विकासन्युज

५० प्रतिशत सुन नियन्त्रण गर्दै ब्रिक्स, विश्व वित्तीय संरचनामा नयाँ संकेत

काठमाडौं । ब्रिक्स देशहरूको अमेरिकी डलरप्रतिको भरोसा घट्दै गएको छ । उनीहरूले सुनलाई आफ्नो मुख्य आधार बनाउँदै लगेका छन् । ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका जस्ता देशहरूको समूह ब्रिक्सले सुनको खरिद बढाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्  ।  आधिकारिक रूपमा ब्रिक्स देशहरूसँग विश्वको करिब २० प्रतिशत सुन छ । तर, यदि उनीहरूका सहयोगी देशहरूलाई समेत जोड्ने हो भने यो हिस्सा ५० प्रतिशतसम्म पुग्छ । यस मामिलामा रुस र चीन सबैभन्दा अगाडि छन् । सन् २०२४ मा चीनले ३८० टन र रुसले ३४० टन सुन उत्पादन गरेको थियो । सेप्टेम्बर २०२५ मा ब्राजिलले १६ टन सुन खरिद गर्‍यो, जुन सन् २०२१ पछि उसको पहिलो खरिद हो । वाईए वेल्थका निर्देशक अनुज गुप्ताका अनुसार ब्रिक्स देशहरू बढी सुन उत्पादन गरिरहेका छन् र कम बेचिरहेका छन् । साथै उनीहरूले अन्तर्राष्ट्रिय बजारबाट पनि सुन खरिद गरिरहेका छन् । सन् २०२० देखि २०२४ बीच ब्रिक्स देशका केन्द्रीय बैंकहरूले विश्वको ५० प्रतिशतभन्दा बढी सुन खरिद गरेका छन् । सेन्ट्रीसिटी वेल्थटेकका हेड अफ इक्विटिज सचिन जैसुजाका अनुसार ब्रिक्स देशहरूको सुन भण्डारण र खरिदमाथिको बढ्दो नियन्त्रण अमेरिकी डलरमा आधारित विश्वव्यापी वित्तीय प्रणालीमा तनावको संकेत हो । यद्यपि डलर अझै पनि विश्वको मुख्य रिजर्भ मुद्रा हो, तर अब त्यसको वर्चस्वमाथि प्रश्न उठ्न थालेका छन् ।  विश्व व्यापारमा ब्रिक्स देशहरूको अर्थतन्त्रको करिब ३० प्रतिशत हिस्सा छ । यस्तो अवस्थामा उनीहरूका मौद्रिक निर्णयहरूले विश्वव्यापी असर पार्छन् । पश्चिमी वित्तीय प्रणाली, विशेषगरी डलरमाथिको निर्भरता घटाउनु ब्रिक्सको पुरानो लक्ष्य रहँदै आएको छ । जैसुजाका अनुसार रुस–युक्रेन युद्धपछि पश्चिमी देशहरूले रुसको वैदेशिक मुद्रा भण्डारको ठूलो हिस्सा फ्रिज गरिदिएका थिए । यस घटनाले देशहरूलाई आफ्ना भण्डार कति सुरक्षित छन् भन्नेबारे पुनः सोच्न बाध्य बनायो ।  यसबाट डलरमा राखिएका वा विदेशी देशमा जम्मा गरिएका भण्डारहरू भू–राजनीतिक जोखिमको दायरामा पर्न सक्ने कुरा स्पष्ट हुन्छ, विशेषगरी राजनीतिक सम्बन्ध बिग्रिने अवस्थामा । त्यसपछि देशहरूले राजनीतिक रूपमा तटस्थ, भौतिक रूपमा विद्यमान र बाह्य नियन्त्रणबाट मुक्त सम्पत्तिलाई प्राथमिकता दिन थाले । जैसुजाका अनुसार ब्रिक्स देशका केन्द्रीय बैंकहरू सुनका सबैभन्दा आक्रामक खरिदकर्तामध्ये पर्छन् । चीन, रुस र भारत अहिले विश्वका सबैभन्दा ठूला आधिकारिक सुन भण्डार भएका देशहरूमा समावेश छन् । परिणामस्वरूप ब्रिक्स देशहरूको वैदेशिक मुद्रा भण्डारमा सुनको हिस्सा निरन्तर बढ्दै गएको छ, जबकि डलर सम्पत्तिमा उनीहरूको हिस्सा केही घटेको छ ।  सुनको मूल्यमा तीव्र र निरन्तर वृद्धि यही परिवर्तनसँग जोडिएको छ । यसले केवल मुद्रास्फीतिबाट जोगिने संकेत मात्र होइन, बलियो आधिकारिक मागलाई पनि देखाउँछ । सुनको मूल्यको यो प्रवृत्तिले बजारले सुनलाई खण्डित वित्तीय प्रणालीमा अन्तिम रिजर्भ सम्पत्तिका रूपमा छिटो चिन्न थालेको जनाउँछ । रिजर्भ मुद्रामाथिको भरोसा अब पहिलेजस्तो छैन । ब्रिक्स देशहरूले डलरमाथिको निर्भरता घटाउँदै लगेका छन् । पछिल्लो एक दशकमा ब्रिक्स देशहरूबीच स्थानीय मुद्रामा व्यापार भुक्तानीको हिस्सा निरन्तर बढेको छ । अहिले करिब एक तिहाइ व्यापार डलरमार्फत हुँदैन । भारत–रुस र चीन–ब्राजिल जस्ता द्विपक्षीय सम्झौताहरूले स्थानीय मुद्रामा व्यापारलाई प्रोत्साहन गरिरहेका छन् । यसको उद्देश्य लेनदेन लागत घटाउनु, प्रतिबन्धबाट जोगिनु र डलरको तरलतामाथिको निर्भरता सीमित गर्नु हो । एनरिच मनीका सीईओ पोनमुडी आरका अनुसार ब्रिक्स देशहरू र उनीहरूका सहयोगी देशहरूको वार्षिक सुन उत्पादनमा प्रभाव बढेको छ । उनीहरूले विश्व आपूर्तिको करिब आधा हिस्सा नियन्त्रणमा राखेका छन् । यो महत्त्वपूर्ण छ किनकि भविष्यको आपूर्तिमाथिको नियन्त्रणले रणनीतिक लचकता बढाउँछ, यद्यपि यसले तत्कालै विश्व मौद्रिक प्रणालीमा प्रभुत्व जमाउने संकेत भने दिँदैन । ब्रिक्स देशका केन्द्रीय बैंकहरूले हालै बढाएको सुन खरिदलाई मुख्यतः जोखिम व्यवस्थापन र विविधीकरण रणनीतिका रूपमा हेर्नुपर्छ । एनरिच मनीका विज्ञका अनुसार ब्रिक्स केन्द्रीय बैंकहरूले हालै बढाएको सुन खरिदलाई जोखिम व्यवस्थापन र विविधीकरण रणनीतिका रूपमा बुझ्नुपर्छ । सुन एक तटस्थ र प्रतिबन्ध–प्रतिरोधी सम्पत्ति हो । पछिल्ला भू–राजनीतिक घटनाहरूले धेरै उदीयमान अर्थतन्त्रहरूलाई यस सम्पत्तिमा भण्डार राख्दा जोडिने जोखिमहरूको पुनर्मूल्यांकन गर्न प्रेरित गरेका छन् ।

अधिक तरलता नियन्त्रण गर्न २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार २० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि १२ दिनका लागि राष्ट्र बैंकले आइतबार फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७५ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ ।  निक्षेप चुलिँदा आइतबार अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज  २०८२ पुष २५ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।  खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उकरण प्रयोग गर्दै आएको छ ।  

हिमालयन एभरेष्ट इन्स्योरेन्सले सेयरधनीलाई ८ प्रतिशत लाभांश दिने

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । पुस ११ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले ८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी २ अर्ब ५० करोड १ लाख रुपैयाँको ८ प्रतिशतका दरले करसहित नगद लाभांश वितरण गर्ने जनाएको छ । नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश सेयरधनीलाई वितरण गरिने कम्पनीले जानकारी दिएको छ ।

अमला किलोको ६५ रुपैयाँ, यस्तो छ तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ९० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ११० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ९० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ७५ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ७५ रुपैयाँ, आलु रातो प्रतिकिलो ३० रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २३ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ५२ रुपैयाँ रहेको छ । यस्तै, गाजर (लोकल) प्रतिकिलो ७० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो ६० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ३० रुपैयाँ, बन्दा (तराई) प्रतिकिलो ३० रुपैया, बन्दा (नरिवल) प्रतिकिलो २५ रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ४५ रुपैयाँ, काउली तराई प्रतिकिलो ४० रुपैयाँ, रातो मूला प्रतिकिलो ३० रुपैयाँ, सेतो मूला (लोकल) प्रतिकिलो १० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ५० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ७० रुपैयाँ, मकै बोडी प्रतिकिलो ६० रुपैयाँ कायम भएको छ । त्यसैगरी, मटरकोसा प्रतिकिलो ७५ रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ६० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ४५ रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो १४० रुपैयाँ, टाटे सिमि प्रतिकिलो ६० रुपैयाँ, तितो करेला प्रतिकिलो ८० रुपैयाँ, लौका प्रतिकिलो ६० रुपैयाँ, परवर(तराई) प्रतिकिलो १००, घिरौला प्रतिकिलो ९०, फर्सी पाकेको प्रतिकिलो ३० रुपैयाँ, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ४० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ४० रुपैयाँ, सलगम प्रतिकिलो ८० रुपैयाँ, भिन्डी प्रतिकिलो १०० रुपैयाँ, सखरखण्ड प्रतिकिलो ५५ रुपैयाँ, पिँडालु प्रतिकिलो ८० रुपैयाँ र स्कुस प्रतिकिलो २५ रुपैयाँ कायम गरिएको छ । यस्तै, समितिले रायोसाग प्रतिकिलो २० रुपैयाँ, पालुङ्गो साग प्रतिकेजी ६० रुपैयाँ, चमसुर प्रतिकिलो ६० रुपैयाँ, तोरीको साग प्रतिकिलो ४० रुपैयाँ, मेथीको साग प्रतिकिलो ८० रुपैयाँ, हरियो प्याज प्रतिकिलो ४० रुपैयाँ निर्धारण गरिएको छ । बकूला प्रतिकिलो ९० रुपैयाँ, तरुल प्रतिकिलो ६५ रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो ९० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३०० रुपैयाँ, कुरीलो प्रतिकिलो १००० रुपैयाँ, ब्रोकाउली प्रतिकिलो ७० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ७० रुपैयाँ, रातो बन्दा प्रतिकिलो १४० रुपैयाँ, जिरीको साग प्रतिकिलो १२० रुपैयाँ, सेलरी प्रतिकिलो २८० रुपैयाँ, पार्सले प्रतिकिलो ६०० रुपैयाँ, सौफको साग प्रतिकिलो ६० रुपैयाँ, पुदिना प्रतिकिलो ४०० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो ३५० रुपैयाँ तोकिएको छ । यस्तै, समितिले स्याउ (झोले) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो २८० रुपैयाँ, केरा (दर्जन) १८० रुपैयाँ, कागती प्रतिकिलो ८० रुपैयाँ, सुन्तला (नेपाली) प्रतिकिलो ८० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ९० रुपैयाँ, मौसम प्रतिकिलो ८० रुपैयाँ, जुनार प्रतिकिलो १०० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १४५ रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ७० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो ३५ रुपैयाँ, निबुवा प्रतिकिलो ५० रुपैयाँ, नास्पाती (चाइनिज) प्रतिकिलो २०० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ६० रुपैयाँ, स्ट्रबेरी भुइँऐसुलु प्रतिकिलो ४५० रुपैयाँ, आभोकाडो प्रतिकिलो २५० रुपैयाँ र अमला प्रतिकिलो ६५ रुपैयाँ निर्धारण गरिएको छ ।

सात बुँदे घोषणापत्रसहित बागमती प्रदेश लघुवित्त सदस्य सम्मेलन सम्पन्न

काठमाडौं । सात बुँदे घोषणापत्र जारी गर्दै बागमती प्रदेश लघुवित्त सदस्य सम्मेलन सम्पन्न भएको छ । 'स्वस्थ लघुवित्त, समृद्ध सदस्य' भन्ने मूल नाराका साथ शुक्रबार कार्की ब्याँक्वेट, काठमाडौंमा आयोजित सम्मेलनको उद्घाटन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले गरेका थिए । बागमती प्रदेशका २४ वटा लघुवित्त तथा सहकारी संस्थाका प्रतिनिधि र ३०० भन्दा बढी सदस्यहरूको सहभागिता रहेको सम्मेलन मानुषी लघुवित्त, स्वावलम्बन लघुवित्त, छिमेक लघुवित्त, सूर्योदय वोमी लघुवित्त तथा महिला सहयोगी बचत तथा ऋण सहकारीको संयुक्त आयोजनामा सम्पन्न भएको हो । सम्मेलनका विभिन्न सत्रमा नेपालका प्रतिष्ठित लघुवित्त विज्ञहरूले लघुवित्त क्षेत्रको वर्तमान अवस्था, यसको आवश्यकता, सामाजिक–आर्थिक योगदान तथा सुधारका सम्भावनाबारे आ–आफ्ना धारणा राखेका थिए । सम्मेलनले लघुवित्त कार्यक्रमलाई अझ सदस्य–मुखी, प्रभावकारी र दिगो बनाउने लक्ष्य लिएको आयोजकले जनाएका छन् । घोषणापत्रमार्फत सम्मेलनले युवा सदस्यलाई उद्यमशीलतातर्फ प्रेरित गर्ने, सरोकारवालाहरूलाई थप जिम्मेवार र उत्तरदायी बनाउने तथा जिम्मेवार लघुवित्त अभ्यासको प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । सम्मेलनको समापन सत्रमा प्रमुख अतिथि पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री, स्वावलम्बन विकास केन्द्रका अध्यक्ष एवं लघुवित्त विज्ञ शंकरमान श्रेष्ठ, नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादव लगायतका वक्ताहरूले सम्बोधन गरेका थिए ।

बगरमा लगाइएको सखरखण्डबाट मनग्य आम्दानी

जानकी (बाँके) । रामपति थारु बिहान ४ बजे उठेर घरको काम सबै सक्काएर बगरमा सखरखण्ड खन्न पुग्छन् । बाकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटपरीका थारुको हिजोआज दैनिकी राप्ती नदीको बगरमाथिको चिसो बालुवामा फलाइएको सखरखण्ड खन्नमै बित्ने गरेको छ । पुसको चिसो बिहान, कुहिरो र सिरेटोबीच रामपति दैनिक जीवनको जिम्मेवारी बोकेर बगरमा आइपुग्छन् । छोराछोरीलाई खाना खुवाएर बिहान ८ बजेसम्म उनी सखरखण्ड खन्ने ठाउँमा पुग्छन् । बिहानदेखि बेलुकासम्म कठोर श्रम गरेर उनी दैनिक ६०० रुपैयाँ कमाउँछन् । ‘दिनभरिको कमाइले घर व्यवहार चलाउन सकेको छु’, उनले भने । गाउँकै व्यक्तिले बगरमा सखरखण्ड लगाएका थारुले बताए । सखरखण्ड बालुवाबाट केलाएर झेउवामा हाल्ने र बिक्रीका लागि थुप्रो बनाउने काम रामपतिले दिनहुँ गर्छन् । रामपति जस्तै सोही पालिका वडा नम्बर ६ मेहमानपुरका वीरबहादुर थारुको पनि यही दैनिकी बनेको छ । उनी पनि राप्ती नदीको बगरमाथिको बालुवामा लगाइएको सखरखण्ड खन्न दिनहुँ आइपुग्छन् । दैनिक करिब १० घण्टा काम गरेर उनले पनि रामपतिले जस्तै ६०० कमाउँछन् । घरमा पनि गर्ने खेती नै हो । अहिले खेतीको सिजन छैन । गाउँकै साथीले लगाएको हुनाले खाली समय काम गरेर कमाउन आएको हुँ’, उनले भने, ‘दैनिकी ज्याला थोरै भयो । तर खाली बस्नुभन्दा त यही पनि ठूलो कुरो हो ।’ जाडो याममा धेरै व्यक्ति आगो तापेर घरभित्रै बस्न चाहन्छन् । तर डाँडाटपरीका नन्कु गदिया भने बिहानै सखरखण्ड खन्न बगरतर्फ लाग्छन् । उनी पनि रामपति र वीरबहादुर जस्तै दैनिक ज्यालामा काम गरेर परिवारको गुजारा चलाउँदै आएकाछन् । सखरखण्ड खनेर कमाएको पैसाले परिवार र घर खर्च जोहो गर्न सहज भएको उनी बताउँछन् । ‘यो समय यसै पनि किसानहरू खाली बस्ने समय हो । तर यो समयमा सखरखण्ड खनेर भए पनि पैसा कमाउन पाएको छु’, उनले भने, ‘यसले मेरो घर खर्च चल्न सजिलो बनाएको छ ।’ बिहानको चिसो सिरेटोसँगै रामपति, वीरबहादुर र नन्कु जस्तै अन्य कामदार पनि सखरखण्ड खन्न राप्ती नदीको बगरमा आइपुग्छन् । यही बगरमा डाँडाटपरीका ४५ वर्षीय फत्तेसिंह थारुले विगत ९ वर्षदेखि करिब २५ कठ्ठा क्षेत्रफल जग्गा भाडामा लिएर सखरखण्ड खेती गर्दै आएका छन् । ‘मैले २०७४ सालमा बगरमाथिको यो जग्गा भाडामा लिएर सकरखण्ड खेती गर्दै आएको छु’, उनले भने, ‘सुरुआती वर्षहरूमा नदीले डुबान पारेर बगरमा लगाएको सखरखण्ड सबै डुबाइदियो । त्यतिबेला मलाई लगभग ६०–७० हजार रुपैयाँ जति घाटा लागेको थियो ।’ फत्तेसिंहका अनुसार उनी सखरखण्डसँगै तरबुजा खेती पनि गर्दै आएका छन् । सुरुआती वर्षहरूमा नदीको बहाव नियन्त्रण गर्न नसक्दा ठूलो घाटा बेहोर्नु परेको उनी बताउँछन् । ‘पहिला पहिला त खासै अनुभव थिएन । नदीको बगरमा लगाएको हुनाले नदीको बहावले मलाई धेरै घाटा बनायो । अहिले काम गर्दै जाँदा नदीको बहावलाई कसरी रोक्ने भन्ने कुराको अनुभव भयो र अहिले खासै घाटा भएको छैन’, फत्तेसिंहले भने । ४५ हजारको लगानीमा लगाएको सखरखण्ड फत्तेसिंहले यस वर्ष ६५ क्विन्टल उत्पादन गरिसकेका छन् । हाल सखरखण्ड प्रतिकिलो ६० का दरले किसानबाट खरिद भइरहेको छ भने बजारमा ८० देखि रु १०० सम्ममा बिक्री भइरहेको छ । ‘अरु खेतीको तुलनामा यो खेती गर्न धेरै सजिलो छ । तर नदीको बहावको धार फर्काउन सक्नुपर्दछ’, उनले भने, ‘यसको बिरुवा उमार्न पनि खासै गाह्रो छैन । उम्रिसकेपछि फल्न फलाउन धेरै मिहिनेत गर्नु पर्दैन । तर यसलाई लगाउन कामदार धेरै चाहिन्छन र समय पनि धेरै खर्च हुन्छ ।’ फत्तेसिंहले फलाउनुभएको सखरखण्ड नेपालगञ्ज, काठमाडौँ, पोखरा, धनगढी, विराटनगर, इटहरी, सुर्खेत, दाङलगायत ठाउँमा बिक्रीका लागि लैजाने गरिन्छ । सखरखण्ड खरिद गर्न अहिले व्यापारी राप्ती नदीको बगरमा आउने गरेका छन् । फत्तेसिंहले सखरखण्डका बिरुवा आफ्नै घरमा उमार्ने गर्छन् । रासस

नबिल बैंकको साढे २ करोडको सेयर बिक्रीमा, मूल्य प्रतिकित्ता ३५० रुपैयाँ

काठमाडौं । नबिल बैंकको साढे २ करोड रुपैयाँको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको ७१ हजार १४० कित्ता सेयर बिक्रीमा राखेका हुन् ।  बैंकको उक्त संस्थापक सेयरको मूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकिएको छ । सो मूल्यका आधारमा २ करोड ४८ लाख ९९ हजार रुपैयाँ बराबरको सेयर बिक्रीमा राखिएको हो ।  बैंकको उक्त सेयरका विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउने छन् । यदि ३५ दिनभित्र संस्थापक सेयरधनीहरूले खरिद नगरेका सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ । 

रिज लाइन इनर्जीको आईपीओ बिक्री खुला, यसरी दिन सकिन्छ आवेदन

काठमाडौं । रिज लाइन इनर्जीले आज पुस १३ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ बिक्री खुला गरेको हो ।  कम्पनीले जारी पुँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत अर्थात् २६ करोड ७ लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २६ लाख ७ हजार कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये ११ करोड ८५ लाख रुपैयाँको ११ लाख ८५ हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्र गोरखाका अजिरकोट गाउँपालिकाका सबै र लमजुङको दुधपोखरी गाउँपालिका–१, २, ३ र दोर्दी गाउँपालिका(४, ५ र ६ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन् ।  यस्तै, सर्वसाधारण लगानीकर्ताहरुलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १ लाख ४२ हजार २०० कित्ता सेयर विदेशमा रोजगार गरिरहेका नेपालीहरूलाई छुट्याइएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानीयले पुस २८ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा पूर्ण बिक्री नभएमा माघ १२ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले छिटोमा पुस १७ गते र ढिलोमा पुस २८ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । स्थानीयले रिज लाइन इनर्जी आयोजना कार्यालय गोरखा, प्रभु क्यापिटल कमलादी, प्रभु बैंकको छेपेटार र पालुङटार शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।  वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।