चक्रपथ विस्तारको दोस्रो खण्डमा भएको ढिलाइ कुटनीतिक प्रोटोकलको विषय हो : सचिव शर्मा
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले देशको पूर्वाधार विकास, ठेक्का व्यवस्थापन र वैदेशिक सहयोगमा सञ्चालित आयोजनाहरूमा देखिएका अन्यौलताबारे स्पष्ट पारेका छन् ।नेपाल उद्योग परिसंघले सोमबार (आज) आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सचिव शर्माले तीनकुने पुलको ढिलाइदेखि चक्रपथ (रिङरोड) विस्तारमा देखिएका कुटनीतिक जटिलतासम्मका विषयमा चर्चा गरे । सचिव शर्माका अनुसार हाल सडक विभाग र मन्त्रालयअन्तर्गत करिब ३ हजार २०० वटा ठेक्का सञ्चालनमा छन् । तीमध्ये करिब ३०० वटा ठेक्का समस्याग्रस्त देखिएका छन् । ‘हामीले ती समस्याग्रस्त ठेक्काहरूको समय-समयमा मूल्याङ्कन गरिरहेका छौं,’ सचिव शर्माले भने, ‘यस वर्ष ४२ वटा ठेक्का तोडिएका छन् । यो एक नियमित प्रक्रिया हो, अघिल्लो वर्ष ७९ वटा ठेक्का तोडिएका थिए ।’ कतिपय अवस्थामा सरकारी डिजाइनमा समस्या, मुआब्जा विवाद र रुख कटानजस्ता कारणले पनि ठेक्का ढिलाइ हुने गरेको उनले बताए । तीनकुनेको निर्माणाधीन पुलको काम रोकिएको विषयमा सचिव ढकालले पुरानो ठेक्का तोडेर नयाँ प्रक्रिया सुरु भइसकेको जानकारी दिए । ‘ठेक्का तोड्नु दुखद र झन्झटिलो प्रक्रिया हो । यो अदालत र क्लेममा जाने हुनाले सेटलमेन्ट नभई अर्को ठेकेदार ल्याउन मिल्दैन,’ उनले भने, ‘कष्ट बढ्ने र प्राविधिक जोखिम हुने डरले गर्दा पनि ठेक्का तोड्न केही समय कुर्नुपर्ने बाध्यता हुन्छ।’ चिनियाँ सहयोगमा बन्ने भनिएको चक्रपथ विस्तारको दोस्रो खण्डमा भएको ढिलाइबारे बोल्दै सचिव शर्माले यसलाई कुटनीतिक प्रोटोकलको विषय भएको बताए । उनले वैदेशिक सहयोगका आयोजनामा एक देशले बनाएको संरचना अर्को देश वा नेपाल आफैले चलाउँदा पनि समन्वयको आवश्यकता पर्ने उल्लेख गरे । ‘कुनै देशले सहयोगमा बनाइदिएको चिज सोध्दै नसोधी उखेल्दा कुटनीतिक असन्तुष्टि आउन सक्छ,’ उनले भने, ‘त्यसैले केही समय कुर्नुपरेको हो । तर, उनीहरूले नगर्ने सेक्सनमा हामीले आफै काम सुरु गरिसकेका छौं ।’ नेपालमा उत्पादित बिजुली खपत बढाउन औद्योगिकीकरण नै मुख्य उपाय भएको सचिव शर्माको तर्क छ । ट्रान्सपोर्ट सेक्टरमा विद्युतीय सवारीसाधन (ईभी)लाई सरकारले प्रोत्साहन गरिरहेको र पूर्व-पश्चिम राजमार्गमा बन्ने रेलमार्ग पनि विद्युतीय नै हुने उनले स्पष्ट पारे । ‘इभीले मात्र ठुलो मात्रामा बिजुली खपत गर्न सक्दैन, त्यसका लागि हामीले विद्युतीय रेलमा जानैपर्छ,’ उनले थपे । बजेट विनियोजनमा राजनीतिक नेताहरूको हालीमुहाली हुने गरेको भन्ने प्रश्नमा सचिव शर्माले बजेट एक राजनीतिक दस्तावेज पनि भएको स्वीकार गरे । उनले भने, ‘राजनीतिक नेतृत्व जनताबाट चुनिएर आएको हुन्छ, उनीहरूको भिजन हुनु स्वभाविक हो । तर, कर्मचारीतन्त्रले पनि विज्ञताका आधारमा आफ्ना अडानहरू राख्ने गरेको छ । बजेट निर्माणमा विज्ञको भ्यु र राजनीतिक भिजनको राम्रो सम्मिश्रण हुनुपर्छ ।’ उनले आयोजना छनोट गर्दा अबदेखि आर्थिक लाभ मात्र नहेरी त्यसले पुर्याउने सामाजिक प्रभाव (स्वास्थ्य, शिक्षा र उत्पादकत्व) लाई पनि आधार मान्न थालिएको बताए ।
जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद पुनः २५ दिन थप गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले जेनजी आन्दोलनको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद पुनः २५ दिन थप गर्ने भएको छ । सोमवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले तेस्रो पटक सो आयोगको म्याद थप गर्ने निर्णय गरेको हो । सो आयोगको दोस्रो पटक थप गरिएको म्याद माघ २८ गते बुधवार सकिँदैछ । सो आयोगको म्याद पुनः थप गर्ने निर्णय गरिएको नेपाल सरकारका प्रवक्तासमेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । उनले भने, ‘नेपाल सरकार मन्त्रिपरिषदको २०८२ असोज ५ गतेको निर्णय अनुसार भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेश गर्न गठित जाँचबुझ आयोगको समय अवधि २५ दिन थप गर्ने निर्णय गरियो ।’ सरकारले गत असोज ५ गते जेनजी आन्दोलनको क्रममा भएको भौतिक तथा मानवीय क्षतिको घटनाको छानविन गर्न विशेष अदालतका पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा ३ सदस्यीय आयोग गठन गरेको थियो । ३ महिनाको कार्यादेशसहित गठित सो आयोगले आफ्नो काम पूरा गर्न नसकेपछि पुस ८ गते बसेको मन्त्रिपरिषद बैठकले एक महिनाको लागि आयोगको म्याद थप गरेको थियो । आयोगले आफ्नो काम पूरा गर्न नसकेपछि माघ ८ गते बसेको मन्त्रिपरिषद बैठकले पुन २० दिन आयोगको म्याद थप गरेको थियो । तर दोस्रो पटक थपिएको समयावधि भित्र पनि आयोगले आफ्नो प्रतिवेदन बुझाउन नसकेपछि पुन तेस्रो पटक २५ दिन सरकारले म्याद थप गरेको हो । त्यस्तै, मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको छ । संवैधानिक व्यवस्थाअनुसार सरकारले हरेक वर्षको आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुपर्ने हुन्छ । त्यसैगरी, बैठकले राष्ट्रिय आर्थिक गणना २०८२ को तथ्यांक संकलन गर्ने आदेश पनि स्वीकृत गरेको छ ।
नेपालमा साना गाडीको कथा बदल्ने ह्युन्डाई स्यान्ट्रो
काठमाडौं । नेपाली साना गाडीको बजारमा नयाँ पहिचान स्थापित गर्न सफल ह्युन्डाई स्यान्ट्रोले २५ वर्षे यात्रा पूरा गरेको छ । सन् १९९९ मा ह्युन्डाई इन्डियाले पहिलो मोडेलका रूपमा सार्वजनिक गरेको स्यान्ट्रो नेपालमा प्रवेश गर्दा साना गाडीको बजारमा जापानी ब्रान्डहरूको प्रभुत्व रहेको थियो । स्यान्ट्रो नेपालमा प्रवेश गरेसँगै भारतमा उत्पादन भएका गाडीप्रतिको विश्वास विस्तारै विकास हुँदै थियो । दैनिक प्रयोगलाई ध्यानमा राखी डिजाइन गरिएको आरामदायी स्यान्ट्रो सुरुदेखि नै फरक पहिचान बनाउन सफल भयो । नेपाल ह्युन्डाई स्यान्ट्रोको पहिलो निर्यात बजार बनेसँगै यो मोडेल ह्युन्डाई र नेपाल दुवैका लागि गर्वको विषय बनेको थियो । स्यान्ट्रोले नेपाली ग्राहकहरूको ह्याचब्याकप्रतिको धारणा परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेलेको छ । सानो गाडी पनि भरपर्दो, आकर्षक, मर्मतमा सजिलो तथा नेपाली सडक र पारिवारिक आवश्यकताअनुसार उपयुक्त हुन सक्छ भन्ने सन्देश स्यान्ट्रोले दिएको थियो । समयसँगै स्यान्ट्रो केवल एउटा सवारीसाधन मात्र नभई नेपाली परिवारहरूको विश्वासिलो साथीका रूपमा स्थापित भयो । स्यान्ट्रोबाट सुरु भएको यही भरोसाको आधारमा ह्युन्डाईले नेपालमा आफ्नो बजार विस्तार गर्दै आएको छ । आज स्यान्ट्रोको २५ वर्ष पूरा भएको अवसरमा ह्युन्डाईले एक प्रतिष्ठित मोडेल मात्र होइन, त्यसबाट सुरु भएको विश्वासको विरासतलाई समेत सम्मान गरिरहेको जनाएको छ । यस विशेष अवसरमा ह्युन्डाई इन्डिया र ह्युन्डाई नेपालको सहकार्यमा सन् २००० मोडेल वर्षका ह्युन्डाई स्यान्ट्रो प्रयोगकर्ताहरूलाई ह्युन्डाई नेपालसँग सम्पर्क गर्न अनुरोध गरिएको छ । छनोटमा परेका ग्राहकहरूले ह्युन्डाईद्वारा तयार गरिएको विशेष सरप्राइजको अनुभव गर्ने अवसर पाउने कम्पनीले जनाएको छ ।
पर्यटन प्रवर्द्धन गर्न नेपाल राइडर्स मिट हुँदै, ५५० भन्दा बढी राइडर सहभागी हुने
काठमाडौं । नेपालको साहसिक तथा अनुभवमा आधारित पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ललितपुरमा आठौँ नेपाल राइडर्स मिट आयोजना हुने भएको छ । आगामी फागुन २ देखि ४ गतेसम्म ललितपुरको गोदावरी नगरपालिका–२ स्थित चापाखर्कमा कार्यक्रम सञ्चालन हुने आयोजकले जानकारी दिएका छन् । नेपाल पर्यटन बोर्डको सभाहलमा सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत द हिमालयन मोटरसाइकल एक्सपेरियन्सका संयोजक अर्जुन थापाले नेपाल राइडर्स मिटबारे जानकारी गराएका हुन् । उनका अनुसार कार्यक्रममा नेपालसहित भारत, भुटान र म्यानमारलगायत मुलुकबाट ५५० भन्दा बढी राइडर सहभागी हुनेछन् । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले मोटरसाइकल राइडिङ नेपालको पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण माध्यम हुने बताए । उनले यस्ता कार्यक्रमले परम्परागत पदयात्रा र पर्वतारोहणभन्दा बाहिरका पर्यटन उत्पादनलाई प्रवर्द्धन गर्दै रोड ट्रिप, साहसिक पर्यटन तथा सीमापार पर्यटन विस्तारमा सहयोग पुग्ने उल्लेख गरे । थपलियाले भने, 'नेपाल राइडर्स मिटले साहसिक र अनुभवमा आधारित पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान गर्नेछ । भारतमा बढ्दो बाइक राइडिङ संस्कृतिलाई लक्षित गरी नेपालमा राइडर भित्र्याउन सके पर्यटक आगमनमा उल्लेखनीय वृद्धि हुनेछ । यसले नेपालको संस्कृति र प्रकृतिसँग नजिकबाट साक्षात्कार गर्ने अवसर पनि प्रदान गर्छ ।' त्यसैगरी आयोजक संस्था फोरे नेपालका सकिल गौचन, सहयोगी संस्था रोयल इन्फिल्डका निर्देशक मेगराज पौडेल तथा द हिमालयन क्लबका प्रमुख अनिल काफ्लेले नेपाल राइडर्स मिट राइडिङ समुदायको महत्वपूर्ण पर्व भएको बताउँदै बाइक राइडिङलाई पर्यटन प्रवर्द्धनको प्रमुख उत्पादनका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । उनीहरूले यस कार्यक्रमले राइडरबीच भाइचारा विकास गर्नुका साथै नेपालको संस्कृति र पहिचान प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । सन् २०१३ मा बर्दियाबाट सुरु भएको नेपाल राइडर्स मिट सुरुआतमा सीमित सहभागिताबाट सुरु भएको भए पनि हाल ५०० भन्दा बढी राइडर सहभागी हुने स्तरमा विस्तार भएको छ । यस कार्यक्रममार्फत नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, रमणीय राजमार्ग तथा आतिथ्य संस्कृतिको प्रचार–प्रसार गर्ने लक्ष्य लिइएको आयोजकले जनाएको छ । यसअघि बर्दिया, चितवन, मनाङलगायत विभिन्न स्थानमा आयोजना भइसकेको नेपाल राइडर्स मिटले डिजिटल प्लेटफर्म, राइडर नेटवर्क तथा सञ्चारमाध्यममार्फत नेपाली पर्यटन गन्तव्यहरूको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
राष्ट्रिय वाणिज्य बैंकबाट बाहिरिए डीसीईओ लोहनी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) देवेश प्रसाद लोहनीले बैंकबाट अनिवार्य अवकाशमा पाएका छन् । ३० वर्ष सेवा पूरा गरी गत शनिबार अनिवार्य अवकाश पाएको लोहोनीले जानकारी दिए । लोहनीले अवकाशपछि केही समय आराम गर्ने र भविष्यमा उपयुक्त अवसर आएमा त्यसबारे निर्णय गरेर अघि बढ्ने बताए । आवश्यकता र अनुकूलताका आधारमा आगामी योजना तय गर्ने उनको भनाइ छ । विसं २०५१ मंसिर १ गते राष्ट्रिय वाणिज्य बैंकमा कम्प्युटर प्रोग्रामर (तह-७) को रूपमा बैंकिङ सेवामा प्रवेश गरेका लोहनीले व्यवस्थापन तथा भौतिक विज्ञानमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् । साथै उनीसँग सूचना प्रविधि क्षेत्रमा विभिन्न अन्तर्राष्ट्रिय तालिम तथा कोर्सहरू पनि लिएको अनुभव छ । लोहनीले बैंक सेवाकालमा बीचमा असाधारण बिदा (सेवा अवधिमा गणना नहुने बिदा) लिएका कारण सेवा अवधि केही समय लम्बिएको स्पष्ट पारे ।
वैदेशिक रोजगारी र अध्ययनका नाममा ६८ लाख ठगी गर्ने सिलवाल पक्राउ
काठमाडौं । वैदेशिक रोजगारी तथा अध्ययनका लागि विदेश पठाइदिने भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने एक कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन् । गत मंगलबार प्रहरीले ३२ वर्षीय बद्री सिलवाललाई विभिन्न व्यक्तिबाट करिब ६८ लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरेको हो । उनी चितवनको राप्ती नगरपालिका–२ का बासिन्दा हुन् । प्रहरीका अनुसार सिलवालले ह्याप्पी एजुकेशन कन्सल्टेन्सीको खातामार्फत दुई जना विद्यार्थीबाट २१ लाख ७० हजार रुपैयाँ ठगी गरेको उजुरी परेको थियो । साथै, नाम परिवर्तन गरी अन्य विद्यार्थीहरूबाट समेत १२ लाख ४० हजार रुपैयाँ असुल गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए । त्यसैगरी, चितवनमा ह्याप्पी एजुकेशन कन्सल्टेन्सी सञ्चालन गर्दै चार जनालाई सर्बियामा कामदार भिसामा पठाइदिने प्रलोभन देखाई २१ लाख ९० हजार ५ सय रुपैयाँ ठगी गरेको पनि अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
जापानी चुनाव परिणामको प्रभाव, सेयर बजारमा उछाल
जापान । जापानी प्रधानमन्त्री साने ताकाइचीको सत्तारूढ दलले संसदीय चुनावमा दुई तिहाई बहुमत हासिल गरेपछि विश्व सेयर बजारहरू उकालो लागेका छन् र टोकियोको निक्केई २२५ सूचकाङ्क सोमबार करिब पाँच प्रतिशतले बढ्दै ऐतिहासिक स्तरमा पुगेको छ । युरोपको प्रारम्भिक कारोबारमा जर्मनीको डिएएक्स ०.६ प्रतिशतले बढेर २४,८६४.५९ मा पुगेको छ भने फ्रान्सको सीएसी ४० ०.२ प्रतिशतले बढेर ८,२८८.०६ मा पुगेको छ । बेलायतको एफटीएसई १०० पनि ०.३ प्रतिशतले बढेर १०,३९९.६१ मा पुगेको छ । अमेरिकी सेयर बजारले शुक्रबार बलियो पुनरागमन गरेपछि सोमबारका लागि अमेरिकी फ्युचर्स पनि माथि देखिएका छन् । एस एन्ड पी ५०० का फ्युचर्स ०.१ प्रतिशतले बढेका छन् भने डाउ जोन्स औद्योगिक औसतका फ्युचर्स ०।२ प्रतिशतले उकालो लागेका छन् । शुक्रबार एस एन्ड पी ५०० करिब दुई प्रतिशतले बढ्दै मेयता सबैभन्दा राम्रो दिन देखिएको थियो । डाउ २.५ प्रतिशतले बढेर पहिलो पटक ५०,००० को मनोवैज्ञानिक स्तर पार गरेको थियो भने नास्डाक कम्पोजिट २.२ प्रतिशतले उकालो लागेको थियो । टोकियोमा निक्केई २२५ ३.९ प्रतिशतले बढेर बन्द भएको छ र यसअघि सूचकाङ्कले ५७,३३७.०७ को नयाँ इन्ट्राडे रेकर्ड पनि बनाएको थियो । अमेरिकी डलर जापानी येनको तुलनामा केही कमजोर हुँदै १५६.७१ येनमा कारोबार भएको छ । चुनावी जितले प्रधानमन्त्री ताकाइचीलाई बजारमैत्री नीतिहरू अघि बढाउन बलियो जनादेश दिएको विश्लेषकहरूले बताएका छन् । जापानी सार्वजनिक प्रसारक एनएचकेको मतगणनाको नतिजाअनुसार लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले तल्लो सदनका ४६५ सिटमध्ये ३१६ सिट जितेको छ । यो सन् १९५५ मा पार्टी स्थापना भएयताकै सबैभन्दा ठूलो सफलता हो । एस्ट्रिस एडभाइजरी जापानका प्रबन्ध निर्देशक नील न्युम्यानले कमजोर सरकारबाट बलियो बहुमतको सरकार बनेकाले अब नीतिगत निर्णय अघि बढाउन सजिलो भएको बताउनुभयो । तल्लो सदन फेब्रुअरीको मध्यतिर पुनः बस्ने भएपछि बढ्दो जीवनयापन लागत र सुस्त ज्याला सम्बोधन गर्न बजेटसम्बन्धी काम पहिलो प्राथमिकतामा पर्ने अपेक्षा गरिएको छ । एसपीआई एसेट म्यानेजमेन्टका स्टिफन इन्सले चुनावी नतिजाले राजनीतिक अनिश्चितता हटाएकाले बजारले सहज प्रतिक्रिया दिएको टिप्पणी गरे । एसियाका अन्य बजारहरू पनि मजबुत देखिएका छन् । दक्षिण कोरियाको कोस्पी ४.१ प्रतिशतले बढेर ५,२९८.०४ मा पुगेको छ । हङकङको ह्याङ सेङ १.८ प्रतिशतले उकालो लागेर २७,०२७.१६ मा पुगेको छ भने साङ्घाई कम्पोजिट १.४ प्रतिशतले बढेर ४,१२३.०९ मा पुगेको छ । ताइवानको टाइक्स दुई प्रतिशतले बढेको छ र अस्ट्रेलियाको एस एन्ड पी/एएसएक्स २०० १.९ प्रतिशतले उकालो लागेर ८,८७०.१० मा पुगेको छ । वाल स्ट्रिटको पछिल्लो र्यालीमा चिप उत्पादक कम्पनीहरूको ठूलो योगदान देखिएको छ । एनभिडिया ७.८ प्रतिशतले बढेको छ भने ब्रोडकम ७.१ प्रतिशतले उकालो लागेको छ । यद्यपि, ठूला प्रविधि कम्पनीहरूको खर्च र एआई प्रविधिबाट सफ्टवेयर कम्पनीहरू प्रभावित हुनसक्ने चिन्ताले एस एन्ड पी ५०० अझै केही हप्ताको आधारमा दबाबमै रहेको विश्लेषण गरिएको छ । अन्य कारोबारमा बिटक्वाइन एक प्रतिशतले बढेर ७०,००० डलरभन्दा तल कारोबार भएको छ । धातु बजार केही शान्त देखिँदा सुन १.४ प्रतिशतले बढेर ५,०४८.९० डलर प्रतिऔंस पुगेको छ भने चाँदी ६.२ प्रतिशतले उकालो लागेर ८१.६४ डलर पुगेको छ । तेल बजारमा भने मूल्य घटेको छ । अमेरिकी कच्चा तेल ६० सेन्टले घटेर ६२.९५ डलर प्रतिब्यारेलमा झरेको छ भने ब्रेन्ट क्रुड पनि ६० सेन्टले घटेर ६७.४५ डलर प्रतिव्यारेलमा पुगेको छ । युरो डलरको तुलनामा बलियो हुँदै १.१८६६ डलरमा कारोबार भएको छ । रासस
कजारियाको लमजुङको बेसीसहरमा नयाँ शोरूम उद्घाटन
काठमाडौं । कजारियाले लमजुङको बेसीसहरमा नयाँ एक्सक्लुसिभ शोरूम सञ्चालनमा ल्याएको छ । न्यु आलम मार्बल एण्ड टायल्सद्वारा सञ्चालित यस शोरूमले लमजुङ तथा आसपासका क्षेत्रमा बढ्दो टायल मागलाई सम्बोधन गर्ने लक्ष्य लिएको छ । शोरूमको औपचारिक उद्घाटन २५ माघ आयोजित समारोहका बीच सम्पन्न भएको थियो । कार्यक्रममा उद्योग क्षेत्रका प्रतिनिधि, व्यवसायिक साझेदार तथा स्थानीय ग्राहकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कजारियाका कन्ट्री म्यानेजर अभ्याश तिवारीले शोरूमको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै तिवारीले कजारिया उच्च गुणस्तरीय उत्पादन, आधुनिक डिजाइन र भरपर्दो समाधान प्रदान गर्न प्रतिबद्ध रहेको बताए । उनले बेसीसहरमा नयाँ शोरूम सञ्चालन हुनु लमजुङ तथा आसपासका ग्राहकसम्म विश्वस्तरीय टायल संग्रह पुर्याउने महत्वपूर्ण कदम भएको उल्लेख गरे । साथै, न्यु आलम मार्बल एण्ड टायल्ससँगको साझेदारीप्रति खुशी व्यक्त गरे । नयाँ शोरूममा कजारियाका प्रिमियम टायलहरूको विस्तृत र आकर्षक संग्रह प्रदर्शनीका लागि राखिएको छ । यसले घरधनी, वास्तुकार, निर्माण व्यवसायी तथा ठेकेदारहरूलाई टिकाउ, स्टाइलिश र उच्च कार्यक्षमता भएका टायल समाधान उपलब्ध गराउने अपेक्षा गरिएको छ । न्यु आलम मार्बल एण्ड टायल्ससँगको सहकार्यमार्फत कजारियाले विस्तार यात्रा निरन्तरता दिँदै स्थानीय व्यवसाय प्रवर्द्धन तथा ग्राहक सेवामा योगदान पुर्याउँदै आएको छ । कजारिया रमेश टायल्स लिमिटेडले नेपालमै स्थापना गरेको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योगमार्फत टायल क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरिसकेको छ । अत्याधुनिक प्रविधियुक्त यस उद्योगबाट अन्तर्राष्ट्रिय स्तरका गुणस्तरीय उत्पादन तयार हुँदै आएका छन् । कम्पनीले हाल ३ हजारभन्दा बढी डिजाइन विकल्प उपलब्ध गराउँदै आएको छ ।