विकासन्युज

ग्लोबल आइएमई बैंकको ग्लोबल हाटबजार २५औं हप्तामा प्रवेश

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस मनाएको छ। बैंकले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरूलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको ग्लोबल हाटबजार सञ्चालनमा ल्याएको थियो ।  बैंकले शुक्रबार अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा हाटबजार २५औं हप्तामा प्रवेश गरेको अवसर पारेर आफ्नो हाटबजारमा विशेष मेला आयोजना गरेको थियो ।  ‘उद्यमीको उत्पादन, ग्लोबल आइएमईको प्रोत्साहन’ भन्ने नारालाई आत्मसाथ गर्दै बैंकले आफ्नो लगानीमा सञ्चालित लघु, साना तथा मझौला उद्यमीहरूले गरेका उत्पादनलाई बजारसम्मको पहुँच विस्तार गराउने उद्देश्यले बैंकको काठमाडौँको कमलादी शाखामा हरेक शुक्रबार हाटबजार सञ्चालन गर्दै आएको छ ।  अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा हाटबजारको २५औं हप्ता प्रवेशको अवसरमा आयोजित कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मीले मुलुकको अर्थतन्त्रमा लघु, साना तथा मझौला व्यवसायको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै हाटबजारले त्यस्ता उद्यम व्यवसायको प्रवद्र्धनमा विशेष योगदान पुर्‍याउने बताए । उनले हाटबजारले दिगो तथा हरित अर्थतन्त्र निर्माणमा योगदान पुर्‍याइरहेका लघु, साना तथा मझौला उद्यमहरूको बजारमा पहुँच विस्तार गर्न, कृषक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध बनाउन र कृषकलाई आफ्नो उत्पादनको उचित मूल्य प्रदान गर्न सहयोगी भूमिका खेलेको बताए ।  साथै उनले हाटबजारले अर्गानिक, रैथाने तथा स्थानीय उत्पादनलाई प्रोत्साहित गर्दै बजारीकरण गर्न सहजीकरण गर्ने र नेपाली उत्पादकलाई हौसला प्रदान गरेको बताए।  ‘हामीले सानो तथा सिम्बोलिक अभियानको रुपमा सञ्चालन गरेको हाटबजार आजसम्म आइपुग्दा व्यापक भइसकेको छ । साथै यो हाटबजारले नेपालको अर्गानिक, रैथाने तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्न महत्त्वपूर्ण योगदान गर्ने र उत्पादकलाई हौसला प्रदान गर्नेछ,’ उनले भने । हाटबजारमा विषादी रहित कृषि उपज, रैथाने बाली तथा सो अनुरुपका बालीका उत्पादन, स्थानीय स्रोतको उपयोग गरी उत्पादन गरिएका हस्तकला सामग्री, सजावटमा प्रयोग हुने बिरुवा लगायतका दुई दर्जन बढी कृषक तथा व्यवसायीहरुका उत्पादन/सामग्रीहरु प्रदर्शन तथा बिक्रीका लागि राखिएको छ ।  आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ ।

विद्युतीय चुरोट भेप आयात तथा बिक्री वितरणमा अवरोध नगर्न उच्च अदालतको आदेश

काठमाडौं । विद्युतीय चुरोट भेप आयात तथा विक्री वितरणमा सरकारले प्रतिबन्ध लगाउने नपाउने भएको छ ।  स्वास्थ्य मन्त्रालयले विद्युतीय चुरोट (भेप) मा प्रतिवन्ध लगाउन खोजेपनि उच्च अदालतले त्यस्तो खाले कुनै रोकतोक नगर्न सरकारलाई आदेश दिएको हो । उच्चका न्यायाधीशद्वय कविप्रसाद न्यौपाने र हेमन्त रावलको संयुक्त इजलासले भेप आयात तथा विक्री गर्न बाटो खुला गरिदिएको हो । अदालतले कुनै अवरोध नगर्न सरकारलाई भनेको छ ।  अर्थ मन्त्रालय, भन्सार विभाग लगायतले भेपको आयात रोकेको भन्दै भेपमान्डु ट्रेडर्सले सञ्चार र अर्थ मन्त्रालय, स्वास्थ्य मन्त्रालय, भन्सार तथा वाणिज्य विभाग समेतलाई विपक्षी बनाएर उच्चमा रिट दायर गरेको थियो ।  विद्युतीय चुरोट वा भेप प्रतिवन्धको प्रयास स्वरूप स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले प्रतिवन्ध लगाउँदै संवद्ध निकायहरूलाई परिपत्र समेत गरेको थियो ।   सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका, २०७१ को नियम २८ को उपनियम ३ अनुसार ‘कसैले पनि इलेक्ट्रोनिक सिगरेटको उत्पादन, आयात, विक्री वितरण, सार्वजनिक स्थल र सार्वजनिक यातायातमा उपभोग र सञ्चार माध्यमबाट प्रवद्र्धन तथा विज्ञापन गर्न पाउने छैन’ भनी उल्लेख भएकाले सोको पालना गराउन पत्राचार गरिएको केन्द्रले बताउँदै आएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय, भन्सार विभाग, उद्योग तथा आपूर्ति मन्त्रालय र वाणिज्य तथा उपभोक्ता संरक्षण विभागलाई परिपत्र गरिएको केन्द्रले गरेपनि उच्च अदालतको हालैको आदेशले त्यसरी नरोक्न सरकारलाई भनेको हो ।  पछिल्लो समय भेपप्रतिको लत बढेर गएको देखिन्छ र नेपालमा पनि चीनसँग जोडिएको रसुवा र तातोपानीबाट आयात हुने गरेको छ ।  भेपबाट गत आर्थिक वर्षमा २३ करोडभन्दा बढी राजस्व संकलन गरेको थियो । स्वास्थ्य मन्त्रालयले गरेको पत्राचारका आधारमा भन्सारहरुले भेपको जाँच पास गरेका थिएनन् । तर निकासी–पैठारी अनुमति दिने वाणिज्य विभागले भने मौन देखिँदै आएको थियो । स्वास्थ्य मन्त्रालयको पत्राचारको आधारमा जाँच पास रोकिँदै आएको थियो । जाँचपास रोकिएपछि चोरी पैठारी बढेको थियो । खासगरी आयातित भेपको ठूलो परिणाम दक्षिणी नाका भएर भारत जाने गरेको आशंको छ । पछिल्लो समय मुस्ताङको कारोला नाकाबाट पनि भेपको चोरी पैठारी हुने गरेको छ । प्रहरीले गत पुसमा मुस्ताङबाट १९ हजार थान भेप बरामद गरेको थियो । गत पुसमा इमाडोलको गोदाममा करिव २५ करोडको  ८६ हजार थान भेप जफत गरिएको थियो ।  

निजी विद्यालयलाई लोककल्याणकारी र गैरनाफामूलक बनाउने सहमति

काठमाडौं । निजी विद्यालयलाई सेवामूलक, लोक कल्याणकारी हुँदै गैरनाफामूलक गर्ने गरी संसदीय समितिमा सहमति जुटेको छ । निजी विद्यालयका बारेमा शुक्रबार विहानसम्म सांसदहरूबीच मत बाझिएको थियो ।  असार १५ आउन दुई दिनमात्र बाँकी रहँदा विद्यालय शिक्षा विधेयकमाथि छलफल तीव्र रूपमा भइरहेको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले बुधबारदेखि शुक्रबारसम्म तीव्र रूपमा छलफल गरिरहेको हो ।  बिहीबार दिनभरि पनि सांसदहरू छलफलमा व्यस्त थिए भने शुक्रबार पनि बिहानैदेखि छलफल जारी रहेको पूर्वशिक्षामन्त्री तथा नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले बताए । उनका अनुसार विवादित विषयमा बुधबारदेखि लगातार छलफल सुरु भइरहेको छ ।  बिहीबार निजी विद्यालयको विषय छलफल भएको थियो भने शुक्रबार यो विषय टुंगोमा लगाइ प्रारम्भिक बालविकास (इसीडी) का विषयमा छलफल सुरु भएको छ । समितिको बैठकमा सभापति अम्मरबहादुर थापाले निर्णयार्थ प्रस्तुत गरेका थिए । यसमामा सांसदहरुले आआफ्ना तर्कसमेत राखेका थिए । त्यसपछि निजी विद्यालय सेवामूलक, लोककल्याणकारी क्रमशः गैर नाफामुलक बनाएर जाने गरी उक्त प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो । इसीडीमाथि छलफल हुँदै निजी विद्यालयको विषय संसदीय समितिबाट सर्वसम्मत रूपमा पारित भइसकेपछि समितीको बैठकमा अहिले प्रारम्भिक बाल विकास (इसीडी) का बारेमा छलफल सुरु भएको छ । इसीडीलाई विद्यालयभित्र ल्याउनेकी छुट्टै बनाउने भन्ने विषयमा सहमति नजुटेकोमा अहिले सांसदहरू यो विषयमा धारणा राखिरहेका छन् ।  पूर्वशिक्षामन्त्री एवं एमाले सांसद विद्या भट्टराई इसीडीलाई विद्यालय संरचनामा ल्याउनुपर्ने बताउँछिन् । त्यसैगरी, पूर्वशिक्षामन्त्री एवं रास्वपाकी सांसद सुमना श्रेष्ठले बालविकासलाई विद्यालय शिक्षा संरचनामा मै राख्नु पर्न बताउँदै निजी र सामुदायिक बीच विभेद हुन नहुने बताइन् । इसीडीमा अहिले ३२ हजार सहजकर्ता छन् ।

एसईईको नतिजा आज साढे पाँच बजे सार्वजनिक हुने

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा शुक्रबार अपरान्ह साढे पाँच बजे सार्वजनिक हुने भएको छ।  शुक्रबार दिउँसो बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने जनाएको हो । २०८१ चैत ७ गतेदेखि सञ्चालन भएको एसइईई परीक्षामा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए, जसमा नियमिततर्फ ४ लाख ३१ हजार ४ सय ६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७ सय १५ जना विद्यार्थी रहेको बोर्डले जनाएको छ ।  बोर्डले आवश्यक सबै तयारी पूरा भइसकेकाले आजै नतिजा सार्वजनिक गर्ने जनाएको छ ।

कांग्रेसले किन्यो १३ करोडको जग्गा, केन्द्रीय कार्यालयको परिसर विस्तार गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो केन्द्रीय कार्यालय परिसर विस्तार गर्ने भएको छ । पार्टीले ललितपुर सानेपास्थित केन्द्रीय कार्यालय अगाडिपट्टि रहेको १९ आना जग्गा र सोही जग्गामा रहेको तीनतले घर खरिद गर्न लागेको हो । उक्त जग्गा ललितपुर निवासी अमिरमान अमात्यको हो । पार्टीले उक्त सम्पत्ति खरिद गरी कार्यालय क्षेत्रलाई अझ व्यवस्थित र फराकिलो बनाउन लागेको हो। बुधबार केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा ५० लाख रुपैयाँ बैना दिई एक वर्षभित्र पास गर्ने सर्तसहित सम्झौता गरिएको हो । पार्टीले कुल १३ करोड रुपैयाँको लागतमा सम्पत्ति खरिद गर्न लागिरहेको छ । यो रकम पार्टीका विभिन्न तहमा उठाइने लेबी र शुभेच्छुकहरूको आर्थिक सहयोगमार्फत संकलन गरिने बताइएको छ ।

सम्धीले तिरे माधव नेपालको धरौटी

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल यतिबेला भ्रष्टाचारको मुद्दा खेपिरहेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेमा रहेको पतञ्जलि जग्गा प्रकरणमा संलग्नता रहेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेपछि पूर्व प्रधानमन्त्री नेपाल मुद्दा खेपिरहेका हुन् । बुधबारको थुनछेक बहसपछि अदालतले नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले धरौटीमा छाड्न आदेश दिएपछि उनले धरौटी रकम बुझाएका थिए ।  सोझा तथा इमान्दार नेताका रूपमा परिचित नेपालको धरौटी रकमको चाँजो उनका सम्धीसमेत पूर्वमन्त्री सोमप्रसाद पाण्डेले मिलाएको स्रोतले जनाएको छ ।  पाण्डे नेकपा एकीकृत समाजवादीका सचिव हुन् । उनी पाल्पाको अर्गली निवासी हुन् ।  उक्त धरौटी रकमका लागि ग्लोबल आईएमई बैंक ग्यारेन्टी बसेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा संलग्नता रहेको भन्दै नेपालसहित ९३ जना व्यक्तिहरूमाथि सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको थियो । आयोगले अध्यक्ष नेपाल विरुद्ध १८ करोड ५८ लाख ५० हजार बिगो माग दाबी गरेको थियो । उनको सांसद पद पनि निलम्बित भएको छ ।  २०६६ सालमा नेपाल प्रधानमन्त्री हुँदा मन्त्रिपरिषदबाट निर्णय गरेर हदबन्दी छुटमा रहेको जग्गा खरिद गर्ने स्वीकृति दिइएको थियो। । तर पछि हदबन्दीभन्दा बढी कानुन विपरीत जग्गा बिक्री गरेको भन्दै उजुरी आएपछि अख्तियारले यसबारे अनुसन्धान अघि बढाएको थियो । 

गुल्मीको मीठास : ‘थोर्गेली गुड’ को देशभरि माग

गुल्मी । गुल्मीको रूरू क्षेत्र गाउँपालिका-३ स्थित थोर्गामा उत्पादन हुने ‘थोर्गेली गुड’ अहिले एक ‘ब्राण्ड’का रूपमा स्थापित भएको छ । डेढ सय वर्षदेखि उखुखेती हुँदै आएको यस क्षेत्रमा पछिल्लो समय गाउँपालिकाको पहल र विभिन्न संस्थाको सहयोगमा उखु प्रशोधन केन्द्र स्थापना भएपछि ‘थोर्गेली गुड’ ले बजारमा छुट्टै पहिचान बनाउन सफल भएको हो ।   रूरू बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमार्फत सञ्चालनमा रहेको गुड प्रशोधन केन्द्रले २०८१ सालको माघ २० गतेदेखि नियमित उत्पादन थालेको थियो ।  सहकारीका अध्यक्ष भेषराज ज्ञवालीका अनुसार हालसम्म उद्योगले करिब २४ लाख ६० हजार बराबरको नौ हजार ७०० किलोभन्दा बढी गुड बेचिसकेको छ ।  त्यस्तै, १० लाख ९५ हजारभन्दा बढीको पाँच हजार ४७२ लिटर खुदो र रु पाँच हजार दुई सय बराबरको १५ किलो चकलेट बेचिसकेको छ ।      विगतमा परम्परागत प्रविधिबाट गुड बनाउने र त्यसको प्रयोग पनि स्थानीय रुपमै हुने भएकाले थोरै सङ्ख्यामा किसानले सीमित जमिनमा उखुखेती गर्ने गरेका थिए । तर अहिले आधुनिक मेसिनसहितको उद्योग स्थापना भएपछि उखु किसान हौसिएका छन्।       ‘खुदो उद्योग स्थापना भएपछि उखु किसानको सङ्ख्या पनि बढ्दै गएको छ । अहिले वडा नं ३ र ४ मा मात्र उखुखेती गर्ने कूल किसान सङ्ख्या करिब ४०० हाराहारी छ भने १०० हाराहारी किसानले सहकारीलाई उखु बिक्री गरिरहेका छन्,’ सहकारी अध्यक्ष ज्ञवालीले भने, ‘रूरू क्षेत्रमा अहिले तीन हजार २०० रोपनी क्षेत्रफल जमिनमा उखुखेती भइरहेको छ । जबकि २०७४ सालअघिसम्म त्यहाँ करिब आठ सय रोपनी हाराहारीमा मात्रै उखुखेती गरिन्थ्यो ।’      सहकारीका अनुसार गत माघयता ३१ लाख बराबरको उखु खरिद भइसकेको छ । बारीमै प्रतिकिलो १२ मा खरिद गरिएको उखु प्रशोधन गरी अहिले रू २६० प्रतिकिलो दरमा गुड बिक्री हुँदै आएको छ ।  उद्योगले स्थानीयलाई रोजगारी पनि दिएको छ । त्यहाँ हाल आठ जना कर्मचारी मासिक तलबमा कार्यरत छन् । अहिले पनि उद्योगसँग ५० देखि ५५ हजार लिटर खुदो मौज्दात छ । स्थानीय रिडी बजारसहित केही स्थानमा बिक्री प्रबन्धक राखिएका छन् ।      गाउँपालिकाको अनुदान सहयोग र हेफर इन्टरनेसनल नेपाललगायतका संस्थाको सहकार्यमा स्थापना गरिएको यो उद्योगमा भारतको गुजरातबाट आधुनिक क्रसर मेसिन, भट्टी र केही सङ्ख्यामा जनशक्तिसमेत ल्याइएको थियो । उद्योगको संरचना निर्माण तथा मेसिन जडानका लागि भारतबाटै मान्छे झिकाइएका थिए ।       उद्योगका व्यवस्थापक प्रकाश थापाका अनुसार दार्सिङबासस्थित जनप्रिय प्रावि विद्यार्थी सङ्ख्या कम भएपछि उनीहरुलाई अर्को विद्यालयमा सारेर त्यसैको भौतिक संरचना प्रयोग गरी उद्योग स्थापना गरियो । अहिले स्थानीय कामदारबाटै उद्योगका काम भइरहेका छन् भने व्यावसायिक उत्पादन पनि निरन्तर छ ।       ‘क्रसिङ क्षमतामा कुनै समस्या छैन, खुदो पकाउने क्षमता बढेको छ । प्याकेजिङ र बजारको कुनै समस्या छैन,’ थापा भन्छन् । उद्योगले चकलेट उत्पादनका लागि पनि ‘फ्रेम’ (खुदोलाई चकलेटको आकार दिने भाँडो) पनि ल्याइसकेको छ । विस्तारै चकलेट उत्पादनलाई पनि बढाउने योजना रहेको थापाले बताए । उखु प्रशोधन केन्द्र निर्माण तथा व्यवस्थापनका लागि गाउँपालिकाले चालु आथिक वर्षमा २० लाख अनुदान दिएको छ । त्यस्तै उखु प्रवर्द्धन कार्यक्रमका लागि कृषि ज्ञान केन्द्रबाट तीन लाख अनुदान र हेफर इन्टरनेसनल नेपालले उद्योगका लागि चाहिने मेसिनरी तथा प्राविधिक पाटोमा सहयोग ग¥यो ।       गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीका अनुसार गुड उत्पादनसँगै उखुखेतीलाई पनि गाउँपालिकाले प्राथमिकता दिएको छ । उखुको बीउ वितरण, जैविक मल उत्पादन, कीटनाशक व्यवस्थापनलगायत कार्यक्रमलाई अनुदानमा सञ्चालन गर्ने योजनामा गाउँपालिका जुटेको उनको भनाइ छ । ‘उखु नगदेबाली हो, पहिले धेरै जसो जमिन बाँझो र छिटपुट मकैखेती हुन्थ्यो । अहिले उखु उत्पादन हुँदैछ । यो आन्तरिक उत्पादनलाई उद्यमसँग जोड्ने र युवा पलायन रोक्ने पालिकाको प्रयास पनि हो,’ अध्यक्ष ज्ञवालीले भने, ‘​​​​​​गुणस्तरीय उत्पादन भएको कारण उपभोक्ताले मूल्यभन्दा पनि यसको उपयोगिता हेर्छन् । बजारको कुनै समस्या छैन । गुडलाई चकलेट बनाउनेसम्मको योजना छ ।’ मिसावटरहित स्थानीय उत्पादन र अर्गानिक गुण भएको भन्दै ‘थोर्गेली गुड’ को माग बढ्दो छ । अध्यक्ष ज्ञवालीका अनुसार केही उच्चपदस्थ व्यक्तिहरु थोर्गेली गुडका नियमित ग्राहक बनेका छन् ।  ‘यहाँ उत्पादित गुड राम्रा लागेर नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पछिल्लोपटक १० किलो मगाउनुभयो, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको नातिनीको बिहेमा कसार बनाउनका लागि पनि यही उद्योगको खुदो प्रयोग गरिएको थियो । पूर्वमुख्यसचिव लीलामणि पौडेल, सचिव माहादेव पन्थ लगायतले उनको गुड खुदो नियमित प्रयोग गर्नुहुन्छ,’ अध्यक्ष ज्ञवालीले भने ।      उखु प्रवर्द्धन कार्यक्रम आगामी आवको बजेटमा पनि राख्ने योजना रहेको उनले बताए। बीउ तथा जैविक मलमा अनुदान दिने, ठूलो परिमाणमा उखु उत्पादन गर्ने किसानलाई पुरस्कृत गर्नेजस्ता कार्यक्रम थप परिष्कृत रुपमा ल्याएर यसलाई पालिकाको गौरवको आयोजना बनाउने लक्ष्य पालिकाका रहेको उनको भनाइ छ ।      थोर्गेली गुड खुदो उद्योगले उद्योग विभागबाट आफ्नो छुट्टै ‘ट्रेडमार्क’ र ‘लोगो’ पाएको छ । जसले थोर्गेली गुडलाई विशिष्ट ब्रान्ड बनाउँदै लगेको छ । उत्पादित वस्तु बेच्नका लागि बजारको समस्या छैन ।  यद्यपि उखुखेती बढाउने र बढीभन्दा बढी गुड खुदो उत्पादन गर्नका लागि स्थानीय प्रयासमात्र पर्याप्त नहुने कृषकको बुझाइ छ । प्रदेश सरकारले विगतमा बीउमा केही अनुदान दिएको भए पनि सङ्घ सरकारको सहयोग भने खासै नपाएको स्थानीयको गुनासो छ ।      ‘अहिले गाउँमै रोजगारीको सम्भावना देखिएको छ, युवालाई विदेश जानुपर्ने बाध्यता केही हदसम्म घट्ने आशा पलाएको छ,’ वडा नं १ का कृषक विष्णु न्यौपानेले भने, ‘खुदो उद्योग स्थापना भएपछि मैले पनि चार रोपनी जग्गामा उखुखेती थालेको छु, सरकारबाट सहयोग हुने हो भने अझ बढी व्यावसायिक भएर जान सकिन्थ्यो भन्ने लाग्छ ।’

गोरखाका किसानले लिची बेचेर कमाए ११ करोड रुपैयाँ

गोरखा । गोरखाका किसानले लिची बिक्रीबाट यो वर्ष ११ करोड १५ लाख रुपैयाँ आम्दानी गरेका छन् ।  गत वर्षको तुलनामा जिल्लामा यसपटक लिची उत्पादनबाट किसानले झण्डै एक करोड १५ लाख बढी आम्दानी गर्न सफल भएको कृषि ज्ञानकेन्द्र गोरखाका प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिए । ‘गतवर्ष यहाँ १० करोड बराबरको लिची बिक्री भएको थियो,’ उनले भने, ‘तर यसपटक रु एघार करोडभन्दाबढी मूल्यको लिची किसानले बिक्री गरेका छन् ।’ प्रमुख बस्ताकोटीले लिचीका लागि मौसम अनुकूल भएको तथा बगैंचा व्यवस्थापन राम्रो भएकाले उत्पादन बढेको बताए । ‘यसपाली लिची उत्पादनका लागि मौसम अनुकूल रह्यो,’ उनले भने, ‘त्यसमा पनि किसानले समयमै औषधि उपचार तथा बगैंचाको राम्रो मलजल तथा सिँचाइ  व्यवस्थापन गरेका कारण उत्पादन राम्रो भएको हो ।’ गोरखामा यो वर्ष एक हजार सात सय १६ मेट्रिक टन लिची उत्पादन भएको छ, जबकि गत वर्ष एक हजार पाँच सय ९७ मेट्रिक टन लिची उत्पादन भएको थियो ।  अघिल्लो वर्ष  एक सय ८० हेक्टर क्षेत्रफलमा लिची उत्पादन भएकोमा यो वर्ष एक सय ८७ हेक्टरमा लिची उत्पादन भएको प्रमुख बस्ताकोटीको भनाइ छ । उत्पादित लिची प्रतिकेजी ६५ का दरले बिक्री हुँदा किसानले मनग्य आम्दानी गरेको उहाँले बताए । जिल्लाको पालुङटार नगरपालिकालाई लिचीखेतीको मुख्य पकेट क्षेत्र मानिन्छ । पालुङटारको वडा नम्बर ६, ७ र ८ बाट मात्रै ८० प्रतिशत लिची उत्पादन हुने गरेको छ । ती वडामा करिब ३० हजार लिचीका बोट छन् । पालुङटार क्षेत्रमै १५० हेक्टर जमिनमा लिचीखेती गरिएको छ ।