नबिल बैंकको जोरपाटी शाखा बौद्धमा स्थानान्तरण
काठमाडौं । नबिल बैंकले आफ्नो जोरपाटी शाखा बौद्ध पिपलबोटमा रहेको आधुनिक व्यावसायिक भवनमा स्थानान्तरण गरेको छ । उक्त स्थानान्तरित शाखाको उद्घाटन बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालले गरेका छन् । बैंकले स्थानान्तरित शाखाबाट ग्राहकहरुलाई बैंकिङ सेवा तथा सुविधाहरु अझ सहज र सरल रुपमा उपलब्ध गराउने उद्देश्य राखेको छ । बैंकको उक्त शाखामा पर्याप्त पार्किङको सुविधा रहेको छ । बैंकको सो शाखाबाट ग्राहकहरुले सम्पूर्ण बैंकिङ सुबिधाहरु प्राप्त गर्न सक्नेछन् । हाल बैंकले ५२ वटा शाखाहरुको बृहत संजाल, ९५ वटा एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा सेवा प्रदान गर्दै आएको छ ।
बीमा तिर तानिए लगानीकर्ता, ३८ कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी नाफा
काठमाडौं । बीमा कम्पनीको चुक्ता पुँजी बढ्ने चर्चाले बीमा कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । शुक्रबार बीमा समितिको सञ्चालक समितिको बैठकले बिमा कम्पनीको चुक्ता पुँजी बढाउने निर्देशन दिएपछि लगानीकर्ताहरु बीमा कम्पनीतिर तानिएका हुन् । ७९ अंकले बढेको साताको पहिलो दिन सेयर बजारमा १३२ कम्पनीको सेयर कारोबार भएको छ । सो मध्ये १२३ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने बाँकी ९ कम्पनीका लगानीकर्ताले सामान्य प्रतिशतले गुमाएका छन् । कमाउने मध्ये पनि ३८ कम्पनीका लगानीकर्ताले ९ प्रतिशत भन्दा बढी नाफा कमाएका छन् । जसमा ८ कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् भने बाँकी ३० कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी(१० प्रतिशत भन्दा कम) कमाएका छन् । प्राय बीमा कम्पनीका लगानीकर्ताले पुरा १० प्रतिशत कमाएका छन् । हाम्रो विकास बैंक, नेपाल इन्स्योरेन्स कम्पनी, नेको इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कम्पनी, लक्ष्मी लघुवित्त वित्तीय संस्था, राष्ट्रिय बीमा कम्पनी, नेपाल ग्रामीण विकास बैंक र राष्ट्रिय बीमा कम्पनी लि. प्रमोटरको सेयर मूल्य १० प्रतिशतले बढेको हो । त्यस्तै, ९ प्रतिशत बढी(१० प्रतिशत भन्दा कम) कमाउनेमा बीमा कम्पनीका लगानीकर्ता आगाडी रहेका छन् । आइतबार बीमा समूहको परिसूचक ७३३ अंकले बढेको छ । साथै, अन्य समूहको परिसूचकमा पनि दोहोरो अंकको वृद्धि भएको छ । कारोबार रकमका आधारमा पनि बीमा समूह अगाडी रहेको छ । बजारमा सबैभन्दा बढी नेशनल लाइफ इन्स्योरेन्सको १२ करोड ९१ लाख ४९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५५५ रुपैयाँ रहेको छ । त्यस्तै, शिखर इन्स्योरेन्सको पनि ६ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । आइतबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २४९० रुपैयाँ रहेको छ ।
सौरभ ज्योतिले मैदान छाडे, चन्द्र ढकाललाई समर्थन
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनमा एसोसियट तर्फको उपाध्यक्षमा चुनाव लड्ने घोषणा गरेका सौरभ ज्योतिले उम्मेदवारी फिर्ता लिएका छन् । ज्योतिले उम्मेदवारी फिर्ता लिएर चन्द्र प्रसाद ढकाललाई समर्थन गर्ने घोषणा गरेका हुन् । ‘महासंघको एकता र पेशागत गरिमालाई अझै उचाईमा पुर्याउन मैले उपाध्यक्षमा चुनाव नलड्ने घोषणा गरेको छु र मेरो समर्थन चन्द्र ढकालज्युलाई रहनेछ’, ज्योतिले आइतबार महासंघ सचिवालयमा उम्मेदवारी फिर्ता लिएको जानकारी दिँदै भने । उनले शेखर गोल्छा नेतृत्वको समहुलाई सहयोग गर्ने घोषणा समेत गरेका छन् । आफुलाई सघाउने घोषणा गरेसँगै एसोसियट तर्फका उपाध्यक्ष उम्मेदवार चन्द्र ढकालले ज्योतिलाई धन्यवाद दिँदै भने–मलाई सहयोग गर्नु भएकोमा धन्यवाद छ, यसले महासंघको गरिमालाई अझै उचाईमा पुर्याउने छ भन्ने मेरो विश्वास छ र त्यसका लागि मेरो प्रसास रहनेछ । सौरभको उम्मेदवारी फिर्तासँै एसोसियट तर्फको उपाध्यक्षमा चन्द्र ढकाल निर्विरोध हुने सम्भावना पनि बढेको छ ।
नेप्से ५ प्रतिशतले बढेपछि आइतबारको सेयर कारोबार बन्द, बीमाको सूचक ७३३ अंकले वृद्धि
काठमाडौं । आइतबार स्वाभाविक समयभन्दा करिब साढे दुई घण्टा अघि नै सेयर बजार बन्द भएको छ । कारोबार खुलेको करिब साढे २ घण्टामै ५ दशमलब प्रतिशतले बढेपछि सेयर कारोबार बन्द भएको हो । बिमा कम्पनीहरुको सेयर मूल्यमा उच्च वृद्धि आएपछि सेयर बजारमा सर्किट ब्रेक लागेर कारोबार बन्द भएको हो । कारोबार बन्द हुँदा बीमा समूहको परिसूचक ७३३ अंकले बढेको छ । साथै, बीमा लगाएत अन्य समूूहको परिसूचक पनि दाहोरो अंकले उकालो लागेका छन् । बजार बन्द हुँदा नेप्से परिसूचक ७९ दशमलब ४७ अंकले बढेर १६६७ अंकमा पुगेको छ । बजारमा ९४ करोड ३७ रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबार बजार खुलेको दुई घण्टामा नै परिसूचक ४ प्रतिशतले बढेपछि ३० मिनेटका लागि कारोबार रोकिएको थियो ।
उद्योगी व्यवसायीलाई चुनावी चटारो(फोटो फिचरसहित)
काठमाडौं । नेपाली उद्योगी व्यवसायीलाई चुनावी चटारोले छोएको छ । आफ्नो छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनमा आफु अनुकुलको समुहलाई जिताउन व्यवसायीहरु जोडतोडले लागि परेका छन् । आइतबार मध्यान्ह बरिष्ठ उपाध्यक्षका उम्मेदवार शेखर गोल्छाले तामझामका साथ आफ्नो प्यानलकै उम्मेदवारी दर्ता गरे । उनको प्यानलबाट जिल्ला/नगर तर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन । श्रेष्ठ अहिलेको कार्य समितिमा बस्तुगत तर्फका उपाध्यक्ष छन् । गोल्छा प्यानलबाट बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन भने एसोसियटमा चन्द्र प्रसाद ढकालको उम्मेदवारी परेका छ । यस अघि स्वतन्त्र समुहका तर्फबाट एसोसियटको उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका सौरभ ज्योतिले आफ्नो उम्मेदवारी फिर्ता लिँदै ढकाललाई समर्थन गरेको घोषणा गरेका छन् । गोल्छा प्यानलबाट बस्तुगत तर्फ हेमरत्न शाक्य, विनोद ढकाल र लोकनाथ गैरे, हेमराज ढकाल, अञ्जन श्रेष्ठ, रविन श्रेष्ठ, कमला श्रेष्ठ, जय शिवाकोटी, सन्दिप अग्रवाल, सुरेन्द्र श्रेष्ठ, सुनिलगोपाल श्रेष्ठ, आकास अधिकारी, खेमराज पन्तले उम्मेदवारी दर्ता गराउँदै छन्। त्यस्तै, एसोसियट तर्फबाट महासंघका निवर्तमान अध्यक्ष प्रदिपजंग पाण्डेका छोरा प्रबलजंग पाण्डे, पूर्व अध्यक्ष प्रदिप कुमार श्रेष्ठका छोरा उदिप कुमार श्रेष्ठ पहिलो पटक महासंघको कार्यसमिति सदस्यको उम्मेदवारी दर्ता गराउँदै छन् । त्यस्तै, एसोसियट तर्फ भरतराज आचार्य, कृष्णप्रसाद दुलाल, रामशरण थपलिया, आनन्द वगरिया, नारायण बजाज, शक्ति बेगानी, अखिलकुमार चापागाई, सुनिल नारायण श्रेष्ठ, बासुदेव गौतम, शिशिर कुमार भट्ट, राजेश अग्रवाल, भेषराज अर्याल लगायतले उम्मेदवारी दर्ता गराउँदै छन् । यसअघि निर्वाचन जितेर कार्यसमिति सदस्य भएका ज्ञानेन्द्रलाल प्रधान, ओमराज भण्डारी, रामकृष्ण प्रसाई, गोपाल खनाल, ज्योत्सना श्रेष्ठ, प्रकाश गिरी, रञ्जीत आचार्य, शाहिल अग्रवाल, अनिल कुमार केडिया, मनिष कुमार अग्रवाल, अशोक कुमार तोदी, रामचन्द्र संघाई, विजयसिंह बैद्य लगायतले पनि उम्मेदवारी दर्ता गराउँदै छन् । महासंघको निर्वाचन चैत २९ गते हुँदैछ । भवानी राणाले पहिलो पटक बरिष्ठ उपाध्यक्षबाट सिधै अध्यक्षको जिम्मेवारी प्राप्त गर्दैछिन् । बरिष्ठ उपाध्यक्ष, तीन जना उपाध्यक्ष र कार्य समिति सदस्यहरुको निर्वाचन हुनेछ । संसोधित विधानले बरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वत अध्यक्ष बन्ने व्यवस्था गरेको छ । महासंघले पहिलो पटक कोषाध्यक्षको व्यवस्था थपेको छ । कोषाध्यक्ष भने नव निर्वाचित कार्य समितिको बहुमतबाट चयन हुनेछ । आइतबार साँझ किशोर प्रधानले राजधानीमा कार्यक्रम गरेर आफ्नो प्यानल घोषणा गर्दैछन् । उनले सोमबार आफ्नो प्यानलको उम्मेदवारी दर्ता गराउनेछन् ।
४ प्रतिशतले बढेपछि नेप्सेमा लाग्यो सर्किट ब्रेक, बजार पुन साढे १ बजे खुल्ने
काठमाडौं । आइतबार कारोबार खुलेको करिब २ घण्टामै सेयर बजारमा सर्किट ब्रेक लागेको छ । नेप्से ४ प्रतिशतले बढेपछि नेप्सेमा लाग्यो सर्किट ब्रेक लागेको हो । १२ बजेर ५७ मिनेट जाँदा कारोबार रोकिएको बजार अब एक बजेर २७ मिनेट गएपछि बजार पुनः खुल्ने नेप्सेले जनाएको छ । बीमा कम्पनीको सेयर बजारमा उच्च वृद्धि आएपछि सेयर बजामा सर्किट ब्रेक लागेको हो ।
आइतबार मात्रै ६५ लाख ६३ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत
काठमाडौं । आइतबार मात्रै ६५ लाख ६३ हजार ६६६ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । सो दिन बोनस र साधारण सेयर गरि सो मात्राको सेयर सूचिकृत भएको हो । नेप्सेमा तीन कम्पनीको गरि बोनस सेयर मात्रै ७ लाख ७७ हजार ४१ कित्ता सूचिकृत भएको छ भने ५७ लाख ८६ हजार ६२५ कित्ता साधारण सेयर सूचिकृत भएको छ । महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाको एक लाख १० हजार कित्ता, जानकी फाइनान्सको ३ लाख १० हजार ७८१ कित्ता र पश्चिममाञ्चल फाइनान्स कम्पनीको ४ लाख ५५ हजार २६० कित्ता बोनस सेयर सूचिकृत भएका छन् । साथै, गोर्खाज फाइनान्सको साधारण सेयर नेप्सेमा सूचिकृत भएको छ । काठमाण्डू फाइनान्स र गोरखा डेभलपमेन्ट बैंक मर्ज पश्चात बनेको गोर्खाज फाइनान्सको ५७ लाख ८६ हजार ६२५ कित्ता साधारण सेयर नेप्सेमा थपिएको हो ।
अपडेटः नेप्से ५७ अंकले बढ्यो, बीमा कम्पनीका सेयर मूल्यमा उच्च वृद्धि
काठमाडौं । आइतबार बजार खुलेको करिब दुई घण्टामा नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ । परिसूचक १२ बजेर ५० मिनेट जाँदा परिसूचक ५७ दशमलब २४ अंकले बढेर १६४४ दशमलब ८८ अंकमा पुगेको छ । सो समयसम्म परिसूचक ३ दशमलब ६१ प्रतिशतले उकालो लागेको छ । बजारमा परिसूचक मात्र नभएर कारोबार रकममा पनि वृद्धि भइरहेको छ । सो अवधिसम्म ७२ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भैसकेको छ । १२८ कम्पनीका १२ लाख ३७ हजार कित्ता सेयर किनबेच भइसकेका छन् । कारोबार रकमका आधारमा सबैभन्दा बढी बीमा कम्पनीका सेयर किनबेच भइरहेका छन् । साथै, बीमा कम्पनीका सेयर मूल्यमा पनि उच्च वृद्धि भइरहेको छ । नेशनल लाइफ इन्स्योरेन्सको ११ करोड ९३ लाख रुपैयाँ, शिखर इन्स्योरेन्स कम्पनीको ६ करोड रुपैयाँ बढी र नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भइसकेका छन् । साथै, सोही अवधी सम्म यी तीन कम्पनीको सेयर मूल्य क्रमशः प्रतिकित्ता २५४९, २४९९ र २७०६ रुपैयाँमा किनबेच भइरहेका छन् । कारोबार समूहका आधारमा पनि बीमा समूहको परिसूचक ७०५ अंकले उकालो लागिरहेको छ । त्यस्तै, अन्य समूहको परिसूचक सामान्य अंकले उकालोे लागेको छ भने बाँकी समूहको परिसूचक दोहोरो अंकले उक्लिसकेका छन् । बीमा समितिको सञ्चालक समितिको निर्णय अनुसार बीमा कम्पनीको सेयर मूल्य चार गुणाले बढेको छ । समितिले बिमा कम्पनीको चुक्ता पुँजी बढाउने निर्देशन दिएपछिको असर आइतबारको सेयर बजारमा परेको छ । त्यसैले बजारमा बीमा कम्पनीको कारोबार र सेयर मूल्य दुबैमामा वृद्धि भइरहेको छ ।