विकासन्युज

पृथ्वीनारायण शाहको सालिकमा १०८ मिटर लामो माला अर्पण (फोटो फिचर सहित)

काठमाडौ, २७ पुस । शिव सेना नेपालले राष्ट्रिय निर्माता पृथ्वीनारायण शाहको सिंहदरबारस्थित सालिकमा आज १०८ मिटर लामो माला चढाएको छ । तत्कालीन समयमा विभिन्न भागमा छरिएको भू-भागलाई शाहले एकीकरण गरी आधुनिक नेपाल निर्माणमा योगदान गरेको स्मरणमा शिव सेना नेपालद्वारा उनको २५५ औँ जन्मजयन्ती मनाएको हो । विभिन्न सङ्घ संस्थाका प्रतिनिधिले समेत उनको सालिकमा फूल गुच्छा चढाएर उनको योगदानको चर्चा गरेका थिए । गोर्खा समाजले शाहको तस्बिरलाई गाडीमा सजाएर नगरका विभिन्न स्थान परिक्रमा गराई सिंहदरबार ल्याएर माल्यार्पण गरेको थियो । सो समाजको सहयोगमा नेपाल प्रहरीले बाजा बजाएर पृथ्वीनारायण शाहलाई भावपूर्ण श्रद्धाञ्जलि दिएका थिए । समाजका संस्थापक अध्यक्ष डा उपेन्द्र देवकोटाले पृथ्वीनारायण शाहले निर्माण गरिदिएको मुलुकमा बस्ने नेपालीले उनलाई आदर गर्नुपर्नेमा जोड दिँदै पृथ्वी जयन्तीलाई एकता दिवसका रुपमा मान्नपर्ने बताए। राप्रपाका अध्यक्ष कमल थापाले आधुनिक नेपालको निर्माणमा पृथ्वीनारायण शाहले जीवन समर्पण गरेको विचार व्यक्त गर्दै उनको सम्मानमा राष्ट्रले औपचारिक कार्यक्रम गर्नुपर्नेमा जोड दिएका छन्। पूर्वमन्त्री सुनिल थापाले नेपालीले सदैव पृथ्वीनारायण शाहले मुलुकको एकीकरणमा खेलेको भूमिकालाई स्मरण गरी सम्मान गर्नुपर्ने बताए ।   शिवसेना नेपाललका अध्यक्ष अनिल बस्नेतले पछिल्लो समय पृथ्वीनारायण शाहको योगदानलाई ओझेलमा पार्ने कार्य भइरहेकामा चिन्ता व्यक्त गरेका छन्। पूर्व प्रधानसेनापति रुक्माङ्गत कटुवालले पृथ्वीनारायण शाहलाई अनादर गर्नु भनेको आफ्नो अस्तित्वलाई चुनौती दिनु बताएका छन्। रासस

एनआईसी एशिया बैंक र रेडक्रस सोसाइटीबीच रक्तदान अभियान संचालन गर्ने सम्झौता

काठमाडौं, २७ पुस । एनआईसी एशिया बैंक र नेपाल रेडक्रस सोसाइटी बिच रक्तदान अभियान संचालन गर्ने सम्बन्धि सम्झौतामा भएको छ । उक्त सम्झौता पत्रमा बुधबार एक कार्यक्रमकाबीच हस्ताक्षर भएको छ । सो सम्झौतामा एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल र नेपाल रेडक्रस सोसाइटीका तर्फबाट महामन्त्री देवरत्न धाख्वाले हस्ताक्षर गरेका छन् । एनआईसी एशियाले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत रक्तदान जस्तो अत्यन्त आवश्यक र जरुरी जनस्वाथ्य संग सम्बन्धित विषयलाई लिएर देशव्यापी रुपमा रक्तदान शिविर संचालन गर्ने अभियानको आर्थिक व्ययभार व्यहोर्ने छ । साथै, नेपाल रेडक्रस सोसाइटीले देश भरी रहेका आफ्ना शाखा प्रशाखाको प्राविधिक सहयोगमा रक्त संकलन, भण्डारण र वितरण गर्ने विज्ञप्तिमा जनाइएको छ । एनआईसी एशिया र नेपाल रेडक्रस सोसाइटीको यो सहकार्यको प्राथमिक लक्ष्यमा देशभर १०० भन्दा बढी रक्तदान कार्यक्रम संचालन गर्ने योजना छ । रक्तदान बारे जनचेतना जगाउनु र “रक्तदान ( जीवनदान” हो भन्ने जागरण साथ धेरै भन्दा धेरै संभावित दाताहरुलाई रक्तदान कार्यक्रममा सहभागी गराएर कुनै पनि नागरिकको रगतको अभावले अकालमा मृत्यु हुन नदिन रगतको अभावलाई अन्त्य गर्नु यस्को दोस्रो लक्ष्य रहेको आयोजकले जनाएका छन् । साथै, रक्तदान जस्तो जनस्वाथ्यसंग सरोकार रहेको विषय आधार भूत विषय भएर पनि अझ व्यवस्थित र स्तरीय गर्नु पर्ने महशुस भएकोले रक्तदान शिविरहरुलाई अझ व्यवस्थित, स्तरीय र संस्थागत गर्ने अर्को दुरगामी लक्ष्य समेत यस सम्झौतामा समेटिएको छ । यो सहकार्य समाजका लागि एक अनुपम उदाहरण हुने र दुवै संस्थाले समाजमा अझ बढी योगदान पु¥याउन सक्ने विश्वास गरेका छन् ।

चन्द्रागिरिमा पृथ्वीनारायणको २९५ औं जन्म जयन्तीको अवसरमा मूर्तिचित्र अनावरण

काठमाडौं, २७ पुस । पृथ्वीनारायण शाहको २९५ औं जन्मजयन्तीको अवसरमा चन्द्रागिरि हिल्स लिमिटेडको टप स्टेशन स्थित भालेश्वर मन्दिरको नजिकै पृथ्वीनारायण शाहको मूर्तिचित्र स्थापना गरेको छ । चन्द्रागिरि हिल्स लिमिटेडद्वारा निर्मित मूर्ति चित्र एक देशभक्त नागरिकका हैसियतले नेपाली सेनाका प्रधान सेनापति महारथी राजेन्द्र क्षेत्रीले बुधबार अनावरण गरेका हुन् । चन्द्रागिरि पर्वतपृथ्वीनारायण शाहको एकीकरण अभियानसँग सम्बन्धीत रहेकाले उनको सम्झनामा मूर्तिचित्र निर्माण गरिएको हो । पृथ्वीनारायण शाहले चन्द्रागिरि डाँडाबाट उपत्यकका तीनै सहरको दृश्यावलोकन गरी एकीकरणको योजना बनाएको उनका दिव्योपदेशमा उल्लेख गरिएको छ । चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले पृथ्वीनारायण शाहको एकीकरण अभियानसँग जोडिएको यस चन्द्रागिरि पर्वतमा पृथ्वीनारायणको २९५ औं जन्मजयन्तीका अवसरमा मूर्ति चित्र निर्माण गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् । चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष ढकालको सभापतित्वमा सम्पन्न मूर्तिचित्र अनावरण कार्यक्रममा चन्द्रागिरि हिल्स लिमिटेडका संचालकहरू एवम् कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

कृषि क्षेत्रमा पौने ३ खर्ब लगानी गर्ने सरकारको योजना, खाद्यान्नमा आत्मनिर्भर बनाउने

काठमाडौं, २७ पुस । देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकारले कृषि क्षेत्र पौने तीन खर्ब रुपैयाँ लगानी गर्ने भएको छ । १४ औं योजनाको अवधिभर सरकारले सो लगानी गर्ने योजना बनाएको हो । चालु योजनामा गर्न लागिएको लगानी मध्ये सरकारको एक खर्ब ४० अर्ब रुपैयाँ लगानी गर्ने योजना भएकोे निजी क्षेत्रबाट एक खर्ब ३ करोड रुपैयाँ र सहकारी क्षेत्रको ३८ अर्ब ९७ करोड रुपैयाँ लगानी हुने अनुमान सरकारले गरेको छ । १३ औं योजनाअन्तर्गत गत आर्थिक वर्ष २०७२/०७३ सम्ममा कृषि क्षेत्रमा ८१ अर्ब २३ करोड रुपैयाँ सरकारी लगानी लागेको थियो । आयोगका प्रवक्ता खोमराज कोइरालाका अनुसार आयोगले १४ औं योजना अवधिभर कृषि क्षेत्रबाट औसतमा ४.७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य सरकारले राखेको छ । चालू आर्थिक वर्ष २०७३/०७४ मा कृषिको आर्थिक वृद्धिदर ४.५ प्रतिशत प्राप्त गर्ने लक्ष्य आयोगले राखेको छ । यस्तै आगामी वर्ष २०७४/०७५ मा आर्थिक वृद्धिदर बढाएर ४.७ र अन्तिम वर्ष २०७५/०७६ मा आर्थिक वृद्धि दर ४.९ प्रतिशत हुने अनुमान गरिएको छ । गत योजनामा विर्धारित लक्ष्यको आधा मात्रै लक्ष्य भेट्न सक्यो । १३ औं योजनाको अन्त्यसम्म सरकारले कृषि क्षेत्रको आर्थिक वृद्धिदर ४.५ प्रतिशत पुर्याउने लक्ष्य निर्धारण गरेपनि विभिन्न कारणले २.२३ प्रतिशतमात्र हासिल भएको १४ औं योजनाको पूर्ण पाठमा उल्लेख गरिएको छ । सो अवधिमा समग्र क्षेत्रको आर्थिक वृद्धिदर भने औसतमा ७.२ प्रतिशत पु¥याउने लक्ष्य सरकारको रहेको छ । यसैगरी गैर कृषि क्षेत्रको आर्थिक वृद्धिदर ७.६ प्रतिशतबाट ९.३ प्रतिशतमा पुर्याइनेछ । चालू आर्थिक वर्ष २०७३/०७४ मा आर्थिक वृद्धिदर ७.६ प्रतिशत छ । आगामी आर्थिक वर्ष २०७४/७५ र २०७५/०७६ मा गैरकृषि क्षेत्रको आर्थिक वृद्धि क्रमशः ८.४ र ९.३ प्रतिशत र्पुयाउने लक्ष्य राखिएको छ । १३ औं योजनामा गैर आर्थिक क्षेत्रको आर्थिक वृद्धिदर ६.७ प्रतिशत पुर्याउने लक्ष्य राखिए पनि सो भन्दा बढी ८.७ प्रतिशत प्राप्त भएको छ । उत्पादनशील रोजगारी र न्यायपूर्ण वितरणसहित उच्च आर्थिक वृद्धिको माध्यमबाट दु्रत गतिमा गरिबी न्यूनीकरण गर्ने १४ औं योजनाको लक्ष्य छ । आयोगले सिँचाइतर्फ १४ औं योजनाको अन्त्यसम्ममा देशभर १५ लाख २० हजार हेक्टर खेतीयोग्य जग्गामा सिँचाइ सुविधा पुर्याउने लक्ष्य निर्धारण गरेको छ । हाल मुलुकभर गरी १३ लाख ९२ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको आयोगले जनाएको छ । १३ योजनाले १४ लाख ८७ हजार हेक्टरमा सिँचाइ सुविधा पुग्ने लक्ष्य तोकेको थियो । सरकारले चालू आर्थिक वर्ष २०७३/०७४ मा प्रधानमन्त्री कृषि परियोजना (१० वर्षे) को चालू खर्च पाँच अर्ब ७८ करोडसहित कृषि मन्त्रालयलाई २७ अर्ब ४३ करोड ८२ लाख रुपैयाँ विनियोजन गरिएको छ । अघिल्लो आर्थिक वर्ष २१ अर्ब ४३ करोड रुपैयाँ विनियोजन भएको थियो । व्यावसायिक कृषिजन्य उद्योग स्थापना गरी मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन सरकारले यो परियोजना ल्याएको हो । यो परियोजनामा कृषिको प्राथमिक उत्पादनदेखि व्यवुायिक तथा औद्योगीकरणसम्मका कार्यक्रमहरु समावेश गरिएको छ । उत्पादनशील रोजगारी र न्यायपूर्ण वितरणसहित उच्च आर्थिक वृद्धिको माध्यमबाट दु्रत गतिमा गरिबी न्यूनीकरण गर्ने १४ औं योजनाको लक्ष्य छ । यस्तै चालू आर्थिक वर्षदेखि कार्यान्वयनमा आएको १० वर्षे कार्ययोजनासहितको २० वर्षे दीर्घकालीन कृषि रणनीति (एडीएस) ले निर्धारण गरेको आधारभूत खम्बाकै आधारमा मन्त्रालयले चालू आर्थिक वर्षदेखि कार्यक्रम तयार पारी सञ्चालनमा ल्याएको छ । एडीएसले प्रतिवर्ष कृषिमा ५० अर्बका दरले आगामी १० वर्षमा पाँच सय दुई अर्ब रुपैयाँ लगानी गर्ने लक्ष्य राखेको छ । एडीएसले निर्धारण गरेको बजेटको सीमाअनुसार नै अहिले कृषिमा करिब ५० अर्ब रुपैयाँ लगानी भइरहेको कृषि विकास मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले बताए । मन्त्रालयका अनुसार वन, वातावरण, सिँचाइ, पशुपन्छी र कृषिको गरेर अहिले कृषि क्षेत्रमा करिब ५० अर्ब रुपैयाँ लगानी भइरहेको छ ।

पुनर्निर्माण प्राधिकरणका सिइओ ज्ञवाली बर्खास्त, डा. गोबिन्दराज पोखरेल नियुक्त

काठमाडौं, २७ पुस । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत(सिइओ) सुशील ज्ञवाली बर्खास्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई बर्खास्त गरेको सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए । सोही मन्त्रि परिषद बैठकले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा प्राधिकरणका पूर्व सिइओ डा. गोबिन्दराज पोखरेललाई नयाँ सिइओ नियुक्त गरेको छ । केपी ओली नेतृत्वको एमाले सरकारले सिइओ नियुक्त गरेका ज्ञवालीलाई हटाएर सरकारले काँग्रेस नेता समेत रहेका पोखरेललाई नियुक्त गरेको हो । सरकारी ज्ञवालीसँग २ पटक स्पष्टिकरण सोधेको थियो । स्पष्टिकरण चित्त बुझ्दो नभएपछि हटाएर नयाँ सिइओ नियुक्त गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार मन्त्री कार्कीले बताए ।

एनसेल सर्वोत्कृष्ट विज्ञापन करदाताबाट सम्मानित

काठमाडौं, २७ पुस । काठमाडौं महानगरपालिकाले देशकै अग्रणी जिएसएम मोबाईल सेवा प्रदायक कम्पनी एनसेललाई गत आर्थिक वर्षमा सबैभन्दा बढि विज्ञापन कर बुझाए बापत सम्मान गरेको छ । काठमाडौं महानगरपालिका कार्यलयले एनसेललाई सोमबार सो सम्मान स्वरुप कदर पत्र प्रदान गरेको छ । काठमाडौं महानगरपालिकाको २९ औं महानगर परिषदबाट पारित बजेट, नीतितथाकार्यक्रम सार्वजनिकीकरण समारोहमा सो सम्मान प्रदान गरिएको हो । उक्त समारोहका प्रमुख अतिथी संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले एनसेलका सुरक्षा निर्देशक महेन्द्र भट्टचनलाई सो कदर पत्र हस्तान्तरण गरेका थिए । कदर पत्रमा लेखिएअनुसार “काठमाडौं महानगरपालिका कार्यलयलाई आर्थिक वर्ष २०७२/२०७३ मा विज्ञापन कर तर्फ सबैभन्दा बढि भुक्तानी गरी महानगर निर्माणमा अतुलनिय योगदान गरे बापत”एनसेललाई सम्मान गरिएको विज्ञप्तिमा उल्लेख छ । महानगरपालिका कार्यलयका अनुसार, गत आर्थिक वर्ष २०७२/२०७३ मा कार्यलयले ४ करोड १७ लाख रुपैयाँ विज्ञापन कर संकलन गरेको थियो । कुल संकलित विज्ञापन करको १ तिहाई योगदान एनसेलले गरेको थियो ।

लघु वित्तलाई ब्याजदरमा कडाई, १८ प्रतिशतमा नझारे कारवाही

काठमाडौं, २७ पुस । लघुवित्त कम्पनीहरुले २०७४ असार मसान्तसम्ममा ब्याजदर १८ प्रतिशतमा झानुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले लघु वित्त कम्पनीहरुको ब्याजदरमा कडाई गर्दै १८ प्रतिशतको सिमा तोकिदिएको हो । अब लघु वित्त कम्पनीहरुले आफ्नो प्रशासनिक खर्च समेतलाई समेटेर अधिकतम १८ प्रतिशत ब्याज मात्रै लिन पाउनेछन् । कम्पनीहरुले २०७४ असार मसान्तभित्रै यस्तो व्यवस्था कार्यान्वयन नगरेर कारवाही भोग्नु पर्नेछ । लघु वित्तहरुले आफ्नो कस्ट अफ फण्डमा अधिकतम ४ प्रतिशतसम्म कोष प्रशासनिक लागत कायम गर्न पाउनेछन् । कस्ट अफ फण्डमा ४ प्रतिशत कोष तथा प्रशासनिक लागत जोडेर अधिकतम ७ प्रतिशत बढि ब्याजदर कायम गर्न पाइनेछ र त्यो १८ प्रतिशत भित्रै हुनुपर्नेछ ।

नेपाल लाईफको साधारण सेयर आवेदन आजदेखि, बजार मूल्य भन्दा ५० प्रतिशत सस्तो

काठमाडौं, २७ पुस । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले जारी गरेको ३० लाख ९६ हजार ४२९ कित्ता साधारण सेयरको आवेदन आजदेखि माग २ गतेसम्म खुला छ । प्रतिकित्ता १०० रुपैयाँ अंकित यो सेयर लिन प्रिमियम वापत १३२५ रुपैयाँ थप मूल्य तिर्नुपर्छ । प्रिमियसहित आवेदकले प्रतिकित्ता १४२५ रुपैयाँ बुझाउनु पर्ने छ । आवेदकले कम्तिमा १० कित्ता र बढीमा ३० हजार ९६० कित्ता खरिदका लागि आवेदन गर्न सक्नेछन् । १० कित्ता आवेदन गर्नेले १४२५० रुपैयाँ बुझाउनु पर्छ भने अधिकतम ३० हजार ९६० कित्ता आवेदन गर्नेले ४ करोड ४१ लाख १८ हजार रुपैयाँ बुझाउनु पर्नेछ । एक कित्ताको सेयर मूल्य किन १४२५ ? सामान्यतया कम्पनीले पहिलो पटक साधारण सेयर निश्काशन गर्दा अंकित मूल्य १०० रुपैयाँ तिरेर लगानीकर्ताले सेयर आवेदन गर्न पाउँछन् । तर नेपाल लाईफले दोस्रो पटक साधारण सेयर निष्काशन गरेको हो । चलन चल्तीको भाषामा एफपीओ (फर्दर पब्लिक अफरिङ) भनिन्छ । कम्पनीमा सर्वसाधारणको सेयर अनुपात ७० प्रतिशत बनाउन कम्पनीले एफपीओ जारी गरेको हो । २०५५ सालदेखि सञ्चालनमा आएको यो कम्पनी जीवन बीमा कम्पनी मध्ये सबैभन्दा राम्रो कम्पनीको रुपमा स्थापित भएको छ । कम्पनीको संचित नाफा, व्यापारको आकार, ब्राण्ड भ्यालु, सेयर बजारमा यस कम्पनीको सेयर कारोबार मूल्य जस्ता धेरै पक्षको हिसाव किताव गरेर कम्पनीको सेयरको प्रिमियम मूल्य निर्धारण भएको छ । विगत १ वर्षमा कम्पनीको सेयर प्रतिकित्ता अधिकतम ४५९६ र न्यूनतम २६१५ रुपैयाँमा किनबेच भईराखेको छ । मंगलबार कम्पनीको सेयर प्रतिकित्ता २८५० रुपैयाँमा कारोबार भएको छ । बजार मूल्यभन्दा एफपीओ मूल्य ठिक ५० कम देखिन्छ । १ वर्षअघि कम्पनीले प्रतिकित्ता २८५१ प्रिमियम मूल्य राखेर प्रतिकित्ता २९५१ रुपैयाँमा एफपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा प्रस्ताव गरेको थियो । तर बोर्डले प्रिमियम मूल्य निर्धारण मापदण्ड बनाएर मात्र स्वीकृति दिने निर्णय गर्यो । नेपाल धितोपत्र बोर्डका प्रबक्ता निरज गिरीका अनुसार कम्पनीको नेटवर्थ अर्थात प्रतिसेयर खुल सम्पत्तिको मूल्य, विगत १८० दिनको कम्पनीको औषत सेयर मूल्य, विगतमा कम्पनीले आर्जन गरेको नाफा र सेयरधनीलाई वितरण गरेको लाभांश, नयाँ सेयरमा लगानी गर्नेले तत्काल लाभांश पाउने र भविष्यमा पनि कम्पनीले अनुमानित लाभांशका आधारमा प्रिमियम मूल्य तय गरिएको हो । भविष्य कस्तो प्रतिफल दिन्छ ? हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ७३ करोड ४० लाख रुपैयाँ छ । गत आर्थिक वर्ष २०७२÷७३ को नाफाबाट बोनस सेयर वितरण गरी चुक्ता पुँजी २ अर्ब १६ करोड ७५ लाख रुपैयाँ पुर्याउने कम्पनीको योजना छ । नयाँ सेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ४७ करोड ७१ लाख रुपैयाँ हुनेछ । कम्पनीले निष्काशन गरेको विवरणपत्रमा आगामी दुई वर्ष कम्पनीको चुक्ता पुँजी वृद्धि गर्ने योजना देखिदैन । तसर्थ कम्पनीले बोनस सेयर वितरण गर्दै पुँजी वृद्धि गर्ने सम्भावना कम देखिन्छ । यदि बीमा समितिले कम्पनीको चुक्ता बढाएमा बोनस सेयरबाट पुँजी वृद्धि गर्ने बलियो आधार कम्पनीसँग देखिन्छ । विवेक झा ‘हामी बीमा समितिले तोकेको न्यूनतम पुँजी मात्र लिएर काम गर्दैनौं, बजारको लिडर कम्पनीको नाताले हामी पुँजी र व्यापार दुबै बढाउँदै जानेछौं’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झा भन्छन्–कुल जनसंख्याको करिव ४ प्रतिशतले मात्र बीमा गरेको छन्, बजार प्रशस्त छ, हामी पुँजी वृद्धिसँगै बजार विस्तारमा जोड दिनेछौं र प्रतिसेयर आम्दानी पनि वृद्धि गर्न सफल हुनेछौं ।’ नयाँ सेयर निष्काशन गर्दा कम्पनीले प्रिमियम मूल्यबाट मात्र ४ अर्ब १० करोड रुपैयाँ आम्दानी गर्छ । यो रकम तत्काल कम्पनीको जगेडा तथा संचित कोषमा जम्मा हुन्छ । कम्पनीको विवरणपत्रका उल्लेख भएअनुसार जगेडा तथा कोषहरुमा २०७३ असार मसान्तसम्ममा ९४ करोड रुपैयाँ छ । २०७४ असार मसान्तसम्ममा यो कोषमा ६ अर्ब ६९ करोड रुपैयाँ जम्मा हुने कम्पनीले जनाएको छ । ‘प्रिमियमबाट संकलन हुने रकम सेयरधनीकै हो र यसको अन्तिम लाभ सेयरधनीले नै पाउने हो’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत झाले भने । कम्पनीको प्रतिसेयर नेटवर्थ हाल १४३ रुपैयाँ छ । २०७४ असार मसान्तसम्ममा यो बढेर प्रतिसेयर नेटवर्थ ३६९ रुपैयाँ हुने र दुई वर्षपछिको नेटवर्थ प्रतिकित्ता ५२१ रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ ।