ललितपुरमा बाढीले बगाएर सव इञ्जिनियरको मृत्यु
काठमाडौं । ललितपुरको दक्षिण पूर्वी भेगमा रहेको महांकाल गाउँपालिका-६ ठुलादुर्लुङमा खोल्सामा आएको बाढीले बगाएर सव इञ्जिनियर सविन दाहालको मृत्यु भएको छ । महांकाल गाउँपालिका-६ का अध्यक्ष विनोद चौलागाईंले दिएको जानकारीअनुसार बुधबार साँझ ठुलादुर्लुङस्थित भर्याङ खोल्सामा आएको बाढीले बगाउँदा महांकाल-४ कालेश्वर स्थायी ठेगाना भई ललितपुर महानगरपालिका-२९ हरिसिद्धी बस्ने २१ वर्षीय सविन दाहालको मृत्यु भएको हो । ‘खोल्सामा साँझ अन्दाजी ७ः३० बजेतिर आएको बाढीले बगाएर मृत्यु भएको हो, हामीले बेलुकी १० बजेतिर खोजी गर्दा थाहा पाएर मृतकको शवलाई पत्ता लगायौँ, यहाँका सबै सडक बन्द छन्, हामीले नेपाली सेनालाई खबर गरेर हेलिकप्टर मगाएका छौँ,’ उनले भने ।
छ्याङ्दी हाइड्रोको हकप्रद सेयरमा आवेदन दिने समय लम्बियो
काठमाडौं । छ्याङ्दी हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने समय लम्बिएको छ । जेठ २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको हकप्रद सेयरमा अब लगानीकर्ताहरुले असार २७ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले हाल कायम चुक्ता पुँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँको १ सय प्रतिशत अर्थात् हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर बिक्री गरेको हो । कम्पनीले ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अकित मूल्य दरका ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर बिक्री गरेको हो । हकप्रद निष्काशन कम्पनीको चुक्ता पुँजी ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले जेठ २ गते बुकक्लोज गरेको थियो । त्यसैले जेठ १ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा कायम सेयरधनीहरूले कम्पनीको सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीको सेयरमा लगानीकर्ताहरूले बिक्री प्रबन्धकसँगै ग्लोबल आइएमई बैंकको बेसीशहर, सुन्दरबजार(६ मिलनचोक, भोर्लेटार(८ बसपार्क, सिउँडीबार सुन्दरबजार(९, उदिपुर र दोर्दी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै, सिआस्बा सेवामा सहभागी बंक तथा वित्तीय संस्थाबाट र सिडिएस एण्ड क्लियरिङ्गले निर्माण गरेको मेरो सेयरबाट पनि आवेदन दिन सक्नेछन् । इक्रा नेपालले कम्पनीलाई इक्रा एपी इस्यूअर रेटिङ्ग बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
श्वेत गंगा हाइड्रोको ९६ लाख ८९ हजार कित्ता सेयर कारोबारमा आउने
काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको लकइनमा रहेको सेयर कारोबारमा आउने भएको छ । कम्पनीका संस्थापक सेयरधनी, कर्मचारी र आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुको लकइनमा रहेको सेयर कारोबारमा आउने भएको हो । कम्पनीका अनुसार साउन १७ गतेदेखि ९६ लाख ८९ हजार ५ सय कित्ता सेयरको लकइन अवधि सकिएर कारोबारमा आउनेछ । कम्पनीको संस्थापक समुहतर्फको ७३ लाख कित्ता, कर्मचारीलाई छुटाइएको ७ लाख ९६ हजार ५०० कित्ता र आयोजना प्रभावित स्थानीय बासिन्दालाई छुटाइएको १५ लाख ९३ हजार कित्ता सेयरको लकइन सकिन लागेको हो । संस्थापक समूहतर्फको विदेशी लगानीकर्ता कम्पनी डोल्मा इम्प्याक्ट फण्ड-आई को नाममा रहेको ३८ लाख ५१ हजार कित्ता सेयरको लकइन अवधि भने २०८० फागुन २ गतेनै समाप्त भएको जनाएको छ ।
मुस्ताङमा सिएमसीले उठाउन थाल्यो नदीजन्य उत्खनन कर
काठमाडौं । मुस्ताङमा कालीगण्डकी नदीको नदीजन्य प्राकृतिक स्रोत ढुङ्गा, गिट्टी र बालुवाको उत्खनन, सङ्कलन, बिक्री-वितरण तथा ओसार-पसार गरेबापतको उपयोग कर कसले उठाउने भन्ने विवाद अहिले समाधान भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गतका संरक्षण व्यवस्थापन समितिले नदीजन्य प्राकृतिक स्रोत उत्खनन गरेबापत उपयोग दस्तुर उठाउन थालेको हो । एक्यापले आन्तरिक प्रयोजनका लागि सम्बन्धित संरक्षण व्यवस्थापन समितिको माग सिफारिसका आधारमा कालीगण्डकी नदीमा प्राकृतिक स्रोतको न्यूनतम मापदण्डमा रहेर एक्यापको प्रधान कार्यालयले नदीजन्य उत्खननको सिफारिस दिने गरिएको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिए । यसअघि सर्वोच्च अदालतमा परेको रिटमा २०७८ असार २९ गते कालीगण्डकी उत्खनन रोक्न आदेश दिएको थियो । सर्वोच्चले कालीगण्डकी नदीको बहाव रोक्ने, प्रदूषण गर्ने, ढुङ्गा गिट्टी, बालुवाको उत्खननजस्ता कार्य नगर्न आदेश दिएको थियो । सर्वोच्च अदालतले २०८१ कात्तिक ११ गते उक्त रिट निर्देशनात्मक आदेशसहित खारेज गरेको थियो । त्यसैबीचमा कास्की जिल्ला अदालतले कास्कीको माछापुच्छ्रे गाउँपालिका-८ र ९ को सिएमसीले सरोकारवालालाई विपक्ष बनाई दर्ता गरेको रिट निवेदन २०७७ मङ्सिर ३० गते खारेज गरेको थियो । अन्तरिम आदेशमा एक्याप क्षेत्र पर्ने नदीजन्य ढुङ्गा, गिट्टी र बालुवाको उत्खनन गर्दा प्रचलित सङ्घीय कानुनबमोजिम हुने फैसला सुनाएको थियो । यसअघि कास्कीको माछापुच्छ्रे गाउँपालिका-८ र ९ का संरक्षण व्यवस्थापन समिति (सिएमसी) अध्यक्ष ओमप्रकाश गुरुङले माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत, एक्याप प्रधान कार्यालय र फेवा निर्माण कन्स्ट्रक्सनलाई विपक्षी बनाई एक्याप संरक्षित क्षेत्रको नदीजन्य क्षेत्रमा उत्खनन गराउँदासमेत गैरजिम्मेवार रहेको उल्लेख गर्दै २०७७ मङ्सिर ७ गते कास्की अदालतमा रिट दायर गरिएको थियो । पालिकाले ठेक्का लगाउँदा जनप्रतिनिधि र कर्मचारी अनि एक्यापले दोहन रोक्ने प्रयास नगरेको आरोप लगाइएको थियो । कास्की अदालतले माछापुच्छ्रे सिएमसीले दर्ता गराएको रिट उपर अन्नपूर्ण संरक्षण क्षेत्रको नदीजन्य उत्खनन सङ्घीय कानुनअनुसार हुने आदेश दियो । उक्त फैसलालाई कानुनी आधार बनाएर मुस्ताङमा एक्यापले सङ्घीय कानुन र संरक्षण क्षेत्र व्यवस्थापन नियमावली २०५३ बमोजिम हुनेगरी कालीगण्डकी नदीजन्य प्राकृतिक स्रोत ढुङ्गा, गिट्टी र बालुवाको उत्खनन, सङ्कलन, बिक्री–वितरणको स्थानीय उपयोग दस्तुर उठाउने अधिकारसम्बन्धी सिएमसीहरुलाई नै प्रत्यायोजन गरिएको हो । एक्याप जोमसोमले सङ्घीय कानुनमा टेकेर मुस्ताङमा स्थानीय तह प्रशासन, जिसस र सरोकारवाला निकायलाई यस सम्बन्धमा सहमतिमा ल्याएको कार्यालय प्रमुख गुप्तको भनाइ छ । एक्याप क्षेत्राधिकारको कालीगण्डकी नदी उत्खनन स्थानीय उपयोग दस्तुर उठाउनका लागि सम्बन्धित सिएमसीले एक्याप कार्यालयको रोहवरमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाबाट अनुमति लिनुपर्ने कार्यालय प्रमुख गुप्तले बताए । एक्यापले मुस्ताङको संरक्षण क्षेत्र व्यवस्थापन समिति (सिएमसी)हरुलाई नदी स्रोतको दस्तुर उठाउन अख्तियारी दिएपछि हालसम्म पाँचवटा समितिले स्थानीय उपयोगका लागि नदीजन्य दस्तुर उठाउन थालिसकेको उनको भनाइ छ । इलाका संरक्षण क्षेत्र कार्यालय अन्तर्गत जोमसोम, मार्फा, कोवाङ, कुञ्जो र लेते समितिले नदीजन्य स्थानीय उपयोग दस्तुर उठाउन थालेको कार्यालय प्रमुख गुप्तले बताउनुभयो । यसअघि कालीगण्डकी नदी उत्खननसम्बन्धी मुद्दा परेपछि मुस्ताङमा नदी उत्खननमा कानुनी जटिलता खडा भएको थियो । यसैका बाबजुद मुस्ताङमा आन्तरिक रुपमा कालीगण्डकी नदी दोहन भइरहेको थियो । स्थानीय गाउँमुखिया र स्थानीय तहले सङ्घीय कानुन मिचेर मनोमानी कालीगण्डकी उत्खननको कर उठाउँदै आइरहेका थिए । सर्वोच्चले गरेको रिट खारेजी र माछापुच्छ्रे गाउँपालिका र एक्याप सिएमसी बीचको रिटको किनारा लागेपछि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको कालीगण्डकी नदी स्रोत उत्खननको अधिकार एक्यापले नै स्वामित्व ग्रहण गरेको एक्याप जोमसोमका कार्यालय प्रमुुख गुप्तले बताए । मुस्ताङमा प्राकृतिक नदीजन्य स्रोतको समुचित उत्खनन नहुँदा मुस्ताङका कालीगण्डकी नदी उकास बर्सेनि वृद्धि भइरहेको छ । नदी उकासले मुस्ताङका १३ गाउँ कालीगण्डकी नदी कटानको उच्च जोखिममा छन् ।
फाप्लु विमानस्थलमा १७ दिनपछि उडान, नियमित तालिका कागजमै सीमित
काठमाडौं । पर्यटकीय जिल्ला सोलुखुम्बुको फाप्लु विमानस्थलमा १७ दिनपछि जहाज उडान भएको छ । प्रतिकूल मौसमका कारण गत जेठ २६ गतेदेखि अवरुद्ध भएको जहाज उडाउन १७ दिनपछि बुधबार भएको नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुले जनाएको छ । प्राधिकरणका वरिष्ठ अधिकृत आयुस थापाका अनुसार बुधबार नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्सं) को ट्विनअटर जहाजले काठमाडौंबाट फाप्लुसम्म सफल उडान भरेर पुनः काठमाडौं फर्किएको हो । जहाज १२ जना यात्रु लिएर फाप्लु आएको भए पनि जहाजले १० जना यात्रु लिएर काठमाडौँ फर्किएको अधिकृत थापाले जानकारी दिए । भेगको मौसम छिनछिनमा परिवर्तन भइरहने भएकाले बारम्बार लामो समय उडान ठप्प हुने गर्दछ । जेठ अन्तिमबाट सुरु भएको वर्षा र बाक्लो कुहिरोले लगातार १७ दिनसम्म विमानस्थल ठप्प भएको थियो । जिल्ला अस्पतालमा उपचार सम्भव नभएका जटिल अवस्थाका बिरामी तथा अशक्तहरुलाई काठमाडौं पठाउन सकस परेको स्थानीय पदम श्रेष्ठले बताए । उडान बन्द हुँदा गम्भीर अवस्थाका बिरामीको जीवन जोखिममा परेको स्थानीय स्वास्थ्यकर्मीहरू बताउँछन् । काठमाण्डौं ‘रेफर’ गरिएका बिरामीलाई जहाजमार्फत पठाउन नसकिँदा घण्टौँ लगाएर गाडीमार्फत ओखलढुङ्गा तथा विराटनगर पठाउनु परेको स्थानीय पेम्बा शेर्पाको भनाइ छ । सगरमाथा क्षेत्र घुम्न आउने पर्यटकको मुख्य गेटवे लुक्ला हो भने फाप्लु वैकल्पिक स्थलका रुपमा लिने गरिन्छ । मौसमले उडान अवरुद्ध हुँदा फाप्लु हुँदै लुक्ला पुग्ने पर्यटकहरूले योजना परिवर्तन गरिरहेको यातायात व्यवसायी मिङ्मार शेर्पाले बताए । नियमित उडान तालिका कागजमै सीमित जिल्लाका सदरमुकाम नजिकको फाप्लु विमानस्थलमा हाल नेपाल एयरलाइन्सबाहेक अन्य निजी विमान कम्पनीहरूले नियमित उडान तालिका राखेका छैनन् । मौसम प्रतिकूल भइरहने र यात्रुसमेत पर्याप्त नहुने भएपछि निजी विमान कम्पनीहरूले नियमित उडान तालिका समावेश नगरेको हुन् । नेपाल एयरलाइन्सले हप्तामा सोमबार, बुधबार, शुक्रबार र शनिबार काठमाण्डौं–फाप्लुमा उडान भर्ने तालिका तय गरेको छ । तर, मौसमका कारण ती उडानहरू अवरुद्ध हुँदा यात्रु मारमा परेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका अनुसार हरेक महिना औसत १०/१२ दिन मात्र उडान हुन सक्ने अवस्था रहन्छ । अर्कोतर्फ नेपाल एयरलाइन्ससँग अहिले फाप्लुका लागि चल्ने ट्विनअटर जहाजको सङ्ख्या सीमित छ । यन्त्रको अवस्था, पाइलटको अभाव र अन्य प्राविधिक कारणले गर्दा समेत तालिका प्रभावित हुने गरेको प्राधिकरणले जनाएको छ । फाप्लुबाट काठमाडौंसम्मको सडक मार्गको दूरी करिब २७५ किलोमिटर छ तर, त्यो सडक अहिले पनि गाडीका लागि पूर्ण रूपमा उपयुक्त छैन । बीपी राजमार्गको सिन्धुली, खुर्को तथा काभ्रे क्षेत्रको सडक पहिरोका कारण जोखिमपूर्ण भएकाले जिल्लावासीलाई सङ्घीय राजधानी काठमाडौं आउजाउ गर्न कठिन छ । स्थानीय बिमला राई भन्छिन्, ‘सडकबाट जान भनेको शरीरलाई यातना दिनु हो । बिरामी छ भने झन् यात्रा कहिल्यै सकिँदैन जस्तो लाग्छ ।’ स्थानीय तहका जनप्रतिनिधिले हवाई सेवा नियमित बनाउन सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरे भन्छन्, ‘मौसमका कारण नियमित उडान असम्भव हुन्छ, तर यसलाई वैकल्पिक रुपमा सेनाको हेलिकप्टर, निजी एयरलाइन्ससँग सहकार्य गरेर काम गरिरहेका छौँ । जहाजको भर नहुँदा बिरामी, सुत्केरी तथा अन्य अति आवश्यक सरकार कामका लागि धेरै सास्ती खेप्नु पर्दछ ।
यी चार प्रदेशमा धेरै भारी वर्षा हुने, तराईमा हावा हुरी
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही मधेश प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशको तराई भू-भागका तथा मधेश प्रदेशको थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेशको तराई भू-भागका तथा मधेश प्रदेशको थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । महाशाखाका अनुसार कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुन सक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
प्रधानमन्त्री ओली स्पेन भ्रमणमा जाँदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी शनिबार त्यसतर्फ जाने भएका छन् । उनले स्पेनको औपचारिक भ्रमणका क्रममा त्यहाँ असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्त सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा भाग लिने छन् । प्रधानमन्त्रीको औपचारिक भ्रमणको सम्पूर्ण तयारी पूरा भएको र स्वागतका लागि स्पेन स्थित नेपाली समुदाय आतुर र उत्साहित रहेको स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले राससलाई जानकारी दिए । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने छन् । त्यस अवसरमा सहयोग र सम्बन्ध विस्तारसम्बन्धी केही महत्त्वपूर्ण विषयमा नेपाल र स्पेनबीच सहमतिपत्रमा हस्ताक्षर हुनेछ । प्रधानमन्त्रीले भ्रमणकै दौरान त्यहीँस्थित नेपाली समुदाय र स्पेनिस उद्योगी व्यवसायीसँग पनि अन्तरक्रिया गर्नेछन् । सम्मेलनका क्रममा प्रधानमन्त्रीको अन्य महत्त्वपूर्ण द्विपक्षीय भेटघाट समेत हुने दूतावासले जनाएको छ । स्पेन संसदीय प्रजातन्त्र र संवैधानिक राजतन्त्रात्मक शासन व्यवस्था भएको पश्चिम युरोपेली मुलुक हो । करिब ५ लाख ५ हजार ९९० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको स्पेनको जनसङ्ख्या लगभग ४ करोड ७४ लाख छ । सन् १९८६ मा युरोपेली सङ्घको सदस्य भएको स्पेनले सन् १९९५ मा सेन्जेनको सदस्यता लिएको थियो । स्पेनमा ८४ प्रतिशत स्पेनिस, १.७ मोरक्कन, १.२ रोमानियन र अन्य जाति १२.३ रहेको तथ्याङ्क छ । स्पेनमा साना–ठूला गरी २० हजार फुटबल क्लब र १० लाख रजिष्ट्रर खेलाडी रहेको मुलुक हो । भाषाका हिसाबले स्पेनिस विश्वको चौथो धेरै बोलिने भाषा हो । नेपाल-स्पेन दैत्य सम्बन्ध नेपाल र स्पेनबीच सन् १९६८ मे १३ मा कूटनीतिक सम्बन्ध स्थापना भए पनि सन् २०१८ मा मात्र त्यहाँ नेपालको आवासीय राजदूतावास स्थापना भएको हो । स्पेनको दूतावास यहाँ नभएकाले दिल्लीस्थित दूतावासले नेपाल हेर्दै आएको छ । स्पेनमा विभिन्न पेसा तथा व्यवसायमा करिब २० हजार नेपाली संलग्न रहेको अनुमान छ । उनीहरूमध्ये विशेष गरी कृषि, होटल, पर्यटन र निर्माणलगायत क्षेत्रमा बढी संलग्न रहेको जानकारी दिइएको छ । नेपाल र स्पेनबीच विगतदेखि नै उच्चस्तरीय भ्रमण आदानप्रदान हुँदै आएको छ । तत्कालीन राजा वीरेन्द्रले सन् १९८३ मा स्पेन तथा त्यहाँका राजा कार्लोसले पनि सन् १९८७ मा नेपालको चार दिने राजकीय भ्रमण गरेका थिए । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सन् २०१६ मा स्पेनमा ‘द्वन्द्वमा परेका व्यक्तिहरूको बेचबिखनसम्बन्धी उच्चस्तरीय बहस’मा भाग लिएका थिए । त्यस्तै, सन् २०१९ मा तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले स्पेनमा आयोजित मन्त्रीस्तरीय जिएसएमए कार्यक्रममा भाग लिएका थिए । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट सन् २०२१ मा स्पेनको भ्रमण भएको थियो । त्यस अवसरमा नेपाल र स्पेनबीच जलवायु परिवर्तन र पर्यटनका क्षेत्रमा सहकार्य गर्ने सहमति भएको थियो । वैदेशिक रोजगारीका हिसाबले नेपालीका लागि स्पेन नयाँ गन्तव्य बनिरहेको छ । स्पेन विश्वमै पर्यटकीय गन्तव्यका रूपमा रहँदै आएको छ । त्यहाँको आयस्रोतको प्रमुख आधारमध्ये पर्यटन महत्त्वपूर्ण क्षेत्र हो । वार्षिक सवा करोड पर्यटकले स्पेनको भ्रमण गरेको तथ्याङ्क छ । यसैबीच स्पेनबाट सन् २०१८ मा १९ हजार ५६३ पर्यटक नेपाल भ्रमणमा आएकामा कोभिड–१९ पछि त्यसमा केही गिरावट देखिएको छ । नेपालको भौगोलिक अवस्थिति, प्रकृतिक सौन्दर्य, अनुपम सांस्कृतिक सम्पदा र विविध विशिष्ट पर्यटकीय स्थानले स्पेनिस पर्यटकहरूलाई आकर्षण गर्ने प्रशस्त सम्भावना छ । अनुकूल हावापानी र साहसिक पर्यटन, आध्यात्मिक चिन्तन, ध्यान र योगका लागि नेपाल उपयुक्त गन्तव्य स्थलकारूपमा परिचित छ । नेपालबाट हुन लागेको यो उच्चस्तरको भ्रमणले पनि स्पेनलगायतका युरोपली मुलुकका पर्यटकलाई नेपालबारे थाहा पाउन बलियो आधार प्रदान गर्ने विश्वास गरिएको छ ।
एक साताभित्र एसइईको नतिजा सार्वजनिक हुने
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत सानोठिमी स्थित परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक डा गणेश प्रसाद भट्टराईले एसइई परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीका साथ तीव्र गतिमा काम भइरहेको बताए । उत्तरपुस्तिका परीक्षण र सम्परीक्षणको काम सकेर प्राप्ताङ्क इन्ट्री गर्ने काम भइरहेको बताउँदै उनले भने, ‘हामीले असारको तेस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने गरी डेट लाइन तयार गरेका हौँ, कर्मचारी साथीहरूले डबल सिफ्टमा तीव्र गतिले काम गरिरहनुभएको छ । अहिले नम्बर इन्ट्री गर्ने र रुजु गर्ने काम भइरहेको छ । काम छिटो सकियो, प्रविधिले साथ दियो भने तेस्रो सातादेखि अगाडि तानेर एक साताभित्र नतिजा सार्वजनिक गर्न सकिन्छ, त्यसैका लागि दिनरात काम भइरहेको छ ।’ असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्ने गरी कार्यतालिका बने पनि गत २०८१ सालको चैत २० गतेदेखि २०८२ वैशाख १७ गतेसम्म शिक्षकले काठमाडौंमा सडक आन्दोलन गरेको सडक आन्दोलन गरेका कारण नतिजा प्रकाशनमा ढिलाइ हुन पुगेको हो । गत २०८१ सालको चैत ७ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।