विकासन्युज

गुल्मीको धुर्कोटमा ट्रान्सफर्मर चोरी काण्ड, गाउँपालिका अध्यक्षका दाइसहित ६ जना पक्राउ

काठमाडौं । गुल्मीको धुर्कोट गाउँपालिकामा भएको विद्युत ट्रान्सफर्मर चोरी प्रकरणमा गाउँपालिका अध्यक्ष भूपाल पोखरेलका सहोदर दाइ विष्णु पोखरेल पक्राउ परेका छन् । नेपाल विद्युत प्राधिकरणमा करारका कर्मचारी समेत रहेका विष्णु हाल जिल्ला प्रहरी कार्यालय, गुल्मीको हिरासतमा रहेका छन् ।  धुर्कोट गाउँपालिकाबाट केही समयको अन्तरालमा तीनवटा ट्रान्सफर्मर हराएको विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गंगा बहादुर सारूका अनुसार खोजीका क्रममा ती ट्रान्सफर्मर स्थानीय कबाडी व्यवसायीहरूबाट बरामद भएका थिए । प्रहरीले अनुसन्धानका क्रममा तीन जना भारतीय कबाडी व्यवसायीहरूलाई पक्राउ गरी सोधपुछ गर्दा उनीहरूले ट्रान्सफर्मर विष्णु पोखरेलले बेचेको बताएका थिए । सोही आधारमा पोखरेललाई समेत पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका भारतीय नागरिकहरू बिकेस, पवन र अनिल कुमार रहेको जिल्ला प्रहरीको मुद्दा शाखाले जानकारी दिएको छ । विष्णु भुसाल र मधु नेपालीलाई पनि प्रहरीले पक्रिएर अनुसन्धान अगाडि बढाएको प्रवक्ता सारुले जानकारी दिए ।

नेपाल र भारतको संयुक्त लगानीमा दुई नयाँ अन्तरदेशीय प्रसारण लाइन निर्माण हुने

नयाँ दिल्ली । नेपाल र भारतबीच इनरूवा–पूर्णिया र लम्की (दोदोधारा)–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न संयुक्त उपक्रम (जे.भि) तथा सेयरहोल्डर सम्झौतापत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ र भारतका भारतका विद्युतमन्त्री मनोहरलाल खट्ठरको उपस्थितमा बुधबार नयाँ दिल्लीमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  हस्ताक्षर समारोहमा भारतका लागि नेपालका राजदूतका शंकर प्रसाद शर्मा, भारतका विद्युत सचिव पंकज अग्रवाल, विदेश मन्त्रालयका अतिरिक्त सचिव, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सागरराज गौतमलगायतको उपस्थिति थियो ।  सम्झौतापत्रमा नेपाल विद्युत प्राधिकरणका तर्फबाट उपकार्यकारी निर्देशक सुभाष कुमार मिश्रर पावर ग्रिड कर्पोरेशन अफ इण्डिया लिमिटेडका अन्तर्राष्ट्रिय व्यवसाय प्रमुख सञ्चालन अधिकृत सञ्जय कुमार गुप्ताले हस्ताक्षर गरेका हुन् । संयुक्त लगानी सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएसँगै प्राधिकरण र पावर ग्रिडको लगानीमा दुवै प्रसारण लाइन निर्माणका लागि कम्पनी संस्थापना गर्न बाटो खुलेको छ ।  कार्यक्रममा मन्त्री घिसिङले थप दुईवटा क्रस बोर्डर प्रसारण लाइन निर्माण अगाडि बढ्नु द्धिपक्षीय एवम् क्षेत्रीय विद्युत व्यापारका लागि अर्को महत्वपूर्ण कोशेढुङ्गा भएको उल्लेख गरे । उनले अन्तरदेशीय प्रसारण लाइनको निर्माणबाट दुई देशबीच तथा क्षेत्रीयस्तरमा समेत नेपालमा उत्पादित विद्युत निर्यात गर्ने आधार तयार भई अन्तर्राष्टिय ऊर्जा बजारसम्म नेपालको पहुँच पुर्याई नेपालका जलविद्युतमा स्वदेशी तथा प्रत्यक्ष वैदेशिक लगानी ल्याउन थप सहज हुने बताए ।  भारतीय विद्युतमन्त्री खट्ठरले थप दुईवटा क्रस बोर्डर प्रसारण लाइनको निर्माण सम्पन्न भएपछि नेपाल—भारतबीचको विद्युत विनिमयलाई सारभूत रुपमा थप सुदृढ हुनुकासाथै क्षेत्री ऊर्जा सुरक्षामा सुधार, सुदृढ ग्रिड बन्नेहुँदा यसले दुवै देशको आर्थिक वृद्धिमा योगदार पुर्याउने उल्लेख गरे ।  मन्त्रिपरिषद्को ३० असोजको बैठकले प्रसारण लाइन निर्माणका लागि प्राधिकरण र पावर ग्रिडको लगानीमा नेपाल तथा भारत दुवै भूमिमा दुईवटा संयुक्त कम्पनी स्थापना गर्न र उक्त कम्पनीहरुमा स्वपूँजी (इक्विटी) लगानी गर्न प्राधिकरणलाई स्वीकृति दिएको थियो ।  कार्यक्रममा मन्त्री घिसिङले दुईवटा थप अन्तरदेशीय प्रसारण लाइनको निर्माणबाट दुई देशबीच तथा क्षेत्रीयस्तरमा समेत नेपालमा उत्पादित विद्युत निर्यात गर्ने आधार तयार भई अन्तर्राष्ट्रिय ऊर्जा बजारसम्म नेपालको पहुँच पुर्याई नेपालका जलविद्युतमा स्वदेशी तथा प्रत्यक्ष वैदेशिक लगानी ल्याउन थप सहज हुने बताए ।   दुईवटा अन्तरदेशीय प्रसारण लाइनको भारतीय भूभागमा पर्ने खण्ड निर्माणका लागि भारतमा संस्थापना गरिने संयुक्त कम्पनीमा प्राधिकरणको ४९ प्रतिशत र पावर ग्रिडको ५१ प्रतिशत सेयर हिस्सा रहनेछ । त्यस्तै नेपाली भूभागमा पर्ने खण्ड नेपालका लागि नेपालमा संस्थापना हुने संयुक्त कम्पनीमा प्राधिकरणको ५१ प्रतिशत र पावर ग्रिडको ४९ प्रतिशत सेयर हिस्सा रहनेछ ।  दुई प्रसारण लाइनको निर्माणमा ८० प्रतिशत ऋण र २० प्रतिशत सेयर पूँजी रहने गरी वित्तीय व्यवस्थापन गरिनेछ । इनरुवा पूर्णिया प्रसारण लाइनको करिब २६ किलोमिटर खण्ड नेपाली र १०९ किलोमिटर खण्ड भारतीय भूभागमा पर्नेछ । लम्की बरेली प्रसारण लाइनको करिब ३३ किलोमिटर खण्ड नेपाली र १८५ किलोमिटर खण्ड भारतीय भूभागमा निर्माण हुनेछ ।  नेपाल भारत संयुक्त प्राविधिक टोलीले सन् २०१९मा तयार पारेको अध्ययन प्रतिवेदनअनुसार इनरुवा पूर्णिया प्रसारण लाइनको प्रारम्भिक लागत नेपाली र भारतीय खण्डको क्रमशः २ अर्ब ६५ लाख र ४ अर्ब १३ करोड भारतीय रुपैयाँ (भारु) लाग्ने अनुमान गरिएको छ ।  त्यस्तै लम्की बरेली प्रसारण लाइनको नेपालमा  प्रारम्भिक लागत अनुमान नेपाली र भारतीय खण्डको क्रमश २ अर्ब ५७ करोड र ६ अर्ब १४ करोड भारु रहेको छ । प्राधिकरणले आफ्नै स्रोतबाट नेपाल र भारतमा संस्थापना हुने संयुक्त कम्पनीमा १ अर्ब र २ अर्ब बराबरको इक्विटी लगानी गर्नेछ ।  नेपाल र भारतबीचको विद्युत व्यापार, अन्तरदेशीय प्रसारण लाइन संयोजन एवम् सञ्चालन संयोजन सम्बन्धी सम्झौताको प्रावधनबमोजिम दुई देशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ११ फेब्रुवरी २०२५मा भारतको नयाँ दिल्लीमा सम्पन्न बैठकले प्रसारण लाइन निर्माण तथा सञ्चालन र लगानी मोडालिटीमा सहमति गरेको थियो । त्यसपछि प्राधिकरण र बावर ग्रिडबीच विभिन्न चरणमा भएका छलफलपछि २२ अप्रिल २०२५मा प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी संस्थापना गर्ने समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको थियो । दुवै लाइनको निर्माण सन् २०३० भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।  नेपाल र भारतबीच व्यापारका लागि हाल ४०० केभीको ढल्केबर–मुजफ्फपुर पहिलो क्रस बोर्डर प्रसारण लाइन सञ्चालनमा छ । बुटवल-गोखरपुर दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणाधीन छ । नेपालको चमेलियादेखि भारतको उत्तराखण्डस्थित जैलिजिवीसम्म २२० केभी प्रसारण लाइन निर्माण गर्न दुई देशबीच सहमति जुटिसकेको छ ।  त्यस्तै, भारतका बिहार, उत्तर प्रदेश र उत्तराखण्ड राज्यसँग जोडिएका १३२, ३३ र ११ केभीका प्रसारण लाइन पनि रहेका छन् । प्राधिकरणले हाल ४०० र १३२ केभी प्रसारण लाइन संरचना प्रयोग गरी भारत एवम् बंगलादेशतर्फ दैनिक रुपमा एक हजार मेगावाट विद्युत निर्यात गरिरहेको छ ।  मन्त्री कुलमान घिसिङ र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ र भारतका विद्युतमन्त्री मनोहरलाल खट्ठरबीच भेटवार्ता भएको छ ।  अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौं महासभामा भाग लिन नयाँ दिल्ली आएका मन्त्री घिसिङ र भारतका समकक्षी खट्ठरबीच बुधबार भेटवार्ता भएको हो ।  विद्युत मन्त्रमालयमा भएको भेटवार्तामा नेपाल–भारतबीचको ऊर्जासम्बन्धी सहकार्य, विद्युतव्यापार, प्रसारण लाइन विस्तार, भारतीय लगानीमा निर्माणाधीन जलविद्युत आयोजनाको प्रगति,दुवै देशबीच दीर्घकालीन ऊर्जाक्षेत्रमा साझेदारीलगायतका विषयमा विस्तृत छलफल भएको थियो ।  भेटमा भारतका लागि नेपालका राजदूतका शंकर प्रसाद शर्मा, भारतका विद्युत सचिव पंकज अग्रवाल, विदेश मन्त्रालयका अतिरिक्त सचिव, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सागरराज गौतमलगायतको उपस्थिति थियो ।    

अलैँचीको मूल्य निरन्तर उकालो : प्रतिमन एक लाख पुग्यो

झापा । अलैँचीको भाउ यस वर्षको सबैभन्दा उच्चबिन्दुमा पुगेर ओरालो लागेको छ । बुधबार प्रतिमन (४० केजी) अलैँची अधिकतम एक लाख रुपैयाँमा किसानबाट खरिद भइरहेको नेपाल अलैँची व्यवसायी महासङ्घका अध्यक्ष दीपक नेपालले जानकारी दिए । व्यवसायीले किसानबाट ‘चालू’ र ‘जेजे’ गरी दुई गुणस्तरको अलैँची खरिद गर्दै आएका छन् । जेजे अलैँचीको मूल्य बुधबार एक लाख प्रतिमन कायम भएको हो भने चालू अलैँची ९७ हजार रुपैयाँ प्रतिमनका दरले खरिदबिक्री भइरहेको उनले जानकारी दिए । यस वर्ष अलैँचीको भाउ मंगलबार सबैभन्दा उच्चबिन्दुमा पुगेको थियो । उनका अनुसार मङ्गलबार जेजे अलैँची प्रतिमन एक लाख दुई हजार रुपैयाँमा कारोबार भएको थियो । हिजोको तुलनामा बुधबार प्रतिमन दुई हजार रुपैयाँका दरले मूल्यमा गिरावट आएको छ । 'अलैँचीको भाउ निरन्तर उकालो लागिरहेको थियो, आजमात्र दुई हजार रुपैयाँका दरले ओरालो लागेको हो', उनले भने, 'अहिले किसानहरूले औलो क्षेत्रको अलैँची बजारमा ल्याइसकेका छन् भने लेकाली क्षेत्रको अलैँची भर्खर भट्टी लगाउन सुरु भएको छ ।'  अलैँचीको बजार मूल्य उच्च हुने भएकाले यसलाई ‘खोल्साको सुन’ भनेर चिनिन्छ । पूर्वी पहाडका किसानहरू अहिले बढेको भाउले प्रत्यक्ष लाभान्वित भएका छन् । अध्यक्ष नेपालका ४२ जिल्लामा अलैँची खेती हुने गरे तापनि कोशी प्रदेशका पाँचथर, ताप्लेजुङ, इलाम, सङ्खुवासभा, खोटाङ, भोजपुर र तेह्रथुम जिल्लामा धेरै उत्पादन हुने गरेको छ । नेपालमा उत्पादित अलैँचीको ९० प्रतिशतमात्र निर्यात हुने गरेको छ । नेपालबाट भारत पुगेको अलैँची त्यहाँबाट ‘ब्रान्डिङ’ भएर विश्व बजारमा पुग्ने गरेको छ । विश्वबजारमा नेपाली अलैँचीले सोझो पहुँच पुर्याउन सकिरहेको छैन । कोशी प्रदेशमा सात हजार ५०० हेक्टरभन्दा बढी क्षेत्रफलमा अलैँचीखेती हुँदै आएको छ । आर्थिक वर्ष २०८१÷८२ मा काँकरभिट्टा नाका भएर सात अर्ब ६७ करोड रुपैयाँको अलैँची भारत निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ ।  चालु आव २०८२/८३ को प्रथम त्रैमासिक अवधिमा अलैँचीको निर्यात ३३ प्रतिशतले वृद्धि भएको मेची भन्सार कार्यालयले जनाएको छ । विगत साउन, भदौ र असोज महिनामा काँकरभिट्टा नाका भएर एक अर्ब ६७ करोड ९१ लाख ७५ हजार रुपैयाँ मूल्यबराबरको एक हजार ७२ मेट्रिक टन अलैँची भारत निर्यात भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिए । रासस  

प्रतिनिधि सभा विघटनमाथि सुनुवाइ सुरू, सर्वोच्चको संवैधानिक इजलासमा आजदेखि बहस प्रारम्भ

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध दायर रिटहरूमा सर्वोच्च अदालतले आजदेखि औपचारिक सुनुवाइ सुरू गरेको छ । अदालतको एनेक्स भवनमा विशेष तयारीसहित संवैधानिक इजलास गठन गरी सुनुवाइ अघि बढाइएको हो । यस विषयमा दायर भएका १६ वटा रिटहरूलाई एउटै मुद्दाका रूपमा संयुक्त सुनुवाइमा ल्याइएको सर्वोच्च अदालतले जनाएको छ । संविधानको गम्भीर व्याख्या–व्यवहारसँग जोडिएको यो मुद्दा हालको राजनीतिक दिशालाई नै प्रभावित गर्नसक्ने भएकाले देशको ध्यान सर्वोच्चमा केन्द्रित भएको छ । सुनुवाइका लागि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नेतृत्वमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्मा सम्मिलित पाँच सदस्यीय संवैधानिक इजलास गठन गरिएको छ । रिट निवेदक पक्षबाट आजको दिन अधिवक्ता प्रेमराज सिलवालले बहस प्रारम्भ गरेका छन् । प्रारम्भिक बहसपछि सरकारी पक्ष र अन्य रिट निवेदकका तर्फबाट पनि क्रमशः बहस चल्नेछ । यो मुद्दाको फैसलाले आगामी राजनीतिक स्थायित्व र सत्ता–संरचनामा निर्णायक प्रभाव पार्ने अनुमान विधि विज्ञहरूले गरेका छन् । 

वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा समस्या

काठमाडौं । वैदेशिक रोजगार विभागको सूचना व्यवस्थापन प्रणाली (एफपिआइएमएस)मा समस्या आएपछि श्रम स्वीकृतिका लागि आवेदन दिनेहरूलाई सास्ती भएको छ । मङ्गलबारदेखि उक्त प्रणालीमा समस्या आएपछि विभाग बाहिरबाट श्रम स्वीकृतिका लागि आवेदन दिनेहरूलाई समस्या उत्पन्न भएको विभागका सूचना अधिकारी टीकाराम ढकालले जानकारी दिए ।     उनले भने, 'एफपिआइएमएसमा समस्या आएकाले बाहिरबाट आवेदन दिने सेवाग्राहीलाई थप सास्ती भएको छ । अति जरुरी श्रम स्वीकृतिका लागि विभागमा आएकालाई हाम्रो अर्को प्रणालीबाट सेवा दिइरहेका छौँ । विभाग बाहिरबाट आवेदन दिनेको हकमा समस्या भइरहेको हो ।'      त्यसैगरी, वेबसाइटमा देखिएको समस्या मङ्गलबारदेखि समाधान भएको विभागले जनाएको छ । एफपिआइएमएसमा समस्या देखिएपछि अहिले प्राविधिक समूहले जाँच गरिरहेका जनाउँदै सूचना अधिकारी ढकालले केही दिनमा समस्या समाधान हुने बताए ।      'वेबसाइटको ‘स्पेसल सर्टिफिकेट’ को समयसीमा सकिएर समस्या देखिएको थियो । मङ्गलबार सर्भर बन्द हुँदा श्रम स्वीकृतिका लागि आवेदन दिनेहरू पनि मर्कामा परेका थिए । यो समस्या भने सोहीदिन समाधान भएको छ', उनले भने । रासस

एनएमएबि बैंकको सेवा शुक्रबार ८ बजेदेखि शनिबार ४ बजेसम्म अवरुद्ध हुने

काठमाडौं । एनएमबि बैंकको सेवा अवरुद्ध हुने भएको छ । बैंकको कार्ड सिस्टम मर्मत सम्भार गर्नुपर्ने भएकाले कार्ड सेवा अवरुद्ध हुने भएको हो । बैंकले प्रयोग गरिरहेको कार्ड सिस्टमको मेन्टेनेन्स (मर्मत सम्भार) सम्बन्धी कार्य गर्नका लागि कात्तिक १४ गते शुक्रबार साँझ ८ बजेदेखि कात्तिक १५ गते शनिबार दिउँसो ४ बजेसम्म सेवा अवरुद्ध हुने भएको हो ।  उक्त अवधिमा बैंकबाट जारी गरिएका कार्ड, एटीएम, पीओएस तथा ईकमर्स सेवाहरू अवरुद्ध हुने बैंकले जनाएको छ । यस अवधिमा मोबाइल बैंकिङ जस्ता वैकल्पिक भुक्तानी विधिहरू प्रयोग गर्न बैंकले अनुरोध गरेको छ ।  

वीरगञ्ज नाका हुँदै दुई खर्ब १८ अर्बको आयात, २६ अर्ब ५९ करोडको निर्यात

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा दुई खर्ब १८ अर्ब १० करोड रुपैयाँ मूल्यबराबरका वस्तु तथा सामान आयात भएका छन् । गत आर्थिक वर्षको पछिल्लो तीन महिनाको तुलनामा चालु आवको असोजसम्म ३४ अर्ब २३ करोड रुपैयाँ बढी मूल्यका सामान वीरगञ्ज भन्सारबाट भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको तीन महिनामा वीरगञ्ज नाका हुँदै भित्रिने वस्तु तथा सामानको आयात बढेको जानकारी दिए । 'वीरगञ्ज नाका हुँदै पछिल्लो तीन महिनामा दुई खर्ब १८ अर्ब १० करोड रुपैयाँ मूल्यको सामान भित्रिदा ५८ अर्ब २३ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।' जबकि गत आवको तीन महिनाको सोही अवधिमा एक खर्ब ८३ अर्ब ८७ करोड रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको थियो । चालु आवको तीन महिनामा यो नाका हुँदै आयातमात्रै नभएर निर्याततर्फ पनि उल्लेखनीय वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ । वीरगञ्जनाका हुँदै चालु आवको तीन महिनामा २६ अर्ब ५८ करोड रुपैयाँ मूल्यबराबरका वस्तु तथा सामान निर्यात भएका छन् । जबकि गत आवको तीन महिनाको सोही अवधिमा आठ अर्ब ८४ करोड रुपैयाँ मूल्यबराबरका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको थियो । रकमका आधारमा गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने १७ अर्ब ७५ करोड रुपैयाँ बढीले निर्यात भएको हो ।  

सयपत्री हाइड्रोले चुक्ता गर्यो बैंकको ५० प्रतिशत ऋण, सेयर धितो फुकुवाका लागि अघि बढ्यो प्रक्रिया

काठमाडौं । सयपत्री हाइड्रोपावरले बैंकको ५० प्रतिशत ऋण चुक्ता गरेको छ । दरम खोला ‘ए’ जलविद्युत आयोजना निर्माणका लागि कम्पनीले बैंकबाट लिएको सहवित्तीयकरण कर्जाको ५० प्रतिशत भन्दा बढी रकम भुक्तानी भइसकेको सञ्चालक गोपाल प्रसाद निउरेले जानकारी दिए । साथै, ऋण कर्जाको ५० प्रतिशत रकम भुक्तानी भइसकेको हुँदा सह-वित्तीयकरण बैंकहरूमा धितो बन्धक रहेको सेयरधनीहरू र पदाधिकारीहरुको ५० प्रतिशत सेयर फुकुवा गर्ने प्रक्रिया अघि बढाइने उनले बताए । उनका अनुसार दरम खोला ‘ए’ जलविद्युत आयोजना निर्माणका लागि सहवित्तीयकरण ऋण कर्जा लिँदा नेपाल बैंक र ग्लोबल आइएमई बैंकमा सबै सेयरधनी र पदाधिकारिहरुको सेयर धितो राखिएको थियो । बन्धक राखिएको सेयर धितो फुकुवाका लागि सह-वित्तीयकरण अगुवा बैंक नेपाल बैंकलाई अनुरोध गरिने उनको भनाइ छ ।  साथै, कम्पनी सञ्चालक समितिको कात्तिक ११ गते बसेको बैठकले बन्धक रहेको सेयर धितो फुकुवाका लागि आवश्यक सम्पूर्ण कार्य गर्न लेखा अधिकृत कृष्ण चालिसेलाई सम्पूर्ण अख्तियारी प्रत्यायोजन  गर्ने निर्णय गरिएको सञ्चालक निउरेले जानकारी दिए ।  ५० जना भन्दा बढी संस्थापक सेयरधनी रहेको कम्पनीको चुक्ता पुँजी ३० करोड रुपैयाँ रहेको छ । कम्पनीको विद्युत उत्पादन अनुमतिपत्र बहाल रहने अवधि विसं २१०५ जेठ १ गतेसम्म बाँकी छ । जलविद्युत आयोजनाको कुल लागत ५३ करोड ४५ लाख ८ हजार रुपैयाँ थियो भने उत्पादन क्षमता २.५ मेगावाट रहेको छ । दरमखोला आयोजनाको सम्पूर्ण संरचना बाग्लुङको ताराखोला गाउँंपालिका-२ र ३ मा रहेको छ ।