महाधिवेशनको अन्तिम मतपरिणाम सार्वजनिक
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । अध्यक्ष पदमा केपी शर्मा ओली विजयी भएका छन् । कुल १९ पदाधिकारी पदको प्रतिस्पर्धामा १७ जना ओली पक्षका र २ जना ईश्वर पोखरेल प्यानलका विजयी भएका छन् । यसका साथै केन्द्रीय सदस्यहरूको मत परिणाम पनि सार्वजनिक भइसकेको छ । एमालेको केन्द्रीय कमिटीमा ३०१ सदस्य रहने व्यवस्था छ । यस्तो छ केन्द्रीय सदस्य र पदाधिकारीहरूले प्राप्त गरेको मत परिणाम :
नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी भोलिबाट सुरु हुँदै
काठमाडौं । शुक्रबारदेखि ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ हुँदैछ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रालिले संयुक्त रूपमा आयोजना गर्दै आइरहेको एघारौं संस्करण पुष ४, ५ र ६ गते काठमाडौंको भृकृटीमण्डपमा सुरु हुन लागेको हो । प्रदर्शनीमा स्वदेशी तथा विदेशी ख्यातिप्राप्त ब्राण्डहरूका १०० भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ । फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनीहरु, ल्यामिनेट, विभिन्न कम्पनीका डिलर, सबडिलर र बिक्रेताहरूले काठ व्यवसायसँग सम्बन्धित उत्पादनहरूको बारेमा जानकारी गराउने र यस क्षेत्रका नयाँनयाँ प्रविधिको जानकारी गराउनको लागि यो प्रदर्शनी हुन लागेको हो । यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा इन्टेरियर, फर्निचर, प्लाइउड, ल्यामिनेट, हार्डवेयर, काष्ठ सम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरूको उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएको छ । यस एघारौंं नेपाल उड प्रदर्शनीमा आयोजकहरुले संसारभरका ख्यातिप्राप्त कम्पनी तथा ब्रान्डलाई नेपाली बजारमा पनि अत्याधुनिक वस्तु तथा टेक्नोलोजीलाई स्वदेशी उद्योगहरुमा प्रयोग गराउन एउटा पहलका रूपमा लिएका छन् । यस प्रदर्शनीले साना देखि ठूला उद्योगसम्मलाई आफ्नो प्रयोग भइरहेका मेसिनहरुलाई उन्नयन गर्दै अझ बढी प्रभावकारी बनाउन मद्दत गर्नेछ । यस प्रदर्शनीमा सहयोगी संस्थाको भूमिकामा नेपाल हस्तकला महासंघ, सामुदायिक वन उपभोगता महासंघ, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ, नेपाल प्लाईउड उत्पादक संघ, तथा इन्टेरियर डिजाईनर एस्सोसियेशन नेपाल रहेका छन् । प्रदर्शनीमा इन्टेरियर डिजाइनर एशोसिएसन नेपालका विज्ञहरूद्वारा नविनतम प्रविधि, इन्टेरियर डिजाइन, फनिर्चरलगायत विभिन्न शीर्षकमा २ दिने सेमिनार तथा गोष्ठी कार्यक्रम आयोजना हुने छ । प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ, फनिर्चर र इन्टेरियर क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पुर्याउने छ । प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, आम नागरिक बाहेक नेपालका दिग्गज आर्कीटेक्ट, इन्जिनियर तथा इन्टीरीयर डिजाइनरहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।
ट्रान्स फ्याट नियन्त्रणका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । खाद्य पदार्थको स्तर निर्धारण प्रक्रिया सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलको आयोजना र नेपाल पाउरोटी उद्योग संघ, काठमाडौंको सहकार्यमा बुधबार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाल हार्ट फाउन्डेसनका वरिष्ठ सदस्य तथा स्त्री क्यान्सर रोग विशेषज्ञ डा। सुशीला वैद्यले ट्रान्स फ्याटले मानव स्वास्थ्यमा पार्ने असर सम्बन्धी जानकारीको कार्यपत्र प्रस्तुत गरिन् । विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहनकृष्ण महर्जनले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ सम्बन्धी जानकारीको कार्यपत्र र विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा। बालकुमारी शर्माले खाद्य पदार्थको अनिवार्य गुणस्तरको स्तर निर्धारण प्रकृया र खाद्य पदार्थमा ट्रान्स फ्याटको अनिवार्य गुणस्तर सम्बन्धी जानकारीको कार्यपत्र प्रस्तुत गरे । कार्यक्रममा विभागका उपमहानिर्देशक महिपाल राम वैद्यले बेकरीजन्य खाद्य पदार्थमा ट्रान्स फ्याटको जोखिम न्यूनीकरण गर्नका लागि आयात बिन्दुमा नियमन साथै नेपालको परिप्रेष्यमात्र नभई अन्तर्राष्ट्रिय अभ्यासहरू समेत मनन गर्नुपर्नेमा जोड दिए। साथै ट्रान्स फ्याटसम्बन्धी समस्या हाल नेपालमा सार्वधिक जन चासोको विषय रहेको हुँदा सम्पूर्ण सरोकारवाला निकायहरू साथै विभागले हातेमालो गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासं का वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले समयानुकूल खाद्य पदार्थको गुणस्तरको सम्बन्धमा अन्तक्र्रियाहरू आवश्यक रहेको र यसमा महासंघ सहयोग गर्न सधैं तयार रहेको बताए । छलफलको क्रममा सहभागीहरूबाट ट्रान्स फ्याट सम्बन्धी समस्यालाई सम्बोधन गर्न उद्योगीले खेल्नुपर्ने मुख्य भूमिका नेपाल सरकारबाट निर्दिष्ट हुनुपर्ने, उपभोक्ता जनचेतना र उद्योगीलाई नियमन गर्ने कार्य समानान्तर हिसाबले अघि बढाउनुपर्ने, खाद्य स्वच्छता तथा गुणस्तर ऐन सम्बन्धी जनचेतना बढाउने किसिमका थप कार्यक्रमहरू हुनुपर्ने आदिजस्ता राय सुझाव प्राप्त भएका थिए । कार्यक्रममा बेकरी उद्योगी व्यवसायी, उद्योग वाणिज्य महासंघका पदाधिकारी, सरोकारवालाहरू र विभागका कर्मचारी गरी ९० जनाको उपस्थिति रहेको थियो ।
यी हुन् एमालेका निर्वाचित १९ पदाधिकारी, कसले कति मत पाए ?
काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको मतगणना सम्पन्न भएको छ । अध्यक्षदेखि सचिवसम्मको पदाधिकारीमा ओली प्यानल विजयी भएको छ । यस्तो छ मत परिणाम : अध्यक्ष : केपी शर्मा ओली १ हजार ६६३ मत उपाध्यक्ष : पृथ्वीसुब्बा गुरुङ १७३७ मत विष्णुप्रसाद पौडेल १६७५ मत रामबहादुर थापा बादल १५१६ मत गोकर्णराज विष्ट १३६८ मत गुरुप्रसाद बराल ११३७ मत महासचिव : शंकर पोखरेल १२२८ मत उपमहासचिव : लेखराज भट्ट १४५२ मत रघुवीर महासेठ १३६८ मत योगेश भट्टराई १३४८ मत सचिव : महेश बस्नेत १५४४ मत पद्मा कुमारी अर्याल १५३० मत छविलाल विश्वकर्मा १५०६ मत शेरधन राई १५०३ मत खगराज अधिकारी १३३७ मत हिक्मत कुमार कार्की १३३७ मत यमलाल कँडेल ११८५ मत राजन भट्टराई ११८१ मत भानुभक्त ढकाल ११०८ मत
अध्यक्षमा ओलीको ह्याट्रिक
काठमाडौं । केपी शर्मा ओली नेकपा एमालेको अध्यक्षमा लगातार तेस्रो पटक निर्वाचित भएका छन् । ओलीले १ हजार ६६३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत प्राप्त गरे । यसअघि नवौं र दशौं महाधिवेशनमा पनि ओली नै अध्यक्ष बनेका थिए । ओलीको जन्म २००८ फागुन ११ गते तेह्रथुम जिल्लामा भएको हो । उनको राजनीतिक यात्रा विद्यार्थी जीवनबाटै सुरु भएको हो । झापा आन्दोलनको समयमा उनी कम्युनिष्ट राजनीतिमा सक्रिय भए । पञ्चायती शासनविरुद्ध भूमिगत आन्दोलनमा सहभागी हुँदा उनी पटक–पटक पक्राउ परे र करिब १४ वर्ष निरन्तर जेल जीवन बिताए । यही कालखण्डले उनलाई कट्टर कम्युनिष्ट कार्यकर्ता र अनुशासित संगठनकर्ता बनायो । २०४२ सालमा जेलमुक्त भएपछि ओली पुनः भूमिगत भए । २०४६ सालको जनआन्दोलनपछि बहुदलीय व्यवस्था स्थापना भएलगत्तै ओली खुला राजनीतिमा आए । त्यसपछि नेकपा एमालेको संगठन विस्तार, आन्दोलन र संसदीय अभ्यासमा उनी सक्रिय भए । उनी एमालेभित्र व्यावहारिक राजनीतिका पक्षधर मानिन्थे । २०५० र २०६० को दशकमा ओली एमालेको केन्द्रीय नेतृत्वमा स्थापित भए । पार्टीभित्र स्पष्ट वक्तृत्व, राष्ट्रिय मुद्दामा कडा अडान र निर्णायक शैलीका कारण उनी फरकयो समयमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भए । ओली पटकपटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका व्यक्ति हुन् । उनी विभिन्न समयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री, परराष्ट्र मन्त्रीलगायत जिम्मेवारीमा रहे । २०७२ सालमा संविधान जारी भएपछि ओली पहिलो पटक प्रधानमन्त्री बने । त्यसबेला भारतसँगको नाकाबन्दीका समयमा राष्ट्रिय स्वाभिमान र सार्वभौमिकताको मुद्दा उठाएर उनले व्यापक जनसमर्थन कमाए । २०७४ को निर्वाचनपछि नेकपा एमाले र माओवादी केन्द्रबीचको वाम गठबन्धनमार्फत उनी दोस्रो पटक प्रधानमन्त्री बने । यही कालखण्डमा चीनसँग पारवहन सम्झौता, ठूला पूर्वाधार योजनाहरू र समृद्ध नेपाल, सुखी नेपालीको नारालाई अघि अघि बढाए । २०७१ असारमा सम्पन्न नवौं महाधिवेशनबाट ओली पहिलो पटक एमाले अध्यक्ष निर्वाचित भएका हुन् । एमालेका शक्तिशाली नेता माधव नेपाललाई पराजित गरेर ओली पहिलो पटक एमालेको अध्यक्षमा निर्वाचित भएका हुन् । त्यसपछि पार्टी एकता, विघटन, पुनः एमाले पुनःस्थापना जस्ता जटिल राजनीतिक प्रक्रियाको केन्द्रमा ओली रहे । माधव नेपाल, झलनाथ खनाललगायत नेतासँगको आन्तरिक संघर्षपछि उनले पार्टीमा आफ्नो पकड थप बलियो बनाए । दशौं र एघारौं महाधिवेशनबाट समेत अध्यक्षमा निर्वाचित हुँदै उनले एमालेभित्र निर्णायक नेताको हैसियत कायम राखेका छन् । ओलीलाई समर्थकहरूले राष्ट्रवादी, स्पष्टवक्ता र दृढ नेतृत्वकर्ता मान्छन् भने आलोचकहरूले उनलाई सत्ता केन्द्रित र कठोर नेतृत्व शैली भएको नेता भन्छन् । यद्यपि तीन दशकभन्दा लामो राजनीतिक यात्रामा ओली नेपाली कम्युनिष्ट आन्दोलन र राज्य राजनीतिमा केन्द्रीय पात्रका रूपमा स्थापित रहेका नेता हुन् ।
नेपाल टेलिकमका सहप्रवक्तामा थापा नियुक्त
काठमाडौं । नेपाल टेलिकमले प्रक्षेत थापालाई सहप्रवक्तामा नियुक्त गरेको छ । उपप्रबन्धक थापा कम्पनीको केन्द्रीय कार्यालयमा कार्यरत छन् । कम्पनीले संस्थागत सूचना प्रवाहलाई थप प्रभावकारी बनाउन थापालाई सहप्रवक्ताको जिम्मेवारी दिएको जनाएको छ ।
अध्यक्षमा ओली निर्वाचित
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्ष पदमा निर्वाचित भएका छन् । उनले १ हजार ६६३ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत प्राप्त गरेका छन् । निर्वाचन परिणामको औपचारिक घोषणा हुन भने बाँकी रहेको छ ।
पोखरेल पक्षका तीन पदाधिकारी सेफ जोनमा
काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनअन्तर्गत पदाधिकारी चयनको मतगणनामा पोखरेल पक्षका तीन पदाधिकारी सेफ जोनमा देखिएका छन् । उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराईले आफ्नो स्थान जोगाउने संकेत दिएका छन् । उपाध्यक्षमा विष्ट ७१३ मतसहित तेस्रो स्थानमा छन् । उपमहासचिवमा भट्टराई ७०९ मतसहित पहिलो वरीयतामा छन् । सोही समूहबाट सचिवमा अघि सारिएका नेता गोकुल बास्कोटा पनि ५२८ मतसहितसेफ जोनमा रहेका छन्। मतगणना अझै जारी रहेकाले अन्तिम नतिजासँगै पदाधिकारी संरचना स्पष्ट हुने र त्यसले एमालेको आगामी राजनीतिक दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ ।