विकासन्युज

कलाकारसँग प्रधानमन्त्री कार्कीले भनिन्- दुष्प्रचार चिर्न भूमिका खेलि दिनुहोस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान समयमा सबैको साथ आवश्यक भएको बताएकी छिन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा कलाकारहरूसँगको भेटमा उनले सामाजिक सञ्जालतिर भइरहेको दुष्प्रचार चिर्न भूमिका खेल्नुपर्ने बताइन् ।  ‘समाजमा तपाईँ कलाकारहरूको प्रभाव छ, सामाजिक सञ्जालतिर भइरहेको दुष्प्रचार चिर्नका लागि तपाईँहरूले पनि भूमिका खेलि दिनुहोस् । हाम्रा केही कमी कमजोरी भए पनि औंल्याइ दिनुहोस् । तर, असल नियतले काम गर्दागर्दै कसैले गाली गर्छ भने त्यस्ता गालीसँग डराउँदैनौँ, हाम्रो उद्देश्य र लक्ष्यमा हामी स्पष्ट छौँ,’ उनले भनिन् । कलाकारहरूले पनि प्रधानमन्त्री कार्कीलाई गलत सूचना र प्रोपोगान्डाबाट नडराइ सङ्कल्पअनुसार अघि बढ्न सुझाव दिए । उनीहरुले भ्रष्टाचारविरुद्धको कारबाही र आगामी निर्वाचनलाई अर्जुनदृष्टि बनाएर अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिए । ‘सरकारसँग हामी केही माग्न आएका होइनौ, यो देश रहेमा माग्ने कुरा माग्दै गरौँला, पहिला यो देश बचोस् । यसका लागि सरकारले खुट्टा बलियो गरी टेकेर अघि बढोस्,’ कलाकारहरूले भने । मुलुकको पहिलो महिला प्रधानन्यायाधीशका रूपमा काम गरेपछि पनि  कठिन परिस्थितिमा मुलुकको नेतृत्व सम्हाल्नुभएका प्रधानमन्त्री कार्कीप्रति उनीहरूले कृतज्ञता पनि प्रकट गरे । ‘अब के पो हुन्छ भनेर हामीलाई डर लागिरहेका बेला सम्हाल्न हजुर आउनुभएको छ,’ अभिनेत्री ऋचा शर्माले भनिन्, ‘हामीलाई ढुक्क भएको छ । यहाँको सरल, सादगी पूर्ण र स्पष्ट वक्ता शैलीका कारण पनि भरोसा जागेको छ । अब मुलुक सही दिशामा अघि बढ्नेमा हामीलाई विश्वास छ ।’ परिवर्तन नरुचाएका तत्वहरूले गृहमन्त्री ओमप्रकाश अर्यालसहित यो सरकारलाई विवादमा तान्न खोजेको उनीहरुको दाबी छ । त्यसका लागि लागि सामाजिक सञ्जालमा भइरहेको दुष्प्रचारका विषयमा उनीहरुले चासो व्यक्त गरेका थिए । अभिनेता विपिन कार्कीले भने, ‘गृहमन्त्रीज्यूका केही दिनका अभिव्यक्तिले सरकार डराएको छैन भन्ने अनुभूति हामीलाई भएको छ, सरकारप्रति थप विश्वास र आशा जागेको छ । अझै सरकार दरिलो रहेछ भन्ने अनुभूति गर्न पाऊँ ।’ गृहमन्त्रीले कानुनको शासनका पक्षमा देखाएको अडान र विपद् व्यवस्थापनमा खेलेको भूमिकाको सराहना गर्दै उनीहरूले देशमा सरकार छ भन्ने कुराको अनुभूति भएको बताए ।  अभिनेता निश्चल बस्नेतले भने, ‘आफू सही धरातलमा छु भन्ने लागेको छ भने कसैसँग डराउनुपर्दैन, ढुक्कसँग अघि बढ्नुहोस् । तपाईँको पक्षमा हामी छौँ । देशलाई थप अप्ठ्यारो आउन नदिन यतिखेर राष्ट्रिय एकताको खाँचो छ । सरकारलाई सहयोगको खाँचो छ र यतिखेर सकारात्मकताको खाँचो छ ।’ साहित्य र कलाले आलोचनात्मक चेत बोक्ने भए पनि अहिले तटस्थ नागरिक सरकार रहेको र पूर्व प्रधानन्यायाधीशदेखि समाजका प्रतिष्ठित, विज्ञ, विशेषज्ञहरू मन्त्रिमण्डलमा सामेल भएका कारण पनि कम्तीमा विगतमा जस्तो बेथितिको संरक्षण हुने छैन भन्ने विश्वास पनि उनीहरूले व्यक्त गरे ।  सङ्गीतकार कालीप्रसाद बाँस्कोटाले भने, ‘समाज भड्काउन सजिलो छ, सम्हाल्न गाह्रो छ, अहिले भड्काउन खोज्नेहरू बढी देखिएका छन्, त्यस्ता तत्वहरूप्रति सचेत रहँदै सम्हाल्ने र सम्हालिने समय हो यो ।’ वर्तमान सरकारलाई बदनाम र कमजोर बनाउँदै अस्थिरताको लाभ लिन खोज्नेहरूले नियोजित रूपमा चलाइरहेका अभियानलाई निस्तेज बनाउन जेनजी युवादेखि परिवर्तन पक्षधर सबै एक ठाउँमा उभिनु पर्ने आवश्यकता पनि सर्जनहरूले औंल्याए ।  त्यस अवसरमा कलाकार तथा सर्जकहरु विजय बराल, सुजित बिडारी, निश्चल बस्नेत, विपिन कार्की, सान बस्न्यात, दिव्यदेव पन्त, कालीप्रसाद बास्कोटा, ऋचा शर्मा, कर्मा लगायतको उपस्थिति थियो ।

सरकारले तोकेको पारिश्रमिक कार्यान्वयन गर्नुपर्ने नर्सहरूको माग

काठमाडौं । नेपाल नर्सिङ सङ्घले सरकारले तोकेको पारिश्रमिक कार्यान्वयन गर्नुपर्ने माग गरेको छ । सङ्घले आज विज्ञप्ति जारी गरी यही असोज २४ गते वर्तमान अन्तरिम सरकारले न्यूनतम् तलब सुविधा कार्यान्वयन गर्न पुनः निर्देशन दिए पनि अस्पतालहरूले बेवास्ता गरेको भन्दै कार्यान्वयनको माग गरेको हो । सङ्घका अनुसार नेपाल सरकारले २०८१ साल मङ्सिर २७ गते निर्धारण गरेको न्यूनतम् तलब तथा सुविधा हालसम्म पनि धेरैजसो स्वास्थ्य संस्थाले लागू गरेका छैनन् । स्वास्थ्य क्षेत्रमा पाँचौं तहको तलबमान ३४ हजार रुपैयाँसम्म भए पनि आफूहरूले १५ हजार रुपैयाँ तलबमा काम गर्नुपरेको गुनासो गर्दै आएका छन् । सङ्घले न्यूनतम् तलब सुविधा कार्यान्वयनको माग गर्दै देशभरका शिक्षण, सरकारी, निजी तथा सामुदायिक अस्पतालमा कार्यरत नर्स र अन्य स्वास्थ्यकर्मी आन्दोलित भएको पनि जनाएको छ । 

मनै लोभ्याउने पुनहिल

राम थापा काठमाडौं । झिसमिसेमै नपुगे पुनहिलको यात्रा अधुरो हुन्छ । पुनहिल गएर सूर्योदय नहेरी के फर्कनु १ घोरेपानीमा रात काटेका आगन्तुकहरू सूर्योदय नियाल्न सखारै पुनहिलको उकालो लाग्छन् । पूर्वमा लाली चढ्दै गर्दा पुनहिल सेरोफरो आगन्तुकले ढाकिइसकेको हुन्छ । सबै सूर्योदय नियाल्न व्यग्र देखिन्छन् । चराहरूको चिरबिरसँगै विस्तारै हिमाल खुल्न थाल्छ । घामको पहिलो झुल्का हिउँचुचुरोमा पर्दाको दृश्यले मोहित तुल्याउँछ । छिनभरमै घामका कलिला किरण पुनहिलमा छाइसक्छन् । हिमालको काखबाट सूर्य उदाएको दृश्यले कसलाई पो नलोभ्याउला र १ सूर्योदयको मनप्रिय दृश्यलाई आँखादेखि क्यामेरासम्म कैद गर्नेहरूको तछाडमछाड देखिन्छ । विदेशीहरू आफ्नै देशको झण्डा ओडेर तस्बिर खिचिरहेका भेटिन्छन् भने नेपालीहरू चन्द्र-सूर्य अङ्कित झण्डासहित । पुनहिल पुग्दाको क्षणलाई कतिपयले आत्मिक र भावनात्मक रूपमा पनि तस्बिरमा कैद गरिरहेका हुन्छन् । यसरी पुनहिल प्रकृतिप्रेमीमाझ एक अनुपम छटाका रूपमा परचित छ । सूर्योदयपखको पुनहिलले महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता ‘सुनको बिहान’को झझल्को दिलाउँछ ।  'सुनको दिन एक उदाउँछ रे यस देश खुलीकन आउँछ रे !!! ।  शरद र वसन्तयाममा पुनहिलको सौन्दर्य बिछट्टै खुल्छ । चैत-वैशाखतिर लालीगुराँसले राताम्मे देखिने घोरेपानी-पुनहिल क्षेत्र हिउँदमा हिउँसँग लुकामारी खेल्छ । न धेरै जाडो न गर्मी शरदयाममा पनि उसैगरी आगन्तुकलाई लोभ्याइरहेको हुन्छ घोरेपानी-पुनहिलले । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा अवस्थित यस गन्तव्यमा बर्सेनि हजारौँ देशीविदेशी पर्यटक पुग्ने गर्छन् । पर्यटकीय राजधानी सहर पोखरादेखि नजिक पर्ने भएकाले पहुँच र प्रवर्द्धनका हिसाबले पनि घोरेपानी-पुनहिल क्षेत्र अगाडि छ । यतिबेला मौसम खुलेको छ । दिन घमाइला छन् । चाडबाडको याम छ । यहीबेला मुख्य पर्यटकीय याम चलिरहेको छ । पर्यटकहरू कोही सडकमार्ग त कोही पदमार्ग भएर पुनहिल पुगिरहेका छन् । प्रकृतिको भव्यतामा रमाउने जोकोहीका लागि यो एक आकर्षक थलो हो । पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने घोरेपानी-पुनहिल छोटो दूरीको पदयात्राका लागि बढी लोकप्रिय रहेको पर्यटक पथप्रदर्शक दिवस गुरूङले बताए । उनका अनुसार तीनदेखि चार दिनसम्ममा घोरेपानी-पुनहिलको पदयात्रा गर्न सकिन्छ । सडकमार्ग पनि प्रयोग गरेमा दूरी अझै घट्ने गुरुङले बताए । हालै म्याग्दी र कास्कीतर्फबाट सडक मार्ग त्यस ठाउँमा जोडिएको छ । ‘कम खर्चमा छोटो अवधिको पदयात्राका लागि पुनहिल उत्कृष्ट गन्तव्य मानिन्छ । अहिले सडकले गर्दा कतिपय ठाउँमा पदमार्ग छोटिएको छ,’ उनले भने ।  सडक बनाउँदा परम्परागत पदमार्ग नासिँदै गएकाले पदयात्राको अवधि छोटिएको उनको भनाइ छ । शान्त तथा हरियाली वातावरण, हिमाली दृश्य, स्थानीय संस्कृति र जनजीवन, प्राकृतिक सम्पदा आदिले घोरेपानी-पुनहिलको शोभा बढाएको गुरूङले बताए । समुद्री सतहदेखि ३ हजार २१० मिटरको उचाइमा अवस्थित पुनहिल सूर्योदयसँगै हिमशृङ्खला अवलोकनका लागि पर्यटक आउने गरेको घोरेपानीका पर्यटन व्यवसायी जुली पुनले बताए ।  ‘मुख्य याममा दिनमै चारपाँच सयसम्म विदेशी पर्यटक आउँछन् । पछिल्लो समय आन्तरिक पर्यटकको पनि रोजाइमा परेको छ, प्रायः यहाँ आउने पर्यटक पदयात्रा गर्न रूचाउँछन्,’उनले भने ।  यो याममा भने पर्यटक आगमनमा केही गिरावट आएको छ । अहिले दैनिक दुई सय जति विदेशी पर्यटक पुनहिल पुग्ने गरेका छन् । आन्तरिक पर्यटकको आउजाउ विस्तारै बढ्दै छ । ‘जेनजी’ आन्दोलन, प्रतिकूल मौसम आदि कारणले गत वर्षको तुलनामा पर्यटक आगमन प्रभावित भएको हो । पुनहिल प्रवेश टिकट कक्षका अमृत पुनले अहिले दैनिक दुई सयको हाराहारीमा विदेशी पर्यटक आएको बताए ।  ‘कात्तिक महिना अझै बाँकी छ, पर्यटक बढ्ने आशा छ । मुख्यगरी असोज-कात्तिक र चैत-वैशाखमा यहाँ पर्यटकीय चहलपहल बढ्छ,’ उनले भने ।  घोरेपानीका पर्यटन व्यवसायी डमबहादुर पुनले मुख्यगरी सूर्योदय, सूर्यास्त र हिमशृङ्खला अवलोकनका लागि पर्यटक पुनहिल आउने गरेको बताए । अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्षसमेत रहेका उनले पुनहिलबाट एकैसाथ लमजुङदेखि गुर्जा हिमालसम्मको ‘पानोरमा भ्यू’ देख्न सकिने बताए ।  पुनहिलबाट विश्वका दश अग्ला हिमालमध्येमा पर्ने अन्नपूर्ण, धवलागिरि, मनास्लुलगायत दजनौँ हिमाल एकसाथ देख्न सकिने उनले जानकारी दिए । घोरेपानी-पुनहिलको प्रकृतिमय भूगोलले पनि पर्यटकलाई लोभ्याउने गरेको उनको भनाइ छ । घोरेपानी र पुनहिल क्षेत्र हरेक ऋतुकालमा भिन्न विशेषतामा खुल्ने गरेको छ । पहिलोपल्ट त्यहाँ पाइला राख्दा जोकोहीको मन फुरुङ्ग हुन्छ । सहरको कोलाहल र पट्यारलाग्दो दैनिकी छलेर पुनहिल पुग्नेले तनाव भुल्छन् । प्रकृतिमा नजर अडाउँछन् र मन शान्त पार्छन् । आँखैअघि दन्तलहरझैँ खुलेका हिउँचुचुरोका दृश्य चित्ताकर्षक लाग्छ । घोरेपानीबाट पुनहिल आधा घण्टाको पदयात्रामा पुगिन्छ । कुनैबेलाको ‘लुङटुङ’ डाँडा अहिले पुनहिलका रूपमा विश्व पर्यटन बजारमा स्थापित छ । चार दशकअघिसम्म उक्त क्षेत्र खिवाङ गाउँका किसानको चरन क्षेत्र थियो । भारतीय सेनाबाट सेवा निवृत्त स्वर्गीय मेजर टेकबहादुर पुनले पुनहिलको नामकरण गरेका थिए । त्यस क्षेत्रको पर्यटन विकासको जग हालेको श्रेय पनि पुनलाई दिइन्छ । उनको स्मृतिमा पुनहिलमा भ्यूटावर बनाइएको छ । मेजर टेकबहादुरले लुङटुङ डाँडालाई पुनहिलको नामले चिनाएकै कारण यसको पहिचान देशविदेशमा फैलिएको र पर्यटकीय गतिविधि सुरु भएको घोरेपानीका पर्यटन व्यवसायी बताउँछन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा समेटिएपछि यस क्षेत्रको बारेमा अन्तरराष्ट्रियस्तरमा प्रचारप्रसार भएको थियो । यस क्षेत्रमा वार्षिक ३० हजारको हाराहारीमा विदेशी पर्यटक भित्रिने गरेका गरेका छन् । पुनहिल भ्रमण गर्ने पर्यटकबाट प्रवेश शुल्क उठाउन र चिया पसल सञ्चालन गर्न अन्नपूर्ण गाउँपालिकाले चालु आवमा ५४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । विदेशीले प्रतिव्यक्ति १५० रुपैयाँ र नेपालीले ५० रुपैयाँका दरले प्रवेश शुल्क तिर्नुपर्छ । घारेपानीमा हाल दैनिक १ हजार जनाभन्दा बढी बास बस्न सक्ने क्षमताका २३ वटा सुविधासम्पन्न होटलहरु छन् । समुन्द्री सतहदेखि २ हजार ८१० मिटर उचाइमा पहाडको टाकुरामा अवस्थित घोरेपानीका अधिकांश होटलका कोठाबाटै हिमाल देख्न पाउनु अर्को विशेषता हो । कास्कीको नयाँपुलबाट उल्लेरी हुँदै पुनहिल आउने पदमार्ग बढी प्रचलित छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका, पोखरेबगरबाट पनि त्यहाँ पुग्न सकिन्छ । अधिकांश पर्यटक पुनहिलबाट टाडापानी, घान्द्रुक, नयाँपुल हुँदै पोखरा फर्कने गर्छन् । कतिपय म्याग्दीको पोखरेबगर हुँदै भुरुङ तातोपानी पुग्छन् । त्यो मार्गबाट मुस्ताङतर्फको यात्रा पनि तय गर्न सकिन्छ । पर्यटक पथप्रदर्शक गुरुङका अनुसार पुनहिलबाट मोहरे, कोखेडाँडा हुँदै उल्लेरी निस्केर नयाँपुल फर्कने र पर्वततर्फ जाने अर्को पदमार्ग पनि छ । पुनहिलबाट स्वातँ हुँदै म्याग्दीको अर्को पर्यटकीयस्थल खोप्रा लेक जाने अर्को पदमार्ग पनि सञ्चालनमा छ । पर्यटकीय नगरी पोखरादेखि नयाँपुल हुँदै एकैदिनमा घोरेपानी पुग्न सकिन्छ । कास्कीको घान्द्रुक, म्याग्दीको भुरुङ तातोपानी र मोहरेडाडाँ भएर पनि घोरेपानी पुग्न सकिन्छ । कास्कीको वीरेठाँटी-उल्लेरी-घोरेपानी, नयाँपुल-घान्द्रुक-घोडेपानी, म्याग्दीको नागी-महरे-फूलबारी-घोरेपानी र तातोपानी-घार-शिख हुँदै घोरेपानी पुग्न सकिने गरी पदमार्गहरु सञ्चालनमा छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर हुँदै घार, शिख हुँदै सडकको प्रयोग गरेर पनि घारेपानी पुग्न सकिन्छ । नयाँपुलदेखि वीरेठाँटी, उल्लेरी हुँदै घारेपानीसम्मै पदयात्रा पनि गर्न सकिन्छ । घोरेपानी-पुनहिललगायत अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने गन्तव्यस्थल प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, संस्कृतिलगायत कारणले पर्यटकको रोजाइमा पर्ने गरेका छन् । पर्यटकले कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायतका मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा तय गर्छन् । सडक मार्ग हुँदै पनि यस क्षेत्रका विभिन्न गन्तव्यस्थलमा पुग्न सकिन्छ । रासस

जुम्लामा बढे सम्बन्धविच्छेदका मुद्दा

जुम्ला । सम्बन्ध विच्छेदको उजुरी बढेसँगै जुम्लाबासीमा चिन्ता देखिएको छ । संयुक्त परिवारका रूपमा एकै घरमा तीन–चार पुस्ता रमाउने गरेको जुम्लामा पछिल्ला वर्षमा सम्बन्ध विच्छेदसम्बन्धी उजुरी, मुद्दा मामिला बढेकामा जिल्लावासी चिन्तित देखिन्छन् । जिल्ला अदालत जुम्लाका खरिदार हरिकृष्ण तिमिल्सेनाका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ६९ वटा सम्बन्धविच्छेदका उजुरी परेकामा ४८ वटा फर्छ्याैट भई २१ वटा फैसला हुन बाँकी रहेको छ ।   यस्तै, गत आर्थिक वर्ष २०८१/८२ मा ७४ वटा सम्बन्धविच्छेदका उजुरी परेकामा ४८ वटा फर्छ्याैट भई २६ वटा फैसला हुन बाँकी रहेको छ ।   यसैगरी चालु आर्थिक वर्षको तीन महिनामा सम्बन्धविच्छेदसम्बन्धी ४३ वटा उजुरी परेकामा १५ वटा फर्छ्याैट भएको र २८ वटा निर्णय हुन बाँकी रहेको अदालतले जनाएको छ ।   यसरी अदालतबाट प्राप्त अघिल्लो, गत र चालु आवको तथ्याङ्कलाई विश्लेषण गर्दा जिल्लामा सम्बन्धविच्छेदका लागि उजुरी दिन आउनेको सङ्ख्या वृद्धि हुँदै गएको देखिन्छ ।   घरेलु हिंसासम्बन्धी मुद्दाको हकमा स्थानीय तहको न्यायिक समिति तथा प्रहरी प्रशासनलगायतका सरकारी संयन्त्रमा उजुरी दर्ता गरी मेलमिलाप गर्न सकिने कानुनी व्यवस्था भएको तर ‘सम्बन्धविच्छेद’सम्बन्धी मुद्दाको टुङ्गो अदालतबाट हुने भएकाले उजुरी दिन आउनेको सङ्ख्या बढेको हुनसक्ने अदालतले जनाएको छ ।

विदेशी लगानीमा उत्साहजनक वृद्धि, तीन महिनामै ३५ अर्बको प्रतिबद्धता

काठमाडौं । पछिल्ला वर्षहरूमा वैदेशिक लगानी बढेर गएको छ । उद्योग विभागकाअनुसार पछिल्लो तीन महिनामा मात्रै ३५ अर्ब रुपैयाँभन्दा बढीको वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ । गत साउनदेखि असोज मसान्तसम्ममा ३ सय ११ वटा उद्योगमा ३५ अर्ब १३ करोड ७७ लाख ८६ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो । चालु आर्थिक वर्षमा सात वटा ठूला, चारवटा मध्यम र ३०० वटा साना उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ भने गत असोजमा मात्र ७५ वटा साना उद्योगमा २ अर्ब ४ करोड ५७ लाख ३२ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ ।  हालसम्म विभागले सात हजार ५५० वटा उद्योगमा खर्ब ८६ अर्ब ५५ करोड ९९ लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता स्वीकृत गरिसकेको छ । गत साउनदेखि असोज महिनासम्म भित्रिएको प्रत्यक्ष वैदेशिक लगानीको तथ्यांक हेर्दा सबैभन्दा बढी सूचना प्रविधिमूलक क्षेत्रका १६२ वटा उद्योगका लागि १५ करोड ३७ लाख ३२ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । रकमका आधारमा भने पर्यटनमूलक क्षेत्रका १०३ उद्योगमा सबैभन्दा धेरै एक अर्ब ४६ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो । उत्पादनमूलक क्षेत्रका १५ उद्योगमा २१ करोड १० लाख, कृषिमूलक क्षेत्रका ११ उद्योगमा चार करोड र सेवामूलक क्षेत्रका १९ उद्योगमा १८ करोड १० लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता आएको छ । पछिल्ला वर्षमा आएको वैदेशिक लगानीको प्राप्ति हेर्ने हो भने गत आर्थिक वर्ष २०८१/८२ मा कुल वैदेशिक लगानी आप्रवाह ४१.८ प्रतिशतले वृद्धि भएको छ । सो वर्ष १५ अर्ब २ करोड पुगेको थियो । त्यसअघिको आर्थिक वर्ष २०८०/८१ मा ८ अर्ब ४७ करोड बराबरको वैदेशिक लगानी मुलुकमा भित्रिएको थियो । आर्थिक वर्ष २०८१/८२ मा उद्योग विभागबाट स्वीकृत कुल विदेशी लगानी ७४ अर्ब ९७ करोड रहेको थियो । आर्थिक वर्ष २०८०/८१ मा ६१ अर्ब ९० करोड बराबरको विदेशी लगानी स्वीकृत भएको थियो । २०८२ असारसम्ममा ६ खर्ब ५१ अर्ब ४५ करोड बराबरको कुल विदेशी लगानी उद्योग विभागबाट स्वीकृत भएको थियो । 

अझै निर्वाचनको वातावरण बनेको नबनेको दाहालको आरोप

महेन्द्रनगर (धनुषा) । नेकपा (माओवादी केन्द्र) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताएका छन् । जनकपुरधाम विमानस्थलमा बुधबार पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले सरकारले यसलाई गम्भीरतापूर्वक लिएर निर्वाचनको वातावरण बनाउनुपर्ने बताए ।  सरकारले मङ्गलबार राजनीतिक दलहरूसँग गरेको वार्ताले सरकार विस्तारै निर्वाचनप्रति गम्भीर हुँदै गएको आभास दिए पनि अझै निर्वाचनको वातावरण बनी नसकेको उनको भनाइ थियो । अध्यक्ष दाहालले अन्तरिम सरकारले निर्वाचन घोषणा गरिसकेपछि निर्वाचनमै केन्द्रित हुनुपर्ने बताए ।  वामपन्थी एकता र ध्रुवीकरणबारे बोल्दै अध्यक्ष दाहालले समाजवादी मोर्चामा रहेका पार्टीहरू एकता प्रक्रियातर्फ अगाडि बढेको उल्लेख गरे । छठ पर्वपछि वामपन्थी एकताको नयाँ परिस्थिति देखिने उनले विश्वास व्यक्त गरे ।

जेनजी प्रदर्शनको क्रममा नष्ट भएको घर हेर्न गए केपी ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली जेनजी प्रदर्शनकारीहरुको आगजनी, तोडफोड र लुटपाटले ध्वस्त बनाएको बालकोटस्थित आफ्नो निवासमा पुगेका छन् । जेनजी आन्दोलनपछि पहिलो पटक उनी श्रीमती राधिका शाक्यसहित ध्वस्त आफ्नो निवासमा पुगेका हुन् । यसअघि ओली पत्नी शाक्य भने यसअघि नै सो निवासमा पुगी अनुगमन गरेकी थिइन् ।  ओली निवासमा आगजनीको क्रममा धेरैजसो पुस्तकलगायतका अध्ययन सामग्री जलेको प्रत्यक्षदर्शीहरुले बताएका थिए ।  ओली पत्नी शाक्यले भने राज्यका लागि दिने भनेर राखिएको पुरातात्विक महत्त्वका धेरै सामग्रीहरू जलेर नष्ट भएको बताएकी थिइन् ।  ओलीले मरणोप्रान्त सो निवास ट्रष्टको नाममा राज्यलाई दिने घोषणा गरेका थिए ।

बागमती सरकारले तीन महिनामा ७ अर्ब ६४ करोड राजस्व सङ्कलन

बागमती ।  चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा बागमती प्रदेश सरकारले वार्षिक लक्ष्यको ११ दशमलव ३४ प्रतिशत अर्थात् ७ अर्ब ६४ करोड ५० लाख ८१ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।      घरजग्गा रजिष्ट्रेसन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयस्रोत मानिन्छ । दुवै शीर्षकसहित बाँडफाँड आर्थिक वर्ष २०८२/८३ मा ३० अर्ब ८९ करोड ११ लाख ८९ हजार राजस्व सङ्कलन हुने अनुमान गरिएकामा साउनदेखि असोजसम्ममा लक्ष्यको १४ दशमलव २१ प्रतिशतअर्थात् ४ अर्ब ३८ करोड ८३ लाख १३ हजार मात्र राजस्व सङ्कलन भएको आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलले जानकारी दिए । उनका अनुसार चालु आव २०८२/८३ मा घरजग्गा रजिष्ट्रेशन शीर्षकबाट ७ अर्ब ७० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकमा तीन महिनाको अवधिमा त्यसको करिब १३ दशमलव ३१ प्रतिशत अर्थात १ अर्ब दुई करोड ५२ लाख २६ हजार राजस्व सङ्कलन भएको छ ।  यस्तै प्रदेश सरकारले सवारीसाधन जाँचपास, रुट पर्मिट, सवारीचालक अनुमतिपत्र वितरण तथा नवीकरणअन्तर्गत सवारी कर शीर्षकबाट आव २०८२/८३ मा ८ अर्ब २५ करोड अनुमान गरिएकामा असोजसम्म २१ दशमलव १७ प्रतिशत अर्थात १ अर्ब ७४ करोड ६१ लाख ५० हजार राजस्व सङ्कलन गरेको छ ।  प्रदेश सरकारले बाँडफाँटबाट प्राप्त हुने मूल्य अभिवृद्धि करबापत ८ अर्ब ७९ करोड ८६ लाख ६७ हजार प्राप्त हुने अनुमान गरिएकामा सो अवधिसम्ममा १ अर्ब १५ करोड ४६ लाख आठ हजार सङ्कलन भएको छ भने अन्तःशुल्क करबापत रु चार अर्ब तीन करोड ७९ लाख नौ हजार प्राप्त हुने अनुमान गरिएकामा रु ४२ करोड ११ लाख ३३ हजार प्राप्त भएको मन्त्रालयले जनाएको छ ।  त्यसैगरी सङघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानअन्तर्गत १४ अर्ब ८१ करोड ९३ लाख प्राप्त हुने अनुमान गरिएकामा तीन महिनाको अवधिमा २ अर्ब ३३ करोड ९९ लाख १६ हजार मात्र प्राप्त भएको सूचना अधिकारी पौडेलले बताए । यस्तै चालु आव २०८२/८३ मा प्रदेश सरकारको आन्तरिक स्रोतबाट सङ्कलित राजस्वबाट ४ अर्ब ७७ करोड ७४ लाख २५ हजार प्राप्त हुने अनुमान गरिएकामा तीन महिनाको अवधिमा ८७ करोड आठ लाख २० हजार मात्र प्राप्त भएको मन्त्रालयले जनाएको छ । आर्थिक तरलताका कारण घरजग्गा तथा नयाँ सवारी साधन खरिद बिक्री कारोबारमा आएको कमी, गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रदेश सरकारको राजस्व सङ्कलन गर्ने विभिन्न निकायमा पुगेको क्षति लगायतका कारणले अपेक्षाकृत राजस्व सङ्कलन हुन नसकेको सूचना अधिकारी पौडेलको भनाइ छ ।