विकासन्युज

सुकुम्वासीलाई व्यक्तिगत रूपमा खानेपानी सुविधा दिने नीति ल्याउँदैछौँ : खानेपानीमन्त्री यादव

काठमाडौं । खानेपानी, सरसफाइ तथा सिँचाइमन्त्री प्रदीप यादवले अब सुकुम्वासीहरूलाई व्यक्तिगत रूपमा खानेपानी सुविधा उपलब्ध गराउने नीति ल्याउने तयारी भइरहेको बताएका छन् । राष्ट्रिय सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले विगतमा वडाको सिफारिसमा मात्र सार्वजनिक धारा जडान हुने गरेको भए पनि अब प्रत्येक सुकुम्वासी व्यक्तिले व्यक्तिगत रूपमा खानेपानी पाउने व्यवस्था गर्न नीति परिवर्तनको प्रक्रिया अगाडि बढिरहेको जानकारी दिए । उनले काठमाडौं उपत्यकामा खानेपानी आपूर्ति काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) मार्फत हुने बताउँदै केयूकेएल सरकारको प्रत्यक्ष नियन्त्रणमा नभएको स्पष्ट पारे । 'केयूकेएल सार्वजनिक–निजी साझेदारी अवधारणामा सञ्चालनमा रहेको कम्पनी हो, यसमा मन्त्रालयको प्रत्यक्ष नियन्त्रण रहँदैन,' मन्त्री यादवले भने । मन्त्री यादवले विभिन्न खानेपानी तथा सरसफाइ आयोजनाको उपभोक्ता समितिले नगर विकास कोषबाट पाइने ५ प्रतिशत ब्याजदरलाई घटाएर ३ प्रतिशतमा झार्न पत्राचार गरेको जानकारी पनि गराए । उनका अनुसार राज्यले पानी नदिने नीति परिवर्तनसँगै सुकुम्वासी बस्तीहरूमा आधारभूत जीवनस्तर सुधार गर्न खानेपानी पहुँचलाई प्राथमिकतामा राखिएको छ ।

एभरेष्ट फाइबर सिमेन्ट बोर्ड बजारमा, अब घर बन्छ बुलेटप्रूफ

काठमाडौं । रेमिट्यान्स, बैंकिङ, बीमा, पर्यटन, पूर्वाधार, जलविद्युतदेखि सूचना प्रविधिसम्म लगानी विस्तार गरेको आईएमई ग्रुपले पछिल्लो समय उत्पादनमूलक उद्योगमा लगानी बढाइरहेको छ । २ अर्ब रुपैयाँ लगानीमा महोत्तरीको गौशालामा नेपाल पल्प एण्ड पेपर इण्डस्ट्रिज प्रालि सञ्चालनमा ल्याएको केही महिनामै यस ग्रुपले रौतहटको फतुवा विजयपूरमा करिब डेढ अर्ब रुपैयाँ लगानीमा दोस्रो उत्पादनमूलक उद्योग ‘एभरेष्ट फाइबर सिमेन्ट बोर्ड प्रालि’ सञ्चालनमा ल्याएको छ । नेपालकै पहिलो र उच्च गुणस्तरका फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने लक्ष्यसहित आईएमई ग्रुपले सञ्चालनमा ल्याएको हो- एभरेष्ट फाइबर सिमेन्ट बोर्ड । आफ्नै स्रोत र श्रमबाट उत्पादनमूलक अर्थतन्त्रतर्फ अघि बढ्ने दृढ विश्वासका साथ नेपाली सिमेन्ट र अन्य स्वदेशी कच्चा पदार्थको प्रयोग गरी कम्पनीले अन्तर्राष्ट्रियस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्नेछ ।  विगतको ५/६ वर्षदेखिको लामो अनुसन्धान तथा अथक मेहनतबाट फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चलनमा आएको एभरेष्ट फाइबर सिमेन्ट बोर्डका प्रबन्ध निर्देशक प्रदीप पण्डित बताउँछन् । आफ्नै देशको कच्चा पदार्थहरू प्रयोग गरी अन्तर्राष्ट्रिय गुणस्तरका फाइबर सिमेन्ट बोर्डका उत्पादनहरू बजारमा ल्याउने उनको भनाइ छ ।  ‘विगतमा भारत, चीन, थाइल्याण्ड तथा अन्य अन्तर्राष्ट्रिय बजारबाट फाइबर सिमेन्ट बोर्ड ल्याउँदा ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिएको कारण विदेशी मुद्रा अभावको गम्भीर असर पुगेको थियो । त्यसैले आफ्नै देशको उत्पादन खरिद गरी प्रयोग गर्न सकिने र विभिन्न डिजाइनका आन्तरिक तथा बाह्य सजावटमा प्रयोग गर्न मिल्ने वाटरप्रुफ गुणस्तरीय बोर्ड उद्योगबाट उत्पादन हुनेछन्,’ उनले भने, ‘ग्राहकको माग भएमा सुरक्षा निकायले प्रयोग गर्न सक्ने किसिमका एस्क्लोजर तथा बुलेटप्रूफ बोर्ड समेत उत्पादन गर्न सकिने प्रविधि तथा मेसिन हामीसँग छन् ।’  भूकम्प, बाढी पहिरो जस्ता प्राकृतिक विपत्तिमा समेत सजिलो र सुलभ मूल्यमा गुणस्तरीय प्रिफ्याप हाउसमा समेत प्रयोग गर्न सकिने उत्पादनलाई जोड दिएको पण्डितको भनाइ छ । मागअनुसार पर्याप्त विद्युत आपूर्ति हुने, कर तथा आयातमा लाग्ने भन्सार, महसुल तथा मूल्याङ्कनमा कडाइ र नेपाली उत्पादन उद्योगलाई प्रोत्साहन गर्ने सरकारी नीति भएमा यस उद्योगबाट उत्पादित प्रडक्ट विदेश निर्यात गर्ने र ब्यालेन्स अफ पेमेन्टको समस्यालाई समाधान गर्न भूमिका निर्वाह गर्ने उनले बताए । निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष रमेश शर्मा २०७२ सालको भूकम्पपछि यस्ता प्रडक्टको महत्व बढेको बताउँछन् । विपदको समय र स्थायी घर बनाउन, प्रिफ्याप घर बनाउन सिमेन्ट बोर्डको महत्त्व रहेको उनको भनाइ छ । सबै किसिमका कलर उपलब्ध हुन सक्यो भने निर्माण क्षेत्रमा फड्को मार्ने उनले बताए ।  नेपाल उद्योग परिसंघ (सीएनआई)का वरिष्ठ उपाध्याक्ष वीरेन्द्र पाण्डेय नेपालको लागि फाइबर सिमेन्ट बोर्डका प्रडक्ट राम्रो भएको बताउँछन् । विश्वव्यापी रूपमा निर्माण उद्योगमा नयाँ प्रविधि आउनेक्रम सुस्त भएकाले त्यसबाट नेपालपनि अछुतो नरहेको उनको भनाइ छ ।  ‘नेपाल भूकम्पकीय जोखिममा रहेको हुँदा लाइटर कन्स्ट्रक्सनमा जानुपर्छ । त्यसमा इनोभेसन, नयाँ प्रविधिलाई पनि साथमा लिएर जाँदा सहज हुन्छ । फाइबर सिमेन्ट बोर्डका प्रडक्टले निर्माण क्षेत्रमा निकै महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा छ,’ उनले भने, ‘आन्तरिक इण्डस्ट्रीमा उत्पादन गर्न सकियो भने यसले आयात प्रतिस्थापन गर्न सक्छ । सिमेन्ट उद्योग सकसमा रहेका बेलामा यो उद्योगले सहयोगी भूमिका खेल्नेछ ।’ सहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल राज्यको जीडीपीमा योगदान दिने उत्पादनमूलक उद्योगले नेपालमै उत्पादन हुँदा लागत पनि घट्ने अपेक्षा रहेको बताउँछन् । साथै आवश्यकता अनुसार विभिन्न रङ्ग, डिजाइनमा प्रडक्ट उत्पादन हुनुपर्ने उनले बताए ।  ‘हाम्रो माटो पानी अनि घाम दुवै सुहाउँदो प्रडक्ट आएको छ । यसको बजार पनि ठूलो देखिन्छ । सामान्यतया घर बनाउँदा, पूर्वाधारण निर्माणमा जति खर्च भइरहेको छ, यो प्रडक्टले ५० प्रतिशत लागत घट्ने देखिन्छ,’ उनले भने, ‘सहरी विकास मन्त्रलायले वैकल्पिक कन्स्ट्रक्सन मेट्रियलका लागि अनुसन्धान गरिरहेको छ । यस्ता प्रडक्टका फ्याक्ट्रीलाई प्रमोसन गर्न जरुरी छ । गुणस्तरीयतामा कम्पनीले ध्यान दिनुपर्छ । यो प्रडक्ट विदेशबाट आयात हुने भएकाले आगामी दिनमा आयात शून्य हुने विश्वास छ ।’  आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेपालमै फाइबर सिमेन्ट बोर्ड उत्पादन हुँदा विदेशी मुद्रा बाहिरिन रोकिने बताउँछन् । पूर्ण रूपमा स्वदेशी कच्चा पदार्थको प्रयोग गरी निर्माण हुने फाइबर सिमेन्टको कच्चा पदार्थ मिसावटदेखि बोर्ड निर्माण  कटिङ र ड्राइङसम्मका सम्पूर्ण प्रक्रिया पूर्ण रुपमा अटोमेटेड प्रविधिमा आधारित रहेको उनको भनाइ छ ।  ‘हामीले उत्पादन निर्यातका लागि गुणस्तरीय भएकाले आयात गरेको वस्तुभन्दा हाम्रो प्रडक्सन अझै राम्रो छ । आन्तरिक खपतका लागि प्रयोग गर्छाैं नै, सँगसँगै हामी यसलाई निर्यात पनि गर्छाैं । आन्तरिक कच्चा पदार्थ प्रयोग गरेर तराईतिर रोजगारी दिने उद्देश्यले नेपालको पहिलो फाइबर सिमेन्ट बोर्ड सञ्चालनमा ल्याइएको हो । यसले समग्र आयातलाई निरुत्साहित गर्नेछ । र, रोजगारी पनि प्रदान गर्नेछ । राज्यलाई रेभिन्यूमा पनि योगदान गर्नेछ,’ उनले भने ।  यस उद्योगले दैनिक रूपमा ३५ सयभन्दा बढी बोर्ड उत्पादन गर्ने क्षमता राख्छ । उद्योगले ८ फिट लम्बाइ, ४ फिट चौडाइ र ४ एमएमदेखि ३० एमएमसम्म मोटाइका बोर्ड उत्पादन गर्नेछ । यहाँ उत्पादन भएका बोर्डहरू लचकदार, अग्निप्रतिरोधक र घामपानीले कुनै असर नगर्ने किसिमका हुनेछन् । वाटरप्रुफ फाइबर सिमेन्ट बोर्ड विशेष गरी भवनको बाहिरि होल, पार्टेसन, पल्स सिमेन्ट, मनिटर किचेन, इको प्यानल बनाउन सकिन्छ ।  प्रिफायर स्ट्रक्चर बिल्डिङ र घरको इम्पेरियर र स्टेरियर डेकुरेसन जस्तो स्ट्रक्चर आइसकेपछि यसलाई वालको रूपमा पनि प्रयोग गर्न सकिन्छ र यसलाई स्टिलको स्ट्रक्चरमा यसले ठूलो वाल सिलिङको रूपमा समेत प्रयोग गर्न सकिन्छ । डेकुरेरियट बोर्ड पनि उत्पादन हुने भएकाले दीर्घकालरुपमा घरमा समेत प्रयोग गर्न सकिन्छ।  आईएमई ग्रुपको लगानीमा सञ्चालित एभरेस्ट फाइबर सिमेन्ट बोर्ड सञ्चालनले नयाँ नेपाल निर्माणको अभियानमा आफूलाई उभ्याएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी बताउँछन् । उद्योगबाट उत्पादित वस्तुले आयात प्रतिस्थापन गर्दै निर्यात प्रबर्द्धन गर्ने विश्वास लिएको उनको भनाइ छ । ‘हाम्रो मुलुकको भूबनावटका कारण विभिन्न समयमा बाढी, पहिरो, भूकम्प, आगजनी जस्ता थुप्रै क्षतिहरू सामना गर्याैं । र, त्यसको द्रूत निर्माण तथा पुननिर्माणमा लागि हामीले नयाँ प्रविधिमा सुरक्षित, भरपर्दाे सामग्रीका लागि फाइबर सिमेन्ट बोर्ड उत्पादनले सहज बनाउनेछ,’ उनले भने । 

ज्वरो र पखालाको संक्रमण बढ्दै, सावधानी अपनाउन चिकित्सकको सुझाव

तनहुँ । जिल्लाको आँबुखैरेनी अस्पतालमा झाडापखाला र ज्वरोका बिरामी बढ्न थालेका छन् । मौसम परिवर्तन भएसँगै झाडापखाला र ज्वरोको बिरामी बढी आउने गरेका हुन् ।  दिनमा १५० जनाभन्दा बढी बिरामी उपचारका लागि आउने गरेकामा करिब २० जना ज्वरोका र १५ जना झाडापखालाका बिरामी देखा पर्न थालेका अस्पतालका सुपरिटेन्डेन डा. डिबी क्षेत्रीले जानकारी दिए । 'पहिला एक–दुई जना बिरामी देखिनेमा अहिले त्यो सङ्ख्या १५–२० पुगेको छ । पखालाका बिरामीलाई अस्पतालमा भर्ना गरेर उपचार गरिरहेका छौँ', उनले भने । ज्वरोका बिरामीको स्वास्थ्य परीक्षण गरी भाइरल सङ्क्रमण देखिएमा सिटामोटलगायत आवश्यक औषधि दिने गरिएको बताउँदै निको नभएका वा गम्भीर प्रकृतिका बिरामीको रगत जाँच गरी टाइफाइड र डेङ्गी परीक्षण गर्ने गरिएको सुपरिटेन्डेन डा क्षेत्रीले जानकारी दिए । उनका अनुसार बिरामीले रोग निको नहुँदासम्म सफा, स्वच्छ पानी प्रशस्त पिउने, आराम गर्ने, झोझिलो पदार्थ प्रशस्त पिउनेलगायत सुझाव दिने गरिएको छ ।  अस्पतालमा मधुमेह, उच्च रक्तचाप, हाडजोर्नी, छालाजन्य, प्रसूतिलगायत बिरामीको सङ्ख्या पनि बढ्दै गएको अस्पताल प्रशासनले जनाएको छ । यतिबेला खेती लगाउने समय भएकाले बहिरङ्ग (ओपिडी) घुइँचो कम भए पनि इमरजेन्सी कक्षमा बिरामीको चाप बढिरहेको छ ।  विसं २०७९ मङ्सिर १ गते सञ्चालनमा आएको यस अस्पतालले क्रमिक रूपमा स्वास्थ्य सेवा विस्तार गर्दै नागरिकलाई सेवामा सहज बनाउँदै आएको छ ।  यसअघि ओपिडी, इमरजेन्सी, ल्याब फार्मेर्सी, एक्स–रे, भिडियो एक्स–रे, नियमित सेवा दिँदै आएको अस्पतालले पछिल्ला समय डेन्टल सेवा, फिजियोथेरापी, डायलासिस, प्रसूतिको शल्यक्रिया, गाँठागुठीको शल्यक्रियाका साथै हाडजोर्नी तथा नशा रोग विशेषज्ञ सेवा पनि थप गरेको अस्पतालका सुपरिटेन्डेन डा डिबी क्षेत्रीले जानकारी दिए । गाउँपालिकाको स्रोतमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञा  यसैबीच आँबुखैरेनी गाउँपालिकाको स्रोतबाट हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा रामकुमार साहबाट नियमित सेवा दिन थालिएको छ ।  उक्त सेवासँगै स्थानीयवासीले हाडजोर्नी तथा नशासम्बन्धी उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता अन्त्य भएको गाउँपालिकाले जनाएको छ ।  आधारभूत अस्पतालले आफूले गर्नुपर्ने दायित्वभन्दा बढी सेवा दिइरहेको अस्पतालका सुपरिटेन्डेन डा. क्षेत्रीले बताए । उनले भने, 'जुन राज्य र संविधानले सोचेभन्दा बढी स्थानीय तहले सेवा प्रवाह गर्दै आएको छ । आधारभूत अस्पतालभित्र हाडजोर्नी, डायलासिस, प्रसूतिको शल्याक्रिया गर्नुपर्ने होइन । यहाँ बढीभन्दा बढी सेवा प्रवाह गरी नागरिकको उपचारमा सहज बनाएका छौँ ।' अस्पतालमा ‘गाइनोलोजिष्ट’ र ‘जनरल सर्जरी’को आवश्यक देखिएको जनाउँदै क्षेत्रीले आगामी दिनमा साकार बन्ने लक्ष्य राखिएको बताए । 'यहाँ जटिल प्रकृतिका बिरामीलाई पठाउने र लिने अस्पतालबीचको समन्वय हुन सकिरहेको छैन, त्यो हुन आवश्यक छ', उनले भने । रासस

विदेश पठाइदिने भन्दै ५८ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा युके र कतार पठाइदिने भन्दै ५८ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । दोलखा बैतेश्वर गाउँपालिका–३ का ३१ वर्षीया नवीना दाहाल घिमिरे र सर्लाही कौडेना गाउँपालिका–४ का ४३ वर्षीय लछुमन साह तेलीलाई पक्राउ गरी सार्वजनिक गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । उनले भने, 'पक्राउ परेकामध्ये नविनाले युके पठाइदिने भन्दै दुई जनाबाट ५२ लाख रुपैयाँ र लछुमनले कतार पठाइदिने भन्दै तीन जनाबाट ६ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका भन्ने पीडितको उजुरीका आधारमा निजहरूलाई काठमाडौंबाट पक्राउ गरिएको हो ।' पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले बताए ।  

सिटिजन्स सदाबहार योजना शुक्रबारदेखि देखि सार्वजनिक निष्कासनमा

काठमाडौं । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने खुलामुखी योजना ‘सिटिजन्स सदाबहार योजना’ आगामी शुक्रबार (असार १३ गते)देखि सार्वजनिक निष्कासनमा आउन लागेको छ । यो योजनाको कोष प्रवर्द्धक सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड रहेको छ भने योजना व्यवस्थापक तथा डिपोजिटरी सिटिजन्स क्यापिटल लिमिटेड हो । योजना अन्तर्गत प्रति इकाई १० रुपैयाँ अंकित मूल्यमा ५ करोड इकाई निष्कासन हुनेछ । जसमध्ये ७५ लाख इकाई (१५ प्रतिशत) सिटिजन्स बैंकलाई सुरक्षित राखिनेछ र बाँकी ४ करोड २५ लाख इकाई सर्वसाधारणका लागि सार्वजनिक निष्कासन हुनेछ । सार्वजनिक निष्कासनमा न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । निष्कासन छिटोमा असार १७ गते र ढिलोमा असार २७ गतेसम्म खुला रहनेछ । यदि थप गरिएको बिक्री अवधिभर कम्तीमा २ करोड ५० लाख इकाईका लागि आवेदन नपरेमा योजना खारेज हुने र आवेदकको रकम फिर्ता गरिने व्यवस्था गरिएको छ । तर मागभन्दा बढी आवेदन परेमा २५ प्रतिशत इकाई थप गरी अधिकतम ६ करोड २५ लाख इकाईसम्म बाँडफाँड गरिनेछ । योजना खुलामुखी भएकाले यसको परिपक्व अवधि तय हुनेछैन । बाँडफाँड भएको ३ महिनापछि इकाईको खरीद–बिक्री सुरु गर्न सकिनेछ । साथै, यो धितोपत्र दोस्रो बजारमा सूचीकरण नहुने भए पनि अधिकृत वितरकमार्फत कारोबार गर्ने व्यवस्था मिलाइएको छ ।

नारायणगढ-मुग्लिन सडक सञ्चालन

मुग्लिन । नारायणगढ-मुग्लिन सडक खण्ड बिहीबार दिउँसो बन्द गरिएकामा अहिले नियमित रूपमा दुईतर्फी सवारीसाधन आवतजावत गरिरहेका छन् । सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यका अनुसार चितवनको इच्छाकामना–६ स्थित तुइनभिरमा अड्किएर बसेको ढुङ्गा झार्न आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सडक बन्द गरिकामा काम नसकिएपछि पुनः ३ बजेसम्म बन्द गरिएको थियो । कुनैपनि समयमा माथिबाट ढुङ्गा झर्ने र सम्भावित दुर्घटना हुनसक्ने भएकाले जोखिम कम गर्न र दुर्घटना न्यूनीकरण गर्न सडक डिभिजन कार्यालयबाट लामो बुमसहितको स्काभेटर प्रयोग गरी ढुङ्गा झरिएको उनले जानकारी दिए । ढुङ्गा झरिएसँगै दुईतर्फी सवारीसाधन आवतजावत गरिरहेका इञ्जिनियर कृष्ण आचार्यले बताए । बन्दा अवधिभर आफ्नो लेन अनुशासनमा रही सवारीसाधन रोक्नका कार्यालयले अनुरोध गरेको थियो ।   

पिंगलास्थान एकीकृत समाजको अगुवाइमा लागुऔषधविरुद्ध जनजागरण

काठमाडौं । विश्व लागुऔषध दिवसको अवसर पारेर बिहीबार श्री पिंगलास्थान एकीकृत समाजले जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । ‘लागुऔषध विरुद्ध एकजुट होऔं’, ‘स्वस्थ जीवन हाम्रो अभियान’ भन्ने नारासहित आयोजित र्याली तथा चेतनामूलक कार्यक्रम पिंगलास्थानबाट सुरु भई बत्तीसपुतली, पुरानो बानेश्वर, सिनामंगल हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट पुनः पिंगलास्थानमा समापन गरिएको थियो । कार्यक्रममा काठमाडौं महानगरपालिका-९ का वडाअध्यक्ष रामजी भण्डारी, वडा सदस्य टेकराज अधिकारी, नेपाली काँग्रेसका युवा नेता मनीष कोइराला, सामुदायिक प्रहरीका प्रतिनिधि, स्थानीय सामाजिक अगुवा, सर्वसाधारण तथा शिक्षण संस्थाहरूको उपस्थिति रहेको थियो । संयोजक संस्था श्री पिंगलास्थान एकीकृत समाजका अनुसार कार्यक्रमले लागूपदार्थको दुर्व्यसन, ओसारपसार र प्रयोग न्यूनीकरण, त्यसका सामाजिक असर, पारिवारिक विखण्डन र रोकथामका उपायहरूबारे सन्देश दिनुका साथै नयाँ पुस्तामा सचेतना फैलाउने उद्देश्य बोकेको थियो । प्लेकार्डसहित र्यालीमा सहभागीहरूले स्थानीय बासिन्दा र यात्रुहरूलाई संवेदनशील बनाउँदै लागुऔषध न्यूनीकरणमा सबैको भूमिका आवश्यक रहेको सन्देश दिएका थिए।  आयोजकका अनुसार यस्ता कार्यक्रमले स्थानीय तह र नागरिक समाजको सहकार्यमा समुदायमा सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्‍याउने विश्वास गरिएको छ।

२६ करोडमा बनेको दोर्दी सडक अमेरिकन 'अस्फाल्ट' प्रविधिबाट कालोपत्र सुरु, दशैँतिहारसम्म सम्पन्न गर्ने

लमजुङ । लमजुङस्थित दोर्दी गाउँपालिकाको केन्द्र जोड्ने सडक अमेरिकन ‘अस्फाल्ट’ प्रविधिको कालोपत्र सुरु भएको छ । यस खण्डअन्तर्गत उदीपुर-रिठ्ठेबगर-नौथर सडकमा केहीदिन अघिदेखि कालोपत्र सुरु भएको हो । गण्डकी प्रदेश सरकारले ‘एक पालिका, एक सडक’ पुर्‍याउने अभियानअन्तर्गत कालोपत्र गर्न सुरु गरिएको पूर्वाधार विकास कार्यालय लमजुङका सूचना अधिकारी नरेशराज जोशीले बताए । उनका अनुसार पालिकाको केन्द्र जोड्ने यो सडक सात दशमलव १२१ किलोमिटर रहेकामध्ये चालु आर्थिक वर्षमा तीन किमी कालोपत्र भइरहेको छ । यो प्रविधिबाट गरिएको कालोपत्र टिकाउ, दिगो, र उत्कृष्ट रहेको सूचना अधिकारी जोशीको भनाइ छ । आगामी दसैँतिहारसम्ममा सबै सडक कालोपत्र भइसक्ने लक्ष्य रहेको उनले बताए । उनका अनुसार अहिले बेँसीसहर नगरपालिका–१ उदिपुर बजार तल मर्स्याङ्दी नदी पारीबाट कालोपत्र सुरु गरिएको हो । जोशीले भने, ‘यस सडकको काम केही वर्षअघि सम्पन्न हुनुपर्नेमा ठेकेदारले समयमा काम नगर्दा पटकपटक म्याद थप गरेर पनि सम्पन्न हुन नसक्दा ढिलाइ भएको हो ।’  उनका अनुसार सम्झौता अनुसार वि.सं २०७९ असार २ गतेभित्र कालोपत्र गरिसक्नुपर्ने भए पनि कोभिडका कारण निर्माण सुरु गर्न ढिलाइ भएको देखाउँदै निर्माण कम्पनीले वि.सं २०७९ पुससम्म सक्नेगरी जिम्मेवारी पाएको थियो । उक्त समयभित्र पनि निर्माण सम्पन्न नभएपछि पुनः म्याद थप गर्दै वि.सं २०८० असार २९ गतेसम्म सम्पन्न गर्नुपर्नेमा सो अवधिमा सम्पन्न नभएपछि विसं २०८१ मङ्सिर २८ गतेसम्म समयसीमा ताकिएको थियो । ‘सो समयसम्म पनि निर्माण सम्पन्न नहुँदा हालसम्म पनि म्याद थप हुन सकेको छैन । म्याद थपका लागि मन्त्रालयमा पठाइएको छ । केही दिनमा विवरण आउने छ’, उनले भने ।  सडकको निर्माणका लागि कन्टेक निर्माण प्राइभेट लिमिटेड काठमाडौंले विसं २०७७ असार ३ गते सम्झौता गरेको थियो । प्रदेश सरकारको रु २६ करोड २९ लाख छ हजार २२५ लगानीमा निर्माण भइरहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।  कार्यालयका अनुसार यस वर्ष मात्र रु चार करोड १० लाख कार्यालयले भुक्तानी गरेको छभने हालसम्म करिब रु २१ करोड भुक्तानी भइसकेको छ । लामो समयसम्म ठेकेदार कम्पनीले काम नगरेर निर्माणमा ढिलाइ भएको कार्यालयका सूचना अधिकारी जोशीले बताए । ‘पछि सरकारले रकम उपलब्ध गराउन नसक्दा निर्माणमा असर परिरहेको छ । बजेट सुनिश्चिताका लागि सम्बन्धित निकायमा पत्र पठाएका छौँ । तत्काललाई करिब रु दुई करोड लाग्ने अनुमान छ’, उनले भने ।    पूर्वाधार कार्यालयका अनुसार बेँसीसहर नगरपालिका–१ उदिपुरबाट बेँसीसहर–११ हुँदै दोर्दी गाउँपालिका–४ मा जोडिन्छ । सोमध्ये सडकको दुई ठाउँमा गरी एक हजार ११३ घनमिटर सडक ढलान गर्ने जनाइएको छ । कालोपत्र चार सेन्टिमिटरको हुनेछ ।  रासस