नमस्ते वित्तीय संस्थाको विशेष साधारणसभा वैशाख १५ गते, चैत २८ गते बुक क्लोज
काठमाडौं । नमस्ते वित्तीय संस्थाको विशेष साधारणसभा आगामी वैशाख १५ गते हुने भएको छ । सो प्रयोजनको लागि चैत २८ गते कम्पनीको बुक क्लोज हुँदै छ । उक्त सभामा कम्पनीले वेष्टर्न डेभलपमेन्ट बैंकसँग मर्जमा जाने प्रस्ताव लैजाँदै छ । जुन प्रस्ताव कम्पनीको १५१औँ कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो ।
महासंघमा गएर अर्थतन्त्रमा नीतिगत योगदान दिन चाहान्छु-हेमराज ढकाल
हेमराज ढकाल, बस्तुगत तर्फको सदस्यका उम्मेदवार नेपाल उद्योग वाणिज्य महासंघ तपाईं कुन कुन व्यवसायमा संलग्न हुनुहुन्छ ? मेरो व्यावसायिक यात्रा सवारी र यसका पार्टस्को व्यापारबाट शुरु भयोको त्यो पनि जापानबाट । त्यसपछि नेपाल आएर मैले कलंकीमा जोयन्ट भेञ्चरमा जापान अटो टेक्नो सेन्टरको पनि स्थापना गरे । त्यहाँ पुराना गाडी ल्याएर आधुनिक प्रविधिहरुबाट ठिक गरेर शोरुममा बेच्ने गरिन्थ्यो । पछि सरकारले पुराना गाडी ल्याउन प्रतिबन्ध लगायो । त्यसपछि मैले झापाको ज्यामीगरीमा रहेको डेढ सय बिगाह जमिनमा चिया खेती गर्न लागेँ । त्यहाँ रुख रोपेर हुर्काउनेसम्मको काम गरियो । सँगसँगै काठमाडौंमा मेरो म्याट्रेसको पनि व्यवसाय थियो । दुईवटा व्यवसायमध्ये कुन चाँहीमा जोड दिने भन्नेमा मलाई दुविधा पर्यो । मैले काठमाडौंमा मेरो परिवार पनि भएकाले म्याट्रेसको कारोबार सम्हाल्नुमै उचित ठानेँ। मैले म्याट्रेस कारोबारलाई बिस्तार गर्दै गएँ । यो व्यवसायले राम्रो बजार लिँदै गयो र ’हरिटेज कार्पेट, मिठो निद्राको लागि’ भन्दै ब्राण्ड पनि गर्यौ । साथीभाईहरुको साहयताले धेरै कुरा पनि सिकायो । फर्निसिङसम्बन्धी राम्रो ज्ञान पाएपछि मैले बजारमा ‘ननवेभन’ कार्पेट ल्याए । हुन त नेपालमा पहिले पनि कार्पेट त बन्ने गर्दयो । तर ती सबै रिब टाइपको मात्र हुन्थ्यो । त्यसपछि जकार्ड जस्ता विभिन्न फरक किसिमका उत्पादन भित्रिएपछि व्यवसाय फस्टाउदै गयो । जसले गर्दा ६ महिनामै कार्पेट बजारको प्रमुख हिस्सा बन्न सफल भयो । केहि महिना अगाडि थानकोटमा म्याट्रेसमा प्रयोग हुने पोलिथिन फर्मको कारखाना स्थापना भएको छ । पछिल्लो समय हेरिटेजले फर्निसिङसम्बन्धी बस्तुहरुको पनि कारोबार थालेको छु । साथै मैले झापाका केही साथीहरुसँग मिलेर एक्सेल विकास बैंकपनि खोलेको छु । त्यहाँ पहिले सञ्चालक समिति सदस्य थिए, अहिले अध्यक्ष भएको छु । चेम्बर मोमेन्टमा तपाईंको सहभागिता कत्तिको छ ? हाल म श्रीलंका चेम्बर अफ कमर्शमा उपाध्यक्ष छु । एफएनसिसिआईले गर्ने विभिन्न कार्यक्रममा मेरो सहभागिता रहने गरेको थियो । तर प्रत्यक्ष चुनावमा उठेको थिइन । यसपाली पहिलो पटक कार्यसमितिका लागि उम्मेदवारी दिएको पहिलो छु । तपाईको उम्मेदवारी केका लागि ? मैले नेपाल चिया उत्पादक संघको तर्फबाट उम्मेदवारी दिएको छु । सानै देखि म चियाँ उत्पादनमा लागेको मान्छे । किसानदेखि उद्योगीसम्मको अनुभव छ । चिया उत्पादन गर्ने किसान र उद्योगबीच द्वन्द्व चल्ने गरेको छ । विदेशतिर आन्तरिक उत्पादनलाई बढावा गर्ने उदेश्यले सरकारले किसान र उद्यमीका लागि प्रोत्साहन गर्छन् । नेपालमा यस्ता कुराहरु अल्झिएका छन् । सरकारसँग बसेर सहमति त भएका छन् तर कार्यान्वयन भएको छैन । सोह्रवटा जिल्लामा चिया उत्पादन भएको छ । तीन सय अर्ब भन्दा बढी लगानी छ र एक लाख भन्दा बढीले रोजगारी पाएका छन् । यो अन्तराष्ट्रियस्तरमा निर्यात हुने उत्पादन हो । महासंघले सबै कुरामा ध्यान पुर्यारउन नसकेको हुनसक्छ । यसका लागि अलग्गै सचिवालय गठन गरेर यसको निर्यात प्रर्वद्धन तथा प्रत्साहनका लागि केहि गर्न सकिन्छ की भनेर मैले उम्मेदवारी दिएको हो । शेखर गोल्छाको टिम नै किन रोज्नु भयो ? मलाई शेखर गोल्छा टिमको सम्मिश्रण नै चित्त बुझेको हो । शेखर गल्छा आफै पनि व्यवासायद्वारा १६/१७ हजार जनालाई रोजगारी दिइरहनुभएको छ । औद्योगिक पूर्वाधार भित्र्याउनलाई उहाँमात्र नभई उहाँका पूर्वजको पनि योगदान छ । आर्थिक वृद्धि र रोजगारी श्रृजनामा पनि विशेष योगदान पुर्यावउने पारिवारिक पृष्ठभूमिका गोल्छा आफैमा पनि सफल व्यापारी हुनुहुन्छ । उहाँ मलाई भिजन भएको व्यक्तित्व लाग्छ । त्यस्तै उमेशलाल प्रधानको पनि पारिवारिक, व्यवासायिक तथा राजनीतिक पृष्ठभूमि राम्रो मानिन्छ । उहाँ मिलनसार प्रवृत्तिको सफल व्यापारी हुनुहुन्छ । ईतिहासकै पहिलो महिला अध्यक्ष भवानी राणापनि हुनुहुन्छ । त्यसैले यो टिम मलाई ठिक लाग्यो । दिनेश श्रेष्ठ पनि अत्यान्तै मिलनसार, एफएनआईसीलाई अत्यान्त धेरै समय दिन सक्ने र काम गर्ने व्यक्तिको रुपमा चिनिनु भएको छ । चन्द्र ढकाल रेमिट्यान्स क्षेत्रको पायोनियर नै हुनुहुन्छ । ग्लोबल आइएमइ बैंकको अध्यक्ष पनि हुनुहुन्छ । चन्द्रागिरी हिल केबलकार बनाउनु भयो । राष्ट्रिय अर्थतन्त्रमा उहाँको पनि ठूलो लगानी छ, योगदान छ । उहाँ जस्ता लगानीकर्ताको योगदानले महासंघमा राम्रो टिम बन्छ भन्ने सोचले नै मैले यताबाट उम्मेदवारी दिएको हो । तपाईले व्यवसायिक व्यक्तिहरुसँग के भनेर भोट माग्नु भएको छ ? भोट माग्न सजिलो छैन । एउटै मानिसलाई मनाउन पनि घण्टौं लाग्छ । किनभने उहाँहरु नेताको पनि नेता हुनुहुन्छ । त्यसै त त्यहाँ पुगिदैन । वस्तुगत संघको अध्यक्ष हुनु आफैमा ठूलो योगदान गरेका व्यक्ति हुनुहुन्छ । मैले त आफैले पनि विभिन्न बाधाअड्चनहरुलाई झेलेर चियादेखि म्याट्रेस, कार्पेटसम्ममा सफलपूर्वक व्यवसाय सम्हाल्दै आएको छु । मैले संकटकाल, भूकम्प र नाकाबन्दी जस्ता समस्या बावजुद पनि आफ्नो व्यवसायलाई जोगाउदै यहाँसम्म पुर्यायएको छु । जीरो लेबलदेखि संघर्ष गर्दै आएको छु । व्यवसाय त स्थापना गरे । एफएनसिसिआइ संस्थामा रहेर नीतिगत तवरमा काम गर्न सकिन्छ । सरकारले तीन सय अर्ब खर्च गर्न नसकेको तथ्यांङ्क छ । महासंघको पहल पनि कम हुन गएको हुनसक्छ । म पनि महासंघको टिममा परे भने केहि योगदान गर्नसक्छु भन्ने ठानेको छु । रेमिट्यानसले नै हाम्रो जिविकोपार्जन चलेको छ । यो दीर्घकालिनरुपमा त चल्दैन । आर्थिक क्रान्ति र सम्बृद्धिका कुरा गरिएपनि काम केहि भएको देखिदैन । सायद महासंघको पनि केहि कमीकमजोरी भयो होला । यसमा पनि केहि योगदान दिन सकिन्छ कि भन्ने मेरो सोच हो । एउटा व्यक्तगत प्रसंग जोड्न चाहन्छु । तपाईंको दाजु चण्डीराज ढकाल महासंघको अध्यक्ष भएर पनि बाहिरिएको धेरै समय भएको छ । तपाईं महासंघमा किन ढिला प्रवेश गर्नुभयो ? अरुले छोरा र नातेदारलाई युवा अवस्थामै महासंघमा प्रवेश गराएको देखिन्छ । पहिलै नै आउन मलाई गाह्रो थिएन । तर म जबसम्म सक्षम हुन्न, महासंघमा आउनुहुदैन भन्ने सोचँे । कसैले नबोलाएको पनि होइन । अहिले पनि चुनावी प्रकृयाबाट त्यो पनि गाह्रो मानिएको वस्तु गतमा आउदैछु । अरु सजिला बाटाहरु नभएका होइनन् । त्यसैले दाई या बुवाको नाम लिएर भन्दा पनि आफ्नो बलबुताले आफै सक्षम भएर आउनुपर्छ भन्ने मान्यता राख्ने व्यक्ति भएकाले ढिलो भएको जस्तो लाग्छ ।
आजदेखि इटहरीबाट पनि सेयर कारोबार शुरु
काठमाडौं । सुनसरीको इटहरीबाट पनि सेयर खरिद बिक्रीको कार्य शूरु भएको छ । नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्स्चेन्जको अनुमति पछि बोकर नं ४७ निभ सेक्युरिटीजले आइतबारबाट सेयर कारोवार शुरु गरेको हो । हाल ५० वटा सेयर ब्रोकर कार्यरत रहेका छन् भने ५० वटै शाखा खोल्ने तयारी छ । शाखा विस्तार सगैँ नेपालभरीबाट लगानीकर्ताले सेयर खरिद बिक्री गर्न सहज हुने छ । असार मसान्त सम्म सबै ब्रोकरले शाखा खोली सक्ने नेपाल स्टकले जानकारी दिएको छ ।
६० मत ल्याएर चुनाव जित्छुः पाण्डे
शंकर प्रसाद पाण्डे, बस्तुगत तर्फका उपाध्यक्ष उम्मेदवार बस्तु तर्फको उपाध्यक्षको उम्मेदवार बन्नु भएको छ, के के छन एजेण्डा ? मैले दुई कार्यकाल महासंघको केन्द्रिय कार्य समिति सदस्यको जिम्मेवारी पुरा गरिसकेको छु । दुबै कार्यकालमा बस्तुगत संघकै प्रतिनिधित्व गरेको हुँ । नेपाल पश्मिना उद्योग संघको अध्यक्ष भैसकेको छु । अहिले पनि शिल्क एसोसियसन अफ नेपालको अध्यक्षका रुपमा आफ्नो जिम्मेवारी बहन गरिरहेको छु । नेपालमा बस्तुगत तर्फका सदस्यहरुको समस्या के हो ? उनीहरुका लागि के के गर्ने भन्नेबारे मसँग लामो अनुभव छ । निर्यात प्रवद्र्धनका क्षेत्रमा पनि मैले लामो समयदेखि काम गर्दै आएको छु । महासंघको केन्द्रमा बसेर बस्तुगत संघहरुका लागि राम्रो भूमिका खेल्दै आएको छु । अहिले बैंक, फाइनान्स र इन्स्योरेन्स समितिको सभापतिका रुपमा महासंघमा काम गरिरहेको छु । मसँग बस्तुगत संघलाई अघि बढाउने स्पष्ट योजना छ । विगतमा मैले महासंघमा खेलेको भूमिका र आगामी दिनमा मैले निर्वाह गर्न सक्ने भूमिकाका लागि बस्तुगत तर्फका साथीहरुले यी एजेण्डाका आधारमा मलाई चुन्नु हुनेछ भन्ने अपेक्षा गरेको छु । जित्ने आधारचाँही केलाई देख्नु भएको छ ? मेरो इतिहास नै मेरो जित्ने आधार हो । महासंघको केन्द्रमा पुगेपछि कसले के काम गर्यो भनेर हेर्नेहरुले मलाई मतदान गर्छन् । अर्थात अघिल्ला दुई कार्यकालमा मैले निर्वाह गरेको भूमिका नै मेरो जित्ने आधार हो । मैले बस्तुगत क्षेत्रको पहिचान, अस्थित्व र भूमिकाका लागि आफ्नो सम्पुर्ण शक्ति खर्च गरेको छु । त्यसकारण नै यतिबेला मलाई ६० भन्दा बढि बस्तुगत संघका साथीहरुले सघाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । इतिहासको मुल्यांकन गर्नेहरुले मलाई सघाउँछन् । म ६० मतका साथ विजयी हुनेमा निश्चिन्त छु । चुनाव जितेपछि के के गर्ने योजना बनाउनु भएको छ ? मैले आफ्नो स्पष्ट योजना अघि सारेको छु । महासंघमा बस्तुगत संघको पहिचानलाई अझै उचाईमा पुर्याउने छु । हाम्रो एकतालाई अझै बजबुत बनाउने छु । सरकारसँगको सम्बन्धलाई अझ प्रभावकारी बनाउने छु । बस्तुगत सदस्यहरुसँगको आन्तरिक छलफल र समस्याहरुको समाधानको पहलकदमी लिनेछु । कुन बस्तुगत संघको के बिशेषता हो त्यसका आधारमा उनीहरुलाई के सहयोग गर्न सकिन्छ अनि त्यस्तो सहयोग दिने निकाय कुन हो ? त्यसको पहिचान गरेर कार्यक्रमहरु अघि बढाउनेछु । बस्तुगत संघहरु निर्यात जन्य उद्योगका प्रतिनिधी पनि हुन, तपाई ती सबैको नेता बन्दै हुनुहुन्छ, निर्यात बढाउने योजना चाँही के के छन् ? महासंघमा बस्तुगत संघको उपाध्यक्ष भनेको बहुआयामिक क्षेत्रको प्रतिनिधी हो । आइटीदेखि, पश्मिना, देखि गलौँचा, फेल्ट, माछा, कपडा, बिस्कुट, चीनी, शिल्क, औषधी सबै उद्योगहरुको साँझा थलो हो यो । यो बिबिधताको उचित सदुपयोग गरेर मात्रै हामी आफ्नो पहिचान कायम गराउन सक्छौं । निर्यातजन्य सबै जसो उद्योेगहरु यसै अन्तर्गत पर्छन् । यो क्षेत्रको प्रवद्र्धनले मात्रै तिब्रगतिको आर्थिक विकास र समृद्धि सम्भव छ । हामीले निर्यात प्रवद्र्धनका लागि नगद अनुदानको दायरालाई थप फराकिलो पार्दै लैजानु आवश्यक छ । त्यसका अलवा उद्योगहरुको उत्पादन लगात घटाउने र नयाँ शिप तथा प्रबिधी भित्र्याउने तर्फ पनि ध्यान दिनुपर्छ । हाम्रा उत्पादनहरुको गुणस्तर अभिवृद्धिदेखि अन्तराष्ट्रिय बजारसम्म पहुँच विस्तारलाई पनि ध्यान दिनुपर्छ ।
प्रदेश नम्बर ४ र ५ मा अप्टिकल फाइबर बिछ्याउने जिम्मा यूटीएललाई, २ अर्बको सम्झौता हुदै
नेपाल दूरसञ्चार प्राधिकरणले मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर विछ्याउने जिम्मा निजी दूरसञ्चार कम्पनी यूटीएललाई दिने भएको छ । प्राधिकरणले लोकमार्गअन्तर्गतको प्रदेश नम्बर ४ र ५ मा अप्टिकल फाइबर विछ्याउने जिम्मा निजी दूरसञ्चार कम्पनी यूटीएललाई दिने प्रक्रिया अगाडि बढाएको हो । यसै साता उक्त कार्यका लागि यूटीएलसँग सम्झौता गर्ने प्राधिकरणका सहप्रवक्ता अच्युतानन्द मिश्रले जानकारी दिए । ‘प्राविधिक अपरेटर र कम मूल्यमा प्रस्ताव पेश गरेको यूटीएललाई अप्टिकल फाइबर विच्छ्याउने जिम्मा दिन लागिएको हो,’ उनले भने । प्राधिकरणले आयोजनाका लागि आह्वान गरेको बोलकबोल प्रस्तावमा न्यूनतम रकम प्रस्ताव गर्ने यूटीएल कम्पनीलाई सम्झौताको तयारी थाल्ने प्रक्रिया अघि बढाएको हो । सम्झौता भएमा कम्पनीले अबको २ वर्षभित्र तोकिएको क्षेत्रमा अप्टिकल फाइबर विछ्याउने पर्ने छ । परियोजनाअन्तर्गत मध्यपहाडी लोकमार्गमा गोरखाको आरुघाटदेखि बाग्लुङको बुर्तिबाङसम्म इन्फरमेशन सुपर हाइवे निर्माण गर्ने प्राधिकरणको योजना छ । सो कार्यका लागि दुवै प्रदेशका २१ ओटा जिल्लामा दूरसञ्चार सेवाको विकासका लागि अप्टिकल नेटवर्क लिज कनेक्टीभिटी सेवा उपलब्ध गराउने छ । सो क्षेत्रमा १ हजार ४ सय ८२ किलोमिटर भूमिगत र ६ सय ३५ किलोमिटर एडीएसएस गरी कुल २ हजार १ सय १७ किलोमिटर अप्टिकल फाइबर विछ्याउने छ । सो कार्यका लागि ३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । प्राधिकरणले यूटीएललाई न्यूनतम बोलकबोलका आधारमा सम्झौताका लागि बोलाएको हो । कम्पनीले सम्झौता गर्नाका लागि आरएफए (रिक्वेस्ट फर प्रपोजल) को मापदण्ड पूरा गर्नुपर्ने छ । प्राधिकरणले ६ महीनाअघि उक्त प्रदेशमा अप्टिकल फाइवर विच्छ्याउनका लागि बोलकबोल पहिलो पटक प्रस्ताव माग गरेको थियो । प्रर्याप्त आवेदन नपरेपछि कात्तिक २६ गतेसम्म आवेदन संकलन गर्ने मिति निर्धारण भएपनि म्याद थप्दै गत पुस २६ गतेसम्म प्राधिकरणले आवेदन संकलन गरेको हो । सोही रकममा परियोजना निर्माण गर्ने गरी सम्झौताका लागि कम्पनीलाई डाकिएको छ । गत असोज १३ गते प्राधिकरणले सो कार्यका लागि ३ अर्ब रुपैयाँसम्म अनुदान उपलब्ध गराउने भन्दै पहिलोपटक सेवाप्रदायकहरूबाट बोलकबोल प्रस्ताव माग गरेको थियो । उक्त प्रस्ताव माग गरेपनि यूटीएलले २ अर्ब १ करोड रुपैयाँ बोलकबोल प्रस्ताव पेश गरेको हो । सो परियोजनको लागि एनसेलले २ अर्ब ७१ करोड रुपैयाँ र वल्र्डलिंकले २ अर्ब ५० करोड रुपैयाँमा सो आयोजना सम्पन्न गर्ने आशय पत्र पेश गरेका थिए । प्राधिकरणले परियोजनका लागि आवश्यक रकम ग्रामीण दूरसञ्चार विकास कोषबाट बोलकबोल बराबरको रकम अनुदान स्वरूप प्राप्त गर्नेछ । सरकारी स्वामित्वको टेलिकमलाई प्रतिस्पर्धामा आउन नसक्ने भन्दै उसलाई पूर्व पाँचथरको चियो भञ्ज्याङदेखि गोरखाको आरुघाटसम्म जिल्ला अप्टिकल फाइबर नेटवर्क विस्तारको जिम्मा यस अघिनै दिइसकिएको छ ।
अरुण कावेली पावर कम्पनीको एक करोड ५० लाख कित्ता साधारण सूचिकृत
काठमाडौं । अरुण कावेली पावर कम्पनीको साधारण सेयर नेपाल स्टक एक्स्चेन्जमा सूचिकृत भएको छ । कम्पनीले एक करोड ५० लाख कित्ता साधारण सेयर सूचिकृत गरेको छ । सामान्यतय सेयर सूचिकृत भएको एक सातामा सेयर कारोबार भईसक्छ ।
चार क्विन्टल बोइलर कुखुरासहित छ जना युवा पक्राउ
गुलरिया । बर्दियामा भारतबाट भन्सार छली अवैध रुपमा ल्याइएको करिब पौने चार क्विन्टल बोइलर कुखुरासहित छ जना युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको विशेष टोलीले बढैयाताल गाउँपालिका सीतापुर चोकबाट शनिबार तीन क्विन्टल ७० किलो बोइलर कुखुरासहित उनीहरुलाई पक्राउ गरेको हो । भारतबाट भन्सार छली अवैधरुपमा कुखुरा ल्याउँदै गरेको अवस्थामा बाँके बनकटुवा–९ बस्ने १७ वर्षीय टेकराज पोखरेल, १८ वर्षीय कृष्ण बुढाक्षेत्री, २४ वर्षीय सुरेश सिंह, १४ वर्षीय विवन थापामगर, २१ वर्षीय जयसिङ ठकुरी र १६ वर्षीय मनिस पुनमगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बोइलर कुखुरा र तीनवटा मोटरसाइकलसहित पक्राउ परेका सबै जनालाई आवश्यक कारबाहीको लागि पशु क्वारेन्टाइन गुलरियामा पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । रासस
१२१ कम्पनीको २२ अर्ब ९० करोडको बोनस सेयर
काठमाडौं । चालु आर्थिक बर्षको चैतसम्ममा २२ अर्ब ९० करोड ५० लाख रुपैंयाँको बोनस सेयर दर्ता भएको छ । नेपाल धितोपत्र बोर्डले चैत अन्तिम सातासम्ममा १२१ कम्पनीको २३ करोड ३७ लाख ८९ हजार ९१ कित्ता बोनस सेयर दर्ता गरेको हो । गत आर्थिक बर्षमा १२४ कम्पनीको २१ अर्ब ५ करोड ६१ लाख २ हजार २ सय ७ रुपैंयाँ मूल्यको २२ करोड ३८ लाख ७ सय ७६ कित्ता बोनस सेयर दर्ता भएको थियो । गत आवको भन्दा चालु आवको ९ महिनामै बोनस सेयर दर्ताको संख्या वृृद्धि भएको हो । यसरी बोनस सेयर दर्ता गराउने कम्पनीहरुमध्ये अधिकांश बैंक तथा वित्तिय संस्थाहरु रहेका छन् । नेपाल राष्ट्र बैंकले पुँजी वृद्धिको योजना अघि सारेपछि बैंक तथा वित्तिय संस्थाहरुले बोनस सेयर वितरण गर्दै आएका छन् । नेपाल इन्भेष्टमेन्ट बैंकले यस बर्ष एक अबै ४९ करोड १४ लाख रुपैंयाँ मूल्यको एक करोड ४९ लाख १४ हजार कित्ता बोनस सेयर दर्ता गरेको छ । यसपाली बोनस सेयर दर्ता गर्ने कम्पनीमध्ये यो नै सबै भन्दा धेरै दर्ता गराउने कम्पनी हो ।