विकासन्युज

तनहुँको कन्यादेवी मावि : गत वर्ष निल, यसपालि ७३ प्रतिशत विद्यार्थी उत्तीर्ण

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कस्थित कन्यादेवी माध्यमिक विद्यालय गत वर्षको एसइईमा निल भएको थियो । गत वर्ष विद्यालयका १९ विद्यार्थी एसइईमा सहभागी थिए । त्यतिबेला सबै विद्यार्थी अनुत्तीर्ण भएका थिए । ग्रेडवृद्धिबाट चार विद्यार्थी उत्तीर्ण भएका थिए । तर यस वर्ष उक्त विद्यालयको नतिजामा सुधार आएको छ। यस वर्ष विद्यालयबाट ७३.३३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । पन्ध्र जना विद्यार्थी सहभागी भएकामा ११ जना विद्यार्थी उत्तीर्ण भएको विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले जानकारी दिए । पालिकाको लगानीका कारण यस वर्षको नतिजामा सुधार आएको विद्यालयका प्रधानाध्यापक गुरुङले जानकारी दिए । पालिकाले एसइई दिने विद्यार्थीलाई मध्यनजर गरी होस्टेलको व्यवस्था गरेको थियो । होस्टेलमा विद्यार्थीका लागि खाने, बस्ने सबै खर्च पालिकाले व्यवस्थापन गरिदिएको थियो । यस्तै विषयगत शिक्षकले होस्टेलमै बसेर विद्यार्थीलाई अध्ययन गराउँथे । बिहान ५–८ र साँझ ५–८ अतिरिक्त अध्यययनको व्यवस्था मिलाइएको थियो । उनले भने, 'सुरुदेखि एसइई नतिजा सुधारका लागि पालिकाले लगानी गरेको थियो। त्यसकै परिणाम अहिले देखिएको छ ।' गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले पालिकाभित्रका विद्यालयको नतिजा सुधारका लागि आफूहरू सुरुदेखि नै लागेको बताए । उनले भने, 'गत वर्षको नतिजाले हामीलाई निराश बनाएको थियो। अहिले नतिजा सुधारका लागि विद्यालयमै आवाससहितको कक्षा सञ्चालन गरेका थियौँ ।' सम्पूर्ण वडाभित्रका विद्यालयको नतिजाको विवरण सङ्कलनको क्रममै रहेको बताउँदै चुमानले सबै विद्यालयको नतिजा सुधार आएको उल्लेख गरे । रासस

देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ । आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले जनाएको । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ ।

ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई सेवा ठप्प

ताप्लेजुङ । ताप्लेजुङको एकमात्र हवाई सेवा सञ्चालन हुँदै आएको सुकेटार विमानस्थलमा हवाई उडान ठप्प भएको छ । चार महिना लामो बन्दपछि चैतको अन्तिम साताबाट पुनः सञ्चालनमा आएको नेपाल वायु सेवा निगमको हवाई सेवा जेठ ३० गतेयता एकपटक पनि सञ्चालन हुन सकेको छैन । निगमका ताप्लेजुङ स्टेसन इञ्चार्ज नारायणकुमार कार्कीका अनुसार बर्खायाम सुरू भएसँगै कुहिरो र कम भिजिबिलिटीका कारण असारयता चार उडान प्रभावित भएका छन् । प्रत्येक सोमबार र शुक्रबार नियमित हुने काठमाडौं–ताप्लेजुङ उडान निरन्तर रद्द हुन थालेपछि यात्रुहरू मर्कामा परेका छन् । इञ्चार्ज कार्कीले भने, 'मौसम प्रतिकूल भएकाले जहाजले अवतरण गर्नसक्ने अवस्था छैन । भिजिबिलिटी न्यून भएकाले सुरक्षाको दृष्टिकोणले उडान रोकिनुपरेको हो ।' शुक्रबार ताप्लेजुङ–काठमाडौं र काठमाडौं–ताप्लेजुङ उडानमा तीन–तीनजना यात्रुले टिकट लिएका थिए । तर मौसम सुध्रिन नसक्दा उडान रद्द भयो । नियमित उडान नहुँदा जिल्ला आवतजावत गर्ने यात्रुको सङ्ख्या घट्दै गएको छ । टिकट लिएर पनि गन्तव्यमा पुग्न सकिने विश्वास नभएपछि यात्रुहरू सवारीसाधनको भरमा लामो दूरीको यात्रा गर्न बाध्य भएका छन् । वर्षायाममा बारम्बार उडान अवरुद्ध हुने समस्या दोहोरिएपछि यात्रुहरू वैकल्पिक र भरपर्दो यातायातको माग गर्दै आएका छन् । ताप्लेजुङको दुर्गम भूगोलमा हवाई सेवा जीवनरेखाजस्तै रहेकाले यस्ता समस्या समाधानका लागि दीर्घकालीन रणनीति आवश्यक देखिएको छ ।

चिट चोर्ने, टिकटक बनाउने १२६ जनाको परीक्षा रद्द

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागीमध्ये १२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ । एसईईमा चिट चोर्ने, टिकटक बनाउने लगायत अन्य गैरकानुनी काम गर्ने १२६ जनाको परीक्षा रद्द गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।  शुक्रबार सार्वजनिक गरिएको नतिजाअनुसार ३.६ देखि ४ जीपीए ल्याउने ४८ हजार १७७ जना, ३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५ जना, २.८ देखि ३.२ जीपीए ल्याउने ८९ हजार १२४ जना, २.४ देखि २.८ जीपीए ल्याउने ४८ हजार ४७९ जना, २ देखि २.४ जीपीए ल्याउने ४ हजार १२६ जना, १.६ देखि २ जीपीए ल्याउने ८ जना रहेका छन् ।  यस वर्षको एसईईमा ६१।८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् ।  

एसईई पूरक परीक्षा साउन २९ गतेदेखि हुने

काठमाडौं । एसईईको पूरक परीक्षा मिति तोकिएको छ ।  राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालमा लिएको परीक्षाको नतिजा शुक्रबार प्रकाशित गर्दै पूरक परीक्षाको मिति पनि तोकेको हो ।  पूरक परीक्षा साउन २९ देखि हुनेछ भने कार्यतालिका पछि प्रकाशित गरिने बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए ।

गणितमा सबैभन्दा धेरै फेल, कुन प्रदेशमा कति पास भए ?

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले गत वर्षको तुलनामा यसपटक एसईईको नतिजा बढेको बताए । गत वर्ष ४८ प्रतिशत विद्यार्थी कक्षा ११ पढ्न योग्य भएकोमा यस वर्ष बढेका हुन् । बोर्डले ४ लाख ३८ हजार ८९६ जनाको नतिजा प्रकाशित गरेका हो । जसमध्ये एसईईमा १ लाख ६७ हजार ५९७ परीक्षार्थी अनुतिर्ण भएका छन् । कुल परीक्षार्थीमध्ये २ लाख ७१ हजार २९९ जनामात्रै उत्तीर्ण भएका हुन् ।  शर्माका अनुसार कोशी प्रदेशमा ४७ हजार ८३५ जना, मधेश प्रदेशमा ५९ हजार ७४९ जना, बागमती प्रदेशमा १ लाख १९ हजार ५१७ जना, गण्डकी प्रदेशमा ४७ हजार ८४९ जना विद्यार्थी एसईई पास भएका छन् ।  यस्तै, लुम्बिनी प्रदेशमा ५७ हजार ६८७ जना, कर्णाली प्रदेशमा ४६ हजार ४५५ जना, सुदूरपश्चिम प्रदेशमा ५९ हजार ८०४ जना उतिर्ण भएको शर्माले बताए ।  विषयगत रूपमा हेर्दा सबैभन्दा धेरै विद्यार्थी गणितमा अनुत्तीर्ण अर्थात् ‘ननग्रेडेड’ भएका छन् । गणितमा १ लाख २८ हजार २१५ जना अनुत्तीर्ण भएका छन् । त्यसपछि अङ्ग्रेजीमा ननग्रेडेड हुने विद्यार्थीको सङ्ख्या ८० हजार ६७२ जना रहेको कार्यालयले जनाएको छ ।  यस्तै, विज्ञान र प्रविधिमा ७९ हजार २७१ जना अनुत्तीर्ण, नेपाली विषयको सैद्धान्तिक परीक्षामा ५४ हजार ७३५ जना र सामाजिक शिक्षामा ५३ हजार १८६ अनुत्तीर्ण भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

काठमाडौं ।  माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको शुक्रबार बसेको बोर्ड बैठकको निर्णयअनुसार एसईईको नतिजा सार्वजनिक गरेको हो ।  एसईईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले गत वर्षको तुलनामा यसपटक एसईईको नतिजा बढेको बताए ।  उनका अनुसार ३.६ देखि ४ जीपीए ल्याउने ४८ हजार १७७ जना, ३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५ जना, २.८ देखि ३.२ जीपीए ल्याउने ८९ हजार १२४ जना विद्यार्थी रहेका छन् ।  यस्तै, २.४ देखि २.८ जीपीए लयाउने ४८ हजार ४७९ जना, २ देखि २.४ जीपीए ल्याउने ४ हजार १२६ जना, १.६ देखि २ जीपीए ल्याउने ८ जना रहेको उनले जानकारी दिए ।  साथै, १२६ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ भने अवगर्गीकृत परीक्षार्थीको संख्या १ लाख ६७ हजार ५९७ रहेको उनले बताए ।  यस वर्षको एसईईमा ५ लाख १४ हजार ७१ परीक्षार्थी सामेल थिए । गत वर्षको तुलनामा यस वर्षको परीक्षामा ४९ हजार २८६ जना बढी परीक्षार्थी सहभागी भएका हुन् । गत वर्षको एसईईमा ४ लाख ६४ हजार ७८५ परीक्षार्थी सहभागी थिए । यसरी हेर्न सकिन्छ रिजल्ट राष्ट्रिय परक्षिा बोर्डको वेभसाइट www.see.gov.np, राष्ट्रिय परक्षिा बोर्ड सानोठिमीको www.neb.gov.np, नेपाल टेलिकमको www.see.ntc.net.np, कान्तिपुर पब्लिकेशन, इडियू सञ्जाल प्रालिको www.see.edusanjal.com, इसेवा लिमिटेड see.esewa.com.np, खल्ती प्रालि https://khalti.com/, कलेज इन्फो नेपाल प्रालि collegeinfonepal.com/see, द कनेक्ट प्लस प्रालि https://www.theconnectplus.com, बाह्रखरी मिडिया प्राली www.12khari.com, कलेज नेपाल प्रालि https://www.collegenepal.com.see_result/, एनसेल आजियाटा लिमिटेड https://www.ncell.com.np/en , स्विफ्ट टेक्नोलोजी प्राली https://swifttech.com.np/see-result/, निमा एजुकेशन फाउण्डेशन https://result.neemaacademy.com र स्मार्ट कार्ड प्राली seemypay.com.np मार्फत पनि नतिजा हेर्न सकिने छ ।

गोङ्गबुमा यामाहा नेपालको नयाँ थ्री एस शोरुम, एउटै छाना मुनी सबै सेवा

काठमाडौं । यामाहा नेपालले काठमाडौंको गोङ्गबुमा नयाँ थ्रीएस फ्यासिलिटी (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) भएको शोरुम मोटो क्राफ्ट्स प्रालिको उद्घाटन गरेको छ । टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, एमएडब्ल्यू ग्रुप अफ कम्पनीका समूह निर्देशक गोपाल कुमार अग्रवाल र एमएडब्ल्यू राइड्स प्रालिका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवाल, टोखा नगरपालिका-९ का वडा अध्यक्ष राम भक्त घिमिरेको उपस्थितिमा शोरुमको उद्घाटन गरिएको हो ।  आधुनिक पूर्वाधार र दक्ष टिम सहितको मोटो क्राफ्ट्स प्रालिले अब यामाहाको विश्वसनीय थ्रीएस अनुभव एकै छानामुनि उपलब्ध गराउने कम्पनीले जनाएको छ । जसमा ग्राहकहरूले विस्तृत सेल्स कन्सल्टेसन र भर पर्दो आफ्टर सेल्स सर्भिस लिन र सक्कली स्पेयर पार्ट्सहरू एकै स्थानमा पाउन सक्ने समूह निर्देशक अग्रवालले बताए ।  ‘यामाहा पर्फर्मेन्स, भर पर्दो प्रविधि र इनोभेसनसँग जोडिएको ब्रान्ड हो । गोङ्गबुमा मोटो क्राफ्ट्स प्रालि सुरु गरेर हामीले नयाँ शोरुममात्र खोलेका छैनौँ, बरू यामाहाका प्रत्येक ग्राहकसम्म पुग्ने गरी हाम्रो उत्कृष्टताको प्रतिबद्धता फैलाइरहेका छौं । हामी सधैं पार्टनर र समुदायसँगै अगाडि बढ्नेमा विश्वास गर्छौ र यो शोरुम त्यसैको प्रतिबिम्ब हो,’ उनले भने ।  एमएडब्लु राइड्सका सीईओ अग्रवालले गोंगबुमा नयाँ थ्रीएस शोरुम सुरु गर्नु यामाहाका उत्कृष्ट उत्पादन र सेवाहरू ग्राहकको नजिक पुर्याउने प्रयास रहेको बताए । सधैं ग्राहकको सेवा, पूर्वाधार र प्राविधिक क्षमतामा उच्च मापदण्ड कायम गर्दै नेटवर्क विस्तारमा अग्रसर रहेको उनको भनाइ छ ।  मोटो क्राफ्ट्सका कार्यकारी निर्देशक सुरोज न्हेम्हाफुकीले मोटो क्राफ्ट्सबाट उच्च गुणस्तरका यामाहा दुई पाङ्ग्रे सवारी साधनको बिक्री मात्र नभई भर पर्दो आफ्टर सेल्स सर्भिस मार्फत पनि उत्कृष्ट सेवा दिने बताए । सेल्सदेखि सर्भिस हुँदै हरेक चरणमा ग्राहक सन्तुष्टि सुनिश्चित गरेर प्रत्येक राइडरसँग दीर्घकालीन विश्वास निर्माण गर्नु कम्पनीको उद्देश्य रहेको उनको भनाइ छ ।  शोरुमको शुभारम्भसँगै यामाहा नेपालले आफ्नो डिलर नेटवर्क अझ सशक्त बनाएको छ । अब गोंगबु र आसपासका ग्राहकले सजिलै यामाहाका मोटरसाइकल, स्कुटर, सर्भिस र स्पेयर पार्ट्स पाउन सक्नेछन् । एमएडब्लू राइड्स अन्तर्गतको यामाहा नेपालले भर पर्दो प्रविधि, इनोभेसन र ग्राहक सन्तुष्टिको प्रतिबद्धता मार्फत नेपाली दुई पांग्रे बजारको अगुवाइ गर्दै आएको छ ।