विकासन्युज

क्षतिग्रस्त व्यवसायिक भवनको सर्भेको लागि विदेशी सर्भेयर खटाइने

काठमाडौं । भदौ २३ र २४ गतेको आन्दोलनमा क्षतिग्रस्त व्यावसायिक भवन तथा भौतिक क्षतिको मूल्यांकनको लागि विदेशी सर्भेयर खटाउने भएको छ । हिल्टन, भाटभटेनीजस्ता ठूलो क्षति भएका व्यवसायिक भवनहरूको मूल्यांकनको लागि बीमा कम्पनीहरूले विदेशी सर्भेयर खटाइने भएका हुन् ।  नेपाल बीमा प्राधिकरणका अनुसार विदेशी सर्भेयर ल्याउनका लागि प्राधिकरणमा दुइटा निवेदन परेको छ ।  बीमा कम्पनीहरूले क्षति भइसकेपछि आवश्यकताअनुसार फिल्डमा स्थानीय सर्भेयर खटाउँछन् । तर ठूलो क्षति भएको अवस्थामा कम्पनीहरूले पुनर्बीमा कम्पनीहरूसँग समन्वय गरेर जोइन्ट सर्भेयर खटाउने गरेको छ । गत भदौमा जेनजी प्रर्दशनको क्रमममा देशमा ठूलो धनजनको क्षति भएको छ । हिल्टन, भाटभटेनीलगायतका व्यवसायिक भवनहरू पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको कारण जोइन्ट सर्भेयर आवश्यक परेको बीमा कम्पनीहरूले बताएका छन् । प्राधिकरणको बुधबार (असोज २२ गते) सम्मको तथ्यांकअनुसार जेनजी आन्दोलनको क्रममा भएको क्षतिमा २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँको दाबी परेको छ ।  प्राधिकरणका अनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा परेका ३ हजार ९९ वटा दाबीका आधारमा उक्त रकम बराबरको दाबी परेको हो ।

शोधनान्तर स्थिति डेढ १ खर्ब रुपैयाँले बचतमा, चालु खाताको अवस्था के छ ?

काठमाडौं । चालु खाता १ खर्ब ३० अर्ब रुपैयाँ र शोधनान्तर स्थिति डेढ १ खर्ब रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आव २०८२/८३ को भदौसम्ममा चालु खाता १ खर्ब ३० अर्ब ६९ करोड रुपैयाँ र शोधनान्तर स्थिति १ खर्ब ५३ अर्ब ६८ करोड रुपैयाँले बचतमा रहेको छ ।  अघिल्लो वर्षको भदौमा चालु खाता ५४ अर्ब ४१ करोड रुपैयाँ र शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ७७ करोड रुपैयाँले बचतमा थियो ।  अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४१ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ९३ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै, अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७६ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब १० करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर २ अर्ब २० करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १ अर्ब २० करोड रुपैयाँ रहेको थियो ।  यसैगरी, समीक्षा अवधिमा १ अर्ब २७ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) २ अर्ब ७१ करोड रुपैयाँ रहेको थियो । 

अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब, वृद्धिदर ४.६१ प्रतिशत

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव ६१ प्रतिशत र अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब २२ करोड रुपैयाँ बराबर देखिएको छ ।      अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनअनुसार गत आवमा कुल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरिएकामा १५ खर्ब १२ अर्ब ९८ करोड रुपैयाँ अर्थात् ८१ दशमलव ३३ प्रतिशत खर्च भएको छ ।      चालु खर्चमा ११ खर्ब ४० अर्ब ६७ करोड रुपैयाँ विनियोजन भएकामा नौ खर्ब ५६ अर्ब ३६ करोड रुपैयाँ अर्थात् ८३ दशमलव ८४ प्रतिशत खर्च भएको छ । पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ विनियोजन भएकामा दुई खर्ब २३ अर्ब ९४ करोड रुपैयाँ अर्थात् ६३ दशमलव ५६ प्रतिशत खर्च भएको छ । वित्तीय व्यवस्थातर्फ तीन खर्ब ६७ अर्ब २८ करोड रुपैयाँ विनियोजन भएकोमा तीन खर्ब ३२ अर्ब ६७ करोड रुपैयाँ अर्थात् ९० दशमलव ५८ प्रतिशत खर्च भएको प्रतिवेदनमा जनाइएको छ ।      गत आर्थिक वर्षमा कुल ११ खर्ब ९६ अर्ब १८ करोड ९८ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । जसमध्ये कर राजस्व १० खर्ब ४९ अर्ब ८७ करोड ५४ लाख रुपैयाँ, गैरकर राजस्व एक खर्ब २८ अर्ब ९४ करोड ४८ लाख रुपैयाँ र अन्य प्राप्ति १७ अर्ब ३६ करोड ९६ लाख रुपैयाँ रहेको अर्थ मन्त्रालयले जनाएको छ । बजेटमा लक्ष्य गरिएको राजस्व सङ्कलन लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख रुपैयाँको तुलनामा ८४ दशमलव २८ प्रतिशत राजस्व सङ्कलन भएको हो ।      गत आर्थिक वर्षमा अनुदान २३ अर्ब ५३ करोड रुपैयाँ र ऋण एक खर्ब २५ अर्ब ४० करोड रुपैयाँ गरी कुल एक खर्ब ४८ अर्ब ९३ करोड रुपैयाँ वैदेशिक सहायता प्राप्त भएको छ । गत आवको कुल वैदेशिक सहायतामध्ये अनुदान १५ दशमलव ८० प्रतिशत र ऋण ८४ दशमलव २० प्रतिशत बराबर हो ।      घाटा बजेट परिपूर्तिका लागि गत आवमा सरकारले तीन खर्ब २९ अर्ब ९९ करोड रुपैयाँ आन्तरिक ऋण एक खर्ब २५ अर्ब ४० करोड बाह्य ऋण गरी कुल चार खर्ब ५५ अर्ब ३९ करोड रुपैयाँ बराबरको सार्वजनिक ऋण परिचालन भएको छ ।

पौने २९ खर्ब रुपैयाँ पुग्यो विदेशी मुद्रा सञ्चिति, बैंकसँग कति छ ?

काठमाडौं । नेपालमा विदेशी मुद्रा सञ्चिति पौने २९ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को २ महिनाको तथ्याङ्क अनुसार गत असारको तुलनामा ७.६ प्रतिशत बढेर भदौमा २८ खर्ब ८१ अर्ब ३५ करोड रुपैयाँ विदेशी मुद्रा सञ्चित रहेको छ । जबकी गत असारमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति थियो ।  राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति गत असारमा १९ अर्ब ५० करोड रहेकोमा भदौमा ४.७ प्रतिशतले वृद्धि भई २० अर्ब ४१ करोड पुगेको छ ।  कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकसँग २५ खर्ब ८२ अर्ब ३८ करोड रुपैयाँ र बैंक तथा वित्तीय संस्थाहरुसँग २ खर्ब ९८ अर्ब ९७ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।  गत असारमा राष्ट्र बैंकसँग २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ र बैंक तथा वित्तीय संस्थाहरूसँग २ खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ विदेशी मुद्रा सञ्चिति थियो । २ महिनामा राष्ट्र बैंकमा ६.९ प्रतिशत र बैंकमा १३.७ प्रतिशत मुद्रा सञ्चिति बढेको हो ।  २०८२ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।  राष्ट्र बैंकका अनुसार चालु आव २०८२/८३ को २ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १९.७ महिनाको वस्तु आयात र १६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।  २०८२ भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४७.२ प्रतिशत, १३३.१ प्रतिशत र ३६.६ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।  

एक वर्ष अगाडिकै कविता फेरि पोस्ट गर्दा बालेन विवादमा, किसानप्रति अपमानजनक टिप्पणी गरेको भन्दै आलोचना

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह फेरि एकपटक सामाजिक सञ्जालमा आलोचनाको घेरामा परेका छन् । एक वर्षभन्दा अगाडि लेखिएको कविता फेरि सम्पादन गरी पोस्ट गरेपछि उनीमाथि किसानप्रति अपमानजनक अभिव्यक्ति दिएको आरोप लागेको छ । बालेनले २०८१ साउन १ गते सामाजिक सञ्जालमार्फत पोस्ट गरेको उक्त कविता अहिले फेरि केही शब्द थपथाप गरी सोमबार पुनः सार्वजनिक गरेका हुन् । कवितामा किसानलाई फोहोरजस्तै उल्लेख गरिएको पंक्तिप्रति विभिन्न पक्षले आपत्ति जनाएका छन् । अखिल नेपाल किसान महासंघले संस्थागत रूपमै कडा प्रतिक्रिया जनाउँदै उक्त स्टाटस तत्काल हटाउन र बालेनले सार्वजनिक रूपमा माफी माग्न माग गरेको छ । महासंघले भनेको छ, ‘किसान देशका मेरुदण्ड हुन्, तिनको सम्मान गर्नुको साटो अपमानजनक शब्द प्रयोग गर्नु निन्दनीय छ ।’ सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि बालेनप्रति तीव्र प्रतिक्रिया जनाइरहेका छन् । गत साल सोही कवितामा वाहवाह गरेका पाठकहरूले यस पटक भने उनको कटु आलोचना गरेका हुन् । जनप्रतिनिधिको कुर्सीमा बसेर जनताको मेहनत र माटोलाई हेप्ने कुरा गर्नु लाजमर्दो हो भन्नेजस्ता टिप्पणीहरू यस पटकको प्रतिक्रियामा देख्न सकिन्छ । धेरैले बालेनलाई उक्त स्टाटस हटाउन वा माफी माग्नसमेत भनेका छन् । तर अहिलेसम्म मेयर शाहले न त स्टाटस हटाएका छन् न कुनै क्षमायाचनासहितको प्रतिक्रिया दिएका छन् । आलोचना चुलिँदै जाँदा अब बालेनको अर्को कदम के हुन्छ भने प्रतीक्षाकै विषय रहेको छ ।

२ महिनामा भित्रियो साढे ३ खर्ब रुपैयाँ रेमिट्यान्स, भदौमा मात्रै १ खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ

काठमाडौं । चालु आर्थिक वर्षको २ महिनाको अवधिमा साढे ३ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को २ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह ३३.१ प्रतिशतले वृद्धि भई ३ खर्ब ५२ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।  अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५.८ प्रतिशतले बढेको थियो ।  राष्ट्र बैंकका अनुसार भदौमा मात्रै १ खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब २७ अर्ब ९९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।  समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले वृद्धि भई २ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.२ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ३ खर्ब ८४ अर्ब ८८ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २ खर्ब ८७ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ९० हजार १९८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४५ हजार ८८४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ७६ हजार ४८५ र ४० हजार क५८३ रहेको थियो 

बुटवलमा प्रोटनको नयाँ शोरुम उद्घाटन, ग्राहकलाई १५ ईभी गाडी हस्तान्तरण

काठमाडौं । जगदम्बा मोटर्स प्रालि अन्तर्गतको ईभी ब्रान्ड प्रोटन इमासले बुटवलमा नयाँ शोरुम उद्घाटन गरेको छ । यो उद्घाटनले कम्पनीको देशव्यापी विस्तार यात्रामा अर्को महत्वपूर्ण उपलब्धि थपेको छ । कम्पनीका अनुसार उद्घाटन अवसरमा ब्रान्डले १५ वटा प्रोटन इमास सवारीसाधनहरू ग्राहकलाई हस्तान्तरण गरेको छ । यसमा दशैंअघि १० युनिट र हाल थप ५ युनिट वितरण गरिएका छन्, जसले सो क्षेत्रमा ग्राहकहरूको विश्वास र उत्साह झल्काउँछ । समारोहमा स्थानीय प्रतिष्ठित व्यक्तिहरू र समुदायका प्रतिनिधिहरू उपस्थित थिए । नयाँ थ्रीएस शोरुमले विश्वस्तरीय सेवा, बिक्री सहयोग र ग्राहक सेवा सुनिश्चित गर्दै बुटवलका ग्राहकहरूले उच्चस्तरीय विद्युतीय सवारी अनुभव गर्न पाउनेछन् । शोरुमको व्यवस्थापन बलाजी ई अटोमोबाइल्सले गर्नेछ । शोरुम उद्घाटन मुख्य अतिथि हरिप्रसाद आर्याल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्षले गरेका थिए । कार्यक्रममा अन्य प्रतिष्ठित व्यक्तिहरू र सञ्चार माध्यमका प्रतिनिधिहरू पनि उपस्थित थिए, जसले प्रोटन इमास ७ प्रति आफ्नो रुचि व्यक्त गरेका थिए । अघिल्लो साँझ आयोजित प्रि–उद्घाटन वितरण समारोहमा ग्राहकहरूको अत्यधिक उत्साह देखिएको थियो । त्यहाँ उपस्थित इमास ७ का मालिकहरूले आफ्ना अनुभवहरू साझा गरेका थिए, जसले नयाँ बुकिङहरूलाई उत्प्रेरित गरेको थियो । जगदम्बा मोटर्सका उपाध्यक्ष राजु भेटवालले भने, 'हाम्रो बुटवल शोरुमको उद्घाटनले प्रोटन इमासको नेपालका हरेक परिवारलाई उन्नत, भरपर्दो र स्टाइलिश विद्युतीय सवारीसाधन पहुँचयोग्य बनाउन गरेको प्रतिबद्धतालाई झल्काउँछ । हामीलाई बुटवलका मानिसहरूले हाम्रो सफा र स्मार्ट गतिशील भविष्यको दृष्टिकोण अंगिकार गरेकोमा गर्व छ ।'  

बागमती सरकारका मन्त्रालयको मोटाइ अब फिटनेस मोडमा

काठमाडौं । बागमती प्रदेश सरकार फेरि फिटनेस मोडमा जाने भएको छ । अहिले १४ मन्त्रालयको अछन्दिलो स्वरूप र वजन अब घट्ने भएको छ ।  नेपाली कांग्रेस र नेकपा एमालेले अब मन्त्रालयलाई डाइट प्लानमा लैजाने निर्णय गरेको नेपाली कांग्रेसकी नेतृ तथा प्रदेशमन्त्री चन्द्रप्रभा खड्गीले जानकारी दिइन् ।   उनले भनिन अव मन्त्रालयको संख्या आधा घटाउने सहमति  भएको छ । ठूलो जीउको प्रदेश सरकार अव १४ बाट ७ मन्त्रालयमा झर्ने भएको छ । २०७४ मा सुरु हुँदा जम्मा ७ वटा मन्त्रालय रहेको प्रदेश सरकारमा ०७८ बाट मन्त्रालय थप्ने मिसन नै चलाइएको थियो ।  समय बित्दै जाँदा जस्तोसुकै समस्या समाधान गर्न मन्त्रालय थप्ने काम गलत भएको अनुभूति प्रदेश सरकारले गरेर अहिले फेरि ०७४ कै अवस्थामा फर्किने निर्णय भएको मन्त्री खड्गीले जानकारी दिइन् ।   मन्त्रालय घटाउँदा तपाईंको जागीर पनि धरापमा प¥यो नि भन्ने बिकासन्युजको जिज्ञासामा मन्त्री खड्गीले भनिन्, ‘सवाल जागीरको भन्दा पनि जनहितको हो । जनहितको काम हुँदा मेरो मन्त्री पद गुम्दा पनि म खुसी नै हुन्छु ।’