विकासन्युज

विमानस्थलमा नेपाल टेलिकमको फ्री वाइफाइ सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थलमा सर्वसाधारण यात्रु लक्षित फ्रीवाइफाइ इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । उक्त सेवाको शुभारम्भ कार्तिक ११ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको हो । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक सविना मास्के र विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले संयुक्त रूपमा अन्तर्राष्ट्रिय टर्मिनल भवनमा फ्री वाइफाइ सेवाको उद्घाटन गरेका थिए । पहिलो चरणमा सेवा आगमन, प्रस्थान, भीआइपी कक्ष तथा प्रतिक्षा क्षेत्र लगायत विमानस्थलका प्रमुख स्थानहरूमा उपलब्ध गराइएको छ । नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच भएको सम्झौता अनुसार देशभर सञ्चालनमा रहेका ३ वटा अन्तर्राष्ट्रिय र ३४ वटा आन्तरिक विमानस्थलहरूमा क्रमशः यो सेवा विस्तार गरिँदै जानेछ । यात्रुले वाइफाइ कभरेज रहेको स्थानमा गएर 'NTC_Free_WiFi' नामको नेटवर्क रोजी आवश्यक निर्देशन पूरा गरेपछि निशुल्क इन्टरनेट सेवा प्रयोग गर्न सक्नेछन् । नेपाल टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरका अनुसार यात्रुको सहजता र डिजिटल पहुँच विस्तारका लागि टेलिकमले यो सेवा सामाजिक उत्तरदायित्वका रूपमा सञ्चालनमा ल्याएको हो ।

सरकारले माघ ११ लाई गर्‍यो राष्ट्रिय सभा सदस्यको निर्वाचन मिति घोषणा

काठमाडौं । सरकारले राष्ट्रिय सभा सदस्यको निर्वाचन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदिश खरेलका अनुसार आगामी माघ ११ गते आइतबारका लागी निर्वाचन मिति तोक्ने निर्णय गरेको छ । राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागी प्रदेशसभाका सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहन्छन् । छ वर्ष पहिलेको चुनावबाट निर्वाचित १९ सदस्यको कार्यकाल आगामी फागुन २१ बाट सकिनेछ । राष्ट्रिय सभामा प्रत्येक २ वर्षमा एक तिहाई सदस्यको कार्यकाल सकिन्छ । ति मध्ये १९ जनाको कार्यकाल फागुन २१ मा सकिँदैछ । कार्यकाल सकिन लागेका मध्ये एक जना वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सांसद हुन् । बाँकी १८ पदका लागि फागुन २१ मा निर्वाचन हुनेछ ।

सेयर घट्दा पनि बढ्यो कारोबार, २ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । बुधबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५ अंकले घटेर २५६६ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ८५ कम्पनीको सेयर मूल्य बढ्दा १५९ कम्पनीको मूल्य घटेको छ । ६ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ४ अर्ब ५७ करोडको कारोबार भएको थियो । बुधबार ३२१ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४५ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार युनियन हाइड्रोको भएको छ । युनियनको २३ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, एनआरएन इन्फ्राइस्ट्रक्चरको २३ करोड ३१ लाख, बुटवल पावरको २२ करोड ७२ लाख, राधी विद्युतको २२ करोड ३० लाख र हिमालयन रिइन्स्योरेन्सको १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज २ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । खानीखोला हाइड्रोको १० प्रतिशत र उपकार लघुवित्तको ९.९८ प्रतिशतले सेयर मूल्य बढेको छ । होटल तथा पर्यटन समूह २.१५, व्यापार २.०० तथा हाइड्रोपावर ०.०१ प्रतिशतले बढेको छ । अन्य समूह १.२० प्रतिशत घटेको छ । त्यस्तै बैंकिङ ०.३४, विकास बैंक ०.९१, फाइनान्स ०.७७, लगानी ०.१७, जीवन बीमा ०.६४, उत्पादन तथा प्रशोधन ०.२८ तथा निर्जीवन बीमा ०.१९ प्रतिशत घटेका छन् ।

केवाइसीको नक्कली भर्सन ‘नियोसिया’ इलेक्ट्रिक भ्यान आयात र बिक्री गर्न अदालतले रोक्यो

काठमाडौं । उच्च अदालत पाटनले ‘नियोसिया’ ब्रान्डका विद्युतीय प्यासेन्जर भ्यान आयात र बिक्री नगर्न आदेश दिएको छ । 'नियोसिया ब्रान्डका सवारी साधन आयात नगर्नु र यदि पहिले नै आयात भइसकेका छन् भने बिक्री वितरण समेत नगर्नु,' अदालतले मंगलबार दिएको आदेशमा भनिएको छ । यो निर्णयसँगै, अदालतको अघिल्लो आदेश उल्लङ्घन गरी नयाँ नाममा गाडी आयात गर्ने गतिविधि कानुनी संकटमा परेको छ । गत २०८२ साउन १५ गते पाटन उच्च अदालतले सीजी मोटर्स बाहेक अन्य कुनै कम्पनीले केवाइसी  गाडी आयात नगर्न आदेश दिएको थियो । तर उक्त आदेशलाई बेवास्ता गर्दै केवाइसी गाडीको नाम फेरेर ‘नियोसियारस्टार भी ईभी’ ब्रान्डमा सोही गाडी पुनः आयात गरिएको थियो । अदालतको आदेश छलेर गरिएको यो कदमले व्यवसायिक जगतमा ठूलो विवाद खडा गरेको थियो । यो विवादमा ‘इलेक्ट्रिक ड्रीम्स मोबिलिटी प्रालि’ नामक कम्पनी र त्यसकै सञ्चालकहरूद्वारा नयाँ कम्पनी ‘एम्बर मोटर्स प्रालि’ खडा गरी गाडी आयात गरिएको खुलासा भएको थियो । अचम्मको कुरा के भने, दुवै कम्पनीका प्रमुख व्यक्ति उही समूहका रहेका छन्, जसले अदालतको आदेशलाई बेवास्ता गर्दै उही मोडेलका गाडी नयाँ नाममा भित्र्याउने प्रयास गरेका थिए । भन्सार विभागका कर्मचारीहरूले समेत यस विषयमा बेवास्ता गरेको आरोप लाग्दै आएको थियो । यसरी कानुनी आदेशको उल्लङ्घन गरी गरिएको आयातले गाडी खरिदकर्ताहरू भविष्यमा समस्या र कानुनी जोखिममा पर्ने समेत अवस्था देखिएको थियो ।  केवाइसी ब्रान्डका गाडी नेपालमा सीजी मोटर्सले आधिकारिक रूपमा आयात गर्दै आएको थियो । सीजी मोटर्सले देशभर बिक्री, सेवा र चार्जिङ नेटवर्क विस्तार गर्दै सार्वजनिक यातायातमा स्वच्छ, किफायती र दिगो यात्राको सुरुवात गरेको थियो । तर पछिल्ला वर्षहरूमा सो ब्रान्डको आधिकारिक विक्रेता अधिकार कब्जा गर्न विभिन्न खेल र विवाद उत्पन्न भएका थिए ।   केवाइसीको उत्पादक कम्पनी चोंगकुइंग चाइना ले पनि सोही गाडीको नाम ‘नियोसिया’ राखेको पुष्टि भएको छ । मोडेल, बनावट र फिचरहरू उही भए पनि नाम परिवर्तनले बौद्धिक सम्पत्ति अधिकार र अन्तरदेशीय व्यापार नियमनबारे नयाँ कानुनी प्रश्न उठाएको छ । नेपाल उद्योग परिसंघका एक पदाधिकारीका अनुसार, 'अदालतको आदेशपछि उही व्यवसाय नयाँ नाममा दोहोर्‍याउने कार्य कानुनी शासनका लागि खतरनाक उदाहरण हो । यस्ता घटना दोहोरिए विदेशी लगानीकर्ता र स्थानीय उद्यमी दुवैको विश्वासमा नकारात्मक असर पार्छ ।' अदालतको ताजा आदेशपछि नियोसिया ब्रान्डका गाडी नेपालमा आयात वा बिक्री गर्ने प्रयास तत्कालै रोकिएको छ ।

चौधरी ग्रुपले नवलपरासीमा स्न्याक्स उद्योग स्थापना गर्दै, ५० करोडको लगानी

काठमाडौं । देशमा राजनीतिक अन्यौल, आर्थिक अनिश्चितता र निजी क्षेत्रले खेपीरहेको चुनौतीपूर्ण वातावरणबीच चौधरी ग्रुपले वैदेशिक लगानी भित्रयाएको छ । चौधरी ग्रुपको एफएमसीजी कम्पनी सीजी फुड्सले भारतको स्न्याक्स ब्रान्ड बिकाजी फुड्स इन्टरनेशनल सँगको सहकार्यमा नवलपरासीस्थित सीजी इन्डस्ट्रियल पार्कमा बिकाजी स्न्याक्स फ्याक्ट्रीको शिलान्यास गरेको हो । बुधबार आयोजित भूमिपूजन समारोहमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक वरुण चौधरीले स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी र कम्पनीका वरिष्ठ अधिकारीहरूको उपस्थितिमा प्लान्टको शिलान्यास गरेका हुन् । समारोहमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीको समेत उपस्थिती थियो ।  हालैको जेनजी आन्दोलनका क्रममा चौधरी ग्रुपका व्यवसायिक प्रतिष्ठानहरूमाथि आगजनी एवं तोडफोड भएको थियो । सीजी इलेक्ट्रोनिक्सको मुख्य केन्द्रमाथि आगजनी गरेर ध्वस्त बनाइनुका साथै ग्रुपका अध्यक्ष विनोद चौधरीको निजी निवासमा पनि आगजनी गरिएको थियो । उक्त घटनापछि ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले यस्ता घटनाका वावजुद सीजीको नेपालप्रतिको प्रतिवद्धतामा कमि नआउने र नेपालको आर्थिक विकासका लागि नयाँ सोंचका साथ  अगाडि बढ्ने संकल्प सार्वजनिक गरेका थिए । उक्त घटनाको करिव डेढ महिना वितिरहदा चौधरीले ग्रुपले नेपालमा बहुराष्ट्रिय कम्पनीलाई भित्रयाएको हो ।  बिकाजीसँगको साझेदारीमा निर्माण हुन लागेको यो फ्याक्ट्रीमार्फत भुजिया, नमकीन लगायत बिकाजीका अन्य लोकप्रिय स्न्याक्सहरुको उत्पादन गरिनेछ । यो साझेदारी नेपालको खाद्य उद्योगलाई नयाँ गतिमा अघि बढाउने, आयातमा निर्भरता घटाउने र नेपाली बजारका लागि विश्वस्तरीय उत्पादन उपलब्ध गराउने विश्वास दुवै कम्पनीले लिएका छन् । यस प्लान्टमा पहिलो चरणमा करिव ५० करोड रूपैयाँ लगानी हुनेछ भने करिव चार सय रोजगारी श्रृजना हुनेछ ।  शिलान्यास समारोहमा बोल्दै प्रबन्ध निर्देशक वरुण चौधरीले भने, 'नेपालको अर्थतन्त्रलाई नयाँ ऊर्जाको आवश्यकता रहेको समयमा हामीले नेपालमा नयाँ क्षेत्रमा लगानी गर्दैछौँ । यसले नेपालप्रति चौधरी ग्रुपको गहिरो प्रतिवद्धतालाई व्यवहारमा पुनः पुष्टि गर्दछ ।' निराशाबाट गुज्रिरहेको नेपाली अर्थतन्त्रमा यस लगानीले नयाँ आशाको सञ्चार गर्ने विश्वास पनि प्रवन्ध निर्देशक चौधरीले व्यक्त गरे ।  उक्त प्लान्टको स्थापनाले स्थानीय रोजगारीमा नयाँ अवसरहरू श्रृजना हुनेछन् । प्रत्यक्ष एवं अप्रत्यक्ष रोजगारी सिर्जना गर्नुका साथै, स्थानीय किसान र आपूर्तिकर्तालाई लाभ पुर्याउने र नवलपरासीसहित आसपासका ग्रामीण क्षेत्रमा औद्योगिक गतिशीलता ल्याउन यस पहलले सकारात्मक योगदान पुग्ने पनि चौधरीले बताए ।    

प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार टिक्दैन कि भन्ने प्रश्न उठाएको छ : माधवकुमार नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन् । बुधबारबाट काठमाडौंमा शुरु भएको पार्टी केन्द्रिय कमिटी बैठकमा बोल्दै उनले प्रधानमन्त्री सुशीला कार्कीको अभिव्यक्तिले भने सरकार टिक्छ भन्नेकुरामा प्रश्न उठाएको टिप्पणी गरे ।  प्रधानमन्त्री कार्कीको अभिव्यक्ति सुन्दा सरकार रहिरहन्छ वा रहँदैन भन्ने प्रश्न उठाएको अध्यक्ष नेपालको जिकिर थियो । उनले लोकतन्त्र, गणतन्त्र र मुलुकको हितमा केन्द्रित भएर वर्तमान सरकारलाई आफ्नो पार्टीको साथ रहने पनि स्पष्ट पारे ।  उनले भने, ‘अब चुनावमा जाने बाहेक विकल्प छैन । चुनाव सम्भव होला, चुनाव गराउन यो सरकारले सक्ला ? प्रश्न गम्भिर रुपमा उठेको छ । प्रधानमन्त्रीको अभिव्यक्ति सुन्दा पनि चुनौतिको सामना पनि गर्छु भनिरहनुभएको छ । तर दिक्दारी पनि बेलावखतमा पोख्ने गर्नुभएको छ । यही सरकार रहिरहन्छ कि के हुन्छ ? भन्ने प्रश्न पनि उठेका छन् ।' अध्यक्ष नेपालले निर्वाचनको तयारीमा जुट्न पनि पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए । राम्रो परिणाम ल्याउने गरी निर्वाचनको तयारीमा आफूहरु लाग्नुपर्ने अध्यक्ष नेपालको भनाई थियो ।   

प्रधानमन्त्री कार्कीको आह्वानमा आज राजनीतिक दल र जेनजी समूहका प्रतिनिधि सहभागी हुने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बुधबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा पहिलोपटक त्रिपक्षीय छलफल हुने भएको छ । यसमा सरकार, प्रमुख राजनीतिक दलहरू र जेनजी समूहका प्रतिनिधिहरूको सहभागिता रहने प्रधानमन्त्री कार्यालयले जनाएको छ । सरकारका तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल उपस्थित हुने छन् ।  राजनीतिक दलबाट नेपाली कांग्रेसका महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत बैठकमा सहभागी हुनेछन् । नेकपा एमालेका प्रवक्ता राजेन्द्र गौतमका अनुसार महासचिव शकंर पोखरेल र उपमहासचिव प्रदिप ज्ञवालीले एमालेको नेतृत्व गर्दै वार्तामा सहभागीता जनाउने छन् । नेकपा माओवादी केन्द्र बाट वर्षमान पुन र माधव सापकोटा छलफलमा सहभागी हुने भएका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र केन्द्रीय सदस्य निशा डाँगी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठको सहभागिता हुने रहने छ ।  जेनजी समूहबाट इण्डिजिनिस जेनजी कलेक्टिभ, हाउ टु देश विकास, र जेनजी मुभमेन्ट एलाइन्सका १४ जना प्रतिनिधि सहभागी हुनेछन् ।  छलफलको मुख्य एजेन्डा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको समग्र वातावरण निर्माण र राजनीतिक समझदारी जुटाउने रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सरकारले प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न चरणबद्ध रूपमा सबै सरोकारवाला पक्षहरूसँग वार्ता गर्दै आएको छ । यसअघि कात्तिक ४ गते पनि प्रधानमन्त्री कार्कीले सरकार र राजनीतिक दलबीच छलफल गरिसकेकी थिइन् । यस्तै राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा जेनजी समूहसँग पनि छलफल भइसकेको छ । 

अधिवक्ता भट्टराईको भावुक निवेदन : अदालतले दुई वचन देओस्, संविधान नटुटोस, देश नडगमगाओस्

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा जारी सुनुवाइमा बुधबार वरिष्ठ अधिवक्ता टिकराम भट्टराईले संविधान र लोकतन्त्रको रक्षा गर्न अदालत समक्ष भावनात्मक तर दृढ माग राखेका छन् । संवैधानिक इजलासमा बहस गर्दै उनले संविधानमा थप क्षति नहोस् भन्ने उद्देश्यले दुईवटा स्पेसिफिक अन्तरिम आदेश जारी गर्न आग्रह गरेका छन् । उनका अनुसार अदालतले अब दुई कुरा सुनिश्चित गर्न जरुरी छ । पहिलो, संविधान विपरीतका कुनै पनि कामकारबाही नगर्नू, नगराउनू भन्ने आदेश दिन भट्टराईले बेन्च समक्ष आग्रह गरेका छन् । त्यस्तै, अन्तरिम सरकारले दिर्घकालीन असर पार्ने कुनै पनि निर्णय वा गतिविधि नगर्नू, नगराउनू भन्ने आदेश आजको आवश्यकतामा भट्टराईले अदालत समक्ष माग गरेका छन् । भट्टराईले अदालतलाई सम्बोधन गर्दै भने, 'बुधबार अदालत मौन रह्यो भने, संविधानको मर्ममा चोट पुग्नेछ । अदालत संविधानको अभिभावक हो, त्यसैले यसले तुरुन्तै रोकथामका कदम चाल्नुपर्छ ।'