जेनजी आन्दोलनमा जलेका सरकारी सवारी पत्रुमा लिलामी हुने
काठमाडौं । सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा जलेर पूर्ण रूपमा नष्ट भएका सरकारी सवारीसाधन तथा अन्य सामग्रीलाई पत्रुमा लिलामी गर्ने प्रक्रिया अघि बढाएको छ । सहरी विकास मन्त्रालयले सबै मन्त्रालय र सरकारी निकायहरूलाई जलेका सवारीसाधन र अन्य सामग्रीको विवरण संकलन गरी लिलामीका लागि सूची बुझाउन निर्देशन दिएको हो । मन्त्रालयमा गत साता बसेको सचिवस्तरीय बैठकले सम्बन्धित निकायहरूलाई मिनाहा प्रक्रिया पूरा गरी पत्रुमा लिलामी गर्न मिल्ने सवारीसाधन तथा सामानको विस्तृत सूची शहरी विकास मन्त्रालयमा पठाउन भनेको छ । सबै मन्त्रालयबाट सूची प्राप्त भएपछि लिलामी प्रक्रिया अघि बढाइने मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनालीले जानकारी दिए । उनका अनुसार सबै मन्त्रालयबाट विवरण आएपछि मात्रै यसको थप प्रक्रिया अगाडि बढाइने छ । प्रवक्ता मैनालीले भने, ‘हालसम्म कुनै पनि प्रक्रियागत काम अघि बढेको छैन । विवरण आएपछि मन्त्रालयमा यस विषयमा कसरी जाने, के गर्ने भन्ने बारेमा छलफल हुनेछ । गत असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले आन्दोलनमा जलेका सरकारी सवारीसाधन लिलामी गर्ने निर्णय गरेको थियो । आन्दोलनका क्रममा साढे १२ हजारभन्दा बढी निजी तथा सरकारी सवारीसाधन जलेका थिए । तीमध्ये सरकारी स्वामित्वमा रहेका सवारी साधनलाई मात्र लिलामी गर्न लागिएको हो । यद्यपि आन्दोलनमा जलेका सवारी साधनको तथ्यांक संकलन भइसके पनि सरकारले हालसम्म औपचारिक रूपमा सार्वजनिक गरेको छैन । काठमाडौंमा जलेका अधिकांश सरकारी सवारीसाधन हाल नयाँबानेश्वरस्थित संसद भवनको पछाडिपट्टि थुपारिएको छ। यस्तै, बैठकले हाल सञ्चालनमा रहेका तथा नयाँ खरिद गरिएका सवारीसाधन र सरकारी भवनको अनिवार्य बीमा गर्ने निर्णय पनि गरेको छ । मर्मत गर्न मिल्ने सवारी साधन तत्काल मर्मत गरी पुनः सञ्चालनमा ल्याउने निर्णयसमेत बैठकले गरेको मन्त्रालयले जनाएको छ ।
रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरू
रसुवा । ६ महिनादेखि बन्द रहेको रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आइतबार बिहान ७ः०० बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् । रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले नेपाल–चीनबीच ल्हेन्दे खोलामा निर्माणाधीन बेलीब्रिज निर्माण भएको जानकारी दिँदै यही पुस १७ गतेदेखि रसुवागढी नाका खोल्ने सीमा क्षेत्रका चिनियाँ समकक्षीले जानकारी पठाएको जानकारी दिए । गत असार २४ गते अगाडि सामग्री ल्याउन केरूङ गएका मालवाहक कन्टेनर डिब्बा ल्याउने व्यवस्थापनका लागि नेपाली चालक र सामानको व्यस्थापनका लागि व्यवसायीका प्रतिनिधिसमेत केरूङतर्फ प्रस्थान गरिसकेको सीमा प्रहरीचौकी टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरले बताए । ल्हेन्देखोला मितेरीपुल बाढीले बगाउँदा असारदेखि नै व्यापार व्यवसाय बन्द हुँदा गत वर्षको तुलना यस अवधिमा भन्सार शुल्कबापत उठ्ने राजस्व २० अर्ब रुपैयाँ नोक्सान भइसकेको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराइले जानकारी दिए । ल्हेन्देखोला बाढीले टिमुरेस्थित भोटेकोसी बगरमा निर्माणाधीन सुक्खा बन्दरगाह क्षति हुनुका साथै रसुवागढी स्याफ्रुबेँसी १६ किमी सडक विभिन्न स्थानमा नदिले कटान गरेको थियो ।
रवि–बालेनलक्षित कांग्रेस नेता राठौरको टिप्पणीः सहकारी ठग र गँजेडीहरुले देश चलाउन सक्दैनन्
काठमाडौं । नेपाली कांग्रेसका नेता किशोरसिंह राठौरले १० वर्ष पार्टी चलाएर देखाउन नयाँ राजनीतिक दलहरूलाई चुनौती दिएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो चुनौती दिएका हुन् । उनले केही वर्षअघि मात्रै खुलेका जनमत, राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टीहरूको उदाहरण दिँदै १० वर्ष राम्रोसँग पार्टी चलाएर देखाउन चुनौती दिएका हुन्। उनले नेपाली कांग्रेस, नेकपा एमाले लगायतका राजनीतिक दलहरूले जनताको अधिकार, विकास दिएको बताउँदै सहकारी ठग र गँजेडीहरूले देश चलाउन नसक्ने टिप्पणी गरे । राठौरले भने, ‘यी नयाँ पार्टीहरू कुरा ठूला गर्छन्, चर्काचर्का कुरा गर्छन् । १० वर्ष पार्टी चलाएर देखाउन्, त्यसपछि कुरा गरौंला । सहकारी ठग र गजेँडीहरूले देश चलाउन सक्दैनन् । हाम्रो ८० वर्ष लामो संघर्ष गरेको पार्टीले विकास, जनतालाई अधिकार दियौं । भ्रष्टाचार नियन्त्रण मात्रै हामीले गर्न सकेका छैनौं । भ्रष्टाचार नियन्त्रण अहिले पनि हुन सकेको छैन । भोलि आउने सरकारले पनि गर्न सक्दैन ।’ उनले पार्टीको १४ औं महाधिवेशनमा पराजय व्यहोरेकाहरूले चिच्याएर बोल्न जरुरी नरहेको पनि बताए । फागुन २१ गते निर्वाचन नभए देश गृहयुद्धमा फस्ने चेतावनी उनको छ ।
नेपालगञ्ज नाकाबाट २५ करोड रुपैयाँको जडीबुटी निर्यात
राँझा । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसान्तसम्म नेपालगञ्जबाट २५ करोड रुपैयाँभन्दा बढीको जडीबुटी निर्यात भएको छ । सूचना अधिकारी खड्काका अनुसार उक्त अवधिमा २५ करोड २६ हजार रुपैयाँ बराबरको विभिन्न प्रकारका आठ लाख ४१ हजार ३३८ केजी जडीबुटी निर्यात भएका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा १० करोड रुपैयाँभन्दा बढी हो । गत आवको सोही अवधिमा रु १४ करोड ६२ लाख ७९ हजारको जडीबुटी निर्यात भएको थियो । नेपालगञ्ज नाकाबाट विशेष गरी टिमुर, काउलो, सतुवा, बोझो, दालचिनी, अमलालगायत जडीबुटी निर्यात हुने गरेको छ । नेपालगञ्जबाट ८५ प्रतिशत जडीबुटी भारत निकासी हुने गरेको नेपालगञ्जस्थित जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्क शर्माले बताए । पछिल्लो केही वर्षमा जडीबुटी निर्यात पुनःबढेको उनको भनाइ छ । उनका अनुसार हिमाली जिल्लामा जडीबुटी सङ्कलन इजाजत र छुट पुर्जी लिन सदरमुकाम जानुपर्ने झन्झट छ । साना व्यवसायीले जडीबुटी ओसारपसार गर्न नसक्ने अवस्था छ । पहिचान भइसकेका जडीबुटी प्लान्ट क्वारेन्टाइनमा सूचीकृत नहुँदा विदेश निर्यातमा समस्या हुने गरेको उनको भनाइ छ ।
एमाले सचिवालय बैठक सर्यो, दिउँसो २ बजे बस्ने
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सरेको छ । एघारौं महाधिवेशन पछि आइतबार (आज) बिहान ११ बजेका लागि बोलाइएको सचिवालय बैठक दिउँसो २ बजे बस्न लागेको हो। बैठकमा समसामयिक राष्ट्रिय राजनीतिक अवस्था, राष्ट्रिय सभा र आगामी निर्वाचनका लागि समानुपातिक उम्मेदवार चयनबारे केन्द्रित छलफल हुने पार्टी स्रोतले जनाएको छ । निर्वाचन आयोगले दिएको समानुपातिक उमेदवारको बन्दसूची दर्ता गर्ने समय घर्किँदै गएको समयमा पार्टीको सचिवालय बैठक बस्न लागेको हो । आयोगले पुष १३ र १४ गतेलाई बन्द सूची पेस गर्ने समय दिएको छ । राष्ट्रिय सभा र समानुपातिकतर्फका उम्मेदवार छनोटमा समावेशिता, संगठनात्मक सन्तुलन र राजनीतिक योगदानलाई मुख्य आधार बनाएर सूची पेस गर्ने तयारी बैठकको रूपमा आजको बैठक हुने बताइएको छ ।
म्यानमारमा २०२५ को आम निर्वाचन सुरु
काठमाडौं । म्यानमारमा बहुदलीय लोकतान्त्रिक निर्वाचनको पहिलो चरण आइतबारदेखि सुरु भएको छ । पहिलो चरणको मतदानसँगै २०२५ को बहुदलीय लोकतान्त्रिक आमनिर्वाचन सुरु भएको हो । यो निर्वाचन तीन चरणमा सम्पन्न हुने तालिका रहेको छ । जसअनुसार दोस्रो चरण २०२६ जनवरी ११ र तेस्रो चरण २०२६ जनवरी २५ मा हुनेछ। यस निर्वाचनमा ५७ राजनीतिक दलका करिब ५ हजार उम्मेदवारहरूले देशभरका ६ सय ९२ निर्वाचन क्षेत्रहरूमा प्रतिष्पर्धा गरिरहेका छन् । यसले संघीय संसदका दुवै सदन र राज्य तथा क्षेत्रीय संसदहरूका लागि प्रतिनिधिहरू चयन गर्नेछ । निर्वाचित संघीय संसदले नयाँ राष्ट्रपति चयन गर्नेछ । जसले आगामी नयाँ संघीय सरकार गठन गर्नेछ । निर्वाचन आयोगका अनुसार मतदानका लागि देशभर कुल २१ हजार ५ सय १७ मतदान केन्द्रहरू स्थापना गरिएका छन् ।
सर्वपक्षीय बैठकपछि निर्वाचनको माहोल बनेको छ : सञ्चारमन्त्री खरेल
पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक पार्टी, जेनजी प्रतिनिधिसहितको सर्वपक्षीय बैठकपछि आगामी फागुन २१ गतेको निर्वाचनको वातावरण बनेको बताएका छन् । सञ्चार मन्त्रालय र नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशद्वारा संयुक्त रुपमा यहाँ आयोजत अन्तरक्रिया कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै नेपाल सररकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री खरेलले सरकारको प्रतिबद्धता, निर्वाचन आयोगको तयारी र राजनीतिक पार्टीहरूको तदारुकताका कारण निर्वाचन सुनिश्चित भएको बताए । उनले प्रतिनिधिसभाको सदस्यका लागि निर्वाचनको माहोल बनेको उल्लेख गर्दै घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धताका साथ अघि बढेको सरकारलाई सहयोग गर्न सबैसँग अनुरोध गरे । सञ्चारमन्त्री खरेलले जनतालाई सुसूचित गर्ने जिम्मेवारीमा रहेको आमसञ्चार क्षेत्रमाथि प्रश्न उठिरहेको चर्चा गर्दै सकारात्मक सोचका साथ अझ निष्पक्ष, सिर्जनशील, विश्वसनीय र तथ्यमा आधारित वस्तुनिष्ट समाचार सामग्री सम्प्रेषण गर्न आमसञ्चारकर्मीसँग अनुरोध गरे ।
रवि-बालेन लक्षित शंकरको टिप्पणी : नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको तयारी हुँदैछ
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले रवि लामिछाने र बालेन शाहबीच भएको सातबुँदे सहमतिलाई नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको दोस्रो चरणको तयारी भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै पोखरेलले भाद्र २३ र २४ गतेका घटनालाई भूराजनीतिक द्वन्द्वसँग जोड्दै त्यसलाई षड्यन्त्रको पहिलो चरणका रूपमा व्याख्या गरेका छन् । 'भाद्र २३ र २४ गतेको घटना भूराजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको पहिलो चरण थियो,' उनले लेखेका छन्, 'अब सोही षड्यन्त्रको दोस्रो चरणको तयारी पनि सुरु हुँदैछ।' उनले यस्तो गम्भीर अवस्थामा संविधान र लोकतन्त्रका पक्षधर देशभक्त शक्तिहरू सचेत र एकजुट हुन आवश्यक रहेको औँल्याएका छन् । नेपाल राष्ट्रलाई भूराजनीतिक द्वन्द्वको गोटी बन्नबाट जोगाउन सबैले जिम्मेवार र सक्रिय भूमिका खेल्नुपर्ने उनको भनाइ छ । पोखरेलले भाद्र २३ गते नवयुवाहरूले गरेको शान्तिपूर्ण प्रदर्शनलाई योजनाबद्ध रूपमा मुठभेडमा परिणत गरी केही युवाको हत्या गरिएको दाबी गर्दै त्यसको आडमा भाद्र २४ गते मुलुकको अस्मिता र सामर्थ्य कमजोर बनाउने उद्देश्यले राज्य र लोकतन्त्रका आधारस्तम्भमाथि आक्रमण गरिएको बताएका छन् । त्यतिबेलाका विध्वंसकारी गतिविधिका योजनाकार र सञ्चालक को थिए भन्ने विषय क्रमशः सार्वजनिक हुँदै गएको उनको भनाइ छ । रवि लामिछाने र बालेन शाहबीच सातबुँदे राजनीतिक सहमति भएपछि पोखरेलको यस्तो अभिव्यक्ति आएको हो ।