विकासन्युज

लक्ष्मी सनराइज बैंक र आईएफसीबीच रणनीतिक साझेदारी, जोखिम व्यवस्थापन र दिगो वित्तमा ध्यान

काठमाडौं । लक्ष्मी सनराइज बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) सँग रणनीतिक सल्लाहकार साझेदारीमा हस्ताक्षर गरेको छ ।  सम्झौतापत्रमा लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजय शाह र आईएफसी दक्षिण एसियाका फाइनान्सियल इन्स्टिच्युसन्स ग्रुप अपस्ट्रीम एण्ड एडभाइजरी का क्षेत्रीय प्रबन्धक मेहदी चेरकाउईले हस्ताक्षर गरेका छन् । यस सहकार्यलाई बैंकको दीर्घकालीन संस्थागत सुदृढीकरण, जोखिम व्यवस्थापन र दिगो वित्ततर्फको महत्त्वपूर्ण फड्कोको रूपमा हेरिएको छ । बैंकले सार्वजनिक गरेको जानकारीअनुसार यो सहकार्य दुई मुख्य क्षेत्रहरूमा केन्द्रित हुनेछ । पहिलो- सूचना प्रविधि, बजार, कर्जा र सञ्चालनसँग सम्बन्धित जोखिम व्यवस्थापन प्रणालीलाई सुदृढ पार्ने र दोस्रो- जलवायु वित्त तथा नवप्रवर्तनात्मक आपूर्ति शृंखला समाधान सहितको दिगो तथा आपूर्ति शृंखला वित्तलाई प्रवर्द्धन गर्ने । बैंकले यो साझेदारीले दिगोपनलाई संस्थागत गर्दै जोखिमप्रति उत्तरदायी संस्कृति विकास गर्न र दीर्घकालीन लाभ सिर्जना गर्न सहयोग पुर्‍याउने विश्वास लिएको छ । लक्ष्मी सनराइज बैंक नेपालमा दिगो आर्थिक वृद्धि, हरित वित्त र वातावरणीय उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको बैंकहरूमध्ये एक हो ।  हाल बैंकका २५४ शाखा, ३२९ एटीएम र सशक्त डिजिटल सेवामार्फत देशभर लाखौं ग्राहकहरूलाई सेवा दिइरहेको छ । यस रणनीतिक साझेदारीसँगै बैंकले वित्तीय समावेशिता, नवीनता र दिगो विकासका सिद्धान्तहरूलाई थप मजबुत बनाउँदै अघि बढ्ने विश्वास लिएको छ ।

हङकङको कुल वस्तु निर्यात र आयातमा पहिलो ५ महिनामा दोहोरो अंकको वृद्धि

काठमाडौं । हङकङमा २०२५ को पहिलो पाँच महिनामा वस्तुहरूको कुल निर्यातको मूल्यमा वार्षिक रूपमा १२.६ प्रतिशतले वृद्धि भएको छ ।  वस्तुहरूको आयातको मूल्यमा वार्षिक रूपमा १२.९ प्रतिशतले वृद्धि भएको हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले जनाएको छ ।  सरकारको जनगणना र तथ्याङ्क विभागले जारी गरेको पछिल्लो वाह्य व्यापारिक तथ्याङ्कअनुसार मे २०२५ मा हङकङको निर्यात र आयातको कुल मूल्यमा क्रमशः १५.५ प्रतिशत र १८.९ प्रतिशतले वृद्धि भएको छ । 

टेस्लामा फेरि व्यवस्थापकीय संकट, शीर्ष कार्यकारी र मस्कका विश्वासपात्रले कम्पनी छाडे

काठमाडौं । टेस्लाका कार्यकारी तथा एलन मस्कका लामो समयदेखि नजिकका सहयोगी ओमिद अफशारले कम्पनी छाडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । विश्वव्यापी माग सुस्त भइरहेका बेला टेस्लाबाट अर्को वरिष्ठ कर्मचारीको बहिर्गमन भएको हो । अफशार सीईओको अफिसको हिस्सा थिए र सन् २०२३ देखि युरोप र उत्तर अमेरिका क्षेत्रको बिक्री तथा उत्पादनको जिम्मेवारी सम्हाल्दै आएका थिए । उनले सन् २०१७ मा टेस्लामा काम सुरु गरेका थिए र चाँडै मस्कका विश्वासिलो पात्र बनेका थिए । टेक्सास गिगाफ्याक्टोरीजस्ता ठूला योजनामा उनले केन्द्रीय भूमिका खेलेका थिए । स्रोतहरूले अफशारले किन कम्पनी छाडे भन्ने विवरण दिन सकेनन् । उनले यसै साता सामाजिक सञ्जाल एक्समा टेस्लासम्बन्धी पोस्ट गरेका थिए र बुधबारसम्म उनका एक्स र लिंक्डइन प्रोफाइलमा अझै टेस्ला कार्यकारीको पद उल्लेख गरिएको थियो । युरोप र उत्तर अमेरिकामा टेस्लाका पुराना मोडल गाडीप्रति ग्राहकको चासो घट्दै गएको छ भने प्रतिस्पर्धी कम्पनीहरूले सस्तो मूल्यका विकल्पहरू ल्याएका छन् । यस्तो पृष्ठभूमिमा अफशारले टेस्ला छाडेका हुन् । टेस्लाको आन्तरिक कामकाजसँग परिचित दुई जनाका अनुसार एलन मस्क वाशिंगटनतर्फ केन्द्रित भइरहँदा अफशारले यस वर्ष थप जिम्मेवारी सम्हालेका थिए । एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारको खर्च कटौती अभियानमा नेतृत्व गरेपछि टेस्लालाई समय नदिएको भन्दै लगानीकर्ता र विश्लेषकहरू चिन्तित बनेका थिए । सोमबार अफशारले एक्समा अष्टिनमा सुरु भएको रोबोट्याक्सीलाई ‘टेस्लाका लागि साँच्चिकै ऐतिहासिक दिन ! ’ भनेका थिए र थपेका थिए- ‘हामी सबैलाई अगाडि बढाउनुभएकोमा धन्यवाद, एलन !’ अतीतमा अफशारले मस्कसँग बिदाहरू र रातभर काम गरेको अनुभवसमेत एक्समा बाँडेका थिए, विशेष गरी सन् २०१८ मा मोडल ३ गाडीको उत्पादन तीव्र भइरहँदा । उनले मार्च महिनाको एक पोस्टमा लेखेका थिए- ‘त्यो बेला हामी कारखानामै बस्थ्यौं, साँच्चिकै २४/२७’ टेस्लाका पूर्व मिड-लेभल बिक्री प्रबन्धक म्याथ्यु लाब्रोट भन्छन्, ‘अफशार मस्कसँग धेरै नजिक थिए र पछि उत्तर अमेरिका तथा युरोप क्षेत्रको बिक्री-उत्पादनको नेतृत्वमा पुगेका थिए ।’ उनका अनुसार बिक्री घट्न थालेपछि आन्तरिक रूपमा ठूलो दबाब थियो, खासगरी युरोपमा यो समस्या गम्भीर बनिरहेको थियो । लाब्रोटले मस्कको आलोचना गरेपछि उनी कम्पनीबाट बाहिरिएका थिए । ब्लूमबर्ग न्यूजले अफशारको बहिर्गमनबारे सबैभन्दा पहिले रिपोर्ट गरेको थियो, जसले टेस्लाका उत्तर अमेरिकी मानव संसाधन निर्देशक जेना फेरुआले पनि कम्पनी छाडेको जनाएको छ । अफशारको बहिर्गमन पुष्टि गर्ने तीनमध्ये दुई जनाले फेरुआले पनि त्यही समयमा कम्पनी छाडेको बताए । तीमध्ये एक जनाले अफशार र फेरुआ नजिकका सहकर्मी भएको बताउँछन् । जसकारण दुवैले एकै समयमा कम्पनी छाड्नु अचम्मको विषय होइन । अर्का स्रोतका अनुसार फेरुआ अफशारकी प्रत्यक्ष एचआर सल्लाहकार थिइन् । अफशारको बहिर्गमन टेस्लामा विगत १४ महिनामा भएका एकपछि अर्को उच्चस्तरीय बहिर्गमनहरूमध्ये पछिल्लो हो । कम्पनीले हजारौं कर्मचारी हटाउँदै एआई-आधारित सेल्फ-ड्राइभिङ प्रविधि र रोबोटिक्सतर्फ ध्यान केन्द्रित गर्न थालेपछि यस्ता संरचनात्मक परिवर्तनहरू भएका हुन् । यस अवधिमा रोबोट, ब्याट्री र सार्वजनिक नीति विभागका नेताहरू पनि बाहिरिए । टेस्लाको ह्युमनाइड रोबोट ‘अप्टिमस’ टोलीका प्रमुख मिलान कोभाकले यसै महिना टेस्ला छाडेको घोषणा गरेका थिए र ब्याट्री विभागका शीर्ष कार्यकारी विनीत मेहताले मे महिनामा कम्पनी छाडेका थिए । मुख्य ब्याट्री इन्जिनियर ड्र्यु बाग्लिनो, सुपरचार्जिङ विभाग प्रमुख रेबेका टिनुच्ची, र सार्वजनिक नीति प्रमुख रोहन पटेल पनि सन् २०२४ को वसन्तमा टेस्लाबाट बाहिरिएका थिए । मस्कले मे महिनाको अन्त्यतिर वाशिंगटनको भूमिका समाप्त गरेपछि केही लगानीकर्तालाई ब्रान्ड इमेजबारेको चिन्ता कम भएको थियो । तर वर्षको सुरुवातमा टेस्लाको सेयर मूल्य केही बढेपनि अहिलेसम्म करिब १९ प्रतिशतले घटिसकेको छ । प्रारम्भिक वृद्धिको कारण ट्रम्पको विजयले रोबोट्याक्सीका लागि नियामकीय बाटो खुल्ने आशा थियो । आइतबार टेस्लाले टेक्सासको अष्टिनमा आफ्नो पहिलो सेल्फ(ड्राइभिङ ट्याक्सी सेवा सुरु गरेको छ । विश्लेषकहरूका अनुसार यस सेवा विस्तार गर्न अन्य सहरहरूमा जाँदा सुरक्षा र प्रविधिसम्बन्धी चुनौतीहरू आउन सक्ने सम्भावना छ । स्वचालित ड्राइभिङ फिचरकै कारण दुर्घटना ? टेस्लाविरुद्ध मृतक परिवारको मुद्दा अब बिना ड्राइभर ट्याक्सीमा यात्रा, मस्कको रोबोट्याक्सी सार्वजनिक

डाक्टर, इञ्जिनियर, पाइलट र वकिल मात्रै बनाएर हुँदैन, विवेकशील पनि बनाउनुपर्छ {अन्तर्वार्ता}

नेपाली कांग्रेसका पूर्व महामन्त्री डा शशाङ्क कोइराला नवलपरासी पूर्व निर्वाचन क्षेत्र नं १  बाट  प्रतिनिधिसभामा प्रतिनिधित्व गर्छन् । नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाका कान्छो छोराका रुपमा उनको जन्म २०१५ साल कात्तिक ८ गते विराटनगरमा भएको हो । बाल्य उमेरमा नै भारत निर्वासनमा रहेका प्रतिनिधिसभा सदस्य कोइराला पेसा गत दक्षताका हिसाबले आँखा रोग विशेषज्ञ हुन् । विसं २०४६ र २०६३ मा जनआन्दोलनका क्रममा केही समय प्रहरी हिरासतमा रहेका नेता कोइरालाले चिकित्सक पेसाबाट बाहिरिए पछि महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, दुई पटक केन्द्रीय सदस्य हुँदै १३ औँ महाधिवेशनमा पार्टीको महामन्त्रीको जिम्मेवारी सम्हाले । पूर्व महामन्त्री कोइराला २०६४ साल र २०७० सालमा संविधानसभा सदस्य तथा २०७४ साल र २०७९ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । नेता कोइराला पार्टीभित्र आफूलाई साझा व्यक्तित्वका रुपमा अघि बढाइरहेका छन् । प्रस्तुत छ प्रतिनिधिसभा सदस्य कोइरालासँग संसदीय अभ्यास, संविधान कार्यान्वयन र संशोधन, देशको आर्थिक विकासलगायत देशको समसामयिक विषयमा गरिएको अन्तर्वार्ताको सम्पादित अंश :  आजभोलि के मा व्यस्त हुनुहुन्छ ?      अहिले संसद् चलिरहेको छ । सदनले अस्ति भर्खरै आर्थिक वर्ष २०८२/८३ को बजेट पास गरेको छ । त्यसअघि सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिए । संसदको गतिविधिसँगै पार्टीको काम पनि गरेको छु । बिहानैदेखि राजनीतिक भेटघाटमै व्यस्त छु । अब केही दिनमै पार्टीको केन्द्रीय समितिको बैठक छ । मुख्य गरी संसद् र पार्टीको काममै व्यस्त छु ।   अहिलेको संसदीय अभ्यासलाई कसरी विश्लेषण गर्नुभएको छ ?      प्रजातन्त्रमा सन्तुलन हुनुपर्छ । एउटा सत्ता पक्षीय पार्टी हुन्छ, अर्को प्रतिपक्ष । प्रतिपक्षी पार्टीले सतर्क गर्ने काम गर्छ । सत्ता पक्षीय पार्टीले प्रतिपक्षलाई प्रश्न गर्ने ठाउँ दिनुपर्छ । अहिले शक्तिशाली सरकार छ । हामीलाई एउटा डर छ, कि शक्तिशाली सरकार धेरै नै शक्तिशाली भयो भने विरोधको मतलब गर्दैन । प्रतिपक्षी पार्टीको प्रश्नलाई बेवास्ता गर्छ । त्यसैले सरकार सन्तुलित हिसाबले जानुपर्छ । प्रतिपक्षको पनि कुरा सुन्नुपर्छ । जायज माग पूरा गर्नुपर्छ । प्रतिपक्षलाई दबाउने, बोल्न नदिने, कुरा नसुन्ने गर्न हुँदैन । लोकतन्त्रको लागि यो राम्रो कुरा होइन । किनभने सरकारले प्रतिपक्षसँग समन्वय गर्नुपर्छ । कुनै पनि विषयमा निर्णय गर्दा प्रतिपक्षको पनि भावना अङ्कित हुनुपर्छ ।  संविधान कार्यान्वयनको अवस्थालाई कसरी हेर्नुभएको छ ?      हामीले राष्ट्रलाई विकेन्द्रीकरण गरेका छौँ । सात प्रदेश बनाएका छौँ । तर, शासन अहिले पनि केन्द्रीकृत नै छ । व्यवहारिक रुपमा विकेन्द्रीकरण गरेनौँ । प्रदेशलाई के चाहिन्छ भन्ने कुरा प्रदेशले नै निर्णय गर्न पाउनुपर्छ । सङ्घले त्यसमा हस्तक्षेप गर्नु भएन । प्रदेशको संरचना हेरेर के गर्दा उपयुक्त हुन्छ, त्यो अनुसार उसले नै आफ्नो योजना बनाउँछ । तर, यहाँ सङ्घबाट प्रदेशमाथि हस्तक्षेप गरिएको छ । यो राम्रो होइन । कि त हामी सङ्घीयतामा जान हुन्थेन । पहिलो कुरा, सङ्घीयतामा आर्थिक भार पर्‍यो भन्ने गरिएको छ । आर्थिक भार हामी आफैंले गराएका छौँ । विकेन्द्रीकृत गरेपछि उनीहरुलाई खर्च पनि दिनुपर्छ । सबै केन्द्रले गर्ने होइन । प्रदेशलाई थाहा छ, कहाँ-कहाँ खर्च गर्नुपर्छ । त्यो अधिकार पनि प्रदेशलाई नै दिनुपर्छ । दोस्रो कुरा, समानुपातिक प्रतिनिधित्व राम्रो हो । तर त्यो प्रतिनिधिसभामा होइन, राष्ट्रिय सभामा हुनुपर्ने हो । प्रतिनिधिसभामा निर्वाचित प्रतिनिधि मात्रै बस्नुपर्छ । मेरो दृष्टिकोणमा यो गलत भएको छ । तेस्रो कुरा, इन्टरनेशनल अफियर्स वीपी कोइरालाले सुरु गरेको हो । उहाँले भारत र चीनसँग समदुरी राख्नुपर्छ भन्नुभएको थियो । यद्यपि, भौगोलिक दृष्टिकोणले निकटता भारतसँग छ । तर सन्तुलित सम्बन्ध राख्नुपर्छ ।  संविधान संशोधनको विषयमा तपाईँको धारणा के छ ? हरेक दश वर्षमा संविधानको रिभ्यु हुनुपर्छ । तर, कुन विषयमा संशोधन गर्ने हो, त्यो विषयमा छलफल हुनुपर्‍यो । किन संशोधन गर्ने भन्ने विषयको आधार तय गर्नुपर्छ । के का लागि र किन परिवर्तन गर्ने ? कसैको मनमा लाग्यो अनि परिवर्तन गर्ने भन्ने हुँदैन । सन् १७८५ मा अमेरिकामा ५५ जनाले चार महिनामा लेखेको संविधान हो । आजसम्म त्यही संविधान छ । सन् १९८५ तिर एकचोटी मात्रै संशोधन भएको छ । सुरुमा केही संशोधन गरियो, तर झण्डै २०० वर्षदेखि त्यही संविधान लागू भएको छ । सन् १९८४ मा पारिश्रमिक वृद्धि गर्नुपर्छ भनेर संशोधन गरियो । त्यसपछि संशोधन भएको छैन । ती ५५ जना दूर दृष्टि भएका मानिस थिए । हामीले पनि त्यसरी काम गर्नुपर्‍यो । त्यसकारण हामी संशोधनभन्दा कार्यान्वयनमा जानुपर्यो ।  कार्यान्वयन भएकै छैन । अनि अहिले नै संशोधन गरिहाल्ने कुरा हुँदैन । विकेन्द्रीकरणलाई साँच्चिकै विकेन्द्रीकरण गरौँ ।  सङ्घीय संरचनालाई अझै सुदृढ बनाउन के गर्नुपर्छ ?      संविधानमा भएको दुई/तीन वटा कुरा मात्रै परिवर्तन हुँदैन । त्यो भनेको अन्तर्राष्ट्रिय नीति, सेना, मुद्रा र राष्ट्रिय झण्डामा परिवर्तन हुँदैन । यदि अरु विषयमा संशोधनको आवश्यकता हो भने छलफल हुनुपर्‍यो । सङ्घले मुठी कस्ने होइन । लौ गर भनेर सात वटै प्रदेशलाई काम गर्ने वातावरण बनाउनुपर्छ ।   देशमा सुशासनका बारे उठेको प्रश्न सम्बोधन गर्न के गर्नुपर्छ ?      सबैभन्दा पहिला मानिसलाई विवेकशील बनाउनुपर्छ । मेरो एक जना दाइ जापान जानुभएको थियो । उहाँले आफ्नो ब्याग जापानको एउटा कुनै सहरमा छोड्नुभयो ।  तर, एक हप्ता पछि जाँदा पनि त्यो ब्याग जहाँ छोडेको हो, त्यही ठाउँमा थियो । त्यहाँका मानिस विवेकशील छन् । उनीहरू यो मेरो ब्याग होइन भन्ने कुरामा सचेत छन् । हामीले त्यो किसिमको समाज निर्माण गर्नुपर्‍यो । यो कुरा शिक्षासँग पनि सम्बन्धित छ । हामीले कस्तो किसिमको शिक्षा दिइरहेका छौँ । डाक्टर, इञ्जिनियर, पाइलट र वकिल मात्रै बनाएर हुँदैन । उनीहरुलाई विवेकशील पनि बनाउनुपर्छ । डाक्टरले बिरामीलाई पूर्ण रुपमा निको पारेको दिन सन्तुष्ट हुनुपर्छ । मैले एक लाख जनाको आँखाको अप्रेशन गरेँ । मेरो सन्तुष्टि भनेको मेरो बिरामीले आँखा देखेको दिन हुन्छ । मेरा लागि पैसाभन्दा पनि बिरामी निको हुनु सन्तुष्टि हो । हामी पैसाको मात्रै कुरा गर्ने हो भने नैतिक रुपमा पतन हुन्छौं । मानिस भ्रष्ट भएर जान्छ । अहिले भ्रष्टाचारको विषय पनि आइरहेको छ । भ्रष्टाचार नैतिक पतन हो । भ्रष्टाचार विवेक नभएको मानिसले मात्रै गर्छ । त्यसकारण सुशासनका लागि मानिसमा विवेक हुनुपर्छ । यही मानिसमा नैतिकता र विवेक हुने हो भने सुशासन यतिकै कायम हुन्छ ।  देशको राजनीतिक व्यवस्थामाथि भइरहेको टीका-टिप्पणीप्रति तपाइको भनाइ के छ ?        राजालाई वीपीले धेरै मान्नु हुन्थ्यो । आठ वर्ष जेल बस्नुभयो । त्यहीँ पनि राजालाई मान्नुभयो । गिरिजाप्रसाद कोइरालाले पनि राजा मान्नुभयो । उहाँले बेवी किङको कुरा पनि ल्याउनुभयो । पछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले सबै हड्पि सकेपछि राजाको ठाउँ रहेन । यस्तो अवस्थामा राजा कसरी ल्याउने ? कि त राजपरिवारभन्दा बाहिरबाट ल्याउनु पर्‍यो । त्यो पनि सम्भव छैन । राजा नै ठीक छैन भने हामीलाई किन राजा चाहियो ? यो सम्भव छैन ।  राजनीतिक दलका नेता तथा कार्यकर्ताप्रति अहिले जनतामा देखिएको असन्तुष्टिलाई कसरी सम्बोधन गर्न सकिन्छ ?      देशमा अहिले हामीले आत्मसात गरेको शासन व्यवस्था नराम्रो होइन । मेरो विचारमा कार्यान्वयन तहमा रहेका व्यक्ति ठीक भएनन् । कुनै पनि व्यवस्था आफैंमा बेठीक हुँदैन । व्यवस्थामाथि शासन गर्ने व्यक्तिले व्यवस्थालाई असफल बनाउने हो । प्रणाली (सिस्टम) मा त्रुटी छैन । नेपालका लागि सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था नै उत्तम हो । आजसम्म योभन्दा उत्तम अर्को व्यवस्था हुनै सक्दैन । त्यसकारण हामीले व्यवस्थालाई प्रश्न गर्ने होइन । गलत ढङ्गले व्यवस्था सञ्चालन गर्ने व्यक्तिलाई प्रश्न गरौँ ।  शासन व्यवस्था परिवर्तन हुँदै गर्दा जनताको अवस्थालाई कसरी विश्लेषण गर्नुभएको छ ?      मेरो विचारमा पछिल्लो ४० वर्ष यता सबैभन्दा गोल्डेन इरा भनेको २०४८ सालदेखि २०५१ सालसम्म थियो । यो समय गिरिजाप्रसाद कोइरालाको समय थियो । त्यति बेला सञ्चार तथा सूचना प्रविधि, सडक, हवाई क्षेत्र र चिकित्सा क्षेत्रमा धेरै विकास भएको छ । त्यो बेला लिएका कतिपय नीतिगत निर्णयका आधारमा अहिले प्रत्येक नागरिकको हात हातमा मोबाइल छ । यति धेरै हवाईजहाज उडेका छन् । मेडिकल कलेजको सङ्ख्या ह्वात्तै बढेको छ । यसको आधार निर्माण गर्ने काम गिरिजाप्रसादबाट भएको हो । उहाँले मध्यावधि नगराएर पाँच वर्ष पूरा नेतृत्व गर्नुपर्थ्यो, त्यहाँ गल्ती भएको छ । त्यसकारण जनताको अवस्था परिवर्तन गर्न नेताको आचरण परिवर्तन भए पुग्छ । नेताको आचरण नै ठीक छैन भने जनताको अवस्था कसरी परिवर्तन हुन्छ ? नेताहरु नै भ्रष्ट भए भने के हुन्छ ? अनि व्यवस्थालाई दोष दिएर हुन्छ ? नेताहरूको भ्रष्टाचारको विषय पनि आइरहेको छ, यो बारेमा के भन्नुहुन्छ ?      भ्रष्टाचार पूर्णरुपमा निर्मूल गर्न सकिन्न । भ्रष्टाचार शून्य गर्न सम्भव पनि हुँदैन । तर, न्यूनीकरण भने गर्न सकिन्छ । विश्वका सम्पन्न र सुशासनमा उदाहरण प्रस्तुत गरेका मुलुकमा पनि भ्रष्टाचार हुन्छ नै । मैले भ्रष्टाचारको विषय संसद्मा पनि बालेको थिए । तपाईँ अहिले सय रुपैयाँ घुस खानुहुन्छ भने अब एक रुपैयाँ मात्रै खानुस् भनेको थिए । अरु देशमा घुस खाए पनि अत्यन्त कम खान्छन् । तर यहाँ जति पनि खाइदिने संस्कार छ । भ्रष्टाचार न्यूनीकरण गर्न कानुनको कार्यान्वयन तथा नेता इमान्दार र पारदर्शी हुनुपर्छ । देशलाई आर्थिक रुपमा सम्पन्न बनाउन के गर्नुपर्ला ?      सबैभन्दा पहिला नेपाललाई समृद्ध बनाउन हामीसँग के–के छ, त्यसको पहिचान गर्नुपर्‍यो । देशलाई आर्थिक रुपमा बलियो बनाउने भनेको पहिलो कृषि हो । नेपालमा १७ लाख हेक्टर खेतीयोग्य जमिन छ । त्यसले तीन करोड होइन, ३० करोड जनतालाई खान पुग्छ । हामीसँग कृषि योग्य माटो छ । हामीले कृषकलाई कहिले पनि प्राथमिकतामा राखेनौँ । कृषिमा बजेट पहिले चार प्रतिशत रहेकामा अहिले २० प्रतिशत भएको छ । अर्को ऊर्जा हो जसमा काम भइरहेको छ । हामीसँग पानी छ । पानीबाट बिजुली निकालेर संसारलाई बेच्न सक्छौँ । हामी पर्यटनको हिसाबले पनि धनी छौँ । बलिउड फिल्म सुटिङका लागि स्विट्जरल्यान्ड जान्छन् तर नेपाल पनि प्राकृतिक रुपमा त्यो भन्दा कम छैन । त्यसका लागि गुणस्तरीय सेवा सुविधा छैन । किनभने त्यहाँ पैसा खर्च गर्ने ठाउँहरू छन् । तर यहाँ छैन । देशलाई आर्थिक रुपमा बलियो बनाउने हो भने यी क्षेत्रलाई थप व्यवस्थित र विकास गर्नुपर्छ ।  नेपालको कृषि क्षेत्रको विकासको लागि के गर्न सकिन्छ ?      माटोको गुणस्तरको आधारमा खेती गरिने भए पनि हामीसँग माटो परीक्षण गर्ने औजार छैन । हामीले धेरै ठाउँमा धानको मात्रै खेती गरिरहेका छौँ । माटोको प्रकृतिको आधारमा फरक-फरक खेती गर्न सकिन्छ । कृषिमा वैज्ञानिक विधि अपनाउनुपर्छ । कृषिबाट सम्भावना छ । तर कृषिलाई आधुनिकीकरण गर्नुपर्छ । मैले धेरै पटक भनेको छु । बर्दियामा पाँच हजार मानिस बस्न मिल्ने कृषि विश्वविद्यालय बनाऔँ । तर त्यहाँबाट प्रमाणपत्र मात्र होइन, ज्ञानसहितको शिक्षा दिनुपर्छ । ट्याक्टर कसरी बनाउँछ, माटो मलिलो कसरी बनाउँछ भनी  सिकाउँछ । रासायनिक मल होइन । त्यहाँबाट अर्गानिक मल उत्पादन गर्नुपर्छ । जनावरको गोबरबाट मल उत्पादन गर्नुपर्‍यो । गोबर भनेपछि गाईवस्तु पालनको कुरा आउँछ । त्यसको लागि गाईवस्तु पालनको व्यवस्था गर्नुपर्‍यो । बर्दियामा कृषि विश्वविद्यालय खोल्दा धेरैले रोजगारी पाउने सम्भावना हुन्छ । संसारले आधुनिक कृषिलाई अगाडि बढाएको छ । तर हाम्रोमा अहिले पनि परम्परागत कृषि प्रणाली छ । यसलाई परिवर्तन गर्नुपर्छ । हाम्रो सोच र कार्यशैलीमा परिवर्तन आउनुपर्यो । अनि मात्रै प्रतिफल राम्रो आउँछ ।  जनतालाई तपाईँको सन्देश के छ ? हाम्रो भविष्य अत्यन्त राम्रो छ । हाम्रो देश सम्भावना भएको देश हो । विदेश गएर ४० डिग्रीको तापक्रममा काम गरेकोभन्दा त्यतिनै मेहनतमा नेपालमै धेरै कमाउन सकिन्छ । अब जनताको अवस्थामा परिवर्तन हुँदैछ । तर, त्यसका लागि जनताले सही नेतृत्व छान्नुपर्यो । रासस

यात्रु घटेपछि पोखरा-जोमसोम हवाई उडान बन्द

पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द काठमाडौं । बर्खामा मुस्ताङ भ्रमण गर्ने हवाई यात्रुको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा-जोमसोम हवाई उडान दुई महिनासम्मका लागि बन्द गर्ने निर्णय गरेका छन् ।  उक्त रुटमा नियमित उडान भर्दै आइरहेको तारा एयरलाइन्सको ट्वीनेटर जहाजले यही असार २ गतेदेखि दुई महिनाका लागि उडान स्थगित गरेको कम्पनीका जोमसोम स्टेसन इन्चार्ज सुजन लालचनले जानकारी दिए । उनका अनुसार ताराले अब आगामी सेप्टेम्बरको पहिलो सातादेखि उडान पुनः सञ्चालन गर्नेछ । ‘हवाई यात्रु कम भएको र मौसम प्रतिकूलताका कारण तारा एयरलाइन्सले उडान स्थगित गरेको हो, नयाँ याम सुरु भएपछि उडान सुरु हुन्छ,’ उनले भने ।  समिट एयरलाइन्सले पनि उक्त रुटमा यही असार २० गतेदेखि दुई महिनाका लागि हवाई उडान बन्द गर्ने जनाएको छ । जोमसोमस्थित समिट एयरलाइन्सका स्टेसन इन्चार्ज सुमन थकालीले एक हप्तापछि २ महिनाका लागि पोखरा(जोमसोम हवाई उडान बन्द गर्ने निर्णय भएको जानकारी दिए ।  ‘अहिले यस रुटमा हवाई उडान दैनिक मुश्किलले एउटा मात्रै भएको छ, हवाई यात्रु पनि घट्दै गएका छन्,’ उनले भने ।  जोमसोम नागरिक उड्डयन कार्यालयले मनसुन सुरु भएसँगै हवाई यात्रुको घटेको जनाएको छ । कार्यालयका प्रमुख दीपक पोखरेलका अनुसार हाल पोखरा(जोमसोमका लागि तारा एयरले उडान स्थगित गरेको र समिट एयरले पनि केही दिनमा स्थगित गर्ने जनाएको बताए ।  बर्खा याम सुरु हवाईमार्ग मात्रै होइन सडक मार्गबाट जोमसोम आउने यात्रु पनि घटेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीको भनाइ छ । 

मानव-हात्ती द्वन्द्व, ७२ जना र २५ हात्तीको मृत्यु, साढे ९ करोड राहत

काठमाडौं । झापामा डेढ दशकको अवधिमा हात्तीको आक्रमणबाट ७२ जनाको मृत्यु भएको छ । यस क्रममा २०६७ सालदेखि हालसम्म सात जना गैर नेपालीको समेत मृत्यु भएको छ । डिभिजन वन कार्यालय झापाका डा सुमन भलका अनुसार सोही अवधिमा हात्तीको आक्रमणमा परी ९२ जना घाइते भएका छन् । विसं २०८१ साउनदेखि हालसम्म हात्तीको आक्रमणमा परी पाँच जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । पछिल्लो १५ वर्षको तथ्याङ्क हेर्दा औसतमा बर्सेनि पाँच जनाको मृत्यु भएको देखिन्छ ।  जिल्लामा मानव-हात्ती द्वन्द्व न्यूनीकरणका लागि विद्युतीय तारबार, जैविक मार्ग निर्माण, वन क्षेत्रमा पोखरी निर्माण, फलफूलका बिरुवा रोपण, गस्तीलगायतका गतिविधि हुँदै आएका छन् । ‘फरेस्ट एक्सन नेपाल’का डा लिलानाथ शर्मा विद्युतीय तारबारले मात्र मानव-हात्ती द्वन्द्व न्यूनीकरण नहुने बताउँछन् ।  ‘तारबारले मात्र हात्तीलाई रोक्न÷छेक्न सकिँदैन । वनमै सुधार जरुरी छ,’ उनले भने ।  हात्तीको जैविक मार्ग निर्माण, वनभित्रै हात्ती मैत्री वातावरण निर्माण तथा वनमा सुधार गर्नसके मावन-हात्ती द्वन्द्व न्यूनीकरण गर्न सकिने उनले बताए । खानाको खोजीमा जङ्गलबाट हात्ती बाहिरिने भएकाले वनभित्र हात्तीको आहारा व्यवस्थापन गर्नुपर्ने देखिन्छ । वन अतिक्रमणसँगै वन जङ्गल नजिकै मानव बस्ती बढ्दै गएकाले पनि मावन-हात्ती द्वन्द्व बढ्दै गएको हो । हात्तीले मकै मन पराउने भएकाले पनि मकै खेती हुने बेलामा भारतबाट हुलका हुल हात्ती आउने गरेको डिभिजन वन कार्यालय डा भलले बताए । अन्य समयमा भन्दा मकैको याममा हात्तीको आवागमन बढी हुने उनको भनाइ छ । २५ हात्तीको मृत्यु झापामा २०६२ साल यता २५ हात्ती मृत फेला परेका छन् । पछिल्लो समय जिल्लामा हात्तीको मृत्यु हुने क्रम बढेको छ । विगतमा बर्सेनि एक/दुई वटा हात्ती मृत भेटिने गरेका थिए । तर, केही वर्षयता हात्तीको मृत्यु हुने क्रम बढेको छ । विसं २०८० साउनदेखि २०८१ असारसम्ममा चार  हात्ती मृत फेला परेका थिए भने चालु आवमा समेत हालसम्म चार हात्ती मृत फेला परेका डिभिजन वन कार्यालयले जनाएको छ ।  साढे ९ करोड राहत जिल्लाका हात्ती पीडितलाई सरकारले आव २०६८/६९ देखि चालु आवको हालसम्ममा ९ करोड ६८ लाख ४७ हजार रुपैयाँ राहत प्रदान गरिसकेको छ । हात्तीको आक्रमणबाट ज्यान गुमाउनेको परिवारलाई जनही १० लाख रुपैयाँ, घाइतेलाई अधिकतम २ लाख रुपैयाँ, चौपाया, अन्न बाली र भौतिक संरचना क्षति भएकाको हकमा क्षतिको आधारमा क्षतिपूर्ति उपलब्ध गराउँदै आएको डिभिजन वन कार्यालयका डा भलले बताए । जिल्लामा ५२५ जना वन्यजन्तु पीडित अझै राहतको पर्खाइमा छन् ।  

पिपुल्स पावरले असार २२ गतेदेखि हकप्रद सेयर जारी गर्ने, बैंकको ऋण तिर्ने

काठमाडौं । पिपुल्स पावरले असार २२ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ६३ करोड २६ लाख रुपैयाँको ५० प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ५ कित्ता सेयर अनुपातमा हकप्रद सेयर जारी गर्नेछ ।  कम्पनीले ३१ करोड ६३ लाख रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरका ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर जारी गर्नेछ । हकप्रद सेयर बिक्री पश्चात् कम्पनीको चुक्ता पुँजी ९४ करोड ८९ लाख रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार २ गते बुकक्लोज गरेको थियो । त्यसैले असार १ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्स)मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीको हकप्रद सेयरमा साउन ११ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकका इलाम, जाउलाखेल (ललितपुर), वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै, सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । हकप्रद सेयरबाट संकलित रकम पुवाखोला २ जलविद्युत आयोजना निर्माणमा बैंकबाट लिएको ऋण भुक्तानी गर्ने र बाँकी रहेको रकम पुवाखोला २ जलविद्युत आयोजना निर्माणमा भएको खर्चका लागि भुक्तानी गर्नेछ । साथै केही रकम अन्य आयोजनामा समेत लगानी गर्नेछ ।  केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

हिम स्टार उर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । हिम स्टार उर्जा कम्पनीको आईपीओमा आवेदन दिने आज असार १३ गते अन्तिम दिन रहेको छ । जेठ ३० गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बिक्री खुला गरेको आईपीओमा लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत अर्थात् ११ करोड १९ लाख रुपैयाँको ११ लाख १९ हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १ करोड ८६ लाख ५० हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ लाख ८६ हजार ५०० कित्ता सेयरमा आयोजना प्रभावित क्षेत्र ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका-८, साविक भुसिङ्गा गाविसका सम्पूर्ण वडा र सोलुखुम्बु लिखुपिके गाउँपालिका-२, साविक गोली गा।वि।स वडा नं. १, २, ३, ४, ५ का स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् । साथै सर्वसाधारण लगानीकर्तालाई छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ९३ लाख २५ हजार रुपैयाँको ९३ हजार २५० कित्ता सेयरमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरूले आवेदन दिन सक्नेछन् ।  कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।  स्थानीय बासिन्दाले सिटिजन्स बैंकको लिखुपिके शाखा, खिजिदेम्बा गाउँपालिका वडा नं-८ मा रहेको महिला भवन तथा जनस्वास्थ्य भवन र सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नं-२ को वडा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।  साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।