विकासन्युज

सैन्य सुरक्षामा रहँदा मेरो फोन खोसियो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले जेनजी प्रदर्शन पछि सैनिक सुरक्षामा रहँदा केही दिन आफ्नो मोबाइल सुरक्षाकर्मीले खोसेको खुलासा गरेका छन् । प्रधानमन्त्रीबाट राजीनामा दिएपछि पहिलोपटक सम्पादकहरूसँग संवाद गर्दै उनले यस्तो खुलासा गरेका हुन् ।  भदौ २४ गते प्रदर्शन चर्किएपछि ओली सैनिक सुरक्षामा एक साता बसेका थिए ।  असोज २ गते शिवपुरी ब्यारेकबाट फर्किएका पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली गुण्डुस्थित भाडाको घरमा बस्दै आएका छन् ।

आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट, १६३ कम्पनीको मूल्य बढ्यो

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६ अंकले बढेर २५०३ बिन्दुमा पुगेको छ ।  आज १६३ कम्पनीको मूल्य बढ्दा ७८ कम्पनीको मूल्य घटेको छ । ८ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३२३ कम्पनीको ६१ लाख कित्ता सेयर किनबेच हुँदा २ अर्ब ७९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्सको भएको छ । नेपाल रियन्स्योरेन्सको २८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, हिमालयन डिस्टीलरीको २५ करोड, युनियन हाइड्रोपावरको १६ करोड र सीइडीबी होल्डीङसको ९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज आत्मनिर्भर लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आइतबार विकास बैंक समूह ०.२१, म्युचुअल फण्ड ०.१३ र निर्जीवन बिमा समूह ०.३४ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।      बैंकिङ ०.८७, वित्त ०.५१, होटल तथा पर्यटन ०.७२, जलविद्युत् ०.७०, लगानी ०.७५, जीवन बिमा ०.३३, उत्पादन तथा प्रशोधन ०.९०, लघुवित्त ०.४७, व्यापार ०.९० र अन्य समूह १.१६ प्रतिशतले बढेको छ ।  

नेपाल संवत्‌लाई नेपाली नोटमा समावेश गराइने

भक्तपुर । यस वर्षदेखि नेपाली नोटमा नेपाल संवत्को मिति उल्लेख गरिने भएको छ । शङ्खधर साख्वाः प्रतिष्ठान भक्तपुरले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल संवत् ११४६ नयाँ वर्षको दिन आगामी ५ गते बुधबार प्रधानमन्त्री सुशीला कार्कीद्वारा शङ्खधर साख्वाःको शालिकमा हुने माल्यार्पण कार्यक्रममा त्यसको औपचारिक घोषणा गर्ने गरी सहमति भएको जानकारी दिइयो । प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले प्रधानमन्त्रीसँगको छलफलमा त्यसबारे सहमति भएको र बुधबार औपचारिक घोषणा गरिने बताए । उनले भने, ‘नेपाल संवत् नेवारहरूको मात्रै होइन, सिङ्गो नेपाल र सबै नेपालीको आफ्नै मौलिक संवत् हो । यसबारेमा प्रधानमन्त्रीसँग छलफल भयो र बुधबारको कार्यक्रममा घोषणा गर्ने तयारी छ।’ अध्यक्ष श्रेष्ठले नेपाल संवत्को नयाँ वर्षको दिन बुधबार प्रधानमन्त्री कार्कीबाट कार्यक्रमको उद्घाटन भई शङ्खधर साख्वाको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको बताए। प्रतिष्ठानका पूर्वअध्यक्ष श्यामकृष्ण मानन्धरले कार्यक्रमको तयारी पूरा भएको जानकारी दिए । उनले देश तथा विदेशमा शङ्खधर साख्वाःको योगदान, नेपाल संवत्को महत्त्व तथा यसलाई कार्यान्वयनमा ल्याउन पहल गरिरहेको र यस देश तथा विदेशका विभिन्न ठाउँमा शङ्खधर साख्वाःको शालिक स्थापना गर्ने काम भइरहेको बताए । रासस

विप्लव समूहले गर्‍यो एकीकृत स्वामित्व अवधारणाअन्तर्गत नयाँ उद्योग सञ्चालनको घोषणा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी विप्लवले ‘एकीकृत स्वामित्व अवधारणा’अन्तर्गत कृषि उत्पादनमा आधारित उद्योग सञ्चालन गर्ने निर्णय गरेको छ । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीले उक्त निर्णय सार्वजनिक गरेको हो । महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीको उक्त योजना बारे जानकारी गराएका हुन् ।  उनले पार्टीले लामो समयदेखि उत्पादनसँग पार्टी गतिविधिलाई जोड्दै आएको उल्लेख गर्दै यो वर्ष वर्षेबाली उत्पादन अपेक्षाकृत राम्रो भएको जानकारी दिए ।  साथै आउँदो हिउँदे बालीलाई पनि थप व्यवस्थित र वैज्ञानिक ढंगले उत्पादन गर्ने रणनीति लिइएको उनले जानकारी गराए । महासचिव विप्लवले पार्टीले अगाडि सारेको नयाँ आर्थिक मार्ग अन्तर्गत आत्मनिर्भर अर्थतन्त्र निर्माणको दिशामा महत्त्वपूर्ण प्रगति भइरहेको बताए । उनले उक्त मोडेलबाट उत्साहजनक आर्थिक परिणामहरू देखिएको दाबी गरे। विप्लवका अनुसार उत्पादनमूलक अर्थतन्त्र र सामूहिक स्वामित्वमा आधारित उद्योगमार्फत सामाजिक र आर्थिक जीवनमा सकारात्मक परिवर्तन  ल्याउने लक्ष्यसहित पार्टी अघि बढिरहेको छ ।

काठमाडौंका ६२ चोकमा हाइ मास्ट बत्ती जडान, १० करोड लागत

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडाैंका प्रमुख ६२ वटा चोकमा हाइ मास्ट बत्ती जडानको काम अन्तिम चरणमा पुगेको जनाएको छ । महानगरले सहरको सौन्दर्य र सुरक्षालाई ध्यानमा राख्दै सुरु गरेको यस परियोजना तिहारअघि नै पूरा हुने भएको हो । महानगरको सार्वजनिक निर्माण विभागका महाशाखा प्रमुख रामचन्द्र नेपालीका अनुसार सहरका ७० चोकमध्ये पहिलो चरणमा ६२ चोकमा पोल गाडी बत्ती जडानको काम भइरहेको छ । उनले भने, '६२ चोकमध्ये २१ चोकमा १२.५ मिटरका पोल र ४१ चोकमा १६ मिटर अग्ला पोल जडान भइरहेका छन् । यी पोलहरूमा क्रमशः ६ र ८ वटा बत्तीहरू जडान गरिँदैछ ।' करीब ९ करोड ९९ लाख रुपैयाँ लागत अनुमान गरिएको परियोजना सार्वजनिक खरिद प्रक्रियामार्फत ९ करोड ८५ लाख २२ हजार १४४ रुपैयाँमा ठेक्का सम्झौता गरिएको हो । यो सम्झौता २०८१ पुस २३ गते निर्माण पक्षसँग भएको र काम २०८२ पुस ३० गते भित्र सम्पन्न गर्नुपर्ने प्रावधान छ । तर, तिहार पर्वलाई लक्षित गर्दै महानगरले निर्धारित समयभन्दा अगावै काम सम्पन्न गर्न लागेको हो। महाशाखा प्रमुख नेपालीले भने, 'तिहारको उल्लासमा सहर झन् उज्यालो बनोस् भन्ने उद्देश्यले कामलाई तीव्र बनाइएको छ।' यी हाइ मास्ट बत्तीहरू १ हजार वाट क्षमताका छन् र सेफ्टवेयर प्रणालीमा आधारित छन् । आवश्यकताअनुसार यी बत्तीहरूलाई चर्को वा मधुरो प्रकाशमा नियन्त्रण गर्न सकिने व्यवस्था गरिएको छ ।

तिहार मनाउन ६ लाख मानिसले उपत्यका छोड्‌ने अनुमान

काठमाडौं । शनिबारदेखि सुरु भएको तिहारका लागि करिब ६ लाख मानिसहरू काठमाडौं उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यसपटक तिहारको बिदा लामो भएका कारण उपत्यका छोड्नेको संख्या बढ्ने अनुमान रहेको जनाएको हो । महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले तिहारमा बाहिरिनेका लागि सहज रूपमा यातायात व्यवस्थापन हुने जानकारी दिए । ‘यसपटक दसैँका समयमा कतिपयले भारी वर्षाका कारण सास्ती ब्यहोर्नु पर्‍यो, तर तिहारको समयमा राजमार्ग सुधार भइसकेका छन् । अब सास्ती ब्यहोर्नुपर्ने छैन’, उनले भने । सडक विभागका सूचना अधिकारी शुभाञ्जन दाहालले पनि देशभरका मुख्य राजमार्ग सुधार भइसकेकाले तिहार मनाउन टाढा जानेहरूले समस्या भोग्नु नपर्ने बताए । ‘दसैँको समयमा बाढीपहिरोका कारण क्षतिग्रस्त राजमार्गमध्ये मेची राजमागस्थित माइखोला खुल्न बाँकी थियो । शनिबारबाट त्यो पनि सञ्चालनमा आइसकेको छ । अब राष्ट्रिय राजमार्गमा समस्या छैन’, उनले भने, ‘कुनै कारणले वा सुक्खा पहिरो खसेर राजमार्ग अवरुद्ध हुने अवस्था आएमा पनि तत्काल सडक सञ्चालन गर्न हामी तयारी अवस्थामा छौँ ।’

गोल्याण ग्रुप र शहीद परिवारबीच शैक्षिकवृत्ति समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । औद्योगिक घराना गोल्याण ग्रुप र जेनजी आन्दोलनका शहीद परिवारबीच शैक्षिकवृत्ति योजनाको समझदारीपत्रमा हस्ताक्षर भएको छ । गोल्याण ग्रुपले असोज २४ गते घोषणा गरेको सहिद परिवारका लागि शिक्षा तथा स्वास्थ्यमा आधारित सहयोग कार्यक्रम कार्यान्वयन गर्ने क्रममा समझदारी गरेको हो । पहिलो चरणमा शुक्रबार ११ जना बालबालिकालाई कक्षा १२ सम्मको अध्ययन र विशेष क्षमता तथा प्रतिभा प्रोत्साहनका लागि खर्च व्यहोर्ने गरी सम्झौता भएको छ । गोल्याणको तर्फबाट कम्पनीका कर्पोरेट अफेयर्स एन्ड कम्युनिकेसन्स प्रमुख ज्योति गैह्रे र बालबालिकाका तर्फबाट उनीहरूका अभिभावकले हस्ताक्षर गरेका छन् । समझदारीअनुसार गोल्याण ग्रुपले सहिद परिवारका सदस्यले अध्ययन गर्दै आएको, इच्छाएको वा उपयुक्त ठहरिएको शैक्षिक संस्थामा माध्यमिक तह (कक्षा १–१२) सम्म अध्ययन गर्न आवश्यक छात्रवृत्ति प्रदान गर्नेछ । 'छात्रवृत्तिस्वरूप निज अध्ययनरत शैक्षिक संस्थाको बैंक खातामा सो संस्थाले तोकेको शुल्क आवश्यकता अनुसार वा एकमुष्ट जम्मा गर्नेछ,' समझदारीपत्रमा भनिएको छ, 'आवश्यक परेको खण्डमा छात्रवृत्ति प्राप्तकर्ताको अभिभावक, गोल्याण ग्रुप तथा सम्बन्धित शैक्षिक संस्थाबीच यस समझदारीको अधीनमा रही तीन पक्षीय सम्झौता गर्न सकिनेछ ।' शैक्षिक छात्रवृत्तिका अतिरिक्त बालबालिकाको इच्छाअनुसार कुनै एक अतिरिक्त क्रियाकलापमा सहभागी हुन सम्बन्धित संस्थामा भर्ना तथा नियमित शुल्क समेत व्यहोर्ने समझदारीपत्रमा उल्लेख छ । अभिभावकहरूले दिएको जानकारीका आधारमा युरो स्कुल छाउनी, प्याराडाइज इंलिस स्कुल सानेपा, जागृति विद्यासदन इंलिस स्कुल मुलपानी लगायतमा पढाउने गरी प्रक्रिया सुरु गरेको गैह्रेले जानकारी दिइन् । 'हामीले गर्ने कुनै पनि सहयोगले परिवारका प्रियजन गुमाउँदाको पीडा मेटाउन सक्दैन, तर तपाईँहरू एक्लो हुनुहुन्न, हामी पनि सँगसँगै छौँ भन्ने भावनाले सहयोगको हात बढाएका हौँ,' उनले भनिन्, 'सहिदका बालबालिकासँग उनीहरूको सपना पनि जोडिएकाले त्यसको संरक्षण गर्नु हामीले दायित्व सम्झेका छौँ ।' गोल्याण ग्रुपकी कर्पोरेट अफेयर्स एण्ड कम्युनिकेसन्स प्रमुख गैह्रेले कम्पनीले सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा जेनजी आन्दोलनका सहिद परिवारका लागि शिक्षा र स्वास्थ्यमा आधारित सहयोग कार्यक्रम घोषणा गरेको र त्यसलाई कार्यान्वयन सुरु गरेको बताइन् । उनका अनुसार सहिद परिवारका घरमै गएर उनीहरूको आवश्यकता पहिचान गरी पहिलो चरणको सहयोग कार्यक्रम अघि बढाइएको हो । ‘हामीले क्रमशः अन्य सहिदका परिवारसँग पनि सम्पर्क गरिरहेका छौँ, उहाँहरूको आवश्यकता पहिचान गरेर सबैलाई सहयोग कार्यक्रममा जोड्नेछौँ’, उनले भनिन् । समझदारीपत्र हस्ताक्षरको अवसरमा सहिद परिवारका एक सदस्यले गोल्याण ग्रुपले बालबालिकाको भविष्यलाई उच्च महत्त्व दिएर सहिदका सपनाको सम्मान गरेको बताए । 'गोल्याण ग्रुपले सहिदका बालबच्चाको शिक्षाको दायित्व व्यहोरेर हामीलाई ठूलो गुन लगाएको छ,’ उनले भने, ‘मेरो घरमा यो दायित्व बोकेको छोरो सहिद भएर गयो, अब गोल्याण ग्रुप मेरो नातिको अभिभावक बनेको छ ।’ आन्दोलनमा आमा गुमेपछि दुई भाइ–बहिनीको जिम्मेवारी सम्हालिरहेकी काठमाडौंकी उर्मिला नगरकोटीले नयाँ अभिभावक पाएको बताइन् । बुवा पहिल्यै बितेका र आमा कान्छी नगरकोटीको आन्दोलनमा मृत्यु भएपछि उर्मिलाको काँधमा ९ कक्षामा अध्ययनरत भाइ र ११ कक्षामा अध्ययनरत बहिनीको जिम्मेवारी आइलागेको थियो । ‘बुवा–आमा नरहेपछि भाइबहिनीलाई कसरी पढाउने भन्ने चिन्ता थियो, अब हटेको छ,’ उनले भनिन् । समझदारीपत्र हस्ताक्षर कार्यक्रममा आएकी मञ्जु पौडेलले हरेक व्यक्तिको जीवनमा शिक्षाभन्दा ठूलो केही नभएको बताउँदै यसको जिम्मेवारी लिएकोमा गोल्याण ग्रुपप्रति आभार व्यक्त गरिन् । मञ्जुका श्रीमान् अनिष पराजुलीको महाराजगन्जमा गोली लागेर मृत्यु भएको थियो । उनका २ वर्षीय र १४ वर्षीय दुई छोरा छन् । उनीहरूको १२ कक्षासम्मको शिक्षाको जिम्मेवारी गोल्याण ग्रुपले लिएको छ । गोल्याण ग्रुपले स्वास्थ्य बिमा सहयोग कार्यक्रम कार्यान्वयन प्रक्रिया पनि सुरु गरेको जनाएको छ । शैक्षिक वृत्ति कार्यक्रममा समेट्न नसकिएका सहिद परिवारका बुवा र आमाका लागि बीमामार्फत सहयोग गरिने कम्पनीका कर्पोरेट अफेयर्स एण्ड कम्युनिकेसन्स प्रमुख गैह्रेले जानकारी दिइन् । उनका अनुसार दोस्रो चरणमा तिहारलगत्तै बाँकी सहिद परिवारलाई भेटेर कार्यक्रममा जोडिनेछ । काठमाडौं बाहिर रहेका सहिद परिवारसँग पनि सम्पर्क गर्ने काम भइरहेको र कात्तिक महिनाभित्र सबैलाई घोषणाअनुसार सबै सहिद परिवारलाई सहयोग कार्यक्रममा आवद्ध गर्ने उनले बताइन् ।

आरबिवि मर्चेन्ट बैंकिङको साधारण सभा सम्पन्न, ४० करोड नगद लाभांश पारित

काठमाडौं । आरबिवि मर्चेन्ट बैंकिङ लिमिटेडले दशौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाले सेयरधनीहरूलाई ४० करोड रुपैयाँ नगद लाभांश पारित गरेको हो । कम्पनीकी अध्यक्ष सरस्वती अधिकारीले सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८१/८२ का विभिन्न प्रस्तावहरू पारित भएको जानकारी दिइन् । सभाले प्रस्तुत आर्थिक विवरण, वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण अनुमोदन गर्दै सेयरधनीहरूलाई वितरणयोग्य मुनाफाबाट २० प्रतिशतले हुने रकम ४० करोड रुपैयाँ (कर सहित) नगद लाभांश पारित गरेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डको स्वीकृतिसहित सेयर रजिष्ट्रार, लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूतिकर्ता, हितग्राही, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, र सामूहिक लगानी कोष योजना व्यवस्थापकको रूपमा सेवा प्रदान गर्दै आएको छ । सभाले सन् २०८१/८२ को बाह्य लेखापरीक्षकका रूपमा सिन्हा एण्डको चार्टर्ड एकाउन्टेन्टका सिए सञ्जयकुमार सिन्हा कायस्थको नियुक्ति अनुमोदन गरेको छ । साथै, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरिएको छ । विशेष प्रस्ताव अन्तर्गत कम्पनीका सञ्चालक तथा स्वतन्त्र सञ्चालकहरूको नियुक्ति अनुमोदन गरिएको छ । सभामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रतिनिधि उप-कार्यकारी अधिकृत विनयरमण पौडेलको नेतृत्वमा १०० प्रतिशत सेयरधनीहरूको उपस्थिति रहेको र सभाले पूर्ण वैधानिकता प्राप्त गरेको कम्पनीले जनाएको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल उपस्थित थिए भने विशेष अतिथि रूपमा नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईंले सहभागिता रहेको थियो ।