मेची भन्सारमा लक्ष्यको ९५ प्रतिशत राजस्व असुली
काठमाडौं । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासिक अवधिमा लक्ष्यको ९५ प्रतिशत राजस्व असुली गरेको जनाएको छ । पूर्वी नाका काँकडभिट्टा स्थित भन्सार कार्यालयले चालु आवको साउन, भदौ र असोज महिनामा ४ अर्ब ३६ करोड २८ लाख ५५ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा ४ अर्ब १५ करोड २० लाख ८ हजार रुपैयाँ असुली गर्न सफल भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाइँले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी राजस्व आयातित सामानको भन्सार महसुलतर्फ १ अर्ब ८० करोड ५३ लाख ७९ हजार ५४९ रुपैयाँ असुली भएको छ । आयातित सामानको मूल्य अभिवृद्धि करतर्फ १ अर्ब ४९ करोड २३ लाख ६४ हजार ३९३ रुपैयाँ, सडक मर्मत तथा सुधार दस्तुरतर्फ १३ करोड १७ लाख १२ हजार रुपैयाँ, आयातको अन्तः शुल्कतर्फ ११ करोड ३ लाख ५९ हजार ९३ रुपैयाँ, निर्यातको भन्सार महसुलतर्फ १० करोड ६२ लाख १० हजार १२४ रुपैयाँ र पूर्वाधार करतर्फ ३९ करोड ५३ लाख ६० हजार रुपैयाँ राजस्व असुली भएको भन्सारको त्रैमासिक प्रगति विवरणमा जनाइएको छ । जेनजी आन्दोलनबाट प्रभावित मानिएको चालु आवको गत असोज महिनामा समेत भन्सारले लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ । मासिक लक्ष्यको १०१ प्रतिशत राजस्व असुली गर्न सफलता मिलेको भन्सार कार्यालयले जनाएको छ । कार्यालयले असोज महिनामा १ अर्ब ५० करोड ४९ लाख २४ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य लिएको थियो । तर, सो अवधिमा १ अर्ब ५२ करोड २४ लाख ९० हजार रुपैयाँ राजस्व असुली गरेको सूचना अधिकारी हुमागाइँको भनाइ छ ।
भय रहित वातावरणमा निर्वाचन, जेनजीले चाहेको सुशासनको आधारशिला तयार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले शान्ति, समृद्धि र सुशासनको आकाङ्क्षा पूरा गर्न राष्ट्रिय सङ्कल्पका साथ अघि बढ्न आग्रह गरेकी छिन् । प्रधानमन्त्री कार्कीले तिहार, म्हं पूजा, नेपाल संवतको नयाँ वर्ष ११४६, छठ लगायतका पर्वका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा स्वदेश र विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुलाई उक्त शुभकामना व्यक्त गरिन् । ‘कठिन परिस्थितिमा एकताबद्ध रहने हाम्रो मौलिक संस्कृति नै हो । तसर्थ कुनै पनि भ्रममा नपरी हामी सबै मिलेर निराशा र अन्धकारको अन्त्य गर्दै नयाँ नेपालको उज्यालो भविष्य निर्माणतर्फ एकजुट होऔंँ,’ शुभकामना सन्देशमा भनिएको छ । प्रधानमन्त्री कार्कीले ६ महिनाभित्र स्थिर सरकार दिने प्रतिज्ञाका साथ निर्वाचनको वातावरण बनाउन दत्तचित्त भएर लागि परेको र यसका निम्ति राजनीतिक संवाद र सुरक्षा स्थिति सुधारको काम सन्तोषजनक ढङ्गले अघि बढिरहेको सन्देशमा उल्लेख गरेकी छिन् । सन्देशमा भनिएको छ, ‘फागुन २१ गते स्वच्छ, निष्पक्ष र भय रहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने, सुशासन कायम गर्ने, भ्रष्टाचारविरुद्ध ठोस् कदम चाल्ने र जेनजी आन्दोलनका क्रममा भएका दमन तथा हिंसाको निष्पक्ष छानबिन गर्ने कार्य हाम्रो प्राथमिक जिम्मेवारी हो भन्नेमा हामी स्पष्ट छौँ ।’ यस वर्षको परिवर्तनको असिम आकाङ्क्षा र नयाँ यात्राको जिम्मेवारीसहित अघि बढिरहेको उल्लेख गर्दै सन्देशमा भनिएको छ, ‘भदौको महान् जेनजी आन्दोलनले हामीमाथि जुन भरोसा र दायित्व सुम्पेको छ, त्यसको सम्मान गर्दै सरकारले समावेशी, पारदर्शी र उत्तरदायी शासनको मार्ग अवलम्बन गर्ने दृढ प्रतिबद्धता प्रकट गरेको छ, यसबीचमा जेनजीले चाहेको सुशासन र विकासको आधारशिला तयार पनि भएको छ ।’ दीपावलीको उज्यालोसँगै आउने यी पर्व जीवनमा आशा, विश्वास र समृद्धिका प्रतीक भएको र अन्धकारमाथि उज्यालोको, निराशामाथि आशाको र अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा यी पर्वहरू मनाउने गरेको सन्देशमा छ ।
आज धन धान्य देवी लक्ष्मीको पूजा आराधना गरिँदै, लक्ष्मी आउने बाटोमा पाइला बनाइँदै
काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मीपूजा पछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतिक मानी पूजा गरी दक्षिणा दिने प्रचलन छ । आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ । लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस्, लक्ष्मी र धन धान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए । आज साँझ युवतीहरू समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घर घरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । भलो होस् भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको पनि उनले बताए । आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । लक्ष्मी पूजाका अवसरमा आज शहर बजारमा दीपावली गरी झिलीमिली बनाइन्छ । कुल परम्परा अनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलन समेत छ । शास्त्रीय रूपमा भने औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाई पूजा गर्नुपर्ने उल्लेख छ ।
तिहारको उज्यालोले रिसलाई बिर्सिएर मेलमिलाप र खुसियालीको वातावरण होस्: उपराष्ट्रपति
काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको ‘विविधतामा एकता’को भावनालाई चरितार्थ गर्ने तिहार पर्वले विभिन्न क्षेत्र, वर्ग र समुदाय माझ परस्पर विश्वास, सद्भाव र भाइचाराको सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले आज आस्था र उल्लासको पर्व तिहार (शुभ दीपावली), २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सु-स्वास्थ्यको लागि शुभकामना व्यक्त गर्दै सो विश्वास व्यक्त गरे । उपराष्ट्रपति यादवले भनेका छन्, ‘शुभ दीपावलीले हाम्रो मन, वचन र कर्म प्रतिको पवित्र भावनाहरू आत्मसात गर्न सहयोग पुगोस्, सम्पूर्ण नेपाली एकताबद्ध भई राष्ट्रिय एकता, अखण्डता, सार्वभौमसत्ता र राष्ट्रियतालाई मजबुत बनाउनका लागि यसले उत्प्रेरित गर्न सकोस् ।’ तिहार पर्वको उज्यालोले हाम्रा मनका सम्पूर्ण रिस, राग, वैमनस्यता र द्वेषलाई बिर्सिएर मेलमिलाप र खुसियालीको वातावरण सिर्जना हुने उनको भनाइ छ । समग्रमा पाँच दिनसम्म मनाइने यो पर्वको माध्यमबाट हामीलाई सामूहिकता र एकताको भावनाले बाँधिएको एक सुदृढ समाज निर्माणको प्रेरणा प्राप्त हुने शुभकामना सन्देशमा उल्लेख छ ।
तिहारले सुशासनको मार्गमा अग्रसर रहन प्रेरित गर्न सकोस् : राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भातृत्व, सुशासन र समृद्धिको भावना अझ अभिवृद्धि गर्न उत्प्रेरितगरोस् भनी कामना गरेका छन् । तिहारको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा आज एक सन्देश जारी गर्दै उनले सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरेका हुन् । ‘नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक हो । हामीले मनाउने विभिन्न चाड पर्वहरूले विविधतालाई एकतामा बाँध्ने कार्य गर्दै आएको छ । यस्ता पर्वहरूमध्ये तिहार हिन्दुको महान पर्वको रूपमा रहेको छ । यस पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ,’ राष्ट्रपतिले सन्देशमा भनेका छन् । राष्ट्रपति पौडेलले सांस्कृतिक, पौराणिक, व्यावहारिक, मनोवैज्ञानिक तथा वैज्ञानिक महत्व बोकेको तिहार पर्व उज्यालो र प्रकाशको पर्व पनि भएको उल्लेख गरे । तिहारका माध्यमबाट प्रकट हुने विभिन्न सांस्कृतिक अभ्यासले मानवीय जीवनमा प्रकाश छरी हामी सबैलाई सत्य, न्याय र सामाजिक सुशासनको मार्गमा अग्रसर रहन प्रेरित गर्न सकोस् भन्ने उनले कामना गरे । तिहार पर्वलाई यमपञ्चक पनि भनिन्छ । यस पर्वमा काग, कुकुर, गाई, गोरु, पर्वत आदिको सम्मान गर्ने, पूजा गर्ने तथा लक्ष्मी पूजाको दिनमा भगवती लक्ष्मीको पूजा आराधना गरिन्छ । भाइटीकाका दिनमा दाजुभाइ तथा दिदीबहिनीबीच आपसमा टीका लगाई सद्भावका साथ पूजा अर्चना गरी हर्षोल्लासका साथ यो पर्व मनाइन्छ । भाइटीका लगाउने, म्ह पूजा गरी आत्म शुद्धि गर्ने जस्ता चलनले प्रेम र स्नेह, सामाजिक एकता र समृद्धि, धर्म, दया र करुणा तथा अन्धकार माथिको प्रकाशको विजयजस्ता सन्देशहरू प्रवाह गरेको देखिने राष्ट्रपतिले सन्देशमा स्पष्ट पारे ।
तिहारमा पनि आरटीजीएस प्रणाली सञ्चालनमा रहने
काठमाडौं । तिहार पर्वको अवसरमा समेत ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली सञ्चालनमा आउने भएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गरी कात्तिक ३, ४, ५ र ७ गते सार्वजनिक विदाका दिनमा सो प्रणाली सञ्चालनमा रहने जनाएको हो । भाइटीकाका दिन भने सो प्रणाली बन्द हुनेछ । उक्त प्रणाली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालनमा रहने नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले जनाएको छ । केन्द्रीय बैंकले यसअघि नै भन्सार जाँच पास गर्ने प्रयोजनका लागि आवश्यक बैंकिङ प्रणाली सञ्चालनमा ल्याउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइसकेको छ । तिहारको भाइटीकाको दिन बाहेक अरु दिन अरु सबै दिन भन्सार जाँचपासका गर्न आवश्यक पर्ने बैंकिङ सेवा सुचारु गर्ने व्यवस्था गर्नु गराउन क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको थियो ।
मल आयातको प्रक्रिया अघि बढ्यो, ४ लाख ७१ हजार मेट्रिक टनका लागि बोलपत्र आह्वन
काठमाडौं । चालु आर्थिक वर्षका लागि कूल ६ लाख मेट्रिक टन रासायनिक मल आयात गर्ने लक्ष्य राखिएकामा हालसम्म ४ लाख ७१ हजार ३ सय मेट्रिक टन बराबरको बोलपत्र आह्वान भएको छ । किसानलाई सहज रुपमा रासायनिक मल उपलब्ध गराउने लक्ष्य अनुसार सरकारले आवश्यक प्रबन्ध मिलाएको स्पष्ट पारेको छ । रासायनिक मल आयातका लागि सरकारले २८ अर्ब ८२ करोड १४ लाख रुपैयाँ बराबर बजेट विनियोजन गरेको छ कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार, गत असोज मसान्तसम्म १ लाख ९४ हजार ८५ मेट्रिक टन मल आपूर्तिको चरणमा छ । त्यसमा कृषि सामग्री कम्पनीको यूरिया ३३ हजार ३३८ मेट्रिक टन, साल्ट ट्रेडिङ कर्पोरेसनको ५७ हजार ६७० मेट्रिक टन बराबर छ । कृषि सामग्री कम्पनीले यूरिया, डिएपीसमेत गरी कूल १ लाख १५ हजार ४०५ मेट्रिक टन र साल्ट ट्रेडिङ कर्पोरेसनले ७८ हजार ६८० मेट्रिक टन बराबरको मल आपूर्ति गरेको छ । मन्त्रालयका अनुसार, हाल १ लाख ८ हजार ९०८ मेट्रिक टन मल भने मौज्दात छ । त्यसमा कृषि सामग्री कम्पनीमा डिएपी, यूरिया, पोटास समेत गरी कूल ६३ हजार ८ सय मेट्रिक टन र साल्ट्र ट्रेडिङ कर्पोरेसनमा ४५ हजार १०८ मेट्रिक टन बराबर रासायनिक मल मौज्दात छ । हिउँदे खेतीलाई पर्याप्त मात्रामा रासायनिक मल मौज्दात रहेको मन्त्रालयले जनाएको छ । गत साउनदेखि असोज मसान्तसम्म १ लाख ३२ हजार ८०७ मेट्रिक टन मल बिक्री भएको मन्त्रालयले जनाएको छ ।
विदेशीलाई अभद्र व्यवहार गर्ने नविन र विशाल पक्राउ
काठमाडौं । प्रहरीले धारिलो हतियार देखाइ विदेशी नागरिकलाई अभद्र व्यवहार गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । आइतबार पोखरा-२२ अनदु जङ्गलको सार्वजनिक स्थानमा ६७ वर्षीय जर्मन नागरिक अन्स पिटर मार्टीन एक्लै हिँडिरहेको अवस्थामा खुकुरी देखाइ हातपात गरी अभद्र व्यवहार गरेको सूचनाका आधारमा २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार सूचना प्राप्त हुनासाथ तत्काल वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट प्रहरी टोली खटिई घटनामा संलग्न व्यक्तिहरूलाई एक थान खुकुरीसहित नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका-८ का २४ वर्षीय नविन विक र तनहूँ व्यास नगरपालिका-५ का २१ वर्षीय विशाल दर्लामी रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत अभद्र व्यवहारसम्बन्धी मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको प्रवक्ता बस्नेतले बताए ।