विकासन्युज

ढुवानीका लागि मार्गमात्रै प्रयोग गर्दा शुल्क उठाउन नमिल्ने

काठमाडौं । अर्थ मन्त्रालयले मालवस्तुको ढुवानीका लागि मात्रै मार्ग प्रयोग गर्दा कुनै पनि शुल्क नउठाउने र नलाग्ने व्यवस्था गर्न प्रदेश र स्थानीय तहलाई आग्रह गरेको छ । अर्थ मन्त्रालयले प्रदेश सरकारलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत र स्थानीय तहलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत परिपत्र गरी उक्त आग्रह गरेको हो । परिपत्रमा स्थानीय कृषक, व्यवसायी तथा व्यवसायलाई आर्थिक रुपमा नकारात्मक असर पर्ने गरी कुनै पनि शुल्क नलगाउने वा नलाग्ने व्यवस्था गर्न भनिएको छ । मन्त्रालयले संविधान र प्रचलित कानुनको व्यवस्था विपरीत स्थानीय तहले अर्को जिल्ला वा स्थानीय तहबाट चलानी भई ढुवानीका लागि मात्र सम्बन्धित स्थानीय तहको माग हुँदै मालवस्तुको ढुवानीमा कुनै प्रकारको कर तथा शुल्क असुली गर्न नमिल्ने स्मरण गराएको छ । ‘नेपालको संविधान, प्रचलित कानुन विपरीत कुनै पनि कर,दस्तुर र शुल्क नलगाउने र नलाग्ने व्यवस्था मिलाउन सबै प्रदेश सरकारलाई जानकारी गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सबै स्थानीय तहलाई जानकारी गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गर्ने’ भनी निर्णय भएको अर्थ मन्त्रालयले उल्लेख गरेको छ । सो निर्णय गत मङ्सिर २३ गते अर्थमन्त्रीस्तरीय निर्णय भएकाले आवश्यक कारबाहीका लागि सम्बद्ध सबैलाई पत्राचार गरिएको जनाएको छ । केही स्थानीय तहले अर्को स्थानीय तहबाट आएको कृषि उपजमा कर, शुल्क तथा शुल्क उठाएको भन्ने जानकारीमा आएपछि अर्थ मन्त्रालयले त्यस्तो निर्णय गरेको हो । 

एमाले महाधिवेशन: मतदान स्थगित, बुधबार ८ बजेदेखि सुरु हुने

काठमाडौं । नेकपा एमालेको मतदान स्थगित भएको छ । नेकपा एमालेको जारी ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि प्रतिनिधिहरू पालो कुर्दै लामबद्ध भइरहेको अवस्थामा मतदान स्थगित भएको हो । भोलि (बुधबार) बिहान ८ बजेदेखि मतदान सुरू हुने गरी आजका लागि मतदान स्थगित गरिएको निवर्तमान महासचिव शंकर पोखरेलले जानकारी दिए । प्रतिनिधिहरू भोट हाल्न केही समय लाइन बसेका थिए । केही बेरमा मतदान हुने भनिए पनि अन्तिममा आएर प्राविधिक कारण कारण मतदान स्थगित भएको बताइएको छ ।

नेतृत्व चयनका लागि मतदाता लाइन लागे, ओली–पोखरेल एकैसाथ मतदानस्थलमा

काठमाडौं । नेकपा एमालेको जारी ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि प्रतिनिधिहरू मतदानमा सहभागी हुन उत्साहपूर्वक लाइनमा बसेका छन् । देशभरबाट महाधिवेशन प्रतिनिधिहरू पालो कुर्दै लामबद्ध भएका हुन् । साथै मतदान गर्न अध्यक्ष पदका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेल एकैसाथ मतदान स्थल आइपुगेका छन् । काठमाडौंको भृकुटीमण्डपस्थित मतदानस्थल हलमा ओली र पोखरेल एकैसाथ मतदान स्थल आइपुगेका हुन् । केन्द्रीय निर्वाचन आयोगका अनुसार प्राविधिक तथा व्यवस्थापनसम्बन्धी अन्तिम तयारी पूरा भएपछि केही समयमै मतदान प्रक्रिया औपचारिक रूपमा सुरु गरिनेछ । विद्युतीय मतदान प्रणालीमार्फत मतदान गरिने भएकाले उम्मेदवारहरूको विवरण अन्तिम रूपमा प्रणालीमा प्रविष्ट गर्ने काम चलिरहेको आयोगले जनाएको छ । मतदान अझै सुरु नभइसके पनि प्रतिनिधिहरूमा मतदानप्रतिको उत्साह र चासो देखिएको छ। मतदानस्थल वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ भने स्वयंसेवकहरू व्यवस्थापनमा खटिएका छन् । महाधिवेशनमार्फत अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्यहरूको चयन हुने भएकाले यस निर्वाचनलाई एमालेको भावी राजनीतिक दिशा र नेतृत्व निर्धारण गर्ने महत्वपूर्ण प्रक्रियाका रूपमा हेरिएको छ । प्रतिनिधिहरूको ठूलो उपस्थिति र चासोले महाधिवेशनको अन्तिम चरण थप निर्णायक बन्दै गएको संकेत गरेको छ ।

घोकेर होइन, बुझेर पढ्दा टपर बनेका शाक्य र घिमिरे

काठमाडौं । पास धेरै विद्यार्थी हुन्छन् तर, टपर तिनैमध्येको सबैभन्दा उति उत्तम विद्यार्थी बन्छन् । हरेक विद्यार्थीले टपरको स्तरमा मिहिनेत गर्दैनन् । कमैले मिहिनेत गर्छन् तर तिनैमध्ये पनि जो सर्वोत्कृष्ट बन्छ उसले घोकेर पढ्दैन, बुझेर पढेको हुन्छ ।  काठमाडौंको किलागलका साहस शाक्य मल्टिमिडिया टेक्नोलोजी विषयमा सर्वोत्कृष्ट नम्बरसहित टपर बने । मंगलबार ललितपुरमा रहेको द प्लाजामा भएको इस्लिङ्टन कलेजको १६ औं दीक्षान्त समारोहमा टपरको रूपमा दीक्षित हुँदा निकै खुसी थिए ।  साहस शाक्य कक्षा १ देखि १२ सम्म काठमाडौंको सेन्ट जेभियर्समा पढेका उनी पढाइमा राम्रा विद्यार्थी हुन् । प्लस टु कम्प्युटर साइन्स लिएर पढेका उनले ब्याचलर्समा भने  मल्टिमिडिया टेक्नोलोजी रोजे । जहाँ ग्राफिक डिजाइन, भिडियो एडेटिङ, एनिमेसन, टेक्नोलोजीहरू पढाइ हुन्छ ।  सानैदेखि आर्टमा रुचि राख्ने शाक्य  सिक्ने अवसर र ठाउँको खोजीमा थिए । उनले यो विषयमा पढाइ हुने ठाउँ खोज्दा इस्लिङ्टन कलेज भेटे ।   ‘मलाई आर्ट गर्न, पेन्टिङ, ड्रइङ गर्न मन पर्थ्यो,’ उनी भन्छन्, ‘ठाउँ खोज्दै जाँदा यो कलेज भेटेँ अनि निकै मिहिनेत गरेँ र आज राम्रो परिणाम हात पारेको छु । म निकै खुसी छु,’ उनले भने । टपर हुनुभयो टपर बन्न कति मिहिनेत गर्नुभयो भयो भन्ने प्रश्नमा शाक्य भन्छन्, ‘टपर हुन्छु भनेर कहिल्यै पढिनँ तर, पढाइमा खुब मिहिनेत गर्छु । त्यसैको फलस्वरूप टपर भएको हुँ । ’  शाक्य हरेक विद्यार्थीले आफूले आफैलाई मूल्याङ्कन गर्नुपर्ने बताउँछन् । ‘म कसरी पढिरहेको छुँ, के यो पढाइले म आफ्नो विषयमा दक्ष हुन सक्छु ? यति कुरा विद्यार्थीले बुझ्नुपर्छ, विद्यार्थीले यो कुरा आफै बुझ्नुभयो र आफैलाई सुधार्ने प्रयास गर्नुभयो भने टपर अवश्य भइन्छ,’ उनले भने ।  उनलाई पढ्न, कलेज जान रमाइलो लाग्छ । बिहान ७ बजे उनी कलेज जान्छन् । १२ देखि १ बजेसम्म कलेज चल्छ । उनलाई पहिला मल्टिमिडियाको विषयमा केही थाहा थिएन । यसमा कलेजले पनि धेरै सहयोग गरेको बताउँछन् शाक्य ।  ‘कलेजले पनि सहयोग गर्यो, मैले पनि मिहिनेत गरेँ र टप गरेँ,’ उनले भने ।  इस्लिङ्टन कलेजको १६ औं दीक्षान्त समारोहमा सहभागी विद्यार्थीहरू शाक्यले ब्याचलर्सपछि मास्टर कहाँ गर्ने भन्ने योजना बनाइसकेका छैनन् तर यसका लागि राम्रो अवसर र कलेजको खोजी भने गरिरहेका छन् । सके नेपालमै नभए विदेशमा गएर पनि उनलाई यो विषयमा मा स्नातकोत्तर गर्न मन छ । उनी जहाँ पढे पनि काम भने नेपालमै अलिक फरक तरिकाले योजना बनाएको बताउँछन् ।  नेवारी समुदायमा बाहिर ल्याउन सक्ने थुप्रै विषय भएकाले उनी ती विषयलाई प्रोजेक्टका रूपमा बाहिर ल्याउने बताउँछन् ।  शाक्य नेपाली विद्यार्थी विदेशबाट नफर्किनुको कारण नै अवसर नहुनु रहेको औंल्याउँछन् । यो फिल्डमा राम्रो काम गरिरहेकाहरू पनि भएकाले नेपालमा काम गर्ने अवसर नभएको उनी बताउँछन् ।   *** भक्तपुरको कौशलटार बस्ने अम्स घिमिरेलाई पनि टपर हुन्छु भन्ने लागेको थिएन । तर उनले पढाइमा मिहिनेत भने जहिले गर्थे । मंगलबार इस्लिङ्टनको दीक्षान्त समारोहमा उनी टप भए । कम्प्युटर नेटवर्किङ एण्ड आईटी सेक्युरिटी विषयमा कलेजकै सर्वोत्कृष्ट भए । ‘म टप हुन्छु, सबैभन्दा सर्वोत्कृष्ट नम्बर ल्याउँछु भने कहिल्यै पढ्दिनँ,’ उनी भन्छन्, ‘म पढेको कुरालाई कत्तिको व्यवहारमा ल्याउन सक्छु भन्ने तरिकाले पढ्छु, मिहिनेत पनि गर्छु, आज टपर हुँदा निकै खुसी लागेको छ । साथै नर्भस पनि भएको छु ।’ अम्स घिमिरे  टपर हुन कसरी पढ्नुपर्छ भन्ने प्रश्नमा घिमिरे भन्छन्, ‘पढ्ने हरेक व्यक्तिको आफ्नो तरिका हुन्छ । कसैलाई लेखेर पढ्दा याद हुन्छ भने कसैलाई बोलेर पढ्दा त कसैलाई मनमनै पढ्दा । अब ठ्याक्कै यही तरिका हुन्छ भन्ने त हुँदैन नि ।’ घिमिरे हरेक दिन आफूले पढेको अनि कलेजमा पढाइएका कुरा घरमा आएर गहिरिएर हेर्छन् । तर परीक्षाको लागि भने परीक्षा आउनुभन्दा एक हप्ता अगाडि वा केही दिन अगाडिमात्र तयारी गर्छन् ।  अघिपछि किताब नहेर्ने तर परीक्षाको समयमा घोक्दा याद नहुने घिमिरे बताउँछन् । हरेक दिन समय निकालेर कलेजमा पढाएका कुरालाई घरमा गएर हेर्नेमात्र हो भने पनि धेरै कुराहरू बुझिने र परीक्षामा पनि लेख्न सजिलो हुने उनको भनाइ छ ।   ‘म परीक्षा पास गर्न मात्र नभइ यो पढेको कुरा कसरी व्यवहारमा उतार्न सक्छु भन्ने हिसाबले पढ्छु,’ उनी भन्छन्, ‘म परीक्षाको बेलामा धेरै पढ्ने मान्छे होइन, अगिपछि पढिएन भने परीक्षाको बेलामा जति घोटिए पनि केही हुँदैन।’ घिमिरेले नर्सरीदेखि कक्षा एकसम्म धुम्बारहीमा रहेको युनिभर्सल एकेडेमीमा पढे । कक्षा दुईदेखि १० सम्म प्यारागन पब्लिक स्कुलमा पढे । कक्षा ११ र १२ मा जेभिएर एकेडेमी लैनचौरमा अध्ययन गरे । प्लस टुमा विज्ञान विषय लिएर पढेका उनी कम्प्युटर नेटवर्किङ एण्ड आईटी सेक्युरिटी विषय लिएर इस्लिङ्टनमा अध्ययन गरे । उनी अहिले आइटीमा  आवश्यक्ता र राम्रो अवसर हुँदा यो विषय रोजेको बताउँछन् ।  ‘अहिले डेटा इज पावर भनेजस्तै आफूसँग डेटा छ भने बलियो हुने भन्ने हुन्छ,’ घिमिरे भन्छन्, ‘अहिले ठूलाठूला राष्ट्रले साइबर सेक्युरिटीमा धेरै लगानी गरिरहेका छन्, मेरो रुचि पनि यसैमा थियो, त्यसैले पनि यो विषय रोजेको हुँ।’  घिमिरे नेपालमा पढ्न र यही केही गर्न चाहने विद्यार्थीका लागि राम्रो अवसर नरहेको गुनासो गर्छन् ।  उनी विदेश गए पनि स्वदेशमै फर्किएर केही गर्नुपर्नेमा जोड दिन्छन् । ‘देश-विदेशको अनुभव लिनुपर्छ, अवसर पाए मलाई पनि जान मन छ तर, काम भने आफ्नै देशमा गर्ने हो,’ उनले भने । 

गणपति वनस्पतिको आम्दानीमा ५६५ प्रतिशत उछाल, १ अर्बबाट सिधै ८ अर्ब

काठमाडौं । वनस्पति घ्यू तथा प्रशोधित खाद्य तेल उत्पादन गर्ने गणपति वनस्पति लिमिटेडले सन् २०२५ मा उल्लेखनीय वित्तीय प्रगति गरेको छ । कम्पनीले एक वर्षमा ८ अर्ब २५ करोड ४० लाख रुपैयाँ बराबरको कुल सञ्चालन आम्दानी गरेको जनाएको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा ५६५.६४ प्रतिशतले वृद्धि भएको हो । सन् २०२४ मा कम्पनीको कुल सञ्चालन आम्दानी १ अर्ब २४ करोड रुपैयाँ मात्र रहेको थियो, जसको तुलनामा सन् २०२५ मा ७ अर्ब १ करोड ४० लाख रुपैयाँले वृद्धि भएको देखिन्छ । कम्पनीले सन् २०२३ मा ६ अर्ब ५० करोड ३० लाख रुपैयाँ बराबर कुल आम्दानी गरेको थियो । यद्यपि कम्पनीले सन् २०२२ मा भने १२ अर्ब ३३ करोड ८० लाख रुपैयाँ बढी आम्दानी गरेको थियो । जुन पछिल्लो एक दशक यताकै उच्च आम्दानी थियो । अघिल्ला वर्षहरूका तथ्याङ्कअनुसार कम्पनीले सन् २०१६ मा २ अर्ब २१ करोड ६० लाख रुपैयाँ, सन् २०१७ मा ३ अर्ब १६ करोड रुपैयाँ, सन् २०१८ मा ३ अर्ब ७५ करोड रुपैयाँ, सन् २०१९ मा ४ अर्ब ५६ करोड ३० लाख रुपैयाँ, सन् २०२० मा ५ अर्ब ५१ करोड रुपैयाँ र सन् २०२१ मा ८ अर्ब ५७ करोड २० लाख रुपैयाँ बराबर कुल आम्दानी गरेको थियो ।  सन् १९९८ मा स्थापित गणपति वनस्पति सन् २०२३ अप्रिलमा पब्लिक लिमिटेडमा रुपान्तरण भएको हो । कम्पनीले खाद्य तेल तथा सम्बद्ध उद्योग क्षेत्रमा बलियो उपस्थिति जनाउँदै आएको छ । कम्पनीले बारामा रहेको उद्योगबाट उच्च गुणस्तरीय वनस्पति घ्यू, प्रशोधित तेल, तोरीको तल उत्पादन गर्दै आएको जनाएको छ ।  वार्षिक १ लाख २० हजार मेट्रिक टन उत्पादन क्षमताको गणपति वनस्पति नेपालकै सबैभन्दा ठूलो तेल उद्योग रहेको कम्पनीको दाबी छ । करिब तीन दशकदेखि खाद्य तेल उत्पादन गर्दै आएको कम्पनीले अत्याधुनिक प्रविधियुक्त उद्योग सञ्चालन गर्दै आएको छ ।  कम्पनीले सफारी, सफारी हेल्थ, छक्र तथा रामदेव ब्राण्डमा तेल उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । लक्की ग्रुप अन्तर्गत सञ्चालित गणपति वनस्पतिको अध्यक्ष अमित मोर र सञ्चालक राजीव मोर छन् । कम्पनीले आन्तरिक बजारसँगै अन्तर्राष्ट्रिय बजारमा पनि तेल निर्यात विस्तार गर्दै आएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६ अर्ब ४८ करोड २९ लाख रुपैयाँ ऋण लिएको छ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले दीर्घकालीन बैंक ऋण ४४ करोड २० लाख रुपैयाँका लागि डबल बी माइनस रेटिङ प्रदान गरेको छ । यस्तै, ४ करोड रुपैयाँ अल्पकालीन बैंक ऋणका लागि ए फोर रेटिङ प्रदान गरिएको छ । साथै इन्फोमेरिक्स नेपालले ६ अर्ब रुपैयाँ दीर्घकालीन तथा अल्पकालीन ऋणका लागि डबल बी माइनस तथा ए फोर रेटिङ प्रदान गरेको छ ।

अर्घाखाँचीमा चुनावी चहलपहल : नारायणप्रसाद खनालले गरे स्वतन्त्र उम्मेदवारी घोषणा

काठमाडौं । अर्घाखाँची जिल्लाबाट संघीय संसदका लागि नारायणप्रसाद खनालले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । जिल्लाको समग्र विकास, सुशासन र जनसेवाको लक्ष्यसहित आफू मैदानमा उत्रिएको खनालले बताएका छन् । उम्मेदवारी घोषणा कार्यक्रममा खनालले अर्घाखाँचीको दीर्घकालीन समस्या समाधान, स्थानीय स्रोत–साधनको सदुपयोग र जनताको प्रत्यक्ष सरोकारका विषयलाई संसदमा प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरे ।  उनले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, कृषि तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर काम गर्ने योजना सार्वजनिक गरेका छन् । खनालका अनुसार दलगत राजनीतिभन्दा माथि उठेर जनताको वास्तविक आवश्यकता र अपेक्षालाई प्रतिनिधित्व गर्ने उद्देश्यले स्वतन्त्र उम्मेदवारी दिएको हो ।  ‘राजनीति पद र प्रतिष्ठाका लागि होइन, सेवा र उत्तरदायित्वका लागि हुनुपर्छ,’ उनले भने, ‘अर्घाखाँचीको विकासका लागि सबै वर्ग र समुदायलाई साथ लिएर अघि बढ्ने मेरो प्रतिबद्धता छ ।’ स्थानीय तहमा लामो समयदेखि सामाजिक तथा सार्वजनिक क्षेत्रमा सक्रिय रहेका खनाललाई जिल्लाका विभिन्न समुदायले सक्षम, इमानदार र जनमुखी व्यक्तित्वका रूपमा चिन्ने गरेका छन् ।  उनका समर्थकहरूले विकासमा परिणाममुखी काम, पारदर्शिता र जवाफदेहिताको अभ्यासमार्फत जिल्लालाई नयाँ दिशातर्फ लैजान सक्ने दाबी गरेका छन् । आगामी निर्वाचनमा अर्घाखाँचीबाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका खनालले ‘विकास, विश्वास र समृद्धिको एजेन्डालाई केन्द्रमा राख्दै मतदातासँग समर्थन माग्ने तयारी थालेका छन् । 

एमाले महाधिवेशन : बहुविवाह मुद्दा र आरक्षण विवादका दुई उम्मेदवारी खारेज

काठमाडौं । नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका क्रममा दुई नेताको उम्मेदवारी खारेज गरिएको छ । निर्वाचन आयोगले कानुनी र प्रक्रियागत कारण देखाउँदै केन्द्रीय सदस्य पदका दुई उम्मेदवारलाई प्रतिस्पर्धाबाट बाहिर राखेको बताएको छ । निर्वाचन आयोगका अनुसार बहुविवाहको मुद्दा लागेका पासाङ शेर्पाले दर्ता गराएको केन्द्रीय सदस्य पदको उम्मेदवारी खारेज गरिएको हो ।  शेर्पाले उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसलाअनुसार तोकिएको कारबाही भुक्तान गरिसकेको दाबी गरे पनि पार्टी विधान र नैतिक आचरणसम्बन्धी मापदण्डअनुसार उम्मेदवारी मान्य नहुने ठहर गरिएको आयोगले जनाएको छ ।  पार्टी नेतृत्व चयनको प्रक्रियामा उच्च नैतिक मापदण्ड आवश्यक हुने भन्दै आयोगले उनको उम्मेदवारी अस्वीकृत गरेको हो । त्यसैगरी, धर्मराज गिरीको उम्मेदवारी पनि खारेज भएको छ । उनले आफ्नो स्थायी भूगोलभन्दा फरक क्षेत्रबाट आरक्षण कोटामा उम्मेदवारी दर्ता गराएका कारण प्रक्रियागत त्रुटि देखिएको आयोगको निष्कर्ष छ ।  पार्टी विधानले तोकेको भूगोल र आरक्षणसम्बन्धी व्यवस्था विपरीत उम्मेदवारी परेपछि आयोगले नियमअनुसार उम्मेदवारी खारेज गर्ने निर्णय गरेको बताइएको छ । महाधिवेशनको निर्वाचन प्रक्रियामा नियम, विधान र नैतिक मापदण्ड कडाइका साथ लागू गरिएको भन्दै निर्वाचन आयोगले सबै उम्मेदवारलाई निर्धारित मापदण्डअनुसार मात्र प्रतिस्पर्धामा सहभागी हुन आग्रह गरेको छ ।

माथिल्लो अरुण आयोजना निर्माणका लागि २ हजार बढी रुख काटियो

सङ्खुवासभा ।  भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार भन्दा बढी रुख काटिएको छ । भोटखोला गाउँपालिका– २ र ४ का राष्ट्रिय वन र सामुदायिक वनका रुख काटिएका हुन् । माथिल्लो अरुण आयोजना र पहुँच मार्ग निर्माणका लागि दुई हजार १६८ बोट रुख काटिएको डिभिजन वन कार्यालयका सुचना अधिकारी चन्द्रलाल राईले बताए  । माथिल्लो अरुण आयोजना र पहुँच मार्ग निर्माणका लागि भोटखोला–४ मा राष्ट्रिय वन र भोटखोला– २ मा पारीपाखा सामुदायिक वन र माक्पालुङ सामुदायिक वन क्षेत्रको करिब २१ दशमलव ०८ हेक्टर क्षेत्रफलको रुख कटान गरिएको डिभिजन वन कार्यालयका सुचना अधिकारी राईले जानकारी दिए  । उक्त आयोजनाले २५ बर्षसम्म वन क्षेत्र प्रयोगका लागि अनुमति पाएको छ । यो सँगै माथिल्लो अरुण आयोजनाका लागि पहुँच मार्गको काम द्रूत गतमिा अघि बढेको छ । प्राधिकरणले २ दशमलव ०३ किलोमिटर सुरुङमार्गसहित करिब २२ किलोमिटर पहुँच सडक निर्माणका लागि भारतको गायत्री जेभी र झापाको कन्काइ सुरुङ्गा जेभी कम्पनीसँग ठेक्का सम्झौता गरेर काम सुरु गरेको छ । पहुँचमार्गमा पर्ने अरुण नदी र चेपुवामा पक्की पुलसमेत निर्माण गरिनेछ । पहुँच मार्ग भोटखोला गाउँपालिका–४ छोराङदेखि भोटखोला–२ रुकुमा फेदीसम्मको निर्माण गरिनेछ । सात अर्ब ९१ करोड ३९ लाखमा उक्त सडक निर्माण हुन लागेको प्राधिकरणले जनाएको छ । त्यसैगरी जिल्लामा विभिन्न जलविद्युत आयोजना निर्माणका लागि हालसम्म लागि १४ हजारभन्दा बढी रुख काटिसकिएको छ । अरुण तेस्रो जलविद्युत् आयोजना र कोसी करिडोर प्रसारण लाइनका लागि १८ सामुदायिक वनका १४ हजार ६२७ रुख कटान गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । वन कार्यालयका अनुसार ११ वटा जलविद्युत् आयोजनाले जिल्लाका ६ स्थानीय तहका वन क्षेत्र प्रयोग गरेका छन् । विद्युत् विस्तार गर्न मात्र सरकारी वन क्षेत्रका पाँच हजार ४०० रूख काटिएका छन् । रासस