१२१ कम्पनीको २२ अर्ब ९० करोडको बोनस सेयर
काठमाडौं । चालु आर्थिक बर्षको चैतसम्ममा २२ अर्ब ९० करोड ५० लाख रुपैंयाँको बोनस सेयर दर्ता भएको छ । नेपाल धितोपत्र बोर्डले चैत अन्तिम सातासम्ममा १२१ कम्पनीको २३ करोड ३७ लाख ८९ हजार ९१ कित्ता बोनस सेयर दर्ता गरेको हो । गत आर्थिक बर्षमा १२४ कम्पनीको २१ अर्ब ५ करोड ६१ लाख २ हजार २ सय ७ रुपैंयाँ मूल्यको २२ करोड ३८ लाख ७ सय ७६ कित्ता बोनस सेयर दर्ता भएको थियो । गत आवको भन्दा चालु आवको ९ महिनामै बोनस सेयर दर्ताको संख्या वृृद्धि भएको हो । यसरी बोनस सेयर दर्ता गराउने कम्पनीहरुमध्ये अधिकांश बैंक तथा वित्तिय संस्थाहरु रहेका छन् । नेपाल राष्ट्र बैंकले पुँजी वृद्धिको योजना अघि सारेपछि बैंक तथा वित्तिय संस्थाहरुले बोनस सेयर वितरण गर्दै आएका छन् । नेपाल इन्भेष्टमेन्ट बैंकले यस बर्ष एक अबै ४९ करोड १४ लाख रुपैंयाँ मूल्यको एक करोड ४९ लाख १४ हजार कित्ता बोनस सेयर दर्ता गरेको छ । यसपाली बोनस सेयर दर्ता गर्ने कम्पनीमध्ये यो नै सबै भन्दा धेरै दर्ता गराउने कम्पनी हो ।
२४ वटा बीमा कम्पनी पाइपलाइनमा, १६ वटा जीवन, ८ वटा निर्जीवन
काठमाडौं । वित्त बजारमा रोचक दृष्य देखिएको छ । बैंक तथा वित्तीय संस्थाहरु धमाधम मर्ज भईराखेका छन् । नयाँ बैंक तथा वित्तीय संस्थाको लाइसेन्स बन्द भएको एक दशक हुन लागेको छ । तर बीमा बजारमा विस्तार आएको छ । पुर्नवीमा कम्पनी सहित हाल २७ वटा बीमा कम्पनी सञ्चालनमा छन् । २४ वटा बीमा कम्पनी भने कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएर बीमा समितिको स्वीकृति पर्खिबसेका छन् । दर्ता भएका तर स्वीकृत नपाएका २४ बीमा कम्पनी १) अजोड इन्स्योरेन्स कम्पनी २) मनकामना इन्स्योरेन्स कम्पनी ३) इन्टरनेशनल लाइफ इन्स्योरेन्स ४) एलिएञ्ज नेपाल लाइफ इन्योरेन्स ५) एभरेष्ट बिजी लाइफ इन्स्योरेन्स ६) कान्तिपुर बीमा कम्पनी ७) बीन्नी इन्स्योरेन्स कम्पनी ८) रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ९) जनरल इन्स्योरेन्स कम्पनी नेपाल १०) सानिमा लाइफ इन्स्योरेन्स लिमिटेड ११) स्ट्याण्डर्ड लाइफ इन्स्योरेन्स १२) आइएमई लाइफ इन्स्योरेन्स १३) रिलायन्स लाइफ इन्स्योरेन्स १४) सानिमा इन्स्योरेन्स कम्पनी १५) एग्रिकल्चर इन्स्योरेन्स कम्पनी अफ नेपाल १६) लाइफ इस्योरेन्स कम्पनी कान्तिपुर १७) ग्लोबल लाइफ इन्स्योरेन्स १८) जीवनधारा लाइफ इन्स्योरेन्स १९) काठमाण्डू बीमा कम्पनी २०) सिटिजन्स लाइफ इन्स्योरेन्स २१) सन नेपाल लाइफ इन्स्योरेन्स २२) स्टार लाइफ इन्स्योरेन्स २३) लक्ष्मी लाइफ इन्स्योरेन्स २४) माहालक्ष्मी लाइफ इन्स्योरेन्स विगत ९ वर्षयता नयाँ बीमा कम्पनीलाई बीमा समितिले लाईसेन्स दिएको थिएन । गत साता मात्र बीमा समितिले बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका, २०७३ जारी गरी नयाँ बीमा कम्पनीलाई लाईसेन्स खुला गरेको छ । त्यसपछि नयाँ बीमा कम्पनी खोल्न चाहाने प्रवद्र्धकहरु हौसिएका छन् । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको तर बीमा समितिले स्वीकृत नदिएका बीमा कम्पनीको संख्या हाल २४ वटा रहेको छ । १६ वटा जीवन बीमा कम्पनी छन् भने ८ वटा निर्जीवन बीमा कम्पनी रहेका छन् । कम्पनी रजिष्ट्रारमा दर्ता भएको तर बीमा समितिमा आवेदन परेको बीमा कम्पनीहरु पनि रहेका छन् । पहिला सञ्चालनमा आएका तर बीमा समितिले स्वीकृत नदिएका कम्पनी छिट्टै खुल्ने सम्भावना छ । त्यस्तै ठूला व्यवसायिक घरानाले खोल्न लागेको बीमा कम्पनीहरु छिट्टै खुल्ने सम्भावना रहेको छ । कम्पनी रजिष्ट्रारमा दर्ता भएका र तर स्वीकृत नपाएका अजोड इन्स्योरेन्स, जनरल इन्स्योरेन्स कम्पनी नेपाल, मनकामना इन्स्योरेन्स, इन्टरनेशनल लाइफ इन्स्योरेन्स , एलिएञ्ज नेपाल लाइफ इन्योरेन्स, एभरेष्ट बिजी लाइफ इन्स्योरेन्स, कान्तिपुर बीमा कम्पनी, बीन्नी इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, स्ट्याण्डर्ड लाइफ इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स, रिलायन्स लाइफ इन्स्योरेन्स, सानिमा इन्स्योरेन्स कम्पनी, एग्रिकल्चर इन्स्योरेन्स कम्पनी अफ नेपाल, लाइफ इस्योरेन्स कम्पनी कान्तिपुर, ग्लोबल लाइफ इन्स्योरेन्स, जीवनधारा लाइफ इन्स्योरेन्स, काठमाण्डू बीमा, सिटिजन्स लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, स्टार लाइफ इन्स्योरेन्स, लक्ष्मी लाइफ इन्स्योरेन्स, माहालक्ष्मी लाइफ इन्स्योरेन्स रहेका छन् । बीमा समितिले जीवन बीमा र निर्जीवन बीमा दुबै किसिमको बीमा व्यवसाय गर्ने उदेश्यले बीमा कम्पनी स्थापना गर्न खोजेको आवस्थामा स्वीकृत नगर्ने व्यवस्था गरेको छ । त्यस कारण पनि दर्तामा रहेका सबै बीमा कम्पनीले स्वीकृति पाउने सम्भावना कम देखिएको छ । बीमा समितिले जीवन बीमा कम्पनीको लागि न्यूनतम चुक्ता पुँजी २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको लागि न्यूनतम पुँजी १ अर्ब रुपैयाँ हुनु पर्ने निर्णय गरेको हो ।
पाँच बर्षमा मेक अप गर्नेको संख्या ८९ प्रतिशतले वृद्धि
काठमाडौं । पाँच बर्षमा मेकअप गर्ने नेपालीहरुको संख्या ८९ दशमलब २६ प्रतिशतले वृद्धि भएको छ । पाँच बर्ष अघि नेपालीहरुले ४ अर्ब १० करोड रुपैंयाँका विदेशी मेकअपका समान प्रयोग गरेका थिए । तर पाँच बर्षपछि मेकअप गर्नेहरुको संख्या ८९ दशमलब २६ प्रतिशतले बढेर ७ अर्ब ७६ करोड पुगेको छ । यसले मेकअप गर्ने नेपालीहरुको संख्या वृद्धि भैरहेको र मेकअपका समानहरुको माग पनि बढिरहेको स्पष्टसँग देखाउँछ । गत आर्थिक बर्ष २०७२/७३ मा परफ्युम, लिपिष्टिक, आँखाको मेकअप समान, मेनिक्युर, पेडिक्युर, पाउडर, क्रिम, स्याम्पु, हेयर जेल, टुथपेष्ट लगायतका २१ विदेशी मेकअप समान नेपाल भित्रिएका छन् । २ अर्ब ५३ करोडका अनुहारमा लगाउने क्रिम आयात भएको छ । ३८ देशबाट एक अर्ब २२ करोड मूल्यको कपालमा प्रयोग हुने क्रिममा मात्रै आयात भएको छ । ८४ करोड मूल्यको स्याम्पु आयात भएको छ भने ३२ करोडको कपालमा प्रयोग हुने जेल आयात भएको छ । १७ करोडको विभिन्न प्रकारका पाउडर आयात गरिएको छ । आँखाको सजाजटका लागि उपयोग हुने सामाग्रीको आयातका लागि ६ करोड रुपैंयाँ विदेशिएको छ । १४ करोड रुपैंयाँ मूल्य बराबरका लिपिष्टिक आयात गरिएको तथ्यांक छ । ९ करोडको परफ्युम तथा ट्वाइटेटमा प्रयोग हुने पानी आयात गरिएको छ । आर्थिक बर्ष २०७१/७२ मा ७ अर्ब २५ करोड मूल्य बराबरका मेकअपका समान आयात भएका थिए तर गत आवमा त्यो ५१ करोडले बढेर ७ अर्ब ७६ करोड पुगेको हो । यसले नेपालमा मेकअप गर्नेहरुको संख्या बढेको स्पष्ट रुपमा देखाउँछ ।
अमेरिकाको टेक्ससमा ३ हप्ते नेपाल शो, भूकम्प प्रभावित फोटो प्रदर्शन
काठमाडौं । अमेरिकाको टेक्सस राज्यको फोर्ट वर्थमा ३ हप्ते नेपाल शो २०१७ शुरु भएको छ । प्रदर्शनीमा नेपालमा २ बर्ष अघि गएको भूकम्प प्रभावित कलाकारहरुले तयार गरेका चित्रकला, हस्तकला तथा फोटो समावेश गरिएका छन् । रोटरी फाउन्डेसनका प्रमुख पावल लुकास, फोर्ट वर्थ कला काउन्सिल प्रमुख केरीन विले, स्टोरी साइकल अमेरीकाका निर्देशक राम सिं पोखरेल, फोर्ट वर्थ कला केन्द्रका निर्देशक मार्ला वन र स्टोरी साइकलका सस्थापक सौरभ ढकालले संयुक्त रुपमा प्रदर्शनीको उद्घाटन गरेका हुन् । स्टोरी साइकल अमेरीकाको फोर्ट वर्थ कला केन्द्र र क्रोटेड इन काठमाडौंको आयोजनामा अमेरिकाको टेक्सस राज्यको फोर्ट वर्थमा ३ हप्ते नेपाल शो २०१७ आयोजना गरेका हुन । शो आगामी अप्रिल २६ सम्म चल्ने छ । आइतबार बाहेक हरेक दिन विहान ९ बजे देखि साझ ५ बजे सम्म प्रदर्शनी खुला रहने छ । रोटरी फाउन्डेसनका प्रमुख पावल लुकासले पूरानासिप र कलात्मक क्षमताको संरक्षण गर्न अतिआवश्यक रहेको भन्दै नेपालको पूननिर्माणमा कलाकारहरुको महत्वपूर्ण योगदान रहने बताएका थिए ।
भारतले बङ्गलादेशलाई चार अर्ब पचास करोड अमेरिकी डलर बराबर ऋण दिने
नयाँ दिल्ली । भारत तथा बङ्गलादेशबीच शनिबार ढाकालाई विकास परियोजनाका लागि सहुलियतसहित चार अर्ब पचास करोड अमेरिकी डलर बराबर ऋण सुविधा उपलब्ध गराउने सहित अनेकौँ सम्झौतामा हस्ताक्षर भएको छ । दक्षिण एसियाली यी दुई छिमेकी हाल सम्बन्ध गहिरो बनाउन प्रयासरत रहेको बताइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा बङ्गलादेशका उनका समकक्षी सेख हसिनाबीच नयाँ दिल्लीमा व्यापक क्षेत्रका विषयमा वार्ता भएको र उनीहरूले प्रतिरक्षा, क्षेत्रीय सुरक्षा तथा अन्तर्राष्ट्रिय आतङ्कवाद विरुद्ध सङ्घर्षका लागि सहयोगका विषयमा पनि छलफल भएको बताइएको छ । दुबै पक्षका अधिकारीहरूले आउँदो पाँच वर्षका लागि प्रतिरक्षा सहयोगमा सम्झौता संरचना र भारतबाट बङ्गलादेशलाई सैनिक उपकरण खरिद गर्न ५० करोड अमेरिकी डलर उपलब्ध गराउने साथमा २२ वटा सम्झौतामा हस्ताक्षर गरेको जानकारी दिइएको छ । दुई पक्षबीच नागरिक पारमाणविक सहयोगका विषयमा पनि सम्झौतामा हस्ताक्षर भएको छ र यस अन्तर्गत नयाँ दिल्लीले ढाकालाई नागरिक पारमाणविक कार्यक्रम विकास गर्न सहयोग गर्नेछ । भारतीय प्रधानमन्त्री मोदीले बङ्गलादेशी समकक्षी हसिनाले भारत–बङ्गलादेशबीच सम्बन्धको ‘‘स्वर्ण युग’’ मा भ्रमण गरेको र भारत बङ्गलोदशका लागि लामो समयसम्मको विश्वासिलो विकास साझेदार भएको बताएका छन् । भारत तथा बङ्गलादेशबीच चार हजार १०० किलोमिटर लामो सीमा रहेको छ । रासस
हकप्रद सेयरको विश्वसनियतमा प्रश्न
२०७३ साउन ३१ राप्तीभेरी विकास बैंकको सेयर मूल्य प्रतिकित्ता ३५० रुपैयाँमा कारोबार भएको थियो । साउन ३२ गते सञ्चालक समितिको बैठकले २०० प्रतिशत (१ बराबर २ कित्ता) हकप्रद सेयर निष्काशन गर्ने निर्णय गर्यो । सञ्चालक समितिको निर्णय अनुमोदन गर्न भदौं १७ गते विशेष साधारणसभा बोलाइयो । विशेष साधारणसभामा सर्वसहमतिमा २०० प्रतिशत हकप्रद सेयरको प्रस्ताव सर्वसहमतिमा पास भयो । साधारणसभाको निर्णयले सेयर प्रतिकित्ता ६२२ रुपैयाँ सम्ममा कारोबार भयो । तर कम्पनीले आफ्नै निर्णय कार्यान्वय गर्न सकेन । चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयर निष्काशन नगर्ने निर्णय गरेको छ । प्रमोटरले नै हकप्रद सेयरमा लगानी गर्न सक्ने अवस्था सिर्जना भएको भन्दै बैंकले हकप्रद सेयर निष्काशन गर्ने निर्णय लियो । यो बैंकले काठमाडौंस्थित ज्योति विकास बैंकमा विलय हुने निर्णय गरिसकेको छ । चैत १५ गते ज्योति विकास बैंकका अध्यक्ष हरिचन्द्र खड्का र राप्तीभेरी विकास बैंकका अध्यक्ष प्रेम बहादुर भण्डारीले प्राप्ती सम्बन्धी सम्झौतामा हस्ताक्षर भईसकेको छ । राप्ती भेरी विकास बैंक एउटा उदाहरण हो । यसअघि रिलायवल डेभलपमेन्ट बैंकले यसरी नै हकप्रद सेयर निष्काशन गर्ने निणर्य गर्यो र ग्लोबल आईएमई बैंकसँग मर्ज हुने सम्झौता गर्यो । पुरानो निर्णय साधारणसभाबाट रद्द गरायो । सम्भवत जनता बैंकमा यस्तै घट्ना दोहोरिने सम्भावना छ । यस बैंकले ६० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ । तर सिद्धार्थ डेभलपमेन्ट बैंक एक्वाएर गर्यो भने उसलाई तत्काल ६० प्रतिशत हकप्रद सेयर निष्काशन गर्नु पर्ने अवस्था देखिदैन । नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत कम्पनीहरुले यसरी निर्णय गर्ने र फिर्ता लिने अभ्यास अत्यान्तै गलत हो । नेपाल यस्तो देश हो जहाँ हकप्रद सेयर आउँछ भनेपनि कम्पनी घाटामा गएको भएपनि सेयर मूल्य दुई गुणा वृद्धि हुन्छ । यस्तो बजार र लगानीकर्ताको सोच भएको देशमा साधारणसभाबाट अनुमोदन भएको निर्णय समेत लागू हुँदैन भने त्यहाँ जान्ने, बुझ्ने, टाठा, बाठाले कमाउँछन् । सोझा, साझा, कम्पनीको क्षमता थाहा नभएका, संस्थापकहरुलाई नचिनेका, नभेटेका, बैंक व्यवस्थापन नबुझेका, बजार विश्लेषण गर्न नसक्नेहरु ढुब्छन् । यस्तो प्रवृतिलाई नेपाल धितोपत्र बोर्ड, राष्ट्र बैंक जस्ता निकायले रोक्न कडा नीति लिनुपर्ने देखिएको छ
बीमा कम्पनीलाई लक्षित विशेष ऋणपत्र ल्याउने बीमा समितिका अध्यक्षको भनाई, नेपाल लाईफको क्षेत्रीय कार्यालय पोखरामा
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेवाग्राहीहरुलाई गुणात्मक जीवन बीमा सेवा उपलब्ध गराउन तथा शाखा कार्यालयहरुको सशक्तिकरणबाट जीवन बीमा व्यवसायको बजार बिस्तार गर्ने उदेश्यले पोखरामा क्षेत्रीय कार्यालय खोलेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापाँगाईले शुक्रबार शो शाखाको उद्घाटन गरेका छन् । समुद्घाटन समारोहलाई सम्बोधन गर्दै बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापाँगाईले जीवन बीमा क्षेत्रले आम जनताको स–सानो बचत परिचालन गरि पूँजी निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दैआएको र जीवन बीमा क्षेत्रसंग रहेको ठूलो पूँजीलाई मुलुकको बिकास निर्माणका लागि उपयोग गर्न बिशेष प्रकारको बिकास ऋणपत्र ल्याउन पहल गर्ने बताए । साथै उनले जीवन बीमाका क्षेत्रमा कम्पनीले गर्दै आएको सफलताहरुको सह्राहना गर्नुहुदै समग्र बीमा क्षेत्रको बिकास र बिस्तारका लागि आफू क्रियाशिल रहने बताएका छन् । संचालक कमलेश कुमार अग्रवालले बिद्यमान परिवेशमा क्षेत्रीय कार्यालयको आवश्यकता झनै बढ्न गएको एवं बिकेन्द्रिकरणका माध्यमबाट शाखा कार्यालयहरुको अनुगमनमा प्रभावकारिता बृद्धि भई बीमितहरुले सरल र सहज बीमा सेवा उपलब्ध हुने विचार राखे । कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री विवेक झाले क्षेत्रीय कार्यालय पोखराको स्थापनाबाट यस क्षेत्रको व्यवसायिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बिश्वास व्यक्त गर्दै बीमितहरुको लगानी प्रतिफल बृद्धि गर्न कम्पनीले हरसम्भव प्रयास गर्दै आएको र सो को सुनिश्चितताको लागि दीर्धकालिन लगानीका क्षेत्रहरुमा लगानी बिस्तार गर्ने प्रयास गरिरहेको भएतापनि सोको पर्याप्त उपलब्धता नभईरहेकोले बीमा क्षेत्रका लागि दीर्धकालिन सरकारी बिकास ऋणपत्रहरुको आवश्यकता रहेको बताए ।
‘सबै रकम खाने र खेल्ने कुराहरु किनेर सिध्याइहाल्थें’ पारस खड्का भन्छन्-‘बचत नगरेर गल्ती गरेछु’
काठमाडौं । सानै उमेरदेखि बचत संस्कृति विकास गर्ने उद्देश्यले मेगा बैंक नेपाल लिमिटेडले तरलता अभावसँगै ‘नानीमा लागेको बानीः आज बचाउँ– जिन्दगीभरी रमाउँ’ नामक अभियानलाई तीव्रता दिएको छ । यसैक्रममा शनिबार काठमाडौंको डिल्लीबजारस्थित साब पब्लिक स्कूलमा आयोजित कार्यक्रममा मेगा बैंकको सद्भावना दूतको रुपमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र चर्चित अभिनेत्री प्रियंका कार्कीले सानै उमेरदेखि बचत गर्ने बानीको विकास गर्न बालबालिका तथा अभिभावकहरुलाई अनुरोध गरे । ‘सानै उमेरदेखि बैंकमा बचत खाता खोल्ने हो भने बालबालिकाहरुमा बचाउनुपर्छ भन्ने बानीको विकास हुन्छ, त्यसैले आफ्ना सन्तानहरुलाई स्वतस्फूर्त रुपमा बचत गर्ने बानीको विकास गराउनुस्’, कार्यक्रमका प्रमुख अतिथि रहेका क्रिकेट टिमका कप्तान खड्काले भने, ‘बालबालिकाहरुको पहिलो प्राथमिकता पढाइ नै हो, तर उनीहरुलाई सानैदेखि अन्य कुराहरु पनि सिकाउनुपर्छ ।’ यसैगरी, नायिका कार्कीले नानीदेखि लागेको बानीले नै हरेक मानिसको जीवनमा मुख्य प्रभाव पर्ने भएकोले यो अभियानले युवाहरुमा विद्यार्थी जीवनबाट नै बचत गर्ने संस्कृतिको विकास हुने विश्वास लिएको बताए । ‘सानो हुँदा मसँग भएको सबै रकम खाने र खेल्ने कुराहरु किनेर सिध्याइहाल्थें, तर अहिले महसुस हुँदैछ त्यो ठीक होइन रहेछ ।’, नायिका कार्कीले भनिन् ‘थोरै रकम भए पनि सानैदेखि बचत गर्ने बानी बसाऔं, रकम खेर नफालौं ।’ कार्यक्रममा मेगा बैंकका अध्यक्ष तथा सूर्योदय शिक्षा फाउन्डेशनका अध्यक्ष भोजबहादुर शाहले क्रिकेटर खड्का र अभिनेत्री कार्कीले मेगा बैंकको अभियानलाई साथ दिएकोमा खुसी व्यक्त गरे । उनले बालबालिका र युवाहरुमा बचत गर्ने बानीको बिउ रोप्न मेगा सद्भावना दूत पारस खड्का र प्रियंका कार्कीले उत्कृष्ट भूमिका खेल्ने विश्वास व्यक्त गरे । मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले युवाहरुलाई बैंकिङ शिक्षाको माध्यमबाट बचत गर्ने बानीको विकास गराउन क्रिक्रेटर खड्का र सिनेस्टार कार्की देशभरका विद्यार्थीमाझ पुग्ने बताइन् ।