विज्ञ भन्छन्- राष्ट्र बैंक असफल भयो, अब बैंकले लगानी गर्न सक्दैनन्
काठमाडौं । बजारमा लगानी योग्य पूँजीको अभाव व्यवस्थापनमा नेपाल राष्ट्र बैंक पूर्णतः असफल भएको विज्ञहरुले आरोप लगाएका छन् । शुक्रबार राजधानीमा इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनामिक रिसर्च(आइएसएसआर)ले आयोजना गरेको कार्यक्रममा विज्ञहरुले राष्ट्र बैंकको असफलताका कारण बजारमा लगानी योग्य पूँजीको अभाव देखिएको आरोप लगाएका हुन् । कार्यक्रममा प्रा.डा विश्वम्बर प्याकुरेल, प्रा.डा। गोविन्द नेपाल, नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक रविन्द्र पाण्डे लगायतले वित्तिय क्षेत्रको व्यवस्थापनमा राष्ट्र बैंक असफल भएको बताएका हुन् । प्रा.डा प्याकुरेलले बाणिज्य बैंकहरुले तीन महिना अघि नै अधिक कर्जा लगानीबारे केन्द्रिय बैंकलाई जानकारी दिँदा पनि अनुगमन नगरेकोले अहिलेको अवस्था आएको बताए । उनले भने–‘यतिबेला राष्ट्र बैंकको क्षमतामा प्रश्न उठेको छ, तरलताको व्यवस्थापन गर्न नसक्न अर्थतन्त्र अस्तव्यस्त भएको छ ।’ उनले विगत २ बर्षमा ७० अर्ब ४२ करोड नेपाली रुपैयाँको विदेशी मुद्रा खरिद गरिएकाले पनि लगानी योग्य पूँजीको अभाव बढेको बताए । त्यस्तै पछिल्लो ४ महिनामा मात्रै १३ अर्ब ७५ करोड रुपैंयाँ विदेशी मुद्रामा लगानी भएको उनले दावी गरेका थिए । अर्का प्राध्यापक डाक्टर गोविन्द नेपालले पनि राष्ट्र बैंकको नियमन क्षमतामा प्रश्न उठेको बताए । उनले लगानी योग्य पूँजीको अभाव हुनुमा न्युन पूँजीगत खर्च पनि कारक रहेको बताए । प्रधानमन्त्री कार्यालयमा ६७ अर्ब पूँजीगत खर्चका लागि बजेट विनियोजन भएको तर त्यसको एक प्रतिशत पनि खर्च हुन नसकेको पनि उनको भनाई थियो । राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक रविन्द्र पाण्डेले बैंकहरु कर्जा लगानी गर्नै नसक्ने अवस्थामा पुगिसकेको बताए ।‘अहिले सीडी रेसियो ८८ र सिसिडी रेसियो ८० प्रतिशत पुगिसकेको छ, बैंकहरु कर्जा लगानी गर्नै नसक्ने अवस्थामा पुगिरहेका छन, केन्द्रिय बैंक अझै कर्जा लगानीले सिमा नाघेको छैन भनेर बसिरहेको छ’, पाण्डेले भने । आइएसएसआरले लिक्वीडीटी क्रन्च नभएर क्रेडिट क्रन्च मात्रै भएको निष्कर्ष पनि निकालेको छ ।
एनसीसी बैंकको सेयर कारोबार कहिले खुल्छ ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डले बैंक तथा वित्तिय संस्था मर्ज भएर एकिकृत कारोबार सुरु लगत्तै सेयर कारोबार खुल्ला गर्न निर्देशन दिएको थियो । तत्कालै सेयर कारोबार खुल्ला गर्न नसके पनि अधिकतम १५ दिनभित्रै सेयर कारोबार खुलाउनु पर्ने भनेको थियो । तर एनसीसी बैंकले एकिकृत कारोबार सुरु गरेको एक महिना भन्दा बढि समय भैसक्दा पनि सेयर कारोबार खुल्ला गरेको छैन् । एनसीसी बैंकले मर्जरपछि पुस १७ देखि एकिकृत कारोबार आरम्भ गरेको थियो । एनसीसी बैंकको सेयर कारोबार कहिले खुल्छ भन्ने प्रश्नको जवाफमा बैंकको उच्च श्रोतले भन्यो-‘हामी अन्तिम तयारीमा जुटेका छौं, फागुन १५ गतेभित्रै सेयर कारोबार खुल्छ ।’एनसीसीमा इन्टरनेशनल डेभलपमेन्ट बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र एपेक्स डेभलपमेन्ट बैंक मर्ज भएका थिए । मेगा(धेरै संस्था) मर्ज भएकाले पनि सेयर कारोबार खुल्ला गर्न समय लागेको बैंकको उच्च व्यवस्थापन श्रोतले बतायो । ‘हाम्रै मात्रै थियो भने सेयर कारोबार खुल्ला गर्नु कुनै असहज कुरा थिएन तर हामी धेरै संस्था मर्ज गरेर अघि बढेका छौं, ८६ हजार त सेयरधनी छन, यसको मिलान सहज थिएन’, श्रोतले भन्यो । बैंकले फागुन १२ देखि १५ गतेको बिचमा सेयर कारोबार खुल्ला गर्ने गरि तयारी गरिरहेको हो । उता, नेपाल धितोेपत्र बोर्डका प्रवक्ता निरज गिरिले चाडोँ सेयर कारोबार खुलाउन निर्देशन दिईसकेको बताए । ‘उनीहरुले सेयर कारोबार खुलाउने तयारी गरिरहेको बताएका थिए, हामीले चाँडै गर्नुस भनेर निर्देशन दिईसकेका छौं’, धितोपत्र बोर्डका प्रवक्ता गिरिले विकासन्युजसँग भने ।
कृषकलाई ५० प्रतिशतसम्म अनुदान दिने, आधुनिक कृषि औजार प्रयोग गर्न जोड
काठमाडौं । सरकारले आधुनिक कृषि औजार प्रयोग गरी कृषि पेसालाई बढवा दिने कृषकलाई ५० प्रतिशतसम्म अनुदान दिने तयारी गरेको छ । शुक्रबार नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घ, फ्युचर एक्स प्रालि र मिडिया स्पेस सोलुसन प्रालिले संयुक्त रुपमा गरेको प्रथम अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा कृषि विकास मन्त्री गौरीशङ्कर चौधरीले कृषिलाई आधुनिकीकरण गर्न नसक्दासम्म देश कृषि पेसामा आत्मनिर्भर बन्न नसक्ने बताए । उनले युवा पुस्तालाई आधुनिक रुपमा कृषि पेसामा लाग्न आग्रह गरेका छन्। कृषि विकास मन्त्रालयका निमित्त सचिव ईश्वरी रिजालले उद्यमशील व्यक्ति सक्रिय भई स्वदेशमा नै यस्ता यन्त्र उत्पादनतर्फ लाग्नुपर्नेमा जोड दिए । नेपाल कृषि मेसिनरी व्यावसायिक सङ्घका अध्यक्ष स्वयम्भू कृष्ण श्रेष्ठले कृषिमा उत्पादन र उत्पादकत्व बढाउनका लागि कृषिलाई यान्त्रीकरण गर्नुपर्ने बताए । कृषि इन्जनियरिङ निर्देशनालयका कार्यक्रम प्रमुख मधुसूदन बस्नेत, नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्ट र मिडिया एक्स सोलुसन प्रालिका प्रबन्ध निर्देशक सृजल भट्टराईले अबका दिनमा साना र सीमान्तकृत वर्गलाई सरकारले समेटेर अघि बढ्नुपर्नेमा जोड दिए । तीन दिनसम्म चल्ने सो प्रदर्शनीमा भारत, मलेसिया, चीनलगायत १६ वटा देशका विभिन्न किसिमका कृषि यन्त्र, पोल्ट्रीका सामग्री र थोपा सिँचाइबारे जानकारी गराउने २०० भन्दा बढी कक्ष राखिएको छ । दुई लाखभन्दा बढीले प्रदर्शनीको अवलोकन गर्ने बताइएको छ । रासस
आशा लघुवित्तको थप दुई शाखा रुपन्देही र कपिलबस्तु जिल्लामा
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले एकै पटक आफ्नो २ वटा शाखा कार्यालयको स्थापना गरेको छ । बैंकले रुपन्देहीको सेमरा र अर्को कपिलबस्तुको बनगाईमा गरि दुई शाखा कार्यालय स्थापना गरेको बैंकले जनाएको छ । रुपन्देही शाखाको उदघाटन बैंक संचालक शंकरप्रसाद कालीकोटाले र कपिलबस्तु शाखाको उद्घाटन बैंकका संचालक खगेन्द्र भट्टचनले गरेका छन् । सो कार्यक्रमहरुमा संचालक निर्गुण प्रसाद भट्टचन, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, प्रहरी, शिक्षक, समाजसेवी, स्थानिय, संस्थाका महिला सदस्यहरुको उपस्थिती रहेको थियो । यस राष्ट्रिय स्तरको वित्तिय संस्थाले न्यून आय भएका तथा विपन्न वर्गका महिलाहरुलाई व्यवसाय सञ्चालन गर्न लघुवित्त सेवा उपलब्ध गराउने जनाएको छ । साथै सदस्यहरुलाई उद्यमशिल बनाई उनीहरुको सामाजिक तथा आर्थिक स्तर बृद्धि गर्नको लागी यो संस्थाले रुपन्देही र कपिलबस्तु जिल्लाहरुमा शाखाकार्यालयहरु खोलेको बैंकले जनाएको छ । साथै संस्थाको धादिङ्ग, सुनसरी तथा अन्य स्थानहरुमा पनि छिटै शाखाहरु विस्तार गर्ने योजना रहेको छ ।
नेपाल भित्रिने रेमिटेन्सको वृद्धिदर घट्यो, अर्थतन्त्रलाई ठुलो चुनौती
काठमाडौं । नेपाल भित्रिने रेमिटेन्सको वृद्धिदर खुम्चिएको छ । चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा नेपाल भित्रिने रेमिटेन्स वृद्धिदर ५ दशमलब ७ प्रतिशतमा खुम्चिएको हो । पुस मसान्तसम्ममा ३४२ अर्ब २३ करोड रेमिटेन्स नेपाल भित्रिएको छ । अघिल्लो आवको सोही अवधीमा रेमिटेन्स वृद्धिदर १७ दशमलब ३ प्रतिशतले बढेको थियो । रेमिटेन्स आगमनको वृद्धिदर खुम्चिएपछि अर्थतन्त्रमै धक्का लाग्ने आंकलन गर्न थालिएको छ । पुस मसान्तसम्ममा खुद ट्रान्सफर आय पनि ५ दशमलब ६ प्रतिशतले वृद्धि भई ३९९ अर्ब ९८ करोड मात्रै पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २० दशमलब ५ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकहरुको संख्यामा कमी आएको रेमिटेन्स आगमनको वृद्धिदर घटेको हो । अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या आर्थिक वर्ष २०७३/७४ को छ महिनामा गत वर्षको सोही अवधिको तुलनामा ९ दशमलब ९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २२ दशमलब ५ प्रतिशतले घटेको थियो ।
सिद्धार्थ डेभलपमेन्ट बैंकको नयाँ शाखा गुल्मीको तम्घास बजारमा
काठमाडौं । सिद्धार्थ डेभलपमेन्ट बैंक लिमिटेडले शुक्रबारदेखि गुल्मी जिल्लाको तम्घास बजारमा आफ्नो ३५ औँ नयाँ शाखा कार्यालय विस्तार गरेको छ । बैंकले आफ्नो सेवा विस्तार गर्दै जाने उद्देश्यले उक्त स्थानमा नयाँ शाखा विस्तार गरेको हो । उक्त शाखाको उद्घाटन बैंकका सञ्चालक समिति अध्यक्ष रामबहादुर भण्डारीले गरेका छन् । उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले बैंकले आगामी दिनमा देशका विभिन्न स्थानमा शाखा कार्यालय विस्तार गर्ने बताएका छन् । साथै, उनले ग्रामिणमुखी र आधुनिक एवं स्तरीय बैंकिङ् सेवा प्रदान गरी राष्ट्रिय अर्थतन्त्रको विकासमा टेवा पुर्याृन बैंक प्रतिबद्ध रहेको जानकारी गराएका छन् । पुस मुसान्तसम्ममा बैंकले १४ अर्ब २१ करोड निक्षेप संकलन गरि १२ अर्ब १९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । सोही अवधिसम्ममा बैंकले १८ करोड ६८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मूल्य वृद्धि ३.२ प्रतिशतमा झर्यो, काठमाडौं सबैभन्दा सस्तो
काठमाडौं । गएको वर्षको पुसमा सबैभन्दा उच्च रहेको मूल्य वृद्धि यस वर्षको पुससम्म आइपुग्दा स्वात्तै तल झरेको छ । गत वर्षको पुसमा १२.१ प्रतिशत रहेको मूल्य बृद्धि एक वर्षमा ३.२ प्रतिशतमा ओर्लिएको हो । चालु आवको पुस महिनामा समग्र खाद्य मूद्रास्फीति ऋणात्मक रहेको छ । गत वर्षको ६ महिना लामो सीमा नाका बन्दका कारण आपूर्ति व्यवस्था सहज नहुँदा पुस महिनामा वर्षभरिकैभन्दा वस्तुहरूको मूल्य उकालो लागेको थियो । तर, अहिले आपूर्ति व्यवस्थामा सुधार आउनुका साथै भारतीय बजारमा समेत वस्तु तथा सेवाको मूल्य घटेका कारण नेपाल पनि वस्तुहरू सस्तो भएका हुन् । समीक्षा अवधिमा खाद्यन्नको मूल्य बृद्धि शुन्य दशमलव ७ प्रतिशतले ऋणात्मक रहेको छ । गएको वर्षको सो अवधिमा खाद्यन्न १५.२ प्रतिशत रहेको थियो । उक्त समूहअन्तर्गतको घ्यू तथा तेलको मूल्यमा १३.२ प्रतिशत, दलहन तथा गेडागुडीको मूल्यमा ६.६ प्रतिशत, तरकारीको मूल्यमा ३.९ प्रतिशत, फलफूलको मूल्यमा २ प्रतिशतले ऋणात्मक रहेको छ । त्यसैगरी मासु तथा माछाको मूल्यमा १.७ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको मूल्यमा १.२ प्रतिशतले कमी आएकोले छ । समीक्षा अवधिमा चिनी तथा चिनीजन्य पदार्थको मूल्य १५ प्रतिशत र मदिराजन्य पेय पदार्थको मूल्य ११.२ प्रतिशतले वृद्धि भएको छ । यस वर्षको पुससम्मको अवधिमा गैर-खाद्य मूल्य वृद्धि ६.२ प्रतिशत रहेको छ । गएको वर्षको सोही अवधिमा गैर–खाद्य वस्तुका मूल्य बृद्धि ९.७ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतको लत्ताकपडा तथा जुत्ता, घरायसी सामान तथा सेवा र शिक्षालगायतको मूल्यवृद्धि गएको वर्षको तुलनामा न्यून रहेको छ । क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा काठमाडौं उपत्यकामा सबैभन्दा कम १.९ प्रतिशत मूल्य बृद्धि रहेको छ । तराईमा २.८ प्रतिशत, हिमालमा ४.२ प्रतिशत र पहाडमा ५.७ प्रतिशत मूल्य बृद्धि रहेको छ । गएको वर्षको सोही अवधिमा मूल्य वृद्धिदर पहाडमा १२.१ प्रतिशत, हिमालमा १० प्रतिशत, तराईमा १०.७ प्रतिशत र काठमाडौं उपत्यकामा १३.८ प्रतिशत रहेको थियो । गत वर्ष यस वर्षको पुस महिनाको तुलनात्मक मूल्य बृद्धि: वस्तु २०७३ पुस २०७२ पुस दालहन तथा गेडागुडी – ६.६ ४६.९ घ्यू तथा तेल – १३.९ ३१.३ मसला – ५.८ १७.६ मासु तथा माछा – १.७ १६.८ फलफूल – २ १ ३.१ खाद्य तथा खाद्यजन्य पदार्थ – १.२ १३.१ दुग्धजन्य पदार्थ तथा अण्डा – २.९ १२.९ तरकारी – ३.९ ११.४ स्रोतः नेपाल राष्ट्र बैंक
सानिमा बैंकको ४४औँ शाखा कालिकोटमा
काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्नो ४४औँ शाखा कार्यालय कालिकोटमा सञ्चालन गरेको छ । बैंकले यूके एडद्धारा प्रवद्र्धित सक्षम परियोजना(एक्सेस टु फाइनान्स)को सहकार्यमा उक्त शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा बिस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन सानिमा बैंकका ब्य्रान्ड प्रवद्र्धक हरिवंश आचार्यले गरेका छन् । सानिमा बैंकका संचालक समितीका सदस्य भरतकुमार पोखरेल तथा प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले यस कालिकोट शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । यस समारोहमा हरिवंश आचार्यले कालिकोटमा सानिमा बैंक संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सानिमाको सफलता तथा सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन शभकामना व्यक्त गरेका छन् । बैंकको उक्त शाखा सहित ४४ वटा शाखा संजाल तथा ५० वटा ए.टि.एम. सञ्चालनमा रहेका छन् ।