सय वर्षको बिजुली ३ वर्षमै, सय वर्ष लगाएर जम्मा ८ सय मेगावाट बिजुली उत्पादन
काठमाडौं । पछिल्लो सय वर्षमा नेपालमा जति बिजुली उत्पादन भएको थियो, त्यो भन्दा बढी उत्पादन आगामी ३ वर्ष भित्रमै उत्पादन हुने भएको छ । सरकारले जलविद्युत आयोजना निर्माणलाई प्राथमिकता दिन थालेपछि उत्पादन बढेको हो । नेपालमा बिजुली उत्पादन हुन थालेको एक शताब्दी नाघेको छ । यसबीचमा करिब आठसय मेगावाट बिजुली उतपादन भएको छ । तीन वर्ष भित्रमा त्यो भन्दा बढी बिजुली उत्पान हुने ऊर्जा उत्पादकहरुको दाबी छ । नेपालले जलविद्युत्म क्रान्तिकारी फड्को मार्न थालेको स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाईले बताए । उनका अनुसार जलविद्युत् आयोजना निर्माणले गति लिएको छ । आधा दशकमै बिजुलीि उत्पादनले फड्को मार्दैछ । नागरिक दैनिकबाट ।
कतारमा २२० कामदार अलपत्र भाेकभाेकै, तलव छैन खानपनि पाएनन्
काठमाडौं । कतारको स्केल ट्रेडिङ एण्ड कन्ट्रक्टिङ कम्पनी बन्द भएपछि झन्डै २ सय २० कामदार अलपत्र परेका छन् । जसमा ८० जना नेपाली कामदार छन् । कम्पनी सञ्चालक सम्र्पकविहीन भएपछि ती कामदारले चार महिनादेखि तलबसमेत पाएका छैनन् । गत डिसेम्बर २८ देखि काम बन्द भएपछि उनीहरू सनैया–४१ स्थित लेवर क्याम्प बस्दै आएका छन् । ‘हामीले अक्टोबर महिनाबाटै तलब पाएका थिएनौं । तलब नपाए पनि काम गर्दै आएका थियौं । कम्पनी मालिक नै सम्पर्क नभएपछि डिसेम्बर २८ बाट काम छाडेर क्याम्मै बस्दै आएका छौं,’ कम्पनीका ड्राइभर रहेका धादिङका रत्न लामाले कान्तिपुरलाई भने,‘अहिले हामीलाई दिनहुँ छाक टार्न समस्या पर्न थालेको छ ।’ ती कामदारहरू अधिकांश दुई वर्षअघि मिथिला र सेफल्याण्ड म्यानपावरबाट गएका थिए । ८ जना मात्रै ८ महिना अगाडि पुगेका हुन् । उनीहरूले लसेलस्थित व्यक्तिको घर बनाउने काम गर्दै आएका थिए । उनीहरू सबै गैरकानुनी हैसियत भइसकेका छन् । ‘हामी सबैको आईडी कार्ड ९परिचयपत्र०को म्याद सकिसकेको छ । प्रहरीले चेकजाँच गर्दा पक्राउ परिन्छ । दिनभर राखेर बेलुका छाडिदिन्छ,’ अर्का पीडित धनुषाका अजय चौधरीले भने, ‘हामी स्वदेश फिर्न चाहन्छौं । तर सकिरहेका छैनौं ।’ अधिकांश कामदारले ४ देखि ५ हजार रियाल ९एक लाख ५० हजार रुपैयाँसम्म० तलब लिन बाँकी छ । उनीहरूले आफूहरूलाई उद्धार गरी स्वदेश पठाउन कतारको उच्च अदालत, श्रम विभाग र खोज तथा अनुसन्धान विभागमा समेत पुगेको बताए । ‘कतैबाट केही सहयोग पाइएको छैन । बस्न समस्या छैन तर खाना समस्या भइसक्यो,’ उनले भने,‘जेनतेन साथीभाईसँग सहयोग लिएर दैनिकी चलाउदै आएका छौं ।’ कतारस्थित नेपाली दूतावासले पीडित कामदारले समस्या समाधान गर्न कतार सरकारलाई आग्रह भइसकेको जनाएको छ । ‘पीडितको समस्या समाधान गर्न दूतावासले सम्बन्धित निकायलाई पत्र पठाइसकेका छौं,’ दूतावासका एक अधिकारीले भने,‘हाम्रो तर्फबाट पनि कामदार र कम्पनी प्रतिनिधिसँग समन्वय गरिरहेका छौं ।’ कम्पनी प्रतिनिधिले आर्थिक समस्या आएकाले कामदारलाई तलब भुक्तानी गर्न कठिनाई भएको र स्वदेश पठाउन नसकिएको जनाएको छ । दूतावासले स्वदेश फिर्नेलाई नेपाल पठाइदिन र कतारमै बस्न चाहनेलाई ‘रिलिज’ ९अर्को कम्पनीमा काम गर्न पाउने अनुमति० दिन कम्पनी प्रतिनिधिलाई अनुरोध गरेको छ । प्रतिनिधिले कामदारको इच्छा अनुसार स्वदेश पठाउन र कतारमै राख्न आफुहरू तयार भएको प्रतिबद्धता दिएको दूताबासले जनाएको छ । कान्तिपुर दैनिकबाट ।
मानव स्वास्थ्यमा गम्भिर खेलवाड, दर्ताविनै अस्पताल, अदक्षले गरे अप्रेसन
फाइल तस्बिर बुटवल । रूपन्देहीको लुम्बिनीस्थित एक अस्पतालमा अदक्ष व्यक्तिले बिरामीको अप्रेसन गरेका छन्। दर्तासमेत नभएको लुम्बिनी सांस्कृतिक नगरपालिकाको नैना अस्पतालले चिकित्सा क्षेत्रमा दक्षता नभएकाहरूबाटै अप्रेसन गराउने गरेको हो। जिल्ला जनस्वास्थ्य कार्यालय रूपन्देहीले बिहीबार अस्पतालमा छापा मारेको थियो। गैरकानुनीरूपमा अस्पताल सञ्चालन गरी बिरामीको जीवनमाथि खेलवाड भएको जानकारीपछि कार्यालयले छापा मारेको जनस्वास्थ्य कार्यालयका प्रमुख चूडामणि भण्डारीले जानकारी दिए। ‘हामीले छापा मार्दा अप्रेसन गरेका ६ जना बिरामी बेडमै सुतिरहेका थिए, उनले भने, ‘अदक्ष व्यक्तिबाट अप्रेसन हुने गरेको रहेछ।ु उनले अस्पताललाई कानुनअनुसार कारबाही गर्न प्रक्रिया अघि बढाएको बताए। लुम्बिनी, खुनगाईमा केही वर्षदेखि निजी लगानीमा उक्त अस्पताल खुलेको थियो। जनस्वास्थ्यले इलाका प्रहरी कार्यालय लुम्बिनीको सहयोगमा अस्पतालमा छापा मारेको थियो। जिल्ला जनस्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख भण्डारीले अस्पताल जनस्वास्थ्य कार्यालयमा दर्ता नभएको बताए। बिरामीको अप्रेसनसमेत गरिरहेको प्रत्यक्ष प्रमाणसहित फेला पारेकाले आवश्यक कारबाही अघि बढाइएको उनले बताए। अस्पतालमा जाँच गर्ने दक्ष स्वास्थ्यकर्मी, प्राविधिक तथा भौतिक सामग्रीविनाको अप्रेसन थिएटर बनाइएको थियो। जनस्वास्थ्यले छापा मार्दा अस्पतालमा कार्यरत डा। विद्या शुक्ला र डा। सुरज गिरी भागेको जनस्वास्थ्य कार्यालयले जनाएको छ। जनस्वास्थ्यको टोलीले अस्पताल सञ्चालक डा।जेपी शुक्लालाई भने हिरासतमा लिएको छ। अस्पतालको बेडमा रहेका ६ जना बिरामीलाई एम्बुलेन्समार्फत भीम अस्पताल भैरहवा ल्याइएको जनस्वास्थ्य प्रमुख भण्डारीले बताए। अन्नपूर्ण पोस्टबाट ।
अमेरिका हिँडेका ३ सय नेपाली मेक्सिकोमा अलपत्र, तस्करमार्फत २३ महिनामा मेक्सिकोसम्म
अमेरिका । अमेरिका प्रवेशको आशमा हवाई, स्थल र जलमार्ग हुँदै महिनौं लगाएर मेक्सिको पुगेका ३ सय बढी नेपाली अमेरिक र मेक्सिकोको सीमामा रोकिएका छन् । अमेरिकास्थित नेपाली दूतावासलाई प्राप्त जानकारी अनुसार मानव तस्करहरुको पछि लागेर उनीहरु २३ महिनामा त्यहाँ आइपुगेका हुन् । सामान्य पढे–लेखेकादेखि स्नातकोत्तर गरेकासम्मले अमेरिका आउन त्यस्तो बाटो रोजेका हुन् । उनीहरुले न्यूनतम ४० देखि अधिकतम ७५ लाख रुपैयाँसम्म खर्चेका छन् । सुरुमा २० देखि २५ लाख लाग्ने भन्ने तर पछि बाटोमा थप रकम माग्दै जानाले लागत रकम बढेको हो । त्रिविबाट स्नातकोत्तर गरेका तुल्सीपुर दाङका सुलभ भट्टराईले आफ्नो नाम सबै स्थानमा परिवर्तन गरेर आएको जानकारी दिए । उनले नागरिकतादेखि विद्यालय सर्टिफिकेटमा समेत नाम परिवर्तन गरेका छन् । उनी अमेरिका प्रवेश गरेको चार साता भइसके पनि उनकै टोलीमा रहेका कयौंले अमेरिका प्रवेश पाएका छैनन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीप्रति कडा नीति लिदैं मेक्सिकोको सीमामा समेत कडाइ गरेकाले नेपाली र अन्य मुलुकका गैरकानुनी प्रवेश गर्न चाहनेलाई असहज भएको हो । कान्तिपुर दैनिकबाट ।
विश्व अर्थतन्त्रमा बढ्दो ‘ट्रम्पफोविया’, विकासशील देशलाई घाटा हुने निश्चित
वासिङ्टन। ट्रम्पको नीतिले अमेरिकी अर्थतन्त्रमा सकारात्मक प्रभाव छोड्नेमा लगानीकर्ताहरूको विश्वास रहे पनि यसले विश्व अर्थतन्त्रलाई भने नकारात्मक प्रभाव पार्न थालेको छ। व्यापार वृद्धि कम भएको छ, चीन कठिन चरित्रको सुधार कार्यान्वयन गर्ने अवस्थामा देखिएको छ र युरोप पनि राजनीतिक अस्थायित्वको अवस्थाबाट गुज्रिरहेको छ। यदि ट्रम्पले चुनावी अभियानमा व्यक्त गरेका कुरा नै लागू गर्न खोजे यीमध्ये सबै समस्यालाई झनै खराब बनाउने निश्चित छ। विश्व वित्तीय संकटबाट गुज्रिएको आठ वर्ष पूरा भएको छ । अर्थशास्त्रीहरू अझै पनि यसलाई टेको दिनका लागि संघर्ष गरिरहेका छन्। तर विश्वको शक्तिशाली देश अमेरिकाको अर्थतन्त्र नै थरापमा पर्न सक्ने कतिपय विश्लेशकले विश्लेषण गर्न थालेका छन्। अन्तर्राष्ट्रिय मुद्रा कोषले आगामी वर्ष विश्वव्यापी वृद्धि ३.४ प्रतिशत मात्रै हुने अनुमान लगाएका छन्। वित्तीय संकटपछिको समयमा विश्वव्यापी अर्थतन्त्र ५ प्रतिशतको हाराहारीमा वृद्धि भइरहेको छ। ट्रम्पले स्वतन्त्र व्यापार सम्झौता खारेज गर्ने र चिनियाँ तथा मेक्सिकोको सामानमा ठूलो परिमाणमा भन्सार लगाउने बताउँदै आएका छन् । यसो गर्नाले विश्वव्यापी वृद्धि २.२ प्रतिशतमा झर्नेछ र अर्को वर्ष २ प्रतिशत मात्रै हुने अक्सफोर्ड इकोनोमिक्सले जनाएको छ। ट्रम्पले मेक्सिको र चीनको सामानमा उच्च दरमा भन्सार लगाएमा अमेरिकामा आयात गरिने सामानको औसत १५ प्रतिशतको वृद्धि हुने जनाइएको छ। ट्रम्पले एक चीन नीतिका बारेमा दिएको अभिव्यक्ति र ताइवानी नेतृसँग गरेको कुराकानीले प्रमुख कूटनीतिक विवाद चर्काएको छ । ताइवानलाई बेइजिङले आफ्नै शत्रु प्रान्त मान्दै आएको छ । यो मुठभेडको अडानले दुवै मुलुकले आर्थिक अनिश्चितताको सामना गरिरहेको अवस्थामा महत्वपूर्ण व्यापारिक सम्बन्धमा दरार ल्याउन सक्छ। हाल चिनियाँ निर्यात ओरालो लाग्दो अवस्थामा देखिएको छ । यदि ट्रम्पले चुनावी अभियानमा दिएका अभिव्यक्तिसरह भन्सार लगाएमा कम्पनीले आर्जन गर्दै आएको नाफा ओरालो लाग्न सक्छ । हाल चीनले निर्यात गरेको सामग्रीबाट १० प्रतिशतको मात्रै नाफा पाउने गरेको छ । यदि ट्रम्पको प्रस्तावित भन्सार लागू भएमा चिनियाँ जीडीपी ५ प्रतिशतमा झर्न सक्ने देखिएको छ । अमेरिकामा ट्रम्पको उदयवाट दक्षिण एसिया र नेपालमा पनि यसका बाछिटा आई राष्ट्रवादी धार प्रबल हुनसक्ने सम्भावना देखिएको छ । यसै सन्दर्भमा डोनाल्ड ट्रम्पको उदय र उनका नीतिका कारण विश्वको सबैभन्दा ठूलो, खुला र उदारवादी अर्थतन्त्रमा अहिलेको धारभन्दा विपरीत दिशामा नीतिगत परिवर्तन हुँदा यसले विश्व अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा विभिन्न अड्कलबाजी गरिएका छन् । संरक्षणवादी नीतिका कारण अन्तर्निर्भरतामा आधारित विश्व आर्थिक प्रणाली भत्किने र पुनः विश्वका राष्ट्रहरूबीच एकले जित्ने र अर्कोले हार्ने खेल (जिरो सम गेम) सुरु हुने सम्भावना पनि देखिएको छ, जसबाट कसैलाई फाइदा नहुने मात्र होइन, द्वन्द्व बढेर जाने र विश्वमा आर्थिक अस्थिरता पैदा भई आर्थिक संकटको अवस्था आउन सक्ने देखिन्छ । आफू पूर्ण प्रतिस्पर्धी हुन नसकेका विकासशील मुलुकलाई यसबाट नकारात्मक असर पर्न जान्छ र यसले विश्वको समग्र अर्थतन्त्रमा ठूलो प्रभाव पर्ने देखिन्छ । एजेन्सीहरुको सहयोगमा
तनहुँ जलविद्युत् आयोजनाको मुआब्जा वितरण, पहिलो दिन नै रु १७ करोड
काठमाडौं । तनहुँ जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रका बासिन्दालाई रु एक करोड २४ लाख ३२ हजार मुआब्जा वितरण गर्न थालिएको छ । आयोजनाले आजदेखि मुआब्जा वितरणको प्रक्रिया सुरु गरेको हो । पहिलो दिनमा नै १७ प्रभावित घर परिवारलाई कामु प्रजिअ फणीन्द्रमणि पोखरेलले जामुनेकी ५१ वर्षीया रामप्यारी रानाभाटलाई रु नौ लाख ५६ हजार ९०० वितरण गरेर थालनी गर्नुभयो । आयोजना प्रभावितलाई निरन्तर रुपमा मुआब्जा वितरण गरिने आयोजनाका सञ्चारविज्ञ सचेन गौतमले राससलाई जानकारी दिए । कुल १४० मेगावाट क्षमताको सो आयोजनाका लागि प्रभावित क्षेत्र घरजग्गा, टहरा, रुखबिरुवा, फलफूल तथा खेत गरी एक हजार दुई सय २२ रोपनी जग्गाधनीलाई मुआब्जा वितरण गरिने छ । आयोजनाबाट तनहुँका भीमाद, कोटदबार, व्यास नगरपालिका, जामुने भन्ज्याङ, छाङ, रिसिङ, रानीपोखरी, माझकोट, काँहुशिवपुरलगायत क्षेत्र प्रभावित हुनेछन् । आयोजनाले न्यूनतम रु दुई लाखदेखि अधिकतम रु आठ लाखसम्म मुआब्जा वितरण गर्ने तयारी गरेको छ । पाखोबारी तथा खेतको फरक फरक मूल्य निर्धारण गरिएको छ । यसैबीच आयोजना निर्माणका लागि आज नै अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको छ । आउँदो अक्टोबर(असोज–कात्तिक)सम्ममा ठेक्का सम्झौता गरेर आयोजनास्थलमा ठेकेदार परिचालन गर्ने तयारी आयोजनाको छ । पहिला खण्डमा आयोजनाको मुख्य बाँध तथा नदी फर्काउनका लागि अस्थायी बाँध निर्माण र दोस्रामा विद्युत्गृह, सुरुङ निर्माणका अतिरिक्त हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल उपकरण आपूर्तिका लागि बोलपत्र आह्वान गरिएको सञ्चारविज्ञ गौतमले जानकारी दिए । पहिला चरणमा आयोजनाको मुख्य बाँध र नदी फर्काउनका लागि अस्थायी बाँध निर्माणका लागि भारतको जयप्रकाश एसोसिएट्स लि, सोङदा कर्पोरेसन, कालिका कन्ट्रक्सन जेभी, एससिसी डोकास इन्ट्रिगे्रडेड, चाइना गेजुवा ग्रुप लि र सिएमसी डी रेभेना इटालीले प्रतिस्पर्धामा भाग लिन पाउनेछन् । त्यसमा एसियाली विकास बैंक र युरोपियन इन्भेस्टमेन्ट बैंकको लगानी हुनेछ । यस्तै दोस्रा चरणमा विद्युत्गृह, सुरुङ निर्माण तथा हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्तिका लागि एससिसी हिन्दूस्तान कन्ट्रक्सन कम्पनी लि, सिनो हाइड्रो कर्पोरेसन र सिएमसी डी रेभेन बोलपत्रमा भाग लिनका लागि छनोट भएका छन् । यसमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को लगानी हुनेछ । यस्तै तेस्रा चरणमा प्रसारण लाइन तथा सबस्टेसन निर्माण र १७ गाविसमा विद्युतीकरणको पूर्वाधार तयारीको योजना छ । सोअन्तर्गत प्रसारण लाइनको क्षेत्र निर्धारणको काम सकिएको छ । सन् २०१७ देखि निर्माण सुरु भई सन् २०२२ सम्म आयोजना सम्पन्न हुने गरी कार्ययोजना तयार भएको छ । आयोजनाको कुल लागत रु ५० अर्ब रहेको छ । आयोजनाबाट वार्षिक ५९ करोड युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ । रासस
एभरेष्ट बैंकलाई आस्वा सदस्यता प्राप्त, सम्पूर्ण शाखाबाट सेवा लिन सकिने
काठमाडौं । एभरेष्ट बैंकलाई नेपाल धितोपत्र बोर्डले धितोपत्र खरिद सम्बन्धी निर्देशिका २०७३ बमोजिम आस्वा सदस्यता प्रदान गरेको छ । यस प्रणालीबाट शेयर कारोबार गर्दा लगानी गरेको रकम लगानीकर्ताको खातामा नै रोक्का हुन्छ भने शेयर बाँडफाँड पश्चात् खाताबाट आवश्यक रकम कट्टा गरी बाँकी रकम खातामा फुकुवा गरिन्छ । बैंकले आस्वा सदस्यताअनुसार आफ्ना ग्राहकहरुलाई आफ्नो सम्पूर्ण शाखाहरुबाट सेवा प्रदान गर्ने छ । उक्त सेवा उपलब्ध गराएबापट बैंकले प्रति दरखास्त रु १०० मात्र शुल्क लिनेछ । एभरेष्ट बैंकले हाल आफ्ना ६१ वटा शाखाहरु, ५ एक्सटेन्सन काउन्टर, २४ राजस्व संकलन काउन्टर र ८५ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
१२ वटा बाणिज्य बैंकले बढाए प्रति सेयर आम्दानी, १४ वटाले घटाए
काठमाडौं । पुस मसान्तसम्ममा १२ वटा बाणिज्य बैंकहरुले प्रति सेयर आम्दानी बढाएका छन् । त्यस्तै १४ वटै बाणिज्य बैंकहरुको प्रति सेयर आम्दानी घटेको छ । ठुला बैंकका रुपमा रहेका स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंक र एभरेष्ट बैंक भने प्रति सेयर आम्दानी बढाउन असफल भएका छन् । सबै भन्दा धेरै ५८ रुपैंयाँ ३१ पैसा प्रति सेयर आम्दानी नेपाल बैंकले गरेको छ । दोश्रो स्थानमा रहेको नबिल बैंकले ५६ रुपैंयाँ ८९ पैसा प्रति सेयर आम्दानी गरेको छ । यद्यपी यो आम्दानी गत आवको पुस मसान्तको भन्दा कम हो । सो अवधीमा नविलको प्रति सेयर आम्दानी ५७ रुपैंयाँ ५० पैसा थियो । त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रति सेयर आम्दानी पनि ५४ रुपैंयाँ ४५ पैसाबाट ३९ रुपैंयाँ ४८ पैसामा झरेको छ । एभरेष्ट बैंकको पनि ५७ रुपैंयाँ ४८ पैसाबाट घटेर ४२ रुपैंयाँ ९३ पैसामा झरेको छ ।उता, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक, एनएमबी बैंक लगायतले भने प्रति सेयर बढाएका छन् । यी हुन प्रति सेयर आम्दानी बढाउन असफल बैंक नविल, स्ट्याडर्ड चार्टर्ड, एभरेष्ट, प्रभु, सानिमा, सिद्धार्थ, सिटिजन्स, एनसीसी, सिभिल, सेञ्चुरी, नेपाल एसबिआई, हिमालयन र एनआइसी एसिया, प्राइम कमर्सियल बैंक यी हुन प्रति सेयर आम्दानी बढाउने बैंक नेपाल इन्भेष्टमेन्ट, ग्लोबल आइएमई, कुमारी, माछापुछ्रे, मेगा, जनता, कृषि विकास बैंक, नेपाल बैंक, लक्ष्मी बैंक, एनएमबी, सनराईज र नेपाल बंगलादेश बैंक