विकासन्युज

दीपावलीमा पटाका पड्काउँदा विषालु धुवाँले ढाकियो नयाँ दिल्ली

काठमाडौं । लाखौँ श्रद्धालुले हिन्दू पर्व दीपावली धुमधामका साथ आतशबाजी गरी मनाएपछि मङ्गलबार भारतको राजधानी नयाँ दिल्ली घना र विषालु धुवाँले ढाकिएको छ । यो उत्सवले राजधानीको वायु प्रदूषणलाई खतरनाक स्तरसम्म पुर्‍याएको अधिकारीहरूले बताएका छन् । सोमबार राति ढिलोसम्म फोडिएका पटाकाहरूले हावामा धुवाँ र सूक्ष्म कणहरूको मात्रा तीव्र रूपमा बढायो, जसले पहिल्यै मौसमी प्रदूषण र स्थिर मौसमको अवस्थासँग मिसिएर वातावरणलाई झन् विषाक्त बनायो । मङ्गलबार बिहानसम्म नयाँदिल्लीका अधिकांश क्षेत्रमा वायु गुणस्तर सूचकाङ्क (एक्युआई) ३५० नाघेको थियो । जुन विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार ‘गम्भीर’ स्तर हो र सास फेर्न नै खतरनाक मानिन्छ । शहरका धेरै भागमा दृश्यता घटेको, सडक र भवनहरू खैरो धुवाँले ढाकिएका र ऐतिहासिक स्मारकहरू समेत धमिलो रूपमा देखिन थालेका थिए ।  ‘मैले यति बाक्लो प्रदूषण पहिले कहिल्यै देखेको थिइँन । यहाँ त देख्नै नसकिने अवस्था छ,’ नयाँ दिल्ली भ्रमणमा रहेका पर्यटक वेदान्त पचकन्डेले भने । भारतको सर्वोच्च अदालतले गत हप्ता कम प्रदूषण उत्सर्जन गर्ने ‘हरित पटाका’ को सीमित प्रयोगलाई अनुमति दिँदै दीपावलीका बेला पटाका माथिको पूर्ण प्रतिबन्ध केही हदसम्म फुकुवा गरेको थियो । सङ्घीय अनुसन्धान संस्थानहरूले विकास गरेका ती हरित पटाकाहरूले साधारण पटाकाको तुलनामा करिब ३० प्रतिशत कम कण र ग्यास उत्सर्जन गर्ने बताइएको छ ।  अदालतले शनिबारदेखि मङ्गलबारसम्म निश्चित समयमा मात्र ती पटाका प्रयोग गर्न सकिने व्यवस्था गरेको थियो, तर विगतका वर्षहरू जस्तै यस वर्ष पनि नियम व्यापक रूपमा उल्लङ्घन भएको देखियो । नयाँ दिल्ली र यसको वरिपरिका क्षेत्रमा तीन करोडभन्दा बढी जनसङ्ख्या बसोबास गर्छ । दीपावलीको आतशबाजी, चिसो मौसम र नजिकका राज्यहरूमा किसानहरूले खेतमा लगाएको बालीको अवशेष जलाउँदा निस्कने धुवाँ एकैसाथ मिसिँदा यी क्षेत्रहरू जाडो मौसममा विश्वकै सबैभन्दा प्रदूषित शहरहरूमा पर्ने गरेका छन् । राजधानीका अधिकारीहरूले प्रदूषण नियन्त्रण गर्न विभिन्न उपाय लागू गरेका छन्, जसमा निर्माण गतिविधिमा प्रतिबन्ध, डिजेल जेनेरेटरको प्रयोगमा नियन्त्रण तथा सवारी साधनमा कडा निगरानी समावेश छ । तर पर्यावरण विद्हरूले यो वार्षिक सङ्कट अन्त्य गर्नका लागि स्वच्छ ऊर्जा प्रवर्द्धन, सार्वजनिक यातायात सुधार र सवारी उत्सर्जन नियन्त्रण जस्ता दीर्घकालीन समाधान अनिवार्य रहेको बताएका छन् । हालैको एक वैज्ञानिक अध्ययनले वायु प्रदूषणको वृद्धिले भारतमा सूर्यको प्रकाशको मात्रा घटाएको चेतावनी दिएको छ । नेचर पोर्टफोलियोको जर्नल साइन्टिफिक रिपोर्ट्समा प्रकाशित अध्ययन अनुसार बढ्दो औद्योगिक उत्सर्जन, बायोमास जलाउने र सवारी साधनबाट निस्कने एरोसोल कणहरूले सूर्यको किरण पृथ्वीमा पुग्ने समय घटाइरहेका छन् । ‘हामीले विशेषगरी उत्तरी भारतका बढी प्रदूषित क्षेत्रमा सूर्यको प्रकाशमा ठूलो कमी देखेका छौँ,’ अध्ययनका सहलेखक तथा बनारस हिन्दू विश्वविद्यालयका वैज्ञानिक मनोज के। श्रीवास्तवले भने ।  उनुसार, सूर्यको प्रकाशमा आएको यो कमीले भारतको सौर्य ऊर्जाको उत्पादन मात्र घटाउने नभई स्थानीय वातावरण, जनस्वास्थ्य र कृषि उत्पादकत्वमा समेत दीर्घकालीन नकारात्मक प्रभाव पार्नेछ ।

एमाले नेतृत्वको फैसला महाधिवेशनले नै गर्छ: उप-महासचिव ज्ञवाली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उप-महासचिव प्रदीप ज्ञवालीले आगामी मङ्सिरमा हुने पार्टी महाधिवेशनले नेतृत्वको फैसला गर्ने बताएका छन् । एमाले भक्तपुर जिल्ला कमिटीले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उहाँले निर्धारित मितिमा नै महाधिवेशन हुने र त्यही महाधिवेशनले नेतृत्वको फैसला गर्ने बताएका हुन् । हालै भएको तीन दिन लामो केन्द्रीय कमिटी बैठकमा पार्टीका बारेमा सविस्तार छलफल गरिएको चर्चा गर्दै उप-महासचिव ज्ञवालीले नेतृत्वमाथि प्रश्न उठाइएपछि ती प्रश्नको निरुपण गर्न महाधिवेशनको मिति निर्धारण गरिएको बताए ।  ‘बैठकमा केही साथीहरूले नेतृत्वमाथि प्रश्न उठाएपछि अनुत्तरित हुन सकिँदैन, पार्टीको सार्वभौमसत्ता पार्टीका कार्यकर्तामा निहित हुने भएकाले त्यही जाऔँ भन्ने कुरा भयो । अब महाधिवेशनले कसलाई नेता र नेतृत्वमा ल्याउन भन्छ, कस्तो नीति बनाउ भन्छ त्यही फैसलाअनुसार अगाडि बढ्छौँ,’ उनले भने । कार्यक्रममा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, पोलिट ब्यूरो सदस्य महेश बस्नेत, नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा, एमाले जिल्ला उपाध्यक्ष एवं बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा लगायतले ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिए ।

तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन सरकार कतिबद्ध रहेको बताएकी छिन् । राजनीतिक दलहरूसँग आज भएको संवादमा उनले यसैका निमित्त मन्त्रीहरू, सुरक्षा निकायलगायत सबैले अहोरात्र खटिएर काम गरिरहेको उल्लेख गरेको उनको सचिवालयले जनाएको छ । दलहरूसँग संवादमा ढिलाइ किन भन्ने सन्दर्भमा उनले भनिन्, ‘यसबीचमा घाइतेहरूको उपचार, सहिदका शव व्यवस्थापन र परिवारका लागि राहत, आन्दोलनकारी पक्षका आवाजको सुनुवाइ गर्नुपर्ने भयो । त्यसमा समय लाग्यो । सुरुवाती चरणमा जेनजी युवाहरूले दलहरूसँग संवाद गर्ने कुरा नै रुचाइरहनुभएको थिएन ।’ राष्ट्रपति रामचन्द्र पौडेलबाट संवादको ढोका खोलिदिने काम भएको बताउँदै प्रधानमन्त्री कार्कीले अब जेनजी र दलहरू बसेर जसरी हुन्छ, स्थिति सामान्यीकरण गर्दै चुनावतिर जान आह्वान गरिन् ।  ‘चुनाव सफल बनाउन सबैले आ-आफ्नो तर्फबाट भूमिका खेलौँ । यहाँहरूले व्यक्त गर्नुभएका चिन्ता र चासो सम्बोधन गर्न सरकार तयार छ,’ उनले भनिन् । प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभाको निर्वाचनको राजनीतिक वातावरण बनाउन आज विघटित संसदमा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेतासँग छलफल गरेकी हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी रहेका थिए । संवादमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कृषि तथा पशुपन्छी विकास मन्त्री डा मदनप्रसाद परियार, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी थिए ।  त्यसैगरी छलफलमा नेपाली कांग्रेसबाट गगनकुमार थापा र डा प्रकाशशरण महत, नेकपा (एमाले) बाट शंकर पोखरेल र प्रदीपकुमार ज्ञवाली, नेकपा (माओवादी केन्द्र) बाट वर्षमान पुन र पम्फा भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र सोबिता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालबाट उपेन्द्र यादव र प्रकाश अधिकारी, नेकपा (एकीकृत समाजवादी)बाट राजेन्द्र पाण्डे र प्रकाश ज्वालालगायत सहभागी थिए । 

देशभर तिहार पर्वको रौनक, जुम्ली किसानलाई मार्सी धान काट्न चटारो

काठमाडौं । खेतमा लटरम्मै पाकेको मार्सी धान काट्न जुम्लाका किसानलाई अहिले यहाँ भ्याइनभ्याइ भएको छ । देशभर तिहार पर्वको रौनकका बीच जुम्लाका किसान भने एकाबिहानै धानखेतमा पुगेर बेलुकी अबेरसम्म धान काटेर घर भित्र्याउन व्यस्त हुन परेको चन्दननाथ नगरपालिका-२ का स्थानीय लक्ष्मी कुमाईले बताइन् ।  यहाँका अधिकांश किसान दसैँ सकिएलगत्तै तिहार पर्व पनि नभनी धान काट्न व्यस्त देखिन्छन् । कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार जुम्लाको पहिचानका रुपमा रहेको मार्सी धान खेती गर्ने आफ्नै क्यालेन्डर छ, त्यही क्यालेन्डरका आधारमा जिल्लाका किसानहरु धान भित्र्याउन फाँटहरूमा व्यस्त छन् । किसानलाई मौसमले साथ दिएको छ । धान चैतमा बीउ राख्ने, जेठदेखि असारसम्म रोपाइँ गर्ने, साउन भदौमा गोड्ने र असोज–कात्तिकभित्र धान काटेर घरमा भित्र्याउने गरेको कार्यालय प्रमुख अधिकारीको भनाइ छ । किसानहरू बर्खेबाली धानसहित कोदो, सिमी र फापरलगायतका बालीनाली भित्र्याउने चटारोमा छन् । कृषि कार्यालयका अनुसार आव २०८०÷८१ मा जुम्लामा तीन हजार मेट्रिकटन मार्सी धान उत्पादन भएकामा २५० मेट्रिक टन जिल्लाबाहिर निर्यात भएको थियो । जिल्लाभर दुई हजार ८५० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेकामा पछिल्ला वर्षहरूमा क्रमशः मार्सी धान लगाउने क्षेत्रफल घट्दै गएको कार्यालयले जनाएको छ । गत वर्ष एक हजार ५०० हेक्टरमा रोपिएको मार्सी धान यस वर्ष भने १ हजार २०० हेक्टरमा मात्र खेती भएको कृषि विकास कार्यालयले जनाएको छ । अहिले यहाँका किसानले मार्सी धानसँगै कृषि अनुसन्धान केन्द्रले सिफारिस गरेको धानको जातमध्ये चन्दननाथ–एक र चन्दननाथ–तीन का साथै लेकाली–एक र लेकाली– तीन जातको धान रोप्ने गरेका छन् । जुम्ली मार्सी धान पहिचानसँग जोडिएको छ । अहिले मार्सी चामल सदरमुकाम खलङ्गामा प्रतिकेजी १८० रुपैयाँमा किनबेच भइरहेको छ । विशेषगरी जुम्ला घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले मार्सी चामल लिन गरेको सदरमुकामस्थित रारालिही अग्र्यानिक पसलका सञ्चालक अर्जुन बुढाले बताए । 

सरकारले उचित वातावरण बनाए कांग्रेस निर्वाचनमा सहभागी हुने कावा सभापति खड्काको दावी

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले उचित वातावरण बनाए आफ्नो पार्टी निर्वाचनमा सहभागी हुने बताएका छन् ।   सुर्खेतमा मंगलबार आयोजित त्यहाँका पूर्वपार्टी सभापति गोविन्दबहादुर मल्लको १३औं पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलीसभामा उनले चुनावका लागि बन्नुपर्ने सबै वातावरण बने पार्टी चुनावमा जान तयार रहेको बताएका हुन् । हालसम्म सरकारले चुनाव गराउने भरपर्दो कामहरू भने नगरेको  कावा सभापति खड्काको भनाइ थियो ।  सरकारले चुनाव गराउने हो भने पवित्र उद्देश्यसहित जेनजीले गरेको प्रदर्शनमा घुसपैठ गरेर लुटिएका हतियारहरू फिर्ता, प्रहरी र सुरक्षा निकायको मनोबल बढाउनुपर्नेमा जोड दिँदै उहाँले चुनावमा भाग लिने दलहरूलाई विश्वासमा लिइ आममतदातामा सुरक्षाको प्रत्याभूति गराउनुपर्ने सुझाव दिए ।   कावा सभापति खड्काले सरकार चुनावको वातावरण बनाउन छोडेर पार्टीका नेताहरूमाथि पूर्वाग्रही तरिकाले लाञ्छना लगाउने, भ्रम सृजना गर्ने र अन्योललाई बढाउने काममा लागेको आरोप लगाए । कावा सभापति खड्काले पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकले चुनाव, पार्टीको अधिवेशन, वर्तमान परिस्थितिबारे उपयुक्त निर्णय गर्ने पनि उल्लेख गरे ।  

जापानको पहिलो महिला प्रधानमन्त्री बनिन् सानेई ताकाइची

काठमाडौं । सानेई ताकाइची जापानकी पहिलो महिला प्रधानमन्त्री चुनिएकी छन् । जापानी संसदका दुवै सदनमा भएको मतदानमा उनलाई बहुमत प्राप्त भएको हो । ६४ वर्षीया ताकाइची दक्षिणपन्थी नेतृ हुन् । उनलाई जापानकी ‘आइरन लेडी’ भनेर पनि चिनिन्छ । जापानको प्रधानमन्त्री बन्ने यो उनको तेस्रो प्रयास हो । ताकाइची सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) की सदस्य हुन् । एलडीपीले पछिल्ला पाँच वर्षमा चौथोपटक नयाँ प्रधानमन्त्री चयन गरेको हो । पछिल्ला वर्षहरूमा यो पार्टी अनेक घोटालाका आरोपहरूमा घेरिएको थियो । सानेई ताकाइची जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेकी निकट सहयोगी पनि हुन् । यसअघि उनी सरकारमा मन्त्रीको रूपमा काम गरिसकेकी छिन् । उनी टेलिभिजन होस्ट र हेभी मेटल ड्रमर पनि रहिसकेकी छिन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताकाइचीको प्रशंसा गर्दै उनलाई 'अत्यन्त सम्मानित र बुद्धिमान नेतृ' भनेका थिए । प्रधानमन्त्री बनेपछि ताकाइचीका अगाडि धेरै चुनौतीहरू रहनेछन् । जस्तै, सुस्त अर्थतन्त्रलाई गति दिनु, अमेरिका–जापान सम्बन्धमा देखिएको खटासलाई सुधार्नु, र विभाजित सत्तारूढ पार्टीलाई एकताबद्ध गर्नु ।

‘जेनजी’ आन्दोलनका हरेक घाइतेलाई २० हजार रुपैयाँ, मृतक ५३ परिवारलाई राहत

काठमाडौं । सरकारले ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको भैपरी खर्चबापत् ४८ लाख ५८ हजार रुपैयाँ निकासा गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रारम्भिक प्रतिवेदनका आधारमा भैपरी खर्चबापत् प्रत्येक घाइतेलाई २० हजारका दरले वितरण गर्न सो रकम पठाइएको हो।  पहिलो चरणमा झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, कास्की, सुर्खेत, कैलाली र डडेलधुरामा रकम पठाइ सकिएको गृह मन्त्रालयले जनाएको छ । प्राविधिक समितिले वर्गीकरण गरेपश्चात् घाइतेको वर्गीकरणका आधारमा उचित राहत रकम व्यवस्था गर्ने गरी तत्कालका लागि भैपरी खर्चबापत् रकम उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद्ले गत असोज १२ गते गरेको थियो। हालसम्म स्वास्थ्य मन्त्रालयले दुई हजार ४२९ जना घाइतेको विवरण गृह मन्त्रालयमा उपलब्ध गराएको छ । गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूको पहिचान एवं सहज र प्रभावकारी उपचारको व्यवस्थाका लागि परिचयपत्र वितरण पनि गरेको छ । गृहले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा दुई हजार ८७६ परिचयपत्र पठाएको छ । ३८ वटा परिचयपत्र अस्पतालबाट वितरण गरिएको छ । घाइते व्यक्तिको पुनः उपचारका लागि अस्पतालहरू तोकी ती अस्पतालमा जेन–जी क्लिनिक सञ्चालनमा ल्याइएको छ । यसरी पुनः उपचारमा जाने घाइतेलाई निःशुल्क आवतजावतको व्यवस्था मिलाइएको गृह मन्त्रालयले जनाएको छ । घाइतेको उपचारकै लागि स्वास्थ्य मन्त्रालयले ‘हटलाइन’को व्यवस्था मिलाउनुका साथै सहजीकरणका लागि सम्पर्क व्यक्तिसमेत तोकिदिएको छ । घाइतेको अवस्थाका आधारमा वर्गीकरण गरी स्वास्थ्य मन्त्रालयमा प्राविधिक समिति गठन गरिँदै छ । यस समितिमा घाइतेका प्रतिनिधि पनि सामेल हुनेछन् । सरकारले जेनजी आन्दोलनका घाइतेको निःशुल्क उपचार गरिरहेको छ । अहिलेसम्म एक अर्बभन्दा बढी रकम घाइतेको उपचारमा खर्च भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री सुशीला कार्कीले गत बिहीबार स्वास्थ्य मन्त्रालयका सचिव विकास देवकोटासहितको टोलीलाई बोलाएर घाइतेहरुको अवस्थाबारे जानकारी लिँदै उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएकी थिइन् । मन्त्रिपरिषद्को गत भदौ ३० गते बसेको बैठकले आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको निःशुल्क उपचार गर्ने निर्णय गरेको थियो । घाइतेलाई दीर्घकालीन पुनःस्थापनाका विषयमा पनि सरकारी निकायबीच छलफल भइरहेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताए । मृतक ५३ परिवारलाई पठाइयो राहत गृह मन्त्रालयले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ५३ परिवारलाई १५ लाख रुपैयाँका दरले आर्थिक सहायता तथा किरिया खर्च पठाएको छ । तीमध्ये ४९ जनाका परिवारले प्राप्त गरिसकेको र चार जनाका परिवारलाई बुझाउने प्रक्रिया अघि बढेको छ । सहिदका आफन्तबीच सहमति कायम गरी बाँकी चार जनालाई पनि सहायता उपलब्ध गराउने प्रयास भइरहेको छ । गत भदौ ३० कै मन्त्रिपरिषद् बैठकले मृतक नेपाली नागरिकका परिवारलाई रु १० लाख आर्थिक सहायता र पाँच लाख रुपैयाँका दरले काजकिरिया तथा अन्य खर्चका लागि वितरण गर्ने निर्णय गरेको छ । आन्दोलनको मौका छोपी भाग्ने क्रममा मृत्यु भएका कैदीबन्दीलाई भने यो रकम वितरण गरिने छैन । जेनजी आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएको थियो । जसमा नेपाल प्रहरी तीनसहित पहिचान खुलेका नागरिक ५३ जना छन् । १२ जनाको अझै पहिचान खुल्न सकेको छैन । कारागारबाट भाग्न लाग्दा सुरक्षाकर्मीले चलाएको गोली लागी १० जना कैदीको मृत्यु भएको थियो । एक जना विदेशीको पनि ज्यान गएको थियो । सहिद घोषणा प्रयोजनका लागि मृतकहरुको पुष्टयाइँसहितको प्रहरी प्रतिवेदन र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत यकिन विवरण संकलन भइरहेको गृह मन्त्रालयले जनाएको छ । जेनजी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न सरकारले न्यायिक आयोग गठन गरेको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उक्त आयोगले तीव्रताका साथ काम अघि बढाएको जनाएको छ ।

पोखरामा जुवा खेलिरहेका २० जना पक्राउ

कास्की । प्रहरीले पोखराको नयाँजबार, लप्सीबोट र मोहरियाटोलबाट जुवा खेलिरहेका २० जनालाई पक्राउ गरेको छ । जुवातास खेलिरहेको अवस्थामा उनीहरूबाट नगद ६ लाख दुई हजार १०५ सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहेका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । प्रहरीका अनुसार पोखरा नयाँबजारबाट पाँच जना पक्राउ परेका छन् । उनीहरूको साथबाट दुई सय १२ पत्ती तास र नगद रु दुई लाख ५१ हजार ४५५ बरामद भएको छ ।  यसैगरी पोखरा महानगरपालिका–२६ विजयपुरको लप्सीबोट सामुदायिक वनबाट सात जना पक्राउ परेका छन् । उनीहरुको साथबाट १४ थान कौडा र रु ७७ हजार २०५ नगद फेला परेको छ । यस्तै प्रहरीले पोखरा–२ मोहोरियाटोलबाट आठ जना पक्राउ गरेको र उनीहरूको साथबाट छ बुक तास र नगद २  लाख ७३ हजार ४४५ बरामद गरिएको प्रनाउ बस्नेतले जानकारी दिए । पक्राउ परेकाहरूलाई अनुसन्धान तथा कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।