काभ्रेपलाञ्चोकमा ८८ मतदानस्थल संवेदनशील, निर्वाचन सुरक्षाका लागि ३ हजार बढी सुरक्षाकर्मी परिचालन हुने
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै काभ्रेपलाञ्चोक जिल्लामा सुरक्षा व्यवस्था कडा बनाइने भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाभर रहेका ८८ मतदानस्थल संवेदनशील रहेकामा तीमध्ये २३ वटा ‘अति संवेदनशील’ सूचिमा परेका छन् । ‘संवेदनशील र अति संवेदनशील मतदानस्थलमा विशेष सुरक्षा सतर्कता अपनाइनेछ,’ जिल्ला प्रहरी प्रमुख कोमल शाहले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र निर्वाध रूपमा सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गरे । उनका अनुसार सुरक्षाकर्मीहरू कार्यस्थलमै परिचालन गरिनेछन् । निर्वाचन सुरक्षाका लागि जिल्लामा निर्वाचन प्रहरी २ हजार २६९ जना, नेपाल प्रहरी १ हजार ११५ जना र सशस्त्र प्रहरी ३५० जना परिचालन गर्ने योजना रहेको छ । काभ्रेपलाञ्चोकमा कायम कुल ३ लाख २६ हजार ६११ मतदातामध्ये १ लाख ६७ हजार ४९९ पुरुष, १ लाख ५९ हजार ११० महिला र २ जना अन्य लिङ्गका मतदाता रहेका छन् । यसैबीच, प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी छनोट प्रक्रियाअन्तर्गत बिहीबार धुलिखेलमा लिखित परीक्षा तथा अन्तर्वार्ता सम्पन्न भएको छ । माग गरिएको सङ्ख्याका लागि २ हजार ४९३ जनाले आवेदन दिएकोमा २ हजार २८३ जना परीक्षामा सहभागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आसन्न निर्वाचनमा काभ्रेपलाञ्चोकका दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कुल ४२ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । निर्वाचन क्षेत्र नं १ मा १५ दल र ३ स्वतन्त्र गरी १८ जना उम्मेदवार मैदानमा छन् । त्यसैगरी, निर्वाचन क्षेत्र नं २ मा १६ दल र ८ स्वतन्त्र गरी २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन कार्यालयका अनुसार क्षेत्र नं २ मा दुई दलका र एक स्वतन्त्र गरी ३ जना महिला उम्मेदवार प्रतिस्पर्धामा छन् । क्षेत्र नं १ मा अन्य समूहबाट एक जना उम्मेदवार रहेका छन् भने ११ जना स्वतन्त्र उम्मेदवार छन् । यस निर्वाचनमा दलित समुदायबाट उम्मेदवारी नपरे पनि जनजातितर्फबाट २५ जना प्रत्याशी बनेका छन् ।
सूर्यकुण्ड हाइड्रोले माघ १८ गतेदेखि आईपीओ बिक्री गर्ने, ५० हजार कित्ता आवेदन दिन सकिने
काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले माघ १८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरेपश्चात् अब कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री गर्ने भएको हो । कम्पनीले जारी पुँजी ६८ करोड ९६ लाख ७४ हजार रुपैयाँको २० प्रतिशत अर्थात् १३ करोड ७९ लाख ३५ हजार रुपैयाँको १३ लाख ७९ हजार ३५० कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ६ लाख ८९ हजार ६७५ कित्ता सेयर आयोजना प्रभावित क्षेत्र नुवाकोटको दुप्चेश्वर गाउँपालिकाका बासिन्दा र सर्वसाधारण लगानीकर्तालाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ६८ हजार ९६७ कित्ता सेयर विदेशमा रोजगार गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ । अब दोस्रो चरणमा कम्पनीले १३ हजार ७९३ कित्ता कर्मचारी र ३४ हजार ४८४ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित राखि बाँकी रहेको ५ करोड ७२ लाख ४३ हजार १ सय रुपैयाँको ५ लाख ७२ हजार ४३१ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गर्नेछ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले माघ २१ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिभित्र पूर्ण बिक्री नभएमा आवेदन दिने समय फागुन ३ गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ । लगानीकर्ताहरुले सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।
आरएसडिसी लघुवित्तको नाफा ७३.५४ प्रतिशत बढ्यो, यस्ता छन् अन्य सूचक
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा ७३.५४ प्रतिशत बढेर ६ करोड ६८ लाख ६९ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले ४ करोड ४१ लाख ८२ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । चालु आवको पुस मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ४ प्रतिशत घटेर १० करोड ७६ लाख २४ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले ११ करोड २१ लाख १६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस्तै दोस्रो त्रैमासमा लघुवित्तको खुद शुल्क तथा कमिशन आम्दानी २१ प्रतिशत बढेर २४ लाख ६० हजार रुपैयाँ, सञ्चालन नाफा ६९.४८ प्रतिशत बढेर १० करोड ९६ लाख रुपैयाँ र कुल सञ्चालन आम्दानी १.७२ प्रतिशत घटेर ११ करोड २१ लाख ६८ हजार रुपैयाँ रहेको छ । पुस मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ६ करोड ६८ लाख रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा वितरणयोग्य नाफा ३ करोड ६७ लाख रुपैयाँ थियो । १ अर्ब ३ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको जगेडा कोषमा २६ करोड २३ हजार रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा लघुवित्तको निक्षेप तथा सापटी २६.३७ प्रतिशत घटेर ५ अर्ब १ करोड ३७ लाख रुपैयाँ र कर्जा लगानी १५.३३ प्रतिशत घटेर ५ अर्ब ३१ करोड ३० लाख रुपैयाँ रहेको छ । नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी ५.४७ रुपैयाँ बढेर १४.८३ रुपैयाँ पुगेको छ । पुस मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४३.१५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२५.१५ रुपैयाँ रहेको छ । गत वर्षको पुसमा २.७१ प्रतिशत रहेको खराब कर्जा चालु आवको पुसमा ०.१३ प्रतिशत घटेर २.८४ प्रतिशतमा झारेको छ । यस्तै, पुस मसान्तसम्ममा लघुवित्तको आधार दर ६.४३ प्रतिशत र कस्ट अफ फण्ड ५.५० प्रतिशत रहेको छ ।
सानोथिमि बाल सुधार गृहमा झडप र आगजनी
काठमाडौं । भक्तपुरको मध्यपुरथिमि-२ सानोथिमिस्थित बाल सुधार गृहमा बिहीबार राति झडप र आगजनी भएको छ । बाल सुधार गृहका दुई समूहबीच भएको झडप आगजनी र तोडफोडमा परिणत भएको थियो । आपसमा झडप भएपछि थिमि प्रहरी वृत्तका प्रमुख नवराज ढुङ्गाना नेतृत्वको टोलीले सुधार गृह पुगेर स्थिति नियन्त्रणमा लिने प्रयास गरेको थियो । प्रहरी टोलीलाई झडपमा संलग्न दुवै समूहले प्रहरीमाथि नै ढुङ्गा मुढा गरेको थियो । स्थिति नियन्त्रण बाहिर गएपछि सशस्त्र प्रहरी बलबाट ५० जना परिचालन भएका थिए । मध्यरातमा भक्तपुर र काठमाडौंका वारुणयन्त्रले आगो निभाएका थिए । सुधार गृहमा भएको क्षतिको विवरण आउन बाँकी रहेको थिमि प्रहरी वृत्तले जनाएको छ । उक्त गृहमा १४५ पुरुष र २४ महिला गरी १६९ जना छन् । अहिले स्थिति नियन्त्रणमा आएको भए पनि त्यहाँ बाक्लो सङ्ख्यामा उपस्थित सुरक्षाकर्मीले निगरानी गरिरहेका छन् ।
शिखर पावरको आईपीओमा विदेशमा रहेका नेपालीले आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । शिखर पावर डेभलपमेन्टको आईपीओमा आवेदन दिने आज माघ ९ गते अन्तिम दिन रहेको छ । माघ ६ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात् ३२ करोड रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका ३२ लाख कित्ता सेयर बिक्री गर्न अनुमति पाएको छ । सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् २ करोड २२ लाख रुपैयाँको २ लाख २२ हजार कित्ता सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरूले आवेदन दिन पाउनेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।
सशस्त्र प्रहरी बलको २५ वर्षे यात्रा पूरा, सीमा सुरक्षामा कटिबद्ध
काठमाडौं । ‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ भन्ने मूल नारासहित राष्ट्र र जनताको सेवामा कटिबद्ध सशस्त्र प्रहरी बल नेपालले आजदेखि आफ्नो गौरवपूर्ण २५ वर्षे यात्रा पूरा गरेको छ । तत्कालीन समयको विषम परिस्थितिमा देशमा शान्ति र सुरक्षा कायम गरी जनताको जीउ, धन र स्वतन्त्रताको रक्षा गर्न विसं २०५७ माघ ९ गते सशस्त्र प्रहरी बलको विधिवत् रूपमा स्थापना भएको थियो । तत्कालीन गृहसचिव खेमराज रेग्मीको संयोजकत्वमा गठित ‘सशस्त्र प्रहरी सेवा गठन सुझाव कार्यदल-२०५६’ ले दिएको सुझाव बमोजिम त्यसबेलाका राजा वीरेन्द्र शाहबाट ‘सशस्त्र प्रहरी अध्यादेश, २०५७’ जारी भएसँगै आजैका दिन सशस्त्र प्रहरी बल गठन भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा आज सशस्त्र प्रहरी मुख्यालय हलचोकमा रजत महोत्सव विशेष समारोहको आयोजना गरिएको छ । सुरुआतमा नेपाली सेना र नेपाल प्रहरीबाट जनशक्ति स्थानान्तरण गरी सशस्त्र प्रहरी बलमा ल्याइएको थियो । स्थापनापश्चात महाराजगन्ज स्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको परिसरमा सशस्त्र प्रहरी बलको प्रधान कार्यालय राखिएको थियो । सशस्त्र प्रहरी महानिरीक्षकमा कृष्ण मोहन श्रेष्ठ नियुक्त भएका थिए । संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले प्रातकालीन भ्रमणको दौरान २०५९ साल माघ १२ गते गोली प्रहारबाट वीरगति प्राप्त गरेका थिए । उनीसँगै धर्मपत्नी तथा सशस्त्र प्रहरी परिवार महिला सङ्घकी अध्यक्ष नुडुप श्रेष्ठ र अङ्गरक्षक सूर्यप्रसाद रेग्मीले साहदत प्राप्त गरेका थिए । तत्कालीन सरकारले सशस्त्र प्रहरीलाई नेपालको कुनै भागमा भएको वा हुनसक्ने सशस्त्र सङ्घर्ष, सशस्त्र विद्रोह वा पृथकतावादी तथा आतङ्कारी गतिविधि नियन्त्रण गर्ने लगायत १३ वटा कार्यादेश सुम्पेको थियो । त्यसपछि नेपाल सरकारले विभिन्न समयमा सशस्त्र प्रहरीलाई राजस्व, भन्सार तथा औद्योगिक र रेल्वे सुरक्षालगायत विभिन्न जिम्मेवारी दिँदै आएको छ । यो २५ वर्षे यात्रामा सशस्त्र प्रहरी बल नेपालले राज्यप्रदत्त कार्यादेश प्रभावकारी ढङ्गले सम्पादन गर्दै सङ्गठनको संरचनागत विस्तार, तालिम, जनशक्ति विकास र फौजी अनुशासनमा विशेष जोड दिँदै आएको सशस्त्र प्रहरीका सहप्रवक्ता एवं सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए । हालका दिनमा सशस्त्र प्रहरीले सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजस्व सहायता र विपद् व्यवस्थापनमा आफूलाई भरपर्दो सङ्गठनका रूपमा उभ्याएको छ । सीमा सुरक्षा र विपद् व्यवस्थापनलाई सशस्त्र प्रहरीले उच्च प्राथमिकतामा राखेको छ । विसं २०६१ मङ्सिर १ गतेको निर्णयानुसार तत्कालीन शाही नेपाली सेनाको सट्टा प्रमुख भन्सार नाकाहरूको सुरक्षार्थ सशस्त्र प्रहरी तैनाथ भएको थियो । विसं २०६३ फागुन ८ गतेदेखि डेडिकेटेड रूपमा सीमा सुरक्षाको जिम्मेवारी पाएको छ । सशस्त्र प्रहरीले सातवटा रिजर्भ गण, ४५ वटा सीमा सुरक्षा कार्यालय र २१५ वटा बिओपीमार्फत सीमा सुरक्षाको जिम्मेवारी निर्वाह गर्नुका साथै राजस्व सङ्कलनमा समेत सहयोग पुर्याउँदै आएको सहप्रवक्ता थापा बताउँछन् । नेपालको अन्तरराष्ट्रिय सीमा सुरक्षालाई प्रभावकारी बनाउन सशस्त्र प्रहरीले ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जसअन्तर्गत सीमा इलाकाको बाटोघाटो सरसफाइ तथा स्तरोन्नति, अन्य विकास निर्माणका कार्यमा सहयोग, सचेतनामूलक कक्षाहरू, स्वास्थ्य शिविर र सीमावासी जनतामा सीप तथा स्वरोजगारमूलक कार्यक्रम हुँदै आएका छन् । सशस्त्र प्रहरीले विपद् व्यवस्थापनमा आफूलाई अब्बल सुरक्षा फौजका रूपमा स्थापित गरेको छ । विपद् व्यवस्थापनमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले २०६८ साल मङ्सिर २२ गते चितवनको कुरिनटार विपद् व्यवस्थापन तालिम शिक्षालय र पर्वातारोहणको क्रममा प्रतिकूल मौसमको कारण तथा भारी हिमपातमा हुनसक्ने दुर्घटनाहरूमा उद्धारका लागि दक्ष जनशक्ति उत्पादन गर्न मनाङ पर्वतीय उद्धार तालिम शिक्षालयको समेत स्थापना गरेको छ ।
कर्णाली र सुदूरपश्चिममा हिमपातको सम्भावना, तराईका अधिकांश भागमा सफा रहने
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा आज मौसममा बदली हुने पूर्वानुमान गरेको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ । तराईका अधिकांश भागमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ । सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । त्यसैगरी, आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली रहने पूर्वानुमान छ । लुम्बिनी, कर्णाली, सुदूरपश्चिमका साथै गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । यसैगरी, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम हिमपात हुने सम्भावना छ । साथै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । मौसमी परिवर्तनका प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य सेवाका साथै हवाई तथा सडक यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
आज सरस्वतीको पूजा गरेर श्रीपञ्चमी पर्व मनाइँदै, विद्या बुद्धि बढ्ने विश्वास
काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंशवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या र सृजनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला-साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा आराधना गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन् । सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ । गान्धर्व पुराणमा आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही)जस्ता सामाजिक तथा धार्मिककार्य गर्न साइत हेर्नुपर्दैन भन्ने विश्वास छ । तर यस वर्ष शुक्र अस्त भएकाले यी शुभकर्म भने गरिँदैन । यस दिन बालबालिकालाई शिक्षा आरम्भका साथै नाक, कान छेडिदिने गरिन्छ । उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोई निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ । वसन्त श्रवण यस अवसरमा हनुमानढोका दरबारको नासल चोकमा राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने चलन छ । शुक्रबार बिहान १०:२७ मिनेटको शुभसाइतमा राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण गर्न साइत दिइएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले जानकारी दिए । वसन्त श्रवणमा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, राष्ट्रिय सभा अध्यक्ष तथा सदस्यहरू, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्य लगायतको उपस्थिति रहने हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । वसन्त श्रवणको सबै तयारी पूरा भएको कार्यालयले जनाएको छ ।