रेयर अर्थ्सको चिनियाँ दबदबा बढ्दा अटो उद्योग आतंकित, दुर्लभ धातु खोज्दै कम्पनीहरू
काठमाडौं । विश्वका अटो निर्माता कम्पनीहरू चीनको आगामी निर्यात नियन्त्रण अघि अत्यावश्यक दुर्लभ धातु (रेयर अर्थ्स) खोज्दै विश्वभर दौडिरहेका छन् । कार्यकारी अधिकृतहरू यी नियन्त्रणले उत्पादनका लागि आवश्यक पुर्जाको अभाव र कारखाना बन्द हुने अवस्थासमेत निम्त्याउन सक्नेमा चिन्तित छन् । दुर्लभ धातुबाट बनेका चुम्बकहरूले साइड मिरर, स्पिकर, तेल पम्प, विन्डसिल्ड वाइपर, इन्धन चुहावट र ब्रेक सेन्सर जस्ता कारका विभिन्न भागका मोटरहरू सञ्चालन गर्छन् । विद्युतीय सवारीसाधन (ईभी) मा त तिनको भूमिका अझ बढी महत्त्वपूर्ण हुन्छ । अमेरिका–चीनबीचको एउटा सम्झौताले तत्कालको आपूर्ति जोखिम त घटाएको छ, तर यसअघि पनि यस्तै प्रतिबन्धका कारण भण्डारहरू सकिएका थिए । साथै बेइजिङले निर्यात अनुमति पाउन अझ कडा नियम लागू गरेको छ । त्यसबेलादेखि चीनले निर्यात नियन्त्रणलाई ठूलो मात्रामा विस्तार गरेको छ, जसका कारण कम्पनीहरू विश्वव्यापी आपूर्ति अभावको सामना गरिरहेका छन् । कन्सल्टेन्सी कम्पनी अलिक्सपार्टनर्सका अनुसार चीनले विश्वका दुर्लभ धातु खानीमध्ये करिब ७० प्रतिशत, रिफाइनिङ क्षमताको ८५ प्रतिशत र धातु मिश्रण तथा चुम्बक उत्पादनको करिब ९० प्रतिशत नियन्त्रणमा राखेको छ । चीनको नयाँ निर्यात नियन्त्रण सूचीमा इटर्बियम, होमियम र युरोपियमजस्ता तत्त्वहरू पनि छन्, जसको प्रयोग गाडी निर्माणमा पनि हुन्छ । ‘स्थिति अत्यन्तै तनावपूर्ण छ,’ जर्मन मेटल–पाउडर आपूर्तिकर्ता एनएमडीकी सीईओ नाडिन राज्नरले भनिन्, ‘ग्राहकहरू चीन बाहेक जहाँसुकैबाट दुर्लभ धातु ल्याउन चाहन्छन् ।’ राज्नरका अनुसार स्विडेनजस्ता देशमा यस्ता धातु प्रशस्त भए पनि त्यहाँ खानी र रिफाइनिङ क्षमता नभएकाले प्रयोगयोग्य बनाउन सकिँदैन । र भारी दुर्लभ धातुको सन्दर्भमा चीनले विश्व रिफाइनिङ क्षमताको ९९.८ प्रतिशत नियन्त्रण गरेको छ, जसले वैकल्पिक स्रोतहरू लगभग नगण्य बनाएको छ । ‘हामीले अहिले प्रायः सबै बिक्री गरिसकेका छौं र सीमित मात्रामा स्टक बाँकी छ,’ उनले भनिन् । दुर्लभ धातुहरू पुराना गाडीहरूबाट पुनःप्रयोग गर्न सकिन्छ, तर त्यो उद्योग अझ प्रारम्भिक चरणमै छ । रिनल्ट समर्थित कम्पनी न्युट्रलले अहिले फ्रान्समा हरेक वर्ष ४ लाख गाडीबाट यस्ता धातु पुनःप्रयोग गर्छ र युरोपका १५ ब्रान्डसँग सम्झौता गरेको छ। तर ‘यी गतिविधिहरूलाई ठूलो स्तरमा विस्तार गर्नु चुनौतीपूर्ण छ,’ न्युट्रलका सीईओ जाँ–फिलिप बाहुआदले भने । पहिले नै सकिएको स्टक यदि चिनियाँ आपूर्तिकर्ताहरूले नोभेम्बर ८ अघि नयाँ अर्डर पूरा गर्न सके पनि चीनबाट युरोप पुग्न जहाजमार्फत ४५ दिन लाग्छ । त्यसैले दुर्लभ धातुको अभाव गाडी उद्योगका लागि ठूला समस्यामध्ये एक बनेको छ । चीनले लिथियम–आयन ब्याट्री र ब्याट्रीका सामग्रीमा पनि निर्यात प्रतिबन्ध लगाएको छ जसले विद्युत सवारीका पुर्जाको आपूर्तिमा थप चिन्ता बढाएको छ । गत हप्ता चीन र नेदरल्याण्डबीचको बौद्धिक सम्पत्ति (आईपी) विवादले पनि नयाँ डर सिर्जना गर्यो । यसले नेक्पेरिया नामक सानो डच चिप निर्माता कम्पनीलाई प्रभावित पार्यो जसले गाडीका पुर्जामा प्रयोग हुने धेरै चिप आपूर्ति गर्छ । गाडी निर्माता कम्पनीहरू अमेरिकी शुल्कको चुनौतीसँग पनि जुझिरहेका छन् र तेस्रो त्रैमासिक नतिजामा यसले थपिएको लागत खुलाउने अपेक्षा गरिएको छ । तर दुर्लभ धातुमा चीनको नियन्त्रण भने गाडी उद्योगका लागि सबैभन्दा कठिन समस्यामध्ये एक बनेको छ । ‘चीनले चाहे दुई महिनामै सम्पूर्ण गाडी उद्योग बन्द गरिदिन सक्छ,’ टोयोटा मोटरका उत्तरी अमेरिकी खरिद तथा आपूर्तिकर्ता विकास उपाध्यक्ष रायन ग्रिमले भने। बोस्चका फ्रान्स, बेनेलक्स, पश्चिम र दक्षिण युरोपका अध्यक्ष ब्रुनो गाहेरीले भने, ‘गाडी उद्योगले म्यादअघि दुर्लभ धातुहरू बढी मात्रामा स्टक गर्न खोज्नेछ ।’ तर हुन्डाईका लागि चुम्बक आपूर्तिकर्ता एक कार्यकारीले भने, ‘हामीले यस वर्ष सुरुमा स्टक बनाए पनि अधिकांश पहिले नै सकिएका छन् र अहिले आपूर्ति निकै कडा छ ।’ तीन उद्योग स्रोतहरूले रोयटर्सलाई भने अनुसार अक्टोबर ९ मा नयाँ निर्यात नियन्त्रण घोषणा भएपछि चिनियाँ दुर्लभ धातु निर्यातकर्ताहरूले विदेशी ग्राहकहरूबाट अर्डरको ठूलो बाढी पाएका थिए । दुर्लभ धातु–रहित मोटरहरू गाडी निर्माता कम्पनीहरू निर्भरता घटाउने प्रयासमा छन् । जनरल मोटर्स, जेएफ र बोर्गवार्नरजस्ता ठूला कम्पनीहरूले कम वा शून्य दुर्लभ धातु प्रयोग हुने ईभी मोटर विकास गरिरहेका छन् । बीएमडब्ल्यू र रिनल्टले त पहिले नै दुर्लभ धातु–रहित मोटर उत्पादन गरिसकेका छन् । ब्रिटिश कम्पनी मोनुमोले कृत्रिम बौद्धिकता (एआई) र डीप–टेक सिमुलेशनको प्रयोग गरेर ग्राहक कम्पनीहरूको मोटरमा दुर्लभ धातु प्रयोग २४ प्रतिशतसम्म घटाएको छ, जसका ग्राहकहरूमा विश्वका शीर्ष १० गाडी निर्माता कम्पनीहरू पनि छन् । अटो कम्पनीहरू अब नयाँ पुस्ताका ईभीका लागि दुर्लभ धातु–रहित मोटरहरू अझ सुधार गर्ने प्रयासमा छन् । तर ती मोटरहरू बजारमा आउन अझै वर्षौं लाग्नेछ र चीन बाहेक अन्य देशमा नयाँ खानी र रिफाइनिङ प्लान्ट विकास गर्न पनि लामो समय लाग्नेछ । चीनले कम मूल्यमा प्रतिस्पर्धा गरेर ती प्रयासहरू असफल पार्न सक्छ । विशेषज्ञहरूका अनुसार अमेरिकी सरकारले यस विषयलाई युरोपभन्दा धेरै गम्भीर रूपमा लिएको छ । एससी इनसाइज्ट्सका सह–संस्थापक एन्डी लेल्यान्डका अनुसार ‘बेइजिङ सधैं मूल्यमा अरूलाई हराउने रणनीतिमा केन्द्रित छ र त्यही जारी राख्नेछ ।’ उनी भन्छन्, ‘चिनियाँ कम्पनीहरूले सधैं प्रतिस्पर्धीहरूलाई अन्डरकट गर्न सक्छन् । त्यसैले दुर्लभ धातु–रहित मोटर विकास गर्ने प्रयास महँगो र जोखिमपूर्ण लगानी हो ।’ यसबीच चीनले दुर्लभ धातुको आपूर्तिमा आफ्नो शक्ति कायम राख्ने अपेक्षा गरिएको छ ।
चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत
बागमती । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा बागमती प्रदेश सरकारले कुल बजेटको करिब ६ दशमलव १९ प्रतिशतमात्र खर्च गरेको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार चालु आव २०८२/८३ को साउनदेखि असोजसम्ममा तीन महिनामा कुल बजेटको ६ दशमलव १९ प्रतिशत अर्थात् ४ अर्ब १७ करोड ९१ लाख २६ हजार रुपैयाँ बजेट खर्च भएको छ । चालु आवका लागि प्रदेश सरकारले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट ल्याएकामा साउनदेखि असोजसम्ममा ४ अर्ब १७ करोड ९१ लाख २६ हजार बजेट खर्च भएको उनले बताए । बजेटमध्ये चालुको तुलनामा पुँजीगततर्फको बजेट कम खर्च भएको उनको भनाइ छ । विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश लोकसेवा आयोगले १९ दशमलव ५५ प्रतिशत, प्रदेशसभा सचिवालयले १७ दशमलव १९ प्रतिशत र मुख्य न्यायाधिवक्ताको कार्यालयले १५ दशमलव ३१ प्रतिशत बजेट खर्च गरेको छभने सबैभन्दा कम संस्कृति तथा पर्यटन मन्त्रालयले शून्य दशमलव ८० प्रतिशत बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ । गत भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनीका कारण प्रदेश सरकारका संरचना क्षतिग्रस्त भएको, प्रदेश सरकारका निकायले राम्ररी काम गर्न नसकेको र बजेट कार्यान्वय हुन नसक्दा प्रदेश सरकारको खर्च कम देखिएको सूचना अधिकारी पौडेलले जानकारी दिए ।
मनाइयो गाई तिहार
काठमाडौं । नेपालीहरूको महान चाड तिहारको चौथो दिन मंगलबार (आज) गाई पूजा गरेर मनाइँदैछ । घरमा गाई पाल्नेहरूले घरमै र नहुनेहरुले गौशालामा गइ गाईको पूजाआजा गरेका हुन् । यमपञ्चक अर्थात तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिइ मनाइन्छ । गौशालामा रहेको नन्दी सेवास्थलमा पनि गाई पूजा गर्नेको भीड छ । आज गौशालामा गाईलाई पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । आजका दिन नेपालीहरूको घर, गोठ र गौशालामा रहेको गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइएको छ । गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दायाँ हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ। गाई हिन्दु धर्मावलम्वीहरूका लागि पवित्र र महत्त्वपूर्ण प्राणी हो । आमाले आफ्ना सन्तानलाई दुध खुवाएजस्तै गाईले मानवलाई दुध दिएर प्राण रक्षा गरिदिने हुनाले नै गाईलाई गौमाताको रुपमा पुकारिने गरिन्छ । गाईबाट प्राप्त हुने दूध, दही, घ्यु, गहुँत, गोबर आदि प्राचीन कालदेखि नै मानिसले प्रयोग गर्दै आएका छन् । कृषि–उत्पादन वृद्धिका लागि समेत गाईको गोबर र गहुँत मल र विषादी दुवै रूपमा प्रयोग हुने गर्छ । प्राचीन कालमा गाई सबैभन्दा महत्त्वपूर्ण चल सम्पत्ति मानिन्थ्यो ।
पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न
लिस्बन । पोर्चुगलमा अवस्थित नेपाल कल्चर कम्युनिटी कोइम्ब्राद्वारा आयोजना गरिएको तिहार विशेष सांस्कृतिक कार्यक्रम आइतबार कोइम्ब्रामा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता म्याक्स श्रेष्ठले गरेको थिए भने प्रमुख अतिथि पोर्चुगली प्रतिनिधि क्यातरिना पिइरेस रहेका थिए । कार्यक्रममा कोइम्ब्रा र वरपर क्षेत्रका नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सञ्चालक सन्तोष पाण्डेको प्रभावशाली प्रस्तुति र आकर्षक शैलीले कार्यक्रममा थप उत्साह र ऊर्जा भरेको सहभागीहरूले बताएका छन् । कार्यक्रममा गीत, नृत्य, कविता, तिहार विशेष भोजन र सम्मान कार्यक्रमजस्ता विविध सांस्कृतिक प्रस्तुति समावेश गरिएको थियो । कार्यक्रमले पोर्चुगलमा बसोबास गर्ने नेपालीहरूबीच एकता, आपसी सम्बन्ध र सांस्कृतिक पहिचानलाई अझ मजबुत बनाएको आयोजक समितिले जनाएको छ । सहभागीहरूले पनि यस्ता कार्यक्रमहरूले विदेशमा रहेर आफ्नो संस्कृति, परम्परा र पहिचानलाई जोगाइराख्न महत्त्वपूर्ण योगदान पुर्याउने बताएका छन्।
राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार सात राजनीतिक दलका नेताहरूसँग छलफल गर्ने भएकी छन्। आज अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा निर्वाचन तयारीका विषयमा छलफल हुने भएको हो । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, रास्वपालगायत दलका नेताहरू छलफलमा सहभागी हुने बताइएको छ । अन्तरिम सरकारले आगामी फागुन २१ गते आमनिर्वाचन गराउने घोषणा गरिसकेको छ । यसअगाडि राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दलसँग छलफल गरिसकेका छन् । उक्त छलफलमा दोस्रो तहका नेता उपस्थित भएका थिए ।
बलिउडका उम्दा कलाकार असरानीको निधन
काठमाडौं । बलिउडका उम्दा कलाकार असरानीको निधन भएको छ । स्वास्थ्य समस्याका कारण चार दिनदेखि मुम्बईको जुहूस्थित आरोग्य निधि अस्पतालमा भर्ना भएका असरानीको सोमबार दिउँसो ३ देखि ३:३० बजेको बीचमा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनको ८४ वर्षको उमेरमा उनको निधन भएको हो । उनको दाहसंस्कार सान्ताक्रुज क्षेत्रको शास्त्री नगरस्थित श्मशानघाटमा गरिय । असरानीको जन्म सन् १९४१ मा जयपुरमा भएको थियो । सन् १९६७ मा उनले काँच की चुँडियामार्फत सिनेयात्रा तय गरेका थिए । उनले ३५० भन्दा बढी हिन्दी फिल्ममा काम गरिसकेका छन् ।
अर्घाखाँची सिमेन्टसहित चार कम्पनीको बिजुलीको लाइन काटियो
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मंगलबार बिहान चार कम्पनीको बिजुलीको लाइन काटेको छ । डेडिकेटेड तथा ट्रंक लाइन विवाद कायम रहेको बेला घोराही सिमेन्ट (दाङ), अर्घाखाँची सिमेन्ट (लुम्बिनी), त्रिवेणी स्पिनिङ (परवानीपुर) र जगदम्बा स्टील (अमलेखगञ्ज)को बिजुलीको लाइन काटिएको हो । प्राधिकरणले दीपावली सकिएलगत्तै यी कम्पनीको बिजुली काटेको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए । उनले तिहारको सार्वजनिक बिदाको दिन पनि उद्योगहरूले बक्यौता रकम तिर्न सक्ने बताए। किस्ताअन्तर्गत पहिलो किस्ता तिरेमा काटिएको लाइन पुन: जोडिने पनि उनले बताए ।
झिलिमिली देखियो काठमाडौं उपत्यका (तस्बिरहरू)
काठमाडौं । लक्ष्मीपूजाको पावन अवसरमा काठमाडौं उपत्यका झिलिमिली बत्तीको उज्यालोमा स्नान गरिरहेजस्तै देखिएको छ । सोमबार साँझदेखि नै सहरका मुख्य चोकहरू, व्यापारिक केन्द्रहरू र आवासीय क्षेत्रहरू रंगीचंगी बत्तीहरूले सजिएपछि काठमाडौं साँच्चिकै झिलिमिली सहर बनेको छ । सुन्धारा, न्यूरोड, जमल लगायत चक्रपथका प्रमुख चोकहरू बत्तीको आकर्षक सजावटले झकिझकाउ छन् । निजी मल, शपिङ कम्प्लेक्सहरू, रेस्टुरेन्टदेखि घर आँगनसम्म बेहुलीझै सिंगारिएका छन् । लक्ष्मीपूजाको रात साथीभाइ भेला भई भैलिनी खेल्दै झनै रमाइलो थपिएको छ । तिहारका दिनहरूमा मात्र होइन, पूरै सप्ताह काठमाडौंको रूप र रंग फरक देखिन्छ । व्यापारिक भवन, कार्यालय र घरहरूमा राखिएका बत्तीहरू तिहार सकिएपछि पनि हटाइँदैनन्, जसले गर्दा झिलिमिली काठमाडौंको सौन्दर्य अझ केही दिनसम्म कायमै रहन्छ । बर्षेनी झिलिमिली बत्ती राख्ने चलन काठमाडौंमा बढ्दो क्रममा छ । हिजोआज पूरै घर झकिझकाउ बनाएर तिहार नमनाउने कमै भेटिन्छ । यही कारण तिहार अब केवल धार्मिक पर्व मात्र नभई काठमाडौंको सांस्कृतिक झिलिमिली उत्सवझै भएको छ । तस्बिरहरू: