ९९ करोड रुपैयाँमध्ये शन्तिपूर्ण, न्यायपूर्ण र सशक्त समाज निर्माणका लागि ३ खर्ब ६७ अर्ब ९० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । उक्त रकम कुल बजेटको २८दशमलव ७६ प्रतिशत हो । ७ दशमलव २ को उच्च आर्थिक वृद्धि, समृद्ध नेपालको स्थापना, विकाशील राष्ट्र हुँदै मध्यम आय भएको राष्ट्र निर्माणका लागि दीगो विकास लक्ष्यका आधारमा बजेट विनियोज गरिएको हो । चालु आवदेखि लागू भएको चौधौ योजनाका लक्ष्य प्राप्त हुने गरी बजेट तयार पारिएको र उक्त लक्ष्य प्राप्तीका लागि आगामी बजेट पनि केन्द गरिएको छ । १४ औं योजनाको अन्त्यसम्म सरकारले ऊर्जा, सडक, हवाई यातायात, सूचना तथा सञ्चार र ग्रामीण–सहरी तथा त्रिदेशीय आवद्धतालगायतका क्षेत्रमा पूर्वाधार निर्माण गर्ने योजना बनाएको छ । सरकारले दीगो विकास लक्ष्यका १७ वटा संकेतमध्ये दीगो सहर बस्ती विकासको लागि २ खर्ब ४० अर्ब ९७ करोड बजेट विनियोजन गरिएको छ । सरकारले उक्त बजेट देशमा विभिन्न स्थानमा स्मार्ट सहरदेखि आधुनिक सहर, विभिन्न स्थानमा रेल तथा मेट्रो रेल, चौडा सडक निर्माण गर्ने सरकारको योजना छ । त्यसैगरी उद्योग, नवीन खोज र पूर्वाधार विकासमा १ खर्ब ५९ करोड ३४ लाख बजेट छुट्याएको छ । दीगो उत्पादनका माध्यमबाट देशलाई आत्मनिर्भर बनाउन सरकारले पूर्वाधार विकास, नवीन खोज तथा उद्योग विकास तथा विस्तारलाई प्राथमिकतामा राखेको हो । देशमा भएका प्राकृतिक स्रोतहरूको उच्चतम उपयोग गरि देशलाई समृद्ध बनाउने सरकारी योजना हो । रोजगारी उन्मुख र न्यायपूर्ण वितरणसहितको उच्च आर्थिक वृद्धिद्वारा दु्रत गतिमा गरिबी न्यूनीकरण आर्थिक–सामाजिक रुपान्तरण गर्ने उद्देश्यका साथ २ खर्बभन्दा बढी बजेट विनियोजन गरेको छ । कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर खाद्यान्नमा देशलाई आत्मनिर्भर बनाउन बजेट केन्द्रीत गरिएको छ । शून्य भोकमरी, दीगो उपभोग तथा उत्पादन, स्वस्थ जीवन, गुणस्तीय शिक्षा, लैगिंक समानता, दीगो र सफा स्वस्च्छ पानी तथा सरसफाइ सेवा, आधुनिक ऊर्जामा पहुँच, जलवायु परिवर्तन अनुकुलता, भूसतहको उपयोग, दीगो विकासका लागि साझेदारीलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ ।

प्रिमियर इन्स्योरेन्सले ६ लाख कित्ता एफपीओ निष्कासन गर्ने, प्रतिकित्ता मूल्य ८९५ रुपैयाँ

काठमाडौं । प्रिमियर इन्स्योरेन्सले ६ लाख ५९ हजार ५६५ कित्ता थप साधारण सेयर (फरदर पब्लिक इस्यु (एफपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको सेयरमा ७९५ रुपैयाँ प्रिमियम मूल्य थपेर प्रतिकित्ता ८९५ रुपैयाँमा एफपिओ निष्कासन गर्न लागेको हो । उक्त निर्णय जेठ २१ गते बसेको कम्पनीको संचालक समितिको बैठकले गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ४४ करोड ८५ लाख रुपैयाँ रहेको छ । सोमबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६७० रुपैयाँमा कारोबार भइरहेको छ ।

कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्र भण्डारी नियुक्त

काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुरेन्द्र भण्डारी नियुक्त भएका छन् । जेठ १९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले भण्डारीलाई आगामी चार वर्षका लागि सिइओ नियुक्त गरेको हो । भण्डारी यसअघि सिद्धार्थ बैंकमा सिइओ थिए । भण्डारीले नियुक्त भएको दिनदेखि नै बैंकको कार्यभार सम्हाललेका छन् । सिद्धार्थ बैंकमा सिईओ हुनुपूर्व भण्डारी कुमारी बैंकमा नै प्रमुख कार्यकारी अधिकृत थिए । कुमारी बैंकमा करिव २ वर्षदेखि सिईओ पद खाली थियो ।  यस अवधिमा सो बैंकमा राजीव गिरी कामु सिईओ थिए ।

एनसेलको पुँजीगत लाभकर पूर्ण रुपमा भुक्तानी, १३ वर्षमा १६० अर्ब राजश्व याेगदान

काठमाडौं । ठूला करदाता कार्यलयले एनसेललाई पुँजीगत लाभकर पूर्ण रुपमा भुक्तानी गरेको पत्र दिएको छ । ठूला करदाता कार्यालयले यही जेठ २१ गते एनसेललाई पठाएको पत्रमा कम्पनीले आयकर ऐन २०५८ को दफा ९५ (क) बमोजिम अग्रिम कर दाखिलाको निर्देशन पूर्णरुपमा पालना गरेको प्रमाणिकरण गर्दै यससँगै आयकर ऐन २०५८ अन्तर्गत पुँजीगत लाभकर आकर्षण गरेको उक्त कारोबारको सम्बन्धमा एनसेलले पूर्ण रुपमा भुक्तानी गरेको भनी प्रमाणित गरेको एनसेलले जनाएको छ । एनसेलले आफ्नो भूतपूर्व लगानीकर्ता टेलियासोनेरा नर्वे नेपाल होल्डिङ्ग एएस (बिक्रीकर्ता) द्धारा गरिएको अप्रत्यक्ष बिक्री (कारोबार) सँग सम्बन्धित करको विषयमा ठूला करदाता कार्यलयको निर्देशन बमोजिम बिक्रेताको तर्फबाट थप अग्रिम कर १३.६ अर्ब रुपैयाँ दाखिला गरेको थियो । ‘उक्त कारोबारको संलग्न पक्ष नरहे पनि र कम्पनीले उक्त कारोबारमा कुनै भुक्तानी नगरे तथा प्राप्त नगरेता पनि कम्पनीले कर दाखिला गरी यस विषयलाई टुंगोमा पुर्याउनु कम्पनीको नेपालमा निरन्तर सेवा प्रदान गर्दै योगदान गरिरहने प्रतिवद्धताको एक पाटो हो’ कम्पनीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘देश र जनताको समृद्धिका लागि कटिवद्ध एक जिम्मेवार कर्पोरेट नागरिकको आफ्नो उच्च छविलाई कायम राख्दै एनसेलले यस विषयका सम्पूर्ण मामिलालाई सल्टाउन तथा निष्कर्षमा पुर्याउनका लागि सरकारलाई आफ्नो सम्पूर्ण सहयोग प्रदान गर्न पाएकोमा खुसी छ’ कम्पनीले भनेको छ । “एनसेलले सँधै नेपालका कानुनको परिपालना गरेको छ आफ्नो कर दायित्वको परिपूर्तिका सम्बन्धमा प्रत्येक पटक सुशासन तथा परिपालनाको उच्च मापदण्ड अभ्यास गरेको छ,” एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सको भनाई उल्लेख गर्दै कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । एनसेलले अब आफ्नो ध्यान लगानी तथा सेवा विस्तारमा, विशेष गरेर फोरजी विस्तारमा निर्वाद रुपमा लगाउन पाउने र नेपालको डिजीटल अर्थतन्त्रलाई फड्को मार्न सघाउने उनले बताएका छन् । कम्पनी संचालनको १३ वर्ष (आर्थिक वर्ष २०६१÷६२ देखि मा यही जेठ १८ गतेसम्म) मा सरकारलाई विभिन्न शिर्षकमा रु १६० अर्ब भन्दा बढी राजश्व योगदान पुर्याएको एनसेल देशकै सबैभन्दा ठूलो करदाताहरुमा पर्छ । एनसेलले नेपालको कुलग्राहस्थ उत्पादनमा ३ दशमलब २ प्रतिशतको योगदान पुर्याउँदछ । सन् २०१६ मा कम्पनीको संचालन तथा पूँजीगत लगानी २५ अर्ब ८० करोड रुपैयाँभन्दा बढी रहेको छ । एनसेलले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा करिब एक लाख १० हजार रोजगारी योगदान गरेको जनाएकाे छ ।