विकासन्युज

हर्षोल्लास पूर्वक मनाइँदै सोनाम ल्होसार, आजदेखि घोडा वर्ष प्रवेश

काठमाडौं । तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाउँदै छन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृति पूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताए । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी मनाउने जनाएको छ । यसैगरी नेपाल तामाङ घेदुङले यस पर्वका अवसरमा टुँडिखेलमा शनिबारदेखि तीन दिनसम्म विविध कार्यक्रम सुरु गरेको छ । यसैगरी राजधानीको स्वयम्भू क्षेत्रमा पनि विविध कार्यक्रम गरी सोनाम ल्होसार मनाउन लागिएको जनाइएको छ । करिब ४ हजार ७०० वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्याण्ड, ताइवान, मलेसिया, सिंगापुर लगायत देशहरूमा पनि मनाउने गरिन्छ । नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्दछन् । यस अवसरमा आइतबारदेखि नै राजधानीको टुँडिखेलमा ल्होसार महोत्सव आयोजना गरिएको छ । महोत्सवअन्तर्गत तामाङ समुदायका ताम्बा, बोन्बो र लामाहरूको विशेष सांस्कृतिक झाँकी, परम्परागत गीत तथा नृत्य प्रस्तुत गरिनेछ । साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ख्याति प्राप्त कलाकारहरूको प्रस्तुति रहने मूल समारोह समितिले जनाएको छ । 

धरान उपमहानगरका मेयर हर्क साम्पाङले दिए राजीनामा

काठमाडौं । धरान उपमहानगरका मेयर हर्क साम्पाङले पदबाट राजीनामा दिएका छन् । साम्पाङले आइतबार (आज) बसेको कार्यपालिका बैठकमा उपप्रमुख अइन्द्रबिक्रम बेघालाई राजीनामा बुझाएका हुन् । कानुनी प्रावधानअनुसार मेयरको पद रिक्त भएपछि उपमेयर बेघाले  कार्यवाहक मेयरको जिम्मेवारी सम्हाल्नेछन्।  साम्पाङले सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनी श्रम संस्कृति पार्टीका अध्यक्षसमेत हुन् ।

निर्वाचनमा सक्रिय हुन कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी निर्णयको सम्मान गर्दै आसन्न निर्वाचनमा एकजुट भएर होमिन आफूनिकट नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । काठमाडौंको बत्तीसपुतलीमा आइतबार (आज)  आयोजित भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले उक्त निर्देशन दिएको नेता डा. गोविन्द पोखरेलले जानकारी दिए ।  उनका अनुसार हाल देखिएको विवाद अदालतमा पुगेको र अदालतले जे आदेश दिए पनि त्यसलाई स्वीकार गर्दै निर्वाचनमा सक्रिय भूमिका निर्वाह गर्न कोइरालाले आग्रह गरेका हुन् । पोखरेलका अनुसार नेता कोइरालाले आफ्ना समर्थकहरूलाई आ–आफ्ना जिल्ला र निर्वाचन क्षेत्रमा फर्किएर पार्टी उम्मेदवारको पक्षमा सक्रिय हुन निर्देशन दिएका हुन् ।

ललितपुर महानगरको हिउँदे नगरसभा सम्पन्न, पूँजीगत खर्च २४ प्रतिशत

ललितपुर । ललितपुर महानगरको आठौं नगरसभा (हिउँदे नगरसभा) आइतबार (आज) सम्पन्न भएको छ ।  महानगर प्रमुख चिरीबाबु महर्जनले प्रतिनिधिसभाको निर्वाचनका लागि आचारसंहिता लागू हुने भएकाले आचारसंहिता लागू हुनुअघि नै जनतासँग जोडिएका सम्पूर्ण काम पुरा गर्न अनुरोध गरे ।  जेनजी प्रदर्शन र प्रतिनिधिसभाको निर्वाचनका कारण महानगरको पूँजीगत खच अपेक्षा अनुसार हुन नसकेको उनको भनाइ छ । उनले भने, ‘अघिल्ला वर्षहरूको अनुभवलाई हेर्ने हो भने पनि पछिल्लो छ महिनामा पुँजीगत खर्च बढी भएको देखिन्छ ।’ महर्जनले पूँजी खर्च प्रगति मापनको मुख्य आधार भएको बताउँदै बाँकी छ महिनामा यो खर्च बढ्नेगरी काम गर्न अनुरोध गरे ।  आर्थिक वर्ष २०८२÷२०८३ को हालसम्मको पूँजीगत खर्च २४ प्रतिशत रहेको छ । ललितपुर महानगरको छवि अन्य स्थानीय तहको भन्दा राम्रो रहेको बताउँदै उनले जनप्रतिनिधि र कर्मचारीबीचकौ टिमवर्कको कारण उपलब्धि हासिल गरेको बताए ।  उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले नागरिकको आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्नु जनप्रतिनिधिको दायित्व भएको बताउँदै आचारसंहिता लागू हुनुअघि नै जनतासँग प्रत्यक्ष जोडिएका विषयलाई अघि बढाउन अनुरोध गरिन् ।  उनले प्रतिनिधिसभाको निर्वाचनको आचारसंहिता लागू हुनु पूर्व नै नागरिकको मौलिक हकसँग जोडिएका विषयलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरिन् ।  प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले धेरैवटा योजना सुरु भइसकेको बताउँदै भुक्तानी नभएकाले पूँजीगत खर्च कम देखिएको बताइन् । बाँकी छ महिनामा पूँजीगत खर्च वृद्धि हुने बताउँदै नागरिकको दिनचर्यासँग जोडिएको विषयलाई प्राथमिकतामा राखेर काम गरेको बताइन् ।

कर्मचारीमाथि बढ्दो आक्रमण बारे लघुवित्त बैंकर्स संघ र प्रहरीबीच सुरक्षा छलफल

काठमाडौं । लघुवित्त क्षेत्रमा बढ्दो आक्रमण र सुरक्षा चुनौतीका विषयमा नेपाल लघुवित्त बैंकर्स संघ र नेपाल प्रहरीबीच छलफल भएको छ । लघुवित्त बैंकर्स संघले आइतबार नेपाल प्रहरीसँग भेटेर लघुवित्त वित्तीय क्षेत्रमा भइरहेका अराजक घटनाको रोकथाम र कर्मचारी सुरक्षा सुनिश्चितता गर्ने उपायबारे छलफल गरेको हो । लघुवित्त बैंकर्स संघका अध्यक्ष राम बहादुर यादव र नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) उमा प्रसाद चतुर्वेदीबीच भएको छलफलमा लघुवित्त संस्थाका कर्मचारीमाथि भएका आक्रमण, कुटपिट र दुर्व्यवहारको विषय उठाइएको थियो । अध्यक्ष यादवका अनुसार मोरङ, सिराहा, सर्लाही, बारा र पाल्पा जिल्लामा कर्मचारीमाथि आक्रमण र दुर्व्यवहार भएका थिए ।  सर्लाहीमा केही लघुवित्त संस्थाको ३ लाख रुपैयाँ लुटिएको थियो । मोरङमा कर्मचारीमाथि दुर्व्यवहार भएको र बारा तथा पाल्पामा कामका क्रममा कुटपिट भएको जनाएको छ । अध्यक्ष यादवले प्रहरीसँग उजुरी र जाहेरीको कार्यान्वयनका लागि माग गरेको थिए ।  प्रहरीले तुरुन्तै आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएको छ र सबै जिल्ला प्रहरी कार्यालयमा पत्र पठाउने तयारी भइरहेको जवाफ दिएको अध्यक्ष यादवले बताए । नेपाल राष्ट्र बैंकले पनि बैंकिङ क्षेत्रमा भएका आक्रमणबारे केही दिनअघि नेपाल प्रहरीका आईजीपीसँग छलफल गरिसकेको छ । आगामी दिनमा मासिक रुपमा जिल्ला प्रहरी कार्यालयमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीसँग समन्वयात्मक बैठक राख्ने र सुरक्षा सुनिश्चित गर्ने योजना रहेको छ ।  अध्यक्ष यादवले भने, ‘हामी हाम्रो तर्फबाट सुरक्षा सुनिश्चित गर्न पहल गर्नेछौँ र प्रहरी पनि आफ्नो तर्फबाट अघि बढोस् भन्ने अपेक्षा राख्छौँ ।’  बैठकमा लघुवित्त बैंकर्स संघका कोषाध्यक्ष विनोद आचार्य पनि सहभागि थिए ।

ऊर्जाका ठूला आयोजनाको मुख्य साझेदार बन्दै सौरभ ग्रुप, ४ हजारभन्दा बढीलाई रोजगारी

काठमाडौं ।  सौरभ ग्रुपले आफ्नो उत्पादन सर्वोत्तम र जगदम्बा सिमेन्ट नेपालको भौतिक पूर्वाधार निर्माणका लागि सबैभन्दा विश्वसनीय र गुणस्तरीय विकल्प भएको दाबी गरेको छ ।  नेपालमै पहिलोपटक भित्र्याइएको अत्याधुनिक भीआरएम र एक्सरे प्रविधि, विशाल उत्पादन क्षमता र देशव्यापी सहज आपूर्ति सञ्जालका कारण कम्पनीले राष्ट्रिय गौरवका ठूला आयोजनाहरूमा समेत मुख्य साझेदारको भूमिका निभाइरहेको जनाएको छ ।  इप्पानको कार्यक्रममा बोल्दै सौरभ ग्रुपका सञ्चालक दीपेश न्यौपानेले गुणस्तरमा एकरूपता, बजारमा नियमित आपूर्ति र दीर्घकालीन विश्वसनीयतालाई कम्पनीले सर्वोच्च प्राथमिकता दिएको बताए ।  ‘१० वर्षअघि हाम्रो सिमेन्ट प्रयोग गरेर बनेको घरको गुणस्तर र आज बन्ने घरको गुणस्तरमा कुनै फरक हुनेछैन,‍’ न्यौपानेले भने, ‘यो हाम्रो प्रतिबद्धता हो ।’ सर्वोत्तम सिमेन्टले नेपालमा पहिलोपटक जर्मनीको अत्याधुनिक भीआरएम प्रविधि प्रयोग गरी सिमेन्ट उत्पादन गर्दै आएको छ । यसले निर्माणलाई थप मजबुत बनाउनुका साथै सिमेन्टको खपतलाई समेत न्यूनीकरण गर्न मद्दत गर्ने उनको भनाइ छ ।  त्यस्तै, कम्पनीले आफ्नो उत्पादनको १०० प्रतिशत गुणस्तर एक्सरे प्रविधिबाट परीक्षण गर्ने गरेको छ । परम्परागत परीक्षण विधिमा घण्टौं लाग्ने काम एक्सरे प्रविधिबाट केही मिनेटमै सम्भव हुने हुँदा उत्पादनको हरेक चरणमा गुणस्तर नियन्त्रण गर्न सकिएको न्यौपानेले बताए ।  यसले सिमेन्टको गुणस्तरमा कुनै पनि विचलन आउन नदिने र उपभोक्ताले सधैं एकनासको गुणस्तर प्राप्त गर्ने कम्पनीको दाबी छ ।  सौरभ ग्रुप अन्तर्गतका सुनवल, भैरहवा, वीरगन्ज र झापामा रहेका चारवटा उद्योगबाट दैनिक कुल १ लाख ९५ हजार बोरा सिमेन्ट उत्पादन क्षमता रहेको छ ।  क्लिंकर र त्यसका लागि चाहिने चुनढुंगामा शतप्रतिशत आत्मनिर्भर रहेको कम्पनीसँग आगामी ३८ वर्षसम्मलाई पुग्ने चुनढुंगा खानी रहेको छ । यसले गर्दा बजारमा सिमेन्टको अभाव हुन नदिने र दीर्घकालसम्म नियमित आपूर्ति सुनिश्चित गर्ने कम्पनीको दाबी छ । देशका लगभग ६० जिल्लामा फैलिएको बृहत् डिलर सञ्जाल र चार फरक भौगोलिक स्थानमा रहेका उत्पादन एकाइहरूले गर्दा देशको कुनै पनि कुनामा निर्माण सामग्रीको सहज आपूर्ति सम्भव भएको छ ।  ‘पूर्व, पश्चिम वा मध्य नेपाल, जहाँसुकैको परियोजनामा पनि राजमार्ग अवरुद्ध हुँदा समेत हामी अर्को रुटबाट सहजै सिमेन्ट पुर्‍याउन सक्छौं, न्यौपानेले भने ।  अरुण तेस्रो जस्ता राष्ट्रिय गौरवका जलविद्युत आयोजनाहरूमा सफलतापूर्वक सिमेन्ट आपूर्ति गरिरहेको तथ्यले कम्पनीको गुणस्तर र विश्वसनीयतालाई थप प्रमाणित गरेको कम्पनीले जनाएको छ ।  सन् १९६४ मा स्थापना भएको सौरभ ग्रुपले सिमेन्ट, स्टिलदेखि बैंकिङ र ऊर्जासम्मका क्षेत्रमा आफ्नो व्यवसाय विस्तार गर्दै ४ हजारभन्दा बढीलाई प्रत्यक्ष र २५ हजारभन्दा बढीलाई अप्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ ।

विष्णु पौडेल रुपन्देही २ बाट उम्मेदवार

काठमाडौं । रुपन्देही–२ बाट विष्णु पौडेलको उम्मेदवारी निश्चित भएसँगै नेकपा एमालेले जिल्लाका पाँचै प्रतिनिधिसभा निर्वाचन क्षेत्रका उम्मेदवार टुंगिएका छन् ।  विभिन्न दल तथा गठबन्धनका तर्फबाट उम्मेदवार चयन भएपछि रुपन्देहीमा निर्वाचनको राजनीतिक तस्बिर स्पष्ट बन्दै गएको हो । निर्वाचन क्षेत्र नम्बर १ बाट दधिराम न्यौपाने उम्मेदवार बनेका छन् भने क्षेत्र नम्बर २ बाट विष्णु पौडेल (विष्णुप्रसाद पौडेल) मैदानमा उत्रिने भएका छन् ।  त्यसैगरी क्षेत्र नम्बर ३ बाट वासुदेव घिमिरे, क्षेत्र नम्बर ४ बाट सुनिता थथेर र क्षेत्र नम्बर ५ बाट खिमलाल भट्टराईको उम्मेदवारी टुंगिएको नेता खिमलाल भट्टराईले जानकारी दिए । पाँचै क्षेत्रमा उम्मेदवार तय भएसँगै दलहरू चुनावी तयारीमा जुटेका छन् ।  उम्मेदवारहरूले स्थानीय मुद्दा, विकास निर्माण, रोजगारी र सुशासनलाई मुख्य एजेन्डा बनाएर मतदातामाझ जाने तयारी थालेका छन् । रुपन्देहीमा यसपटकको निर्वाचन प्रतिस्पर्धात्मक हुने आँकलन गरिएको छ ।

बीवाईडी ब्रान्ड दुरुपयोगविरुद्ध साइमेक्स इंकले कानुनी प्रक्रिया अघि बढायो

काठमाडौं । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी ब्रान्ड नाम दुरुपयोग गरी सञ्चालन भइरहेका नक्कली तथा अनधिकृत डिजिटल पेज र वेबसाइटहरू विरुद्ध सार्वजनिक सूचना जारी गर्दै कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ । आइतबार कम्पनीले जारी गरेको सूचनाअनुसार केही नक्कली डिजिटल प्लेटफर्महरूले आफूलाई ‘बीवाईडी नेपाल’को आधिकारिक माध्यमको रूपमा प्रस्तुत गर्दै ग्राहक तथा उपभोक्तालाई भ्रममा पार्ने प्रयास गरिरहेका छन् । साइमेक्स इंकले ‘bydpromotionnepal.com’ नामक वेबसाइट, ‘BYD Dealler Fans’ नामको फेसबुक पेज, ‘BYD Promotion’ नामक टेलिग्राम समूह तथा यस्तै नामबाट सञ्चालन भइरहेका अन्य कुनै पनि डिजिटल प्लेटफर्महरू बीवाईडी नेपालका आधिकारिक सञ्चारमाध्यम नभएको स्पष्ट पारेको छ ।  यी प्लेटफर्महरूसँग कम्पनीको कुनै पनि प्रकारको सम्बन्ध, सहकार्य, आबद्धता वा आधिकारिक स्वीकृति नरहेको पनि साइमेक्स इंकले जनाएको छ । यस्ता अनधिकृत डिजिटल माध्यमहरूले झुटा सूचना फैलाउँदै आकर्षक अफर, योजना तथा प्रचारको नाममा ग्राहकलाई भ्रममा पार्ने र आर्थिक ठगी गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ । साथै कम्पनीले यस्ता नक्कली तथा अनधिकृत डिजिटल प्लेटफर्महरूसँग कुनै पनि प्रकारको सम्पर्क, प्रचार–प्रसार वा आर्थिक कारोबार नगर्न आग्रहसमेत गरेको छ ।  कम्पनीले साइमेक्स इंकका प्रमाणित डिजिटल प्लेटफर्महरू तथा आधिकारिक डिलरहरू मार्फत मात्र जानकारी लिन पनि अनुरोध गरेको छ ।