विकासन्युज

सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने तस्कर समूहका चार जना पक्राउ

काठमाडौं । पर्सामा सशस्त्र प्रहरीमाथि आक्रमण गरी फरार रहेका तस्कर समूहका चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार साेमबार साँझ तीन जना र मंगलबार बिहान एक जना तस्कर पक्राउ परेका हुन् । प्रहरीका अनुसार घटनामा धेरै जना संलग्न रहेकाले हाल पक्राउ परेकाहरूको नाम सार्वजनिक गरिएको छैन । अन्य फरार तस्करको खोजी कार्यसमेत तीव्र पारिएको प्रहरीले जनाएको छ । सोमबार वीरगन्ज–१० आदर्शनगरस्थित एक ट्रान्सपोर्ट गोदाममा छापा मार्न गएको सशस्त्र प्रहरीको टोलीमाथि तस्कर समूहले आक्रमण गरेको थियो । मदन गुप्ताको घर भाडामा लिएर विनोद साहले सञ्चालन गरेको सबिता ट्रेडर्सको गोदाममा छापा मार्ने क्रममा झडप भएको थियो । सशस्त्र प्रहरीले छापामारीका क्रममा करिब १२ लाख ७२ हजार रुपैयाँ मूल्य बराबरका साडी तथा अन्य कपडा बरामद गरेको थियो। आक्रमणका क्रममा तीन जना सुरक्षाकर्मी घाइते भएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको र संलग्न अन्य व्यक्तिलाई पनि छिट्टै पक्राउ गरिने प्रहरीले जनाएको छ ।

बागलुङमा ‘प्लेटलेट्स’ बनाउन थालियो : पोखरा र काठमाडौं पठाउनुपर्ने बाध्यता अन्त्य

बागलुङ । लामो समयको प्रयासपछि बागलुङको रक्तसञ्चार केन्द्रमा सेतो रगत (प्लेटलेट्स/प्लाज्मा) बनाउन थालिएको छ । धवलागिरि प्रादेशिक अस्पतालअघि रहेको रक्त सञ्चार केन्द्रमा सेतो रगत निर्माण गर्ने उपकरणको अभावमा अन्य केही उपकरणसमेत प्रयोगविहीन भएका थिए भने बिरामीलाई पोखरा पठाउनुपर्ने बाध्यता थियो । लामो समयको प्रयास र करोड खर्च गरेर प्रयोगशाला स्थापना गरिएको छ भने आइतबारदेखि प्रयोगशालाले सेतो रगत उत्पादन गर्न थालेको छ । नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जगन्नाथ आचार्यले लामो समयको प्रयास र विभिन्न निकायको सहयोगमा झण्डै एक करोड रुपैयाँ खर्चेर सुविधासम्पन्न प्रयोगशाला स्थापना गरिएको छ । उनका अनुसार प्रयोगशालामा तालिमप्राप्त प्रयोगशाला प्राविधिकको समेत व्यवस्था मिलाइएको छ । जटिल प्रकारका बिरामीलाई आवश्यक पर्ने प्लेटलेट्स/प्लाज्मा बागलुङमै बनाउन थालेपछि धवलागिरि प्रादेशिक अस्पतालबाट रेफर हुने जटिल प्रकारका बिरामीको सङ्ख्या घट्ने अपेक्षा छ । विशेषज्ञ सेवा प्रदान तथा जटिल प्रकारका रोगको उपचारका लागि सेतो रगत आवश्यक पर्ने अस्पतालका प्रमुख डा किरण तिवारीले जानकारी दिए । रक्त सञ्चार केन्द्रमा सेतो रगत (प्लेटलेट्स÷प्लाज्मा) नपाइँदा अस्पतालले जटिल प्रकारका समस्या देखिएर सेतो रगत चाहिने बिरामीलाई पोखरा पठाउनुपर्ने बाध्यता आइतबारदेखि हटेको उनले जानकारी दिए । गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले बागलुङस्थित रक्तसञ्चार केन्द्रलाई दुई वर्षअघि दिएको रातो र सेतो रगत छुट्याउने उपकरण (कम्पानेन्ट सेन्ट्रिफ्युज) प्रयोगमा आएको छ भने प्रदेश सरकारको रु १५ लाख र बागलुङ नगरपालिकाको रु पाँच लाख, जैमिनी नगरपालिकाको रु तीन लाख, गलकोट नगरपालिकाको रु दुई लाख र बरेङ गाउँपालिकाको रु एक लाख ५० हजार गरी रु २६ लाख ५० हजार लागतमा अन्य उपकरण खरिद गरिएको थियो । उपकरण आए पनि प्रयोगशालाको पूर्वाधार निर्माण गर्न नसक्दा रोकिएको काममा बागलुङ समाज जापानले रु १३ लाख ५० हजार सहयोग गरेपछि सुरु भएको थियो । रक्तसञ्चार केन्द्रको भवनमा उपकरण र अन्य सहयोग गरी झण्डै रु एक करोड लागतमा सेतो रगत उत्पादन थालिएको केन्द्रका प्रमुख गुरुदत्त शर्माले बताए । विशेषगरी डेङ्गीको सङ्क्रमण भई सेतो रगतको मात्रा घटेका, सर्पदंश, शल्यक्रिया, अत्यधिक रक्तश्राव भएका बिरामीलाई समेत सेतो रगत आवश्यक पर्ने धवलागिरि अस्पतालका प्रमुख डा तिवारीले जानकारी दिए । उनले सेतो रगतकै कारण उपचार सम्भव हुने बिरामीलाई समेत पोखरा, काठमाडौं पठाउनुपर्ने बाध्यता अन्त्य भएको बताए । बिरामीको अवस्था हेरेर ३० हजारभन्दा तल प्लेटलेट्स भएमा सेतो रगतको आवश्यकता हुने गर्दछ । रासस

यस्तो छ मंगलबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५२ पैसा तोकिएको छ । युरोपियन यूरो एकको खरिददर १७१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १७२ रुपैयाँ ६४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १९८ रुपैयाँ १३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८८ रुपैयाँ ५७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ८० पैसा र बिक्रीदर १०२ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ २० पैसा र बिक्रीदर १०६ रुपैयाँ ६४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ १४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ६१ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २६ पैसा र बिक्रीदर नौ रुपैयाँ २९ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ९३ पैसा र बिक्रीदर २१ रुपैयाँ दुई पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८० पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ८१ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६४ पैसा र बिक्रीदर चार रुपैयाँ ६६ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ६२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८८ पैसा र बिक्रीदर नौ रुपैयाँ ९२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ११ पैसा र बिक्रीदर १६ रुपैयाँ १८ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ०२ पैसा र बिक्रीदर २३ रुपैयाँ ११ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५४ पैसा र बिक्रीदर १८ रुपैयाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४७४ रुपैयाँ ३७ पैसा र बिक्रीदर ४७६ रुपैयाँ ३३ पैसा, बहराइन दिनार एकको खरिददर ३८४ रुपैयाँ ४० पैसा र बिक्रीदर ३८५ रुपैयाँ ९९ पैसा, ओमनी रियाल एकको खरिददर ३७६ रुपैयाँ ४४ र बिक्रीदर ३७८ रुपैयाँ रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

नेपाल-कतार सिधा हवाई उडान विस्तार र लगानी सहजीकरणमा छलफल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको निमन्त्रणामा नेपाल आएको कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजका प्रतिनिधिमण्डलसँग नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा आपसी सहयोग विस्तारका विषयमा छलफल भएको छ । सोमबार सिंहदरबारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा तथा परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईसँग नेपालका लागि कतारका राजदूत मिसाल बीन मोहम्मद अलिअल अन्सारी, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजका बोर्ड सदस्य मोहद अहमद एम ए अलोबैदली तथा कतार एयरवेजका प्रतिनिधिबीच छुट्टा छुट्टै भेटवार्ता भएको हो । पर्यटन मन्त्रालयमा भएको भेटवार्तामा नेपाल-कतार आर्थिक विकास, पर्यटन प्रवर्द्धन, हवाई उडान विस्तार तथा नागरिक उड्डयन क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको थियो । विशेषगरी नेपाल र कतारबीच सिधा हवाई उडानको सङ्ख्या बढाउने, नयाँ गन्तव्य थप गर्ने तथा नेपाल वायुसेवा निगम र कतार एयरवेजबीच सहकार्यका सम्भावनाबारे छलफल केन्द्रित थियो । सो अवसरमा मन्त्री सिन्हाले नेपालमा पर्यटन, लगानी र व्यापार विस्तारका लागि सरकारले नीतिगत सुधार र सहजीकरणमा जोड दिइरहेको जानकारी दिए । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि अन्तर्राष्ट्रिय एयरलाइन्सको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै कतार एयरवेजको भूमिकालाई महत्वपूर्ण हुने बताए ।  ‘अन्य क्षेत्रका अतिरिक्त नेपालको पर्यटनका क्षेत्रमा कतारसँग धेरै सहकार्य गर्न सकिन्छ । नेपाल सरकारले लगानीमैत्री वातावरण निर्माणका लागि नीतिगत सुधार गर्दै आएको छ । कतारी लगानीकर्तालाई नेपालमा लगानीको वातावरण निर्माण गर्न तथा ‘कनेक्टिभिटी’ बढाउन आवश्यक सहजीकरण गर्न नेपाल सरकार तयार छ,’ उनले भने ।  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकालले नेपाल–कतारबीच पर्यटन, लगानी, उड्डयन, होटल तथा पूर्वाधार क्षेत्रमा विस्तारको वृहत् सम्भावना भएको बताए । कतारी लगानीकर्ताका लागि नेपालमा जलविद्युत्, पर्यटन, तथा सेवा क्षेत्रमा आकर्षक सम्भावना रहेको उनको भनाइ छ ।  कतार चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रिजका बोर्ड सदस्य अलोबैदलीले नेपालसँग दीर्घकालीन आर्थिक सहकार्यमा कतार निजी क्षेत्रको चासो रहेको उल्लेख गर्दै उड्डयन र पर्यटन सहकार्यले दुई देशबीचको व्यापार तथा जनस्तरको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।  यस्तै, परराष्ट्र मन्त्रालयमा भएको छलफलमा पनि लगानीका लागि नीतिगत सहजीकरण, द्विपक्षीय लगानी प्रवद्र्धन, नेपालमा कतारी लगानीका सम्भावना, पर्यटन विकास तथा भावी आर्थिक सहकार्यका विषयमा छलफल भएको थियो ।  सो अवसरमा परराष्ट्र मन्त्रालयका सचिव राईले नेपाल वैदेशिक लगानीका लागि आकर्षक गन्तव्य बन्दै गएको उल्लेख गर्दै ऊर्जा, पर्यटन, पूर्वाधार र सूचना प्रविधि क्षेत्रमा लगानीका पर्याप्त सम्भावना रहेको बताए ।  उनले सन् २०२४ अप्रिलमा कतारका अमीर शेख तमीम बिन हमद अल थानीको नेपाल भ्रमण ऐतिहासिक भएको स्मरण गर्दै त्यस भ्रमण पछि नेपाल र कतारबीचको आर्थिक सहकार्यलाई थप सुदृढ बन्दै भएको धारणा राखे ।  नेपालका लागि कतारका राजदूत अन्सारीले नेपाल-कतारबीचको सम्बन्ध मित्रतापूर्ण र सहकार्यमा आधारित रहेको उल्लेख गर्दै आर्थिक तथा पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्न कतार इच्छुक रहेको बताए । उनले कतारी लगानीको सहजीकरणका लागि दूतावास तयार रहेकोसमेत बताए । नेपाल उद्योग वाणिज्य महासङ्घका ढकालले निजी क्षेत्रमार्फत आर्थिक कुटनीति सुदृढ गर्नुपर्नेमा जोड दिँदै कतारी लगानीकर्ताका लागि नेपालमा उद्योग, पर्यटन, होटल, जलविद्युत र सेवा क्षेत्रमा राम्रो अवसर रहेको बताए ।  अध्यक्ष ढकालले भने, ‘सरकार र निजी क्षेत्रबीच वृहत् सहकार्य भएमा वैदेशिक लगानी अझ प्रभावकारी रूपमा भित्र्याउन सकिन्छ ।’ कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजका बोर्ड सदस्य अलोबैदलीले नेपालमा लगानी वातावरण, कानुनी संरचना र निजी क्षेत्रको भूमिकाबारे जानकारी लिएको बताउँदै कतारी लगानीकर्ता सम्भावित परियोजना पहिचान गरी सहकार्य अगाडि बढाउने इच्छुक रहेको धारणा राखे ।  उनले भने, ‘कतारी व्यवसायी नेपालमा दीर्घकालीन लगानी गर्न इच्छुक छन् । आपसी विश्वास र नीतिगत स्पष्टता कायम राख्दै जिटु जी तथा बिटुबी सहकार्यलाई अगाडि बढाउन सकिन्छ ।’ प्रतिनिधिमण्डलले सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसँग पनि भेट गरेको छ भने मंगलबार अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलसँग भेट गर्ने कार्यक्रम छ । कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिको एक प्रतिनिधिमण्डल नेपाल उद्योग वाणिज्य महासङ्घ र कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिबीच गठन गरिएको संयुक्त व्यवसाय परिषद् (जेबिसी) सम्बन्धी छलफलका लागि आइतबार काठमाडौं आइपुगेको हो । प्रतिनिधिमण्डलले संयुक्त व्यवसाय परिषद् नेपाल र कतारका निजी क्षेत्रबीच संवाद, व्यावसायिक सहकार्य तथा प्रत्यक्ष संलग्नता प्रवर्द्धन गर्ने संरक्षित मञ्चका रूपमा स्थापना गरिएको संस्था हो । जेबिसीको बैठक यही माघ २६ र २७ गते (फेब्रुअरी ९ र १० तारिख) काठमाडौंमा बस्नेछ ।

४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो, १० हजार ७५९ बाकस प्याकिङ

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ । मतपत्र जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा छपाइको काम भइरहेको छ ।  सोमबारसम्म कूल १ करोड २२ लाख ५६ हजार मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । आयोगका अनुसार हालसम्म डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथरको मतपत्र छपाइ सम्पन्न भएको छ । यस्तै इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्ता पश्चिम (नवलपरासी), मोरङ, उदयपुर, मुस्ताङको पनि मतपत्र छपाइ सम्पन्न भइसकेको छ ।  लमजुङ, तनहुँ, स्याङ्जा र बर्दिया गरी ४४ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको छ । मतपत्र छपाइ सम्पन्न भएका विभिन्न जिल्लाको मतपत्र ‘प्याकिङ’ पनि भइसकेको उनले बताए । हालसम्म १० हजार ७५९ बाकस मतपत्र प्याकिङ भइसकेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा समानुपातिक निर्वाचन प्रणाली तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनका लागि गत पुस २२ गतेदेखि मतपत्र छपाइ सुरु भएको हो । पहिलो चरणमा १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ सम्पन्न गरी विभिन्न जिल्लामा पठाइ सकिएको आयोगले जनाएको छ । गत पुस २६ गतेदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरी माघ १३ गते २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ तथा रुजुसमेत गरी ढुवानीका लागि तयारी अवस्थामा राखिएको आयोगले जनाएको छ । प्रत्यक्षतर्फको निर्वाचनका लागि २ करोड ३ लाख २३ हजार मतपत्र छाप्नुपर्ने आयोगले जनाएको छ । माघ १६ गते बिहानदेखि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु भएको हो । 

पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने

काठमाडौं । हाल नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव रहेको छ । हाल तराई भू-भाग तथा उपत्यकाहरूमा तुवाँलो लागेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू-भागका केही स्थानमा मध्यान्हसम्म कुहिरो लाग्नेछ । देशका उच्च पहाडी र हिमाली भू-भागमा  साधारणतया बादल लाग्नेछ र बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र तराई भू-भागमा मुख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति तराई भू-भागका केही स्थानमा तुवाँलो रहनेछ । देशको उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागको मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । तराई भू-भागका केही स्थानमा मध्यान्हसम्म कुहिरोको सम्भावना रहेको तथा तत्काल वर्षा हुने सम्भावना नरहेकाले तराई भू-भाग र उपत्यकामा वायु प्रदूषण पनि रहिरहने भएकाले प्रदूषणबाट सुरक्षित रहन सर्वसाधारण तथा सबै सरोकारवाला निकायलाई महाशाखाले अनुरोध गरेको छ । 

खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै

काठमाडौं । बजारमा खानेतेल, खाना पकाउने ग्यासलगायत सामग्रीको कृत्रिम अभाव देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानीका विभिन्न स्थानमा स्थलगत अनुमगन तथा निरीक्षणलाई तीव्रता दिएको छ । विभागले उपभोक्तालाई अतिआवश्यक तथा दैनिक उपभोग्य वस्तुका उत्पादक, विक्रेता, पैठारीकर्ता, सञ्चयकर्ता र सेवाप्रदायक फर्म एवं प्रतिष्ठानमा निरन्तर रुपमा अन्य सक्षम निकायको सहयोग लिइ संयुक्त बजार अनुमगन अगाडि बढाइएको उल्लेख गरेको छ । सहज रूपमा उपभोक्तालाई राहत दिन, उपभोग्य वस्तुको कृत्रिम अभाव गराउनेलाई कारबाहीको दायरामा ल्याउन विभागले प्रभावकारी रुपमा अनुमगन गरिरहेको उल्लेख गरेको छ । पछिल्ला दिनमा विशेष गरी खाना पकाउने ग्यासको अभाव देखाएर उपभोक्तालाई दुःख दिने काम भइरहको छ । कानुनविपरीतका काम गर्नेलाई विभागले कारबाहीको दायरामा ल्याइएको उल्लेख गरेको छ । विभागले प्रचलित कानुनविपरीतका कुनै पनि क्रियाकलाप भएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही हुने स्मरण गराएको छ ।  उपत्यकाका कीर्तिपुर, कलंकी, नयाँ बसपार्क, बालाजु, कोटेश्वरलगायत मुख्य क्षेत्रमा ४ वटा विशेष टोली परिचालन गरिएको छ ।  विभागका अनुसार अनुगमन क्रममा अनावश्यक भण्डारण गरेको वा ग्यास लुकाएको पाइए ३ लाख रुपैयाँसम्म जरिवानासहित कडा कानुनी कारबाही गरिनेछ । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको सहज आपूर्ति भएको दाबी गरिरहेको भए पनि उपभोक्ताले सहज रूपमा पाउन नसकेको गुनासो गरेका छन् । अत्यधिक गुनासो बढेपछि विभागले आवश्यक सक्रियता देखाएको हो । यस्तै, नेपाल आयल निगमले सोमबार विज्ञप्ति जारी गर्दै तत्काल आवश्यक मात्रै ग्यासको खरिद गर्न तथा अनावश्यक सञ्जिती नगर्न आग्रह गरेको छ । आसन्न आमनिर्वाचनलाई मध्यनजर गर्दै ग्यासको बढीभन्दा बढी आयात गर्न फ्रेबुअरी महिनाको निर्धारित कोटामा दुई हजार मेट्रिक टन थप गरिएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।  हाल दैनिक औसत ११० बुलेट ग्यास नियमित रूपमा आयात भइरहेको उनले बताए । काठमाडौं उपत्यकामा बजारीकरण गर्ने करिब २३ मध्ये केही ग्यास उद्योगले दैनिक करिब ४० हजार सिलिण्डर बजारमा उपलब्ध गराइरहेका निगमले जनाएको छ ।  

देशकै पहिलो बलम्बु ‘फ्लाइओभर’ तयार (फोटो फिचर)

काठमाडौं । नेपालको सडक सञ्जालमा बहुप्रतीक्षित नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आयोजना अन्तर्गत बलम्बुस्थित ‘फ्लाइओभर’ को निर्माण सम्पन्न भएको छ । मुलुककै पहिलो आधुनिक फ्लाइओभरका रूपमा रहेको यस संरचनाले काठमाडौंको प्रवेशद्वारमा हुने ट्राफिक जामको समस्यालाई सदाका लागि अन्त्य गर्ने विश्वास गरिएको छ । आयोजनाका अनुसार फ्लाइओभरको कालोपत्रे गर्ने काम सकिएसँगै सडक बत्ती, ट्राफिक लाइट, सडक चिह्न र डिभाइडर राख्ने जस्ता सबै फिनिसिङका कामहरू सम्पन्न भइसकेका छन् । अहिले यो फ्लाइओभर सञ्चालनका लागि पूर्ण रूपमा तयारीअवस्थामा रहेको छ । १८० मिटर लम्बाइ र ७ मिटर चौडाइ रहेको यस फ्लाइओभरले त्रिभुवन राजमार्गलाई सुरुङमार्गसँग सिधा जोड्नेछ । यसले गर्दा काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधनहरू कुनै अवरोध बिना सुचारु रूपमा गुड्न पाउनेछन् । नागढुङ्गाको घुमाउरो र जोखिमपूर्ण सडकको विकल्पका रूपमा तयार भइरहेको सुरुङमार्ग आयोजनाको यो एउटा महत्वपूर्ण हिस्सा हो । फ्लाइओभर सञ्चालनमा आएपछि थानकोट-बलम्बु क्षेत्रमा हुने सवारी चाप उल्लेख्य रूपमा घट्ने र इन्धन तथा समयको समेत ठुलो बचत हुने अपेक्षा गरिएको छ ।