गरिमा विकास बैंकको १९औं वार्षिक साधारणसभा सम्पन्न, १०.५३ प्रतिशत लाभांश पारित
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको १९औं वार्षिक साधारणसभा बिहीबार कास्कीको पोखरा महानगरपालिका–१४ स्थित होटल पोखरा ग्राण्डमा सम्पन्न भएको छ । सभाले सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र ४.५३ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको बैंकले जनाएको छ । साधारणसभाले आव २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन विवरण तथा सम्बन्धित अनुसूचीहरू पारित गरेको छ । साथै, आव २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका अन्य सामान्य प्रस्तावहरू पनि सभाले स्वीकृत गरेको छ । सभाले विशेष प्रस्तावहरू पनि पारित गरेको छ । ती अन्तर्गत बैंकको अधिकृत पूँजी ६ अर्ब १० करोड पुर्याउने, केन्द्रीय कार्यालयलाई काठमाडौं महानगरपालिका–३, बालुवाटारस्थित आफ्नै भवनमा स्थानान्तरण गर्ने, छाप र लोगो परिवर्तन गर्ने, तथा प्रबन्धपत्र र नियमावली संशोधन गर्ने निर्णय गरिएका छन् । हाल बैंकको चुक्ता पूँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३२७ रुपैयाँ ५७ पैसा रहेकोमा, यस साधारणसभाबाट पारित ६ प्रतिशत बोनस सेयर वितरणपछि बैंकको जारी तथा चुक्ता पूँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँ २२ पैसा पुग्नेछ । देशभर १२६ शाखा कार्यालय र ५१ एटिएम मार्फत सेवा विस्तार गरिरहेको गरिमा विकास बैंकले डिजिटल बैंकिङ प्रणालीमार्फत ग्राहकहरूलाई सरल, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्दै आएको जनाएको छ।
कामना सेवाको १९औं वार्षिकोत्सवमा नयाँ निक्षेप योजना ‘अल्फा ग्रो’ सार्वजनिक
काठमाडौं । कामना सेवा विकास बैंकले स्थापनाको १९औं वार्षिकोत्सव विभिन्न सामाजिक तथा आन्तरिक कार्यक्रमहरू आयोजना गर्दै सम्पन्न गरेको छ । वार्षिकोत्सवको अवसरमा बैंकले बिहीबार नयाँ निक्षेप योजना ‘अल्फा ग्रो’ सार्वजनिक गरेको हो । १८ वर्षसम्मका बालबालिकालाई लक्षित यो योजनाअन्तर्गत खाता खोल्ने ग्राहकहरूलाई आकर्षक खुत्रुके उपलब्ध गराइनेछ । साथै, खातावालाको ५० हजार रुपैयाँसम्मको जीवन बीमा बैंकले नै व्यवस्था गर्नेछ, जसको प्रिमियम खातावालाले १८ वर्ष नपुग्दासम्म बैंकले नै तिर्ने जनाएको छ । बैंकका अनुसार ‘अल्फा ग्रो’ खाता बालबालिकामा बचतको बानी विकास गर्ने र अभिभावकहरूलाई भविष्यमुखी वित्तीय सुरक्षा प्रदान गर्ने उद्देश्यले सुरु गरिएको हो । यस योजनाले बालबालिकाको भविष्यलाई सुरक्षित र दिगो बनाउन सहयोग पुर्याउने बैंकको विश्वास छ । साथै वार्षिकोत्सवको अवसरमा बैंकले देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो । उक्त कार्यक्रम केन्द्रीय कार्यालयसहित सबै क्षेत्रीय कार्यालयहरूमा एकैसाथ सम्पन्न गरिएको बैंकले जनाएको छ । विभिन्न स्थानमा सम्पन्न रक्तदान कार्यक्रमबाट जम्मा ४२९ पिन्ट रगत संकलन भएको छ । बैंकका सञ्चालक भीमप्रसाद तुलाचनले बुटवल क्षेत्रमा आयोजित रक्तदान कार्यक्रमको उद्घाटन गरेका थिए भने केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले हिमाल हस्पिटल, रक्तसञ्चार केन्द्रकी भावना पाण्डेलाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गरेका थिए । रक्तदान कार्यक्रम कोशी प्रदेशको विराटनगर शाखा, मधेस प्रदेशको बर्दिबास शाखा, नारायणगढ क्षेत्रको नारायणगढ शाखा, पोखरा क्षेत्रको न्युरोड शाखा, बुटवल शाखा तथा पश्चिम क्षेत्रको नेपालगञ्ज शाखामा सम्पन्न भएको थियो । कार्यक्रममा क्षेत्रीय प्रमुख, स्थानीय समाजसेवी, रक्तदाता र कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । त्यसैगरी, बैंकले वार्षिकोत्सवकै अवसरमा पाँचौं संस्करणको 'अन्तर बैंक तथा वित्तीय संस्था स्तरिय फुटसल कप' पनि आयोजना गरेको थियो । उक्त प्रतियोगितामा पुरुषतर्फ सिद्धार्थ बैंक विजयी भएको भने महिलातर्फ लुम्बिनी विकास बैंकले उपाधि जितेको बैंकले जनाएको छ । बैंकका अमरसिंह शाखा र पोखरा न्युरोड शाखाले क्रमशः अमरसिंह उच्च मावि र पार्दी माविमा वित्तीय साक्षरता कार्यक्रम पनि सम्पन्न गरेका छन् ।
राष्ट्रिय परिचयपत्र बनेको छ ? अब मतदाता नामावली घरै बसीबसी बन्ने
काठमाडौं । निर्वाचन आयोगले अबदेखि राष्ट्रिय परिचयपत्र प्राप्त गरेका नागरिकलाई मतदाता नामावलीमा दर्ता गर्न निर्वाचन कार्यालय धाउनुपर्ने झन्झटबाट मुक्त गरेको छ । आयोगले (बिहीबार)देखि लागू हुने नयाँ प्रणालीमार्फत राष्ट्रिय परिचयपत्र बनाइसकेकाहरूले अनलाइनमार्फत मात्र फारम भरेर मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने व्यवस्था गरेको हो । यस प्रणालीले नागरिकका लागि सेवा सहज र समय बचत हुने अपेक्षा गरिएको छ । नयाँ व्यवस्थाअनुसार अनलाइन फारम भरेपछि नागरिकको राष्ट्रिय परिचयपत्रमा रहेका विवरणहरू नाम, जन्ममिति, ठेगाना र नागरिकता सम्बन्धी जानकारी स्वतः मतदाता नामावलीमा समायोजन हुनेछन् । यसकारण अब मतदाता नामावली दर्ताका लागि छुट्टै कागजात बुझाउन वा कार्यालय पुगेर फारम भर्न आवश्यक हुनेछैन । निर्वाचन आयोगका अनुसार यो प्रविधिमैत्री पहलले मतदाता नामावली अद्यावधिक गर्ने कार्यलाई दुरुस्त, पारदर्शी र विश्वसनीय बनाउने आयोगले बताएको छ । आयोगका सहप्रवक्ता प्रकाश न्यौपानेका अनुसार यसले ग्रामीण भेगका नागरिकलाई समेत अनलाइनबाटै सेवामा पहुँच दिने र कार्यालयमा हुने भीड घटाउने छ । आयोगले राष्ट्रिय परिचयपत्र नबनाएका व्यक्तिले भने पहिलेको जस्तै तरिकाबाट नै दर्ता प्रक्रिया पूरा गर्नुपर्ने जनाएको छ । अनलाइन प्रणाली सञ्चालनसँगै आयोगले मतदाता नामावलीमा हुने त्रुटि र दोहोरो दर्ता घट्ने विश्वास व्यक्त गरेको सहायक प्रवक्ता न्यौपानेले जानकारी दिए ।
सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसडरमा पारस खड्का नियुक्त
काठमाडौं । सोमानी सेरामिक्सले नेपाल क्रिकेट संघ (क्यान) का सचिव तथा नेपाल क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कालाई आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । ब्रान्ड फेसको रूपमा पारस खड्का सोमानी सेरामिक्सका टायल्स, बाथवेयर, एडहेसिभ र वाटरप्रूफिङ लगायतका सम्पूर्ण उत्पादनहरूको प्रवर्द्धन सम्बन्धी विभिन्न गतिविधिमा सहभागी हुने कम्पनीले जनाएकाे छ । सहकार्यको प्रसङ्गमा सोमानी सेरामिक्सका सह-अध्यक्ष सुजित मोहन्तीले पारस खड्कालाई सोमानी परिवारमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए । उनले भने, 'पारस खड्काको लगनशीलता र उत्कृष्टताको यात्रा हाम्रो नवीनता र नेतृत्वका सिद्धान्तसँग मेल खान्छ । नेपाल लामो समयदेखि हाम्रो सबैभन्दा मूल्यवान बजारमध्ये एक हो र पारसको विश्वसनीयता तथा जनसम्पर्कले हाम्रो गुणस्तर, डिजाइन र विश्वासको लक्ष्यलाई अझ सुदृढ बनाउनेछ ।' त्यसैगरी, सोमानीका मार्केटिङ प्रमुख तथा उपाध्यक्ष अंशुमन चक्रवर्तीले पारस खड्कालाई 'नेपालमा घर-घरमा चिनिएको नाम' भन्दै प्रशंसा गरे । उनले भने, 'पारस केवल खेलमैदानमा उत्कृष्टता र नेतृत्वका लागि मात्र होइन, आफ्नो इमानदारी र सकारात्मक प्रभावका कारण पनि सबै पुस्तामा लोकप्रिय छन् । युवादेखि परिवारसम्म सबैमा उनी मनपर्ने व्यक्तित्व हुन्, जसले सोमानीका गुणस्तर, नवीनता र विश्वासका मूल्यहरूलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्नेछन् ।' पारस खड्काले पनि सोमानीसँगको सहकार्यप्रति उत्साह व्यक्त गर्दै भने, 'मैले जस्तै उत्कृष्टता र गुणस्तरका लागि निरन्तर प्रयास गर्ने ब्रान्डसँग काम गर्न पाउनु गर्वको कुरा हो । सोमानी घर सजावटको क्षेत्रमा विश्वसनीयता र प्रिमियम उत्पादनको प्रतीक हो, र मैले व्यक्तिगत रूपमा पनि कम्पनीको उत्कृष्टताप्रतिको प्रतिबद्धता देखेको छु।' कम्पनीका अनुसार यो सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ गर्ने उद्देश्य राखेको छ ।
एनआईसी एशिया बैंकका ग्राहकका लागि होटल क्राउन इम्पेरियलमा छुट
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूले काठमाडौंको रविभवनस्थित होटल क्राउन इम्पेरियलमा सेवा लिँदा छुट पाउने भएका छन् । बैंक र होटलबीच छुटसम्बन्धी सम्झौता सम्पन्न भएपछि यो सुविधा लागू भएको हो । सम्झौता अनुसार बैंकका ग्राहकहरूले होटल क्राउन इम्पेरियलमा आवास, खाना तथा पेयपदार्थ, स्पा लगायतका सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यसका लागि ग्राहकहरूले एनआईसी एशिया बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (मोबाइल बैंकिङ एप) मार्फत डिजिटल भुक्तानी गर्नुपर्नेछ । बैंकले यस सहकार्यबाट ग्राहकहरूलाई विशेष छुटको सुविधा उपलब्ध हुनुका साथै मुलुकमा डिजिटल भुक्तानी प्रवर्द्धन र नगदरहित कारोबार संस्कृतिको विकासमा सहयोग पुग्ने विश्वास लिएको जनाएको छ ।
एनपीएलका सबै खेल ‘डिशहोम गो’ एपमार्फत प्रत्यक्ष हेर्न सकिने
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का सबै ३२ खेल अब ‘डिशहोम गो’ मोबाइल एपमार्फत प्रत्यक्ष हेर्न सकिने भएको छ । आगामी मङ्सिर १ देखि २७ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने एनपीएलका सम्पूर्ण खेलहरू सो एपमार्फत लाइभ प्रशारण गरिने भएको हो । नेपाल क्रिकेट सङ्घ (क्यान) ले ओटीटी प्रसारण अधिकार ‘डिश मिडिया नेटवर्क’ लाई प्रदान गरेको हो । क्यानका अनुसार दर्शकहरूले खेल हेर्नका लागि छुट्टै शुल्क तिर्नुपर्नेछ । नेपालभित्रका दर्शकले ३०० रुपैयाँ, मिडल इस्ट क्षेत्रका दर्शकले ५०० रुपैयाँ र अन्य देशका दर्शकले १० अमेरिकी डलर तिर्नुपर्नेछ । एप र वेबसाइटमार्फत खेल हेर्दा विज्ञापनरहित रूपमा प्रसारण हेर्न सकिने व्यवस्था गरिएको छ । यसपटक दोस्रो संस्करणको एनपीएलका खेलहरू युट्युबमा प्रत्यक्ष प्रशारण नहुने पनि क्यानले जनाएको छ । ‘डिशहोम गो’ एप मोबाइल, एन्ड्रोइड टिभी र वेब तीनै माध्यममा उपलब्ध हुनेछ । दर्शकहरूले खल्ती, इसेवा, भिसा वा मास्टरकार्ड प्रयोग गरी सजिलै सब्स्क्रिप्सन लिन सक्नेछन् । कम्पनीका अनुसार नयाँ संस्करणको एप अहिले गुगल प्ले स्टोरमा उपलब्ध छ भने आईओएस प्रयोगकर्ताका लागि एप केही दिनभित्र सार्वजनिक हुनेछ । उच्च गुणस्तरको र अवरोधरहित प्रत्यक्ष प्रशारण सुनिश्चित गर्न ‘डिशहोम’ ले मोबायोटिक्स र अकामाईसँग प्रविधिक सहकार्य गरेको छ । मोबायोटिक्स बहुप्रयोगकर्ता–मैत्री अनलाइन स्ट्रिमिङ प्रणाली निर्माण गर्ने अन्तर्राष्ट्रिय कम्पनी हो । यसले तयार पारेको प्लेटफर्ममार्फत बंगलादेश र भारतबीचको आइसिसी च्याम्पियन्स ट्रफी २०२५ को खेल एकैपटक २३ लाखभन्दा बढी दर्शकले सहज रूपमा हेरेका थिए । त्यस्तै, अकामाई विश्वकै अग्रणी क्लाउड सेवा प्रदायक हो, जसले भारतमा ‘हटस्टार’ सँग सहकार्य गर्दै आइपिएलको डिजिटल प्रसारण सम्भव बनाउँदै आएको छ । अकामाईले विश्वभरका सर्भरमार्फत सामग्री छिटो, सुरक्षित र भरपर्दो तरिकाले प्रयोगकर्तासम्म पुर्याउने काम गर्छ ।
प्रगतिशील राष्ट्रिय अभियानको केन्द्रीय संयोजन समिति गठन
काठमाडौं । नेकपा माओवादीबाट विभाजित जनार्दन शर्मा समूहले प्रगतिशील राष्ट्रिय अभियानले आफ्नो केन्द्रीय संयोजन समिति घोषणा गरेको छ । समितिमा विभिन्न पेशा, क्षेत्र र समुदायका ३१ जना व्यक्तिहरू समावेश गरिएको अभियानले जनाएको छ । लक्ष्मण पन्तले जानकारी गराएअनुसार घोषित समितिको सूचीमा सुदन किराती, मदन भट्टराई, मदन लिम्बु, सफलता राई, पुजन सिंह, अर्चनन्द यादव, लक्ष्मण गुरुङ, प्रकाशचन्द्र पाण्डे, राजु ओझा मगर, सन्तोष विष्ट, प्रेमबहादुर तामाङ, यज्ञवल्लभ शर्मा लगायतलाई समेटिएको छ । यस्तै, किरातीको टिममा क्षितिज सापकोटा, बाबुराम नेपाली, किसन कुमार विक, सलीम पुन, गेहेन्द्र ढकाल, नारायणी शर्मा, झिमबहादुर मल्ल, गौखबहादुर केसी रहेका छन् । प्रगतिशील अभियानमा जितल कुमारी, वैरागी देवकोटा, जन्मदेव जैसी, टेकनार भट्ट, दीपक साउद, पुष्प न्यौपाने, डाक्टर अच्युत भट्ट, विमला सिंह, निर्मला गौतम, रामहरि पुडासैनी र धर्मराज खतिवडा रहेका छन् । अभियानले मुलुकमा प्रगतिशील विचार, समावेशी विकास र सामाजिक रूपान्तरणको एजेन्डालाई अगाडि बढाउने लक्ष्य लिएको जनाएको छ । नवगठित समितिले संगठन विस्तार, कार्यक्रम व्यवस्थापन तथा आगामी राष्ट्रिय अभियानका योजना तयार गर्ने जिम्मेवारी पाएको छ । नेकपा माओवादीबाट पार्टीका उपमहासचिव जनार्दन शर्मा, सचिव राम कार्की, विदेश विभाग प्रमुख ओम शर्मा र अर्का नेता लक्ष्मण पन्तले एकता प्रक्रियामा नगई विद्रोह गरेका थिए । यस समितिमा ती नेताहको नाम देखिएको छैन । समितिका सदस्यहरू देशका विभिन्न भूगोल र सामाजिक पृष्ठभूमिबाट आएका छन् । अभियानका अनुसार यो संयोजनले नयाँ नेतृत्व र साझा प्रगतिशील धारलाई सशक्त रूपमा अभिव्यक्त गर्ने अपेक्षा गरिएको छ ।
भयरहित वातावरण सृजना गर्न संसदीय समितिको निर्देशन
काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले देशभर भयरहित वातावरण सृजना गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले भदौ २३ र २४ गतेको आन्दोलनपछिका घटनामा लुटिएका हतियार र भागेका कैदीका कारण देशमा भय उत्पन्न भएको निष्कर्ष निकाल्दै तत्काल प्रभावकारी कदम चाल्न सरकारलाई निर्देशन दिएको हो । बैठकमा सहभागी गृहमन्त्री ओमप्रकाश अर्यालले समितिलाई आगामी निर्वाचनको तयारीबारे जानकारी गराएका थिए । समितिले फागुन २१ गतेकालागि तोकिएको निर्वाचनलाई लक्षित गरी देशभर सुरक्षाको व्यवस्थापन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । समितिका सभापति सोनाम ग्याल्जेन शेर्पाले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित ढंगले सम्पन्न गराउन प्रहरीको मनोबल उच्च राख्दै जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारहरू संकलन गर्न र हतियार लुट्नेहरूलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका छन् । समितिले निर्वाचन सुरक्षालाई राष्ट्रिय प्राथमिकता बनाउन र सार्वजनिक विश्वास कायम राख्न सुरक्षा संयन्त्रलाई थप सुदृढ गर्नुपर्नेमा जोड दिएको छ ।