विकासन्युज

कतार एयरवेयद्धारा विश्वकै सबैभन्दा लामो व्यवसायिक उडान शुरु

काठमाडौं । कतार एयरवेयले विश्वकै सबैभन्दा लामो व्यवसायिक उडान शुरु गरेको छ । यो उडान कतारको दोहादेखि औकल्याडसम्मको रहेको कम्पनीको प्रबक्ताले बताएका छन् । बोइङ ७७७को क्वीआर९२० फ्लाईट सोमबार स्थानीय समय अनुसार ५ बजे दोहाबाट उडेको जहाज १६ घण्टा २० मिनेटदेखि १७ घण्टा ३० मिनेटको अवधिमा औकल्याण्डमा अवतरण गर्ने अनुमान गरिएको छ । यस उडानले  पाँच देशको आकाशमा १४ हजार ५३५ किलोमिटर दुरी पार गर्नेछ । उडान ट्रायकिङ गर्ने वेवसाइट फ्लाईटर्याडर२४ का अनुसार यात्रुसहित व्यवसायिक रुपमा गरिएको यो सबैभन्दा लामो दूरीको उडान हो । सो उडानमा ५ जना पाइलट, १५ जना सहयोगि कर्मचारी रहेको उक्त उडानमा कति यात्रु उडेका छन् भन्ने कम्पनीले सार्वजनिक गरेको छैन । एजेन्सी

डाबर च्यवनप्राश स्कुल इम्युनो च्याम्पमा ६ विद्यालयहरू विजेता घोषित

काठमाडौं । डाबर नेपालको उत्पादन ‘डाबर च्यवनप्राश’ले जाडो मौसमलाई लक्षित गरी प्रस्तुत गरेको काठमाडौँ उपत्यकाव्यापी कार्यक्रम डाबर च्यवनप्राश स्कुल इम्युनो च्याम्प २०१६ को समापन गरेको छ । काठमाडौँ उपत्यकाका तीन क्षेत्रहरू काठमाडौँ पूर्व र भक्तपुर, काठमाडौँ पश्चिम, र ललितपुर गरी प्रत्येक क्षेत्रबाट २–२ वटा विद्यालयहरू विजेता घोषित गरिएका छन् । काठमाडौँ पूर्व र भक्तपुरबाट ग्यालेक्सी पब्लिक स्कुल र रिलायन्स इन्टरनेशनल एकेडेमी, काठमाडौँ पश्चिमबाट नेपाल ए.पि.एफ. स्कुल र होली भिजन स्कुल तथा ललितपुरबाट डि.ए.भि. सुशील केडिया विश्व भारती स्कुल र प्रिमियर इन्टरनेशनल स्कुल विजेता घोषित गरिएका छन् । विजयी स्कुललाई डाबर नेपाल तथा अस्पताल पार्टनर वयोधा अस्पतालका प्रतिनिधिहरूले उपहार प्रदान गरेका छन् । शरीरको आन्तरिक शक्ति, स्वास्थ्यकबद्र्धक खानेकुरा र विशेष गरी बालबालिकामा जाडो याममा आन्तरिक शक्तिको कमी आउने हुनाले सो विषयमा सूचना तथा ज्ञान दिने हेतुले डाबर च्यवनप्राशले १ महिना लामो कार्यक्रम ३१ वटा विद्यालयहरूमा सञ्चालन गरेको थियो । बालबालिकाको उचाई र वजन मापन गरी बडी मास इन्डेक्स, विद्यालयको सरसफाइ तथा खानेकुरा, आदिका आधारमा विजेताहरू घोषणा गरिएका हुन् । त्यसै गरी कार्यक्रम सञ्चालन भएका विद्यालयहरूबाट न्याना प्रयोग गर्न सकिने लुगाहरूको सङ्कलन गरी डाबर च्यवनप्राशले सोही बराबरको नयाँ लुगा थप गरी सि.एन.एन. सुपर हिरो पुष्पा बस्नेतलाई यस अघि नै न्याना लुगाहरू हस्तान्तरण गरिसकेको छ । सो कपडाहरू देशभरिका कारागारहरूमा रहेका बालबालिकालाई वितरण गरिनेछ । डाबर नेपालका बजार–व्यवस्थापन प्रमुख अभयप्रसाद गोर्खालीले भने, “डाबर च्यवनप्राश स्कुल इम्युनो च्याम्प २०१६ कार्यक्रमबाट हामीले १३ हजारभन्दा बढी विद्यार्थीसँग अन्तरक्रिया गर्ने मौका पायौँ । भाग लिने ३१ वटा यी स्कुलहरूको उत्साहकै कारण हामीलाई आउँदा दिनहरूमा काठमाडौँ उपत्यकाबाहिर पनि यो कार्यक्रम लिएर जाने प्रेरणा प्राप्त भएको छ ।”

बूढीगण्डकी जलविद्युत् आयोजनाले पहिलो चरणमा पाँच अर्ब बढी मुआब्जा वितरण गर्ने

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरण गर्न लागिएको छ । धादिङ तथा गोरखाका जिल्ला प्रशासन कार्यालयले मुआब्जा वितरणका लागि रु पाँच अर्ब ५० करोड प्राप्त भएको जनाएको छ । बूढीगण्डकी जलविद्युत् आयोजना विकास समितिले कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत मुआब्जा वितरणका लागि पहिलो चरणमा उक्त रकम प्रदान गर्न केही दिन पहिले अख्तियारी दिएको थियो । गोरखाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले रु दुई अर्ब २५ करोड रकम मुआब्जाका लागि प्राप्त भएको जानकारी दिँदै निवेदन दिएका प्रभावितलाई वितरणको अन्तिम तयारी गरिएको बताए । गोरखाका घ्यालचोक, भुम्लीचोक, दर्बुङ गाविसका लागि पहिलो चरणमा मुआब्जा वितरणको प्रक्रिया सुरु गर्न लागिएको उनले बताए । प्रजिअ बस्नेतले पाँच सयको हाराहारीमा मुआब्जा पाऊँ भनी प्रशासन कार्यालयमा निवेदन दर्ता भएको र ती निवेदनमाथि छानबिनको क्रम अन्तिममा पुगेकाले केही दिनभित्रै वितरण सुरु गरिने उल्लेख गरे । तीन गाविसको करिब दुई हजार बढी प्रभावितले मुआब्जा लिनुपर्ने भए पनि कमैको मात्र निवेदन परेको छ । धादिङका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले मुआब्जा वितरणका लागि रु दुई अर्ब ५० करोड प्राप्त भएको र निवेदन आउने क्रम पनि जारी रहेको बताए । पहिलो चरणमा धादिङको सलाङ, मैदी र खरी गाविसका प्रभावितलाई मुआब्जा वितरण गर्ने तयारी गरिएको छ । करिब चार हजार रोपनी जमिनको मुआब्जा वितरणको प्रक्रिया अगाडि बढाउने आयोजनाको तयारी छ । गोरखा जिल्ला प्रशासन कार्यालयले गत मङ्सिर ११ गते विभिन्न ११ खण्डमा मुआब्जा वितरणको आधार तयार पारेको थियो । न्यूनतम रु पाँच लाख २५ हजारदेखि अधिकतम रु आठ लाख ३५ हजारसम्म मुआब्जा लिन पाउने गरी निर्णय गरिएको थियो । यस्तै धादिङ जिल्ला प्रशासन कार्यालयले पनि गत पुस १९ गते मुआब्जा वितरण मापदण्ड तय गरेको थियो । धादिङको खहरेबजार र गोरखाको आरुघाट बजारको मात्रै मुआब्जा निर्धारण गरिएको छैन । बजार क्षेत्र भएकाले ती दुई स्थानको केही समयपछि मात्रै मुआब्जा निर्धारण गरिने बूढीगण्डकी जलविद्युत् आयोजनाले जनाएको छ । आयोजनाका कार्यकारी निर्देशक गोपाल बस्नेतले मुआब्जा वितरणका लागि दुवै जिल्ला प्रशासन कार्यालयले आवश्यक तयारी गरेको जानकारी दिए। उनले चालु आवको बजेटअनुसार नै पहिलो चरणमा रु पाँच अर्ब ५० करोड रकम मुआब्जाका लागि पठाइएको बताए । आयोजनाबाट धादिङ र गोरखाका २७ गाविस प्रभावित हुनेछ । कुल एक हजार दुई सय मेगावाट क्षमताको उक्त आयोजनाको विस्तृत आयोजना प्रतिवेदन तथा वातावरणीय प्रभाव मूल्याङ्कन लगायतका प्राविधिक काम भइसकेको छ । यस्तै आयोजनाका लागि नेपाल आयल निगमले भन्सार बिन्दुमा नै लगाएको पूर्वाधार शुल्कबाट हालसम्म रु तीन अर्ब ४० करोड रकम सरकारी खातामा जम्मा भइसकेको छ । आयोजनालाई सरकारले आफ्नै लगानीमा निर्माण गर्ने जनाएको छ । बूढीगण्डकी सरोकार समितिका अध्यक्ष हरेराम ढकालले भने मुआब्जा पुनरावलोकनका लागि आफूहरुले गृह मन्त्रालयमा निवेदन दिएको र त्यसको सुनुवाइ हुनुपर्ने बताए । गृहमन्त्रालयले भने मुआब्जाका बारेमा के भएको हो र कसरी समस्याको निरुपण गर्न सकिन्छ भन्ने बारेमा राय पठाउन गोरखा जिल्ला प्रशासन कार्यालयलाई केही दिनपहिले पत्राचार गरेको छ । ऊर्जा मन्त्रालयले भने मुआब्जा वितरण गर्न संयोजक नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पु¥याएको र चालु आवमा नै आयोजना सुरु गर्ने जनाएको छ । रासस

सिद्धार्थ बैंक, पोखरा फाइनान्स र रिद्दी हाईड्रोको ८४ लाख ८९ हजार कित्ता सेयर सूचिकरण, आपूर्ति बढेकोले मूल्य घट्न सक्ने

काठमाडौं । आईतबार तीन कम्पनीको ८४ लाख ८९ हजार १५६ कित्ता सेयर नेपाल स्टक एक्चेञ्जमा सूचिकृत भएको छ । नेप्सेका अनुसार सिद्धार्थ बैंकले निष्काशन गरेको ७५ लाख ५५ हजार १९३ कित्ता हकप्रद सेयर सूचिकरण भएको छ । त्यस्तै, पोखरा फाइनान्सको ६ हाल ६३ हजार १० कित्ता बोनस सेयर पनि नेप्सेमा सूचिकरण भएको छ । आइतबार नै रिद्दी हाईड्रोपावर कम्पनीले निष्काशन गरेको २ लाख ७० हजार ९५३ बोनस सेयर सूचिकरण भएको छ । सेयर सूचिकरणसँग आपूर्ति तथा बिक्री चाप बढ्ने भएकाले यी कम्पनीको सेयर मूल्यको केही गिरावट आउन सक्नेछ ।

विश्वका ठूला अर्थतन्त्रमा पहुँच बढाउँदै नेपाली उत्पादन, सात देशका १६ शहरमा नेपाली उत्पादनका छुट्टै बिक्री स्थल राखिदैँ

काठमाडौं । अमेरिका, चीन, भारत र जापान जस्ता ठुला अर्थतन्त्र भएका मुलुकका बिभिन्न शहरहरुमा नेपाली उत्पादनहरुको छुट्टै बिक्रि कक्ष स्थापना हुने भएको छ । यसले विश्वका ठुला अर्थतन्त्र भएका मुलुकहरुमा नेपाली उत्पादनको पहुँच विस्तारमा सघाउ पुर्याउने छ । उद्योग मन्त्रालयको पहलमा अमेरिका, चीन, जापान, भारत, याङगुन, म्यान्मार र कोरियाका १६ शहरमा नेपाली उत्पादनका छुट्टै बिक्रि कक्ष सञ्चालनमा आउन लागेका हुन् । काठमाडौं महानगरपालिकाको भगिनी सम्बन्ध स्थापित शहरहरुमा त्यस्ता बिक्रि कक्ष स्थापना गर्ने सम्बन्धी सम्झौतामा उद्योग मन्त्रालय र महानगरपालिकाबिच सम्झौता भएको हो । सो सम्बन्धी सम्झौता पत्रमा उद्योग मन्त्रालयका तर्पmबाट सह सचिव दिनेश घिमिरे र काठमाडौं महानगरपालिकाका  महानगरपालिकाका कार्यकारी प्रमुख रुद्र सिं तामाङ्गले हस्ताक्षर गरेका हुन् । सहमती अनुसार काठमाडौं महानगरपालिकाको भगिनी सम्वन्ध स्थापना भएका शहरहरुमा महानगरपालिकाले नेपाली वस्तुहरुको विक्री प्रवद्र्धन गर्ने उद्धेश्यले प्रदर्शनी तथा विक्री प्रवद्र्धन कक्ष संचालनमा ल्याउने छ । यसबाट नेपाली वस्तुहरुका लागि ग्राहक बढ्नुका साथै नेपाली उद्योगहरुको विकास र विस्तारमा टेवा पुग्ने उद्योग मन्त्री नविन्द्रराज जोशीले बताए । मन्त्री जोशीले राष्ट्रिय स्वार्थमा एक अर्का संस्थाहरुको सहयोगलाई समन्वयात्मक रुपमा अगाडि बढाउने उद्धेश्यका साथ उद्योग मन्त्रालयले यस प्रकारको कार्यलाई अगाडी बढाएको पनि बताए । सम्झौतासँगै विश्वका ठुला अर्थतन्त्रका रुपमा स्थापित अमेरिका, चीन, जापान र भारतका बिभिन्न शहरमा नेपाली उत्पादनको स्थायी बिक्रि कक्ष रहनेछ । कार्यक्रममा काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख रुद्र सिं तामाङ्गले अहिले काठमाडौं महानगरपालिकाको विश्वका १६ वटा शहरहरुसंग भगिनी सम्वन्ध कायम रहेको र निकट भविष्यमा नै थप २० वटा शहरहरुसँग भगिनी सम्वन्ध कायम हुने क्रममा रहेको जानकारी दिएका थिए । उनले नेपाली उत्पादनलाई विश्वभर फैलाउन सम्झौताले महत्वपुर्ण भूमिका खेल्ने अपेक्षा पनि उनले व्यक्त गरेका थिए ।

साढे ३३ किलो सुन तस्करीमा संलग्न एसएसपी श्याम खत्री पक्राउ

काठमाडौं । साढे ३३ किलो सुन तस्करीमा संलग्न भएको आरोपमा नेपाल प्रहरीका एसएसपी श्याम खत्री पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले एसएसपी खत्रीलाई आइतबार पक्राउ गरेको हो। गत पुस २१ गते दुबइ हुदैँ काठमाडौंमा तस्करी भएको साढे ३३ किलो सुनसहित ३ जनालाई सिआइबीले पक्राउ गरेको थियो। नेपालमा सुन भित्र्याउन एसएसपी खत्रीको सहयोग र सम्लग्नता देखिएकाे प्रहरी स्राेतले बतायाे । एसएसपी खत्री सुन तस्करी भएका समयमा विमानस्थलमै कार्यरत थिए।

एक अर्बको खनिज कोष बन्ने, एक खर्ब विदेशी लगानी भित्र्याउने योजना

काठमाडौं । सरकारले एक अर्ब रुपैंयाँको खनिज कोष स्थापना गर्ने भएको छ । उद्योग मन्त्रालयले राष्ट्रिय खनिज नीति मार्फत एक अर्बको खनिज कोष स्थापना गर्ने प्रस्ताव अघि सारेको हो । ‘भौगर्भिक तथा खनिज अध्ययन, अनुसन्धान तथा वातावरण संरक्षण तथा विकासको लागि रुपैयाँ एक अर्बको राष्ट्रिय खनिज कोषको स्थापना गरिनेछ ।’ खानी विभागले तयार पारेको खानी नीतिको मस्यौदामा भनिएको छ । । मस्यौदामा आगामी आर्थिक बर्षको बजेटमा सो रकमको व्यवस्थापन गर्ने उल्लेख गरिएको छ । खानी नीतिले आगामी १० बर्षभित्र नेपालको खानी क्षेत्रमा एक खर्बको वैदेशिक लगानी भित्र्याउने लक्ष्य पनि निर्धारण गरेको छ । त्यस्तै आगामी १० बर्षाभित्रै ५० हजार नेपाली युवालाई खानी क्षेत्रमा रोजगारी दिने योजना पनि खानी नीतिले अघि सारेको छ । खनिज कार्यमा प्रयोग हुने यन्त्र तथा उपकरणहरुको आयातमा लाग्ने भन्सार महसुलमा विशेष छुट सुबिधा दिने, खनिज कार्यबाट प्राप्त भएको राजश्वको निश्चित अंश प्रभावित क्षेत्रको विकासमा खर्च गर्र्नेे पनि नीतिमा उल्लेख गरिएको छ । त्यस्तै, नेपालमा उत्पादित खनिजको प्रवद्र्धन, गुणात्मक पहिचान र मान्यताका लागि प्रत्येक खनिज सम्पदाको प्रोफाइल तयार पार्जे, खनिज क्षेत्रमा गरिएको लगानी राष्ट्रियकरण नगर्ने पनि उल्लेख गरिएको छ । ‘खनिजको उत्खननका लागि नयाँ प्रबिधी र लगानी बढाउन खोजिएको हो । उपकरणमा भन्सार छुट, एक अर्बको लगानी कोष पनि स्थापना, विदेशी लगानीका लागि सहजीकरण गरेर खानीहरुबाट अधिकतम लाभ लिने योजना सहित खनिज नीति अघि सारेका हौं’, खानी विभागका एक अधिकारीले विकासन्युजसँग भने । आइतबार मात्रै उद्योग मन्त्री नविन्द्रराज जोशीले सरोकारवाला निकायहरुसँग खानी नीतिबारे छलफल गरेका थिए ।फागुन महिना भित्रै खानी नीति ल्याउने तयारी अनुसार काम भैरहेको विभागका ती अधिकारीले जानकारी दिए ।

२३ लाखले हेरे राजा बस्ने दरबार संग्रहालय, पुरानो भयो मुसाका छाउराले दरबार जान नपाउने कथा

काठमाडौँ, २३ माघ । नारायणहिटी दरबार सङ्ग्रहालयमा हालसम्म २३ लाख १५ हजार सात सय सात स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन गरेका छन् । विसं २०६५ फागुन १४ गतेदेखि नारायणहिटी दरबार सङ्ग्रहालय खुलेपछि विसं २०७३ को पुस मसान्तसम्म उक्त सङ्ख्याका पर्यटकले सङ्ग्रहालय अवलोकन गरेकामा सबैभन्दा धेरै नेपाली छन् भने विदेशी पर्यटकको संख्या कम छ । हरेक हप्ताको मङ्गलबार, बुधबार तथा सार्वजनिक बिदामा बन्द रहने सङ्ग्रहालयमा हालसम्म ११ लाख ३४ हजार सात सय ४६ सर्वसाधारण, नौ लाख ९५ हजार पाँच सय ४९ विद्यार्थी, एक लाख ३० हजार एक सय ८८ सार्क तथा चिनियाँ नागरिक र ५५ हजार दुई सय २४ तेस्रो मुलुकका पर्यटकले अवलोकन गरेको सङ्ग्रहालयका प्रमुख रोहितकुमार ढुङ्गानाले जानकारी दिए । स्वदेशी तथा विदेशी पर्यटकबाट सङ्ग्रहालयले हालसम्म १९ करोड ४७ लाख ८२ हजार नौ सय ८५ आम्दानीसमेत गरेको छ । सङ्ग्रहालय घुम्न आउने विद्यार्थीका लागि २०, नेपाली नागरिकका लागि १००, सार्क र चिनियाँ नागरिकका लागि दुई सय ५० र तेस्रो मुलुकका लागि पाँच सय शुल्क तोकिएको छ । सङ्ग्रहालयमा चालु आर्थिक वर्षको पुुस मसान्तसम्म मात्र १४ लाख आठ हजार आठ सय ३४ ले अवलोकन गरेकामा सर्वसाधारण ७७ हजार आठ सय आठ, विद्यार्थी ६० हजार चार सय ३४, सार्क तथा चिनियाँ पर्यटक ६ हजार सात सय ३४ र तेस्रो मुलुकका तीन हजार आठ सय ५८ रहेका छन् । चालु आवको ६ महिनामा मात्र एक करोड २६ लाख १९ हजार ८० राजस्व सङ्कलन भएकोे छ । दैनिक सङ्ग्रहालय घुम्न आउने पर्यटकका लागि महानगरीय प्रहरी नारायणहिटी गारद गुल्मले सुरक्षा दिइरहेको छ । गुल्मकी प्रमुख एवम् प्रहरी निरीक्षक पूर्णिमा चन्दले दैनिक एक हजारभन्दा बढी अवलोकन कर्तालाई जाँच गरेर सङ्ग्रहालयभित्र पठाउने गरेको जानकारी दिइन । गत वर्ष वैशाख १२ गते गएको भूकम्पले पर्खाल भत्केकाले सुरक्षामा विशेष जोड दिएको उनले बताइन। भूकम्पले गर्दा सङ्ग्रहालयबाहिर बग्ने धारा र पोखरी सुकेकाले सङ्ग्रहालयले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा धारामा पानी ल्याउन र पोखरी मर्मत गर्न बजेट माग गरिएको ढुङ्गानाले जानकारी दिए । रासस