विकासन्युज

५ करोड भन्सार र भाडा तिरिरहेको अनुदानको चुलोको आम्दानी १२ हजार मात्रै

काठमाडौं । भारतको नाकाबन्दीको बेला चीनले अनुदानमा दिएका साढे ११ हजार थान इन्डक्सन चुलो थन्किएका छन् । विमानस्थलस्थित भन्सार कार्यालयको गोदाममा १० हजार थान र नेसनल ट्रेडिङको गोदाममा एक हजार तीन सय थान चुलो थन्किएका हुन् । कर र गोदामको भाडा भुक्तानीको समस्याले अनुदानका चुलो थन्किएका हुन् । संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको उपभोक्ता हित सम्बन्ध उपसमितिले अर्थ मन्त्रालयका कारण चिनियाँ अनुदानका चुलो थन्किएको निष्कर्ष निकालेको छ । अनुदानका सामग्रीमा कर उठाउने प्रणालीप्रति सांसद्ले आपत्तिसमेत जनाएको छ। चीनले अनुदानमा दिएको ११ हजार तीन सय इन्डक्सन चुलोमध्ये नेसनल ट्रेडिङले अहिलेसम्म एउटा मात्र बिक्री गरेको छ । बजारभाउभन्दा महँगो मूल्य राखेपछि चुलो बिक्री नभएको हो । नयाँ पत्रिका दैनिकबाट ।

भूकम्पकाे २ वर्षसम्म नौ प्रतिशतकाे मात्रै नयाँ घर, दोस्रो किस्ता पाउने पनि २ प्रतिशत मात्रै

काठमाडौं । दुई वर्षअघि गएको विनाशकारी भूकम्पबाट अति प्रभावित १४ जिल्लामा पहिलो किस्ताको अनुदान रकम पाउनेमध्ये करिब ९ प्रतिशत (८.७०) पीडितले मात्रै सरकारी प्राविधिकको निगरानीमा घर निर्माण थालेका छन् । पहिलो किस्ताको अनुदान लिएकामध्ये दोस्रो किस्ताका लागि निवेदन दिने ५.५७ प्रतिशत छन् । पहिलो किस्ताको रकम लिएर पुनर्निर्माण सुरु गर्नेको संख्या ४७ हजार ४ सय ५८ छ भने दोस्रो किस्ताको भुक्तानीका लागि निवेदन दिनेको संख्या ३० हजार ३ सय ८४ छ । पहिलो किस्ताको रकम लिएकामध्ये करिब २ प्रतिशत (१.९९)मात्रै दोस्रो किस्ताको रकम पाउन योग्य ठहरिएका छन् । दोस्रो किस्ता भुक्तानीका लागि प्रमाणिकरण गरिएका लाभग्राही १० हजार ८ सय ६९ जना छन् । ३ हजार ४ सय ५५ जनाले बनाएको घर भवनसंहिताअनुसार नभएको भन्दै दोस्रो किस्ताको प्रमाणीकरण हुन सकेका छैन । घर निर्माणमा ढिलाइ हुनुमा गाउँमा तत्काल प्राविधिक नपुग्नु, सहुलियत ऋण सरल ढंगले पाउन नसक्नु, स्थानीय तहको पुनर्संरचनाको असर देखिनु, अनुदान लिएपछि घर निर्माणको समयसीमा नतोकिनु, सरकारले पठाएका नक्सा गाउँमा व्यवहारिक नहुनु, घरमूली पैसा कमाउन विदेश जानु जस्ता कारण देखिएका छन्। ‘प्राविधिक पुनःव्यवस्थापन गर्दै छौं, दोस्रो किस्ताको रकम पठाउँदै छौं । त्यसैले आगामी दुई महिनामा राम्रो नतिजा देखिनेछ’, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा।गोविन्द पोखरेलले अन्नपूर्णसँग भन्नुभयो, ‘गाउँमा मानिसहरूले घर पुनर्निर्माणलाई भन्दा आयआर्जनलाई प्राथमिकता दिएको देखियो । अस्थायी काम चलाउ टहरामा बसेर भए पनि आयआर्जनको खोजीमा लागेको देखियो ।’ तीन महिनाअघि (पुस २७) पुनर्निर्माणको कामलाई तीव्रता दिएर वर्षातघि नै भूकम्पपीडितलाई आवास व्यवस्था मिलाइने प्रतिबद्धतासहित राष्ट्रि पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतका रूपमा डा।पोखरेलले जिम्मेवारी सम्हाल्नुभएको थियो । सरकारी प्राविधिकको निगरानीमा घर निर्माण पूरा हुनेको संख्या हालसम्म १ प्रतिशत पनि देखिँदैन । अनुदान रकम लिएकामध्ये ०।६० प्रतिशतले मात्रै सरकारले परिचालन गरेका इन्जिनियरको निगरानीमा घर निर्माण गरेको सहरी विकास मन्त्रालयको तथ्यांकले देखाएको छ । जागिर छाडेर हिँडेका करिब २ सय इन्जिनियरको पदपूर्ति गरिएको छैन । पोखरेलका अनुसार इन्जिनियर नभएका गाउँमा पुनःव्यवस्थापन गरिँदै छ । मन्त्रालयको तथ्यांकअनुसार आफ्नो घर आफैं निर्माण गर्ने र सरकारी प्राविधिकको निगरानीमा घर बनाउने दुवैलाई जोड्दा पनि पहिलो किस्ताको अनुदान लिएकामध्ये ३।८३ प्रतिशतले मात्रै घर पुनर्निर्माण गरेको देखिन्छ । ५ लाख ४४ हजार ९ सय ९६ जना लाभग्राहीले पहिलो किस्ताको ५० हजार रुपैयाँ लिएका थिए । तीमध्ये ३ हजार ३ सय लाभग्राहीले मात्रै घर पुनर्निर्माण गरिसकेको सहरी विकास मन्त्रालयले जनाएको छ । लाभग्राही आफैंले निर्माण गरेका घर १७ हजार ६ सय ३ छ । सरकारले मापदण्डअनुसार निर्माण भएका घरलाई एकमुष्ट ३ लाख रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरे पनि आफ्नो घर आफैं निर्माण गर्नेले यो रकम पाएका छैनन् । ‘उनीहरूलाई एकमुष्ट रकम उपलब्ध गराउन साढे ८ अर्ब रुपैयाँ जिल्लामा पठाइसकेका छौं’, पोखरेलले भन्नुभयो, ‘भूकम्प प्रतिरोधी मापदण्डमा नरहेका ती घरलाई २० वा २५ हजार रुपैयाँ खर्च गरेर भूकम्प प्रतिरोधी बनाउने उपाय खोजिएको छ । बनाइसकेका घरलाई सच्याएर मापदण्डअनुरूप बनाएर पैसा दिइनेछ ।’ लाभग्राही पहिचान भएकामध्ये २.८० प्रतिशतले आफ्नो घर आफैं निर्माण गरेका छन् भने लाभग्राही पहिचान भएकामध्ये झण्डै ८९ प्रतिशतले अनुदान पाउनका लागि सम्झौता गरेका छन् । भूकम्पबाट अति प्रभावित १४ जिल्लामा ६ लाख २६ हजार ६ सय ९५ जना लाभग्राही पहिचान भएका थिए । तीमध्ये ५ लाख ५७ हजार ४ सय ६१ जना लाभग्राहीले अनुदान सम्झौता गरेका छन् । तेस्रो किस्ताको भुक्तानीका लागि निवेदन दिने लाभग्राही १ हजार ५ सय १९ छन् भने भुक्तानीका लागि प्रमाणिकरण गरिएका लाभग्राहीको संख्या ४ सय ७० छ ।तेस्रो किस्ताका लागि भवनसंहिताअनुसार नभई प्रमाणीकरण हुन नसकेको लाभग्राहीको संख्या ३९ छ भने निर्माण सम्पन्न भएका लाभग्राहीको संख्या ३ हजार ३ सय मात्रै छ । अन्नपूर्ण पाेस्टबाट ।

नौ रुपैयाँको नुनको मूल्य ६० रुपैयाँ, ढुवानी भाडाका नाममा अधिक लाभ लिँदै व्यापारी

रुकुम । नौ रुपैयाँको एक पोका आयोडिनयुक्त नुनको मूल्य ६० रुपैयाँ भन्ने सुन्दा अनौठो लाग्न सक्छ । तर सिस्ने गाउँपालिका १ सिस्नेका बासिन्दाले प्रतिपोका नुन ६० रुपैयाँमा किन्ने गरेका छन् । सिस्नेमा पाँच गाउँ भएपनि ठाउँअनुसार नुनको मूल्य फरक फरक छ । ती गाउँहरुमा नुनको मूल्य ४५, ५०, ५५ र ६० रुपैयाँ छ । भौगोलिक विकटताले सडकको पहुँच नहुँदा ढुवानी भाडा महँगो पर्ने भएकाले नुनको मूल्य महँगो पर्न गएको व्यापारीहरु बताउँछन् । कान्तिपुर दैनिकबाट ।

उमेशलाल श्रेष्ठको समूहबाट १४ जना सदस्य उम्मेदवार घोषणा, गोल्छाले भने-‘जित निश्चित छ, परिणाम आउन ३६ घण्टा कुर्नुपर्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा वस्तुगततर्फ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठको समूहले १४ सदस्य पदमा उम्मेदवार घोषणा गरेको छ । वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार शेखर गोल्छा, कोषाध्यक्ष पदका उम्मेदवार ज्ञानेन्द्रलाल प्रधान, पूर्ब अध्यक्ष महेशलाल प्रधान, पूर्व उपाध्यक्ष कृष्णप्रसाद ताम्रकार लगायतको उपस्थितिमा श्रेष्ठले आफ्नो नेतृत्वमा रहेका १४ उम्मेदवारको नाम सार्वजनिक गरेका छन् । यस समूहको सदस्य पदमा नाडा ओटोमोवाईल डिलर्स एशोसिएशन अफ नेपालका अध्यक्ष अञ्जन श्रेष्ठ, सौदर्य कला व्यवसायी संघका अध्यक्ष कमला श्रेष्ठ, फ्लोरिकल्चर एशोसिएशनका निर्वतमान अध्यक्ष लोकनाथ गैरे, भन्सार एजेन्ट महासंघको अध्यक्ष जयप्रसाद सिवाकोटी, नेपाल बनस्पति ध्यू तेल उत्पादक संघको अध्यक्ष सन्दीप अग्रवाल, नेपाल चिया उत्पादक संघको तर्फबाट हेमराज ढकाल, कम्प्यूटर एशोसिएशन अफ नेपालका अध्यक्ष विनोद ढकाल, नेपाल निर्यात परिषद्का अध्यक्ष सुरेन्द्र श्रेष्ठ, हस्तकला महासंघबाट निवर्तमान अध्यक्ष हेमरत्न शाक्य, नेपाल कुरियर संघबाट खेमराज पन्त, फूटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालका रविन कुमार श्रेष्ठ, चलचित्र निर्माण संघका अध्यक्ष प्रकाश अधिकारी, नेपाल फ्रेट फरवाडर्स एशोसिएशनको अध्यक्ष प्रकाश सिंह कार्की रहेका छन् । सदस्य पदका उम्मेदवारहरुको घोषणासभालाई सम्बोधन गर्दै उपाध्यक्षका उम्मेदवार श्रेष्ठले भने कृषि, उद्योग, पर्यटन, सेवा, निर्यात जस्ता अर्थतन्त्रका प्रमुख क्षेत्रहरुलाई समेटेर समावेशी टिम बनाएको बताए । महासंघमा पहिलो पटक महिला अध्यक्ष बन्दै गरेकी भवानी राणालाई नै अगाडि सारेर आफू अगाडि बढेको उल्लेख गर्दै श्रेष्ठले भने–महिला अधिकारको पक्षमा आजीवन संघर्ष गर्नु भएकी मेरी आमाले माथिबाट देख्नु भएको भए मलाई स्यावासी दिइरहनु भएको होला । हामी निर्वाचित भएपछि महिला नेतृ राणालाई निजी क्षेत्रको सफल बनाउनु पर्नेछ । कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्षका उम्मेदवार शेखर गोल्छाले आफूले नेतृत्व गरेको टिमको विजय निश्चत भएको बताए । ‘परिणाम आउन अझै ३६ घण्टा बाँकी छ । तर हामी जित निश्चित छ’ गोल्छाले भने ।

एनआईसी एशिया बैंकका २ नयाँ शाखा सञ्चालनमा

काठमाडौं । एनआईसी एशिया बैंकले विभिन्न २ स्थानमा रहेका नयाँ शाखाहरुको एकै साथ उद्घाटन गरेको छ । उक्त शाखाहरु मध्ये बुधबारे झापा स्थित ८३ औं शाखाको उद्घाटन एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल एवं बुधबारे उद्योग वाणिज्य संघका अध्यक्ष गोविन्द प्रसाद पौडेलले संयुक्त रुपमा गरेका हुन् । साथै, झुम्का सुनसरी स्थित ८७ औं शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल एवं झुम्का उद्योग वाणिज्य संघका अध्यक्ष सगेन चौधरीले संयुक्त रुपमा गरेका छन् । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

नेपाल आँखा अस्पताललाई सिद्धार्थ बैंकको सहयोग

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाहका क्रममा त्रिपुरेश्वरमा रहेको नेपाल आँखा अस्पताललाई सहयोग गरेको छ । बैंकले उक्त अस्पतालका आर्थिक अवस्था कमजोर भएका ४३ जना मोतिबिन्दुका बिरामीको मोतिबिन्दुको शल्यक्रियाका लागि १ लाख ०७ हजार ५०० बराबरको आर्थिक सहयोग प्रदान गरेको छ । सो सहयोग रकम बैंकका नायब महाप्रबन्धक रामेश्वर प्रसाद बस्यालले उक्त अस्पतालका अध्यक्ष विश्वकान्त मैनालीलाई हस्तान्तरण गरेका छन् । बैंकको ४३औं वार्षिकोत्सवको अवसरमा एक कार्यक्रमका बीच उक्त रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

दैनिक व्यापार घाटा २ अर्ब ४१ करोड नाघ्यो

काठमाडौं । नेपालले वैदेशिक व्यापारमा दैनिक २ अर्ब ४१ करोड भन्दा बढि घाटा व्यहोरिरहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक बर्षको ८ महिनाको वैदेशिक व्यापारको तथ्यांकका अनुसार नेपालले दैनिक औषत २ अर्ब ४१ करोड भन्दा बढि व्यापार घाटा व्यहोर्दै आएको हो । केन्द्रिय बैंकको तथ्यांक अनुसार नेपालले सो अवधीमा कुल ५४० अर्ब ३४ करोडको व्यापार घाटा व्यहोरेको छ । सो अवधीमा नेपालले ६२६ अर्ब ५६ करोडको समान आयात गरेको छ जुन अघिल्लो बर्षको ८ महिनाको भन्दा ४४ दशमलब २ प्रतिशत बढि हो । तर नेपालको निर्यात भने जम्मा ४८ अर्ब २२ करोडमै सिमित भएको देखिन्छ । यद्यपी यो अघिल्लो आवको सोहि अवधीको भन्दा १२ दशमबल ८ प्रतिशत बढि हो । आठ महिनामा मुलुकको निर्यात–आयात अनुपात ७ दशमलब ७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.८ प्रतिशत रहेको थियो । भारततर्फ १६.३ प्रतिशत, चीनतर्फ १३.४ प्रतिशत र अन्य मुलुकतर्फ ८.२ प्रतिशतले निर्यात बढेको छ । वस्तुगत आधारमा जुस, पिना, रोजिन, चाउचाउ, तार लगायतका वस्तुको निर्यात बढेको छ भने अलैँची, पोलिष्टर धागो, तयारी पोशाक, उनी गलैचा लगायतका वस्तुहरुको निर्यात घटेको छ । ८ महिनामा भारतबाट भएको आयात ५९ प्रतिशत, चीनबाट भएको आयात १७.५ प्रतिशत र अन्य मुलुकबाट भएको आयात २६.२ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपूर्जा, एम.एस विलेट, अन्य मेशिनरी तथा पार्टपुर्जा, सिमेन्ट, लगायतका वस्तुको आयात बढेको छ भने रासायनिक मल, औषधि, कोल्डरोल सिट ईन क्वाईल, कच्चा रेशम, तयारी पोशाक लगायतका वस्तुहरुको आयात घटेको छ । भन्सार नाकाका आधारमा सुख्खा बन्दरगाह भन्सार, विराटनगर भन्सार र जलेश्वर भन्सार नाकाबाट भएको निर्यातमा कमी आए तापनि अन्य भन्सार नाकाहरूबाट भएको निर्यातमा वृद्धि भएको छ । त्यसैगरी, आयाततर्फ  कैलाली भन्सार र भैरहवा भन्सार नाकाबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

डाइमेटाइज् न्युट्रिसनको पौष्टिक आहार नेपाली बजारमा

काठमाडौं । अमेरिकी कम्पनी डाइमेटाइज् न्युट्रिसनको पौष्टिक आहार नेपाली बजारमा बिक्री शुभारम्भ भएको छ । यसको बिक्रीको थालनी मीनभवनस्थित ‘अल इन वन मार्ट मा रहेको बिक्री कक्षबाट शुभारम्भ गरिएको छ । एडभान्स फिटनेस सोलुसन नेपालले अमेरिकी कम्पनीको आधिकारिक बिक्रेताको रुपमा नेपालमा बिक्री वितरणको दायित्व लिएको छ । खासगरी विभिन्न व्यायाम (जिम ) मा अभिरुचि राख्नेहरुका लगि यो आहार उपयोगी मानिन्छ । बिक्री केन्द्रको उद्घाटन आइतबार गृहराज्यमन्त्री इन्द्र बानियाँ, समाजसेवी अस्मिता सुमार्गी, शारिरीक सुगंठन संघका अध्यक्ष राजेश बाबु श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् । शारिरिक सुगठनमा रुचि राख्ने युवाहरुको लागि डाइमेटाइज्का पौष्टीक आहारले उचित पोषणमा सहयोग गर्ने उनीहरुले बताए । डाइमेटाइज् कम्पनी सन् १९९४ मा स्थापना भएको हो । यसले विश्वका ५० भन्दा बढी मुलुकमा पौष्टिक आहार उपलब्ध गराउँदै आएको छ ।