डलर कमजोर, सुन बलियो ! विश्व बजार किन सुनतिर दौडिरहेको छ ?
काठमाडौं । सुनको मूल्य प्रतिऔंस ४ हजार ३०० अमेरिकी डलर माथि पुगेको छ । यसले यो वर्षको असाधारण वृद्धिदरलाई ६० प्रतिशतभन्दा बढी पुर्याएको छ । यो वृद्धिदर विश्लेषकहरूको अनुमानभन्दा निकै छिटो भएको हो । सन् २०२४ को सुरुमा सुरु भएको वृद्धिदेखि हालसम्म सुनको मूल्य लगभग दोब्बर भइसकेको छ । सुनको मार्केट क्याप ३० ट्रिलियन डलरभन्दा माथि पुगेको छ । विश्व इतिहासमा पहिलो पटक कुनै एसेट (सम्पत्ति) यो स्तरमा पुगेको हो । सुनको वर्चस्व कति बलियो छ भन्ने कुरा यसैबाट बुझ्न सकिन्छ कि यसको मार्केट क्याप अहिले विश्वकै सबैभन्दा मूल्यवान कम्पनी एनभीडीयाको भन्दा सात गुणा बढी छ । सुनको चर्को मूल्यवृद्धि सँगै विभिन्न देशमा सुन किन्नेहरू सुन व्यापारीका पसल अगाडि लामो लाइनमा उभिएका देखिएका छन् । वास्तवमा सुनको मूल्य पछिल्ला केही वर्षदेखि नै लगातार उकालो लागिरहेको छ – यी हालका कारणहरू देखा पर्नु अघि नै । सबैभन्दा ठोस कारण भनेको सुनसँग सम्बन्धित एक्सचेन्ज–ट्रेडेड फन्ड (ईटीएफ) हरूबाट बढ्दो माग हो । ईटीएफ बजारमा कारोबार गर्न मिल्ने यस्तो लगानी कोष हो, जसले लगानीकर्तालाई एकैपटक धेरै सम्पत्तिमा लगानी गर्ने अवसर दिन्छ । यी फन्डहरूले सुन, सेयर वा बन्डजस्ता सम्पत्तिहरूको मूल्य चाल ट्र्याक गर्छन् र सेयर बजारमा कारोबार गर्न सकिन्छ । यसले लगानीकर्ताहरूका लागि सुनजस्ता वस्तुमा लगानी गर्न सजिलो बनाएको छ । २००३ मा पहिलो सुन ईटीएफ सुरु हुनुअघि सामान्य लगानीकर्ताले सुनमा प्रत्यक्ष लगानी गर्न कठिन मानिन्थ्यो । तर अहिले सुन ईटीएफ सजिलै उपलब्ध भएकाले सुनलाई अरू वित्तीय सम्पत्तिजस्तै किनबेच गर्न सकिन्छ । यसले सुनलाई केवल ‘सुरक्षित सम्पत्ति’ का रूपमा होइन, लाभदायक लगानीका रूपमा पनि हेर्ने दृष्टिकोण बदल्दैछ । पहिलो विश्वका धेरै देशका केन्द्रीय बैंकहरूले आफ्ना विदेशी मुद्रासञ्चय (रिजर्भ) मा सुनको हिस्सा बढाइरहेका छन् । त्यसैले पनि सुनको मूल्य बढिरहेको हो । त्यस्तै, अमेरिकी फेडरल रिजर्भले नीतिगत ब्याजदर घटाउने अपेक्षा र अमेरिकी डलर कमजोर हुँदै गएपछि लगानीकर्ताहरू सुरक्षित विकल्पका रूपमा सुनतर्फ आकर्षित भइरहेका छन् । चीन र रसियाको मागले सुन अझै तातियो खुद्रा लगानीकर्ताका अतिरिक्त केही उदाउँदो अर्थतन्त्रहरू— विशेषगरी चीन र रसियाले आफ्नो विदेशी मुद्रा सञ्चिति अमेरिकी डलरबाट सुनमा स्थानान्तरण गर्न थालेका छन् । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) का अनुसार उदाउँदो बजारहरूमा केन्द्रीय बैंकद्वारा सञ्चित सुनको मात्रा २००६ देखि हालसम्म १६१ प्रतिशतले बढेर करिब १० हजार ३०० टन पुगेको छ । तुलनाका लागि १९५५ देखि २००५ सम्म ५० वर्षमा यो वृद्धि केवल ५० प्रतिशत मात्र थियो। शोधहरूले देखाउँछ — यो रूपान्तरणको कारण अमेरिकी डलर, युरो, येन र पाउण्डजस्ता प्रमुख मुद्राहरू प्रयोग गर्ने मुलुकहरूले लगाएका वित्तीय प्रतिबन्धहरू हुन् । रसियाले सन् २००६ देखि नै सुन किन्ने कार्य तीव्र पारेको हो र २०१४ मा क्राइमिया कब्जा गरेपछि अझ बढाएको हो । अहिले त्यसले विश्वकै ठूला सुन भण्डारहरूमध्ये एक राखेको छ। उता चीनले पनि अमेरिकी सरकारी बन्डहरू बिक्री गर्दै सुन किन्ने क्रम तीव्र पारेको छ । यो प्रक्रिया ‘डि–डलराइजेसन’ भनेर चिनिन्छ । यसको उद्देश्य अमेरिकी मुद्रामा निर्भरता घटाउने हो । यसै क्रममा उदीयमान अर्थतन्त्रहरूले पश्चिमी मुद्राहरूमा सम्भावित वित्तीय प्रतिबन्धको जोखिम देखेका छन् । सुनमा यस्तो जोखिम हुँदैन । त्यसैले भविष्यमा वित्तीय प्रतिबन्ध नीतिगत रूपमा कम प्रभावकारी हुन सक्छ । सुन अझै बढ्न सक्छ ? रसिया र चीनको मागका साथै ईटीएफमा लगानीकर्ताको आकर्षणले सुनको मूल्य अझै बढ्न सक्ने सम्भावना छ । यी दुई कारणले दीर्घकालीन रूपमा सुनको माग बलियो बनाउँछन् । मूल्य बढ्दै जाँदा गुमाइने डरको प्रभावले ईटीएफमा अझ बढी लगानी बढाउँछ । विश्व सुन परिषदका अनुसार सेप्टेम्बर महिनामा रेकर्ड तोड्ने गरी ईटीएफमा लगानी भित्रिएको छ । सेप्टेम्बर त्रैमासमा मात्र २६ अर्ब अमेरिकी डलर बराबर सुन ईटीएफमा पुगेको थियो, जबकि २०२५ का पहिलो नौ महिनामा कुल ६४ अर्ब अमेरिकी डलर प्रवाह भएको छ । केन्द्रीय बैंकहरूको माग भने मूल्यभन्दा बढी भू–राजनीतिक कारणले निर्धारण हुने भएकाले यो माग अझै स्थिर रहन्छ । यी सबै संकेतका आधारमा गोल्डम्यान स्याच्सका विश्लेषकहरूले सुनको मूल्य लक्ष्य पुनः संशोधन गर्दै सन् २०२६ को अन्त्यसम्म प्रतिऔंस अमेरिकी डलर ४ हजार ९०० पुग्ने अनुमान गरेका छन् । मस्कले पाउने इतिहासकै ‘सबैभन्दा ठूलो कर्पोरेट तलब प्याकेज’मा आईएसएसको अवरोध अमेरिका–चीनबीचको आर्थिक द्वन्द्वले विश्व बजार अस्थिर बनाउने संकेत
फोन पेको १९ प्रतिशत लाभांश घोषणा, कात्तिक २४ गते डाक्यो छैटौँ वार्षिक साधारण सभा
काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेण्ट सर्भिस लिमिटेड (फोन पे)ले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको कात्तिक २ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ५० करोड ५० लाख रुपैयाँको १९ प्रतिशतका दरले ९ करोड ७८ लाख ५० हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक २४ गते साँझ ५ बजे काठमाडौंमा छैटौँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, चालु आव २०८२/८३ को लागि लेखापरिक्षकको नियुक्ति गर्नेछ । यस्तै, सभाले स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र सर्वसाधारणहरुलाई सेयर निष्काशन (आईपीओ) जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।
बैठकमा बोलाएर आफूमाथि अपमानजनक व्यवहार गरिएको निजी मेडिकल सञ्चालकहरूको आरोप
काठमाडौं । निजी मेडिकल सञ्चालकहरूले आफूहरूलाई बैठकमा बोलाएर अपमान गरेको बताएका छन् । आन्दोलनरत नर्सहरूको तलब स्केलका विषयमा छलफल गर्न स्वास्थ्य मन्त्रालयमा बैठक आयोजना गरेको र त्यसमा सहभागी भएर छलफल गरिरहेका बेला आफूमाथि बैठकमै अपमान गर्दा बैठक छोडेर भाग्नु परेको बताएका छन् । एशोसियसन अफ मेडिकल डेन्टल कलेज नेपालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्की र एशोसिएसन अफ प्राइभेट अस्पताल नेपालका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद रिजालले संयुक्त विज्ञप्ति निकाल्दै आफूमाथि बैठकमा अपमानजनक व्यवहार हुँदा बैठकबाट निस्कनुपरेको बताएका छन् । ‘औपचारिक वार्ता भइरहेको क्रममा आआफ्ना तर्फबाट विषयवस्तु राख्दै गर्दा आन्दोलनरत पक्षबाट प्रयोग गरिएका अपमानजनक शब्द, अनुचित व्यवहार तथा 'माफिया' लेखिएका प्लेकार्डहरू प्रदर्शन गरिएकोमा गम्भिर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ । निजी स्वास्थ्य संस्थाका प्रतिनिधिहरू सधैं संवाद, सहकार्य र सम्मानका आधारमा समस्या समाधान गर्न प्रतिवद्ध रहँदै आएको भन्दै नर्सहरूको योगदानको सम्मान गर्दै मागहरू प्रति सकारात्मक रहेको बताएका छन् । तर, यस्तो अपमानजनक व्यवहारले वार्ताको वातावरण बिगार्नुका साथै आपसी विश्वासमा आघात पुर्याएको विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘हामी स्पष्ट रूपमा उल्लेख गर्न चाहन्छौ यस्तो अवस्था सिर्जना हुनुमा राज्य पक्षकै कमजोरी र असन्तुलित व्यवस्थापन जिम्मेवार छ । सरकारले समयमै दिगो नीति, समान व्यवहार र स्पष्ट कार्यविधि नल्याएकै कारण यस्तो अप्रिय परिस्थिति उत्पन्न भएको हो। त्यसैले, यस घटनाको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्छ।’
जेनजी आन्दोलनपछि भारत गएका थिए खड्का, सेनाको सुरक्षामा बसेको अभिव्यक्ति
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले देश छाडेर भागेको भनिएका निवर्तमान ऊर्जामन्त्री दीपक खड्का स्वदेशमै रहेको पाइएको छ । जेनजी आन्दोलनका क्रममा जलाइएको आफ्नै निवास अगाडि पत्रकार सम्मेलन गर्दै उनी सार्वजनिक भएका हुन् । गृहमन्त्री अर्यालले एक दैनिक पत्रिकासँग कुरा गर्दै खड्का विदेश भागिसकेको र अरु भाग्य प्रयास गरिरहेको धारणा राखेका थिए । तर, खड्का भिडियोमार्फत् काठमाडौंस्थित आफ्नो जलेको घरबाटै सार्वजनिक भएका हुन् । खडकाले सोमबार पत्रकारहरुसँग कुरा गर्दै सरकारसँग नडराउने बताएका छन् । ‘सरकारले मलाई वारेन्ट काटेको छ र ? बाहिर जान रोक लगाएको छ र ?’ पूर्वमन्त्री खड्काले प्रश्न गरे, ‘म भागे भन्न मिल्छ ? झिनामसिना कुराले मलाई छुँदैन । म डराउँदिनँ ।’ उनले जेनजी आन्दोलनका क्रममा २४ भदौका दिन आफू घरमै रहेको पनि जानकारी दिए । पूर्वमन्त्री खड्काले घरबाट निस्किएर छिमेकीमा बसेको र राति नेपाली सेनाको ब्यारेकमा बसेको पनि जानकारी दिए । खड्काले तराईबाट आफू सोझै उपचारका लागि भारत गएको पनि बताए ।
अलैँचीको मूल्य पाउँदा किसान उत्साहित, प्रतिमनको ८८ हजारमा बिक्री
फुङ्लिङ । ताप्लेजुङका किसान यतिबेला अलैँची टिप्न व्यस्त छन् । टिपाइको मुख्य याम चलिरहेका बेला उनीहरू दसैँ–तिहारको उत्सवभन्दा बढी बगानमै रमाइरहेका छन् । बिहानदेखि बेलुकीसम्म बगानमै खटिएका किसान धेरैजसो रात पनि भट्टिमै बस्ने थालेका छन् । फक्ताङलुङ गाउँपालिका-६ का किसान रोशन लिम्बूका अनुसार गाईबस्तु भएका किसानका केही सदस्य मात्र बेलुका घर फर्किन्छन् बाँकी सबै बगानमै बास बस्छन् । अलैँची टिप्ने बेला गुमायो भने वर्षभरको मेहनत खेर जाने भएकाले बगानमै व्यस्त भएको उनले बताए । फुङ्लिङ नगरपालिका-७ का किसान खाङडु शेर्पा झन करिब एक महिनादेखि बगानमै बसिरहेका छन् । दसैँ परिवारसहित बगानमै मनाउनु भएको उनले तिहार पनि त्यहीँ मनाउने तयारी गरिरहेका छन् । ‘चालीस वर्षदेखि अलैँचीखेती गरिरहेको छु ।’ उनले भने,’छिमेकी भारतको सिक्किमबाट बिरुवा ल्याएरै सुरु गरेका थियौँ ।’ किसान शेर्पाको ८० रोपनी बगान टिपाइसक्ने योजना छ । तर टिपाइपछि छोडाउने, सुकाउने र भट्टिमा तयारी गर्न एक हप्ताभन्दा बढी समय लाग्ने उनको भनाइ छ । जिल्लामा बेँसी क्षेत्रमा भदौको पहिलो सातादेखि र लेकाली क्षेत्रमा मङ्सिरसम्म अलैँची टिपाइ गर्ने चलन छ । जिल्लाका ९ स्थानीय तहमध्ये फक्ताङलुङ-७ को ओलाङचुङगोलाबाहेक सबै वडामा अलैँचीखेती हुन्छ । हाल करिब चार हजार ४५० हेक्टर क्षेत्रफलमा व्यावसायिक खेती भइरहेको छ । अलैँचीको मूल्य पनि किसानलाई उत्साहित पार्ने खालको छ । आइतबार ताप्लेजुङमा प्रतिमन (४० केजी) खलैँचीको मूल्य रु ८८ हजारमा खरिदबिक्री भइरहेको व्यवसायी कमल बरालले बताए । अलैँचीले रोजगारी पनि सिर्जना गरेको छ । बगानमा काम गर्ने मजदुरले दैनिक ५०० देखि ७०० सम्म ज्याला पाउँछन् । रासस
‘नेचर’ र ‘कल्चर’को अद्भुत संगमस्थल ‘मौरिस हर्जोग’ पदमार्ग : ‘जेनजी’ पुस्ताको पहिलो रोजाइ
म्याग्दी । स्नाकोत्तर तहको तेस्रो वर्षमा अध्ययनरत पोखराकी २५ वर्षीया दिवाना सुनुवार यसपालीको दसैँ–तिहारको छुट्टी मनाउन साथीहरुसँगै यहाँस्थित अन्नपूर्ण आधार शिविर र ‘मौरिस हर्जोग’ पदमार्गका यात्रामा निस्किइन् । काभ्रे बनेपाकी अनुषा लामा पनि क्याम्पसका साथीहरुसँगै अन्नपूर्ण आधार शिविर पुगेर फर्किइन् । पोखराकी दिवाना र बनेपाकी अनुषा लामा अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविरको भ्रमणमा आएका ‘जेनजी’ उमेर समूहका किशोरकिशोरी र युवायुवतिका प्रतिनिधि पात्र हुन् । दशैंलगत्तै मौसममा सुधार आएपछि बिदामा मौरिस हर्जोग पदमार्ग र अन्नपूर्ण आधार शिविरमा अपेक्षा गरेभन्दा धेरै आन्तरिक पर्यटक आएका छन् । दैनिक तीन सय जनाको अनुपातमा अन्नपूर्ण आधार शिविर घुम्न आउने आन्तरिक पर्यटकमध्ये ८० प्रतिशत ‘जेनजी’ पुस्ताका रहेका पञ्चकुण्ड ताल नजिकै होटल सञ्चालन गरेकी नरिमाया गर्बुजा गुरुङले बताए । ‘सामाजिक सञ्जाल र सञ्चार माध्यमको भिडियो, फोटो हेरेर यहाँ आउनेहरु धेरै छन्,’ उनले भने ‘अपेक्षा गरेभन्दा र हाम्रो होटलको क्षमता भन्दा धेरै पर्यटक आउँदा खाना र बसाइ व्यवस्थापन गर्न हम्मेहम्मे भएको छ ।’ विदेशी पर्यटक न्यून मात्रामा छन् । पदमार्गमा प्रौढ र पाका उमेरका पदयात्रीहरु कमै भेटिन्छन् । दश जोड दुई र क्याम्पस तहको अध्ययन गर्ने उमेर समूहका युवायुवतीका समूह तस्बिर, भिडियो बनाएर प्रकृतिसँग रमाइहेको भेटिन्छ । सामाजिक सञ्जाल र सञ्चार माध्यममा देखेको तस्बिर र भिडियोले लोभ्याएर अन्नपूर्ण आधार शिविर घुम्न आएको तनहुँको देवघाटकी सङ्गीता लामाले बताइन् । ‘हिमाल र फेदीमा ठूलो ताल एकै पटक अवलोकन गर्न पाउनु यहाँको मुख्य विशेषता हो,’ उनले भनिन् ‘हाम्रो पुस्तामा नयाँ नयाँ ठाउँ घुमघाम गरेर छुट्टी मनाउने ‘टेण्ड’ बढेको छ ।’ सामाजिक सञ्जाल र प्रविधिमा अभ्यस्त ‘जेनजी’हरु नयाँ, नयाँ ठाउँ घुम्न र प्रकृतिमा रमाउन चाहने पर्वतको जलजला गाउँपालिका–४ का सन्दर्भ आचार्यले बताए । छोटो दुरीमा आधार शिविरमा पुग्न सकिने, हिमाल, ताल, फरक फरक भूगोल, नदीनाला, झरना, वनजङ्गल, वन्यजन्तु र पक्षीहरुको एकै पटकको यात्रामा अवलोकन गर्न पाइने भएकाले जेनीहरुको रोजाइमा अन्नपूर्ण आधार शिविर र मौरिस हर्गोज पदमार्ग परेको उनको भनाइ छ । कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडक अन्तर्गत नारच्याङदेखि हुमखोलासम्म २० किलोमिटर कच्ची सडक र १८ किलोमिटर पदमार्गको यात्रा गरेपछि समुद्री सतहदेखि चार हजार एक सय ५० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविर पुगिन्छ । निलगिरि खोलाको किनारै किनार रहेको पदमार्गमा फुतफुते, छयाली, रातो लगायतका मनमोहक झरना छन् । आकाशे गुफालगायत अनौठा र पृथक भूगोल अवलोकन गर्न सकिन्छ । फुच्चे प्रजातिको गुराँस पाइने यो पदमार्गमा मृग, घोरललगायत वन्यजन्तुको बासस्थान छ । अन्नपूर्ण हिमालको फेदीमा पञ्चकुण्ड ताल छ । निलो ताल र पृष्ठभूमिको हिमाललाई एकै साथ अवलोकन गर्न पाउँदा यात्राको सबै थकान मेटिने र मनमा उमङ्ग छाउने झापाबाट आएका विजय सेनताङले अनुभव सुनाए । समुद्री सतहदेखि चार हजार ५० मिटर उचाइमा रहेको पञ्चकुण्ड तालदेखि एक घण्टा पैदलयात्रा गरेपछि अन्नपूर्ण आधार शिविरमा पुगिन्छ । निलगिरि र अन्नपूर्ण हिमालको फेदीमा समथर जमिनमा आधार शिविर छ । पञ्चकुण्ड ताल नजिकै रहेको कागभुसुन्डी डाँडाको धार्मिक महत्व छ । कागभुसुण्डी ऋषि र पञ्चकुण्ड तालको बारेमा हिन्दू धर्मग्रन्थ पञ्चरामाणयमा उल्लेख छ । सन् १९५० जुन ३ मा पहिलो पटक अन्नपूर्ण हिमाल आरोहण गरेका फ्रान्सका मौरिस हर्जोगको सम्मानमा अन्नपूर्ण गाउँपालिकाले विसं २०७७ मा नारच्याङदेखि आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्ग घोषणा गरेको थियो । अन्नपूर्ण आरोहण भएको ७५ वर्ष पूरा भएको अवसरमा गत जेठमा गाउँपालिकाले आधार शिविरमा पहिलो आरोहण दलका सदस्यहरुको शालिक र आरोहीहरुको नामावली सहितको विवरण भएको खुल्ला सङ्ग्रहालय स्थापना गरेको छ । आठ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेको हुँदा अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । विसं २०६८ मा नारच्याङका तेज गुरुङको अगुवाइमा पहिचान भएको मौरिस हर्जोग पदमार्गमा आधारभूत पूर्वाधार तयार भएपछि विसं २०८० देखि सञ्चालन गरिएको थियो । मानव बस्ती नभएको यो पदमार्गमा दुई वर्ष पर्यटक आफैले बन्दोबस्तीका सामान लिएर आधार शिविर भ्रमणमा गए । हिमाल आरोहण गर्ने टोली हेलिकप्टरबाट जाने गरेका थिए । गत वसन्तयामदेखि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र गाउँपालिकाबाट अनुमति लिएर नारच्याङका बासिन्दाले हुमखोला, फुतफुते झरना, साँघीखर्क, गुफाफाँट, भुसकेत र पञ्चकुण्डमा अस्थायी संरचना बनाएर ५०/५० जना क्षमताको होटल सुरु गरेका थिए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)मा स्थायी भौतिक संरचना निर्माणका लागि प्रक्रिया पूरा गरेर सरकारको अनुमति लिनुपर्छ । भुसकेतका होटल व्यवसायी माइकल पुनले काठ, त्रिपाल, जस्तापाताको टहरा, तथा टेन्टमा पर्यटकलाई राख्ने गरिएको बताए । ‘एक्यापले पक्की संरचना बनाउन नदिने भएकाले ‘टेन्ट’, टहरामा पाहुना राख्नु परेको हो,’ उनले भने ‘पाहुनाको चापसँगै क्षमता र सुविधा थप गर्न एक्यापले सहज गरिदिनुपर्छ ।’ होटलमा काम गर्नेदेखि भरियाको रुपमा सामान ओसार्न स्थानीयवासीले रोजगारी पाएका छन् । यसअघि वसन्तयाममा आरोही र स्थानीयहरु मात्र जाने आधार शिविरमा अहिले अन्य याममा पनि पर्यटक आउन थालेका छन् । विद्युत् र सञ्चार सुविधाको समस्या छ । अग्रिम बुक गरेर मात्र भ्रमणमा आउन होटल व्यवसायीहरुले अनुरोध गरेका छन् । पाहुनाको बढ्दो चापसँगै फोहरको चुनौती थपिएको छ । काठका अस्थायी झोलुङ्गे पुल र केही ठाउँमा साँघुरा पदमार्गमा आवतजावत गर्न समस्या भएको छ । फोहर व्यवस्थापन र पाहुनाको सहजताका लागि होटलको क्षमता बढाउन गाउँपालिका र एक्यापसँग पहल गरेको पदमार्गका अभियान्ता तेज गुरुङले बताए । अन्नपूर्ण आधार शिविरको भ्रमण गरेर फर्किएका गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले तातोपानीदेखि हुमखोलासम्मको सडक स्तरोन्नति, झोलुङ्गे पुल, पदमार्ग र होटल तथा आश्रयस्थलको क्षमता विस्तारका लागि गाउँपालिका, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, प्रदेश र सङ्घीय सरकारसँग समन्वय गर्ने जानकारी दिए । उनले भने 'नेचर र कल्चरको अद्भुत संगमस्थल अन्नपूर्ण आधार शिविर र ‘मौरिस हर्जोग’ पदमार्गमा सञ्चार पहुँच पुर्याउन र सरसफाइमा ध्यान दिन जरुरी छ । यसका लागि म सक्दो सहयोग गर्दछु ।' अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले मौरिस हर्जोग पदमार्गको प्रवद्र्धनका लागि महोत्सव, आरोहण दिवस मनाउने, अन्नपूर्ण हिमाल चढ्ने आधार शिविर म्याग्दीको भूगोलमा पर्ने तथ्य स्थापित, एकीकृत गुरुयोजना बनाएर पूर्वाधार निर्माणको कामलाई निरन्तरता दिएको जानकारी दिए । गाउँपालिकाले पदमार्ग, सार्वजनिक शौचालय, खानेपानी व्यवस्थापन, आश्रयस्थल निर्माणको कामलाई निरन्तरता दिएको छ । रासस
कीर्तिपुर क्रिकेट मैदानका फ्लड लाइटका ६ वटै टावर ठड्याइयो
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर कीर्तिपुरमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका फ्लडलाइटका ६ वटै टावर ठड्याइएको छ । फ्लडलाइटको निर्माणव्यवसायीले आइतबार एक दिनमै दुई वटा पोल उठाएपछि ६ वटै पोल ठड्याउने काम सम्पन्न भएको छ । रंगशालामा ४५ मिटर तथा ६० मिटर अग्ला ६ वटा ३०/३० टनका हाइमास्ट लाइट जडान गरिएको हो । पोल नं १, ४, ५ र ६मा फ्लडलाइट आंशिक रुपमा जडान भइसकेको छ । पोल ठड्याइसकिएकाले दुई वटामा अब लाइट राख्ने काम सुरु हुने आयोजना प्रमुख चक्रवर्ती कण्ठले बताए । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले गत २३ असोजमा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानको अनुगमन गरेका थिए । दुवै निर्माण व्यवसायीले नेपाल प्रिमियर लिग (एनपिएल) भन्दा अगावै प्यारापेट र फ्लडलाइट जडान सक्ने प्रतिबद्धता जनाएका थिए । परापेटको निर्माण व्यवसायीले काम सम्पन्न गरिसकेको छ । एनपिएल आगामी १ मङ्सिरबाट सुरु हुँदैछ । सरकारले गुरु योजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता निर्धारण गर्दै रङ्गशाला विस्तारका लागि दोस्रो चरणको निर्माण सुरु गर्ने निर्णय गरिसकेको छ । मन्त्रिपरिषद्को ३० असोजको बैठकले शहरी विकास मन्त्रालयको प्रस्तावमा रङ्गशालाको गुरु योजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता निर्धारण गरेको छ । गुरु योजना बमोजिम रङ्गशाला निर्माणका लागि करिब १० अर्ब रुपैयाँ बजेट सुनिश्चित गर्दै दोस्रो चरणको निर्माण अगाडि बढाउने निर्णय गरेको थियो ।
आईएमई लिमिटेडले नगद लाभांश वितरण गर्ने, कात्तिक २५ गते वार्षिक साधारण सभा
काठमाडौं । आईएमई लिमिटेडले नगद लाभांश वितरण गर्ने भएको छ । नगद लाभांश पारित गर्न आईएमई लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको असोज ३१ गते बसेको बैठकले कात्तिक २५ गते बिहान ९ बजे काठमाडौंमा २५ औँ वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, साहायक कम्पनी आईएमई खल्तीको आव २०८१/८२ को वित्तीय विवरण स्वीकृत गर्ने र चालु आव २०८२/८३ को लागि बाह्य लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ । साथै, सभाले सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्नेछ ।